साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बिम्ब चाम्रो, बुझ्न गाह्रो; तर बडाे गज्जबका राजाका कविता

एउटा कवि भनेको भावनात्मक रूपले कोमल मन भएको मान्छे भनिन्छ । तर कवि राजा पुनियानीका कविताहरू सुनिरहँदा कवि हृदयभित्रको त्यो कोमलता भेट्टाउन मुस्किल हुन्छ । यस्तो किन भयो त ?

फेसबुकमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेपछि साहित्य, कला तथा सङ्गीत क्षेत्रका स्रष्टाहरूलाई थोरै भए पनि नजिकबाट चिन्ने मौका मिल्न थालेको छ । साहित्यमा कलम चलाइरहनु भएकाहरूको बारेमा पहिलेभन्दा अलिक बेसी बुझ्ने अवसर मिलेको छ । मेरो लागि यो एउटा अवसर पनि हो, र चुनौतीसँगै बाध्यता पनि । आफूले सञ्चालन गर्ने कार्यक्रममा जब कोही व्यक्ति अतिथि भएर आउनुहुन्छ, उहाँको बारेमा अलिकति पनि अध्ययन गरिएन भने कार्यक्रममा उहाँहरूलाई के प्रश्न सोध्ने ? भन्ने प्रश्न म आफैँलाई गरिरहन्छु । प्रश्न बनाउनकै लागि भए पनि अध्ययन जरुरी देखियो र सुरुवाती दिनमा मैले केवल प्रश्नकै लागि मात्र भए पनि स्रष्टाहरूको बारेमा अध्ययन गरेँ । जब हरेक हप्ता एक जना नयाँ स्रष्टा जोड्नुपर्ने र उहाँको बारेमा अध्ययन गर्नुपर्ने भएपछि बिस्तारै मलाई अध्ययनमा पनि मज्जा आउँन थाल्यो । त्यसपछि भने मैले केवल प्रश्नका लागि मात्रै नभएर आफ्नो ज्ञानको भण्डार बढाउनको लागि पनि कार्यक्रममा आउने अतिथिहरूको बारेमा चाख राखेर खोज्न थालेँ ।

सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट सञ्चालन हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना”को ६४ औँ शृङ्खलामा सिलगुडी, भारतबाट एक जना कवि जोडिने जानकारी मलाई प्राप्त भयो । कार्यक्रमको ब्यानर सार्वजनिक हुनुभन्दा अघिसम्म पनि मैले उहाँलाई चिनेको थिइनँ । उहाँको बारेमा केही थाहा थिएन । उहाँका कविता त झन् सुन्ने कुरै भएन । कार्यक्रमको ब्यानर बन्नुभन्दा केही दिन पहिले प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगर दाजुले “अब आउने अतिथिका कविता हुन, सुन्नु है” भनेर तिनै कविका दुईओटा कविताको युटुब लिङ्क पठाउनु भएको थियो । फुर्सद नभएका कारण मैले ती कविता पनि हेर्न र सुन्न पाएको थिइनँ ।

बिहीबारको कार्यक्रमका लागि सोमबार बिहान ब्यानर सार्वजनिक गर्दा पनि उहाँको नाम र ठेगाना मात्र उल्लेख गरेर संस्थाको पेजमा ब्यानर राखेँ । किन भने त्योभन्दा बेसी मलाई उहाँको बारेमा केही जानकारी थिएन ।

राजा पुनियानी

ब्यानर पोस्ट भएपछि भने अध्ययन सुरु भयो । सुरुवातमा तिनै दुई कविता सुनेँ जो अध्यक्षज्यूले पठाउनुभएको थियो । पहिलो कविता थियो “भ्रम पहाड” र अर्को “इन्काउन्टर” । यी दुई कविताले मलाई भयानक  प्रभावित बनायो ।  कारण थियो, क्रान्तिकारी कविता लेखन र फरक वाचन शैली । कवितामा फिल्मी शैलीको डाइलग र त्यही अनुसारका दृश्यहरू समेटिएका कारण पनि यी दुई कविताले मन छोएको हो । कवितामा यस किसिमको प्रयोग नेपालमा पहिलो पटक कवि विकास थापाले आफ्नो कविता “बुझ्नै सकिनँ”मा प्रयोग गर्नुभएको थियो । जसलाई अर्का कवि हेम प्रभास अधिकारीले सन् २०१८ अक्टोबर ११ मा निर्देशनसँगै कवितामा आवाज दिएर बजारमा ल्याउनु भएको थियो । जसलाई उहाँले नेपालकै पहिलो “सिनेम्याटिक कविता” भनेर नाम दिनुभएको थियो । फेरि यस्तै शैलीमा पछिल्लो समयका लोकप्रिय कवि नवराज पराजुलीले करिब ६ महिना पहिले मात्र अर्थात् सन् २०२१ फेब्रुअरी १२ मा “एक्लै” कविता सार्वजनिक गर्नुभयो । जो अधिक मन पराइयो पनि । कवि विकास थापा र कवि नवराज पराजुलीका यी दुई कविताबाहेक यसरी फरक शैलीमा प्रस्तुत गरिएका अरू कविताहरू मैले हेर्न र सुन्न भ्याएको रहेनछु ।

तर कवि राजा पुनियानीले करिब चार वर्ष पहिल्यै अर्थात् सन् २०१७ अक्टोबर १८ तारिख “भ्रम पहाड” र  सन् २०१८ जनवरी ०६ मा “इन्काउन्टर” कविता बजारमा ल्याएर नेपाली कवितामा फरक शैलीको प्रयोग गरिसक्नुभएको रहेछ । जसलाई उहाँले “मल्टिमिडिया कविता” भनेर नाम दिनुभएको छ । यो कुरा थाहा पाएपछि झन् बेसी उहाँबाट प्रभावित भएँ । कवि राजा पुनियानी भारतीय जमिनको नेपाली कवि भएका कारण पनि हुनसक्छ, कवि विकास थापाकै कवितालाई नेपालको पहिलो “सिनेम्याटिक कविता” भनेर भनियो ।

ब्यानर सार्वजनिक हुनुभन्दा अघिसम्म कवि राजा पुनियानीलाई के के प्रश्न सोध्ने होला भनेर दोधारमा परिरहेको मैले उहाँका ती दुई कविता सुनेपछि भने लेख्दै आउनुभएको “कविता लेखन शैली र फरक वाचन शैली”मा मात्र केन्द्रित रहेर कुराकानी गर्ने निधो गरेँ । र, त्यही अनुसारको प्रश्नहरू तयार गर्न थालेँ । हुन त उहाँका थुप्रै परिचयहरू छन् । उहाँ कवि सँगसँगै गीतकार पनि हुनुहुन्छ । उहाँ पत्रिका सम्पादन पनि गर्नुहुन्छ । यस हिसाबले उहाँ सम्पादक पनि हो । उहाँ चित्र पनि बनाउनु हुन्छ । मैले उहाँसँग चित्रकलाका बारेमा पनि कुराकानी गर्न सक्थेँ होला । उहाँले केही म्युजिक भिडियोमा अभिनय गरेर आफूलाई कलाकारको रूपमा पनि प्रस्तुत गरिसक्नुभएको छ । कार्यक्रममा यो पनि एउटा कुराकानीको विषय बन्न सक्थ्यो ।

उहाँ भारत सिलगुढीस्थित “सुलेन्द्र इन्जिनियरिङ एण्ड मानविकी इन्स्टिच्युट”को सहायक प्राध्यापक पनि हुनुहुन्छ । एउटै मान्छेको यतिधेरै परिचय हुनु र यतिधेरै परिचय बनाउन सक्नु आफैँमा एउटा गज्जबको कुरो थियो । उहाँका यति धेरै परिचय र उहाँसँग कुरा गर्न सकिने यति धेरै विषय हुँदाहुँदै पनि मैले उहाँसँग फरक शैलीको कविता लेखन र कविताको फरक वाचन शैलीकै बारेमा कुराकानी गर्ने निर्णय गरेँ । किन भने मलाई उहाँका यिनै दुई कुराले प्रभावित पारिसकेको थियो ।

भारतको पश्चिम बङ्गाल, सिलगुढीमा सन् १९७७ जुलाई १२ तारिख जन्मनुभएका कवि राजा पुनियानीका कतिपय कविताहरू सुनिरहँदा भने कुनै नेताको भाषण सुने जस्तो अथवा कुनै चलचित्रको नायकले बोलेको डायलग सुने जस्तो पनि नलागेको पनि पक्कै होइन । साथै कति कविताहरू त यस्ता पनि छन्, जो एकपटक पढेको र सुनेको भरमा बुझ्न गाह्रो हुन्छ । त्यसैले राजा पुनियानीका कविताहरू बुझ्न साहित्यिक चेतसँगै  थोरै राजनीतिक चेत र इतिहासका घटनाक्रमको बारेमा पनि जानकार हुनुपर्ने रहेछ भन्ने म आफैँले महसुस गरेँ । आफ्नो चेतनाको स्तरलाई तलै राखेर एउटा कविले लेखेको कविता “मैले त बुझ्नै सकिनँ, कति अप्ठ्यारा बिम्बहरू राखेर कविता लेख्नु भएको ?” भनेर फ्याट्ट भनिहाल्न पनि नहुने रैछ भन्ने पनि बोध भयो । कविले जति मेहनत गरेर एउता कविता लेख्छ, पाठकले पनि थोरै मेहनत गरेर पढ्ने हो भने कविता बुझ्न त्यति गाह्रो पनि नहुने रहेछ, जति हामी गाह्रो ठान्छौँ भन्ने कुराको पनि महसुस भयो । किनकि कवि पुनियानीका थुप्रै कविताहरू सरसर्ती सुनेको र पढेको भरमा बुझ्न गाह्रै पर्यो मलाई ।

एउटा कवि भनेको भावनात्मक रूपले कोमल मन भएको मान्छे भनिन्छ । तर कवि राजा पुनियानीका कविताहरू सुनिरहँदा कवि हृदयभित्रको त्यो कोमलता भेट्टाउन मुस्किल हुन्छ । यस्तो किन भयो त ? भनेर सुरुवातमै मैले उहाँलाई जिज्ञासा राखेँ ।

“कविता एउटा डाइनामिक विधा हो । यो लचिलो हुन्छ । यसमा खालि ठाउँ बेसी हुन्छ । कविताभित्र ध्वनि छ । चित्र छ र मोसन छ । कसैको विचारलाई बोक्ने एउटा माध्यम पनि कविता हो, र कवितामा कलाका प्रायःजसो सबै प्रकारका रस भेटिने, र यी सबै कुराको लचकताले गर्दा आफूले चाहे जस्तो ढङ्गमा कवितालाई ढाल्न सकिने भएकोले गर्दा पनि आफ्नो कवितामा त्यसो हुन गएको हाे” याे कवि पुनियानीकाे भनाई हो ।

माथि नै उल्लेख गरे जस्तो उहाँका कुनै कविता नेताको भाषण सुनेजस्तो आङै सिरिङ्ग पार्नेखालको अनि कुनै कविता कुनै नायकले खलनायकलाई डायलग दिए जस्तो लाग्नु स्वभाविक लाग्यो मलाई । यस्तो आरोप यसभन्दा अघि कत्तिको खेप्नु पर्यो ? यो मेरो दोस्रो प्रश्न थियो उहाँलाई ।

पहिले पहिले झन् कडा खालको कविता लेख्ने गरेको कारण यस किसिमको आरोप पहिले पनि खेप्नु परेको कुरा उल्लेख गर्नु भयो उहाँले ।

पाठकहरूले “राजाको कविता बडो गज्जब हुने तर बुझ्नचाहिँ गाह्रो, बिम्बहरू चाम्रो भएको” आरोप  लाउने गरेको भन्दै मैले लगाएको आरोपलाई पनि सहर्ष स्वीकार गर्नुभयो । यस्ता आरोपहरू आउन थालेपछि भने पछिल्लो समय अलिक सजिलो पनि लेख्नुपर्छ कि भन्ने महसुस आफूले गरेको बताउनु भयो ।

तर कविताको विषयवस्तु जुन तरिकाले आएको हुन्छ । त्यसलाई जबर्जस्ती सरल बनाउने अथवा अप्ठेरो बनाउने कामचाहिँ आफूले नगरेको कुरा थप्नु भयो । जुन वैचारिक पृष्ठभूमिबाट कविताको बीज आएको हुन्छ, जुन दिशा र तरिकामा अङ्कुरित हुन्छ, कविता पनि त्यसरी नै आउँछ भन्ने उहाँको बुझाइ रहेको छ ।

“हिजोका दिनमा कविताको वाचन जसरी हुँदै आएको थियो, त्यो परम्परालाई तोड्दै बिल्कुल फरक ढङ्गले वाचन गरिएको वाचन शैलीले कवितामा कस्तो प्रभाव पर्छ त ?” भन्ने मेरो जिज्ञासामा उहाँले भन्नु भयो, “कविता एउटा यस्तो विधा हो जो उपन्यास जस्तो पढिने मात्र नभएर प्रस्तुत गरिने विधा पनि हो । त्यसैले मैले हरेक कवितालाई कविताको डिमाण्ड अनुसार प्रस्तुत गर्ने गरेको छु । तर यसको मतलब अरु भन्दा आफू फरक हुन खोजेको अथवा पूर्णरूपमा अरूभन्दा भिन्नै हुन खोजेको हाेइन । कवितालाई मैले रगतमा फिल गर्ने गरेका कारण हरेक कवितालाई आफूले पर्फमिङ आर्टको  रूपमा लिने गरेको छु ।”

नेपाली, अङ्ग्रेजी, हिन्दी र बङ्गाली भाषामा बराबर कलम चलाउन सक्ने कवि पुनियानीले आफू १० वर्षको हुँदादेखि नै कविता लेख्न सुरु गर्नुभएको थियो । भारतकै कलकत्ता, सिलगुडी, सिक्किमसहित नेपालका पनि झापा, हेटाैँडा, चितवन, काठमाडाैँ, पोखरालगायत स्थानमा एकल कविता वाचन गरिसक्नुभएका युवा कवि पुनियानीले त्यस्ता कार्यक्रममा जाँदा आफ्नो कविताबारे विभिन्न खाले प्रतिक्रिया पाउने गरेको बताउनुभयो । कतिपयले त आफ्ना कवितालाई कविता नभएर नारा हो भनेर पनि प्रतिक्रिया दिएको सम्झना गर्नुभयो । तर नारा कतिबेला कविता हुन्छ र कविता कतिबेला नारा बन्छ भन्ने कुरो छुट्याउनुचाहिँ एउटा कविको लागि ठूलो चुनौती हो भन्ने उहाँको ठहर छ । र नारा र कविताबिचको फरक छुट्याउन सक्ने ल्याकत पनि एउटा कविमा हुनुपर्ने गुण हाे ।

एउटा कविले लेखेको कुरा कविता भयो कि भएन भनेर छुट्याउने काम फेरि पनि पाठक वर्गमै रहेको हुँदा उनीहरूका हरेक प्रतिक्रियालाई पुनियानीले सहर्ष स्वीकार गरेका छन् । कविता लेख्न सिक्ने क्रममा कथा, उपन्यास पनि पढ्ने गरेको, नाटक पनि लेख्ने, बेलाबेला खेल्ने पनि गरेको र आफूभित्र अभिनयको पनि एउटा पाटो रहेको हुँदा यी सबै कुराले गर्दा आफ्ना कविताहरूको लेखन र प्रस्तुतीकाे शैली अरूभन्दा फरक हुन गएको भन्ने उहाँको बुझाइ रहेको छ ।

समकालीन प्रतिरोध लेखनको वकालत र प्रवर्द्धन गर्न सन् २०१५ मा नेपाली साहित्यमा “हस्तक्षेप”  नामक आन्दोलन सुरु गर्नुभएका कवि पुनियानीको अहिलेसम्म एउटा मात्र कवितासङ्ग्रह “अर्को लस्कर” सन् २०१३ मा निस्किएको थियो । जसलाई उहाँले “शृङ्खला कविता” भनेर नाम दिनुभएको छ । त्यसैगरी सहलेखन अर्थात् एउटा संयुक्त कवितासङ्ग्रह  “आजकेर उत्तर” पनि प्रकाशित छ । जुनचाहिँ बङ्गाली भाषामा रहेको छ ।

जुन कुरा अनिश्चित हुन्छ त्यो कुरा जीवन्त रहन्छ भने जस्तै कविता पनि एउटा जीवन्त रहने विधा भएकोले यसमा पनि एक किसिमको अनिश्चितता भेट्न सकिन्छ । सुरुवातदेखि नै विभिन्न खाले प्रयोग र त्यो प्रयोगका कारण कविताले फरक फरक रुप धारण गरेर अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाई रहेको छ । र, भोलिका  दिनमा यसमाथि अझै नयाँ नयाँ  प्रयोग हुँदै जाने र कविताले अर्कै रूप लिनसक्ने उहाँको अनुमान छ ।

प्रतिक्रिया
Loading...