वि. सं. २०२६ मङ्सिर २७ मा पिता साहित्यकार कृष्णप्रसाद पराजुली र माता निरादेवी पराजुलीको कोखबाट जन्मेका शाश्वत पराजुली नेपाली बालसाहित्यका क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय स्रष्टा हुन् । पराजुलीका पाँच दर्जनभन्दा बढी बालसाहित्यका किताब प्रकाशित छन् । प्रौढ साहित्यतर्फ उनको ‘बादलुले रङ फेर्दा’ नामक गीतसङ्ग्रह र ‘शिल्पी’ नामक गीतिक्यासेट पनि प्रकाशनमा आएको छ । उनले दर्जनौँ बालपुस्तकहरूको सम्पादन गरेका छन् ।
बालमनोविज्ञान र बालरुचि बुझेका शाश्वतका बालसाहित्यिक कृतिहरू निकै लोकप्रिय मानिन्छन् । उनका प्रशस्त सचित्र बालपुस्तक र बालकथाहरू प्रकाशित छन् भने बालकविताका क्षेत्रमा थोरै तर स्तरीय लेखकका रूपमा उनी सुपरिचित छन् । ‘लालमोहन रसभरी’ (वि.सं. २०६८) उनको प्रकाशित बालकवितासङ्ग्रह हो भने उनका थुप्रै फुटकर बालकविताहरू पनि प्रकाशित भएका देखिन्छन् । ‘लालमोहन रसभरी’ बालकवितासङ्ग्रहमा उनका छोटा आकारका जम्मा २७ वटा बालकविताहरू सङ्गृहीत छन् । शिक्षण पेशाको समेत अनुभव सँगालेका पराजुली प्रारम्भिक तहका विद्यार्थीका लागि पाठ्य र सन्दर्भ सामग्री सिर्जना र उत्पादनमा संलग्न रहेको पाइन्छ भने बालसाहित्यका सर्जक र आधारभूत तहका शिक्षकहरूका लागि थुप्रै तालिम र कार्यशालाको नेतृत्व र सहजीकरण पनि उनले गरेका छन् । उनको कार्य अनुभव हेर्दा रुम टु रीड, नेपाल नामक संस्थामा पढ्ने सामग्री कार्यक्रमका प्रबन्धक, मेला बाल प्रकाशनका सम्पादक, कान्तिपुर राष्ट्रिय दैनिकको साप्ताहिक बाल प्रकाशन कोपिलाका संस्थापक, संयोजक तथा परिशिष्टाङ्क सम्पादक, प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा पठन सामग्री र उत्पादन प्रबन्धक लगायतका महत्त्वपूर्ण कार्यहरूमा उनले अनुभव सँगालेका छन् ।
‘आधा देशको राजकुमार’ बालउपन्यासका लागि शाश्वतले अन्ताराष्ट्रिय नेपाली साहित्य समाजको ‘सारा बाल साहित्य पुरस्कार’ र ‘बिचरो बुख्याचा’ कृतिका लागि पारिजात उत्कृष्ट पाण्डुलिपि पुरस्कार पाएका छन् । यसबाहेक उत्कृष्ट बाल पत्रिका पुरस्कार, रत्न बाल कोश उत्कृष्ट लेखक पुरस्कार, जमर्को बाल पत्रकारिता पुरस्कार, बाल विकास पत्रकारिता पुरस्कार, शिशु राष्ट्रिय पुरस्कार, नेपाल बाल साहित्य समाजबाट प्रदान गरिएको उत्कृष्ट बाल पुस्तक पुरस्कार लगायत उनी अरू पनि थुप्रै राष्ट्रिय पुरस्कारहरूबाट पुरस्कृत र सम्मानित भएका छन् । बालकथासङ्ग्रहतर्फ उनका हीराको टुक्रा, अनुहारको चित्र, लाटोकोसेरालाई लड्डु, सोहन र सर्कस, छाता र बर्सादी गुइँठे र गुलेली लगायतका पुस्तकहरू प्रकाशित छन् भने सचित्र बालपुस्तकका रूपमा उनका पुतलीको यात्रा, बिचरो बुख्याचा, सुरीको साइकल, चुस्के र छुस्के, भकुल्लेको साथी को ?, हिउँ कान्छा, दङ्ग फुरुङ्ग, सिंहपता मैजू र अन्य कथाहरू, म आफैँ गर्न सक्छु, बुर्लुक्क उफ्रिँदै मुसुक्क हाँस्दै, न त मम न त बारा, ज्ञानी कि उल्लु, मलाई मन पर्छ, फुर्वा र साइकल, हजुरआमाको कथा, कपिल र गाजर, रातो जामा, नबोल्ने हो ?, बेलुन र चङ्गा, खेला, ढिकीच्याउँ, मिठो नमिठो, कथा भन्ने खाट, रातिको साथी, ओहो के भयो ? लगायतका पुस्तकहरू प्रकाशित भएको पाइन्छ । बालचित्र पुस्तकमध्ये उनको ‘मह बेच्ने भालु’ तथा ‘कपिल र गाजर’ विभिन्न भाषामा प्रकाशित भएको देखिन्छ । अन्य लेखकसँगको सहकार्यमा समेत उनका सहलेखनका बालसाहित्यप्रधान कृतिहरू प्रकाशित भएका पाइन्छन् ।
साहित्यकार शाश्वत पराजुलीका ‘गोडामा प्लास्टर’, ‘गोपीको टोपी’, ‘लेकमा के के छ ?’ जस्ता बालचित्र पुस्तकमा बालकविताको छनक पाइन्छ । एउटै कवितालाई पुस्तकाकार रूप दिइएको ‘गोपीको टोपी’ पुस्तकमा उनले उमेर, नाता, धर्म, पेसा, पद, मौसम, परिवेश, ठाउँ, इतिहास, भूगोल, संस्कृतिका आधारमा मानिसले अलग–अलग टोपी लगाउने गरेको प्रसङ्ग जोड्दै गोपी नामक बालपात्रले नेपाली ढाका टोपी लगाउने रहर गरेको कुरा उल्लेख गरिएको छ र ढाका टोपीमा नेपाली राष्ट्रियता झल्किने कुरालाई कविले अघि सारेका छन् । बालकविताकै छनक दिने उनको अर्को बालकवितात्मक कृति हो, ‘गोडामा प्लास्टर’ । यस पुस्तकमा दुर्घटनामा परी खुट्टामा चोट लागेर प्लास्टर गरेपछि बालपात्रले अस्पतालमा औषधि र स्याहारसुसार पाएको अनि सँगसँगै आफ्ना साथी, दिदी, मामा, हजुरआमा लगायतका पात्रले कसैले कथाका किताब दिएर, कसैले हँसाएर, कसैले म्वाइँ खाएर, कसैले गीत गाएर जस्ता क्रियाकलाप गरेर स्नेह प्रदान गरेको प्रसङ्ग यसमा आएको छ । ती पात्रबाट प्राप्त स्नेहले ओखतीको काम गरेर सन्चो भएको बालमनोविज्ञानलाई यस कृतिमा पेश गरिएको छ । ‘लेकमा के के छ’ पुस्तकमा कुनै एक बालपात्रले हिमाली भेकका एक जना बासिन्दासँग हिमाली भूभागमा पाइने कुराको बारेमा जिज्ञासा राखेपछि उनले उक्त बालकलाई हिमालमा बाह्रै महिना पर्ने हिउँ, चौँरी गाई, डाँफे चरी, जिउभरि ऊन भएका भेडा, सानासाना थुम्का र गुम्बाहरू, भारी बोक्ने खच्चड, पर्वतारोही, राताराता गाला भएका बाबुनानी लगायतका सबै कुराको बारेमा जानकारी गराएका छन् ।
कवि शाश्वत पराजुली छोटो आकारमा गहिरो भाव बोकेका बालकविता लेख्ने कवि हुन् । थोरै शब्दमा धेरै कुरा अटाउन उनी खप्पिस छन् । उनी बालपात्रलाई केन्द्रमा राख्दै उनीहरूका अनुभूतिलाई मसिन्याएर र उनीहरूका विचारलाई कदर गरेर लेख्न रमाउँछन् । बालबालिकालाई उनीहरूको नामले नबोलाएर भुराभुरी भनेकामा बालपात्र बनेका शाश्वत आफ्ना बालकवितामा चित्त दुखाउँछन् । उनका बालकवितामा बालबालिकामा हुने उच्च महत्त्वाकाङ्क्षी भाव देख्न सकिन्छ । सहरी परिवेशप्रतिको असन्तुष्टि र ग्रामीण जीवनप्रतिको मोहभावसमेत उनका कतिपय बालकवितामा पाइने प्रवृत्ति हुन् । बालचाहना र बालजिज्ञासालाई कल्पनाको लेप लगाएर बालककै बोलीमा कविता प्रस्तुत गर्नु उनको खुबी हो । शब्दचयनका कुशल शिल्पी शाश्वतका बालकवितालाई चिटिक्कसँग मिलेर आएको अन्त्यानुप्रासले लयगत आनन्द र साङ्गीतिक झङ्कार दिएको भान हुन्छ । बालाधिकारको सम्मान, बालश्रमको विरोध र बालभावनाको कदर उनका बालकवितामा कतै न कतै छिपेका पाइन्छन् । बालबालिकाले पढ्न नपाएकामा उनको हुनसम्मको चित्त दुखाइ भेटिन्छ । उनी अरूको अधीनमा रहेर बालबालिकाप्रति हुने बालश्रमको विरोध गर्छन् तर बालबालिका स्वयं रमाएर सिर्जनशील बन्न कर्ममा होमिए भने त्यसको खुलेर समर्थन र प्रशंसा गर्छन् । मौका पाए भने बालबालिकाले पनि काम गर्न सक्छन् भन्दै बालबालिकामा हुने आत्मविश्वासको सबल प्रस्तुति उनका बालकवितामा पाइन्छ । नेपाली संस्कृति, रीतिरिवाज, धर्म–संस्कृति, चाडपर्व, परम्परा आदिलाई विषयवस्तु बनाएर लेखिने उनका कवितामा स्वदेशको गुणगान भएको पाइन्छ ।
बालमनोविज्ञानलाई राम्ररी बुझेका कवि पराजुलीले आफ्नो बाल्यकाललाई सम्झँदै कतै बेलुन उडाउँदा हुने रमाइलाको स्मरण गरेका छन् भने कतै झमझम पानी परेका बेलामा हुने खुसी र दुःख दुवैको अनुभूति पनि गर्न भ्याएका छन् । उनका बालकवितामा कर्म गरे मात्र फल पाइन्छ भन्ने सन्देश दिँदै साना बालबालिकालाई जाँगरिलो बन्नुपर्ने र अल्छी हुन नहुने अप्रत्यक्ष सल्लाह पनि दिइएको पाइन्छ । वातावरण प्रदूषित हुँदै गएकामा दुखेसो गर्दै वातावरण संरक्षण गरी प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्नुपर्ने कुरामा उनका कतिपय बालकविताहरूले सचेत गराएको देखिन्छ । पढ्नु लेख्नु बालबालिकाको कर्तव्य त हो तर कहिलेकाहीँ छुट्टीका बेला पढ्न–लेख्न नपर्दा पनि रमाइलै हुने खालको स्वतन्त्रताको अनुभूतिमा समेत उनका कविताका बालपात्रहरूले आनन्द मानेको देख्न सकिन्छ । समग्रमा भन्दा कल्पनाशीलता, सिर्जनशीलता, बालभावनाको कदर, बालचाहना र जिज्ञासाको स्वाभाविक प्रस्तुति, जन्मभूमिप्रतिको ममता, आञ्चलिकता, कर्मप्रतिको विश्वास, नैतिक चेतना, स्वदेशी संस्कृति र कलाको सम्मान, बालमनोविज्ञानको सफल र स्वाभाविक प्रस्तुति, प्रकृतिप्रेम, वातावरणीय संरक्षणप्रतिको चासो, बालबालिकाको खेलप्रतिको रुचि, बाल्यजीवनप्रतिको सुखदानुभूति, सौन्दर्यप्रेम, बालबालिकाले गर्ने स्वतन्त्रताको अनुभव आदि उनका बालकवितात्मक वैशिष्ट्य हुन् । यहाँ यिनै कवि शाश्वत पराजुलीका ‘लालमोहन रसभरी’ बालकविता सङ्ग्रहभित्रका ‘अनुहारको चित्र’, ‘आँप पाक्ने बेला’, ‘पानी पऱ्यो झमझम’ र ‘घुम्न जाऊँ गाउँघर’ गरी चारवटा बालकविताको समीक्षा र विश्लेषण गर्ने प्रयास गरिएको छ-
१. अनुहारको चित्र–
कवि शाश्वत पराजुलीको ‘अनुहारको चित्र’ बालकविता उनको ‘लालमोहन र रसभरी’ बालकवितासङ्ग्रहमा सङ्कलित बालमनोभावनामा आधारित बालकविता हो । यस बालकविताले बालबालिकामा हुने सिर्जनात्मक प्रतिभालाई विषयवस्तु बनाएको छ । बालबालिकामा रहेको कलात्मक खुबीको उजागर गर्नुपर्छ भन्ने सन्देश दिइएको यस बालकवितामा बालबालिकामा हुने चाहना र जिज्ञासाको उद्बोधन गरिएको छ । नयाँ कुरा सिर्जनासँगै आत्मसन्तुष्टि हुन्छ भन्ने कुराको सङ्केत र बालसुलभ कोमल भावनाको अभिव्यक्ति पनि कवितामा भेटिन्छ । कविताको भावार्थ यस्तो छ –
चित्रकलामा अभ्यास गर्दै गरेका एक बालपात्रले कागजमा खरायोको चित्र बनाएको छ । उसलाई आफूले सिर्जना गरेको उक्त कलाप्रति अत्यन्तै गौरव छ । आँगनमा राखेर देखाउने कि खोरभित्र राख्ने भन्ने द्विविधामा बालक परेको छ । आफ्नो सिर्जनामा मक्ख परेको बालकलाई उसले बनाएको चित्र हेरेपछि बाबा खुसी होलान् भन्ने लागेको छ र त्यही खुसीमा बाबाले कलम र रङ्ग पनि देलान् भनेर आशा गरेको छ । आज खरायोको चित्र बनाएको बालकलाई भोलि बिरालाको चित्र बनाउने रहर छ र त्यो चित्र छानामा राख्ने कि कोठाभित्रै राख्ने भन्नेमा बालक अलमल्ल परेको छ । उसले बनाएको चित्र देखेर भाइ लोभिएको छ र उसले दाजुसँग चित्र बनाइदिन अनुरोध गरेको छ । चित्र कोर्न सिक्दै गरेको भाइको खासै ढङ्ग छैन; उसले गाईको चित्र बनाउन खोज्दा घोडाको जस्तो चित्र बन्न पुग्छ भनेर बालपात्र बनेका लेखकले यसमा रमरम हास्यको स्वाद पनि मिसाएका छन् । भाइले अनुहारको चित्रसमेत बनाइदिन बालपात्रका रूपमा कवितामा उपस्थित दाजुलाई आग्रह गरेको छ । भाइको इच्छा पूरा गर्नका लागि कविले एक्लै कोठाभित्र रिसाएको अनुहारको चित्र बनाइदिऊँ कि भनेर आफैँलाई प्रश्न पनि गरेका छन् ।
यस बालकवितामा खरायो खोरमा र बिरालो छानामा बस्ने कुराको जानकारीसमेत कविले गराएका छन् भने बालबालिकाको मनमा नयाँ कुराको सिर्जना गर्ने रहर हुन्छ पनि भनिएको छ । कविता यस्तो छ-
कागजमा कोरेको छु खरायोको चित्र
आँगनीमा देखाऊँ कि राखूँ खोरभित्र !
मेरो चित्र हेरी–हेरी बाबा खुसी होलान्
कलमसँगै नयाँ–नयाँ रङ्ग किनिदेलान्
भोलि पनि बनाउनेछु बिरालाको चित्र
छानामाथि चढाऊँ कि देखाऊँ कोठाभित्र
चित्र कोर्न सिकाइदेऊ भन्छ मेरो भाइ
उसले बनाउँदा हुन्छ घोडाजस्तो गाई
भन्छ फेरि कोरिदेऊ अनुहारको चित्र
बनाइदिऊँ कि रिसाएको एक्लै कोठाभित्र !
२. आँप पाक्ने बेला–
कवि शाश्वत पराजुलीको ‘आँप पाक्ने बेला’ बालकविता उनको ‘लालमोहन र रसभरी’ बालकवितासङ्ग्रहमा सङ्कलित परिश्रमको महत्त्वबोध गराइएको उत्कृष्ट बालकविता हो । यस बालकवितामा बालबालिकालाई जाँगरिलो बन्न प्रेरणा दिइएको छ । जसले कर्म गर्छ त्यसको फल पनि उसैले चाख्न पाउँछ भन्ने कुराको सङ्केत कवितामा गरिएको छ । मौसमानुसारको फल फल्ने जानकारी दिइएको यो बालकविता अत्यन्तै छोटो आकारको छ । कविताको भावार्थ यस्तो छ-
असारको महिना आँप पाक्ने बेला हो । आँपको ठूलो रूखमुनि बालपात्र बनेका कवि र उनको समूह एकै ठाउँमा भेला भएका छन् । उनीहरूमध्ये एक जना पात्र रूख चढेको छ, उसले आँपको स्वादिलो गुदी खान पाएको छ । जो अल्छी छ उसले माथिबाट फालेको बोक्रा मात्रै भेट्टाएको छ । रूख चढ्न नसके पनि भुईँमा बसेर झरेका आँप बटुल्नेले कोयो चुस्न पाएको छ भने हात बाँधेर बस्ने महाअल्छी चाहिँ धुरुधुरु रोएको छ । यसरी दुःख गर्न जान्यो भने परिश्रमको मीठो फल चाख्न पाइन्छ भन्ने सन्देशमूलक आशयका साथ कविताको समापन गरिएको छ । कविता यस्तो छ-
असारको दिन
आँप पाक्ने बेला
ठूलै रूखमुनि
भयौँ सबै भेला
रूख चढ्ने को हो ?
त्यसले गुदी खायो
अल्छी गर्ने मूर्खले
बोक्रै मात्र पायो ।
भुईँको आँप बटुल्नेले
चुस्न पायो कोयो
हात बाँधी बस्ने त
धुरुधुरु रोयो ।
३. पानी पऱ्यो झमझम–
‘पानी पऱ्यो झमझम’ बालकविता उनको ‘लालमोहन र रसभरी’ बालकवितासङ्ग्रहमा सङ्कलित बालमनोभावनामा आधारित प्रकृतिपरक बालकविता हो । वर्षायाममा पानी पर्दा रुझिने र भिजिने अनुभवसँगै त्यसले बालबालिकाको खेलमा समेत अवरोध पुऱ्याउने कुरा यसमा अभिव्यक्त भएको छ । कवितामा प्रकृति र मानव जीवनबीचको सम्बन्ध देखाइएको छ । मौसमी परिवर्तनले जसरी प्रकृतिलाई प्रभावित बनाएको छ मानिसलाई पनि उत्तिकै असर पुऱ्याएको सन्दर्भ कवितामा आएको छ । कविताको भावार्थ यस्तो छ-
जब बर्सात लाग्छ, पानी झमझम पर्न सुरु गर्छ । पानी परेपछि घरको छाना मात्र भिजेको छैन ‘म’ पात्रका रूपमा उपस्थित बालकको टोपी र नानासमेत भिजेको छ । पानी परेपछि रूख र पात भिजेका छन् अनि बालकका हात–खुट्टा र ज्यान पनि भिजेको छ । झमझम पानी परेपछि पानीका ससाना तलाउ पनि बन्छन् जसले गर्दा बालबालिकाले रमाएर खेल खेल्ने ठाउँलाई पनि प्रभावित पार्दछ । पानीमा रुझ्न भिज्न त एकछिन रमाइलै हुन्छ तर कहिलेकाहीँ बालबालिकाले खेल्ने ठाउँमा नै दह जमेपछि खेल पनि बन्द हुन्छ भन्दै प्रकृतिले निम्त्याउने जस्तोसुकै कुराको सहन सक्नुपर्दछ भन्ने कुराको सङ्केत कवितामा भएको देखिन्छ । बालबालिकाको खेलप्रतिको रुचि र खेल्न नपाउँदा हुने पीडाको सूक्ष्मानुभूति गराइएको कविता यस्तो छ-
पानी पऱ्यो झमझम
भिज्यो घरको छाना
हेर्दाहेर्दै टोपी भिज्यो
भिज्यो मेरो नाना
पानी पऱ्यो झमझम
भिज्यो रूखपात
हेर्दाहेर्दै जिउ भिज्यो
भिज्यो खुट्टाहात
पानी पऱ्यो झमझम
बग्न थाल्यो भेल
खेल्ने ठाउँ दह जम्यो
बन्द भयो खेल !
४. घुम्न जाऊँ गाउँघर–
‘घुम्न जाऊँ गाउँघर’ बालकविता उनको ‘लालमोहन र रसभरी’ बालकवितासङ्ग्रहमा सङ्कलित ग्रामीण जीवन, संस्कृति, परिवेश र प्रकृतिसँग सम्बद्ध लोकोन्मुख बालकविता हो । यस बालकवितामार्फत उनले यान्त्रिक सभ्यतामा हराइरहेको वर्तमान सहरी परिवेशप्रति असन्तुष्टि जनाउन पुगेका छन् । यस बालकवितामार्फत कवि प्रकृतितिर फर्कन, ग्रामीण संस्कृतिमा रम्न र रमाउन तथा गाउँले बनेर त्यहाँका खोलानाला, वनजङ्गल र पहरामा खेलेर आनन्द लिन चाहेका देखिन्छन् । कविताको भावार्थ यस्तो छ-
सहरिया परिवेशमा हुर्केको बालपात्रलाई गाउँको परिवेश बुझ्न मन लागेको छ । नाम सुनेका तर देख्न नपाएका हलो र जुवाका बारेमा बालकलाई चासो छ । हलो र जुवा कस्तो हुन्छ अनि पानी भर्ने पधेँरा र कुवा कस्तो हुन्छ होला भन्ने उसलाई लागेको छ । यिनै, यस्तै र अरू धेरै कुरा बुझ्न जिज्ञासु बालपात्रलाई रहर छ । गाउँघरका खेतबारी र हराभरा फाँट हेर्ने धोको पनि बालपात्रका मनमा रहेको छ । बालकलाई गाउँले संस्कृति, त्यहाँका परम्परागत औजार मात्र होइन प्राकृतिक परिवेशमा स्वच्छन्द भएर खहरेको गीत सुन्न, झरनामा भिज्न अनि रम्न र रमाउन पनि मन छ । कविता यस्तो छ-
कस्तो हुन्छ हलो अनि
कस्तो हुन्छ जुवा
कस्तो हुन्छ पानी भर्ने
पँधेरो र कुवा
घुम्न जाऊँ गाउँघर
बुझ्न धेरै कुरा
कस्तो हुन्छ खेतबारी
फाँट हराभरा
डुल्न जाऊँ वनजङ्गल
धेरै जान्न बुझ्न
खहरेको गीत सुन्न
झरनामा भिज्न ।
निष्कर्ष–
सङ्क्षिप्त आयतनमा गहिरो भाव समेटेर कविता लेख्ने बालसाहित्यकार शाश्वत पराजुली बालसाहित्यका विविध विधामा कथामा जस्तै कवितामा पनि जमेका देखिन्छन् । ‘लालमोहन र रसभरी’ बालकवितासङ्ग्रहबाट सङ्कलन गरी विवेचनाका लागि प्रस्तुत गरिएका उनका विवेच्य चार बालकविताहरू सबै छोटै आकारका छन् र यी सबैमा गागरमा सागर भर्न उनी सफल देखिन्छन् । अन्त्यानुप्रासको सफल संयोजन रहेका यी कविताहरूमध्ये ‘अनुहारको चित्र’ बालकवितामा उनले बालबालिकामा हुने सिर्जनशील प्रतिभाप्रतिको चासोलाई अभिव्यक्त गरेका छन् । ‘आँप पाक्ने बेला’ बालकवितामाा उनले फलहरूको राजा मानिने आँपलाई उपमेय बनाएर उपमानका रूपमा बालपात्रलाई उभ्याएका छन् र बालबालिकालाई जाँगरिलो हुनुपर्ने कुराको अप्रत्यक्ष सल्लाह र सन्देश दिएका छन् । त्यस्तै गरेर ‘पानी पऱ्यो झमझम’ मा वर्षा ऋतुका बेला परेको झरीमा भोक्ता पात्र बालकमा मनमा उत्पन्न रमाइलो र केही दुखेसोको अनुभूतिलाई अघि सारेका छन् भने ‘घुम्न जाऊँ गाउँघर’ मा प्राकृतिक प्रसङ्गको चित्रणसँगै ग्रामीण परम्पराको झल्को, ग्रामीण संस्कृतिको पहिचान र ग्रामीण परिवेशमा डुल्न घुम्न पाउँदा हुने सुखानुभूतिलाई कविताको मुख्य विषय बनाएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।