भारतीय नेपाली साहित्यकारका रूपमा परिचित शान्ति थापाको जन्म सन् १९६१ मा गुवाहाटीको दुर्गासरोवरमा भएको हो। एउटा समयमा (सन्१९७६- १९८४) उनी अविनाश श्रेष्ठ, अनुराग प्रधान र नवसापकोटाको संयुक्त प्रयासमा भएको असमको कोलाज आन्दोलनमा सक्रिय थिइन्। उनी गुवाहाटीको आर. जी. बरुवा कलेजकी हिन्दी विभागकी प्राध्यापक थिइन्। नेपाली भाषासँगसँगै हिन्दी भाषामा पनि उनले साहित्य सिर्जना गरेकी छन्। नेपाली भाषामा कथाकारका रूपमा शान्ति थापा केही पछि चिनिएकी हुन्। उनलाई पाठकले समीक्षक, निबन्धकार, गीतकार, अनुवादक र पत्रिका सम्पादकका रूपमा चिनिसकेपछि आवर्तन कथासङ्ग्रह लिएर आइन् उनी।

हुन त कतिपय पत्रिकामा उनका कथा झुकुलपुकुल प्रकाशित भएकै थिए। सन् २००७ मा जब आवर्तन छापियो, त्यसअघि उनका गीतको एउटा र अनुवादका दुईटा प्रकाशित कृति पाठकका हातमा थिए भने पछि उपन्याससमेत अन्य कृति पनि थपिए। ‘आवर्तन’ बाहेक उनका मौलिक अन्य कृति हुन् – माया (गीत सङ्ग्रह, सन् २००४ ), मोहनी डट. कम (उपन्यास, सन् २००९)  यो सहर ढल्दैछ (कथासङ्ग्रह, सन् २०१६ )। उनका नेपाली अनुवाद कृति अस्तराग (उपन्यास, सन् २००२ ) र  नामघरे (उपन्यास, सन् १९९७) हुन् भने  हिन्दीमा लेखिएका भारतके स्वाधीनता आन्दोलन में पानबारी रेलदुर्घटना काण्ड (सन् २००३) र लोहित घाटीकी कहानियाँ (सन् २००८) हुन्। नामघरे उपन्यासमा उनले अनुवादक्षेत्रको साहित्य अकादेमी पुरस्कार प्राप्त गरिन्। असमेली नेपाली कथा यात्रा (सन् २००८) शान्ति थापाले सम्पादन गरेको मूल्यवान ग्रन्थ हो। असमको हाम्रो ध्वनिको सम्पादकको रूपमा उनले यहाँका धेरै नवोदित प्रतिभालाई अघि बढ्ने मौका दिएर पनि साहित्य सिर्जनाको क्षेत्र समृद्ध पार्न सघाएकी हुन्। तर दुर्भाग्य के भने, साठी वर्षको उमेर नाघ्ने आफ्नो जन्मदिन परेकै दिनमा यही वर्ष (अर्थात् सन् २०२१) को ९ फेब्रुवरीमा उनको देहान्त भयो।

विभिन्न विधामा छरिएकी शान्ति थापाका परिचयका भिन्न भिन्न पाटा छन्। कथामा उनले बुनेका पात्र, वातावरण, बिम्ब, मिथहरू खोतलेर, निहालेर,अनुभव गरेर हेर्दा कथाकारका रूपमा जुन शान्ति थापालाई देख्छौँ, ती नारी सम्वेदनाले पुष्ट एक अशान्त रूप हुन्। उनी कहिले आफ्नै विचारभित्रकी आँधी हुन्, नारीजीवनका अनेकौँ अनाकाङ्क्षित र भयावह वास्तवलाई औँल्याइरहेको चोरी औँलो हुन् त  कहिले मौन चिच्याहट हुन्।

नारीवादी विचार विश्वका विभिन्न भाषाका साहित्यमा भित्रिन थालेपछि नेपाली साहित्यमा पनि नारीको अधिकार र समतालाई लिएर साहित्यिकहरू मुखर भएका हुन्। विशेषगरी शिखर साहित्यकार पारिजातले सशक्त नारी पात्रहरूको सिर्जना गरेदेखि नेपाली साहित्यमा नारीवादी चिन्तन फिँजियो भन्न सकिन्छ। हुन त त्यसभन्दा अघि वा त्यतिबेलादेखि नै पुरुष साहित्यकारले पनि नारीत्वको अहम् र प्रतिष्ठा रक्षाको विचार नपोखेका होइनन्। तीन घुम्ती उपन्यास यसको प्रकृष्ट उदाहरण हो। यता भारतको नेपाली साहित्यमा पनि लेखक र लेखिकाहरूले महिलाहरूको पक्षमा उभिएर समताको संसार सिर्जना गर्ने आकाङ्क्षा पोख्दै आएका छन् केही दशकदेखि।

उहिल्यैदेखिको एउटा जटिल समस्या हो लिंग वैषम्य। पुरुष नारीबिच मेरुविभाजन आजदेखिको होइन। शान्ति थापाका कथामा त्यो मेरूविभाजनको परिणाम भोग्ने नारीहरूको जीवन चित्रित भएको  छ। उनका कथाहरूमा मूलतः जुन नारीविश्व छ, त्यहाँ उज्यालोभन्दा  अँध्यारो धेर छ।

यो सहर ढल्दै छ कथासङ्ग्रहका कथातिर नगएर केवल आवर्तनका ती कथाहरूलाई यहाँ हेरिने छ जसमा नारीकेन्द्री कथानक छ, विशेष नारी पात्रहरू छन्। आवर्तनमा १०थान कथा छन् ९१ पृष्ठाभित्र समेटिएका। यी कथाहरू छोटा भएर पनि अर्थको ठुलो आयाम बोकेर आएका छन्। नारीका स्वप्निल स्मृति छन् कतिमा, धोकाका कठोर पल छन् कतिमा। नारीका चित्रै चित्र छन् यहाँ शाब्दिकरूप लिएर उभिएका। साँचो भन्नु पर्दा, नारीको एउटा सानो विश्व सिर्जित छ यहाँ, ठुलो विश्वको सानो संस्करणजस्तो नभए पनि।

पहिलो कथाको शीर्षक आवर्तन, जसको नामले पुस्तककै नामाकरण गरेकी छन्,  प्रतीकात्मक अर्थमा  प्रयोग भएको छ। बारम्बार घुम्ने वा रिङ्ने प्रक्रिया नै आवर्तन हो। यस कथामा त्यस्तै घुमाई वा रिङाईको कुरा छ। कथामा मियो भएर गाडिएको छ एउटा मिथ, राधा र कृष्णको प्रेमलीलाको मिथ।

डा. इन्दु प्रभा देवी (असम)

म पात्र, जसको नाम यहाँ कतै उल्लेख छैन, उसले आफैलाई राधामा आत्मसात गरेकी छे र कृष्णलाई प्रश्नै प्रश्नले वेधन गरेकी छे। कहिले उसले आफ्नो कुनै प्रेमी साथी नीलतिर यस्तै प्रश्नहरू हुत्याएकी छे। यसरी हेर्दा कथामा दुई किसिमका प्रश्न र कुराहरू छन्, राधाका र त्यो म पात्रका। प्रश्नहरू न्यायसंगत छन्, उचित छन्। एक अवहेलित र उपेक्षित नारीका अन्तर्मनबाट निस्किएका अग्निस्फूलिङ्गजस्ता प्रश्नहरू कथामा काव्यिक भाषामा  व्यक्त छन् र त्यसैले  तीखा भएर पनि मिठा छन्। मुक राधालाई मुखरा बनाएकी छन् कथाकारले। हुन त राधा मुखरा बनेकी हुन् कृष्णको छल देखेपछि, निष्ठुरता र कप्ट्याईँ देखेपछि। राधालाई थाहा छ पुरुष नामको सत्ता पनि नारीबिना असम्पूर्ण हो। नारी पुरुष परिपूरक हुन परस्परका। पुरुषको उत्तरण र गरिमा वर्धनमा सघाउने नारी हुन्। पुरुषलाई मानिसबाट ईश्वर बनाउने प्रयास युगौँदेखि गरिआएका छन् नारीले नै। तर पुरुषले यही कुरा कहिल्यै बुझ्ने प्रयास गरेन। नारीको अन्तर्मनमा छचल्किएको प्रेमको लालित्यमा होइन, ऊ त देहको लालित्यमा रमाइरह्यो। यति कुरा बुझिसकेपछि राधाको भएर कथाकारले कृष्णलाई व्यङ्ग्यमिश्रित शब्दहरूले झटारा हानेकी छन्। यी प्रसंग र प्रश्नहरूले दुइटा पक्ष उजागर गरेका छन्- नारीका समर्पित भावना र अनुभूतिहरूको र सम्पूर्णताका लोभी पुरुषहरूको छल र उदासीनताको।

जति मिठा छन् यी प्र्श्नमय वाक्यहरू त्यति गहीरो चोट र घाउको आभास दिन सक्षम पनि।–

‘‘तिम्रो अस्थिरता-कायरताअसुरक्षा-पुरूषार्थ-सबै सबै वहन गर्ने म! त्यसो भए- तिमी ईश्वर कसरी?’’

 ‘‘तिमीलाई त तरङ्ग-वलय सृजना गर्ने रहर मात्रै छ- तरङ्ग- वलयको सृजनापछिको जुन आवर्तन बारम्बार हुन्छ, त्यससित तिम्रो के वास्ता ! हैन ?’’

 ‘‘सम्पूर्णताका लोभी! तिमीले मेरो ढोगलाई मात्र किन स्वीकार गर्थ्यौ र !  अनि म पनि कति बौलाही- मैले ठान्दथ्येँ – तिमी वीतरागी हौ- निर्लिप्त भइबसेका छौ!’’

कथामा देखिन्छ, एउटा समारोहमा गएर घर फर्किआएकी नारी पात्रले राति दुई बजे बरण्डामा उभिएर माथिको नीलो आकाशमा सप्तर्षिमण्डलतिर हेरेकी छ र अनुभव गरेकी छ प्रेम प्रताडित उसलाई  अनेकौँ घटनाका साक्षी यिनीहरूले एउटा  प्रश्नझैँ  टुलुटुलु हेरिरहेका छन्। त्यसपछि उसलाई लाग्छ, राधा पनि यस्तै प्रश्नवाणले घोचिएकी  थिइन् होला। म पात्रले त्यसपछि सोच्न थाल्छे  राधा र कृष्णको प्रेममा भएका अनेक कुरा जसमा राधा कृष्णबाट हेपिएका र छलको सिकार भएका प्रसंग छन्। रासलीलाको प्रसंग छ।  कृष्णप्रतिको अनेक गुनासो पोखेर तर अन्त्यमा राधा फेरि ‘‘तिमीले डाकेका थियौ नि ! आएँ!’’  भन्दै कृष्णकै समीप जान लागेकी छन्। उनको भनाईमा, पहिलाका जुनीहरूमा कृष्णले उनलाई छोडेर  एक्लो इतिहास रचे। तर राधाबिनाको इतिहासमा कृष्ण अधुरै रहे र कृष्णलाई पूर्णता दिनकै निम्ति फेरि उनको आवश्यक छ। कथामा बारम्बार पुरुषकै वरिपरि रिङ्ने नारीको यसपटक तर इतिहासमा आफ्नो कुरा पनि गाभिन्छ भन्ने व्यञ्जना झल्किएको छ। किनकि नारीले पुरुषलाई छोडेर, पुरुषले नारीलाई छोडेर जीवन चल्दैन। एलिजाबेथ केडी स्टेन्टनजस्ता नारीवादीहरूले नारीलाई स्वाभाविक रूपमै ममतामयी हुन् भन्ने मान्दछन्। पुरुषको सबै छल कपटलाई, हिंसालाई नारीले आफ्नो प्रेमले जितेर सुन्दर समाज र जीवनको निर्माण गराउँछन् भन्ने कुरामै कथाकारको पनि अडान देखिन्छ।

कथामा म पात्र  शिक्षिता र तार्किक छे, कुराहरू सिपालु पाराले राख्ने नैपूण्य छ उसमा र सामाजिक कामसित पनि जडित छे। यद्यपि यस कथामा म नै एकमात्र पात्र हो, कुनै अरू प्रत्यक्ष चरित्र छैनन् र कथाको कथानक दह्रो छैन, घटनाको विकास र विस्तृति छैन, तर कथा ले केवल विचारहरू पोखेरै पनि नारीको मनलाई झर्लङ्ग पार्न सक्षम भएको छ। यो कथा नारीमनकेन्द्रिक कथा हो। यसमा दुई नारी छन्- प्रत्यक्ष आएकी म पात्र र परोक्ष आएकी राधा पात्र। प्राचीन मिथबाट टिपेकी राधाको प्रेमकथासित म पात्रको प्रेमकथाको यति सादृश्य छ कि उसले राधा भएर मनका समस्त उद्गार पोखेकी छे। यसरी कथामा नारीको विशेष एउटा पक्ष स्पष्ट भएको छ। नारीको आक्रोश र समर्पणको सुन्दर कथा हो यो।

शान्ति थापाको दोस्रो कथा मुनुमा नारी र पुरुषजीवनको अर्को पाटो उजागर भएको छ। राम्रो सीपले बुनेको छोटो कथा हो मुनु। यसमा आफ्नै भिनाजुले दश बर्षकी साली मुनुलाई गरेको यौन अत्याचारको कुरा छ। गर्भवती दिदी बिनुद्वारा त्यो अत्याचारको  प्रतिवाद भएको इंगित, आमा मंजुको मानसिक उहापोह र छटपटी र त्यो घटनालाई लुकाउने प्रयास, नाबालिका मुनुका आँखाहरूमा चलमलाई रहेको निर्बोध भावना सबैलाई यस कथामा नौलो सिपले बाँधेकी छन् कथाकारले। यसकिसिमको विवशतालाई कसरी युगौँदेखि नारीले लुकाउने प्रयास गर्दै आएका छन्, त्यसको प्रकाश छ मुनुकी आमाको सोचाइमा-‘‘ कतै मुनुले हजुर आमालाई कुरो फुकाउने त हैन!? मुनुले मुख खोली भने त बर्बाद हुन्छ। हैन, हैन, कुरालाई यहीँ दबाउनु पर्छ! गाड्नु पर्छ आफ्नै मुटुमा! सधैँझैँ। युगौँदेखि यसरी नै नारीले गाड्दै आएका छन्। हर आमाले गाड्छन्। हर नारीले आफ्नो मुटुमा कयौँ चिहान बनाएका हुन्छन् !’’  यो दबाउनु पर्ने , गाड्नु पर्ने अवस्था किन भयो, प्रश्न हुन सक्छ। जसले कान्छी छोरीलाई त्यस्तो आचरण गऱ्यो, त्यो मान्छे आफ्नै  ठुली छोरी जो अहिले गर्भवती छे त्यसको विवाहित पति हो। ज्वाइँ हो मंजुको। छोरीको भविष्य, घरको सम्मान बचाउने अभिभारा पनि त नारीकै हो। मंजुले त्यसरी नै सोचेकी छ। उसलाई लाग्छ,सधैँ पछ्यौरीमा बाँधेर राख्न सकिँदैन जब नाबालिका छोरीलाई पनि कतिपय कुरा सिकाउनु पर्ने रहेछ र सानामै प्रौढा बनाउनु पर्नेरहेछ।

कथामा पुरुषभित्र लुकेको पैशाचिक  प्रवृत्तिको रुपायन भएको छ ,जसले न कुनै साइनो मान्छ न उमेरको घेरो। त्यो प्रवृत्तिले कति नारीको जीवनसित खेलेको छ त्यसकै स्पष्ट आभास दिएको छ यो कथाले। यहाँ नारीले अत्याचार खप्नु परेको छविको साथसाथै नारी मनस्तत्त्वको पनि सुन्दर प्रस्तुति छ।

स्वीकारोक्ति कथामा प्रेमी नीलपवनले प्रेमिका सुमीसित राखेको शारीरिक सम्बन्धपछि उसको हजार बिन्तीलाई उपेक्षा गर्दै भनेको छ- ‘‘नाई अहिल्यै म यो सब गर्न सक्दिनँ… मलाई धेरै काम गर्नु छ… बच्चा गिराऊ, बस’’। अविवाहित सुमी यहाँ कठोर बनेकी छैन, विवश र लाचार बनेकी छे। धेरै पछि नीलले अर्को विहे गरेपश्चात जब पत्नीसुख र सन्तानसुखबाट वञ्चित भएको छ, उसले तब सुमीसित क्षमा मागेको छ। तर त्यतिबेलासम्ममा सुमीले प्रत्येक पल अनुपलमा कति पीडा र यातना भोगेकी छे, त्यो केवल उसले अनुभव गरेकी छे। यो कथामा  नारी पुरुषद्वारा शोषित छे तर फेरि त्यही पुरुष अनुतप्त भएर आउँदा आफ्नो घरको ढोका खोलिदिएकी छे। आफ्नो प्रेमिकबाट छुट्टिनु पर्ने पीडा, पेटमा भएको सन्तानलाई मार्नु पर्ने पीडा भोगेकी एउटी नारी स्वीकारोक्तिमा  विवश उभिएकी छे।

बिदाइ पनि नारीकेन्द्री कथा हो। नारीको अव्यक्त व्यथाकै कथा। सानैदेखि आमाबाउको मनमुटाउ  र सम्पन्न हुँदाहुँदै पनि खोक्रो रित्तो यथार्थभित्र हुर्किएका छोरीमा निर्मित हुनसक्ने स्वभावको छवि छ यहाँ। तथाकथित भद्रपुरुष बाउले आमामाथि गरेको अत्याचार, आमाको मौनता र विवशता आदिले  दिक्क पारेकी रोशनीको चारित्रिक विशेषता झल्किएको  छ यसमा। सौन्दर्य, बुद्धि र कलाकारिता टम्म भरिएकी शिक्षिका रोशनीलाई केन्द्र गरेरै यो कथानक अघि बढेको छ। कथामा म पात्र अर्थात अनुलाई उसले आफ्नो व्यथा सुनाएकी छे, आफू विद्रोही बनेको गाथा सुनाएकी छे। रोशनीभित्र एउटा आगो छ, विद्रोह छ, र नै ऊ कसैलाई वास्ता गर्दिन। ऊ समाजको दृष्टिमा छाडा छे, तर निस्फिक्र छे ऊ समाजदेखि। चरित्रको हनन भएको छ उसको, उसलाई त्यसको त्यति चिन्ता छैन, तर उसले मन पराएको इतिहासको लेक्चरर नीलप्रतिको प्रेमले नै  उसको बदनाम नहोस् भन्ने सोचेर ऊ आफ्नो कर्मथलो छोडेर हिँड्छे। नारीको प्रेम, पीडा व्यक्तिएको यस कथाले समाजमा पीडित नारी सँगसँगै शिक्षिता र विद्रोही नारी पात्रहरूको उपस्थिति पनि दर्ता गरेको छ। नारीहरूको परचर्चा, परनिन्दा गर्ने बानीलाई यहाँ बेस्सरी कटाक्ष गरिएको छ।

नारीमा जुन कमजोरी छ त्यो अर्थोक होइन, नारी हुनु नै हो भन्ने सोच भएकी सुमन पात्रलाई साथी स्निग्धाले बारम्बार साहस दिएर अघिबढाएकी छे आत्मजा शीर्षक कथामा। यहाँ पनि उही पुरुषको लालयित नजरको डरले कम्पित छे सुमन। ऊ लेखिका हो, स्तरीय कृति लेखेकी छे उसले। तर नयाँ हो,  मूल्याङ्कणको आवश्यक पर्छ कोही प्रतिष्ठित लेखकबाट, समीक्षकबाट। जब त्यस्तै एकजना शिखर साहित्यिकलाई ऊ आफ्नो कृति दिन जान्छे, तिनका कुराले ऊ झस्किन्छे। उसलाई थाहा छ , यी पुरुष अत्यन्त बुद्धिदीप्त दार्शनिक लेखक हुन्,रुखा छन् , सनकी छन्, तर विरल महारथी हुन् साहित्य जगतका। उनको पनि तर एउटा कमजोरी छ- नारी। भोग गर अनि सृजना गर- यसमा विश्वास राख्छन् उनी। यही कुराले सुमनलाई तर्साएको छ। उसको पहिलो भेटमा  पनि उनले उसका कथाबारे होइन व्यक्तित्वबारे मन्तव्य दिँदै भनेका छन्- ‘‘सुमन। आहा कति सुन्दर! सुन्दर मन औ व्यक्तित्व भएकी सुकोमल फूल ….सुमन  ! ’’

उसको आत्मविश्वास हराइसकेको छ र स्निग्धाले त्यसलाई पुनरुद्धार गर्न प्रयास गरेकी छे। अन्त्यमा तर ती लेखकले उसका कथाहरू उत्कृष्ट भनी स्वीकारेका छन् र खबर कागजमा ‘सुमनका कथाहरू पढेपछि’ नामको एउटा निबन्ध नै लेखिदिएका छन्।  यो स्वीकृति सुमनका लागि ठुलो प्राप्ति बनेको छ। यो कथाले एउटा कुरा स्पष्ट गरेको छ- साहित्यक्षेत्रमा अघिबढेकी शिक्षिता नारीमा पनि नारी हुनुको कमजोरीको अनुभव हुन्छ भने साधारण नारीहरूको के अवस्था होला। तर त्यस प्रश्नमा अङ्कुश लाउन स्निग्धा पात्र आएकी छे। ऊ साहसी छे र त्यो साहस अरूमा बाँढ्न सक्षम पनि छे। साहित्य क्षेत्रमा घट्ने घटनाकै आधारमा लेखिएको यो कथाले नारी मनस्तत्वका एकदुईटा पक्षमाथि उज्यालो छरेको छ।

अन्तिम संस्कारमा अत्यन्त गरिब परियालकी सुजाता आगो लागेर मरेपछि उसको लासले पनि कसरी लोग्ने वा छोराबाट अनादर पाएको छ वा प्रशासनको व्यवस्थाहरूको नाममा त्यो लासको कसरी अनादर भएको छ,त्यो छवि अत्यन्त मार्मिक रूपमा व्यक्त गरेकी छन्। यो कथामा त्यो नारीपात्र प्रति साथीजस्ता एक पुरुष पात्रको सहमर्मिता प्रकट भएको छ। त्यसैगरी एउटी गरिब बुढी मान्छेको क्षुधा र कति वर्षदेखिको मासु खाने लालसाको कथा हो स्वाद, जसमा गाउँको परिवेशमा दरिद्रताको कारुणिक चित्र छ। शान्ति थापाका अन्तिम दुई कथा अन्ततः अलमल पनि नारीकेन्द्री कथा हुन्। अन्ततःकी मुख्य पात्र सुमित्रा शिक्षिता र सर्वगुण सम्पन्न नारी हुन्। केहीको कमी छैन उनमा। तर उनले आफूले चाहेको व्यक्ति अम्लानसित पराजित भएपछि उनको नारीअहम् घाइते भएको छ। यस कथामा नारीको अहंकारको कुरा त छ नै पुरुषहरू नारीको वाग्मिता र व्यक्तित्वभन्दा पनि नारीको देहसुषमाप्रति नै लालायित हुन्छन् भन्ने कुरालाई पुष्टि गरिएको छ- ‘‘व्याख्यान दिन भनी लेक्चर स्ट्याण्डमा उभिँदा सुमित्राको व्याख्यान सुन्न कयौँ जोडी कानहरू अधैर्य हुनुको साटो कयौँ जोडी आँखाहरूले आफ्नो तिर्खा मेटाउने प्रयास गरिरहेका थिए। …. यस्तै हुन्छ- नारीको बुद्धिभन्दा उसको रूपमा पुरुष मक्ख पर्न गर्छ। खाँचो परेको बेला बाहेक नारीलाई शक्तिरूपा र बुद्धिरूपाका रूपमा उसले कल्पनै गर्न सक्दैन।’’  यस कथामा नारीको बुद्धिदीप्त रूप छ एकातिर, अर्कातिर उसको अहम् छ अनि पुरुषलाईआफ्नो हातमा राख्न नसकेको पराजयको पीडा। अलमल कथामा मातृममताको छवि छ। आफ्नो पतिले छुटानाम हुन खोजेपछि आफ्नोभन्दा पनि काखको नानीको भविष्य सोचेर पत्नीको मनमा उब्जेको चिन्ता यहाँ म पात्रसितको वार्तालापको आधारमा अभिव्यक्त भएको छ र यसरी नारीको सन्तानप्रतिको  दायित्वबोधलाई कथाकारले सुन्दर संरचनामा बाँधेकी छन्।

कथाहरू यसरी केलाएर हेर्दा देखिन्छ- आधुनिक समाज जीवनको  युगसापेक्ष यथार्थता बोकेका शान्ति थापाका कथामा मध्यवर्ग र निम्नवर्गका नारीहरू नै पात्रका रूपमा आएका छन्। ती पात्रहरूप्रति उनको संवेदना छ। बदलिँदो समाजको  चित्रणको साथसाथ  पारम्परिक समाजका कतिपय रूपलाई उनले शब्दका कुचीले भरेर देखाएकी छन्। सामाजिक चेतनासित सम्पृक्त व्यक्तिचेतनाको र नारीपुरुषको सम्बन्धको सूक्ष्म रूप दिने  पर्याप्त प्रयास छ यहाँ।

कथाकार आफैँ नारी हुन्। गाउँ वा सहरका नारीका मर्मवेदना, जीवनका भोगाइहरू देखेर सुनेर हुर्किएकी नारी। कथाकृतिको भूमिकामा साहित्यकार लीलबहादुर क्षत्रीले पनि लेख्नुभएको छ- लेखिका स्वयं नारी हुनाले उनका कथाहरूमा नारीहरूको पीडा, विसंगति, जीवनका बाध्यताहरूको चित्रण हुनु स्वाभाविकै हो। पुरुषसत्ताधीन समाजव्यवस्थामा किचिएका नारीहरू उनका वरिपरि छन्, सामुन्ने छन्। अरू त के, हुन सक्छ उनीभित्रै कति पीडा पनि थिए होलान्। कथाकार आफ्नो भनाई औपचारिकता मात्र मा भन्छिन्-कथाबारे न त मेरो कुनै पूर्वाग्रह छ न नै दुराग्रह। मेरालागि कथा त जिन्दगी नै हो- जिन्दगीको यात्रा तय गरिरहेका बेला – केही अनुभव बटुल्न सक्षम भएँ, अझै धेरै बटुल्न बाँकी नै छ मृत्युपर्यन्त। यसै यात्राक्रममा केही पात्रहरूसित झ्याम्मिन पुगेँ। अनि त्यसपछिदेखि उनीहरू मेरो यात्राक्रमका सहयात्री बनिरहे

हुन सक्छ शान्ति थापाले पारम्परिक समाजको मूल्यमान्यतालाई स्वीकार गरेरै सबै पीडाहरू पिएर बाँच्ने नारीहरूलाई नै आफ्नो यात्रापथमा भेटिन् र नै उनका कथाका नारीमा तिनै स्वाभाविक प्रवृत्तिहरू देखिए। कतिपयले उनका कथाका नारी पात्रलाई दुर्बल र सङ्घर्ष गर्ने शक्ति नभएका भन्न खोज्छन्। हो पनि, उनका कथाहरूका धेरजसो पात्र नारी हुन् र ती धेरजसो नै नारी हुनुकै समस्याहरूमा छन्, बौद्धिक भएर पनि हीनमन्यतामा ग्रस्त छन्, आफ्नै पुरातन अवगुण्ठनतल भावुक बनी बाँचिरहेका छन्। त्यो ओढनीलाई हटाएर हुत्याएर नौलो दिनलाई समात्न हात लम्काउने नारी भने यहाँ कम्ती छन्। यहाँ अर्ध आकाशरूपी नारीको नीलो रङ छ, वेदना र भावुकताले पोतेको। उनका नारी कोही विवश प्रेमिका हुन्, कोही बाध्यताले वा घरको अभिभाराको नामले किचिएका पत्नी वा आमा, कोही यौन अत्याचारमा पीडित नाबालिका हुन् त कोही गरिबीले थिचेका वृद्धा। कोही उच्च शिक्षिता छन्, बौद्धिक ज्ञानले परिपुष्ट छन्, कलाकारितामा सिद्धहस्त छन्, वाग्मिता छ, सौन्दर्य छ, लेखनसिप छ तर तथाकथित नारीको परिभाषाको काँचुलीभित्रै अँटाएका छन्।

स्वीकार्य कुरा, यी कथामा सशक्त विद्रोह नभए पनि पुरुषसत्तातल जड भइबसेको नारीजीवनमा परिवर्तनको आह्वान छ। सोझो सङ्घर्ष नदेखाई पनि कथाकारले नारीहरूका अनेकौँ पाटालाई उभ्याएर समाजव्यवस्थालाई परोक्ष आक्रमण त गरेकै छन्। साहित्यमा सबै कुराको सोझो प्रतिवाद हुनु पर्छ भन्ने पनि छैन। यहाँ कति कथामा नारीको विवशता र बाध्यताहरू देखाएर समाजसुधारकै आशा राखिएको छ। सधैँ उपेक्षित नारीहरूको मर्मवेदनाको प्रकाश गर्न र समताको समाज निर्माणको भावनालाई सहृदय पाठकसमक्ष पुऱ्याउन उनी समर्थ छन्। विषयमा नौलोपन कम्ती भए तापनि उनको भाषा र संरचनासिपले यी कथालाई रोचक बनाएका छन्।