सामान सबै ठिक्क पारेर जानै लाग्दा बाटामा पढ्नका लागि किताब हाल्ने पालो आयो । थालेका किताब त थुप्रै थिए तर निकै अघिदेखि पढ्न खोजेर पनि छिचोल्न नसकेको एउटा किताब थियो । क्लबहाउसका विभिन्न छलफलमा भाग लिने क्रममा किताब चर्चाको एक कार्यक्रममा सहभागी हुने मौका पनि जुरेको थियो । सोही चर्चाका क्रम
मा सशक्त नारी पात्र चित्रण गरिएको नेपाली साहित्यको किताबका रूप मा धेरैले सुझाएका र तारिफ गरेको किताब थियो ‘अनुराधा’ ।
‘अनुराधा’ खासमा मैले नगरकोटीको तारिफ सुनेर पढ्न खोजेको हुँ । यसअघि नीलिमा पनि पढेको थिएँ । ‘अनुराधा’को सुरुवात नीलिमाजस्तै मनोवादको शैलीको भएकाले यो पनि उस्तै छ कि भन्ने भान भएको थियो । मनोदशाकै बढी चित्रण र कथा खासै नआउँदा एक खालको अरुचि हुने रहेछ । त्यसैले मलाई यो किताब पटक-पटक थाल्दा पनि अघि बढाउन गाह्रो भएको थियो । क्लबहाउसको चर्चा र प्रशंसाले यसपटक केही बुझिनँ वा मन लागेन भने पनि पढेर सक्छु भनेर थालेको थिएँ । त्यसैले यात्रामा यो पुस्तकसँगै जाने भयो ।
कोरोनाका कारण विदेश यात्रा अचेल निकै कठिन छ । पिसिआर लगायत टेस्ट र विभिन्न सर्त पूरा नगरी यात्रा हुँदैन । यात्रा सकेर आउँदा पनि क्वारेन्टाइनको बसाइले निकै दुःख दिन्छ । गएको देशअनुसार पसलसम्म पनि जान नपाइने हुन सक्छ । त्यसैले यस्तो देश रोज्नु थियो जहाँको आवतजावत तुलनात्मक रूपमा सहज होस् । हामीले इटाली रोज्यौँ ।
कोरोनाले लाखभन्दा बढी ज्यान लिएको ठाउँ र युरोपियन मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित भएको देशको अर्थतन्त्र पनि निकै डगमगाइसकेको थियो । यसपटकको गर्मी मौसममा अर्थतन्त्र केही तङ्ग्रियोस् भनेर सावधानीका साथ देश खोलिएको थियो । १५ मिनेटमा नतिजा दिने एन्टिजेन टेस्ट मात्रै देखाए पुग्थ्यो । अरूभन्दा पनि घमाइलो र रमाइलो हुने आशा थियो । यात्राका क्रममा जुर्ने खाली समयका लागि चाहिँ ‘अनुराधा’ साथमा छँदै थियो ।
“यता त कोरोनाले सबै ठप्प परिसक्यो, पर्यटक नै छैनन् ।” विमानस्थलबाट कोठासम्म पुर्याइदिने आन्ड्रेयासले सुनाउँदै थियो ।
यस बेलासम्म किताबमा कोमलमानले ‘अनुराधा’को नाम थाहा पाइसकेको थियो । करिब डेढ सय पानाको पुस्तकका ३३ पाना पात्रको नाम नचिनी बित्यो । हुन त पुस्तकको नामै ‘अनुराधा’ अनि प्रमुख पात्र जसरी कथा एकै महिलाको वरपर घुम्दा नाम अनुमानै गर्न नसकिने त हैन तर पनि लेखकले औपचारिक परिचय ३३ औँ पानामा गराए ।
संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीको भ्रमण, विलभिडेरे ज्यानिकोलो, रोमको प्राचीन इतिहासको साक्षी टाइबर नदी आदिको घुमाइमा ‘अनुराधा’को पठन केही रोकिए पनि निदाउनुअघिको समय ‘अनुराधा’ पल्टाइन्थ्यो । एकातिर ‘अनुराधा’ले पुरानो नेपालको परिवेश घुमाउँदै थिइन् भने अर्कातर्फ आफैँ म विश्वको एक पुरानो सभ्याता मानिएको रोमन सभ्यताको अवशेषहरूमा हाम्रो संस्कृतिसँग मेल खाने पाटाहरूको खोजी गर्दै थिएँ । ‘अनुराधा’का सुरुवाती पानाहरूमा रेल र मधेसी पात्रहरूको चित्रणले कता कता घामका पाइलाहरूको सम्झना पनि गराएको थियो । यता भेस्टल अभ भर्जिनको कथाले नेपालको कुमारी प्रथाको सम्झना गराइरहेको थियो । कोलोसियमसँग जोडिएको रोमन फोरममा भएको यो मन्दिरमा चुलाको देवताको पूजा हुन्थ्यो र त्यसका लागि एक अखण्ड ज्योति कायम गरिन्थ्यो । यो ज्योति कायम गर्नका लागि ६ देखि ३६ वर्षका कुमारीहरूको प्रयोग हुन्थ्यो । यी कुमारीहरूले केही गरी नियम तोडे मृत्युदण्डसमेत दिने गरिन्थ्यो ।
‘अनुराधा’को थप पठन पिसाका लागि ट्रेन यात्रा गर्दा भयो । चार घण्टा लामो यात्रामा घरिघरि झ्यालबाट देखिने भूमध्य सागरकै टिरेनियन सिका निला र लोभलाग्दा तटहरूसँगै ‘अनुराधा’का थप पानाहरू पनि पल्टाउँदै गएँ । ‘अनुराधा’ले विस्तारै आफ्नो विगत कोट्याउँदै थिइन् । उनको विगत पढ्दै गर्दा उनलाई सशक्त पात्रका रूपमा चिनिनुको कारणको भेउ पाउँदै थिएँ । रूपले सुन्दर, कन्भेन्ट स्कुलको पढाइ, पुरुषहरूलाई बेवास्ता गर्ने, घमन्डी आदि स्वभावको चर्चा थियो । यी कुराहरूलाई सशक्तताको पर्याय बनाइएको कुरा खासै चित्त बुझेको थिएन । सँगसँगै आएका पहिरनको कुराहरू, पुरुषलाई आफूसरह ठान्ने कुराहरू अनि वासनायुक्त नजरले हेर्ने आठदश जना पुरुषहरूसँग नडराएको कुराहरूले उनलाई त्यस समयका लागि सशक्त नै मान्न मिल्थ्यो ।
पिसा तुलनात्मक रूपमा सानो र छोटो समयमा घुमेर भ्याइयो । निर्माणका क्रममा भएका भूलका कारण ढल्किएको पिसाको झुकाबले नै पिसालाई विश्वविख्यात बनाएको थियो अनि कुन कुनाका हामीलाई यहाँसम्म पुर्याएको थियो । पिसाको ढल्केको स्तम्भ, चर्चका पुराना मूर्तिहरू र पेन्टिङ्ग लगायतका कुराहरू हेरिओरी हामी टिरेनियन सागरको तटमा पुगेका थियौँ । प्रायः बिदामा जाँदा तटमा गोराहरू घाम ताप्दै किन्डल या पुस्तक हातमा राखेर पढिरहेका हुन्थे । तट पुगेपछि बल्ल याद आयो, ‘अनुराधा’ कोठामै भुलेछु । पानीमा रमाउनु र केही बेर घाम ताप्नु मात्रै भयो ।
भोलिपल्ट पनि उस्तो समय मिलेन । हाम्रो यात्रा पिसाबाट फ्लोरेन्स पुग्ने थियो । त्यहाँका बारेमा सुनेका थुप्रै चर्चाहरूले हामीलाई त्यहाँ पुर्याएको थियो । बिहान गएर साँझ फर्कने हुनाले ‘अनुराधा’सँग खासै समय बिताउन पाइएन । उही ट्रेनमा आउँदा जाँदाको लगभग २ घण्टामा मिलेको समयमा पल्टाइयो । नत्र फ्लोरेन्समा माइकलेन्जेलो, वार्तोलिनी र पाम्पालोनीका मूर्तिहरूले नै बढी समय लिए । विशेष गरी विश्वप्रसिद्ध मानिएको प्यारिसकी पोक्चीकै समकालीन मूर्ति डेभिडले बढी समय लियो । डेभिड र गोलियथको बाइबल कथामा आधारित पात्रको गोलियथसँग भिडन्त हुनुअघिको काँधमा गुलेली बोकेको नग्न मूर्ति जसमा साहस र निडरता शरीरको नसाहरूसम्म फुलेको देखाएर प्रस्तुत गरिएको छ, त्यो हेर्न मजस्ता सयौँको भिड त्यहाँ जम्मा थियो ।
पियाजा माइकलेन्जेलोबाट फ्लोरेन्स सहरको घण्टौँ लामो अवलोकनपछि हामीले फ्लोरेन्सलाई बिदा गर्यौँ र फेरि पिसातर्फ लाग्यौँ । यात्राको मध्यबिन्दु लगभग सकिइसकेको थियो । अब बिस्तारै अन्त्यतिर लाग्नु थियो । त्यसैले साँझ कोठामै आराम गर्यौँ । त्यसले ‘अनुराधा’का थप पानाहरू पल्टाउने अवसर पनि दियो तर त्यो लामो गएन । ९७ औँ पानासम्मको पठनपछि बत्ती निभाउने आदेश आयो । यस्ता बेला हो किन्डलको माया लाग्ने । दुःखको कुरा साथमा लगेको किन्डलको चार्ज सकिएको थियो र फेरि चार्ज गर्नका लागि तार बोकेर ल्याएको थिइनँ । फेरि त्यो ल्याएको भए पनि ‘अनुराधा’ पढ्न मिल्ने थिएन के रे !
९७ औँ पानामा आएर डाइरेक्टर रत्नमान कथामा भित्रिइसकेका थिए । उनका बारेमा धेरै लेख्यो भने नपढेकाहरूका लागि खासै रोचक नहोला । त्यसैले यति नै भनौँ । रत्नमानसँगको सङ्घर्षमा ‘अनुराधा’ के गर्लिन् भन्ने जिज्ञासा मनमै राखेर सम्भावित अन्तहरू कल्पँदै निद्राको प्रतीक्षा गरेँ । कति बेला आँखा बन्द भयो र कति बेला बिहान भयो पत्तै लागेन । बिहान अघि चाँडै आँखा खुलेछन् । त्यही मौका छोपेर ‘अनुराधा’ र म लाग्यौँ पिसाको स्तम्भतिर ।
हामीले लिएको कोठाको करिब पाँच सय मिटरपर थियो पिसाको ढल्केको स्तम्भ । मानिसहरू बिहानै पिसाको स्तम्भअघि फोटो खिच्न जम्मा भइसकेका थिए । उनीहरूलाई हेरेर रमाउँदै ‘अनुराधा’का थप पानाहरूमा म हराएँ । केही बेरपछि हामीले पिसा छोडेर जानु थियो । त्यसैले पनि मलाई चाँडो उठेर पाएको थप समय कोठामा बढी समय बिताउनुभन्दा ‘अनुराधा’सँग पिसाको स्तम्भअघिको चौर हेरेर बिताउन मन लागेको थियो । कोठाभित्र त जता गए पनि चार पर्खाल नै हुने हुन् । हैन त !
पिसाका अन्तिम केही सम्झनाहरू सँगाल्दै र आउँदाका दृश्य हेर्दै हामी रोमतर्फ लाग्यौँ । बाटामा ‘अनुराधा’ रत्नमानसँग सङ्घर्षरत थिइन् । कथामा समुद्रमान पनि प्रवेश गरिसकेको थियो । को समुद्रमान भन्नुहोला, त्यो त किताब नै पढ्नुपर्छ । समुद्रमान ‘अनुराधा’को रत्नमानसँगको सङ्घर्षको हतियार हो सम्म भन्दा सायद यसले कथाको रहस्य चुहाउँदैन होला । जे होस् यहाँसम्म पुग्दा चाहिँ कथाको सुरुवाती पट्यारलाग्दो मनोवादको अन्त्य भइसकेको थियो । अब कथामा पात्र र घटनाहरू पनि तमाम प्रवेश गरिसकेका थिए । खाली ‘अनुराधा’सँगको एक किसिमको अपेक्षा भने कमजोर हुँदै गएको थियो ।
रोम पुगेपछि फेरि पुराना सभ्यताका भग्नावशेष मात्रै हेरेर समय बिताउने मन भएन । त्यसैले त्यहाँको चर्चित त्रेभी फोहरा हेर्न हामी निस्कियौँ । बाटो बिराएर हो वा किन हो हामी आवेलिस्को पछ्याउँदै स्प्यानिस खुर्कुट्टीसम्म आइपुग्यौँ तर एक पानीको फोहरा र त्यसका माथि खुर्कुट्टी नै खुर्कुट्टी भएको स्प्यानिस स्टेप्समा मान्छेको भिड भनीसाद्दे थिएन । ती खुर्कुट्टीको टाकुरामा ओबेलिस्को र त्यसभन्दा अझै माथि लगभग ५ सय वर्ष पुराना फान्सिसीहरूले बनाएको गिर्जाघर थियो । ओबेलिस्को पछ्याउँदै आएका हामीले कल्पना नै नगरेको तर रोमको छुटाउनै नहुने खुड्किला पनि हेर्न पायौँ । फर्कने बेला फेरि त्रेभी फाउन्टेनको भिड छिचोल्दै कोठातिर लाग्यौँ । कोठामा ‘अनुराधा’ प्रतीक्षा गरेर बसिरहेकी थिइन् ।
‘अनुराधा’सँगको बसाइ भोलिपल्टको लाममा अलि लामो भयो । युरोपियन युनियन भित्रका अन्ताराष्ट्रिय उडानहरूका लागि अनिवार्य बनाइएको एन्टिजेन टेस्टको लाम लगभग तीन घण्टा बसियो । यो ‘अनुराधा’को कथा सुन्नका लागि उपयुक्त समय पनि भयो । लाममै आधा दिन जस्तो गइसकेपछि थप केही गर्ने रहर थिएन । त्यसैले सोझै टिरेनियन सागरको तटमा घाम तापेर दिन काट्यौँ । साँझ भातको मायाँले एउटा भारतीय रेस्टुरेन्टमा खाना खान पस्यौँ । त्यहीँ सिन्धुपाल्चोकका निमा दाइ पनि भेटिए । हल्का भलाकुसारी पछि छुट्टियौँ र फर्कने अन्तिम तयारीमा लाग्यौँ ।
‘अनुराधा’को पठन लगभग अन्तिमतिर थियो । अन्तिमका चार-पाँच पानाहरू मात्रै हुँदा एक खालको छटपटी हुने गर्छ अनि त्यो छटपटीसहित पढ्न केही गाह्रो हुन्छ । त्यसैले अन्तिमका पानाहरू बाँकी नै रहे । बरु रोममा केही नछुटोस् भनेर कोठानजिकको ओबेलिस्क हेर्न बिहानै निस्किएँ । मिस्रको नाइल सभ्यताका अवशेषहरू रोमनहरूले युद्धमा परास्त गरेसँगै १३ थान त रोम सहरमा मात्रै राखेका रहेछन् । त्यसमध्येको संसारकै सबैभन्दा ठूलो प्राचीन मिस्रको ओबेलिस्को घरनजिकै भएपछि त्यो मौका कसरी गुमाउनु । १५० फिट अग्लो र करिब ३ हजार ४ सय वर्ष पुरानो इतिहास बोकेको यो ओबेलिस्कोले मिस्रबाट अलेक्जेन्ड्रिया हुँदै हालको स्थानसम्मको यात्राको कथा पनि रोचक छ तर त्यो कथा कुनै अरू दिन भनुँला । ओबेलिस्को हेर्न भनेर निस्किएको भए पनि पियाजा सेन्ट ज्योभानी, बासिलिका अभ होली क्रस (जसमा क्राइस्टको शिरमा मृत्यका बखत लाएको काँडाको मुकुटका केही काँडादेखि चिहानमा क्राइस्ट सुत्दाको छापहरू सबै छ, आधिकारिकताको स्वतन्त्र पुष्टि बेग्लै कुरा हो) लगायत हेरेपछि विमानस्थलका लागि हामी हिँड्यौँ ।
‘अनुराधा’का अन्तिम पानाहरू एकैपटक विमान चढेपछि पल्टाएँ । रोमको यात्रा र ‘अनुराधा’को साथ सँगसँगै टुङ्गियोस् भन्ने थियो । त्यसैले बाँकी पानाहरू छटपटाहटका बीच विमानमै पढेर सकेँ । त्यसपछि एउटा अर्कै छटपटी सुरु भयो । ‘अनुराधा’ फेला पार्न गरेको दुःख । पढिसकेपछिको अनुभव, केही अपुरा अपेक्षाहरू, केही असन्तुष्टिहरू आदि सबैले केही लेख्न बाध्य पारे । तिनैलाई सँगालेर केही आलोचनात्मक टिप्पणी पनि लेखेँ ।
बुकाहोलिकको सो टिप्पणीमा आएका प्रतिक्रियामध्ये नेत्र एटम सरका टिप्पणीहरूले केही तुलनात्मक अध्ययनमा सहजता मिल्यो । वि सं २०१८ मा प्रकाशित भएको ‘अनुराधा’मा त्यस समयका लागि पर्याप्त विद्रोही हुँदी हुन् कि जस्तो पनि लाग्यो । फेरि कतिपय कुराहरूमा भने उनको विद्रोहीपना कतै बिलाएको भान हुन्छ । एक्लै प्रवासमा बसेर पढिरहेकी र आफूलाई कुनै किसिमले पनि कमजोर नठान्ने नारीले बिस्तारै कृत्रिम सम्बन्धहरूसामु आत्मसमर्पण गर्दै गरेको किन हो चित्त बुझेन । हुन त पुरुष लेखकले लेख्दा यस्तो भएको होला भन्ने प्रारम्भिक अनुमान पनि नगरेको होइन तर फेरि नारी कलमबाट जन्मिएको सकम्बरी पनि त आखिर ओइली झरिन् । बरु विपीको तीन घुम्तिीकी इन्द्रमाया सशक्त लाग्छे ।
समग्रमा ‘अनुराधा’ एक समयको अध्ययनका लागि महत्त्वपूर्ण पुस्तक लाग्यो । चित्रणमा केही कमजोरी लागे पनि वा भाषागत र शैलीगत जटिलता महसुस भए पनि ‘अनुराधा’ चिनिरहनु राम्रो होला । सायद यसले नारी पात्रको चित्रणको इतिहास बुझ्नकै लागि मात्रै भए पनि मद्दत गर्छ होला । २०१८ सालकी ‘अनुराधा’ र २०७८ सालमा चिनिएकी फ्यामिली फोटा कथाकी सिर्जनाकी आमासम्म पुग्दा नेपाली साहित्यमा पनि निकै नै परिवर्तन आइसकेको छ । सिर्जनाकी आमा दुर्गा कार्कीद्वारा रचित त्यस्ती महिला पात्र हुन् जो कन्भेन्ट स्कुलको पढाइबिनै र कुनै चर्चा गर्न लायक रूपबिना पनि आफूमाथि अन्याय गर्ने पतिलाई खुर्पाले प्रहार गरेकाले जेल परिन् । हो यहाँसम्म पुग्न नेपाली साहित्यले पार गरेका घुम्तीहरू बुझ्नका लागि पनि ‘अनुराधा’ सहायक हुन सक्छ । अस्तु !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।