
परिचय
प्राचीन कालमा ‘प्राग्ज्योतिषपुर’ तथा ‘कामरूप’ का नामबाट परिचित क्षेत्र हाल असमका नामबाट प्रख्यात छ । पुराण, महाभारत आदिमा समेत वर्णित यो क्षेत्र भारतको पूर्वोत्तर क्षेत्रमा अवस्थित छ । निकै ठूलो क्षेत्र ओगटेको असमको पहिलेको सिमाना बिहार र नेपालको कौशिकी (कोशी) नदीसँग जोडिएको उल्लेख पाइन्छ । अहिलेका कुचबिहार, जलपाइगुडी, त्रिपुरालगायत पूर्वी पाकिस्तान अर्थात् बङ्गलादेशका कतिपय भूभाग कुनै समयमा असमभित्रै थिए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि असम एउटा राज्यका रूपमा स्थापित भयो ।
पृष्ठभूमि
असममा १८९० को हाराहारीदेखि नेपाली साहित्य लेखिन थालिएको पाइन्छ । पूर्वोत्तर भारतमा गोर्खा कविताको थालनी वा उठान वीर रसपूर्ण सवाई काव्य हुँदै असमको नेपाली साहित्यमा पाश्चात्य साहित्यको अरबी भाषामा जन्मिएर फारसी भाषामा हुर्केको गजल पनि मौलाउँदै गएको पाइन्छ ।
नेपाली साहित्यमा मोतीमण्डलीले भित्र्याएको गजल त्यसताकाको समयमा उर्वर बन्यो । विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराएका थिए । उर्दू, हिन्दीको प्रभावका कारण मोतीराम भट्टले गजललाई हिन्दीबाट नेपालीमा प्रवेश गराउँदै उर्दू, फारसी बहरको सिको गर्दै बहरबद्ध गजल नै सिर्जना गरेका थिए ।
नेपाली भाषामा गजललेखनको शुभारम्भ वि.सं. १९४० बाट नै भए पनि भारतीय नेपाली साहित्यमा गजललेखनको धारा आवश्यकीय मात्रामा प्रवाहित हुन सकेन । भारतीय नेपाली साहित्यमा गजल लेखन परम्परा सुरु गर्ने पारसमणि प्रधान हुन् भनेर उल्लेख गरिएको पाइन्छ । गजलकार शम्भुप्रसाद ढुङ्गेलले पनि ‘पारसमणिका गजल साह्रै असल’ भनी टिप्पणी गरेको भेटिन्छ ।
भारतीय भूमिबाट प्रकाशित सम्भवतः पहिलो गजलसङ्ग्रह सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू (२००१) हो । असमेली नेपाली साहित्यमा भने गजललेखनको थालनी हुन निक्कै पर्खिनुपऱ्यो । विगत सदीको सत्तरीको दशकमा आइपुगेर मात्र भारतेली नेपाली गजल लेखनले जागरणको नयाँ रूप प्राप्त गऱ्यो ।
साठीको दशकमा कवि हरिभक्त कुटुवालले कतिपय गीतमा गजलगन्धी भावलाई प्रकाश पार्ने प्रयास गरे तापनि गजलमा रहनुपर्ने न्यूनतम वैशिष्ट्यहरू ती सिर्जनामा थिएनन् । फुटकर रूपमा नेपाली र हिन्दी भाषामा गजल लेख्नेहरूमा के.बी. नेपालीको नाम आउँछ । उनका गजल बिन्दु पत्रिकामा सत्तरी र असीको दशकमा प्रकाशित भएका छन् । पछि आएर बिसौँ सदीको असीको दशकमा बडपथार असमका धर्मोगत शर्मा ‘तुफान’ नै असमका पहिलो गजलकार मानिन्छन् । उनको विद्रोही आवाजहरू (१९७५) गजलसङ्ग्रह प्रकाशित छ । यसपछि गोविन्द शाण्डिल्यको गजल गान्धार (२००६) र मृगतृष्णा (२०११), भविलाल लामिछानेको दुइटा नज्म केही गजलहरू (२००७) र गजल (२०११), रामप्रसाद दाहालका उद्घव (२०१६) र राँको (२०१८) एकल गजलसङ्ग्रहका रूपमा र डा.जमदग्नि उपाध्यायको सम्पादन र डा.चिन्तामणि शर्माको प्रकाशनमा गजल- सिद्घान्त एवं विकासयात्रा (२०१५), रामप्रसाद दाहाल, कृष्णनील कार्की र अर्जुन निरौलाको सम्पादन रहेको गजलयात्रा (२०१९ संयुक्त गजलसङ्ग्रह) प्रकाशित छन् । यसका अतिरिक्त रुद्र ढुङ्गेलको अनुरागका अक्षरहरू (२००८), कृष्णनील कार्कीको समयको भाग्यरेखा (२०१६), अर्जुन निरौलाको हजुरबाको अनुहार र पेन्सन (२०१६) अनि हेमन्त भट्टराईको कोपिलो (२०१६) कृतिहरूमा पनि गजल समावेश गरिएको पाइन्छ ।
संयुक्त सङ्ग्रह ‘गजल यात्रा’
असममा गजलीय वातावरणलाई मजबुत पार्ने र नयाँ पुराना गजलकारहरूमा ऊर्जा भर्ने उद्देश्यले रामप्रसाद दाहाल, कृष्णनील कार्की र अर्जुन निरौलाको सम्पादन र अनुपम चिन्तन मञ्चको प्रकाशनमा पाँच महिला र २६ जना पुरुष गरी ३१ जना गजलकारहरूको संयुक्त सङ्ग्रह गजलयात्रा (२०१९) प्रकाशित छ ।
यस सङ्ग्रहका गजलकारहरूमा गोविन्द शाण्डिल्य, भविलाल लामिछाने, रामप्रसाद दाहाल, इन्द्रकान्त कार्की, अर्जुन निरौला, कृष्णनील कार्की, रुद्र ढुङ्गेल, अर्जुन कार्की, डा.दैवकीदेवी तिम्सिना, बुद्घि सुवेदी, ऋषिकेश अधिकारी, हेमन्त भट्टराई, राजु काश्यप साथै नवीन गजलकारहरूमा कमल शर्मा, तारा थापा, मणिकुमार रिजाल, विकाश दुलाल, नीलिमा आचार्य, अनुप शर्मा, अर्जुन न्यौपाने, मिलन बोहरा, चन्द्र भट्टराई, गङ्गाराम फुयेल ‘माल्दाइ’, विकास कठेत, भावना सापकोटा, चिराग दाहाल, राजु न्यौपाने, अनुपमा कट्टेल, द्रोण खनाल, दीपक दवाडी र प्रेम विश्वकर्माका तीन-तीनवटा गजलहरू रहेका छन् ।

दीपक सुवेदी
गीत, कविता, गजल, हाइकु, ताङ्काजस्ता साहित्यका अनेक विधामा अनेक किसिमका लयको प्रयोग भएको हुन्छ । गजलमा विशेषतः कविता या गीतमा प्रयोग गरिने लयको प्रयोग गर्न सकिन्छ । गायनका हिसाबले गीतसँग र भावका हिसाबले कवितासँग निकट रहेको गजल विधा शिल्पगत हिसाबले अलि भिन्न देखिन्छ । गजलको प्रस्तुति शैली अन्य विधाको प्रस्तुति शैलीभन्दा फरक भएको कारण पनि गजल अन्य विधाभन्दा भिन्न लाग्छ ।
शब्द र अर्थको संयोजनले मात्र कुनै पनि सिर्जना गजल बन्न सक्दैन तर गजलयात्राका कतिपय गजलहरूमा यही संयोजन मात्रै पाइन्छन् । काफिया, रदिफ, मिसरा, मक्ता, तखल्लुस इत्यादि भनेका गजलका बाहिरी आवरण मात्र हुन् । भित्री सौन्दर्य त गजलको भाव, प्रस्तुति, शिल्प र लयमा हुन्छ तर गजलकार कृष्णनील कार्की (गजल–२, पृ. २२), बुद्घि सुवेदी (गजल–१, पृ. ३३), तारा थापा (गजल–१, पृ. ३९), राजु न्यौपाने (गजल–२, पृ. ५६) र द्रोण खनाल (गजल–३, पृ. ७४) गजलमा यही पक्ष कमजोर छ । यसकारण बाहिरी तत्वको पालना गर्दै भाव, प्रस्तुति, शिल्प र लय पक्षमा पनि गजलकार सचेत हुनु जरुरी छ । तबमात्र असल र उत्कृष्ट गजल सिर्जना हुन सक्छ ।
गजलका लागि लयको अनिवार्यता हुन्छ । तिनकै विधि, व्यवस्था वा नियम अनुशासनभित्र रहेर गजलको बहर निर्धारण गरिन्छ । गजलकार गोविन्द शाण्डिल्य, भविलाल लामिछाने र रामप्रसाद दाहालको लयमा साधनाले अझ निरन्तरता र परिस्किृतता खोजिरहेझैँ लाग्छ । एउटा गजलमा सामान्यतया पाँचदेखि एघार सेरसम्म हुन्छन् । हिजोआज पाँचदेखि सातसेरसम्म रचिएका गजलहरू अत्यधिक पाइन्छन् । सेर सङ्ख्या प्रायः बिजोर राख्ने प्रचलन पनि छ । यस गजलयात्राका गजलहरू चार सेरदेखि ६ सेरसम्मका गजलहरू रहेका छन् ।
वर्तमान समयमा गजलले बृहत् क्षेत्र ओगट्दै गएको देखिन्छ । हुन त गजलको मूल विषय नै प्रेम भएको हुनाले र प्रेमिकासँगको वार्तालाप अथवा शृङ्गाारिक अनुभुतिको भाषिक अभिव्यक्ति गजल हो भन्ने मान्यता उत्पत्ति कालदेखि नै रहिआएको छ । त्यसैले पनि सायद गजलयात्राका अधिकांश गजलहरूमा शृङ्गारिक धरातलमा देखिन्छन् तर पूर्णरूपमा प्राचीन संरचनामा मात्रै गजल सीमित बनेको चाहिँ छैनन् ।
खाँदाखाँदै धेर खाएर मर्ने कति छन् कति
अभावले खानै नपाएर मर्ने कति छन् कति
रामप्रसाद दाहाल (गजल–२, पृ.१८)
परिवारमा आपद् आए टार्नेहरू पिता हुन्छन्
आफ्ना मनका अभिलाषा मार्नेहरू पिता हुन्छन् ।
सन्ततिका सपनाहरू बुई बोकी उकालिँदा
आफूचाहिँ एकादशी बार्नेहरू पिता हुन्छन् ।
अर्जुन निरौला (गजल–१, पृ.१९)
चिसो बतासले छोएर जाँदा तिमी याद आयौ
बर्खे झरीमा भिजेर जाँदा तिमी याद आयौ ।
भावना सापकोटा (गजल–२, पृ.५८)
यसरी यस सङ्ग्रहका गजलहरूमा प्रेमपूर्ण विषयवस्तुभन्दा ह्रासोन्मुख मानवीय मुल्य, सामाजिक असमानता, राजनीतिक विकृति, अत्याचार, कुरीति, शोषण, दमन, जीवनका निराशा, माटो अनि मुटुका सम्बन्ध तथा यथार्थ धरातलमा रहेर गजलहरूको सिर्जना गरेको पाइन्छ ।
गजलको प्रारम्भिक प्रयोग प्रेमीप्रेमिकाका बीच हुने प्रणय अनुरागको सन्दर्भसँग गाँसिएको भनिए पनि यसमा सँगसँगै विरहजन्य पीडा, समकालीन प्रवृत्ति आदि विषयहरूसमेत गाँसिँदै आएका छन् । वर्तमान सन्दर्भमा जुनसुकै विषयवस्तुलाई पनि गजलका माध्यमबाट पस्किन सकिन्छ । यसभित्रको लयगत अनुशासन, काफिया र रदिफको सुन्दर संयोजन तथा विषयगत सूत्रात्मकता वा सङ्क्षिप्तता नै गजलको विशिष्ट पहिचान मानिन्छ । गजलकार रुद्र ढुङ्गेल (गजल–२, पृ. २४), डा. दैवकीदेवी तिम्सिना (गजल–३, पृ. ३०), राजु काश्यप (गजल–१, पृ. ४५) र अनुपमा कट्टेल (गजल–१, पृ. ७१) समसामयिक युग चेतनामा सचेत देखिन्छन् ।
समय र सिर्जना गतिमान् हुन्छ । यतिखेर मान्छेहरूमा संवेदनशीलता भन्ने कुरा साँघुरिँदै गएको देखिन्छ । कोही कसैसँग मानवता भेटिँदैन । जीवन उज्यालो र सकारात्मक बाटामा उभ्याउन निकै कठिन भइरहेका बेला शब्दहरूको टुकी बालेर गजलकारहरूले जीवन खोजिरहेका छन् । असमेली नेपाली समाजभित्रको यथार्थ पक्षलाई अङ्कन गर्दै आफ्नो परिचयलाई कायम राख्न पुगेका स्रष्टा खासगरी समाजभित्रका अभाव, विसङ्गति, विकृति तथा यावत् पक्षहरूलाई शब्दले उधिनेर सारासामु राखिदिएका छन् ।
अधिकांश गजलकारका गजलहरू संरचना, विषय र कलाका दृष्टिले वा शैली र शिल्पका प्रयुक्तिले समुन्नत छैनन् तर समसामयिक राजनीति, सामाजिक चिन्तन तथा अग्रगामी विचारलाई अगाडि बढाउन तल्लीन देखिएका छन् । प्रगतिशील सोच, इमान्दार लेखन तथा विषयको विविधताले गजलकारहरूले मानव सभ्यताको यावत् पक्षलाई समेट्ने प्रयास गरिएको छ । प्रणय प्रेम बाहेकका समग्र गजलले राष्ट्रलाई माया मात्र होइन स्रष्टाले भाषा र सहित्यलाई दिनुपर्ने योगदानसमेत ‘गजल यात्रा’ कृतिमा प्रतिबिम्बित भएको छ ।
निष्कर्ष
अनुपम चिन्तन मञ्च विश्वनाथ चाराली असमबाट ३१ जना गजल हस्ताक्षरलाई असमेली नेपाली गजलको मैदानमा उतारेको छ । गजलमय यात्रामा मोहन सुवेदीले भनेजस्तै वर्तमान असमेली नेपाली साहित्य सुवासयुक्त छ । त्यसैले पनि गजलकारहरूको यस क्षेत्रमा आगमन रहरमात्र कदापि होइन र नहोस् पनि । यो त एउटा जिम्मेवारी हो । अहिलेको पुस्ताको आशा पनि हो अनि सिर्जनशील भविष्यको सङ्केत पनि तर आंशिक ज्ञानलाई नै पूर्ण सम्झेर सन्तुष्ट हुने प्रवृत्तिको विकास हुन थाल्यो भने असल सिर्जनाको जन्म हुनै पाउँदैन र जन्मिएका सिर्जनाहरू पनि पाठक इतर हुने गर्छन् । बस्, यो पुस्ताले गजल यात्रा (२०१९) बाट पाठकको आलोचना र आगामी अभिभारा थाम्न सकोस् शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










