‘बेसुल्लो’ नाम सुन्दै अनौठो लागेको हो मलाई । ‘बेसुल्लो’ को शाब्दिक अर्थ गुन्डो वा फुँडो हो । कविताजस्तो कोमल विधाको सङ्ग्रहको नाम बेसुल्लो किन राखियो होला ? मनमा खुलदुली बढेको थियो मलाई । फुँडो भन्ने अर्थ लाग्ने कविताकृतिको नामले नै ध्यान तानेको थियो मेरो । लाग्यो कविको मनले समाजको विकृतिलाई राम्रोसँग अनुभव गरेको छ । हुँदा खानेहरूलाई हुने खानेहरूले गर्ने गरेको गुन्डा गर्दी कविले पटक-पटक देखेका छन् । सामाजिक विकृति र विसङ्गतिले कविको मन पटक-पटक दुखेको छ । अझ भनौँ कविलाई सामजिक विभेद पटक्कै मन पर्दैन । समाज भाँड्ने सुकुलगुन्डाहरूको चरित्र उदाङ्ग पार्ने माध्यम कविका कविताहरू बन्न पुगे । तिनै विकृत चरित्रहरूको खबरदारीका लागि कवि ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’ ‘बेसुल्लो’ कवितासङ्ग्रह लिएर बजारमा आएका हुन् ।

मेरो हातमा ‘बेसुल्लो’ छ । कविताक्रमको पहिलो कविता छ कविगोष्ठी । कविगोष्ठी भन्नेबित्तिकै धेरैले अनुमान गरिसक्नुभएको हुनुपर्छ, त्यहाँ थुप्रै कविहरू छन् । फरक-फरक भाव बोकेर कविहरू कवितावाचनको पालो कुरेर बसेका छन् । कसै-कसैले यो पनि अनुमान गर्नुभएको हुन सक्छ कुनै कवि छड्के झोला बोकेर मञ्चमा कविता भट्टाइरहेका छन् ।  उनलाई समय र परिस्थितिको कुनै मतलब छैन । दर्शक दीर्घाको कुनै पर्बाह छैन । उनी डुक्रन्छन् मत्ता र साँढे जस्तै । चिच्चाउँछन् नारा साहित्य लेखेर मानौँ सत्ताधारीहरूलाई अगाडि राखेर सुनाइरहेका छन् तीता वचनवाणहरू । तपाईँको अनुमान नमिल्न सक्छ यहाँनिर जसरी मेरो मिलेन । कविहरू विद्रोहको आगो ओकल्न भेला भएका होलान् कविगोष्ठीमा । विकृति र विसङ्गतिको ध्वनि गुन्जाउन सामेल भएको हुनुपर्छ कविगोष्ठीमा भन्ने लागेको थियो तर कविले कविगोष्ठीलाई  फुलबारीजस्तो बनाएका रहेछन् कविताहरूको । सुवास निकालेका रहेछन् थरी-थरीको । युवादेखि वृद्धहरूलाई समेटेका रहेछन् एउटै गोष्ठीभित्र ।  कविताका नवरस नौओटा कवितामा पोखेका रहेछन् एउटै कविगोष्ठीमा कवि–१, कवि–२, कवि–३,…..कवि–८ र कवि–९ गर्दै । यहाँनिर फरक शैली लाग्यो कवितालेखनको ।

आत्म हराई, भो म भन्दिनँ, प्राण बनोस् , म पोथी हुँ, नसम्झ हामी कहाँ मुर्दा हौँ ?, अगोचर यात्री, सुसाइट नोट, नमार प्राण बाँच्नु छ र दबाबमा छु जस्ता कविताहरू कविगोष्ठीमा वाचन गरिएका कविताहरू हुन् । यहाँ कविले प्राचीन कविदेखि आधुनिक कविहरूको काव्य प्रवृत्तिलाई उजागर गर्ने प्रयास गरेका छन् । यी नौ कविताहरूमा कतै लेखनाथ पौड्यालले कवि गोष्ठीमा कवितावाचन गरिरहेजस्तो लाग्छ त कतै महाकवि देवकोटा । कतै माधवप्रसाद घिमिरले लोक छन्द गाइरहेका छन् जस्तो लाग्छ भने कतै गोपालप्रसाद रिमालले युग चेतना खोलिरहेजस्तो । चेतन कार्कीले मुक्तक र बुँद रानाले गजल गाइरहेका छन् जस्तो लाग्छ ‘कविगोष्ठी’ शीर्षकको कवितामा । शैलीगत रूपमा उहिलेदेखि अहिलेसम्मका कविको लेखन शैलीलाई समातेर कवि ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’ ले कविगोष्ठी नामक कवितामार्फत कविताका पाठकहरूलाई मीठो र ताजा सलादको स्वाद दिन सफल भएका छन् ।

महानन्द ढकाल

कृतिको नामाकरण गरिएको ‘बेसुल्लो’ कविता यस कृतिको दोस्रो कविता हो । मैले अनुमान गरेको कवितासङ्ग्रहको भाव यस कवितामा राम्रैसँग आएको रहेछ । यस कवितामा एक छोरीले आमालाई सम्बोधन गर्दै आफ्नो उत्पीडनलाई छताछुल्ल पारेका छन् । लैङ्गिक  विभेदप्रति आक्रोश छ उनको । श्रीमतीहरूलाई मनोरञ्जनका साधन बनाउने बेसुल्लाहरूको अन्याय र अत्याचारको कडा शब्दमा विरोध गरेका छन् उनले । आमाहरू बाहरूलाई ध्रुवतारा बनाउने नाममा हरेक रात विषकन्याहरूसँग बेरिएर विष भित्राउने बाहरूलाई चुपचाप सतीसावित्री बनेर सहिरहेको अनुभव सुनाउँछन् । चुरा, पोते, सिन्दुर र लगनगाँठाले  बाँधेर बेसुल्लाहरूले आमा र हजुरआमाहरूलाई घर नामको पिँजडामा कैद गरेर स्वतन्त्र हुन दिएनन् भन्दै उनी भन्छिन्–

यदि
मैले राजेश्वरी,
योगमाया र
क्लारा जेटकिनका भऱ्याङ उक्लिनँ भने
समुद्रमा उर्लिएका छालहरूझैँ
लुप्त भएर
तिमीजस्तै एक दिन हराउने छु ।
––––––––––––––––––––––––––––––––(बेसुल्लो–१५)

काँटा र चम्चा चलाएर हात बिर्सने, क्याफे र डिस्कोमा रमेर घर बिर्सने, पातालमा भासिएर नेपाल बिर्सने जालन्धर, दुर्योधन अनि बेसुल्लो राम बन्दैनन् भने म कसरी सीता बनूँ  ? भनेर प्रश्न गर्छन् । विद्रोह पोख्छन् । एउटा हातले ताली बज्दैन । घर, घरजस्तो हुन लोग्नेस्वास्नीको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । आधुनिकताको नाममा, धनको ध्वाँस देखाएर बेसुल्लो बन्दै हिँड्ने पुरुषहरूको अन्याय र अत्याचारबाट वर्तमान समयका घराना परिवारका पीडित महिलाहरूको पीडालाई कविले कवितामा उठाएका छन् । कविको विचारमा स्वतन्त्रताजस्तो महत्त्वपूर्ण कुरा अरू केही हुन सक्दैन ।

 

सदियौँदेखि
पर्म छाडेर किसान
कर्म छाडेर मजदुर
सटर तानेर पसले
किताब बाँधेर गुरुशिष्य
कोलम्बसको यात्रामा
सन्धान चलाएर रोपेको कल्पवृक्ष
मेरो ‘गणतन्त्र’ नेपाल
चुस्दै छन्
बाम्टाहरू ।
–––––––––––––––––––– ( पञ्चमाङ्ग–२६)

कविलाई देशप्रति चिन्ता छ । गणतन्त्रप्रति मोह छ । गणतन्त्र ठूलो सङ्घर्षबाट प्राप्त भएको हो । किसान, मजदुर, व्यापारी, शिक्षक र विद्यार्थीहरूको बलले गणतन्त्र आयो, सङ्घीय गणतन्त्र बन्यो तर गणतन्त्रसमेत सीमित व्यक्तिको हातको खेलौना बनेकोमा कविलाई कत्ति चित्त बुझेको छैन । गाउँ-गाउँमा सिंहदरबार बनेका छन् । गाउँका छोटे राजाहरूले सलहहरूजस्तै गाउँलेहरूलाई सिध्याउन तम्सिएका छन् । गुन्डागर्दी मच्चिएको छ उनीहरूकै । हामी हाम्रो अस्तित्व मेट्न र अस्मिता लुटाउन गणतन्त्रका लागि लडेका होइनौँ । हामी होसियार हुनुपर्ने बेला आएको छ भन्ने भाव कविको ‘पञ्चमाङ्ग’ नामक कवितामा रहेको छ ।

 

सागर भराउने हिमाल
ओजन बढाउने पहाड र
भोजन फलाउने तराई
मेरै देशका ऐना हुन् र त
यहाँ 
कुरूप कविता वाचन हुँदैनन्
भनेँ नि
मेरो देश
प्रकृतिको स्वर्गीय धारा हो ।
––––––––––––––––––––––––––––– (स्वदेश– २८)

कवि रिजाल प्रकृतिप्रेमी कवि हुन् । नेपालको प्रकृतिलाई निधिसँग तुलना गर्दै उनी भन्छन्– जल, जमिन र जङ्गलको सदुपयोग गर्न सके कोही भोकले मर्नु पर्दैन । दरिद्रताका निबन्धहरू रचना हुन सक्दैनन् यहाँ  । तन, मन र धन भनेकै देश हुनुपर्ने राय कविको छ । शान्तिका प्रतीक बुद्ध, सभ्यताका अग्रणी सीता, जनताका सरकार साख्य हाम्रो देशका सान हुन् त्यसैले नेपालमा अशान्ति नाटक मञ्चन हुन नसक्ने कुरा बताउँछन् । सद्भावका धर्महरू, मानवताका कर्महरू र जिजीविषा मर्महरू हाम्रो देशका पहिचान भएकाले विखण्डनका कथाहरू श्रवण हुन नसक्ने जिकिर छ उनको । विविधतामा एकता देशको मूल मन्त्र हो । हामी एक भएर देश निर्माणमा लाग्नुपर्ने विचार पोख्दछन् कविले ।

‘भातपकाइ’ कविको प्रेमिल कविता हो । बाल्यकालको प्रेमलाई निकै रोचक तरिकाले प्रस्तुत गरेका छन् कविले । बालप्रेमको सुइँको पाएका बा र हेडसरले नीलडाम हुने गरी चुटेको चुटाइमा पनि प्रेम भेटिन्छ यहाँ । तिनै भुन्टी जो आमा बनेर भातपकाइ खेल्ने गर्थिन् उनैले  बाले नाम्लेले हान्दा बसेका डामहरू थुक लगाएर मेटेको सम्झन्छन् कवि । हेडसरले गालामा चड्कन लगाउँदा छाप बनेका हातका औँलाहरू मेटाउन जिब्राले गालाहरू चाटेको यादले निकै तड्पिन्छन् कवि । उनी लेख्छन्–

 

उस बेला
आमा बनेर भुन्टी र
बाउ बनेर म
भातपकाइ’ मा बिताएका पलहरू
हराउँदा रहेनछन् सजिलै– तन्नेरी हराएझैँ विदेशमा ।

भुन्टी अहिले तिमीले पकाउने भात
बालुवाको हुन्छ कि चामलको?
अहिले तिमीले पकाउने रोटी
माटाको हुन्छ कि पिठाको?
एक्लो भएको बेला
पिपिरी’ बजाउनू भनेको
मलाई झलझली याद छ ।
–––––––––––––––––––––––––––––––––––––––(भातपकाइ–३२)

कवि ईश्वरी रिजाल स्रष्टा र द्रष्टा दुवै हुन् । साहित्यलाई रमाइलाका लागि मात्रै लेख्न नहुने तर्क गर्छन् उनी । सामाजिक एकता, सद्भाव, सहकार्य र सहिष्णुताजस्ता विषयवस्तुहरूलाई प्राथमिकतामा राख्नुपर्ने राय छ उनको । समाजमा हरेक थरीका मानिसहरू छन् । साँढे जुधाएर रमाइलो गर्ने प्रवृत्तिका मानिसहरूले जातीय, भेगीय वा क्षेत्रीय मुद्दा उठाउने र एक अर्कालाई लडाउने गरेका छन् । पूर्वको भए पनि वा पश्चिमको । उत्तरको भए पनि वा दक्षिणको । कालो, सेतो, धनी, गरिब जोसुकै भए पनि नेपालीहरूबीच एकता हुनुपर्ने कुरालाई कविले राम्रोसँग उठाएका छन् ।  पछिल्लो समय जातीय र क्षेत्रीय मुद्दाहरू बढी उठ्ने गरको कुरालाई अस्वाभाविक मान्दै कवि लेख्छन्–

 

हिजो 
विद्यापति मेरो होइन भनेर
कहिले पहाडे बोल्यो ?
भानुभक्त मेरो होइन भनेर
कहिले मधिसे बोल्यो ?
न मैथिली चित्रकला
भारतीय हो भनेर तराई कुर्लियो
आज
खोइ किन ?
चपर्चन्ड छन् पहाडे हातहरू
विद्यापतिका शिर तोड्न
खोइ किन ?
उद्यत छन् मधिसे हातहरू
भानुभक्तका सालिक तोड्न
खबरदार
यो नेपाली माटाले मागेको
क्रान्ति हुँदै होइन
यदि हो भने
विखण्डित भ्रान्ति हो ।
–––––––––––––––––––––––––––––– (हिया जलिरहेछ–४१)

वास्तवमा हिमाल, पहाड, तराई हाम्रो आफ्नै भूभाग हो । हिमाल हाँस्दा तराई र पहाड हाँस्न सक्नुपर्छ । पहाड बग्दा तराईले छेक्न सक्नुपर्छ । तराई रुँदा हिमाललाई पीडा भयो भने मात्रै हाम्रो सद्भाव, सत्कार्य, सौम्यता र ममता फस्टाउन सक्छ । नेपाली मन साँगुरो हुन नहुने कुरा ‘हिया जलिरहेछ’ भन्ने कवितामार्फत व्यक्त गरेका छन् कवि रिजालले ।

देश डेढ वर्षदेखि कोरोनाबाट पीडित छ । व्यापार व्यसाय धरासायी बनिरहेको बेलामा समेत साहित्यका क्षेत्रमा थुप्रै कृतिहरू प्रकाशित भएका छन् । सधैँ व्यस्त रहने लेखकहरूले लकडाउनको समयलाई राम्रैसँग सदुपयोग गरेका छन् । ईश्वरी रिजाल ‘उल्कापात’ले पनि लकडाउनको खाली समयलाई सदुपयोग गरेर बेसुल्लो कवितासङ्ग्रह बजारमा ल्याउन सके । उसो त गतसाल मात्रै पनि रिजालको ‘समदर्शी विवेचना’ ( समालोचनासङ्ग्रह प्रकाशित भएको थियो । लकडाउनलाई अवसरका रूपमा लिएका रिजालले कोरोनाका राम्रा पक्षहरूलाई केलाएर कविता लेखेका छन् ।  ‘कोरोना मैले तिमीलाई चिनेँ’ भन्ने कवितामा रिजाल लेख्छन्–

कोरोना, तिम्रो आगमनसँगै
मेरा देशका तन्नेरीहरू
फर्किएदेखि गाउँबेँसीमा
खोपामा रोएका बाँसुरीहरू
किशोरकिशोरी हाँसेझैँ हाँसेका छन्– रोधीघरमा
रातोदिन निदाउने बुढाघरहरू
भाले बासेझैँ बासेका छन्– बिहानीमा
हलो, कुटो र कोदालीहरू
मयूर नाचेझैँ नाचेका छन्– खेतबारीमा
वनपाखा, मेलापात, भन्ज्याङ अनि चौतारीहरूमा
माया गाँसेका छन्– जवानीमा 

–––––––––––––––––––––––––(कोरोना तिमीलाई मैले  चिनेँ–४५)

कोरोना आउनुपूर्व सुनसान रहेको बस्तीमा रमाइलो छाएको छ यतिबेला  । बाँझा खेतबारी हरिया भएका छ । एक्ला बुबा आमाहरूले सहारा पाएका छन् । कौसीमा आकाश ताकेर तरकारीका बोटहरू टाउको उठाइरहेका छन् । हो हल्ला छैन सहरबजारमा । चाराचुरुङ्गीका समधुर आवजहरू सुनिन थालेका छन् बाटा वरिपरि  । राष्ट्रियता र स्वाधीनताका रङ्गहरू पोतिएका छन् छातीभरि । साँच्चिकै कोरोनाले केही लिएर आएको छ हाम्रा लागि । सचेत बन्न सिकाएको छ दुनियाँलाई । यन्त्रिक बन्दै गरेका दुनियाँलाई सोच्न बाध्य बनाएको छ कोरोनाले भन्दै कवि कोरोनासँग तर्सन नहुने सन्देश दिन खोज्छिन् ।

 

‘बसुल्लो’ कवितामा सङ्ग्रहित पच्चीस थान कविताहरूमध्ये लुकामारी, बल्ने छु उल्का बनी, फर्क है परदेशी, कविगोष्ठी (कवि–१ र कवि–८) छन्दमा लेखिएका कविताहरू हुन् । कविगोष्ठी (कवि–२) को भो म भन्दिनँ भन्ने शीर्षकको कविता गजल हो । कविगोष्ठी (कवि–६) ‘अगोचर यात्री’मा हाइकु प्रयोग गरेका छन् । गद्य कविताहरूको बाहुल्यता रहेको ‘बसुल्लो’ कवितासङ्ग्रहले सबै प्रकारका पाठकहरूको मन जित्ने प्रयास गरेको छ ।

कवि रिजालले कवितासङग्रह ‘बेसुल्लो’ मा विगत कोट्याएका छन्, वर्तमान बोलेका छन् र भविष्य औँल्याएका छन् । शब्द थुपार्दैमा कविता बन्न सक्दैन भन्ने कुरा राम्रोसँग ज्ञान भएको बुझिन्छ रिजाललाई । कोरा कल्पनाभन्दा देखेका, भोगेका, अनुभव र अनुभूति गरेका कुराहरू कवितामा समेटिएका छन् । कवि रिजालका कविताहरू आवाजविहीनहरूको आवाजजस्तो लाग्छ । गरिब दीन दुःखीहरूको वकालत गरेका छन् अधिकांश कविताहरूले । सामाजिक विकृति र विसङ्गतिका विरुद्ध खरा देखिएका छन् कविका कविताहरू । सामाजिक विभेदप्रति कवि लेख्छन्–

जहाँ धर्मले मन्दिरका ढोकाहरू
थर हेरी हेरी खुल्ने र बन्द हुने गर्छन्
त्यो
मन्दिरको देव
मेरो हो, म कसोरी भनूँ ?

जहाँ 
सेवाले खनेका घाँसी कुवाहरू
जात लेखी लेखी सुगन्ध र दुर्गन्ध हुने गर्छन्
त्यो कुवाको तिर्खा
मेरो हो, म कसरी भनूँ ?

––––––––––––––––––––––––(मेरो हो म कसरी भनूँ–७१)

‘मेरी श्रीमती मेरी जस्ती छैन’ ईश्वरी रिजाल ‘उल्कापात’को चर्चित कविता हो । यो कविताले आधुनिकतालाई व्यङ्ग्य गरेको छ । वर्तमानलाई गिज्याएको छ । नेट इन्टरनेटको प्रवेशसँगै घरहरूमा मुर्दा शान्ति भित्रिएकोमा गुनासो गर्छन् कवि । फेसबुक, म्यासेन्जर, इमो र भाइबरको अधिक प्रयोगले केटाकेटीहरू मात्रै होइन श्रीमतीहरू पनि एकसुरे भएका छन् । स्वार्थी र मतलबी भएका छन् भन्दै कवि लेख्छन् –

 

इमो चलाएदेखि
साइबर र भाइबरमा रमाएदेखि
अनि फेसबुक र मेसेन्जरमा जोडिएदेखि
मेरो घर
हाँसोले रुँदैन
मेरो घर
रोएर हाँस्दैन
मित्र
मेरी श्रीमती मेरी जस्ती छैन ।

––––––––––––––––––––( मेरी श्रीमती मेरी जस्ती छैन–६८)

‘बेसुल्लो’ सङ्ग्रहका कवितामा कवि रिजालले राम्रै मिहिनेत गरेको देखिन्छ । भूमिका र मेरो भन्नुमा हतपत गरेर लतपत भएको हो कि जस्तो पनि लाग्छ । शुद्धाशुद्धिमा कमीकमजोरी देखिएको छ । महेश अधिकारीको सुन्दर आवरण रहेको ‘बेसुल्लो’ काव्य विधाको महत्त्वपूर्ण कृति हो । लकडाउनको समयलाई सदुपयोग गरेर राम्रो कवितासङ्ग्रह प्रकाशित गर्न सफल ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’लाई हार्दिक बधाई छ ।