साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाप्रलय : शक्तिद्वन्द्वको भयानक परिणति र वैदिक सभ्यताको गायन

उपन्यासले मानिसको अहम्‌को द्वन्द्वले तहसनहस भएको पृथ्वीमा आर्य सभ्यताको ज्ञान र विवेकको प्रयोग गरी पुनः नयाँ सभ्यताको विकास हुनसक्ने परिकल्पना पनि गरेको छ । प्रलयको भयङ्कर रूपले ध्वस्त भएको पृथ्वीमा प्रेम र सद्‌भावले पुनः संसार कसरी सुन्दर बन्न सक्छ भन्ने परिकल्पना पनि छ ।

गगनसिंह थापाको ‘महाप्रलय’ (२०७७) वर्तमान विश्‍वको शक्तिद्वन्द्वको परिणतिले मानव जाति लगायत पृथ्वीकै विनाश भएको अति भयङ्कर स्वैकाल्पनिक आख्यान हो । यस उपन्यासले मानव समाजमा भएका अनेक विध्वंश र आततायी घटनालाई देखाउँदै वर्तमान समाजको डिस्टोपियाको चित्रण गरेको छ । यस उपन्यासले मानिसको अहम्‌को द्वन्द्वले तहसनहस भएको पृथ्वीमा आर्य सभ्यताको ज्ञान र विवेकको प्रयोग गरी पुनः नयाँ सभ्यताको विकास हुनसक्ने परिकल्पना पनि गरेको छ । प्रलयको भयङ्कर रूपले ध्वस्त भएको पृथ्वीमा प्रेम र सद्‌भावले पुनः संसार कसरी सुन्दर बन्न सक्छ भन्ने परिकल्पना पनि छ । यही विनाश र निर्माणको विपरीत संवेदनालाई जोडेर उपन्यासकारले कथानकलाई रोचक मोड प्रदान गरेका छन् ।

सत्ताईस परिच्छेदका ४८३ पृष्ठमा संरचित विशालकाय ‘महाप्रलय’ उपन्यासले वर्तमान विश्‍वको कुरूप शक्तिद्वन्द्वले पृथ्वीको अस्तित्वमा नै निम्त्याउन सक्ने विनाशको कहालीलाग्दो परिकल्पना गरेको छ । विज्ञानको विकाससँगै भएको आणविक अस्त्रको होडबाजी तथा शक्ति राष्ट्रका बिचको आपसी द्वन्द्वबाट पृथ्वीमा पुग्न सक्ने क्षतिको डरलाग्दो परिकल्पना उपन्यासमा पाइन्छ । विकसित भनिएका राष्ट्रदेखि अविकसित र विकासोन्मुख मानिएका सबै मुलुकका मानिसका बिचमा भएका विभेदका अनेक रूपलाई उपन्यासले चित्रण गरेको छ । धार्मिक, जातीय, वर्गीय, लैङ्गिक, रङ्ग भेद आदिले विश्‍वका मानिसका बिचमा उत्पन्न भएको आपसी वैमनश्य र विभिन्न युद्ध आदिले मानिसमा बढ्दै गएको विद्वेषी भावबाट समाजमा पुग्न गएको क्षतिको चित्रण उपन्यासले गरेको छ । विज्ञानको चरम उन्नति भए पनि मानिसमा प्रेम र आत्मीयता हराउँदै गएका कारण ती उन्नतिलाई आधुनिक युगका मानिसले कुनै पनि उत्पादनमूलक र सुन्दर काममा नलगाई ईर्ष्या, द्वेष, वैमनश्यका लागि उपयोग गरेकै कारण पृथ्वीमा महप्रलय आएको र त्यसले मानव र प्राणीको अस्तित्व नै सङ्कटमा पारेको तथ्यलाई उपन्यासले मूल कथ्य बनाएको छ । मूल रूपमा मानिसको अति स्वार्थी मनोवृत्तिले दोहन हुँदै गएको पृथ्वी र पर्यावरणका विरुद्ध संसारले देखाएको असंवेदनशील क्रियाकलाप, जातीय विभेदका कारण मानिसका बिचमा बढ्दै गएको विद्वेष, शक्ति र अहम्‌ प्रदर्शनले संसारको मानव सभ्यता नै ध्वस्त भएको र यसको पुनःस्थापनाका लागि  वैदिक चिन्तन मात्र संभव रहेको तर्क उपन्यासले गरेको छ ।

सत्ता र शक्तिको उन्मादले मानिसमा बढ्दै गएको अहम्‌भाव र वर्चस्वकारी सोचबाट समाजका अधीनस्थ वर्ग र जातिमा पुग्न गएको चोट उपन्यासमा वर्णित छ । आणविक हतियारको होड र त्यसको प्रयोग गर्न नजान्ने सनकी व्यक्तिका सोचबाट संसारमा महप्रलय हुन पुगेको र त्यसले सम्पूर्ण पृथ्वीमा कम्पन आई ध्वंश भएको अवस्था उपन्यासमा छ ।

नेपालको सुदूर पश्चिमी भूमि कर्णालीको उत्तरी क्षेत्र खसान र जडानको समाज, सभ्यता र संस्कृति तथा त्यो भूमिसँग जोडिएका खस, आर्य, शैव, वैष्णव, बोन आदि सभ्यताको समावेशी चिन्तनलाई उपन्यासले विचारको केन्द्र बनाएको छ ।  खसान र जडानका विजेता र अक्षताको अन्तर्जातीय प्रेम सम्बन्धको बचाउका लागि भएको सङ्घर्षबाट कथानकको सुरुवात भएको छ । सगरमाथाको चुचुरोमा पुगेर आर्य र किरातको युवायुवतीको प्रेमलाई विवाह बन्धनमा बाँधेका उनीहरू समाजको जातीय अहम्‌बाट तिरस्कृत हुन्छन् । जडानी किरातहरू यो सम्बन्धलाई खसानका आर्यबाट भएको षडयन्त्रपूर्ण आक्रमण सम्झन्छन् । विजेता र अक्षताको प्रेमिल जीवनका केही समयको सङ्घर्षपूर्ण यात्राको समयभित्र उपन्यासको घटना बुनिएको छ । उपन्यासको मूल घटना विजेता र अक्षताको भोगाइ र सङ्घर्षपूर्ण यात्रासँग जोडिएको छ । सहायक घटनाका रूपमा विजेता र अक्षताले यात्राका क्रममा भेटेका अनेक पात्रको जीवन र तिनले सुनाएका अनेक घटना सन्दर्भबाट विश्‍वको इतिहास, मानव सभ्यताका अनेक सन्दर्भ, ज्ञान र विज्ञानका विकास, समाजमा पौराणिक समयदेखि आजसम्म भएका अनेक युद्ध, जाति, शक्ति, सत्ता आदिको वर्चस्वमा समाजमा भएको दमनपूर्ण तथ्यहरू आदिलाई उपन्यासले समेटेको छ ।

उपन्यास संसारका अनेक सभ्यता, ज्ञान र संस्कृतिका अनेक सूचना तथा मानव जातिले युगौँ पहिलेदेखि आजसम्म आफ्नै दम्भ प्रदर्शनमा मानवजातिप्रति गरेका हिंसाका अनेक तथ्यहरूको नालीबेली केलाउँदै पूर्वीय सभ्यताको महानता देखाउने उद्देश्यमा केन्द्रित छ । महाप्रलय आउने स्थितिमा विश्‍व पुग्नुमा मानव सभ्यतासँग जोडिएका ज्ञान विज्ञानका अनेक तथ्यको खोजी उपन्यासले गरेको छ । यसले संसारमा भएका नरसंहार, विश्‍वयुद्ध, जातीय हिंसाका अनेक पक्षहरूलाई पनि समेटेको छ । संसारका विभिन्न देशमा मानवताका विरुद्ध जेजति घटनाहरू भएका छन् तिनका विरुद्ध प्रतिरोधी चेतनाशहितको आवाज उपन्यासमा छ । यस उपन्यासले विश्‍वका सबैजसो देश, अन्तरिक्ष, वायुमण्डल तथा पौराणिक युगलाई समेत समेट्दै पूर्वीय आर्य सभ्यताको ज्ञानको भव्यतालाई परिपोषण गरेको छ ।

डा. रजनी ढकाल

प्रेमको बचावटका लागि हिमाली भेगमा भाग्दै गर्दा भेट भएका अनेक पात्र र तिनले सुनाएका घटना र आपइरेका अनेक अवस्थाबाट उपन्यासको घटना अघि बढ्छ । उपन्यासका चार भाग विजेता र अक्षताका हिमाली भेगको यात्रासँग जोडिएका छन् । पाँचौँ भागमा विजेता र अक्षताले शिवबाबा र बुद्धबाबाको निर्देशन अनुसार वैदिक र बुद्ध धर्मका ग्रन्थका बाकस सगरमाथाको चुचुरोमा पुर्‍याएको केही समयपछि महाप्रलय भएको छ । महप्रलयमा पृथ्वी उलटपुलट भएर सम्पूर्ण मानव जातिको नाश भएको छ । जलको ठाउँमा थल र जमिनका ठाउँमा जल भएको स्थितिमा सगरमाथा पनि डुब्दै गएर त्यसको केही भाग मात्र बाँकी रहेको अवस्था छ । महाप्रलयपछि विजेता र अक्षता यस संसारका सृष्टिकर्ता झैँ बनेर आर्य सभ्यतालाई चिनाउँदै उडनतस्तरीबाट संसारको भ्रमणमा निस्केका छन् । यसपछिका सबै खण्डमा विजेता र अक्षताले पृथ्वीमा बाँचेका मानिसबाट सुनेका महप्रलयका घटना आउँछन् । यसै प्रसङ्गमा शक्ति राष्ट्रहरूको होडबाजीले तेस्रो विश्‍वयुद्ध सुरु भएको चर्चा उपन्यासले गरेको छ । आधुनिक ज्ञानले बनाएका सम्पूर्ण संरचना र निर्माण नाश भएको अवस्थामा भारद्वाज ऋषिले निर्माण गरेको उडनतस्तरीबाट विजेता र अक्षता संसारको भ्रमणमा निस्किन्छन् र संसारका विभिन्न भूभागमा भएका क्षतिका बारेमा जानकारी लिन्छन् । कतै कतै बाँचेका मान्छेमा प्रेमभाव बढाउँदै आर्य सभ्यताको प्रचार गर्न पुग्छन् ।

उपन्यासमा मानसरोवर क्षेत्र, त्यहाँको हिमाली प्रकृतिको अनौठो सम्मोहन, ज्ञानको दिव्यताले आलोकित भूमि र त्यहाँका बाबाहरूबाट आशीर्वाद प्राप्त तथा विशेष क्षमता भएका अतिमानवीय पात्रको सिर्जना गरी विजेता र अक्षतालाई आर्य सभ्यताका विशेष दूत बनाइएको छ । विजेता (क्षेत्री युवक) र अक्षता (किरात युवती)को मित्रता, मिलन र अन्तरजातीय विवाह र त्यसलाई समाजले गरेको अस्वीकृतिबाट कथाले संसारमा भएका जातीय विभेदको सङ्केत गरेको छ । तिब्बती मोहडाबाट सगरमाथा चढेर आफ्नो प्रेमलाई विवाहमा बदलेका यी जोडीलाई अक्षताका आमाबाबुले स्वीकार गर्दैनन् । किरात र आर्यको मिलनमा आफ्नो शक्ति र पहिचान देख्ने युवाको भावनालाई साम्प्रदायिक सोच बोकेको समाज जडानले आफ्नो अस्तित्वमाथि भएको आक्रमणका रूपमा बुझ्छ र बिजुवाको निर्णयअनुसार विजेतालाई नाकमा फुली र कानमा कौडी लगाई दास बनाइन्छ । दासका रूपमा केही समय बिताए पनि विजेता अक्षतालाई बिहे गरिदिएको भोटे युवक (सन्तानका लागि पाचौँ पटक बिहे गरेको)लाई बन्दी बनाई जन्तीलाई समेत जितेर अक्षतालाई लिएर भाग्न सफल हुन्छ । हिमाली र जङ्गली भेगको कठिन यात्रामा भाग्दै गर्दा बाटोमा अक्षताकी काकाकी छोरी जुनुको घरमा पुगेर बास बस्छन् । साढुदाइले आफू शान्तिसेनामा रुवान्डा पुग्दाको कथा सुनाउँछ । मनमा जातीय विद्वेषको भाव बोकेको विजेता रुवान्डाको जातीय नरसंहार सुनेर आहत हुन्छ र साढुदाइले विश्‍वका जातीय हिंसाबाट कहिल्यै मानवको कल्याण नभएको भन्दै विजेतालाई जातीय विद्वेष मनमा नराख्न सन्देश दिन्छ ।  विना अक्सिजन हिमाल चढिरहने ती जोडीको भाग्दै जाँदा ऐराक (ऐश्वर्य) र मून (जून)सँग भेट हुन्छ । क्रश्‍चियन धर्मका उनीहरू हिन्दू धर्ममा प्रवेश गरी विवाहमा बन्धनमा बाँधिन्छन् र नेपाली नाम राख्छन् । मन्दिरमा शिवबाबाको प्रवचन सुन्दा उनीहरूले नेपालको इतिहास, धर्म, दर्शन, भारतसँगको सम्बन्ध, मोह जोडदो, हडप्प र सिन्धुघाँटीको सभ्यता र वैदिक सभ्यताका बारेमा सुन्छन् । यसै क्रममा नेपालको सिमाना हस्तिनापुरको कुरुक्षेत्रसम्म पुगेको (पृ. ६५) सन्दर्भ, भारतको हेपाहा दृष्टिकोणसँगै नागल्यान्ड र मिजोरममा नेपालीमाथि भएको अत्याचारका घटना थाहा पाउँछन् । सत्ता र शक्तिले गर्ने दमन संसारभर व्याप्त भएको सन्दर्भ जोडिन्छ ।

विजेताको यात्रासँगै उपन्यासको घटनाअघि बढ्छ । अछाम जिल्लाको मध्यभागमा बगेको कैलाश खोलाको सिरान रामसोशन (१२ बण्ड १८ खण्ड) बाट विजेता अगाडि बढ्छ । उसले शिवबाबाबाट महप्रलयको सूचना पाउँछ । सुमेरू र कुमरू पर्वत नहल्लिने भएको हुनाले बाबाको निर्देशनअनुसार वैदिक ग्रन्थहरू राखेको बाकस लिएर सगरमाथाको चुचुरोतिर हिँड्छ । विजेता र अक्षता उपल्लो मुस्ताङको लिमाथाङ जान कठिन जङ्गलको बाटो हिँड्छन् । मुखिया बाको घरमा अतिथि लाग्छन् । कल्लेल राजवंशका ठकुरीको तानशाही व्यवहार र मृदुमैयाको कथा सुन्छन् । यसैगरी उपन्यासमा अन्य पात्रहरूको प्रवेश हुन्छ र ती पात्रले सुनाएका समाजका अनेक हिंसापूर्ण तथ्यहरू उपन्यासमा समेटिन पुग्छन् । समाजमा जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक अहम्‌का कारण मानवमाथि भएका दमनका तथ्यहरू प्रस्तुत हुन्छन् । साथसाथै विभिन्न ठाउँमा शिवबाबाहरूबाट सुनाइएका पूर्वीय धर्म र दर्शनका आदर्श महिमा पनि प्रस्तुत हुन्छन् ।

महप्रलयपछि उडनतस्तरीबाट संसारको यात्रा गर्दै जाँदा विश्‍व एउटै बनेको देखिन्छ । देशका सीमानाहरू हराएको अवस्थाले संसारमा भएको एउटै पीडाको संबोधन कथाले गरेको छ । ध्वस्त भएका समाजमा पुग्दा र त्यहाँका खण्डित संरचनाबाट अनुमान लगाउँदा विजेता र अक्षता कहिले युरोप, कहिले अमेरिका त कहिले अफ्रिकी भूमिमा पुगेका छन् । संसारका जति पनि शक्तिशाली राष्ट्रहरू जसले अत्याधुनिक ज्ञानबाट आणविक शक्तिको निर्माण गरेका थिए ती देशको विनाश अझ भयानक भएको देखिन्छ । समाजको पुननिर्माणको चिन्तामा रहेका विजेता र अक्षता जीवित प्राणीको खोजिमा हुन्छन् र जहाँ जहाँ मानिसहरू जीवित भेट्छन् त्यहाँ त्यहाँ पूर्वीय आर्य सभ्यताको चेतनाको विकास गर्दै पुनसिर्जनको लागि प्रेमिल वातावरणको निर्माण गर्दछन् । संसारमा यात्रा गरी पुनः जडानको भूमिमा फर्किँदा विजेताको बाबु जीवितै फेला पर्छ । उसलाई खसान र जडानको दुवै भूमिमा सरोबरी बस्ने व्यवस्था मिलाई उनीहरू प्रेमपूर्ण जीवनमा बाँच्न थाल्दछन् । उपन्यासमा वर्तमान विश्‍वको शक्तिद्वन्द्वको कुरूप परिणति देखाउँदै समाजको विकासका लागि प्रेम र सद्‌भाव अपरिहार्य रहेको चिन्तनको केन्द्रमा उभिएको छ । संसारका सभ्यता, संस्कृति, ज्ञान, दर्शन, मानिसले गरेका द्वन्द्व र तिनले निर्माण गरेको समाजको अवस्था आदिका अनेक थरी सूचनालाई अत्यन्त कुशलतापूर्वक आख्यानीकरण गर्ने कलाले गर्दा यो उपन्यास महाउपन्यास बन्न पुगेको छ । प्राञ्जल भाषाको निपुणता र सुन्दर वर्णन कौशलले लामा लामा अनुच्छेद पढ्दा पनि पाठक आनन्दित बनिरहन्छ । घटनाको कुतूहलतापूर्ण संयोजन र पात्रको निर्मितसँगै घटना प्रस्तुतिका लागि छनोट गरिएको स्वैकल्पनात्मक प्रस्तुतिले उपन्यासलाई सफल बनाएको छ ।  पश्चिमी विज्ञानले गरेको विनाश र आर्यज्ञानको उच्चतालाई प्रस्तुत गर्न उपन्यासमा प्रयोग भएका केही तथ्यको बुँदागत प्रस्तुति हेरौँ –

  • नेपाली भूमिको ज्ञान र वैभवलाई अत्यन्त कलात्मक रूपमा प्रस्तुत गर्नु,
  • पूर्वीय आर्य सभ्यताका चिन्तन सधैँ प्रम, सद्‌भाव र मानवताका पक्षमा रहेको तथ्य बटुल्नु,
  • संसारमा भएका अनेक अहम्‌को द्वन्द्वले निम्त्याएका परिणतिहरू खोतल्नु (दोस्रो भागमा विजेताको साढुदाइले रुवान्डाको नरसंहारलाई चिनाउँछ । त्यतिबेला हुटुले तुत्सीमाथि गरेको हिंसा र त्यो नरसंहारले आज बाँकी रहेका नरकंकाल पर्यटक तान्ने वस्तु बन्नुले ती मानिसमाथि जिउँदो बेलादेखि आजसम्म पनि सत्ता र शक्तिले गरेको दोहन हो भनी व्यङ्ग्य गर्छ । त्यसैगरी पहिलो र दोस्रो विश्‍वयुद्धका घटना, रामायण, महाभारतका युद्ध आदिले गरेका नरसंहार आदिको प्रस्तुति)
  • शक्तिशाली राष्ट्रले कमजोरमाथि गरेका सीमाना र अन्य दमनको तथ्यको प्रस्तुति (नेपालमाथि भारतको हेपाहा दृष्टि सदियौँ पुरानो । नेपालको सिमाना हस्तिनापुरको कुरुक्षेत्रसम्म फैलिएको तथ्यसँगै नेपालीमाथि भएका अनेक हिंसाका प्रस्तुति)
  • शक्ति राष्ट्रहरूका बिच शक्तिको होडबाजीले गर्दा पहिलो र दोस्रो विश्‍वयुद्ध सँगै अव तेस्रो विश्‍वयुद्धको संभावना रहेको तर्क
  • पश्‍चिमी मुलुकमा कालाहरूमाथि गरिएको विभेदको सन्दर्भ
  • पश्‍चिमी सभ्यता र ज्ञानले महप्रलय ल्याउन पुगेको हुनाले शिव, बुद्ध र अन्य शक्तिको पूर्वीय आर्य सभ्यताको ज्ञानबाट नै संसारको शान्ति संभव छ भन्ने तर्क गर्नु
  • प्रेम र सद्भावको विकासले मानिस र प्राणी सबैमा हिंस्रक भाव हटेको देखाउनु,
  • महाप्रलयका बेला बाँचेका मानिसहरू सबै कुनै न कुनै रूपमा आर्य ज्ञानका केही न केही पक्षसँग जोडिएको अवस्था देखाई यस सभ्यताको पैरवी गर्नु र आर्य ज्ञानमा आकर्षित गर्नु (पश्‍चिमी मुलुकमा महाप्रलयमा बाँचेका काली केटी र गोरे केटो समेत विजेता र अक्षताको प्रभावमा आर्य सभ्यताको पक्षमा देखिन्छन् । रङ्गभेदको हिंसामा पेलिएका पश्‍चिमी मुलुका मानिसमा मानवता र प्रकृतिको पक्षमा रहेको पूर्वी सभ्यताको महत्त्व बुझाउँदै उनीहरूबाट पनि यसै सभ्यताको अवलम्बन गर्न सिकाइएको छ ।)
  • विकसित मुलुकमा आणविक विकीरणले गरेको विनाशबाट देखाइएको विभत्स स्वरूपले पनि पूर्वको ज्ञानलाई कुनै न कुनै रूपमा माथि राखेको छ ।
  • तहसनहस भएको संसारमा वैदिक सृष्टिबाट पुनः सृष्टिको क्रमिक विकास देखाइएको छ ।
  • पश्‍चिमी मुलुकमा काली केटी बाँचेको तथ्य – प्युरीभित्र प्याज काटेर राखी मास्क लगाएकी । त्यो तरिका अपनाएको हुनाले गोरे पनि बाँचेको । तर अरू सबै कुनै पनि रूपमा पुनर्जीवन नहुने गरी माटो समेत पानी भएको अवस्था चित्रित ।
  • महाप्रलयपछि संसारमा ५ पुरुष र ९ नारी बचेका छन् (पृ.३२७) । विदेशी मुलुकमा बाँचेका केही महिला वैज्ञानिक मात्र हुनु
  • आर्य सभ्यताअनुसार सृष्टि भएको नयाँ संसारमा हिंस्रक जीवमा पनि प्रेमभाव पलाएको अवस्था (पृ. ४०३)
  • पर्यावरणको विनाश र आर्य सभ्यताले गरेको सृष्टिको स्थापनापछि प्रकृतिमा आएको सुन्दर स्वरूपलाई देखाउनु आदि ।

धर्म, दर्शन र चिन्तनको लामो लामो बहसले औपन्यासिक संरचनामा खलबल भएको जस्तो अत्यास लागे पनि घटनाको सफलतापूर्वक संयोजन गरेर उपन्यास अगाडि बढेको छ । उपन्यासमा केही वर्णविन्यासगत त्रुटिसँगै एउटै पात्रको नाउँ फरक पनि छ (जापानी वैज्ञानिकको नाम यसुमिका (पृ. ३८७) र यासुनिका (पृ. ३८९) । सृष्टि स्थापना र प्रेमिल समाजको स्थापनाका नाउँमा यौनका केही पक्षमा पुरुष वर्चस्व देखिन्छ । समावेशी चेतनाको निर्माण गर्न चाहँदा चाहँदै पनि (सबै जाति, वर्ग, लिङ्ग आदिमा) महिलालाई ठाउँ ठाउँमा कमजोर र अक्षम जस्तो देखाइनुले परम्परागत सोच बेला बेला हावी हुन खोजेको भान हुन्छ तर लेखक लैङ्गिक चेतनामा धेरैजसो पक्षमा शक्तिशाली लाग्छन् । समग्रमा भन्नुपर्दा महाप्रलय उपन्यास गगनसिंह थापाको साहित्य साधनाको महत्त्वपूर्ण उपलब्धिसँगै पूर्वीय आर्य सभ्यता र चिन्तनको विशिष्ट आख्यान हो । संसारको शक्तिद्वन्द्वले मानवता र पर्यावरणमाथि गरिरहेको विनाशलाई उपन्यासले व्यापक रूपमा बहसमा ल्याएको छ । नेपाली साहित्यमा महाप्रलय शक्तिशाली औपन्यासिक कलासँगै पूर्वीय ज्ञान र चिन्तनको विशेष तथ्य समेटिएको महत्त्वपूर्ण आख्यान बन्न पुगेको छ ।

पश्‍चिमी सभ्यताले विकसित गरेको विज्ञानले बनाएका आणविक हातहतियारले विश्‍वमा निम्त्याएको विनाश र पूर्वको आर्य सभ्यताको ज्ञानको शक्तिले पुनर्स्थापित हुँदै गएको प्रेम र सद्‌भावले भरिएको विश्‍वको परिकल्पना गर्दै उपन्यासले पूर्वीय आर्य सभ्यतालाई मानव, प्रकृति र प्राणीजगत्‌को संरक्षकका रूपमा चिनाएको छ । कोरोना भाइरसले त्राहिमाम बनाएको आजको विश्‍व र यो भाइरस आउनुअगाडि लेखकले गरेको यो परिकल्पना पढ्दा अनौठो संयोग मात्र नठानेर आजको समाज गम्भीर हुनुपर्ने अवस्थाप्रति उपन्यासले सचेत बनाएको छ । उपन्यासले सङ्केत गरेको महाप्रलय कति टाढा होला र ? सत्ता र शक्तिका आडमा हुनेगरेका अनेक अहम्‌पूर्ण व्यवहारले सङ्कटका अनेक प्रलय त बारम्बार यस विश्‍वले भोगिरहेकै छ । यो महाप्रलयबाट विश्‍वलाई बचाउन आजको समाजले अत्यन्त गम्भीर भएर सोच्ने बेला आएको छ । पर्यावरण विनाश र त्यसले निम्त्याएको मानवको सङ्कटलाई भोगिरहेका हामीहरू यो उपन्यास पढ्दा साँच्चै तर्सिन्छौँ र आफ्नो पृथ्वी र समाजको बचावटका लागि सोच्न बाध्य हुन्छौँ ।

प्रतिक्रिया
Loading...