कवि भगवती पौडेलका बयालीसवटा सुन्दरभावका कविताहरूको सङ्ग्रह हो -अक्षरका बीउहरू । सानै उमेरदेखि कवितामा कलम चलाउने उनको यो पहिलो कृतिले काव्यफाँटमा गहकिलो उपस्थिति देखाएको छ ।

अर्घाखाँची जिल्ला सन्धिखर्क- ८ , किमडाँडामा जन्मिएकी उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर पूरा गरेकी छन् । हाल अमेरिकाको टेक्सासमा बस्दै आएकी कवि पौडेल आफ्ना विचार र तरङ्गलाई बडो सरल तथा मर्मस्पर्शी ढङ्गबाट प्रस्तुत गरेर यो सङ्ग्रहमार्फत परिचित भएकी छन् ।

यो सङ्ग्रह “पर्दा” शीर्षकको कविताबाट उद्घाटित भएको छ । जब पर्दा खुम्चन्छ, उद्घाटन हुन्छ । उद्घाटन कुनै घटनाको होस्, कार्यक्रमको होस् , जीवनकै किन नहोस् । जब पर्दा फैलन्छ, दृश्यहरू हराउँछन् । यो दुनियाँमा पर्दाको प्रयोग असललाई छेक्न र खराबलाई छोप्न भइरहेको छ । जीवनको उद्घाटन, आशाको उद्घाटनको पर्दाले कसरी दुनियाँसँग विमुख गराउँछ ? कसरी शक्तिशालीहरूका कर्तुतहरू र अपराधहरूलाई लुकाइदिन्छ र माननीय र सम्माननीय बनाइदिन्छ ? त्यसो त माननीय र सम्माननीय शब्दहरू आफैँ पर्दाहरू हुन् कर्तुत र अपराधहरूलाई छोप्ने ।

यस सङ्ग्रहको अर्को प्रतिनिधि कविता “चट्याङ पर्दा” मा मातृप्रेम छ । आमाको काख नै हरेक अप्ठ्यारो स्थितिमा शरण खोज्ने ठाउँ हो । सन्तान जतिसुकै शक्तिशाली होस्, विशाल होस्, प्रत्येक वज्रपातमा आमाकै काख खोज्छ । त्यो नै उसको सबैभन्दा ढुक्क हुने स्थान हो । त्यस्तै बेजोड मातृप्रेम “चन्द्रमामा आमा देखेँ” शीर्षक कवितामा पनि छ ।

“त्यो प्रलय” कविताले २०७२ सालको प्रलयकारी भुकम्पलाई विषयवस्तु बनाएको जस्तो लाग्छ भने प्रकृतिलाई जीवनको सङ्गतिसँग खोजेकी छन् कविले “मन र मौसम” कवितामा । मौसम सफा हुँदा आफ्नो मुहारमा कुनै दाग र धब्बाहरू देखिइँदैन तर आकाशभरि कालो बादल मडारिँदा त्यही मुहार धब्बाले ढाकेको छ । कविको प्रश्न छ -“यो मन हो कि मौसम ?” , मौसम खुलेर मन खुल्यो कि मन खुलेर मौसम खुलेको हो ? उत्तर पाठकको जिम्मामा छोडिदिएकी छिन् कविले ।

प्रविधिले सजिलो त बनाएको छ तर हिजाको सामीप्य, हार्दिकता, आफ्नोपन, सौहार्दता, सहृदयी भावना हराएर गएका छन् । “राधा दिदीको चिठी” मा त्यही भाव छ । हिजाका चिठीहरूमा हरफहरू टुङ्गिन्थे तर भावहरू कहिल्यै टुङ्गिन्नथे । चिठीमा डाम हुन्थे मसीका, स्पर्श हुन्थ्यो, गन्ध हुन्थ्यो आफ्नाको । त्यसैले त पटक-पटक पढिन्थे । प्रत्येक पढाइमा भाव झन् झन् गहिरिँदै जान्थ्यो ।

अहिले हावामा लेखेका अक्षरहरूमा मात्रै औपचारिकता छ ।

आफूलाई व्यस्त र यान्त्रिक बनाएको मान्छे कसरी पत्थर बनायो । मान्छेले हाने पत्थरले अनि भागे तर पत्थर भागेन । पीडा सुनाउँदा एक शब्द खर्च गरेन श्रोता मान्छेले सान्त्वनाका तर पत्थरले जडीबुटी घोट्न लगायो आफूमाथि । भनौँ न ज्यानै दियो ।  आफ्नाको मृत्युका खबर सुनाउँदा पनि कुनै प्रतिक्रिया दिएन व्यस्त मान्छेले । बरु पत्थरले थाप्यो वियोगका आँसु । “यहाँ मान्छे पत्थर बने, पत्थर मान्छे बन्यो”( पत्थर मान्छे बन्यो ) । वाह !!  यस्तै, मान्छेमा मानवीय गुणहरूको पतनलाई समेटेको छ “मान्छेको व्यापार” शीर्षक कविताले पनि ।

नेपालको दश बर्से द्वन्द्वमा क्रान्तिका चर्का नाराले लपेटेर बुर्जुवा शिक्षा बहिष्कारको नाममा पाँच कक्षा पढ्दै गर्दा छोडेर कमरेड बनी सर्वसाधारणलाई आदेश दिने त्यो बबुराको चित्र कविको मानसपटलमा आइरहन्छ जब अहिले साम्राज्यवादी मुलुकमा कामरेडहरू भेटिन्छन् । “कमरेडको घेराभित्र” कवितामा कवि प्रश्न गर्छिन् –

“आजकल बबुरो के गर्दो हो ?

बिस्तावादी मुलुकतिर पस्यो कि ?

कमरेड गाँउमा बस्यो कि ?

सिंहदरबार गयो या प्रदेश सांसद भयो ?

खाडी मुलुक छिऱ्यो या फेरि बन्दुक भिऱ्यो ?

 

मानसपटलमा छ बबुराको चित्र

सम्झँदै छु कमरेडको घेराभित्र ।”

पहिलेका दसैँहरूमा परदेशीहरूको लाम पौवाहरूमा बास बस्दा, भरियाहरूको लामले चौतारीमा थकाइ बिसाउँदा, वर्षाका झरीहरू सकिएपछि अनि प्रधानको पसलबाट कपडा किनेर सूचिकार दाइले सिलाइदिँदा, बुटवलबाट रेडिमेड फ्रक आएपछि अनि रामुको पसलबाट रातो रिवन र एकजोर चप्पल किन्दा आइपुग्थ्यो । अहिलेको दसैँमा त्यस्तो अनुभव गर्न कहाँ पाउँनु ? दसैँ आएको हो, होइन ? कसरी आउँदै छ ? छुट्याउनै सकिन्न । “दसैँ आयो” शीर्षक कवितामा बदलिँदो संस्कृति बोलेको छ ।

यो देश कहिले-कहिले कुन-कुन अवस्थामा अग्लिन्छ ?, खुम्चिन्छ ?, दुख्छ र पुग्छ ? -स्पष्ट पारेकी छन् कविले “मेरो देशभित्रबाट” कवितामा –

“देखाउँदा सगरमाथा संसारबाट

पुग्दा `टप अफ द माउन्ट´बाट

लगाउँदा शिरको टोपीबाट

इतिहासको स्वतन्त्र अखण्डताबाट

म अग्लिन्छु विश्व मानचित्रबाट

यहाँ अग्लिन्छु मेरो देश भित्रबाट !

 

मरुभूमिमा नदीनालाको देशबाट

खाडीमा मिसिँदा माटोविशेषबाट

छोडेर आफन्त जन्मभूमिबाट

 

थाप्दा पसिनाको मूल्य मरुभूमिबाट

धकेलिँदा सवार डुङ्गाबाट

च्यापिँदा बडेमानका ढुङ्गाबाट

यहाँ निहुरिन्छ मेरो देशभित्रबाट !

सहर पस्ने र परदेसिनेहरूका घरपरिवारको पीडा छ “असार १५ फर्किएन” कवितामा भने पिँजडा सुनकै होस् स्वीकार्य हुन्न भन्ने भाव छ “चरी” शीर्षक कवितामा । अनन्त रहरहरूमा लखेटिँदालखेटिँदै, नमेटिने भोकको खोजी गर्दागर्दै, रङ्गीन सपनाहरूको पूर्ति गर्न खोज्दा आफ्नो स्वप्नभूमि पुगेकी चरी अन्तमा आफूलाई सुनको पिँजडामा पाउँछे । अब फर्कने तीव्र अभिलाषा छ उही आफ्नै प्राकृत प्रकृतिमा तर थुनिएकी छे सुनको पिँजडामा बिचरा ।

जीवनचक्रको प्रतीकात्मकता समेटेको छ “पतझड” कविताले । परिवर्तनले संसारलाई परिवर्तन गराउँछ तर आफ्नो नियम परिवर्तन गराउँदैन । त्यस्तै, “प्रकृति” कविताले प्रकृतिका नियमहरू अकाट्य छन्, मान्छेले प्रकृतिमाथि विजयको प्रयास गरिरहन्छ तर उसको अगाडि निरीह छ भन्ने सन्देश दिएको छ ।

स्तरीयताका दृष्टिले सबै कविता एउटै तुलामा राख्न सकिँदैन तापनि सङ्ग्रहको कुनै कविता पनि कमजोर छैन । कवि पौडेलका कविताहरू सहज र सरल छन् । उनका कविताहरू पढ्न, बुझ्न् र मनन गर्न कुनै वाद वा सिद्धान्तको आवश्यकता पर्दैन । बिम्ब, प्रतीक, भेषभूषा, वातावरण, सामाजिक परिवेश, धर्मसंस्कृति, रीतिरिवाज, जीवनसँग सम्बन्धित आँसुहाँसो, विरहवेदना, सुखदुःख समेटेर लेखेका कविताहरू हृदयस्पर्शी, मनमोहक र आह्लादक छन् र मातृप्रेम, पितृप्रेम र देशप्रेमले ओतप्रोत छन् । छाउप्रथा, निर्दयीपन, असमानता, बदलिँदो अस्वस्थ खानपिन तथा रहनसहनको विरोध गरेकी छिन् र सुधारको जोडदार आह्वान गर्छिन् –

“आफूले आफैलाई हेरौँ

पटक-पटक हेरौँ

पटक-पटक फेरौँ लुगाहरू

बनाऊँ नियम आफ्ना लागि ”

( देवीथान र छाउ )

कवितासङ्ग्रहको शीर्षक सार्थक छ किनकि सङ्ग्रहको शीर्ष कविता “अक्षरका बीउहरू” यस सङ्ग्रहमा सङ्कलित कविताहरूमध्ये सबैभन्दा उच्चस्तरीय छ । यी कविताहरूमा कविले रोपेका ( छरेका होइन ) अक्षरका बीउहरू उम्रिए, कविले राम्ररी खनखोरस, मलजल गरेको धर्तीमा उम्रिएका अक्षरहरू नहुने त कुरै भएन । कविकै चाहनाकै एउटा युद्धमा त विजयी भए नै । यो कृति त्यसको प्रमाण हो । “बटुलेर विजयी अक्षरका बीउहरू” ठाउँठाउँमा ब्याडहरू राखिनुपर्छ । यो बारी जस्तै थुप्रैथुप्रै खेतबारीहरू लहलह हुनेछन् कवि भगवती पौडेलले रोपेका अक्षरका बीउहरूले । शुभकामना ।