हंस प्रा.डा. सञ्जीव उप्रेतीद्वारा लेखिएको, जुन पद्मश्रीको मनोनयनमा समेत परेको उपन्यास हो । उनको घनचक्कर पछिको दोस्रो यस उपन्यास सामाजिक पाटाबाट भन्दा पनि प्राकृतिक पाटाबाट मानव समाजलाई चिहाउन खोजिएको छ । यो उपन्यास वास्तवमा यथार्थवाद, सामाजिकता, बढ्दो पर्यावरणीय सङ्कट, पुरुषत्व र नारीत्वमा चलिआएका सामाजिक व्यवहारहरू, लैङ्गिक गतिशिलता, प्रेम, बिछोड, ईर्ष्या, हिंसा र मानवीय सोचहरू र विभिन्न किंवदन्तीहरूलाई प्रस्तुत गर्दै बहुआयामिक दृष्टिमा चरा, सर्प आदिका माध्यम मानव समाज, विश्व परिदृश्य आदिलाई प्रस्तुत गरिएको छ ।
यस कथाको परिदृश्य, टौदह, कमलादी, क्षेत्रपाटी, अमेरिका लगायतका ठाउँहरू छन् ।
बुढीआमै टौदह छेउमा खाजा घर चलाएर बस्ने एकल वृद्धाको रूपमा चित्रण गरिएको छ । उनको अनुहार पूरै चाउरी परेको छ, उनका अनुहारको हरेक चाउरीपनाले जीवनका इतिहास र अनुभव सम्हालेको छ । यसमा विम्बत्मक रूपका कथावाचन आमैबाट भएको छ । चरा र सर्प लगायतका अनेकौँ कथाहरू, किंवदन्तीहरू, मान्यताहरू आमैको माध्यमबाट देखाइएको छ ।
महादेवकी भक्तिनीको कथा, सेताबुढाले बताएका माकुराको कथा, भीमसेनका कथा, भीमसेनले दहको निर्माणको कथा, मञ्जुश्रीले ठूलो दह खोलेको, दहका सबै प्राणीहरू बगेर गएका, दहमा सिवाय नाग र हाँस मात्र बसेका कथा, बाजे बकुल्लाको कथा, लगायत मिहिन किम्बदन्तीका कथाहरू हुन् ।
नागराजा र नागरानी कथामा उनीहरूबीचको अगाड प्रेम, नागरानीको डोब्रेसर्पसँग झुकाव । डोब्रेसर्पसँग नागरानीको आशक्ति, शारीरिक सम्बन्ध, नागराजाले थाहा पाउँछन् र नागराजाको रिस आवेग । नागरानीप्रतिको माया, नागरानीलाई त्याग्न नसक्नु, डोब्रेसर्पको अभावमा नागरानी बिरामी हुनु, कैयौँ उपचार नलाग्नु, विवश भएर डोब्रेसर्प खोजेर ल्याउनु, नागरानीको स्वास्थ्यमा क्रमिक सुधार आउनु, नागरानीको खुसीको लागि नागराजाले मुटु मिचेर डोब्रेसर्पसँग स्वतन्त्र छाड्नु, डोब्रेसर्पले नागरानीलाई उड्न सिकाउनु र उड्नु, नागराजा उड्न नसक्नु । नागराजको दर्दनाक एकल र पीडादायी प्रेमकथा ।
हाँसहरू भित्रका किंवदन्तीहरू । हाँस देउता र हाँसको उत्पत्ति सहितका संसार उत्पत्तिका कथा । हाँसको सेवाका निम्ति मानिसको उत्पत्ति लगायतका हाँस भित्रका अनेकौँ कथा र मान्यताहरू । हाँस समुदाय भित्रका जात्रा, उत्सवहरू । हाँसलाई मानव समाजको मानकीकरण गरिएको छ ।
सात समुद्रपारिदेखि आएका उडन्ते काला हाँसहरू, जसभित्रका उनीहरूका विभिन्न मान्यताहरू । ऋतु अनुरूप बसाइँसराइ, आफ्नो समुदायभन्दा फरक जाति वा समुदायसँगको सम्बन्धमा हेर्ने फरक दृष्टिकोण, वास्तवमा यसले आज पनि हाम्रा समुदायलाई प्रतिनिधित्व गर्दछ ।
कालीहाँस एउटी उडन्ते हो, जो लहडे हाँसकी प्रेमिका हुन्छे । जो रूपवान् र बैँसालु घरपालुवा भाले हाँस (लहडे) सँगको गहिरो प्रेम र अटुट माया प्रेमका घनीभूत वाचाहरू सहितका शारीरिक सम्बन्धहरू र प्रेमका उच्चतम आभास र अनुभूतिहरू गज्जब प्रस्तुति छ । उसले सुनाएका उडन्ते हाँसका संसार उत्पत्तिको कथा, भगवान्, मानसरोवर, लगायतका अनेकौँ किंवदन्ती र कथाहरू । उसले गरेको प्रेमलाई अरू उडन्ते हाँसहरूले हेर्ने कमजोर र नकारात्मक दृष्टिकोण आज पनि हाम्रो समाजमा छ । कालीको बिछोडिने अवस्थासँगै लहडे हाँसको प्रेममा तुषारपात हुन्छ र लहडे हाँसको प्रेमलाई छाडी काली उडन्ते हाँसको बथानसँगै कालीको नयाँ उडान लिन्छे ।
लहडे हाँस घर पालुवा हाँसको बथानमध्यको एक युवा हाँस हो । उडन्ते काली हाँससँगको गहिरो प्रेममा कालीप्रति अटुट मायाका वाचाहरू र कालीसँग प्रेमका उच्चतम आभास र अनुभूतिहरू अनि उसले कालीलाई सुनाएको कथाहरू र हाँसभित्रका अनेकौँ किंवदन्तीहरू, टौदहका कथाहरू, हाँसका उत्सवका कुराहरू, कालीलाई दिएका प्रेमका वाचाहरू, कालीसँगै दुनियाँ हेर्न चाहने, मानसरोवर पुग्ने, जीवनभर प्रेम साट्न चाहने, स्वतन्त्र हुन खोज्ने उसको चाहनाको बेजोड प्रस्तुत गरिएको छ । कालीसँगको प्रेमसँगै उसलाई हाँसको समूहबाट निष्कासन गरिन्छ तर पनि उसले प्रेममा निरन्तरताका लागि उड्ने अभ्यास प्रेमको ऊर्जा देखाउन खोजिएको छ । कालीसँगको सम्बन्धका कारण उडन्ते हाँसहरूले दह छाड्ने निर्णय गर्छन् र कालीले पनि छाड्ने निर्णय गर्छे । लहडे हाँसको प्रेममा तुषारपात हुन्छ । प्रेमको पर्खाइ र अपेक्षा साथै कालीले अरूसँग सम्बन्ध गाँसी र बिर्सन्छे भन्ने पीडा र मायाको पर्खाइ अनि नैराश्यसँगै लहडेको मृत्यु हुन्छ ।
अर्का सेताम्मे बुढा जो वास्तविकतामा नै काल्पनिक लाग्ने, अनुभवले खारिएका जस्ता मिलिटरी रङ्गको ज्याकेट लगाएका र बर्मामा लामो समय बसेका रहेछन् । हरेक हन्डरको अनुभव भएका, अनुभवका पृथ्वीझैँ देखिने, अश्वत्थामाझैँ लाग्ने, प्राकृतिका प्राणीका सबैको भाषा हुन्छ, भाषाको बुझाइ उच्चारणले हैन, भावनाले बुझ्नुपर्छ भन्ने मान्यता भएका, भाषामा व्यञ्जनको भन्दा भ्ववेलको विराट्ता हुन्छ र हुनुपर्छ भन्ने शालीन व्यक्तित्व छन् । उनी मानवीयता र प्रकृतिप्रति सहानुभूति राख्ने देखिन्छन् ।
पाले, जो अरमठ्ठ जुँगा भएको, नागराजा नागरानी संस्थाको गार्ड हो । केटाकेटीमा आमाबाबु बितेर टुहुरो भएको अनि मामामाइजूले हुर्काएका । सँगैका दौतरीहरू केही माओवादीमा गए, कोही विदेश गए, ऊ मात्र कहीँ जान पाइएन । परिवारको कोही सदस्य नभएको व्यक्ति जो आमैसँग भावनात्मक रूपमा छोरा जस्तै सम्बन्ध भएको देखाइएको छ ।
प्रेम, यो उपन्यासको मुख्य पात्र हो । कागज फ्याक्ट्रीमा काम गर्ने बुबा आमा र भाइसहितको सानो परिवार । सधैँ आक्रोशले भरिएका बुबाले आमामाथिको चरम यातना र क्रूरता । आमाको मृत्यु हुन्छ, पछि भाइ विजय, समाज परिवर्तनका लागि माओवादीमा लाग्छ त्यसबाट पनि छाडेर विदेशमा भेडा चराउन पुग्छ । प्रेम एम.ए. सकेको शैक्षिक बेरोजगार हो । साहित्यलेखन, एकेडेमी हलमा कवितावाचन, सीमासँगको एक्कासी भेट, क्रमिक एकापसमा भेटघाट, मन परपर, टौदहको प्राकृतिक भ्रमण, प्रेम विवाहमा परिणत, व्यवहारमा सानातिना कमीकमजोरीहरू, सानातिना झगडा, सीमाले घर छाड्छिन्, प्रेमसँग सम्पर्कमा आउँदिनन् अनि अमेरिका जान्छिन् प्रेमलाई छाडेर तर उसको सीमाप्रतिको प्रेम अटुट छ । पछि सीमा अनुजसँग प्रेममा पर्छिन्, सँगै बस्छिन्, बिहे गर्छिन् । श्रीमतीको विवाह भएपछि विकास भएको आरिस, रिस, द्वेष र कटक पूर्ण जिन्दगी बच्न बाध्य छ प्रेम । जार (अनुज) सँगको भेट, उसलाई काट्ने इच्छा, तयारी, जारका आफ्ना कथा, यस्तै यस्तै कथाले पिरोलिएको उसको दिन्दगी ।
सीमा, प्रेमकी श्रीमती, जो चारजना दिदीबहिनी र आमासहित छोराको आसमा जन्मिएको एउटा कान्छो भाइ त्यो पनि सुस्त । बुबाले सुनाउने गरेका आफ्ना पुर्खा (चौबिसे राजाको वंशजका र पृथ्वीनारायण शाहले भाग्य खोसेको) कथा । लगनखेल जीर्ण घरमा बसाइ । बुबा रोगी जो टिवीले सताएको परिवारका लागि दर्वानको काम गर्छन् भारतमा जो वर्षको ११ महिनासम्म भारत रहन्छन् । आमा धार्मिक प्रवृत्तिकी छिन् । दुःखमा पनि खुसी हुन खोज्छिन् चरम आर्थिक अभाव, मामाले बेला बेलामा सहयोग गर्छन् । सीमाको १० कक्षासम्म साहित्यमा जागरुकता, घरको गरिबी, कमर्स पढ्नुपर्ने बाध्यता, घरको कथा बुझेपछि साहित्यमा वितृष्णा, बैङ्कको जागिर, प्रेमसँग भेट, अनेकौँ रमाइला दिनहरू, प्रेम सम्बन्धका आशक्तिपूर्ण र रमाइला दिनहरू, टौदहका रमाइला दिनहरू, प्रेमसँग विवाह, सानातिना झगडाहरू, प्रेमलाई छाडेर हिँड्छिन्, पछि अमेरिका जान्छिन् । अमेरिकामा अनुजसँग भेट, रुम सेयरिङ, अनुजबाट गर्भवती, अनुजसँग विवाह, अनुजको पहिली श्रीमती (माया) को आगमन, प्रेमले छाडेर पलायन र मायासँगै अमेरिका बसाइ ।
अनुज पाण्डे, प्रेमको जार हो । जो काठमाडौँका रथाने, सेनामा काम गरेका उच्च पाण्डे खलक छोरा । पाण्डे खलकको पारिवारिक रवाफी, कडा स्वभावका बुबा, महाराजगञ्जमा घर भएको र आर्थिक अवस्था कमजोर हुँदै डेरामा बस्नुपर्ने पारिवारिक अवस्था । बिग्रिएको अनुजको पढाइ, कमाउन बम्बई लागेको, फिल्म खेल्ने इच्छा तर अवसर नपाएको अनि नेपाली हुँदाको हेपाइ । पछि पानी जहाजमा काम गर्न पुग्छ । भारतीय बुढो अर्बपति र उसको विदेशी कलिली प्रेमिका भर्जिनियाको सेवा, बुढाको शोषण र पेलाइ । पानीजहाजबाट अमेरिका छिर्न लाग्दा बन्दरगाहमा पक्राउ, नेपाल फिर्ता, मायासँग विवाह, पुनः इलिगल रूपमा अमेरिका पुग्छ । रेस्टुरेन्ट काम गर्ने क्रममा सीमासँग भेट, सीमासँग रुम सेयरिङ, सीमा गर्भवती अनि विवाह । पछि मायालाई पनि डिभी पर्छ र अमेरिका पुग्छिन् । सीमा र माया अनि हुने सक्ने परिस्थिबाट नेपाल आउँछ । सीमाको पूर्व पतिसँग भेट हुनु र अन्त्यमा केही नलागी नैराश्य भएर बाराको हल्खोरिया जङ्गल पस्नु, बम्जनको चेलो हुन पुग्छ ।
माया, अनुजको पहिलो श्रीमती हो । जो अत्यन्त सुन्दर र सुशील महिला हुन पछि अनुजसँग विवाह भएपछि परिवारको हेरचाह गरेर श्रीमान्को पर्खाइमा बसेकी छन् । पछि उनलाई पनि डिभी पर्छ, अमेरिका जान्छिन्, श्रीमान्सँग भेट हुन्छ । पछि श्रीमान्को बिहे भएको थाहा पाउँछिन्, अनुजले छाडेर हिँड्छ अनि सीमासँगै बस्छिन् ।
अनेकौँ पात्र भए तापनि यो उपन्यास अत्यन्त मिहिन छ । यसमा शेरसिंह (गढवाली केटो) कथाको कथा अजिब र सङ्घर्षशील छ । गढवालबाट बलिउडको सपना बोकेर बम्बई जान्छ । उचाइले भएको समस्या, यस चोपडाका चौकीदारले गरेको व्यवहारले नयाँ बाटो मोडिन बाध्य बनाएको देखिन्छ । बम्बईमा अनुजसँग भेटपछि अमेरिकामा सँगै काम गर्न पुग्छन् । शेरसिंहकै कारण अनुज सीमासँग नजिक हुन पुग्छ । शेरसिंह प्रेम र यौनलाई व्यवस्थित गर्न सक्नुपर्छ भन्ने पात्रको रूपमा देखिन्छ । गढवालमा आफ्ना परिवारको इज्जत राख्ने र विवाह गरेर सात वर्षमा छवटा बच्चा जन्माउने युवा यौन शक्ति, जोस र इच्छाको कुरा सुनाउँछ । वास्तवमा शेरसिंहकै कारण सीमा अनुजको नजिक भएको देखिन्छ ।
मलहोत्रा रेस्टुरेन्टको साहु एउटा जीवन्त पात्र हो जो श्रम शोषण गर्न सिपालु हुन्छन् । आज पनि हाम्रो समाजमा छन् । अमेरिकामा इलिगल बस्नेको श्रमशोषण को कथा हो ।
रामकुमार कार्कीले कथा बेग्लै छ, पश्चिम पहाडको केटो, काठमाडौँ छिरेपछि नेताको घरमा काम गर्छ, नेता राजदूत भएपछि नेतासँगै अमेरिका जान पाउनु । पछि आफ्नुबाट रकममा शोषण भएको थाहा पाए पछि वा त्यहाँभन्दा अरूतिर धेरै कमाउने थाहा पाएपछि त्यतैबाट कुलेलम ठोक्छ । अनुज, शेरसिंह, असरफ र सीमासँगै मलहोत्राको रेसटुरेन्टमा काम गर्छ । उसले अनुज र सीमाप्रति सकारात्मक सोच्छ, सहयोग गर्छ ।
अश्रफ लखनौबाट अमेरिका मोरोक्कको हुँदै सुरुङमार्फत अमेरिका छिरेको हो । ठूलो जुँगा पालेको छ, अनुजसँगै बस्ने एउटा पात्र हो । इलिगल भएकै कारण १२ घण्टासम्म काम गर्नुपर्ने बाध्यता छ । पुलिसको डर, मलहोत्रा ( रेस्टुरेन्ट साहु ) सबै गाली सहनुपर्ने बाध्यता । वास्तवमा आजपनि इलिगल रूपमा बस्ने धेरैको अवस्था त्यस्तै छ ।
वास्तवमा यो उपन्यास बहुआयामिक उपन्यास हो । यसमा देखाइएका माया, प्रेम र सम्बन्धहरू अद्वितीय छ । नागराजा, लहडे हाँस र प्रेम भन्ने पात्र वास्तवमा नै आफ्ना प्रेममा पीडित पात्र हुन । उनीहरूको रिस, आवेग, घृणा, द्वेष भरिएको कथा छ । आफ्ना प्रेमिका अरूको अँगालोमा भएको सुन्दा, देख्दा र कल्पना गर्दा त्यो पीडा वास्तवमै थाम्न योग्य देखिन्न । जारलाई काट्न तयार हुन्छ, प्रेमले सिरुपाते खुकुरी पनि तयार पारेर राखेको पनि हुन्छ तर उसका कुराहरूले गर्दा सक्तैन । अर्कोतिर लहडे अरू जति युवा हसिनी भए पनि कालीको प्रेम र यसको पीडामा बाँच्न बाध्य छ । डोब्रेँसर्पलाई मार्न नागराजाको सोच पनि आउँछ तर नागरानीका लागि भनेर सक्तैनन् ।
यसमा सीमा, नागरानी, काली चलायमान चरित्र हुन् उपन्यासका । सीमाको तीन वर्ष सम्म बच्चा नहुनु, सानातिना झगडाबाट पन्सिनु, अमेरिका जानु, बदलिँदो समाजको स्वतन्त्र बदलिँदो पात्र हो, अमेरिका पुगेपछि सीमाको सामाजिक सीमा अन्त्यहीन देखिन्छ । एकातर्फ सीमाको प्रेमले प्रेमलाई अप्ठ्यारोमा पुऱ्याउँछ भने अर्कातर्फ सीमासँगको सम्बन्धको कारण अनुजको पारिवारिक जीवन ध्वस्त हुन्छ । नागरानी पनि एउटा गतिशित पात्र हुन् नागराजाको प्रेम बुझ्न नसक्नु, उसमा मात्र सन्तुष्ट हुन नसक्नु नागरानीको कथा हो । काली बढो स्वतन्त्र पात्र हो उसका कुनै सीमा छैन । प्राकृतिक रूपमा अन्य प्राणीहरूमा महिला (फिमेल जेन्डर) हरू जति डाइनामिक हुन्छन् । त्यसका आधारमा लहडे, नागराजा, प्रेम प्राकृतिक रूपको भूमिकामा पुरुष (मेल जेन्डर) हरूझैँ चलायमान वा अनुकूलन हुन नसक्ने साथै सामाजिक दायराहरूले अनुकूलन आधारहरू खुम्चिन सक्ने देखाइएको छ ।
यसमा प्रेमको परिवारमा बुबाको पुरुषत्व, महिलालाई पिट्नुपर्छ भन्ने मान्यता, आमाले त्यो पिटाइमा नै देखेको माया, पुरुष यस्तै हुन्छन् भनेर ठानेको स्वाभाविकता । प्रेमको पनि सीमासँग भएको केही झगडा समाजमा पुरुष प्राधान्यको मानसिकता हो । मायालाई आफ्ना काकाले गरेको दुर्व्यवहार पुरुष हिंसाको उपज हो । अनुजको बुबाको रवाफ पुर्ख्यौली पारिवारिक र नेपाली समाजको उच्च वर्गको चरित्र हो ।
सीमाको बुबा भारतमा रहँदा सीमाकी आमालाई तनाव र अभावका बाबजुत काम इच्छा हुनु, प्रेमकी आमाको कुमालेसँगको मौनता, शेरसिंहको सीमासँगको आशक्ति देखाउन खोज्नु, मलहोत्राको सीमासँग मस्कावट, यौनेच्छाका प्रत्यक्ष अपरत्यक्ष प्रस्तुति अनुभूतिहरू हुन् ।
राष्ट्रवादी भनाउँदाहरू साहित्यकार त हुन् तर साहित्यकारको धर्म बिर्सने, सत्तासँग नजिक हुने, स्वार्थपूर्ति गर्ने, दलाली गर्ने प्रवृत्ति, समाज भाँड्ने, मानिस उचाल्ने, कुरो मिलाएजस्तो पनि गर्ने, प्रेमलाई सीमाका विरुद्ध उचाल्ने, पारिवारिक लाक्षणाहरू लगाउने, परिवार भाँड्ने काममा उद्यत देखिन्छन् । यी हाम्रा समाजका क्षुद्र चरित्रहरू हुन् । यस्ता कुरो पत्याउनु, जोसमा रक्सी खाएर सीमासँग झगडा गर्नु, हाम्रो समाजको पुरुष मानसिकताको कमजोर पक्ष हो ।
लहडे र काका हाँस बढो सिम्बोलिक रूपमा प्रस्तुत गर्न खोजिएको छ । समाजमा नयाँ दृष्टिकोण राख्न खोज्ने वा सोच्ने सोच वा मानसिकतालाई समाजले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार, वास्तवमा यथार्थपूर्ण छ । समाज कसरी भ्रममा बाँचेको हुन्छ वा यथार्थबाट भागेको हुन्छ, भन्ने कुरा काका हाँसबाट बुझ्न सकिन्छ । वास्तवमा इतिहास सुखको, सफलताको, विजयको, प्राप्तिको मात्र हैन, इतिहास हत्या, शोषण, पराजय लागतको यथार्थको कङ्कालमा अडेको हुन्छ । समाजमा भ्रमको निर्माण कसरी गरिन्छ, भन्ने कुरा भेट्न सकिन्छ । भन्ने आदि कुराको वास्तविकता देखाउन खोजिएको छ । लहडे हाँसलाई सामाजिक रूपमा न्याय गर्न नसकेपछि धार्मिक रूपमा जोड्ने हाम्रो सामाजिक परम्परालाई गतिलो व्यङ्ग्य हान्न खोजिएको छ ।
हाँस, बकुल्ला, गड्यौला, रुप्पी, चिभे, माछा, सर्प लगायतका माध्यमबाट प्रकृतिमा अन्य प्राणीहरूको दृष्टिकोण राख्न खोजिएको छ । बढ्दो जनसङ्ख्या वृद्धिले गर्दा पर्यावरणलाई परेको प्रभाव र अन्य प्राणीहरूको अस्तित्वको पक्षमा जोडदार बोल्न खोजिएको छ । यो प्रयोग नवीन प्रयोग हो भन्न सकिन्छ । अन्य प्राणीले मानव समाजलाई हेर्ने दृष्टिकोण गज्जबको राखिएको छ । जसरी ती प्राणीहरूको जीवनशैली जति सरल छ त्यति सरल मानव समाजको नभएको कुरा प्रस्तुत छ । लुगा लगाउनेहरूले लाज छोप्न लुगा लगाए पनि नाङ्गै भएको कुरा, मानव जीवनको जटिल जीवनशैली र परिधेयलाई चित्रित गरिएको छ । जसरी अन्य प्राणी स्वतन्त्र छन् त्यसरी मानिसहरू नभएको कुरा प्रस्तुत छ ।
समाजका अप्ठ्याराहरूलाई वा समाजलाई गति दिन र ती चीज वा घटनालाई समाजसँग जोड्न विभिन्न कथाहरू बुनिन्छ, जसलाई किंवदन्तीहरू भनिन्छ । जसका न तथ्यगत आधारहरू नै हुन्छन्, न इतिहास नै । यसैका आधारमा समाजले गति लिने गर्दछ । त्यसैले त किंवदन्ती समाजका विश्वास र मान्यतामा बाँचेको हुन्छ वा काल्पनिकता निर्माण गरेको हुन्छ । यहाँ देखाइएका माकुराको कथा, हाँस युद्ध र यसका आधारमा जोडिएको हाँस जात्राको कथा, भीमसेनको कथा, भक्तिनीको कथा, संसार निर्माणका कथा र किंवदन्तीका गतिला उदाहरणहरू हुन् । हाम्रा पनि समाजमा कैयौँ किंवदन्तीहरू छन्, जसले समाजलाई गति वा सामाजिक मूल्यमान्यताको निर्माण र सामाजिक विश्वास र दायित्वको सृजनाको आधारहरू निर्माण गरेको हुन्छ ।
यस उपन्यासले नेपाली समाजको पारिवारिक हैकमी अवस्था अनुजको र प्रेमको परिवारमा बुबाको भूमिकामा भेट्न सकिन्छ । पुरुषप्रधान समाज, पुरुषको प्राधान्य, महिलाको न्यून सामाजिक स्तर देखाइएको छ । सीमाको परिवारमा बुबा भारतमा चौकीदारी गरेर परिवार पाल्नुपर्ने, अघिल्लो पुस्ताको वैदेशिक रोजगारको अवस्थालाई चित्रित गर्दछ । चार छोरीपछि छोरा जन्माउनुले पनि समाजमा छोराको महत्त्वलाई समाजले राखेको वा राख्ने गरेको देखाउँछ । मायाको परिवार नुवाकोटबाट भक्तपुर बसाइँसराइ गरी चिया पसल गरेर जीविका सञ्चालन गर्नुले गाउँबाट सहर रोजगारी र अवसरको खोजीमा जाने कुरालाई सामाजिक रूपमा प्रस्तुत गर्दछ । बदलिँदो समाजअनुरूप परिवारहरूमा आएको संरचनागत परिवर्तन, विवाह यसलाई हेर्ने दृष्टिकोण, वैदेशिक रोजगार, सम्बन्धहरूमा आएको नयाँपन आदिलाई प्रस्तुत गरेको छ ।
कतिपय अनौठो शब्दहरूको प्रयोग, विम्बहरूको प्रयोग, लेखनमा उत्कृष्टतानुभाव पाइन्छ । वास्तवमा यो उपन्यासले नेपाली बदलिँदो समाजको बहुआयामिक पक्षलाई समेटेको छ र पठन योग्य छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।