
जर्ज ओर्वेलको वास्तविक नाम हो – एरिक आर्थर ब्लेयर । उनी सन् १९०३ मा नेपालबाट नजिकैको ठाउँ मोतिहारी, बिहारमा जन्मिएका थिए । बिबिसीका पत्रकारसमेत रहेका उनी अङ्ग्रेजी साहित्यका प्रखर उपन्यासकार तथा निबन्धकार मानिन्छन् । अर्वेलका शब्दहरूलाई नै पनि विशेष महत्त्व दिएर कतिपय अवस्था र विचारलाई अर्वेलियन भनेर विशेषण पनि जोड्ने गरिएको छ ।
उनका सफल किताबहरूमध्ये एक हो ‘एनिमल फार्म’ । आजभन्दा ७५ वर्षअगाडि सन् १९४५ मा पहिलोचोटि प्रकाशित भएको थियो ‘एनिमल फार्म’ । सानो आकारको गोजीकिताबजस्तो ‘एनिमल फार्म’ उस्तै पढन्ते मान्छेले एकाध घण्टामा पढी भ्याउन सक्छ तर यसको दूरगामी छाप दिमागमा सधैँभरि बोक्न सक्छ । विश्व राजनीतिका व्याख्याताहरूले पटक-पटक यस किताबका उद्गारहरू लेखेको, विचार राखेको, बोलेको पाइन्छ । विचारका हिसाबले यस किताबले कुनै खास राजनीतिक विचारधारालाई लक्षित गरेजस्तो लागे पनि भित्र एउटा कुरा र बाहिर अर्को प्रचार गरिने प्रवृत्तिलाई तुलना गर्दा ‘एनिमल फार्म’का शब्दहरू सापटी लिन सकिन्छ । यसभित्र विकसित भएको कथाको रूपरेखा जुनसुकै विचारधाराको राजनीतिमा पनि मिल्न जाने कुरामा दुई मत छैन भलै त्यहाँ उल्लिखित धेरै परिवेश चरित्र र शैलीहरू कुनै वादसँग नजिक होऊन् । पहिले गरिएका वाचालाई आफैँले उल्लङ्घन गरिने अवस्थालाई कटाक्ष गर्ने ‘एनिमल फार्म’ सशक्त हतियार हो । यी दृष्टान्तहरूले पनि मलाई लाग्छ ‘एनिमल फार्म’ रचनाकालमा जस्तो पृष्ठभूमिमा लेखिए पनि यसले सीमाहरू नाघिसकेको छ र व्यापकता हासिल गरिसकेको छ ।
म यस लेखमा ‘एनिमल फार्म’को सारांश राख्छु र पाठकहरूलाई यससँग नेपाली राजनीतिक घटनाहरूको तुलना गर्न अनुरोध गर्दछु ताकि कुनै कृतिले ७५ वर्षपछि पनि कसरी विभिन्न तरिकाले आफ्नो अमरत्व कायमै राख्दछ भन्ने ज्ञात होओस् । मेरो ध्येय राजनीतिसँग गुनासो गर्नु होइन बरु एउटा सफल साहित्यको युगसापेक्ष जीवन्तताप्रति सम्मान प्रकट गर्नु हो ।
‘एनिमल फार्म’ खासगरी मेनर फार्म हो जोन्स भन्ने मान्छेको । त्यहाँ एक दिन बूढो मेजर नाम गरेको सुङ्गुरले मान्छेविहीन समयको अचम्मको सपना देखेको बताउँछ । जनावरहरूले अवसरवादी, उपभोगवादी र अन्यायी मान्छेका विरुद्ध विद्रोह गर्नुपर्ने आह्वान गरेर तीन दिनपछि ऊ मर्छ । उसको विचारबाट प्रभावित जनावरहरू विद्रोहमा उत्रिन्छन् र फार्म मालिक जोन्सलाई नै लखेट्न सफल हुन्छन् । मान्छेको शासनबाट फुत्किएपछि जनावरहरूले जनावरवाद प्रतिपादन गर्दछन् । यसमा लागु हुने महत्त्वपूर्ण सात बुँदाहरू पारित हुन्छन् र सबैले देख्ने गरी लेखिन्छन् पनि । तिनीहरू यस्ता हुन्छन् –
१. दुईखुट्टेहरू शत्रु हुने,
२. चारखुट्टेहरू र पखेटावाललाई मित्रशक्ति मानिने,
३. कसैले पनि कपडा नलाउने,
४. कोही पनि ओछ्यानमा नसुत्ने,
५. कसैले रक्सीसेवन नगर्ने,
६. अर्को जनावरको हत्या नगर्ने र
७. सबै जनावरहरू बराबर हुन् ।
यी बुँदाहरू सर्वस्वीकार्य मानिन्छन् किनकि समान अधिकार, सहअस्तित्व र जातिको उन्नतिको भावना मुखरित गरिएका थिए यिनीहरूमा । जनावर-आन्दोलनको मूल नेतृत्वमा दुई सुङ्गुरहरू देखिन्छन् नेपोलियन र स्नोबल । नेपोलियन कमै बोल्ने तर आफ्नो बेग्लै पहिचान बनाउने हठी सुङ्गुर हो भने स्नोबल सक्रिय खालको, बोलक्कड, प्रभाव जमाउने खालको सुङ्गुर हो । सात बुँदाहरूको झन्झटिलो बुझाइबाट बच्न “चारखुट्टे असल, दुईखुट्टे खराब”को छोटो मन्त्र बनाउँछन् उनीहरू । स्नोबल र नेपोलियनबीचमा हर कुरामा फरक मत देखिन्छ । कसैगरी पनि उनीहरूको राय मिल्दैन ।
जनावरवादको सन्तुलन बिग्रने पहिलो घटनाको रूपमा गाईको दूध सुङ्गुरहरूले मात्रै उपभोग गर्नु हो । सुङ्गुरहरूले दूध र स्याउको सेवन सुङ्गुरहरूको मानसिक विकासका लागि अति आवश्यक भएको अनि दिमागकर्मी सुङ्गुरहरू तन्दुरुस्त हुनु सम्पूर्ण जनावरहरूको हितमा रहेको र सुङ्गुरहरू असफल हुनु भनेको जोन्स फर्की आउनु हो भनेर अरू जनावरहरूलाई राम्ररी बुझाउँछन् ।

विशाल बाबु बस्नेत
जनावरको उन्नतिका लागि स्नोबलले हावाबाट चल्ने मिल बनाउने र यसबाट बिजुली निकालेर हिउँदका दिनमा न्यानो पार्ने महत्त्वाकाङ्क्षी योजना अघि सार्छ । स्वाभाविक हो, उसको कुरामा नेपोलियनले विरोध गरिहाल्छ । यसका योजनाहरू मेहनत गरी सुनाउँछ स्नोबल । जस्तो कि बनाउने ठाउँ हेरिन्छ, ढुङ्गा ओसारेर लाने योजना बनाइन्छ तर डाइनामो र तारहरू कहाँबाट ल्याउने, केही भन्दैन स्नोबल । हावामिलको विषयमा बोलक्कड स्नोबलले जित्ने सम्भावना देखेर नेपोलियनले सुटुक्क तालिम दिई राखेका कुकुरहरू स्नोबललाई लखेट्न प्रयोग गरेर माहौल आफ्नो पक्षमा पार्छ । बिस्तारै नेपोलियनले वर्चस्व बढाउँछ र ‘नेपोलियन सधैँ सही’ भन्ने थेगो पारित हुन्छ जनावरहरूमा । स्नोबललाई समूहबाट निकालेपछि तुहिएको हावामिल बनाउने निर्णय ब्युँतिन्छ र नेपोलियनले जनावरहरूलाई अहोरात्र काम गराउँछ । नेपोलियनको निर्णयको सच्चा पहरेदारको रूपमा देखिन्छ बक्सर नामक घोडा । यता थाहै नदिई वा अलमलमा पारेर स्थापित मान्यताहरूमा संशोधन थोपर्दछन् सुङ्गुरहरू । ‘कोही पनि ओछ्यानमा नसुत्ने’ बुँदालाई ‘कोही पनि डस्नादार ओछ्यानमा नसुत्ने’ बनाइदिन्छन् । ओछ्यान त जे पनि ओछ्यानै हो । त्यसैले ओछ्यानमै नसुत्ने भनिएको होइन । बरु मान्छेले जस्तो डस्ना भएको ओछ्यानमा पो नसुत्ने भनेको हो जस्ता शाब्दिक चक्करमा अरू जनावरहरूलाई अलमल्याइदिन्छन् । ‘अर्को जनावरको हत्या नगर्ने’लाई ‘बिनाकारण अर्को जनावरको हत्या नगर्ने’ बनाइएको हुन्छ । ‘कसैले रक्सीसेवन नगर्ने’ बुँदालाई ‘कसैले अत्यधिक रक्सीसेवन नगर्ने’ बनाइसकिएको हुन्छ र सबैभन्दा महत्त्वपूर्ण र सारगर्भित बुँदा ‘सबै जनावरहरू बराबर हुन्’को पछाडि थपिएको हुन्छ ‘तर कुनै जनावरहरू अरूभन्दा बढ्ता बराबर हुन् ।’ हुँदाहुँदा “चारखुट्टे असल, दुईखुट्टे खराब” गाउने भेडाहरूलाई कालान्तरमा “चारखुट्टे असल, दुईखुट्टे झन् असल” गाउन उत्तिकै पोख्त बनाइदिन्छन् जतिबेला स्वयं सुङ्गुरहरू पछाडिका खुट्टाले मात्र उभिन सक्षम भइसकेका हुन्छन् ।
जनावरहरूले पाएको आत्मसम्मान देखाएर कदाचित् उठ्ने जनावर-गुनासोलाई निस्तेज बनाइन्छ । गीतहरू, भाषणहरू, प्रदर्शनहरू, जनावरसङ्घर्षका गाथाहरूमार्फत् त्यस्ता विरोधका स्वरलाई मलिन बनाइन्छ । हावामिलको माध्यमबाट बिजुली निकालेर चयनपूर्वक बाँच्ने कुरा मिथ्या बनाइन्छ र हावामिल साधारण काममै प्रयोग हुन्छ ।
नेपोलियनको परिभाषामा सुखी हुनु भनेको त कामशील हुनुलाई मानिन्छ यसैले जनावरहरू श्रम गरिरहन बाध्य हुन्छन् र सुङ्गुरहरू घरभित्र बस्ने मात्र होइन बेलाबखत ह्विस्की आयत गरेर रमाइलो गर्न पनि अभ्यस्त भइसक्छन् । सुङ्गुरहरू ‘फायल’, ‘प्रतिवेदन’, ‘माइन्युट’, ‘ज्ञापनपत्र’ जस्ता ज्यादै गाह्रा कामहरूमा व्यस्त रहनुपर्ने कुराहरू सुनाउँछन् जुन अन्य जनावरहरूले बुझ्दै बुझ्दैनन् । सुङ्गुर-शासनमा बाँकी जनावरहरू भोकभोकै पर्छन्, छ्वाली-परालमै सुत्छन्, जाडोमा चीसोले पीडित हुन्छन्, वर्षाकालमा झिँगाबाट सताइन्छन् । यता सुङ्गुरहरू दुई खुट्टाले हिँड्न थाल्छन् मान्छेले प्रयोग गर्ने फोन र पत्रपत्रिकाहरू प्रयोग गर्न थाल्छन् । नेपोलियन जोन्सका कपडा लगाउन थाल्छ । मान्छेहरू र सुङ्गुरहरू सँगै बसेर भोज खाइरहेका बेलामा अन्य जनावरहरूले मान्छे र सुङ्गुरको अनुहार छुट्याउन नसकिरहेको दृश्यमा ‘एनिमल फार्म’ टुङ्ग्याइएको छ ।
नेपाली राजनीतिमा भएका व्यवस्था बदल्ने सबैजसो आन्दोलनहरूलाई एक हदसम्म जनावरहरूबाट सञ्चालित उक्त विद्रोहसँग दुरुस्त तुलना गर्न सकिन्छ । आन्दोलनपूर्वको व्यवस्था (राणाकाल, पञ्चायत, राजतन्त्रात्मक बहुदल)को प्रतिनिधित्व उपन्यासमा मान्छे वर्गले गरेको मान्न सकिन्छ । हरेक आन्दोलनपछि भनिने, लेखिने वा संविधानमा राखिने कुराहरूलाई जनावरवादका सात धाराहरूजस्तो देख्छु म । आन्दोलनपछि प्राप्त मौलिक हकअधिकारहरूको सूची हेऱ्यौँ भने यस्तै मिठास देख्न सक्छौँ हामी पनि । हाम्रो परिप्रेक्ष्यमा भएको पछिल्लो आन्दोलनमा नेतृत्व पङ्क्तिको स्वभाव पनि नेपोलियन र स्नोबलको चारित्रिक बनावटसँग प्रवृत्तिगत र परिस्थितिहरूको सन्तुलनका दृष्टिकोणले धेरै हदसम्म निकट पाइन्छ । समयक्रममा हाम्रा राजनीतिक दलहरूबीच आएको बेमेल यी दुई सुङ्गुरहरूबीचको हरेक मुद्दामा हुने मतभिन्नतासँग मिल्दोजुल्दो छ । जोन्स फर्कने हौवा ‘राजतन्त्र फर्कने’ भनेर नेताहरूले बेला-बेलामा तर्साउनुसँग शतप्रतिशत मिल्ने प्रसङ्ग हो । हावामिलले यहाँ बनाइने महत्त्वाकाङ्क्षी योजनाहरूलाई विम्बित गर्छ; प्रारम्भिक खाकाहरू उत्कृष्ट भएको तर कार्यान्वयनको समग्र रूपरेखा नकोरी हचुवाका भरमा बनाइएको । यी योजनाहरूको ठ्याक्कै फाइदा-बेफाइदाको आकलनसमेत गरिएको हुँदैन । अनि हामीमाझ विकसित डन-गुन्डा-संस्कृति नेपोलियनले प्रयोग गरेका कुकुरहरूसँग वस्तुतः मिल्न जान्छ ।
सत्तामा नरहँदा अप्रिय लाग्ने कामकुराहरू सत्तामा पुग्नासाथ प्रिय भएजस्तै हावामिलको पुनः उपस्थिति दुरुस्तै मिलेको छ । बक्सर घोडाको चरित्रका प्रतिविम्बहरू हामीकहाँ रहेका बहुसङ्ख्यक बुद्धिजीवी, स्वतन्त्र पत्रकार, पेसाकर्मी आदि हुन् जो आफूअनुकूलको राजनीतिक दलप्रति निरपेक्ष र एकोहोरो समर्थन गरेर कहिल्यै थाक्दैनन् । उनीहरू सही र गलत नखुट्याई अन्धभक्त बनेको यही घोडाजस्ता छन् ।
जनावरवादका सूत्रहरूमा हुने संशोधनले आफ्नो हितमा नहुँदा अनेक तरिकाले नियमकानूनहरू फेर्ने राजनीतिक परिपाटी देखाउँछ । जनगुनासो र विरोधका आवाजहरू ‘गणतन्त्र, सङ्घीयता र संविधान पाएको’ रटानमा मत्थर हुन्छन् । जनावरहरूले पछिल्लो समयमा पाएका कष्टहरूसँग गाउँदेहातका जनताहरूले आज पनि भोग्नुपरेका दुःखका कुराहरू अक्षरशः मिल्छन् । सत्तारोहणपछि कतिपय नेताहरूको जीवनशैली जोन्समा आएको पछिल्लो आचरणगत परिवर्तनसँग हुबहु मिलेको देखिन्छ । यसरी यो उपन्यास हाम्रो राजनीतिक अवस्था र चरित्रहरूकै रेखाचित्रजस्तो प्रतीत हुन्छ । तुलना हामीले भोगेको र देखेको अवस्थासँग गरिए तापनि यसको यस्तो पुनरुक्ति अपवादबाहेक हरेक देश, काल, घटनाक्रम र परिवेशहरूमा विगतमा भएको थियो र आगतमा पनि भइरहला भन्ने मलाई लाग्छ । यसैले त यो कृतिले युगलाई जितेको छ ।
क्षयरोगबाट पीडित ओर्वेलको लन्डनमा अल्पायुमै देहावसान भयो सन् १९५० मा । उनले यो अमर कृति रुसी क्रान्ति र स्टालिनको पतनमा आधारित भएर लेखेका थिए भनिन्छ र यसैले पनि यसलाई राजनीतिक व्यङ्ग्यकै रूपमा हेरिन्छ । अमेरिकी प्रकाशकले यसमा झुन्डिएको फुर्को हटाउनुअघि यो “एनिमल फार्म, अ फेयरी स्टोरी”को रूपमा थियो । लेखकको मृत्युमा द टाइम्सले “एनिमल फार्म परीकथाको आवरणमा लेखिएको सर्वसत्तावादी निरङ्कुशतामाथिको तेजिलो र स्वादिलो व्यङ्ग्य हो” भनेर समवेदनामा लेखेको थियो । राजनीतिक रङ्ग हटाएरै पढ्दासमेत (पछिल्लो पढाइमा मैले यसै गरेको थिएँ) स्वैरकाल्पनिक परिधिमा पनि अटाउन सकिने यो कालजयी रचनाको शिल्प र शैली अद्भुत लाग्छ । पुस्तकपठनमा रुचि हुने अधिकांशले यो किताब अवश्य पढेका हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










