पुरुषलाई सरल र नारीलाई जटिल मनोरचनाका पात्रका तहमा मनोविश्लेषणात्मक रूपले आफ्ना आख्यानमा चित्रण गरेका विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलाई हेर्ने नयाँ क्षितिजसाथ समालोचक डा. साधना पन्त ‘प्रतीक्षा’ भर्खर विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा नारीवादी चिन्तन शीर्षक अनुसन्धान ग्रन्थ प्रकाशित गरी प्रवेश गरेकी छन् । जननायक बिपी कोइराला स्मृति ट्रष्टको प्रकाशन तथा ज्ञानज्योति बुक्स पब्लिकेसन्स प्रा.लि.को वितरणमा रहेको सो ग्रन्थ कोइरालामाथि नितान्त नयाँ दृष्टिकोणका साथ आएको छ । विश्वेश्वरप्रसाद कोइरालाको स्थापित साहित्यिक मूल्य भनेकै यौनमनोविश्लेषण हो भन्ने मान्यता करिब सिद्धजस्तै भएको अवस्थामा नारीका जैविकीय, यौनिक तथा मनोरचनाका अन्तःतहमा प्रवेश गरेर उसका निजी पहिचान तथा अस्तित्वका विषयलाई पनि स्थापित गर्नुपर्छ भन्ने विचारलाई यस अनुसन्धान ग्रन्थले प्रमाणित गरेको छ । विश्वेश्वरले चित्रण गरेका नारी पात्र, तिनले बाँचेको सामाजिक तथा सांस्कृतिक परिवेश, पुरुष वर्गले नारीमाथि गरेका दमनात्मक व्यवहारका कारण जैविक, यौनिक तथा मनोरचनाका तहमा परेको प्रभाव जस्ता विषयलाई हालसम्म यति सूक्ष्म रूपले अध्ययन नगरेको सन्दर्भमा पन्तको यस ग्रन्थले हालसम्मकै पृथक् र मौलिक मूल्य कायम गरेको छ ।

विश्वेश्वरले बाँचेको पारिवारिक तथा सामाजिक परिवेशमा नारीलाई उच्चस्थान दिनुपर्छ भन्ने जोडदार माग उनकै पिता कृष्णप्रसाद कोइरालाको रहेको र त्यसैको प्रभाव यिनका आख्यानमा परेको देखिन्छ । यौवनावस्थामा प्रवेश गरेका छोरीचेली तथा वधूहरूले साइकल चढ्ने, घोडा चढ्ने जस्ता शक्ति प्रदर्शित व्यवहार निर्धक्कसँग गर्नुपर्छ भन्ने विचारको प्रभाव सरणी हुन गई विश्वेश्वरप्रसाद कोइरालाले पनि नारीप्रति समभाव राखेर तिनका मनोरचनाका जटिलतालाई सिर्जनाका माध्यमद्वारा प्रकाशन ल्याएको बुझिन्छ । घोडा चढ्ने लड्छ, जमिनमा घुँडा टेकेर बस्ने मान्छे कहिल्यै लड्दैन भनी जोखिम र चुनौतीमा कहिल्यै हार खानु हुन्न भन्ने उच्च मनोबल कृष्णप्रसादले परिवारका अनुजपुस्तामा सञ्चारित गरेका थिए । कृति कुल छ परिच्छेदमा संरचित छ । यसका पहिलो र अन्तिमका परिच्छेदले क्रमशः अनुसन्धान परिचय र उपसंहार तथा निष्कर्षलाई समेटेको छ भने बाँकी चार परिच्छेद अनुसन्धान ग्रन्थका मूल पाठका रूपमा संरचित छन् ।

नारीवादी सैद्धान्तिक मान्यताले साहित्यिक रचनामा सामाजिक, सांस्कृति, पौराणिक तथा धार्मिक, मनोवैज्ञानिक जस्ता सन्दर्भबाट नारीका हित र उन्नयनका निम्ति भएका सैद्धान्तिक तथा व्यावहारिक पहल र यसले प्राप्त गरको ऐतिहासिक विकासको यात्रा यकिन गर्छ । पन्तको यस ग्रन्थले नारीवादी चिन्तनको प्राचीन वैदिक कालीन मानवआचरणदेखि हालको एक्काइसौँ शताब्दीसम्मको गतिलाई निकै सरल तथा आवश्यक सैद्धान्तिक सन्दर्भसहित प्रकाश पारेको छ । यस सिलसिलामा यिनले नारीवाद, पितृसत्ता र पितृसत्तात्मकता, लैङ्गिकता  (लिङ्ग र लैङ्गिकता), नारी उत्पीडन, उत्पीडनका पनि जैविक रचनाका तहमा देखिएका उत्पीडन, सामाजिक तथा सांस्कृतिक तहमा देखिएका उत्पीडन र लैङ्गिकताका तहमा देखिएका उत्पीडन जस्ता सैद्धन्तिक सन्दर्भलाई क्रमशः अवधारणा र सैद्धान्तिक पुष्टिका रूपले स्वरूप दिएकी छन् । त्यसैगरी अस्तित्व र पहिचानको अवधारणा तथा यसलाई पात्रको रचनाविधानका सन्दर्भमा हेर्नुपर्ने आधारसमेत सैद्धान्तिक कोणबाट प्रस्ट गरिएको देखिन्छ । नारीले आफ्नो अस्तित्वलाई सामाजिक तथा सांस्कृतिक रुढीप्रति गरेका असहमति वा विरोधबाट कसरी पहिचान गर्ने भन्ने मान्यता यसमा समेटिएको छ । त्यसैगरी मातृत्व र लैङ्गिकताका कोणबाट पनि समाजका पुरुष नियन्त्रित एकनिष्ठ विवाहनामक पितृसत्तात्मक व्यवस्थाका विरोधमा कसरी प्रस्तुत भएका छन् र तिनमा आएको यस प्रकारको पहिचान तथा अस्तित्वबोधले नारी विद्रोहको कुन रूप ग्रहण गरको छ भन्ने विषयलाई निकै सरल र सैद्धान्तिक सन्दर्भसहित प्रस्ट पारेकी छन् ।

प्राचीन वैदिक कालीन समाज पुरुष र नारीका समान सहभागिता र जिम्मेवारीमा अडिएको थियो । वेदका ऋचा रचना र तिनको सार, स्वर, गति, यति विधान निर्माण तथा व्यावहारिक पाठमा दुवैको समान भूमिका रहेका कारण पुरुष र नारीका बीचमा कुनै तुलना र साम्य वा वैषम्यका अभ्यास नभएको तथ्य अध्येताहरूले अगाडि सारेका छन् । यज्ञादि कर्ममा सक्रिय उपस्थिति हुन नसक्नु, नारीका जैविक धर्म वा प्रतिक्रियाका कारण शरीर कमजोर भई आरामको जरुरत पर्नु, यज्ञादि कर्मको फलप्राप्तिमा नारीका शरीरबाट निस्किएका मासिकधर्म जन्य जैविक रसायनले बाधा पैदा गर्नु तथा तत्कालीन शासकले राज्य विजय गर्नका निम्ति शूरवीर सन्तानको कामना गर्न थाल्नु जस्ता प्रचलनका कारण उत्तरवैदिक लौकिक समाजमा पुरुषप्रतिको दृष्टिकोण, व्यवहार र जिम्मेवारी फरक हुन पुगेको हो (पृ. १३) । सुलभा, गार्गी, अपला, घोषा जस्ता बौद्धिक महियसी नारीको चर्चाले वैदिक कालीन समाज समान जिम्मेवारीमा केन्द्रित थियो भन्ने पुष्टि गरेको देखिन्छ ।

दीपक ढकाल

नारीलाई अलग दर्जाको मानिसको कोटीमा राख्ने विभाजनको शृङ्खला पौराणिक, स्मृतिकालीन रचना र सूक्तिमा विकास भएको हो । जङ्गली अवस्थाबाटै बच्चाको लालनपालन तथा सिकार गरेर ल्याइएका वस्तुको उचित बाँडफाँड र व्यवस्थापनमा नारीको संलग्नता बढी हुन थालेको देखिन्छ । यसले पुरुष शक्तिको केन्द्रमा रहने, सिकार तथा शक्ति केन्द्रित गतिविधिमा पुरुषको अग्राधिकार रहने, उर्वर भूमिमा पुरुषले उत्पादनका गतिविधि बढाएजस्तै नारीमा पनि पुरुषले अधिकार जमाउन थालेको सन्दर्भबाट परिवार तथा समाजमा पुरुष र नारीका बीचको विभेदले स्थान लिन थालेको विचार पनि पुष्टि गरिएको छ (पृ.१५) । पाइथागोरसले पुरुषले व्यवस्था, प्रकाश, उज्यालोको प्रतिनिधित्व गर्ने तथा नारीले अव्यवस्था र अन्धकारको प्रतिनिधित्व गर्ने भनी विभेदजनक दर्शन ल्याएपछि नारी र पुरुषका बीचको विभेदले झन् व्यापकता पाएको सैद्धान्तिक तथा ऐतिहासिक सन्दर्भ यहाँ उल्लेख छ । नारी र पुरुषका जैविक भूमिका प्राकृतिक विषय भए पनि समाजमा कालान्तरमा आएका परिवर्तनका परिणामस्वरूप विभेदका अभ्यास विकसित भएको पन्तको मत छ । नारीका स्थान, भूमिका र समाजका परिवर्तित सन्दर्भमा विकसित भएका उपस्थितिका विषयमा अध्ययन गर्ने सिलसिलामा उदार नारीवाद, मार्क्सवादी नारीवाद, समाजवादी नारीवाद, मनोविश्लेषणात्मक नारीवाद, आमूल नारीवाद (उग्रनारीवाद) जस्ता अध्ययनका विविध धार विकसित भएको र त्यसको ऐतिहासिक अनुशीलन पनि पन्तको यस अनुसन्धानले स्पष्ट पारेको छ ।

पितृसत्ता र पितृसत्तात्मकता जस्ता विभेदकारी मानसिकता तथा सामाजिक रुढीले पनि समाजमा नारी र पुरुषका बीचका श्रम, ज्याला, पहिरन, पारिवारिक जिम्मेवारी, सामाजिक भूमिका, राजनीतिक संलग्नता जस्ता पक्षलाई अलग गराउँदै लगेको र कालन्तरमा यसले लैङ्गिक विभेदको रूप लिने तर्क पन्तको यस अध्ययनले सन्दर्भसहित प्रस्ट पारेको छ । पितृसत्ता समाजका हरेक क्षेत्रमा पुरुषले आफ्नो अग्राधिकार सुनिश्चित गर्ने राणनीतियुक्त अभ्यास हो । त्यसैगरी पितृसत्तात्मकता नारीले नारीलाई नै गर्ने विभेदभूर्ण व्यवहार, अभ्यास र शोषणमूलक चिन्तन हो । यसलाई पनि पन्तको यस अनुसन्धान ग्रन्थले निकै सूक्ष्म र सैद्धान्तिक सन्दर्भसहित प्रस्तुत गरेको छ (पृ. १९–२४) । सामान्यत लिङ्ग र लैङ्गिकता समान अवधारणा जस्तो लागे पनि पन्त यी दुईका बीचमा स्पष्ट अन्तर रहेको निष्कर्षमा पुगेकी छिन् । लिङ्ग जैविक संरचना र त्यस निसृत संवेगात्मक अवस्था हो भने लैङ्गिक सामाजिक तथा संस्कृतिक अभ्यास, प्रचलन, रुढी, निर्धारित मान र मूल्य एवं पृथक्करण गर्ने श्रम र उत्पादन सम्बन्धित कुरा हो । यसले पनि  समाज नारी र पुरुषको पृथक् वर्गीय धारमा विभाजन गरेको विषयलाई पन्तको अध्ययनले सूक्ष्म रूपमा समेटेको छ । पारिवारले फरक लैङ्गिक अभिमुखीकरण दिई लालनपालन गरेपछि र त्यसलाई समाजले पनि संस्थागत रूप दिएपछि लैङ्गिकताले निरन्तरता पाउने र कालन्तरमा नारीमाथिका विभेदका विविध स्वरूप विकसित भएको अभ्यास पाइन्छ । यसलाई सैद्धान्तिक सन्दर्भसहित प्रकाश पार्न पनि पन्त सफल देखिएकी छिन् ।

नारीउत्पीडन नारीका सामाजिक तथा सांस्कृतिक अवस्था, प्रतिनिधित्व, पहुँच, गतिविधि, पेसा एवं व्यवसायमा भएका संलग्नता, उत्पादन र श्रमसम्बन्धमा देखिएका ऊचनीचका स्वरूपमा अर्थिने विषय हो । समान समय र श्रमको संलग्नता हँदा पनि परिवार र समाजले दिने महत्त्व, आर्थिक मूल्यमा असमानता बेहोर्नुपर्ने अवस्था नारीउत्पीडन हो । यसलाई पन्तले जैविक, सामाजिक तथा सांस्कृतिक र लैङ्गिकताका कोणबाट प्रस्तुत गरेकी छिन् । आख्यानमा नारीवादी चिन्तन विश्लेषणका निम्ति चयन गरिएका यी सैद्धान्तिक मान निकै व्यावहारिक तथा प्रकार्यात्मक रूपले प्रस्तुत अनुसन्धानमा प्रयोग भएको देखिन्छ । नारीले प्राकृतिक रूपमा प्राप्त गरेको जैविक संरचना र त्यसका भूमिकालाई कमजोर आक्ने वा गौँण स्थान दिएर गरिएका विभेदपूर्ण व्यवहार जैविक उत्पीडन हो । प्रजनन अङ्गको संरचना र अवस्था, यौन रसायनको फेरबदलका कारण हुने विविध शारीरिक स्थिति र त्यसले भौतिक रूपमा ग्रहण गरेको स्वरूप, जैविक कोमलता तथा त्यस अनुरूपका मानसिक व्यवहारलाई प्रहार गर्ने हेतुले गरिएका विभेद जैविक उत्पीडन हो (पृ.३२) ।

पन्तको यस अध्ययनमा नारीउत्पीडनको अर्को कारकका रूपमा सामाजिक तथा सांस्कृतिक उत्पीडन पनि रहेको छ । नारीले प्रकृतिक रूपमा प्राप्त गरेको प्रजनन भूमिका र त्यसलाई समाजले दिएको विभेदपूर्ण स्थान अन्ततः विभेदको सूत्रपातको आधार बनेको र कालन्तरमा त्यही कारण उत्पीडनको सिकार बन्नुपरेको हो । रजस्वला, नारीले प्राप्त गरेको पृथक् तथा निजी जैविक विशेषता हो । यसलाई आधार बनाएर पुरुष जातिले  निर्माण गरेका विभेदपूर्ण सामाजिक नियम र त्यसलाई कठोर बनाउँदै जाँदा विकास भएको सांस्कृतिक रुढी नै उत्पीडनको कारण हो (पृ.३५) । उत्पीडनको अर्को मनोवैज्ञनिक कारण यौनिक पक्ष हो । यौन शरीरमा उत्पन्न भएका जैवरासायनिक द्रव वा हर्मनका कारण देखा पर्ने मानसिक तथा शारीरिक परिवर्तनको स्थिति हो । यो सृष्टिको आधारभूत सर्त हो । यसलाई पुरुषले उर्वरभूमिमा शक्तिको प्रयोग गरेर उत्पादन सम्बन्ध स्थापित गरेजस्तै गरी प्रयोग गर्न जाँदा विकसित भएको विषम अवस्था नै यौनिक उत्पीडन हो भन्ने विचार समालोचक पन्तको छ । नारीको सम्पूर्ण जैविक तथा यौनिक अवस्थाको रेखदेख विवाहपूर्व बाबु वा दाजुले गर्ने तथा विवाहपश्चात् पति र छोराले त्यसको क्रमशः भोग र निगरानी गर्ने जुन अभ्यास निर्माण गरियो । यो नै नारीको यौनिक उत्पीडनको मुख्य कारण हो र यसका पछि नारीलाई धर्म, संस्कृति, प्रतिष्ठा र पारिवारिक मर्यादाको जामा भिराएर भीरु बनाएइको हुन्छ भन्ने विचार पनि विविध सैद्धान्तिक सन्दर्भसहित पन्तको यस अनुसन्धानमा पुष्टि गरिएको छ ।

नारीको अस्तित्व र पहिचानको विषय नारीवादी चिन्तनको व्यावहारिक पक्ष हो । नारी र पुरुष दुवैको जैविक संरचना तथा भूमिका फरक भए पनि क्षमता, कार्यशैली र सम्पादनमा दुवै अवसरअनुसार अब्बल हुन सक्छन् भन्ने स्वतन्त्रतामुखी अभियानलाई जब उदार नारीवादी अभियन्ता जोन स्टुवार्ट मिलले प्रस्ताव गरे तब पाश्चात्य मुलुकमा नारीवादी अभियानले बीजारोपण प्राप्त गऱ्यो भन्ने ठहर पन्तको छ (पृ.३९) । यसलाई गतिशील र नारीको अस्तित्वका पक्षमा स्थापित गर्ने सिलसिलामा मार्क्सवादी नारीवादले उत्पादन र श्रमसम्बन्धका कोणबाट, समाजवादी नारीवादले राजनीतिक सत्ताले साधन र स्रोतको वितरण नारी र पुरुषमा समान रूपले गर्नुपर्छ भन्ने कोणबाट तथा आमूल नारीवादले प्रजनन कार्यको आधार विषमलिङ्गी सम्बन्ध रहेको र जबसम्म नारी तथा पुरुषका बीचमा रहेका विषमलिङ्गी विवाह अन्त्य हुन्न तबसम्म नारीउत्पीडन अन्त्य हुन्न भनी समलैङ्गिक विवाहको पक्षबाट वकालत गरेर विविध धारबाट विकसित भएको देखिन्छ । अस्तित्व र पहिचानलाई पनि सामाजिक तथा सांस्कृतिक सन्दर्भ एवं यौनिक तथा मातृत्वका सन्दर्भबाट सैद्धान्तिक रूपले हेर्न सकिने मान्यता पन्तको यस अध्ययनले प्रस्ताव गरेको छ (पृ.४२–४८) । नारीमा आफ्नो अलग पहिचान तथा मूल्य बोध हुनु भनेको पहिचानका निम्ति सङ्घर्षमा उत्रनु हो । यसलाई प्रस्तुत अनुसन्धान ग्रन्थमा नारीविद्रोहको कोणबाट चर्चा गरिएको छ । यस्तो विद्रोहले पछिल्लो समयमा आमूल नारीवादको रूप लिएको र पुरुषसँगका सारा यौनिक तथा जैविक सम्बन्ध नै अन्त्य गर्नुपर्ने मागका साथ प्रस्तुत हुन थालेको सन्दर्भ छ । आमूल नारीवादको प्रस्ताव अतिवादमा आधारित देखिन्छ । यसका अलावा उदार नारीवाद, मार्क्सवादी नारीवाद तथा समाजवादी नारीवादले भने समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक तहमा विद्रोह जरुरी रहेको विचार राखेको छ । यसकारण यौनिक तथा मातृत्वका तहबाट पनि नरीले विद्रोह गरी आफ्नो स्वतन्त्र मूल्य कायम गर्न जरुरी रहेको मत देखिन्छ ।

नेपालमा नारी जागरण र नेपाली साहित्यमा नारीवादको ऐतिहासिक स्वरूपले पन्तको यस अध्ययनलाई नारीवादी चिन्तनको ऐतिहासिक सन्दर्भपरक बनाएको छ । नारीले आफ्नो हक, अधिकार र पहिचानका विषयमा चालेका कदम हेर्दा लिच्छविकाल, मल्लकाल, शाहकाल र राणाकाललाई ऐतिहासिक सन्दर्भका रूपमा उल्लेख गरिएको छ । विशेषतः नारीमाथि गरिएका उत्पीडन र राज्यसत्ताबाट भएको दोस्रो दर्जाको व्यवहारका विरोधमा योगमायाको नेतृत्वमा सम्पन्न सामूहिक जलसमाधि (१९९८) नेपालको इतिहासमा नै ऐतिहासिक रहेको  पाइन्छ । राजनीतिक अधिकार प्रप्तिका सिलसिलामा नेपाल महिला सङ्घको स्थापना लगायतले नेपाली समाजमा रहेका सामाजिक तथा सांस्कृतिक उत्पीडन र नारीलाई उसका प्रतिभा तथा क्षमताबाट वञ्चित गर्ने शोषणमूलक व्यवहारप्रति विद्रोहको आवाज बुलन्द हुन थालेको पाइन्छ ।

साहित्य सिर्जनाका माध्यमद्वारा नारीको पहिचान र अस्तित्वका विषयमा भएका प्रकाशनमा प्राथमिक कालीन कवि भानुभक्तको वधूशिक्षा (१९१०) तत्कालीन सामन्ती समाजको स्पष्ट प्रतिविम्ब हो । माध्यमिक कालीन शृङ्गारिक धारा र सूक्तिसिन्धुमा सङ्कलित पद्यमा पनि नारीका जैविक तथा यौनिक मूल्यलाई भोग्या, दासी, यौनतृप्तिको साधन बनाउने शोषणमूलक व्यवहारले नारीका निजी अस्तित्व सामन्ती पुरुष सत्ताको सिकार भएको ठहर पन्तको यस अध्ययनले गरेको छ ।

आधुनिक नेपाली साहित्यका आख्यान (कथा, उपन्यास), काव्य, नाटक र समालोचना जस्ता विधामा पनि नारीको पहिचान तथा अस्तित्वका विषयलाई केन्द्र बनाउने चेतना अभिवृद्धि भएको छ । नारीका पहिचानलाई सिर्जनाका विधामा प्रस्तुत गर्नेमा अग्रणी भूमिका पुरुष साहित्यकारबाट भएको र यसको ऐतिहासिक जिम्मेवारी कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘चन्द्रवदन (१९९२)’ ले पूरा गरेको निचोड पन्तको देखिन्छ ।  विश्वेश्वरप्रासदले आफ्नै पारिवारिक परिवेश र विशेषतः पिता कृष्णप्रसाद कोइरालाले तत्कालीन समाजमा नारीलाई हेर्ने सङ्कीर्ण सोचमा परिवर्तन ल्याउने तथा नारीमा जागरणको स्वभाव विकास गर्ने मनसायले गरेका पहलबाट प्रेरणा प्राप्त गरेको देखिन्छ । यसैको सिर्जनात्मक प्रतिफल विश्वेश्वरका उपन्यासमा पनि विम्बित भएको हो । उपन्यासमा नारीमाथि हुने गरेको सामाजिक तथा सांस्कृतिक शोषण, जैविक र यौनिक विषयलाई रुद्रराज पाण्डे, रूपनारायण सिंह, विजय मल्ल, मदनमणि दीक्षित, प्रेमा शाह, बानिरा गिरी, इन्दिरा प्रसाईँ, पद्मावती सिंह, माया ठकुरी, प्रभा कैनी, अमर न्यौपाने, जलेश्वरी श्रेष्ठ, गीता केसरी, नीलम कार्की ‘नीहारिका’, अनुपमा रोशी प्रभृतिले नेपाली नारीका पहिचान, सामाजिक तथा सांस्कृतिक परिवेशमा नारीले भोगेका विभेदभूर्ण व्यवहार र उत्पीडनका विषयलाई मूलधारमा स्थान दिएको ठहर यस अध्ययनमा गरिएको छ (पृ.६३–७२) ।

पाश्चात्य समालोचना क्षेत्रमा विकसित भएको लैङ्गिक अध्ययनले आमूल नारीवादी चिन्तनलाई पनि सिर्जना र समालोचनाको क्षेत्रमा विषमलिङ्गी समाजमाथि विद्रोह गर्ने सचेतनासहित प्रवेश गऱ्यो । यसले नेपाली साहित्यको आख्यान विधामा पनि पछिल्लो समय अलग पहिचान र स्वरूप निर्माण गरेको छ । नयनराज पाण्डे, प्रभा भट्टराई, मोहनराज शर्मा, जया ओझा, कल्पना खरेल, गीता केसरी, अर्चना थापा, उषा शेरचन, तर्कना शर्मा प्रभृतिका आख्यानकाले समलैङ्गिक विषयलाई उठाएर परम्परागत विषमलिङ्गी समाजमाथि विद्रोहको स्वर प्रस्तुत गरेको दखिन्छ । पन्तले यस कोणबाट पनि नेपली आख्यानमा प्रवेश गरेको नारीवादी चिन्तनको लैङ्गिक तथा यौनिक सवाललाई प्रस्तुत गरेको देखिन्छ ।

प्रस्तुत अनुसन्धान ग्रन्थको तेस्रो परिच्छेद आयाम र प्रायोगिक विश्लेषणका कोणबाट समग्र संरचनाकै महत्त्वपूर्ण खण्ड हो । विश्वेश्वरप्रसाद कोइरालाका छवटै उपन्यास (तीनघुम्ती, नरेन्द्र दाइ, सुम्निमा, बाबु आमा र छोरा, मोदिआइन तथा हिटलर र यहुदी)लाई तत्कालीन सामन्ती पुरुष सत्ताको केन्द्रमा रचना गरिएको र यी उपन्यासका नारीपात्रहरू परम्परागत सामाजिक तथा सांस्कृतिक परिवेशमा उत्पीडन भोगेर बाँच्न बाध्य पारिएको ठहर गरिएको छ (पृ.८५–९५) । यसै आधारमा पन्तले विश्वेश्वरका उपन्यासमा नारीवादी चिन्तन विश्लेषण पनि गरेको देखिन्छ । तीन घुम्तीकी इन्द्रमाया, नरेन्द्रदाइकी गौरी र मुनरिया, सुम्निमाकी पुलोमा, बाबु आमा र छोराकी उमा, मोदिआइनकी मछुवारिन र अन्य नारीपात्र तथा हिटलर र यहुदीकी थियोडोरा र लिजा जस्ता पात्रले तत्कालीन पुरुष सामन्ती समाज र तिनले आफूअनुकूल हुने गरी निर्माण गरेका विभेदमुखी कुसंस्कारको मारमा परेर बाँच्नुपरेको सन्दर्भलाई नारीवादी चिन्तनका कोणबाट प्रस्तुत गरिएको छ । यसरी विश्लेषण गर्ने सिलसिलामा जैविक उत्पीडन, सामाजिक तथा सांस्कृतिक उत्पीडन र यौनिक उत्पीडन गरी तीनओटा सैद्धान्तिक आधारलाई प्रयोग गरिएको देखिन्छ । विश्लेषणका क्रममा पन्तले प्रस्तुत गरेका सन्दर्भलाई आधार मान्दा विश्वेश्वरप्रसादलाई मनोविश्लेषणका प्रयोक्ता मात्र देखेर नेपाली साहित्य समालोचनाको प्रतिनिधि भनिएका समालोचकले पनि कमजोरी गरेको प्रस्ट हुन्छ । प्रस्तुत अनुसन्धान ग्रन्थमा नारीवादी चिन्तनलाई प्रस्तुत गर्ने सिलसिलामा यिनले पाठकीय सन्दर्भलाई तर्कका रूपमा जसरी प्रस्तुत गरेकी छन् त्यसरी हालसम्म अन्य समालोचनकले हेर्न नसकेको प्रस्ट देखिन्छ ।

विश्वेश्वरका उपन्यासका नारीपात्र तत्कालीन नेपाली समाजका समाजिक तथा सांस्कृतिक परिवेशमा उत्पीडनमा मात्र परेनन् आफ्नो पहिचान र अस्तित्व रक्षाका निम्ति सचेत पनि छन् । तत्कालीन पितृसत्ताकेन्द्री समाजले पुरुषका अनुकूलतामा निर्माण गरेका प्रचलन, साझा व्यवहार, रुढी आदिका कारण नारी विशेषतः सांस्कृतिक तथा मातृत्वका तहमा पहिचान र अस्तित्व रक्षाका आवस्थामा पुगेको निष्कर्ष प्रस्तुत अनुसन्धान ग्रन्थमा छ । तीनघुम्तीकी इन्द्रमायाले लिएका निर्णयलाई समाग्रमा नारीले आफ्नो समाजिक तथा सांस्कृतिक तहबाट गरिएको शोषण र त्यसको प्रतिरक्षाका निम्ति रोजिएको उपायका रूपमा हेरिएको छ (पृ.२०७–२१२) । नारी उसको लैङ्गिकता, मातृत्व र स्वतन्त्र जीवनयापनका सिलसिलामा आफ्ना यौनिक तथा मातृत्वका केन्द्रमा चल्न सक्छिन् । यसमा अवरोध गर्ने हेतुले विविध सामाजिक तथा सांस्कृतिक प्रचलनको तगारो खडा गरी विचलित गर्ने र पुरुषका स्वर्थकेन्द्रित स्थितिमा नारीलाई राख्न सकिन्छ भन्ने शोषणमूलक सन्दर्भ नेपाली समाजमा छ । यसको खुलेर प्रतिवाद गरेका सन्दर्भलाई समालोचक पन्तले नरेन्द्र दाइ, सुम्निमा, बाबु आमा र छोरा, मोदिआइन र हिटलर र यहुदी जस्ता उपन्यासमा पनि प्रस्तुत गरिएको छ । सैद्धान्तिक स्वरूप र त्यसको सापेक्षतामा पात्रले लिएका निर्णय तथा त्यसका सामाजिक तथा सांस्कृतिक प्रेरक सन्दर्भ प्रस्तुत गर्नुले समीक्षा तर्कपूर्ण, वस्तुपरक एवं सरल बन्न पुगेको छ ।

विद्रोह, पहिचानबोध पश्चात् हुने प्रतिक्रियात्मक चेतनाको तह हो । यसले कुनै पनि व्यक्तिलाई साविकको अवस्थाभन्दा पृथक् सामयिक तथा युगीन मूल्यबोध गराउँछ । प्रस्तुत अनुसन्धान ग्रन्थले पनि प्रथमतः उत्पीडनको अवस्था, उत्पीडनमा परेको चेतनतहको प्रस्तुति र उक्त चेतनतहले प्रदान गरेको सामयिक मूल्यबोध र विद्रोहलाई क्रमिक रूपले समेटेको छ । यस आधारमा हेर्दा अनुसन्धानले क्रमशः समस्याको पहिचान र समाधानको गति प्राप्त गरेको देखिन्छ । पन्तले विश्वेश्वरका उपन्यासका सबै नारीपात्र विद्रोहमा उत्रन नसकेको र प्रचलित पुरुष सामन्ती चिन्तनसँगै सम्झौता गरेको स्थिति पनि पहिचान गरेको देखिन्छ । नारीविद्रोहका कोणबाट तीनघुम्ती सबैभन्दा सशक्त रहेको, नरेन्द्रदाइका नारीपात्र परम्परागत यथास्थितिवादी धरातलमा नै सीमित रही सम्झौता गर्ने चेष्टामा रहेको विचार समीक्षकको छ । सुम्निमा उपन्यासका प्रमुख नारीपात्रहरू सुम्निमा र पुलोमा दुवैमा विद्रोहको चेतना समान छैन । सुम्निमा मातृतत्त्वलाई प्रधानता दिने र वरण स्वतन्त्रता भएको समाजमा हुर्केकी छ । उसलाई जीवनको यथार्थ र वास्तविकता नै प्रमुख मान्य पक्ष हो भन्ने पारिवारिक परिवेशबाट ज्ञानप्राप्त छ । यसैले ऊ सोमदत्तका शरीरधर्मको दास हुनु हुन्न, पापाचारबाट मुक्त हुनुपर्छ भन्ने विचार कदापि मान्य हुन्न र विद्रोह पनि गर्नुपरेको छैन । पुलोमा ब्राह्मण निष्ठा र सांस्कृतिक मूल्यअनुसार विवाहपूर्व बाबुको अधीन तथा विवाहपश्चात् पतिको अधीनमा रहनुपर्ने शोषणमूलक अवस्थामा छे । उसले सोमदत्तका अतिशय धर्मभीरु विधि, विचार र आदर्शको प्रतिवाद गर्छे । यसआधारमा सुम्निमा पनि नारीकेन्द्री र विद्रोही चेतनाको प्रविबिम्वन भएको निचोड समालोचक पन्तको छ ।

त्यसैगरी मोदिआइन उपन्यासमा पनि महाभारतकालीन नारीका अतृप्तता भड्किएको र त्यसको प्रतिधित्व तान्त्रिकसँग मछुवारिनले गरेको संवादमा प्रस्ट हुने विचार समालोचक पन्तको छ । परोक्ष रूपमा नारीले तत्कालीन स्थापित सामाजिक तथा सांस्कृतिक मूल्य र रुढीमाथि गरेका कटाक्ष तथा असहमति पनि विद्रोहका रूपमा आएको देखिन्छ । हिटलर र यहुदीमा लक्ष्मी र रेवा जस्ता पात्रले पूर्वीय आर्य संस्कृतिले नारीजातिलाई पृथ्वी र जननीको उच्च दर्जा दिएको तर समाजका पुरुष वर्गले निर्माण गरेका र तिनका चाहना अनुरूपका मानदण्डमा चल्नुपर्ने बाध्यता निर्माण गरेर शोषण गरेको बोध गरेका छन् । एकातिर उच्च सम्मान र जननीका रूपमा लिने अर्कातिर आफ्ना अनुकूलका नियम र आचार निर्माण गरेर शोषण गर्ने परिवेश बोध र असहमतिले नारीविद्रोह प्रस्तुत भएको विचार पन्तको छ (पृ.२५९) । बाबुआमा र छोराकी मुख्य नारीपात्र उमाले तत्कालीन सामाजिक सांस्कृतिक प्रचलनको विपरीत गई वरण स्वतन्त्रताअनुसार शिवसँग प्रेम र पछि यौनसम्बन्ध राख्नु विद्रोहकै रूप हो किनभने उसले परिवारका अभिभावक भनिएका पुरुषसत्ताका प्रतिनिधिलाई कुनै सोधपुछ गरेकी छैन । पछि बाबुआमाले सामाजिक प्रतिष्ठाको आडम्बरका नाममा जबरजस्ती विवाह गराएको भोलिपल्ट रातभरका प्रदूषण सफा गर्न मिची मिची नुहाएको तथा सूर्योदयको प्रथम आभाबाट बाँकी सबै कल्मष पनि सफा गर्ने निर्णयमा पुगी सामाजिक प्रचलनप्रति विद्रोह गरेकी छ । उपन्यासको सूक्ष्म पठन र आवश्यक सन्दर्भको वस्तुपरक प्रस्तुतिले समालोचक पन्तको यस अनुसन्धान ग्रन्थ नारीवादी चिन्तनको विश्लेषणमा निकै मिहिन बन्दै गएको देखिन्छ ।

उत्पीडनलाई विश्लेषण गर्न चयन गरिएको अर्को महत्त्वपूर्ण आधार नारीको लैङ्गिकता हो । यौनिक चाहना प्राकृतिक र नैसर्गिक विषय भए पनि पुरुष सामन्ती र पुरुषसत्तात्मक सामन्ती चिन्तनले समाजमा संस्थागत रूप लिएकाले विश्वेश्वरका उपन्यासले पनि तत्कालीन समाजमा भएका यौनिक उत्पीडनलाई आख्यानीकरण गरेको पन्तको मत छ । यसरी यौनिक उत्पीडनमा परेका पात्रहरूमा तीनघुम्तीकी इन्द्रमाया, नरेन्द्रदाइकी गौरी, सुम्निमाकी पुलोमा र सुम्निमा, मोदीआइनकी हाडाहा पोखरीमा माछा बेच्ने मछुवारिन, हिटलर र यहुदीकी थियोडोरा र बाबु आमा र छोराकी उमा प्रतिनिधि रहेको विचार समालोचनक पन्तको छ । उपन्यासमा आएका पाठात्मक सन्दर्भलाई नारीको लैङ्गिकतासँग जोडेर त्यसमाथि हुने गरेका पुरुषको सामन्ती पुरुष शोषण र त्यसले उत्पन्न गरेका विद्रोही चिन्तनलाई छर्लङ्ग पारेर देखाइएको छ ।

नारीवादको सैद्धान्तिक तथा ऐतिहासिक सन्दर्भ, नारीले समाजमा बसेर भोग्नुपारेका सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यताका आडमा हुने व्यवहार, नारीले प्राप्त गरेका जैविक स्वभाव र प्रकृति तथा नारीका लैङ्गिकताका विषयलाई सिलसिलाबद्घ रूपले प्रस्तुत गर्नु यस अनुसन्धान ग्रन्थको सैद्धान्तिक पाटो हो । विश्वेश्वरप्रसाद कोइरालका उपन्यासमा आएका नारी पात्रले सामाजिक तथा सांस्कृतिक रूपमा भोगेका उत्पीडन, त्यस्तो उत्पीडनलाई सम्बद्ध नारी पात्रले गरेको बोधन (पहिचान र अस्तित्व) र बोधन पश्चात् गरिएका विद्रोहलाई पठनीय सन्दर्भसहित मिहिन रूपले चित्रण गर्नु समालोचक पन्तको मुख्य प्राप्ति हो । नारीवादी मान्यताका आधारमा गरिएको विश्लेषणलाई सुस्पष्ट, वस्तुपरक र अनुसन्धानात्मक रूपले प्रस्तुत गरेर विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलाई विश्लेषण गर्ने नयाँ क्षितिज निर्माण गरेका कारण प्रस्तुत अनुसन्धान ग्रन्थ ऐतिहासिक सामग्री हो ।

दीपक ढकाल, उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग कीर्तिपुर