‘सम्झनामा रुस’ एउटा सामूहिक नियात्रा लेखकहरूको उल्लेखनीय र उदाहरणीय नियात्रा सङ्ग्रहको रूपमा नेपाली पाठकहरूको समक्ष आएको छ । यसमा कृष्ण प्रकाश श्रेष्ठ, कन्हैया नासननी, चन्द्रकान्त आचार्य, जङ्गब चौहान, जीवा लामिछाने, प्रकाशराज रेग्मी र विष्णुबहादुर सिंहको संस्मरणात्मक नियात्रा सङ्ग्रहको सँगालो नेपाली नियात्रा साहित्यमा कोसेढ्ङ्गुाका रूपमा सराहनीय प्रयास हो । अहिले नियात्रा संस्मरण फाट्टफ्ट्ट रूपमा होइन सघन रूपमा प्रकाशित हुनु सराहनीय कुरा हो । यो विधा धेरै लोकप्रिय हुन लागेको छ र यसमा पाठकहरूको रुचि पनि अत्यधिक अभिबृद्धि भइराखेको छ ।

नियात्रा संस्मरण लोकप्रिय हुनुको कारण के छ भने पाठकहरू पनि लेखकहरूसँगसँगै त्यसमा विचरण र भ्रमण गर्दा लेखकको निजी अनुभूति मात्र होइन, त्यस देशको रहनसहन, जीवनशैली, भौगोलिक अवस्थिति, ऐतिहासिक स्वादको रसास्वादनको साथसाथै सांस्कृतिक सुरभिको अनुभवको पाएर हर्षित र आह्लादित हुने गर्दछन् । यो विधा निजात्मक हुँदाहुँदै पनि सार्वजनिक सरोकारको विषयवस्तु हुन पुग्दछ । भनिन्छ भ्रमण नगर्ने मानिसहरू पनि आफूमै भ्रमण गरेको जस्तो अनुभूतिको आभास पाउँछन् । नियात्रा साहित्यको भूलभूत तत्त्वलाई आत्मसात् गर्दै पाठकहरू विचरण गर्दै वैचारिक अनुभूतिसँग पनि तादात्म्य सम्बन्ध स्थापित गर्न पुग्दछन् । यस अर्थ र सनदर्भमा नियात्रा संस्मरणात्मक अनुभूतिको सहज सरलीकरण र साधारणीकरण हुने गर्दछ । अतः यो विधा नेपाली साहित्यमा मात्र होइन अन्य भाषा साहित्यमा पनि लोकप्रिय दिनानुदिन हुँदै गइरहेको छ । अनि पो त लेखिएको छ  “Successful travel literature mediates between two poles the individual physical things, it describes on the one hand and the larger theme that it is about on the other. That is, the particular and the universal.”

Paul Fussell in his introduction to the Northern Book of Travel.

समीक्ष्य पुस्तकको औचित्यताको बारेमा यसरी लेखिएको भेटिन्छ –

पूर्व सोभियत सङ्घबाट उपलब्ध छात्रवृत्ति कार्यक्रम अन्तर्गत हजारौँ नेपालीहरूले उच्चशिक्षा पाउने अवसर पाएका थिए । नेपाल विकासको अभियानमा विविध क्षेत्रबाट उनीहरूले पुर्‍याएको योगदान अविस्मरणीय रहेको छ । आफ्नो देश, संस्कृति र समाजलाई माया गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा आवश्यक योगदान दिन सक्ने विशेषज्ञहरूको उत्पादनमा त्यो मित्रराष्ट्रको निःस्वार्थ सहयोग रहेको थियो । अब त्यो देश त्यही रूपमा विश्वको मानचित्रमा छैन । यहाँको राजनीतिक, आर्थिक, सामाजिक एवम् शैक्षिक परिवेश अर्कै भइसकेको छ । पूर्व सोभियत सङ्घको उत्तराधिकारीको रूपमा  रहेको मित्रराष्ट्र रुस एउटा कठिन सङ्क्रमणकालबाट गुज्रिरहेको छ तर पनि आधारभूत रूपमा रुसी चरित्र उही हो, रुसी मित्रहरू उनै हुन् । यस्तो अवस्थामा ती मित्रहरूसँगको सामीप्यको हार्दिक संवेदनाहरूलाई स्मरण गर्दा निश्चय नै नेपाल–रुस मित्रताको जगमा किञ्चित मात्रामा भए पनि बल पुग्ने नै छ ।

अवश्यमेव नेपाल र रुसको साहित्यिक तथा सांस्कृतिक आयाममा समीक्ष्य पुस्तक एउटा नयाँ आयाम थप्नमा सहायक सिद्ध हुनेछ, यसमा शङ्का उपशङ्का गर्ने ठाउँ छैन । राजनीतिक तथा कौटनीतिक सम्बन्धमा तलमाथि हुने स्वाभाविक हो तर साहित्यिक तथा सांस्कृतिक सन्दर्भमा कुनै किसिमको मनोमालिन्य र मतभिन्नता कदापि पनि हुँदैन । यो सम्बन्ध चिरस्थायी मित्रताको प्रतीकका रूपमा सदैव तरोताजा रहिरहन्छ । यस सन्दर्भमा समीक्ष्य पुस्तकको मूल्य कति गुणा बढिहाल्छ भनेर अहिले नै अनुमान गर्न सजिलो छैन । समीक्ष्य पुस्तकको प्रकाशक नेपाल–रुस साहित्य समाज पनि रहेकाले यसको महत्ता स्वयंसिद्ध हुन्छ । समीक्ष्य पुस्तकको अर्को विशेषता के छ भने यसको] पूर्वपिठिका (Preface) रुसी भाषामा लेखिएकाले यसको सारसङ्क्षेप चाहिँ रुसी पाठकहरूले पनि सजिलोसित बुझ्न सक्दछन् । यो उनीहरूका लागि सम्प्रेषणीय पनि हुन सक्छ । यो (Reference)  सन्दर्भका लागि पनि धेरै उपयोगी हुन सक्दछ । यसबाहेक अङ्ग्रेजी भाषामा पनि यो पूर्वपिठिका भएकाले अङ्ग्रेजी भाषाका पाठकहरूले सन्दर्भको साथसाथै सम्झनाका लागि पनि उपयोगी हुन सक्दछ ।

    समीक्ष्य पुस्तकमा कृष्णप्रकाश श्रेष्ठको संस्मरण सर्वप्रथम राखिएको छ । उहाँको सङ्क्षिप्त परिचयको साथसाथै चित्र पनि दिइएको छ । उहाँको स्मरण तीन उपशीर्षकमा विभाजित छ । जस्तो पुस्किनको पदचिह्न पछ्याउँदै, लेलिनसित सम्बन्धित स्थानहरूको यात्रानुझूति, क्रास्मोयार्क्स मनचिन्ते यात्रामा क्रास्मोदारदखि ब्रात्सकसम्म । उहाँद्वारा लिखित ‘सोभियत नारी अन्तरिक्षमा’ संस्मरण ऐतिहासिक र विश्वव्यापी हुन गयो । यस समाचारले हर्षोद्गारको भावना जागृत गरिदियो । विश्वकी पहिली नारी अन्तरिक्ष यात्री भ्यालेन्तिना तेरेस्कोभाको पराक्रमले सोभियतसङ्घका महिलाहरूलाई मात्र नभई सम्पूर्ण भूमण्डलका महिला र के पुरुष सबैलाई आह्लादित तुल्याइदिएको छ । यो रुसी भाषामा लिखित मेरो हर्षोद्गारको नेपाली अनुवाद धेरै प्रशंसनीय मानियो । यसबाट के पनि स्पष्ट हुन्छ भने उहाँको रुसी र नेपाली दुइटै भाषामा समान रूपमा अधिकार प्राप्त छ । उहाँले थप कुरो के भन्न उचित ठान्नुभएको छ भने विश्वकी प्रथम नारी अन्तरिक्ष यात्रीको उडानका बेला नेपालीहरूमध्ये सर्वप्रथम भएर यही पङ्क्तिकार पुगेको क्रास्नोदम सहरले हाल क्रास्नोदार अञ्चलको केन्द्रका रूपमा विकास गरिरहेको छ । उहाँ अझ अनुमान लगाउनुहुन्छ कि त्यतिखेर मैले देखेको र अहिलेको क्रास्नोदारमा ठूलो अन्तर आइसकेको हुनुपर्दछ । त्यसपछि उहाँले साइबेरिया भ्रमणको संस्करण लिपिवद्ध गर्न पनि बिर्सनुभएको छैन । रुसस्थित साइबेरियाको बैकाल सरोबरलाई पृथ्वीको नीलो आँखा भन्न पुग्नुभएको छ । यो यात्रा संस्मरण कल्पनिक नभएर वास्तविक हो भनेर उहाँले आफैँ किटान गर्नुभएको छ ।

रामदयाल राकेश

समीक्ष्य पुस्तकका अर्का नियात्रा संस्मरणकार हुनुहुन्छ कन्हैया नासननी । उहाँले मास्कोबाट मेकानिकल इन्जिनियरमा एम.ए. डिग्री (सन् १९७१) प्राप्त गर्ने सिलसिलामा आफ्नो संस्मरणलाई यथार्थको धरातलमा अभिव्यक्त गर्नु अभिनन्दनीय कुरा हो । उहाँको नियात्रा संस्मरण पनि तीन भागमा विभाजित छ यथा ‘पियानोमा एउटा सङ्गीत’, अतीतको क्यानभाषमा मेरो छात्रावास र स्मृति पत्र रुसी गीत र सङ्गीतहरूको साहित्यिक तथा सङ्गीतात्मक अनुभूतिको अङ्कन निकै राम्रो भन्न सकिन्छ । उहाँले रुसी भाषाको अध्ययनबाट बचेको अधिकांश समय रुसी साहित्य, सङ्गीत र गीतसँग परिचित मात्र नभएर त्यसमा आफूलाई आह्लादित तुल्याएको अनुभूतिको अभिव्यक्ति इमान्दारीपूर्वक पाठकहरूलाई पस्किनु प्रशंसनीय कुरा हो । कहाँ मेकानिकल इन्जिनियरिङ्गका विद्यार्थी र कहाँ गीत सङ्गीतको सुमधुर ध्वनिबाट आफूलाई सरोबरी गर्नु सराहनीय कुरो भन्न सकिन्छ ।

    तेस्रो संस्मरणकार हुनुहुन्छ चन्द्रकान्त आचार्य । उहाँको संस्मरणलाई ‘मास्को र किमका यात्राहरू’, मास्को सर्भे इन्टिच्युटको सेरोफेरो र रुसबाट युरोप यात्रामा जाँदा गरी तीन भागमा विभाजित गरिएको छ । रेल याक्राको क्रममा सोभियतहरूको पहिलो मायालु आतिथ्य ग्रहण गरेर अह्लादित भएको अनुभव बडो सरल र सुन्दर भाषामा अङ्कित गर्नुभएको छ । उहाँले मनैमन मास्कोमा पहिलो पटक उत्रिँदाको काल्पनिक कुरा स्वर्गको टुक्रामा अत्यधिक जाडाको जडवत् वर्णन गर्नुभएको छ । मास्कोको नागा तेस्क्या भन्ने ठाउँमा डा. उपेन्द्र महतो र कृष्णप्रसाद श्रेष्ठसँग नेपाली भाषाको रुसी भाषामा र रुसी भाषाको नेपाली भाषामा अनुवादका बारेमा भएको चर्चा परिचर्चाको जिकिर गर्नुभएको जानकारी दिनुभएको छ । उहाँले रुसी परिवारसँग रात बिताएको पहिलो घटनाको पनि घतलाग्दो वर्णन गर्न बिर्सनुभएको छैन । त्यसपछि रुसबाट युरोप यात्रा गर्दा पोल्यान्ड, पूर्व जर्मनी, पश्चिम जर्मनी र फ्रान्सको धेरै ठाउँहरूको भ्रमण गरेर आफ्नो मन पर्ने सहर पेरिसको प्रशंसनीय वर्णन गर्न पुग्नुभएको छ । उहाँको यात्रा संस्मरणमा संवेदनशीलताको प्रशस्त पुट पाइन्छ ।

    अर्को नियात्राकार हुनुहुन्छ जङ्गब चौहान । उहाँले पनि आफ्नो नियात्रा संस्मरणलाई तीन शीर्षकमा विभाजित गरेर लयात्मक शैलीमा लिपिवद्ध गर्नुभएको छ यथा – केर्छेली साहित्यकारसँग बितेका स्वर्णिम पलहरू, कृष्ण सागरीय लहर, बालाकलाभाको साँझ र याल्टा ग्रुजुफको साहित्यिक तीर्थाटन र कवि भिक्टरसँगका क्षणहरू । उहाँ एउटा सफल अनुवादक पनि भएकाले आफ्नो संस्मरणमा काफी काव्यात्मक पुट दिनुभएको पाइन्छ । उहाँले केर्छेली साहित्यकारहरूसँग बितेका पलहरूलाई स्वर्णिम भन्न पुग्नुभएको छ जुन युक्तिसङ्गत देखिन्छ । साहित्यिक नियात्रा संस्मरणलाई उहाँले तीर्थाटन भन्नुभएको छ । उहाँले भिक्टरको कविताको एउटा अंश यसरी प्रस्तुत गर्नुभएको छ । ‘साँच्चै कति सुन्दर यो जीवन, मात्र कहिलेकाँही यो मनमा डढेलो लाग्दछ । उड्न थाल्दछ सपनीमा यो दुःखी मन ।’ पृ. १३९ ।

    समीक्ष्य सङ्ग्रहको पाँचौ लेखक हुनुहुन्छ जीवा लामिछाने । नियात्रा साहित्यमा आफ्नो मौलिक योगदानका लागि मूर्धन्य नियात्राकार । उहाँले नेपाली साहित्यमा एउटा नियात्राकारको रूपमा आफ्नो कीर्तिमान स्थापित गरिसक्नुभएको छ । समीक्ष्य सङ्ग्रहमा उहाँको देश टुक्रिँदाको दुर्दशा, ऐतिहासिक सहर सेटपिटरवर्ग र महाकवि रसुलसँग जोडिएको नेपाल तीनवटा यात्रा संसारमा सङ्ग्रहित छन् । उहाँ सोभियतसङ्घको भ्रमण गर्दा आफ्नो देश नेपाललाई सधैँ दिलोदिमागमा राख्नुहुन्छ र पाठकलाई पनि यसबाट परिचित गराउनमा पारङ्गत हुनुहुन्छ । अतः जताततै महाकवत हाम्जाताभले नेपालभ्रमण लगत्तै नेपालका विषयमा दुई काव्य लेखेका छन् जसलाई कृष्णप्रकाश श्रेष्ठले नेपालीमा अनुवाद गरेर “जीवनचक्र” र “जीवित देवी कुमारी” नाम दिएका छन् । यो गाइड बुकका रूपमा लोकप्रिय छ । कविले दागेस्तानले नेपालका विषयमा लेखेर त्यस कृतिमा नेपालको चर्चा साह्रै राम्रोसित वर्णन गरेका छन् जुन सधैँ प्रशंसनीय रहनेछ । उनले लेखेका कुरा कोट गर्न मिल्छ ‘नेपालका बौद्ध मन्दिरहरूमा समेत मैले प्यारो दागेस्तान सम्झेँ । काठमाडौँ त्यस्तो ठाउँ हो जहाँ चामत्कारिक २२ धाराबाट प्रकृतिको पवित्र जल निरन्तर प्रवाह भइरहन्छ तर नेपाल र दागेस्तानमा मैले केही फरक पनि पाएँ । नेपाल कुद्न बाँकी रहेको हीरा हो, जब कि दागेस्तानको कुँदिएका हीराहरूले कैयौँ सिसाहरूलाई टुक्र्याइसकेका छन् । पृ. १७० । यसप्रकार वहाँ सोभियत सङ्घ र नेपालको सांस्कृतिक विरासतका बारेमा वर्णन गरेर एउटा नौलो विचार प्रस्तुत गर्नुभएको छ । यात्राका क्रममा सबैभन्दा बढी उहाँको दिल दुखेको छ, देश टुक्रेपछिको व्यथा कथाबाट । सोभियतसङ्घ टुक्रेपछि ताजिकिस्तानको दुर्दशा हेरेपछि उहाँको दिल छिया-छिया भएको पाइन्छ ।

    छैटौँ लेखक डा. प्रकाशराज रेग्मीको पनि तीनवटा यात्रा संस्मरण यसमा सामेल गरिएको छ । एउटा मेडिकल डाक्टरको यात्रा संस्मरण पठनीय, प्रशंसनीय भएको छ । यथा समाजवादी अस्पतालको शय्यामा केही दिन रुसको प्राकृतिक चिकित्सा केन्द्र र लेलिनको देश पढ्न पाउनुको गर्व । उहाँ मेडिकल डाक्टर भएकाले आफ्नो भ्रमण एवं विचरणको वर्णन चिकित्सकीय सन्दर्भमा गर्नु स्वाभाविक र यसमा उहाँ सफल पनि हुनुभएको छ ।  चिकित्साशास्त्रका साथै रुसी साहित्य भाषा, संस्कृति र समाजवादी सिद्धान्तको पढाइ पनि एकसाथ गर्नु यो सर्वथा स्वाभाविक कुरो हो र संस्मरण सुन्दर छ ।

उहाँले यो पनि जानकारी पस्कनुभएको छ कि सोभियत रुसमा एकवर्ष रुसी भाषाको अध्ययन र आधारभूत विज्ञान, पाँचवर्ष चिकित्सा शास्त्रको पढाइ, एक वर्ष इन्टर्नसिप र अन्त्यमा इन्टर्नसिप परीक्षा गरी जम्मा सात वर्षको पढाइपछि मेडिकल डाक्टरको उपाधि पाइन्थ्यो त्यसपछि तत्काल पोस्ट ग्रेजुएसन गर्ने अवसर पाउँछन् ।

अन्तिम संस्मरणकार विष्णुबहादुर सिंह नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार नै हुनुहुन्छ । उहाँ यात्रा संस्मरणबाहेक कविता, हाइकु र निबन्ध लेखनमा पनि निपुण व्यक्तित्व हुनुहुन्छ । उहाँ सधैँ सक्रिय साहित्यसाधक हुनुहुन्छ । उहाँका पनि तीन यात्रा संस्मरणमध्ये मस्को भेलामा नेपाली पाहुना धेरै घतलाग्दो यात्रा संस्मरण हो । दोस्रो मास्कोमा रेडियो हराएको क्षण र तेस्रो समुद्रपारको साहासिक यात्रा । यो अन्तिम यात्रा संस्मरण वास्तवमा रहस्य, रोमाञ्च, साहसपूर्ण संस्मरणमा उल्लेखनीय भन्न सकिन्छ । मास्कोदेखि क्य्वुासम्मको सामुद्रिक यात्राको अत्यन्त रोचक, रोमाञ्चक तथा साहसपूर्ण वर्णन गरेर पाठकहरूलाई एकक्षणका लागि विस्मित गर्नमा सफल छ । यस एक महिना लामो सामुद्रिक यात्रामा पाँचतारे होटलको सबै सुविधा सहज प्राप्त थियो जसले गर्दा Sea sickness को पटक्कै अनुभव भएन । उहाँ चढेको जहाज बाल्टिक सागरतर्फ एकनासले लम्किरहेको थियो । के दिन, के रात, ऊ त समुद्र छालहरूसँग पौँठेजोरी खेल्दै अग्रसर भइराखेको थियो । धेरै सहयात्रीलाई रिँगटा लाग्ने, बान्ता गर्ने आदि लक्षण देखिनु स्वाभाविक थियो तर लेखक यसलाई खुब मज्जा लिएर सम्पन्न गर्नुभयो ।

सङ्क्षेपमा यी संस्मरणहरूको भाषाशैली शुद्ध साहित्यिक परिनिष्ठ र परिमार्जित नै भने ठोकुवासित भन्न सकिन्छ । वास्तवमा समीक्ष्य सङ्ग्रह सराहनीय र सङ्ग्रहनीय छ ।