भूमिका 

नवीन सर्जक जसको एउटा मात्र कृति प्रकाशनमा आएको छ उनीहरूको कृति विश्लेषणको पाँचौँ क्रममा यसघरी मेराअघि छ असमकी युवा कवि अनुपमा कट्टेलको काव्यकृति “शब्दहरू मेरा घाम हुन्।” हुन त यो पुस्तक सन् २०२० को डिसेम्बर महिनामै प्रकाशित भएको हो र धेरै समीक्षकले प्रस्तुत पुस्तकको शल्यक्रिया गरिसकेका छन् र पाठकबाट पनि निकै समादार पाइसकेको छ, धेरै चर्चामा आइसकेको छ। साँचो भन्नु हो भने विगत लकडाउनमा असमबाट प्रकाशित पुस्तकहरूको श्रेष्ठताको सूची तैयार गर्नु हो भने “शब्दहरू मेरा घाम हुन्” ले नि:सन्देह तालिकाको माथिल्लोपट्टि नै स्थान पाउने छ।

“शब्दहरू मेरा घाम हुन्” ३४ वटा कविताहरूको सँगालो हो। काव्यिक चस्मा भिरेर जीवनको सत्यान्वेषणमा निस्किएकी कवयित्री अनुपमाका कविताहरूमा वैयक्तिक, सामाजिक र प्राकृतिक-पारिवेशिक विषयहरू पाइन्छ्न् र यी विषयहरू आफ्नै ढङ्गले सजाएर उनले शब्दको माला बनाएकी छन्। यस सँगालोभित्र समावेशित कविताहरूले सामाजिक विसङ्गति र कुरीतिहरूको भन्डाफोर, यान्त्रिकताले कुण्ठित पारेको समकालको कथा र व्यथा,  नारी अधिकार र अस्मिताको समस्यालाई अनेक बिम्बमा उनेर काव्यिक रूप दिने प्रयास र नारीमुक्तिको पक्षधरता, जातीय जीवनका अन्त्यहीन भोगाइ र पीडाको अभिव्यक्तकरण, दुर्नीति र भ्रष्टाचारको उजागरीकरण, पर्यावरण सचेतता, प्रेम प्रणयका प्रस्फुटन र कुण्ठाको प्रकाश, बेरोजगारी समस्याप्रति तीक्ष्ण दृष्टि, भोकमरीको पीडालाई आत्मसात तथा ह्रासोन्मुख सामाजिक मूल्य र मान्यताको प्रकटीकरण गरेको देखिन्छ।

अनुपमालाई थाहा छ – कविता भाषाको सबैभन्दा प्रभावकारी अभिव्यक्ति हो र विचारको उच्चताले मात्र कवितालाई सुन्दर बनाउन सकिँदैन, कलात्मकता चाहिन्छ। कविता भनेको कथ्य र शिल्पको सन्तुलन हो। कविताको धेरै विषय युगनिष्पक्ष हुन्छ्न्, सार्वकालिक हुन्छन्। अङ्ग्रेजी निबन्धकार ए. जी. गर्डिनरले भनेका छन् – Fundamental human problems remain same all the ages. हो पनि, मानिसको सुख र शान्तिको चाहना चिरन्तन हो । त्यसैले मानिसले परापूर्वकालदेखि नै प्राय: प्राय: एउटै विषयहरू कवितामा उतारेका छन् भिन्न ढङ्गले, भिन्न रङले। यही कारण होला कसै कसैले भन्न चाहेका हुन् – कविताको कथ्यमा परिवर्तन आउँदैन, शिल्पमा मात्र आउँछ। कुरो यति सोझो र सरल पनि होइन। युगको परिवर्तन र सामाजिक व्यवस्थाको परिवर्तनका औँला समाएर मानिसका मागमा परिवर्तन आउँछ, मूल्य र मान्यतामा परिवर्तन आउँछ, विचारमा परिवर्तन आउँछ। कविले कविताको माध्यमले यी नयाँ नयाँ विषयहरूलाई सम्बोधन गर्छ वा गर्नुपर्छ। यसैले युगीन यथार्थ भनेको शिल्प र कथ्य दुवैमा नवीनता हो। कविले अतीत देखेको हुन्छ, वर्तमान भोगेको हुन्छ। यो देखाइ र भोगाइको घडेरीमा उभिएर उसले भविष्यको पनि एउटा “रोड म्याप” बनाउँछ। यसैले कविलाई भविष्य द्रष्टा भनिएको हो। कुनै पनि कविले एक निर्दिष्ट कालखण्डमा कविता लेख्छ। तर उसका सिर्जनाहरूले सार्वकालिक र युगीन यी दुवै प्रकारका यथार्थ बोकेको हुन्छ। कविको भविष्य दृष्टि निर्भर रहन्छ समाज, यसको विकासको वैज्ञानिक धारा, राष्ट्रको चरित्र, अन्तर्राष्ट्रिय राजनीतिको स्वरूप आदि विषयहरूमा रहेको ज्ञानको गहिराइ र कार्य-कारण विश्लेषण क्षमतामाथि। कविले कोरेको कविताको “रोड म्याप” को शुद्धताको माप पनि यही हो। यी कुराहरू कविको सामाजिक प्रतिबद्धतालाई स्वीकार्दा मात्र आलोचना गर्ने कुरा हुन्।

समाजको यथार्थ चित्रण :

मलाई लाग्छ अनुपमा कट्टेल सामाजिक विषयहरूमा चासो राख्ने कवि हुन् र यिनै सामाजिक विसङ्गतिहरू देखेर उनको कवि मनले उनलाई कविता लेख्न हुट्हुटी लगाएको हो। कविताप्रति उनको गहिरो आस्था छ। र त उनी भन्छिन् –

“कविता !

तिमी नभए सभ्यताका सबै आयोजनहरू

अर्थहीन, निरस एक एक कोरा पाना ।”

(मनको गहिराइमा कविता तिमी)

रूद्र बराल

कविको सामाजिक प्रतिबद्धताप्रति विश्वास राख्ने कवि अनुपमा जान्दछिन् –

“जब देश दुख्छ

तिमी दुख्छौ

जब जातिलाई चोट लाग्छ

तिमी छ्टपटाउँछौ”

(कविज्यू)

सामाजिक प्रतिबद्धताको अङ्गीकार गर्दै कविता लेख्न कम्मर कसेकी अनुपमाका कविताहरूमा समाजका विकृति र विसङ्गतिहरू यसरी झल्किएका छन् –

“सबै नाङ्गिएका छन् यहाँ –

गुलाम नाङ्गिएको छ वस्त्रका अभावले

बिबी नाङ्गिएकी छे रुमानी स्वभावले

प्राचुर्यको धाक देखाउने बादशाहसमेत नाङ्गिएको छ

क्षमताको प्रभावले”

(काकाकुल)

समाज आज नाङ्गो भएको छ। समाजमा एकतिर भोकमरीले मानिसलाई नाङ्गो पारेको छ भने अर्कोतिर प्राचुर्यले अन्धो पारेको छ। यो भोगाइको अन्त्य नभए समाज अघि बढ्दैन। यसैले उनी भन्छिन् –

“एक झर बर्सातको आशामा बन्दी छ 

मेरो काकाकुल गाउँ

उता हुट्टिट्याउहरू कराएका कराएकै छन्”

(काकाकुल)

उनको गाउँ काकाकुलको अमेट तृष्णामा छट्पटाइरहेको छ, परिवर्तन ल्याउन मानिस जुर्मुराइरहेका छन्। तर परिवर्तन विरोधी हुटिट्याउहरू यो परिवर्तन नआओस् भनेर हल्ला मच्चाइरहेका छन्। यसैबिच भोकले छटपटाइरेका छन् श्रमजीवी मानिसहरू –

“आगैआगाको हल्लामा

कर्मजीवीको चुलामा सल्किएन

भुँडीको भोक निभाउने आगो” (आगो)

पृथ्वी प्रेमहीन भएको छ, भाइचाराहीन भएको छ। मानिस स्वार्थमा कुदेको छ र अर्काको दुखेको अनुहार हेर्ने उसको समय छैन –

“ऐना,

तँ मुटुभित्र पसिहेर न

कति मुटुहरू चिरिएका छन्

प्रेम र भाइचाराको सुख्खा बतासले ।”

(ऐना)

यहाँ सुख्खा बतासले प्रेम र भाइचाराहीन परिवेशलाई नै इङ्गित गरेको हो। कविले देखेकी छिन्, समाजमा चलेको अन्याय र अविचारको नयाँ पिँढीले सही ढङ्गले विरोध गर्न सकिरहेको छैन र यसलाई “मौनेन सम्मति” दिइरहेको छ। कविलाई यस्तो स्थितिप्रति कतै सन्तुष्टि छैन –

“कस्तो पलायनवादी भए यहाँका भविष्यका चम्किला ताराहरू !

खिन्नताले थिचिएका जीवनका प्रत्येक क्षणहरू 

कागजजस्तै च्यातिएर टुक्रा टुक्रा हुँदा पनि

सङ्घर्षको बिगुल बजाउन डराइसक्यो

यो घाइते युग”

(प्रतीक्षा)

आजको मानिस स्वार्थी बनेको छ। उसले न्याय र अन्याय छुट्याउने आँट हराइसकेको छ। सत्यका पक्षधरहरू मौन हुनाले नै यहाँ असत्यको जगजगी चलेको हो। यस्तो एक अनाकाङ्क्षित वातावरणमा निष्क्रिय सत्यवादीहरूलाई कवि यसरी व्यङ्ग्यवाण हान्छिन्-

“जुन दिन सत्यताले भद्रताको घुम्टो ओढेर

शान्तिको सास फेर्ने निर्णय लियो

त्यसै दिनदेखि असत्यले हैकम जमायो

त्यसैले म असत्यभन्दा सत्यलाई

घृणा गर्न थालेको छु अहिले ।”

(सत्य : असत्य)

जातीय अस्मिता :

समसामयिक समयमा जातीय अस्मिता र चिन्हारीका प्रश्नहरूलाई भारतीय नेपाली कविहरूले कविताको मूल कथ्यको रूपमा लिएका छन्। हुन त यो धारा कवि अगमसिंह गिरी,  हरिभक्त कटुवालका पालैदेखि चलिआएको हो। तर, असीको दशकमा पूर्वोत्तरमा चलेको विदेशी हटाओ आन्दोलन, सर्वभारतीय स्तरमा चलेको नेपाली भाषा आन्दोलन र दार्जिलिङको गोर्खाल्यान्ड मागको आन्दोलनले कविताको यो धारालाई प्रमुख धाराको रूपमा प्रतिष्ठित गरायो। सन् २०१७ को बङ्गालमा भएको भाषिक अतिक्रमण र त्यही समय असममा चलेको राष्ट्रिय नागरिक पञ्जी अद्यतनको नाममा गोर्खाहरूले भोग्नु परेको पीडाले यस धारालाई अझ मलजल गर्यो्। सतन्त्रता सङ्ग्राममा रहेको गोर्खाहरूको योगदान, असमको आर्थिक विकासमा रहेको सहभागिता, जातीय सम्प्रीतिको वातावरण निर्माणमा गोर्खाहरूको भूमिका, ऐतिहासिक तथ्य-प्रमाण सबैलाई अस्वीकार गरेर गोर्खाहरूमाथि लाञ्छना लगाइयो। सचेत सर्जकले यसको विरोध गरे। कवि अनुपमाको “ब्रह्मपुत्र” कविता त्यसैको प्रमाण हो।

“तिमी नरकासुरलाई सोध

भगदत्तलाई सोध

सोध न तिमी ब्रह्मपुत्र

तिम्रो उपत्यकामा

‘कुकुर श्रृगाल गन्धर्भरो आत्माराम

जानिया सबाको करियो प्रणाम’

सम्प्रतीको महामन्त्र जप्ने

शङ्कर र माधवलाई

ज्योति र विष्णुलाई

नपत्याए तिमी सुधाकण्ठका गीतहरूमा उनलाई खोज

मलाई खोज

तिम्रो र मेरो प्रेमकथा

कति लामो थियो

कति गहिरो थियो हाम्रो मायाको बन्धन।

………    

“साँझ बिहान सन्तुष्टिका दृश्य आँखाहरूमा बोकेर

स्वाभिमानी गीतहरू किन गाउन नपाउनु मैले आफ्नै ठाउँमा

अकपट भन ब्रह्मपुत्र” 

(ब्रह्मपुत्र)

देशप्रेम :

अनुपमाले जातीय अस्मिताका उपरान्त पनि देशभक्ति र सहिदको त्यागलाईसमेत आफ्नो काव्य शृङ्खलामा सजाएकी छन्। यस सङ्ग्रहभित्रको ‘कारागार’ यस विषयमा लेखिएको एक सशक्त कविता हो। देशको स्वतन्त्रता सङ्ग्रामको इतिहास कोट्याउँदै र यसमा युवाहरूको योगदान स्मरण गराउँदै उनी भन्छिन् –

“कारागारका अग्ला अग्ला पर्खाल र निर्मम यातनाहरूले

रोक्न सकेन जनचेतनाको भेललाई

आखिर आँसुका नुनिला थोपाहरू चाटेर

आफै रोइरह्यो कारागार।”

(कारागार)

नारी विमर्श :

आजका नारी सर्जकका कविताहरूमा नारी अस्मिता र नारीका समस्या र पीडाले प्रमुख स्थान पाएको देखिन्छ। नारीवादका विभिन्न पाटा छन् र नारी समस्यालाई सम्बोधन गर्ने अनेक धारा छन्। अनुपमाले नारीहरूले भोगेका समस्याहरू सम्बोधन गर्ने क्रममा नारीवादको उदारवादी धारा अपनाएकी छन् जसले नारी स्वतन्त्रता, पारम्परिक रुढीवादले जकेडिएको स्थितिबाट नारीहरूको मुक्तिका साथै समाजमा पुरुषहरूले भोगेको बराबर अधिकारको माग एवम् नारीका पक्षमा सामाजिक र कानुनी सुधार आदिको वकालत गर्दछ। यस धारामा बेट्टी फ्राइडन, एलिजाबेथ हल्ट आदि क्रियाशील रहेका थिए। उनको नारीवाद सुधारवादी नारीवाद हो। यस सङ्कलभित्र रहेका ‘यात्रा’, ‘हिजोकै जस्तो आज पनि’, ‘नारी’, ‘स्वतन्त्रता’ आदि नारी समस्यासँग सोझै सम्पर्कित कविता हुन् भने ‘कविज्यू’मा पनि नारी लुटिएको प्रसङ्ग आएको छ।

“बाल्यकालमा सुनेका श्लोकहरू

रिमिक्स भएर गुन्जिन्छ्न् 

मधुरो स्वरमा

…के गरौँ छोरीको जन्म पाएँ…”

(हिजोकै जस्तो आज पनि)

छोरीको जीवनलाई ‘हारेको कर्म’ मान्छ हाम्रो परम्पराले। मानौँ छोरी भएर जन्मनु नै पाप हो। छोरीलाई नैतिकताका पाठ सिकाइन्छ, अर्ती दिन कविता लेखिन्छ। यस्तै एक कविताको उद्धरण दिँदै उनको कविताको थालनी भएको छ। निलहरि शर्मा ढकालको त्यो कविता यस प्रकारले थालिएको छ –

“हरे के गरुँ छोरीको जन्म पाएँ

अघि नै चुकेको कर्ममा हारी आएँ

करैले छोडी आफ्नो समाज

कहाँ जान लागिरहेछु म आज”   

(छोरीलाई अर्ती, निलहरि शर्मा, ढकाल)

उद्धरणमा कवि अनुपमाले अज्ञात कारणले मूल कविताको ‘हरे’ शब्द उल्लेख गरेकी छैनन्। यसले उद्धरणको नीति भङ्ग गरेको त होइन?

आज जताततै, कुनै पनि उमेरका नारीहरू बलात्कृत भइरहेका छन्। नारी सुरक्षा र नारी सशक्तिकरणका नाराहरू अर्थहीन भइसकेका छन्। न्यायले अन्यायलाई साथ दिएको छ। यो वास्तविकता हो यही वास्तविकतालाई आत्मसात गरेर उनी भन्छिन् – “कुनै उमेरमा पनि / कुनै समयमा पनि / कुनै ठाउँमा पनि / लुटिने डर / लुछिने डर” (यात्रा)

हो, अनुपमा नारी समस्याहरूप्रति चिन्तित छिन् र नारीको समस्याको निराकरणको चाहना राख्छिन्। तर उनका नारी पात्रहरू विद्रोहको राँको बोकेर परिवर्तनको बाटोमा हिँड्न तत्पर छैनन् मौजुदा स्थितिभित्रै केही सहुलियत र सुधारको आशामा आफ्नो गुनासो पोख्छ्न्।

युगीन यथार्थ :

अनुपमा कट्टेलका धेरजसो कविताहरू युगीन पीडाको करुण राग सुन्न पाइन्छ, सामाजिक समस्याको यथार्थ चित्र प्रतिबिम्बित भएको देख्न पाइन्छ। देशको विकास र जनकल्याणका बिचमा एउटा तर्न नसक्ने महासागर छ, छिचोल्न नसक्ने महाशून्य छ। त्यस्तै एक कविता हो “बेरोजगारी सपना”। यस कविताले बेरोजगारी समस्याले सताएको वर्तमान अवस्था, विसङ्गतिपूर्ण स्थिति र सत्ताको दोचारे नीतिलाई कसिलो काव्यवाण हानेको छ।

“बेरोजगारको भुँडीमा पाइला टेकेर

सभ्यताले उडाउँछ मङ्गलयान

विकास र कल्याणको बिचमा रहेको महाशून्यको बाटो।”

(बेरोजगारी सपना)

प्रेम:

आजसम्मको कविताको इतिहास पल्टाउनु हो भने कुनै पनि कालावधिमा प्रेमकै कविता ज्यादा लेखिएका पाइएलान् । “शब्दहरू मेरा घाम हुन्” सङ्ग्रहभित्र पनि “मेरा तिमी”, “परिचित त्यो बाटोमा”, “आस्थाका बिम्ब”,”ढुङ्गा,मान्छे आदि इत्यादि” र “निरुत्तर”, यी कविताहरूमा प्रेमका विभिन्न पाटाहरू पाइन्छ्न्। प्रेम भनेकै आशा र निराशाको दोछायाँ हो, भावुकता र कल्पना हो, आस्था र शङ्काको अनौठो सङ्गम हो, प्राप्ति अप्राप्तिको चाकाचुली हो। मनभित्र भएका अपूर्णताका छ्टपटी र कुण्ठाहरू बोकेर अनुपमाका प्रेमिल भावहरू यसरी अभिव्यक्त भएका छन् –

“मनभित्र क्रमशः झाँगिँदै गएका छन्

आत्मीयताका हाँगाहरू

आजभोलि

मेरा पाइलाहरू

नाँच्न थालेका छन्

एक मुटु खुसीको नाँच

तिम्रो सामिप्यमा।”

(परिचित त्यो बाटोमा)

हृदयमा प्रेम प्रतिष्ठा गर्न आतुर कवि अनुपमाका मनभित्रका प्रेमिल चाहनाहरू यसरी पोखिन्छ्न् –

“धेरैपटक

आशाको पछ्यौरीलाई समातेर 

हृदयभरी

ओछ्याउन आतुर हुछन्

आस्थाका बिम्बहरू।”

(आस्थाका बिम्बहरू)

पर्यावरणचेत :

पर्यावरणचेत कवि अनुपमाका कविताको अर्को विशेषता हो। कतै प्रकृतिको विनास, पर्यावरण ध्वंश, पर्यावरण रक्षाका नाउँमा मानिसले देखाएका नखडाहरूप्रति कविको मन व्यथित छ भने कतै  प्रकृतिलाई उनले मानवीकरण गरेको देखिन्छ। “पर्यावरण, सेभर्न सुजुकी आदि”, परिवेश परिवर्तनको विषय लिएर लेखेको एक सुन्दर तथा यस सङ्ग्रहभित्रकै एक उत्कृष्ट कविता हो। पर्यावरणको विनाश गरेर मानिसले कसरी ध्वंश निम्त्याइरहेको छ त्यसको सुन्दर काव्यिक प्रस्तुति हो प्रस्तुत कविता –

“बिचरा उसले थाहै पाएन

उसले विकासको यात्रामा कसरी विनाशको बिउ पोख्तै आएको रहेछ

विध्वंशको पाण्डुलिपि कसरी आफै लेखेको रहेछ ।”

यसरी शब्दहरू मेरा घाम हुन् कवितामा कतै कवि अनुपमाले विद्रोह बोलेको पाइन्छ, कतै व्यङ्ग्य हानेको देखिन्छ भने कतै निराशाको राग अपनाएको पाइन्छ। यसैले यो सङ्कलनभित्र समयचेत राम्रोगरी प्रतिध्वनित भएको छ।

कविताको शिल्पपक्ष :

सबल कथ्यपक्ष लिएर अघिसरेको प्रस्तुत सङ्ग्रहको शिल्पपक्ष पनि बेजोड छ। कविताको शिल्पपक्षलाई कसैले दोस्याउन र होच्याउन नसकोस् भन्ने विषयमा उनी निकै सजग देखिन्छिन्। बिम्ब-प्रतीक-उपमा-मिथ, उखान र तुक्काको प्रयोगले उनले कविताहरूलाई स्तरीय र पठनीय पारेकी छन्। काकाकुल, हुटिट्याउँ, ब्रह्मपुत्र, ऐना, आगो, लक्ष्मण रेखा आदि अनेक प्रतीकको समुचित व्यवहारले मानौं यहाँ बिम्ब- प्रतीकको कोलाज नै बनाइएको छ। तर उनले अपरिचित, जटिल, दुर्बोध्य, बिम्ब र प्रतीक थुपारेर कविताहरूलाई बोझिलो पारेकी छैनन्। सुबोध्य, आडम्बररहित बिम्बको  प्रयोगले कविताहरू बुझ्न सजिलो पारेकी छन्।

प्रतीक झैँ उनले कयौँ मिथकको पनि प्रयोग गरेकी छन्। उनले मुख्यत: पूर्वेली परम्पराबाट मिथकहरू लिएको पाइन्छ। व्याधा, वाल्मीकि, दधिची, उर्मिला, शकुनि, सीता, दौपदी, नरकासुर आदि भारतीय महाकाव्य रामायण र महाभारतबाट लिएका मिथक हुन्।

शब्दहरू मेरा घाम हुन् लाई “हुट्टीट्याउँले सगर थाम्दैन”, “काग कराउँदै गर्छ पीना सुक्तै गर्छ” जस्ता उखानले समृद्ध पारेको छ।

प्राय: कविता मझौलो आयामका छन्। कविताको भाषा अलङ्कारयुक्त छ, शब्दहरू सरल छन्, नेपालीको अतिरिक्त यहाँ तत्सम्, तत्भव र आगन्तुक शब्दको प्रयोग पाइन्छ। ऐतिहासिक सन्दर्भहरू ल्याउँदा असमिया (..जानिया सबाको करियो प्रणाम) र बङ्गाली शब्द र वाक्यहरू (एकला चलो रे) को पनि प्रयोग गरेको देखिन्छ। यस उप्रान्त पनि सङ्कलनभित्र हिन्दी र उर्दू शब्द पनि प्रयोगमा आएका छन्। अङ्ग्रेजी शब्दको व्यवहार चार ठाउँमा गरेको देखिन्छ।

कवयित्री अनुपमाका केही कविताहरू द्यर्थ र बहुअर्थ बोधी पनि छन् अनि एउटै कवितामा विषयको विविधता पनि पाइन्छ। त्यसैले उनका कविताहरूलाई खण्डमा विभक्त गरेर अध्ययन गरिनुपर्ने आवश्यकता निश्चय छ। “शब्दहरू मेरा घाम हुन्” कवितालाई एउटा प्रेमको कविताको दृष्टिले हेर्नु हो भने त्यही अर्थ लगाउन सकिन्छ।

उपसंहार :

“घाम भनेको समग्र शक्तिको केन्द्र

अँध्यारोको घातक

आशाको बाटो

जो यो घनघोर रातको वध गरेर भोलि आत्मप्रकाश गर्नेछ यो धर्तीमा”

(शब्दहरू मेरा घाम हुन्)

भन्दै घामको बिम्बद्वारा अपशक्तिको विनाश गर्ने इङ्गित गर्दै कविले सङ्कलनकै शीर्षक यही राखेको देखिन्छ । शीर्षक हेर्दा सङ्कलने विद्रोह बोकेको भान हुन्छ। तर सङ्कलनभित्रका यस्ता केही कविता छन् जि विद्रोह बोलिरहेका छैनन् बरु प्रतिकूल स्थितिसँग लाचार छन्, अन्योल छ,  अनेक विवशता,  वाध्यता, अपेक्षा, संवेदनशीलता हुँदाहुँदै उनी खुसी नै छन् र यथास्थितिलाई स्वीकारेकी छन् । उनका “भिडदेखि टाढा”, “विरोधका अखडाहरू” जस्ता कवितामा राजनैतिक अन्योल छ, आफ्नो पक्षधरता खुलस्त पार्ने आँट उनमा छैन, एक अस्पष्ट चित्र छ, कवि यहाँ पलायनवादी भएको देखिन्छ। नारी अधिकारको लडाइँमा उनले स्थितिको व्याख्यासम्म ठिकै गरेकी छन् तर परित्राणको बाटो सन्दर्भमा स्पष्ट धारणा उनमा छैन। हाम्रो धर्म र परम्पराभित्रै नारी शोषणको सबैभन्दा ठुलो षड्यन्त्र छ, छद्मवेशी नीतिहरू छन्, यस विषयमा उनले माथापच्चि गरेकी छैनन् ।

उसैगरी कोरोना कालमा लेखेको भए तापनि सङ्कलनभित्र समाविष्ट ३४ वटा कविताभित्र कतै पनि कोरोनाको “क” को उपस्थिति पाइँदैन। कविताहरू नि:सन्देह समकालीन हुँदाहुँदै पनि उनको सङ्ग्रहले समकालको सबैभन्दा ठुलो वैश्विक समस्याप्रति अचम्मको मौनता अबलम्बन गरेको छ। सङ्ग्रहभित्रका कविताहरू मध्यमवर्गीय मानिसहरू र उनीहरूको अवस्था, विचार, समस्या र गतिविधिलाई लक्ष्य गरेर लेखिएका हुन् । समकालीन कविताहरूले बोकेको दलित विमर्श उनका कवितामा पाइँदैन, समाजका उपेक्षित र अवहेलित वर्गलाई आँट दिने आँट कवि आफैमा छैन। धेरै आशा बोकेर झुल्केको घामलाई यसरी घरी घरी बादलले छोप्तै छ, घरी घरी बादल पन्सिदै छ। धेरै मिहिनेत गरेर लेखे तापनि केही कविताहरूलाई जटिल पार्ने मोहले उनले भाव खुलाउन सकेकी छैनन्, कविताहरू केही पङ्ति तल आएर दिगभ्रमित भएका छन्।  केही कविताहरू व्याख्यात्मक छन्, छोट्याउन सकेकी छैन न्। यति हुँदाहुँदै पनि सामग्रिकरूपले सङ्कलनका कविताहरूलाई गेयात्मक पार्न, प्रगीतात्मक पार्न, सम्प्रेषणीय पार्न र सुललित पार्न उनले निकै प्रयास गरेकी छन्। यसैले सङ्कलन गहकिलो छ, कविको पहिलो काव्यकृति झैँ लाग्दैन। अब अध्ययन र लेखनमा निरन्त्ररता रह्यो भने उनीबाट नेपाली साहित्यले अझ राम्रो कृति पाउने छ भन्ने विश्वास राख्न सकिने छ।