
अत्यन्त व्यस्त दिनचर्यालाई चिर्दै भर्खरै भ्रष्टाचार विरोधी अभियन्ता शारदा भुसालको आत्मकथा “धरातल” पढेर सिध्याएँ । आत्मकथा स्वयंमा मनका गुम्फनहरू, मनमा दबेर बसेका विचार, भावनाहरूको कुँजी अर्थात् एकीकृत सम्पत्ति हो । आत्मकथा एवं आत्मसंस्मरणमा स्वभावले नै आत्मवञ्चना, आत्मप्रशंसा, आत्मालोचना र दिल दुखाएकाहरूप्रति गुनासोका स्वरहरू पनि गुन्जिन पुग्छन् ।
त्यसैले त होला, शारदा भुसालले पनि आफू घरको कनिष्ठ अर्थात् कान्छी सदस्य भएर पनि अन्य भाइबहिनीभन्दा कम माया, हेरचाह, स्नेह नपाएकोमा गुनासो गर्दछिन् । घरपरिवारबाटै हेलाहोचो, अपहेलित व्यवहारले उनको बालमस्तिष्कलाई निको नहुने गरी गहिरो घाउ दिलाएको हुन्छ । जो अद्यापि र वर्षाैँसम्म पुरिने छैन ।
उनलाई विद्रोही, रचनात्मक स्वभावको बन्न बाध्य तुल्याइन्छ । आफूमाथि आफ्नै श्रीमान्बाट गरिएका ज्यादति, पीडक व्यवहारबाट आजित हुँदै उनले आफूजस्तै पीडित, दुखी मन भएका महिलाहरूको मनोगाथा बटुल्दै, उनीहरूको मनोबेग र संवेदना बुझ्दै उनीहरूलाई सङ्गठित र बोल्ने बनाउँदै तराई अर्थात् महोत्तरी, सर्लाही, सुनसरी, वीरगन्ज, रौतहट, बारा, पर्सालगायतका ठाउँहरूमा पुरुषद्वारा महिलाहिँसा ज्यादा भएका र आफू स्वयं पनि त्यसको भोक्ता र स्रोता भएकाले पनि हुनसक्छ, महिलाहिंसाविरुद्ध खरो र दरो रूपमा प्रस्तुत हुन चाहन्छिन् ।
गाउँघरमा हुने दाइजो, घुँघट, तिलक प्रथा, बालविवाह, डायन, बोक्सीजस्ता सामाजिक कुरीति, बेथिती तथा अन्धविश्वासका जरा उखेल्न तम्सिन्छिन् । त्यस्तै गाविसमा हुने विवाहदर्ता, जन्मदर्ता, बसाइँसराइ, नागरिकता सिफारिस, लालपुर्जा, चारकिल्ला प्रमाणित जस्ता कामहरूमा सम्बन्धित निकायबाटै ठगिएका, घुस नखाई काम फत्ते नगर्ने/नगराउने प्रवृत्तिविरुद्ध पनि उनी बोल्न पुग्छिन् । ग्रामीणभेकमा विकासका नाममा स्थानीय जनप्रतिनिधि, समाजसेवी हौँ भन्नेहरूले गरेको बजेट चुहावट, भ्रष्टाचार, महिलाहिंसाका हरेक घटनामा पीडकबाट मोटो रकम खाएर/ खुवाएर पीडकलाई कारबाही हुनबाट बचाइएका र पीडितले वास्तविक न्याय नपाएको घटना प्रवृत्तिले उनको विद्रोही र सचेत मस्तिष्कलाई “त्वं शरणं गच्छामि, मौनं शरणं गच्छामि” बन्न दिँदैन । उपर्युक्त घटना प्रवृत्तिले उनी भ्रष्टाचारको जालो र जरा उखेल्ने कर्ममा दिलोज्यानले खट्न पुग्छिन् । यसरी नै उनी सम्बन्धित सरोकारवाला निकायको दैलामा पुगी सूचना सङ्कलन कार्यमा दत्तचित्त हुनसमेत पुग्दछिन् ।
शारदाकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध सङ्घर्ष समिति गठन हुन्छ, सङ्घर्ष समितिको तर्फबाट अनशनमा बसी राज्यलाई र सम्बन्धित व्यक्ति वा निकायलाई झकझक्याउने अनशनस्थलमै भ्रष्टाचारमा लिप्त व्यक्तिहरू, गाउँघरका जाली, फटाहा, स्थानीय सामन्त, भूमाफिया, सुदखोर र उनीहरूको अरौटेभरौटेहरूले उनको ज्यानै लिने धम्की, व्यक्तिगत मानमर्दन/हुर्मत लिने र अनशन असफल पार्ने कोसिस गर्छन्, तर पनि उनी र उनको सहयोगी टोलीले धम्की र अपमानको कुनै पर्वाह नगरी आफ्नो उद्देश्य र अडानबाट किञ्चित पछि हट्न चाहँदैन । शारदाको त्यो साहस र दृढतालाई नैतिक समर्थन र सलाम गर्न मन लाग्छ । भ्रष्टाचारविरुद्ध कदम चाल्दा स्थानीय प्रशासनले जुन हदसम्मको सहयोग गर्नुपर्थ्यो त्यो नगरेको देख्दा र अनशनकारीहरूको कामकारबाहीप्रति अनावश्यक रूपमा प्रश्न उठाउने, संशयपूर्ण दृष्टिले हेर्ने र आन्दोलनलाई कम आँक्ने प्रयास गरेकोमा सञ्चारकर्मीहरूको रबैयाप्रति उनको चित्त दुखाइ र गुनासो रहेको छ । त्यस्तै अनशन तुहाउन र असफल पार्न उनका श्रीमान् नवलकिशोर झासमेतलाई प्रशासनले प्रयोग गरेको आशङ्कामा पनि उनी आक्रोशित र थप आन्दोलित हुन पुग्छिन् । अनशन स्थलबाटै श्रीमान् कि आन्दोलन ? को प्रश्नमा श्रीमान्सँग सम्बन्धविच्छेद गर्न सक्ने तर आन्दोलन नरोकिने उद्घोष गर्न पुगेकी हुन्छिन् ।
भ्रष्टाचार विरोधी अभियानमा लागिरहँदा स्थानीय प्रशासनको असहयोगी व्यवहारबाट रुष्ट शारदा सीडीओ प्रदीपराज कँडेलको विषयवस्तुलाई बुझ्न सक्ने गाम्भीर्यभाव, सकारात्मक मिजासबाट भने सन्तुष्ट हुन पुग्छिन् । अभियानको नेतृत्व गर्दा आफ्ना पतिनजिकका आफन्तजन आफूलाई समाजका अगुवा र मुक्ति हौ भन्नेहरूले राजनीतिक पार्टीका प्रतिनिधिहरू, प्रशासनसमेतले असहयोगी व्यवहार देखाएकोमा दुःखी र खिन्न भएकी शारदालाई पढाइको सिलसिलामा अमेरिका पुगेका नारायण अधिकारीमार्फत् अमेरिकी निवासी विलियर नाम गरेका व्यक्तिलाई नेपाल भित्र्याइ भेटवार्ता गराइन्छ । जसअन्तर्गत अभियानका सहयात्री सुमन पराजुली, प्रदीप बराललगायतले शारदाको नाममा सन् ०१४ को HONESTY ओस्कार्स अवार्डमा छनोटका लागि सिफारिस गर्छन् । उनीहरूकै सहयोगले सन् ०१५ मा उक्त अवार्डका लागि शारदाको नाम छनोट हुन पुग्दछ । अन्ततः बेस्ट एक्टिभिटी इन लिडिङ रोल विधामा नाइजेरियाका अलि इदृसा, लक्जम्बर्गका एन्टोनी डेल्टाउटर, केन्याका बोनी फेस म्वागी र अफगानिस्तानका किम्बली मोटाली गरी ५ राष्ट्रका प्रतिस्पर्धीहरूलाई अनलाइन भाेटिङ सिस्टमबाट पछि पार्दै उनी विजयी भएरै छाड्छिन् ।
खटकिएको प्रश्नहरू –
शारदाले मनका गुम्फन साटिरहँदा बिमारी भई अस्पतालमा उपचाररत उनका बाजेलाई उनले जुस खुवाएलगत्तै मृत्यु हुन पुगेको छ । जुस खुवाएर नै बाजेको मृत्यु हुन पुगेको भन्ने उनका बुबा र दाजुले उनीप्रति लगाएको आरोपलाई विश्वास गर्न सकिँदैन । त्यस्तै फरक स्वभाव देखाएको र चित्त नबुझेको कुरामा शिक्षित, दीक्षित र संस्कारी उनका बुबा र दाजुभाइले उनलाई लात्तीले हिर्काएको उनको आरोप र बोलीलाई पनि विश्वास गर्न सकिँदैन । त्यस्तै उनको घरपरिवारसमेतले भरोसा गरेका र सामाजिक हैसियत बनाएका व्यक्ति मोदनाथ प्रश्रितको व्यवहारप्रति उनको चित्त बुझाइ नहुन सक्छ, तर मोदनाथप्रति रुष्ट बन्दै खनिएकी र गाली बेइज्जत गर्नमा समेत समय खर्चेकी शारदाको छुचो मिजासलाई देख्दा कतै मोदनाथप्रति लगाइएको आरोपमा पनि झूट र मनोविकार त पोखिएको छैन भन्ने प्रश्न पनि उब्जिरहन्छ ।
यद्यपि उनले आफ्नै शिक्षित, दीक्षित र संस्कारी घरपरिवारका सदस्यहरू, पतिसमेतलाई खुइल्याउन, निन्दा, भत्सर्ना र उछितो काढ्न नछाडेकी हुनाले मोदनाथले १३ वर्षकै उमेरमा अनिच्छुक यौनसम्पर्क गरी बलात्कार गरेको आरोपमा पनि शङ्का र विश्वास दुवै गर्न सकिने प्रशस्त आधारहरू पनि रहेका छन् ।
अचम्म लाग्छ, शारदाले आफू निर्दोष छु भन्ने पैरवी गरिरहँदा जन्मदिने बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूसमेतले उनको निर्दोषीपनमा किन न्याय र भरोसा दिन सकेनन् त ? उनले भनेझैँ उनी किन आफन्त, बन्धुबान्धव र इष्टमित्रहरूको नजरमा आँखाको कसिङ्गर बन्न पुगिहोलिन् त ? किन आफन्तको ढाडस, अपनत्व र माया पाउन सकिनन् ? पुस्तक पढिरहँदा आम पाठक र स्रोताको मनमा यो प्रश्न उब्जिरहन्छ ।
त्यस्तै आत्मसंस्मरणमा शारदाले आफूले गरेका प्रशंसनीय र अनुकरणीय कार्यको अतिरिक्त कमीकमजोरीहरू पनि औँल्याइदिएको, आत्मभर्त्सना गरेको भए पुस्तकको ओज र गरीमा झनै बढ्ने थियो ।
अन्त्यमा, पुस्तक पठनीय र सङ्ग्रहनीय त छ नै, शारदा भुसालका बारेमा जान्न, बुझ्न चाहानेका लागि “धरातल” आत्मकथा झनै रोचक र घोचक सन्दर्भ सामग्री बन्न पुग्नेछ । सामाजिक बेथिति, कुरीति अन्धविश्वास र भ्रष्टाचारको जालो तोड्नमा लागिपरेकी, जुधिरहेकी शारदालाई नैतिक, आर्थिक, भौतिक र वैचारिक साथ र सहयोग गर्ने रामदुलारी देवी, सुमन्त झालगायतका अभियन्ताहरूको आँट, हिम्मत र ढाडसपनलाई पनि ऐक्यबद्धता र सलाम टक्र्याउन चाहेँ ।
“धरातल” आत्मकथा पढ्न बसेपछि छोड्न मन लाग्दैन । आफ्ना भोगाइ र मनका गुम्फनमार्फत पोखिएकी शारदाले पाठकलाई आफूतिर तानिरहन सफल भएकी छिन् । यो नै उनको लेखकीय खुबी रहन गएको छ । हामी चाहन्छौँ उनको सचेत र विद्रोही मस्तिष्कको गर्भबाट यस्तै/उस्तै सन्देशमूलक पुस्तक जन्मन र बजारमा आउन सकोस् । आदरणीय शारदा भुसालझाजीलाई अग्रिम बधाई तथा शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 









