विधिको बहुतै विचित्र विडम्बना ! एउटा कालखण्डमा भतिज मोतीलाल भुसालले बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापनाका लागि लड्दै गर्दा सहादत प्राप्त गरे भने अर्को कालखण्डमा, सत्ता पक्षद्वारा ती भतिजको दुर्दान्त हत्या भएको बयालीस वर्षपछि, तिनताका ‘जनयुद्ध’ को नाम दिएर करिब एक दशकदेखि सशस्त्र विद्रोहमा संलग्न रहिआएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामधारी दलको एक अराजक जत्थाले काका शोभाकर भुसालको वीभत्स हत्या गर्यो ।
यसरी पश्चिम नेपालको पहाडी जिल्ला अर्घाखाँचीको वाङ्ला गाउँमा बसोबास गर्दै आएको भुसाल परिवारका दुईजनाले चार दशकको अन्तरालमा देशवासीको भलाइ र प्रजातान्त्रिक आदर्शका लागि आ–आफ्नो प्राणाहुति गरे ।
राजा महेन्द्रले विपी कोइराला नेतृत्वको दुई तिहाई बहुमतप्राप्त नेपाली कांग्रेसको सरकारसहित संसदीय व्यवस्था नै खारेज गर्दै विसं २०१७ पुस १ गते निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए र धेरैजसो बहुदलीय नेता जेल परेको अवस्थामा भारत–निर्वासनमा रहेका सुवर्ण शमशेर राणा नेतृत्वको नेकां पार्टीले अख्तियार गरेको ‘सशस्त्र क्रान्ति गर्ने’ कार्यक्रमअन्तर्गत ‘हान र भाग’ नीतिलाई शिरोपर गर्दै सक्रिय भएका मोती भुसालसमेतका उत्साही युवाहरूले अर्घाखाँची जिल्लामा केही सरकारी भवन ध्वस्त पार्नुका साथै स्थानीय प्रहरी चौकीमा आक्रमण गरी दुई प्रहरीको हत्यासमेत गरेका थिए ।
यही विद्रोह दमन गर्ने सिलसिलामा तत्कालीन बडाहाकिम चन्द्रमान थकालीको आदेश र निर्देशनमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । पछि आफ्नै कुनै विश्वासपात्रले सुराकीको काम गरेकोले विसं २०१९ जेठमा गुल्मी (त्यो समयमा हाल अलग रहेका गुल्मी र अर्घाखाँची एउटै जिल्ला थिए) को धुर्कोट भन्ने ठाउँमा खाना खाइरहेको स्थानमा घेराबन्दी गरी प्रहरीले नृशंस दमन गरेको थियो जसमा शमशेरबहादुर खत्रीलाई पहिले खुकुरीले घाइते बनाई पछि तीन गोली हानेर हत्या गरिएको थियो । पछि उनको टाउको छिनाई दुई दिनको बाटो प्रदर्शन गर्दै र ‘यो राजद्रोही र अराष्ट्रिय तत्त्व शमशेरबहादुरको टाउको हो’ भन्दै सदरमुकाम तम्घास लगिएको थियो !
प्रहरीले गोली लागी घाइते भएका मोती भुसाललाई भवनभित्रबाट लतार्दै बाहिर ल्याएर छेउमै रहेको मौलामा बाँधी पहिले कान, त्यसपछि हात र अन्त्यमा खुट्टा काटेर निर्दयतापूर्वक हत्या गरेको थियो । उनीबाहेक जमानसिंह मगर गोली लागेर पहिले नै सहिद भइसकेका थिए । गोली लागेर घाइते भएका अर्का प्रजातन्त्रवादी योद्धा टीका घिमिरेलाई धुर्कोटकै खर्वाङ भन्ने ठाउँको बुकाखोला भनिने खोल्सामा फालेर ढुङ्गाले थिचेर तड्पाई–तड्पाई मारेका थिए ।
उनीहरू अहिले एकादेशको कथाजस्ता भइसकेका छन् तापनि भन्न कर लाग्छ– नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा सम्भवतः त्यति निर्ममता र अमानवीयता अरू कुनै नेता–कार्यकर्ताले भोग्नु परेन जति वीभत्सता र क्रूरता शमशेरबहादुर र उनका साथीहरूले ब्यहोर्नु प¥यो ।
जिज्ञासाहरू उठ्छन्, यो प्रसङ्ग र शोभाकर भुसालबीच के सम्बन्ध ? वास्तवमा समयको अन्तराल जे जस्तो भए पनि उनीहरूलाई बाँध्ने कडी थियो, प्रजातन्त्रको विरासत ।
शोभाकर भुसाल र अर्घाखाँची जिल्ला । अर्को शब्दमा, अर्घाखाँची जिल्ला र शोभाकर भुसाल । यी दुवै नाम एकअर्काका लागि परिपूरक प्रतीत हुन्छन्, कम्तीमा ती सबै जिल्लावासीका लागि जसले विसं १९९० असोजमा जन्मेर आफ्नो जीवनको सत्तरीऔं वर्षमा हिँडिरहेको बेला विसं २०६० असोजमा अनाहकमै ज्यान गुमाउन पुगेका शोभाकरले जिल्ला र जिल्लावासीका लागि के कति कर्म कसरी गरेका थिए भन्ने जानकारी वा हेक्का राखेका छन् ।
अर्घाखाँचीमा हालको सन्धिखर्क नपा–४ वाङ्ला जिखौंदीमा पिता टामलाल भुसाल र आमा पदमकुमारीको परिवारमा जन्मेका शोभाकरले औपचारिक स्कुले शिक्षा कहिल्यै पाएनन् तापनि घरमै र दलाने शिक्षाका रूपमा अक्षर चिन्ने अनि संस्कृत पढ्न सक्ने भएका थिए । विसं २००७ सालदेखि नै उनी सामाजिक कार्यमा सक्रिय भएर नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । अग्लो ज्यान र आकर्षक व्यक्तित्व पाएका उनी आफ्नो तरुणाईका दिनहरूमा हक्की, निडर र फरासिलो स्वभावले गर्दा जल्दा–बल्दा थिए, र सबैका प्रिय पनि थिए ।
राणाशासनको अन्त्यपछि स्थानीय यातायात समस्या समाधानका लागि गठित पत्थरकोट–तम्घास मोटरबाटो निर्माण समितिमा शोभाकर सक्रिय सदस्य बनाइएका थिए । उनकै विशेष सक्रियतामा विसं २०१४ मा अर्घाखाँचीको ठाडासम्म ट्रयाक्टरसमेत आइसकेको थियो । विपी कोइराला नेतृत्वको सरकारमा काशीनाथ गौतम मन्त्री रहेको बेला शोभाकर जिल्ला विकास अधिकारीको कार्यालय गुल्मीमा सचिव/एकाउन्टेन्ट भएर सरकारी कारिन्दाका रूपमा कार्यरत थिए । त्यही समयमा तम्घासमा हाइस्कुल र वाङ्लामा जीवनोद्धार मिडिल स्कुल बने ।
कांग्रेसी कार्यकर्ता भएकैले उनले २०१८ देखि २०२० सम्म तीन वर्ष पहिले पाल्पा र पछि काठमान्डुका जेलहरूमा गरी तीन वर्ष राजबन्दीका रूपमा बिताए । उनले विसं २०२१ मा पञ्चायत प्रवेश गरे र २०२३– २०२७ सम्म दुईपटक वाङ्ला गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गरे भने २०२८–२०३० सम्म जिल्ला युवक संगठनको सभापति बनेर सक्रिय रहे । पञ्चायतमा रहे पनि कांग्रेसी भइरहेको आरोप लागिरहने गरेको हुँदा असह्य भई उनी २०३० मा भारत निर्वासित भए र चार वर्ष नागाल्याण्डमा उखु खेती र गाईपालन गर्दै बसे । अनि नेपाल फर्किएर फेरि राजनीतिमा सक्रिय भए ।
उनी विसं २०३७ को जनमत सङ्ग्रहमा खुलेर बहुदलको पक्षमा लागे । नेकां को ३८से समूहमा लागेर फेरि पञ्चायत प्रवेश भई २०३८ मा भएको बालिग मताधिकार आधारित निर्वाचनमा जिल्ला पञ्चायत सभापति (२०३८–२०४६ सम्म, दुईपटक) निर्वाचित भई काम गरिरहेका थिए । पहिलो कार्यकालकै दौरान तम्घासको रेसुङ्गा क्याम्पसको संस्थापक प्राचार्य रहेका वाङ्लानिवासी ज्ञानहरि आचार्यको सक्रिय पहल र शोभाकरको पूर्ण तत्परता एवम् सहयोग र समर्थनमा अर्घाखाँचीमा पाणिनी क्याम्पसको स्थापना र सञ्चालन भयो ।
पञ्चायती व्यवस्थाको अवसान र बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि स्थिति फेरियो । शोभाकरले पञ्चायतमा रहेर काम गरे पनि उनी सधैँ कांग्रेसी थिए, प्रजातन्त्रवादी थिए । उनले कहिल्यै कसैलाई राजनीतिक वा अन्य किसिमले अहित गरेका थिएनन् । बदलिएको परिवेशमा उनी फेरि आफ्नो मूल पार्टी नेपाली कांग्रेस प्रवेश गरे तर त्यहाँ उनले अपनत्व र आदरभाव केही पनि पाएनन्, फगत उदासीनता र उपेक्षा मात्र पाए । विवश भएर उनी सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्ष भएर केही समय सक्रिय रहे तर त्यसले चित्त बुझाउन सकेनन् र क्रमशः राजनीतिबाटै टाढिने बाटो अख्तियार गरे । त्यसपछि जीवनको अन्त्य बेलासम्म सामाजिक–धार्मिक कार्यहरूमा आफूलाई व्यस्त राख्न थालेका थिए ।
शोभाकर र जिल्लाको मथुराधाम गोपेश्वर पीठबीच विशेष सम्बन्ध छ । जीवनको पछिल्लो समयमा उनी यसकै विकासमा दत्तचित्त थिए । उनको जिपंस कार्यकालमा योगी नरहरिनाथको अगुवाइमा २०४२–०४३ सालमा मथुरामा कोटीहोम महायज्ञ तथा वृहत् विद्धत सभा आयोजना भएको थियो र त्यही भेलाबाट स्थानीय शिव मन्दिरलाई गोपेश्वर महादेव (र कालान्तर गोपेश्वर पीठ) नामाकरण गरिएको थियो । विशेषतः उनकै सतत परिश्रम र लगनशीलताले गर्दा मथुराधाममा राधाकृष्ण मन्दिर, अखण्ड होमकुण्ड, गणेश मन्दिर, हनुमान मन्दिर, ज्ञानकुञ्जका साथै वृद्धाश्रम, अस्पताल र गौशाला आदि निर्माण भएका छन् । समाज विकासका लागि आवश्यक निर्माण कार्यमा उनलार्ई अथक रुचि थियो ।
र, अकस्मात् विसं २०६० असाज १ गतेको त्यो कालो दिन आयो । उनी साँझबेला साथीहरूसित घरमा बसेर राजनीतिक विचार–विमर्श गरिरहेका थिए । चार–पाँचजना युवकको टोली आइपुग्यो, उनीबारे सोध्यो र ‘शोभाकर बुबा, हजुर एकछिन बाहिर आउनुस्, तपाईंसँग सानो कुरा गर्नु छ’ भनेर बाहिर लिएर गए । घरअगाडि बाटोमा पुगेपछि ‘तपाईंलाई हाम्रो कमान्डरले बोलाउनुभएको छ, अलि परसम्म जाऊँ’ भने । उनलाई जीवनोद्धार मावि र शिव मन्दिरको प्राङ्गणअगाडि पुर्याएपछि अचानक उनीमाथि आक्रमण सुरु भयो, खुकुरी र फलामे रड आदिले निर्घात प्रहार भयो । रगतको आहाल बग्न थाल्यो । उनी चिच्याउन पनि सकेनन् । अत्यधिक रगत बगिसकेको र बाँच्ने सम्भावना लगभग समाप्त भइसकेको अवस्थामा उनलाई त्यही छाडेर हत्यारो जत्था अन्यत्र लाग्यो । आफन्त र गाउँलेले अर्को दिन बिहान उनको क्षत–विक्षत शव फेला पारे ।
कसैले सोचेको थिएन, कसैलाई विश्वास पनि लागेको थिएन– शोभाकरजस्ता व्यक्तित्वको जीवनको अन्त्य यस्तो दुःखद ढङ्गले होला ! यो घटनाको प्रकृति त्यस्तै थियो जसरी वीरगञ्ज महानगरका अत्यन्त लोकप्रिय व्यक्तित्व गोपाल गिरीलाई पनि घरमा आएर बोलाएर बाहिर अलि टाढा लगेर निर्मम तरिकाले हत्या गरिएको थियो !
त्यस दर्दनाक घटनाको सत्र वर्षपछि शोभाकरलाई सम्झेर अनि उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने प्रयासस्वरूप स्मृति–ग्रन्थ प्रकाशनमा आएको छ ।
राजनीति र अन्य समाजपयोगी कर्महरूले गर्दा जनआदर र उच्च सम्मान हासिल गरेका शोभाकर भुसाल जस्ता व्यक्तित्वको स्मृति–ग्रन्थ तयार पार्दा उनको समकालीन इतिहास पनि पुस्तकमा समेटिनु आवश्यक हुन्थ्यो । यो सत्य–तथ्य यस पुस्तकमा कमै मात्र भेटिन्छ । जस्तो, पहिलो त नेकांको सशस्त्र क्रान्तिको रणनीतिअन्तर्गत ‘हान र भाग’ को नीति अख्तियार गर्दा सहादत हासिल गरेका शमशेरबहादुर र उनका साथीहरूको प्रसङ्ग कताकति मात्र आएको छ, त्यो पनि अत्यन्त हल्का किसिमले मात्र– इतिहासको त्यो वीभत्स घटनाक्रम कस्तो थियो र त्यसले तत्कालीन परिवेश एवम् सत्ता–इतर खेमामा के कस्तो प्रभाव पारेको थियो भन्नेमा पुस्तक मौन छ ।
व्यक्ति–केन्द्रित पुस्तक भएकाले शोभाकर–केन्द्रित विषय स्वभावतः धेरै हुने नै भए तापनि उनका विरोधीहरू र समकालीन अन्य राजनीतिकर्मीबारे निकै कम मात्र झलक यो स्मृति–ग्रन्थले दिएको छ ।
अर्को पनि प्रसङ्ग छ जसमा ग्रन्थका लेखकहरूले तत्कालीन इतिहासप्रति अन्याय गरेका छन् । संसदीय व्यवस्था विघटन गरी पञ्चायती व्यवस्था लादेपछि राजा महेन्द्रको सरकारले काशीनाथ गौतम, शोभाकर भुसालसमेत विभिन्न कांग्रेसी नेताहरूलाई पक्राउ गरेर तम्घास र तानसेन जेल हुँदै काठमान्डु कारागारमा थुनेको समयमा गुल्मीकी एकजना महिला नेता ईश्वरादेवीलाई पनि कांग्रेस कार्यकर्ता भएको आरोपमा तानसेन कारागारमा छ महिना थुनेको थियो र करिब डेढ वर्ष गुल्मीमै नजरबन्दमा समेत राखेको थियो । (मञ्जु थापाले लेख्नुभएको ‘जीवन–संघर्षका पलहरू’ शीर्षक ईश्वरादेवीको जीवनी–पुस्तक (विसं २०६८ मा प्रकाशित) मा यससम्बन्धमा विस्तृत रूपमा उल्लेख छ ।) शोभाकर भुसालको स्मृति–ग्रन्थमा ईश्वरादेवीको कतै नाम नै पनि उल्लेख छैन !
स्मृति–ग्रन्थले गरेको अर्को पनि एउटा अन्याय प्रस्ट झल्किन्छ– विसं २०१५ को पहिलो संसदीय आमनिर्वाचनमा गुल्मी–अर्घाखाँची क्षेत्रमा कांग्रेसी उम्मेदवार काशीनाथ गौतमकी श्रीमती शारदा गौतम र अर्का उम्मेदवार नीलाम्बर पन्थीकी श्रीमती तारा पन्थी पनि आफ्ना पतिहरूसँगै पार्टीको काममा र निर्वाचनको प्रचार–प्रसारमा सक्रिय भएर लागेका थिए । यसरी तत्कालीन समयमा एक वा अर्को किसिमले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका ईश्वरादेवी, शारदा र तारासमेत कुनै पनि महिला राजनीतिकर्मीबारे स्मृति–ग्रन्थ पूर्ण मौन छ । महिला राजनीतिकर्मीहरूप्रति यस्तो विभेद र उदासीनता किन ?
स्मृति–ग्रन्थ तीन भागमा विभाजित छ जसको पहिलो भागमा इतिहास र जीवनी, दोस्रो भागमा बग्रेल्ती संस्मरण र तेस्रो भागमा तस्बिर एलबम समेटिएको छ । ढुण्डीराज शास्त्री, युवराज भुसाल र छोरा बुद्धिबहादुर भुसाल तीनजनाले ग्रन्थका नायक शोभाकरको जीवनी उतार्ने प्रयास गरेका छन् । ग्रन्थको मूलभाग भन्न सकिने वृहत् संस्मरण खण्डमा मोदनाथ प्रश्रित, प्राडा होमनाथ भट्टराई, युवराज पाण्डे, शान्ता मानवी, अच्युतराज रेग्मी, डा. रामबहादुर बिसी, पुष्पा भुसाल, चन्द्रकान्त आचार्य, भट्टराई बन्धु र शोभाकरका नातिनातिनासमेत विभिन्न ५८ जना नातेदार, परिचित, शुभेच्छुक, सहकर्मी र सहयोगी आदिका स्मृति वा संस्मरण छन् । तस्बिर एल्बमभन्दा पहिले भुसालको वंश–वृक्ष र केही चिठी–पत्र तथा अन्तिम पृष्ठमा असमयमा दिवंगत हुन पुगेका शोभाकरका कान्छा छोरा सुशील भुसालबारे श्रद्धाञ्जली टिप्पणी छ ।
अनेक ठाउँमा सम्पादकीय असावधानी देखिन्छन्, भाषिक शुद्धा–शुद्धीको समस्याले ठेस लागिरहन्छ, मुखिया पोमनारायण आचार्यलाई लगभग सबै ठाउँमा ‘मु. पोमनारायण आचार्य’ लेखिएको छ जबकि ‘डिठ्ठा’ र ‘जिम्माल’ जस्ता पदहरू पूर्णरूपमा लेखिएका छन्, अर्थात्, ‘मु.’ मात्र नलेखेर मुखिया नै लेखेको भए अझै प्रस्ट हुने थियो कि ? भन्ने भाव उत्पन्न हुन्छ । धेरैजसो संस्मरण लेखहरू शोभाकरका अन्य वा बहुआयामिक पक्षमा कम र उनको जीवनकथामै बढी एकोहोरिएको प्रतीत हुने आदि कतिपय खट्किने पक्षहरू जीवन्त छन् । तापनि, निर्धक्क भन्नुपर्ने हुन्छ– समग्रमा झन्डै चार सय पृष्ठ लामो यो स्मृति–ग्रन्थले शोभाकर भुसाललाई विविध दृष्टिकोणबाट चिनाउने काम सफलतापूर्वक गरेको छ । सम्पादक, प्रकाशक र सम्बद्ध सबैको प्रयासले वास्तवमै सार्थकता पाएको छ ।
एउटा सानो सुझाव कागज र छपाइसम्बन्धमा पनि । स्मृति–ग्रन्थ दूधिलो सेतो कागजमा छापिएको छ तर यथार्थमा पठन–सहजता र नेत्र–स्वास्थ्यका लागि पनि यस्तो किसिमको कागजभन्दा गैर–सेतो कागज अर्थात् ‘अफ–ह्वाइट पेपर’ बढी श्रेयस्कर एवम् सार्थक हुन्छ, राम्रो पनि देखिन्छ ।
उपन्यास, यात्रा–संस्मरण र कथा लेखनको क्षेत्रमा आफूलाई सुस्थापित गरिसकेका भलाद्मी साहित्यकार चन्द्रकान्त आचार्यको सम्पादनमा वैशाख २०७८ मा प्रकाशित यस ग्रन्थलाई ‘बुद्धिबहादुर भुसाल तथा समस्त भुसाल परिवार’ ले प्रकाशन गरेको हो ।
सहिद मोती भुसालको स्मृतिमा उनकै गाउँ वाङ्लामा ‘मोती पुस्तकालय’ खोलिएको छ । पुस्तकालयको प्राङ्गणमा उनको अद्र्ध–कदको सालिक निर्माण गरिएको छ । (स्मरणीय छ, सहिद शमशेरबहादुर खत्रीको पूर्ण कदको सालिक गुल्मी सदरमुकाम तम्घासमा छ) । केही वर्षपहिले, चन्द्रकान्त आचार्य र अन्य केही जागरुकहरूको सक्रियतामा, पुस्तकालयको सामयिक प्रकाशन ‘‘मोती’’ को सहिदहरूको सम्झना विशेषाङ्क सार्वजनिक गरिएको थियो जसमा माथि उल्लिखित शमशेरबहादुरसमेत चारजना सहिद र तीमध्ये पनि मोती भुसालबारे विशेष सामग्री सविस्तार प्रस्तुत गरिएको थियो ।
त्यसो त निश्चित छ, अहिले विगतमा फेरिइसकेका शोभाकर भुसाल पनि भोलि एक दिन एकादेशको कथाको पात्रमा रूपान्तरित भइजानेछन् । उनको समकालीन पुस्ता पनि विगतको धुलोमा पुरिँदै गएको हुनेछ । बाँकी रहेका हुन्छन् त केवल उनीहरूले गरेका कर्म र उनीहरूबारेका किम्बदन्तीहरू मात्र । त्यस घडीमा शोभाकर अनि उनका समकालीनहरूबारे याद दिलाइरहन र उनले समाजका लागि गरेका सत्कर्महरूबाट निरन्तर प्रेरणा लिइरहन भने यो र यस्तै स्मृति–ग्रन्थले सघाइरहेका हुनेछन् ।
किन पनि भने विगत भनेको भविष्यको आधारशीला हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।