विविध विधाका लेखक गोविन्दराज भट्टराईको यो आत्मसंस्मरणात्मक निबन्धहरूको पहिलो सङग्रह हो । ‘सम्झनाको सागरमा केही दिन’ निबन्धसङ्ग्रहभित्र अठारवटा विभिन्न शीर्षकमा लेखिएका आलेखहरू समावेश गरिएको छ । यो पुस्तक रत्न पुस्तक भण्डारले २०७७मा प्रकाशन गरेको हो ।
यो सङ्ग्रह लेखकको बाल्यकालदेखि आजका दिनसम्मको, पढाइदेखि जागिरसम्मको कहालीलाग्दो दु:खको एउटा उत्कृष्ट तमसुक हो, लालपुर्जा हो, दस्तावेज हो । यसभित्र लेखकको कडा परिश्रमको गाथा छ त्यसैले यो पुस्तक ती सम्पूर्ण भोगाइहरूको दर्पण हो । यो दर्पण हेर्दा जे देखिन्छ, जे पढिन्छ त्यो वास्तवमै एक सत्यकथा हो ।
बालमस्तिष्कले कैद गरेको पहिलोपटक दार्जीलिङमा देखेको मोटर गाडीको सम्झना उनी यसरी सुनाउँछन्, “हामी कुनै सानो जिप गाडीमा खाँदिएका थियौँ । उल्टी र वमनले कति थला पाऱ्यो । ठुलाहरूले पछ्यौरा र खोल थापिदिन्थे ।” (पृ.१२) लामो यात्रामा वा भनौँ मोटर यात्रामा उल्टी हुनु साधारण कुरा हो । खाँदिएर यात्रा गर्नुपरे पनि उल्टीको गन्धले त्यो यात्रा जति नै अप्रिय बने पनि लेखकले त्यो क्षणलाई शब्दमा उतारेर मानव इतिहास, सभ्यता र विकासको उदाहरण दिँदै त्यस पहिलो मोटर भेटलाई आफ्नो अविस्मरणीय र प्रिय भेट ठानेका छन् ।
२०१६ सालको हिउँदमा पाँचथर जिल्लाको च्याङथापुमा लेखकले पढ्ने मौका पाए । उनी भन्छन्, “२०१६ सालको हिउँदमा पाँचथर जिल्लाको च्याङथापुमा पुगेपछि मलाई बा-आमाले एउटा धुले स्कुलमा लगाइदिनुभो । अहिले सम्झन्छु- धेरैमाथि बादल ओडेर बसेकी पाथिभरा माता, उन्युका बुटा त्यसैगरी बतासमा नाच्दै होलान्, खोल्सी भित्रबाट त्यसैगरी कलकल पानी ओरालो झर्दै होला, लेकको कस्तो मिठो ओसिलो गन्ध, चिसो बतास, उदात्त प्रकृति, उच्च पर्वत धेरै तल सुसाइरहेको नदीले मेरो बालमनमा स्वतन्त्रताको विशाल क्यानभास बनाइदिएजस्तो लाग्छ ।”( पृ. १५) पढ्दै जाँदा धुले स्कुलको पढाइ कुनै डरलाग्दो एकादेशको कथा भन्दा कम लाग्दैन । आँखाअगाडि आउने त्यो दृश्यले प्रत्येक पाठकको मन धरधरी रुन्छ । आफ्नो धुले स्कुलको वर्णन गर्दै उनी भन्छन्,” गुरुजी एउटा मुढा ओछ्याएर कटेराका बीचमा बस्थे । परतिर बाँसको खम्बामा उनले आफ्नो छाता र दुईतीन सिर्कना अड्काएका हुन्थे । एउटा हातैमा हुन्थ्यो । ती सिर्कनाहरू सबै धुलो पारिसक्दा एउटा दिन समाप्त हुन्थ्यो । दिनभर धुलो र छारोमा बसेर सूर्यास्त हुनुभन्दा धेरै पहिले बुङरुङ बेँसीबाट चढ्दै सिदिङमाको शिरमा घाम पुगेको बेला हामी बाहिर निस्कन्थ्यौँ – दाम्लाबाट फुकेका भोका वस्तुजस्तै । खाजा खाने थिएन, पिउने पानी थिएन, शौचालय थिएन, खेलसामग्री थिएन, मैदान थिएन तर सेउले कटेरामुनी गुरुजी सिर्कना भाँचिरहेका हुन्थे । पढ्ने एउटा वर्णमाला मात्र थियो । लेख्ने कुरा काठको कालोपाटी मात्र थियो । त्यो प्रयत्न निस्पट्ट अन्धकारमा बाटैबाटा दगुर्न खोज्नु जस्तै थियो ।
गुरुले सिर्कना हानेको सम्झनासँगै बगेर आएको कवि तिलक चाम्लिङको ‘सिर्कना’ कविताको एक अनुच्छेद–
राष्ट्रिय धर्म हिन्दू भन्न नजान्दा
राष्ट्र भाषा नेपाली भन्न नजान्दा
सिर्कनाको सुम्ल्याइ सहन नसकेर
साथीभाइको अघि छुलछुली हुँदै
तुरुन्तै रुइदिएको छु
अझै पनि बिरामी हुन्छु यार
सिर्कना देखेँ भने ।” (पृ. ३७)
त्यतिबेलाको शिक्षा यस्तै आफैँ घस्रिँदै बढ्नुपर्ने, रुढीवादले ग्रस्त समाज, अन्धकार युग, कुनै पाठ्य पुस्तकविहीन, सिप, सिकाइ, तालिम बेगरका शिक्षकहरू, सिकाइका साधनमा विद्यार्थीलाई कुट्नु र पिट्नु मात्र । धेरैपटक साहस गरेर मात्र पढ्न सकिने यो पुस्तक लेखकले निकै धैर्य अपनाएर लेखेको प्रस्ट हुन्छ । मुटु दुखेर पटक पटक मैले यो किताबको पन्ना दोबारेर एक्लै रोइरहें, मन दु:खै दु:खले भरियो; ती शिक्षक सम्झेर रिस पनि उठ्यो । बिचरा त्यो राँकेको मन कस्तो भयो होला! कति डरलाग्दो अतीत! मलाई लाग्यो साँच्चै, त्यै होला जङ्गली युग भनेको, लेखक बाँचेको समय !
पहाड र नदीका अविस्मरणीय दृश्यहरू पढ्दा एकैछिन भए पनि मन शीतल हुन्छ । स्कुल जाँदाको, उकालो ओरालो गर्दाका कष्टहरू, भूतप्रेतको भय र आतङ्कले प्रताडित बाल मन, यी सबै पढ्दै जाँदा आँखाबाट बगेका आँसुको भेललाई परेलीले रोक्न सकेन, रोकिएन । यसरी उसबेलाका सहज र स्वाभाविक कुरा आज वर्जनीय ठहरिन्छन् ।
पचास वर्षमा प्रत्येक कुरामा आमूल परिवर्तन हुने रहेछ । वास्तवमा उपयुक्त विद्यालय प्रणाली स्थापित हुन एक संस्कृतिको स्थापना हुनुपर्ने रहेछ । त्यसका लागि सम्पूर्ण समाज नै शिक्षित र सचेत हुन अत्यन्त आवश्यक छ ।
अहिले जस्तो स्विटर, ज्याकेट, जुत्ता आविष्कार हुनुभन्दा पहिले नै त्यो अनकन्टार पहाडमा, हिमालको चिसो बतास आइपुग्ने ठाउँमा कुनै तातो लुगा आङमा नलगाई लेखकले कुन दु:खले पढ्न रुचि राखेर मैले पढ्नुपर्छ, अगाडि बढ्नुपर्छ, यो अन्धकार पन्साउनुपर्छ भनेर कसरी त्यो सानै उमेरमा चेतना आयो होला ??
२०१८ सालमा ‘अराष्ट्रिय तत्त्व’ दार्जीलिङबाट पसेका थिए । गाउँमा रातभरि गोली पडकन्थे, कहिले सेनाले मार्ने, कहिले अराष्ट्रिय तत्त्वले मार्ने । मारिने सोझासाझा गाउँलेहरू उही हामीले देखेको भोगेको माओवादी जनयुद्धमा जस्तै लेखकले सानैमा देखेको कुरा पढ्दा डर लागेर आउँछ । पढ्नुपर्छ नत्र गाउँमा यस्तै दु:ख भोगेर बस्न बाध्य हुइन्छ भनेर वहाँका पिताजीले आठ वर्षको उमेरमा एउटा अङ्ग्रेजी स्कुलमा लगेर एडमिसन गरिदिनुभएपछि त्यो सम्झनामा लेखक भन्छन्,” गडीबजार नाघेर दार्जीलिङको छेउमा हरि मिडल स्कुलमा पसेको दिन मलाई पछि एकदिन अमेरिका पुगेको भन्दा आश्चर्य लागेको थियो । (५५)
आफू पढ्दै गरेको स्कुल वरिपरि कुनै पुस्तक पसल नहुँदा सरहरूले अनेक तवरले पुराना किताबहरू खोजेर पढाउनुहुन्थ्यो, पढाइको भोक र तिर्खाले छटपटिएका लेखक राम्रो पढाइ भएको स्कुलमा अत्यन्त मेहनत गर्दै पढेर छ कक्षा पास गरेपछि सात कक्षाका लागि किताब किन्न तीन दिनको बाटो खाजा, चामल बोकेर तीन जना साथी इलाम बजार पुगी किताब किनेर सात दिनका दिन घर आइपुग्दा, परदेश पुगेर आएका भन्दै गाउँमा ठुलो हल्ला मच्चिएको कुरा पढ्दा म छक्कै परेँ । सात कक्षाका लागि किताब किन्न हिँडेको त्यो फुच्चेको कथा पढ्दा कस्को मन विचलित नहोला, आफैँ अनुमान लगाउन सकिन्छ । कति अविकसित ग्रामीण परिवेश रहेछ त्यो । त्यो अद्भुत क्षण सम्झँदै उनी लेख्छन्,” त्यसबेला हरि मिडल स्कुलबाट इलाम बजार पुगेर आउने हामी तीन जना त्यस प्रान्तका कोलम्बस थियौँ ।” (पृ. ६३) “मैले सात कक्षामा पुगेर मात्र इलाम बजारमा पुस्तक पसल देखेँ ।” (पृ. ५८)
त्यतिबेलाको समाज बिजुली बत्तीको अभावले भन्दा पनि शिक्षा र चेतनाको अभावले पूरै अन्धकारमा थियो । त्यस अँध्यारालाई छिचोल्दै, त्यस साँघुरो बाटाबाट आफ्नो गन्तव्यको खोजी गर्दै अनेक बाधाहरू पन्साउँदै यहाँसम्म आइपुग्नु र नेपाली साहित्यलाई आफ्नो सर्वस्व समर्पण गर्नु आफैँमा निकै नै साहसी र प्रेरणादायी कार्य हो । उनी भन्छन्, “त्यो समय शिक्षाले अलिकति प्रकाश ल्याउन खोजे तापनि व्यापक गरिबी, अशिक्षा, अज्ञान र अन्धकारले ढाकेको समयमा दार्जीलिङे गुरुको प्रयत्न अँध्यारामा जुनकिरी मात्र थियो । स्कुलमा छुवाछुतको कुरा नगर्नु भन्थे तर घर गाउँ समाज छुवाछुतको दलदलमा थियो ।” (पृ. ५९)
धर्म फरक हुँदा, जाति फरक हुँदा, संस्कृति, भाषा र जीवनस्तर फरक हुँदा, भूगोल, इतिहास र वर्तमान फरक हुँदा बालबालिकाको मन दुईतिर बाँडिएको हुने रहेछ । विद्यालयले पढाउँदै लान्छ, घरले मेट्दै जान्छ, समाजले भत्काउँदै जान्छ । यी अन्तरहरू न्यूनतम बिन्दुमा नझरेसम्म बालबालिकाको शिक्षा अर्थहीन प्रयत्न मात्र हुन्छ । यसरी पाठ्यक्रम नमिल्ने अनेक पक्ष हुँदा रहेछन् ।
त्यतिबेलाको दसैँमा गाउँका सारालाई दही चिउरा मासु भात, उत्पातै रमाइलो हुने नै भयो । निधारमा टीका लगाएर, कानमा जमरा सिउरेपछि त्यसै त्यसै यो शरीर उचालिएर आउँथ्यो । इतिहास पढ्छु, कोलम्बस जस्तो, भास्को डि गामा जस्तै अज्ञात मुलुकतिर कताकता उडौँ जस्तो हुन्थ्यो, ती छङ्ग उग्रिएका शरद्हरूमा ।” यसरी सात पढेपछि त्यहाँ अरू पढाइ अगाडि बढाउने कुनै स्कुल नहुँदा लेखकको जीवनले नयाँ मोड लियो र बाँकी पढाइ झापाको घैलाडुब्बामा रहेको आदर्श विद्या मन्दिरमा हुने भयो । अनेक दु:ख कष्टसहित मधेश झरेपछि आफ्ना बुवाले त्यहाँ पुऱ्याउनुभएको सम्झनामा उनी भन्छन्,”म २०२३ को माघमा त्यहाँ प्रवेश गरेको थिएँ । २०२६ सालमा त्यहाँबाट विदा भएँ तर ती बुनियादी तीन वर्षको मेरो जीवनमा धेरै ठूलो महत्त्व छ । भविष्यको धुमिल रूपरेखा पनि नकोरिएको अवस्थामा त्यहाँ पुगेको एक मेहनती विद्यार्थी म केवल १३ वर्षको थिएँ ।” ( पृ. ८६)
यति सानो फुच्चे केटाको मेहनती बानी देखेर त्यस स्कुलका प्रधानाध्यापक दाताराम सरले छात्रवृत्ति मिलाइदिएको दर्दनाक कथा, त्यतिबेलादेखि नै पुस्तकालयका पुस्तकहरू पढ्दा पढ्दै थाहै नपाई साहित्यको रस आफूमा पसिसकेको, खेलकुदमा पटक्कै मन नजाने पुस्तक पढ्ने मात्र तीव्र इच्छा त्यो पुस्तकालयले पूरा गरिदिएकोमा खुसी हुँदै एकठाउँमा लेख्छन्- “मेरा सबै साथीहरू (हालका प्रधानमन्त्रीसमेत) हाप्पिन लगाएर फुटबल खेल्न चौरमा निक्लन्थे तर म भने किताबका अक्षरहरूसँग पुस्तकालयभित्र छिरेर एक्लै खेलिरहन्थेँ, मलाई त्यसैमा आनन्द थियो । सुख थियो । त्यसैले आजसम्म पनि म साहित्य मार्गको ढोका खोलिदिने उनै प्रिय दाताराम सरलाई सम्झिरहन्छु ।” (पृ. ९७)
एसएलसीपछि भुटान पुगेका लेखकले त्यहाँ आफ्नो आँखाले देखेको नेपालीको कथालाई पुस्तकमा जस्ताको तस्तै उतार्दा जन्मिएको कृति नै मुगलान हो । विश्वका धेरै भाषामा अनुवाद भैसकेको मुगलान उपन्यास हाम्रा नेपाली दाजुभाइको कारुणिक कथाले भरिएको छ । यसरी दु:खै दु:खको भुमरीभित्र पस्दै निस्कँदै, फेरि कुइरोभित्र हराउँदै, फेरि पनि उज्यालोकै खोजीमा पढाइको भोकले कहिले बनारस र कहिले काठमाडौँ गर्दै निरन्तर आफ्नो अध्ययन अगाडि बढिरह्यो ।
त्यतिबेला मान्छेहरू काठमाडौँ पुग्ने कल्पना गर्नसम्म पनि डराउने समयमा लेखकले काठमाडौँ गएर आफ्नो अध्ययन अगाडि बढाउँछु भनेको सुन्दा नपत्याउनु स्वाभाविक थियो किनभने झापादेखि काठमाडौँसम्म आउने कुनै मोटर बाटो बनिसकेको थिएन । उनी काठमाडौँ आएको सम्झिँदै लेख्छन्,” पूर्व पश्चिम राजमार्गको निर्माण हुँदै थियो । कतै ट्रक, ट्याक्टर चड्दै धेरै हिँडेर खोला तर्दै इटहरी पुगेँ । त्यहाँबाट हिँडेर बेलुका बिराटनगर पुगेर बास बसेँ । भोलिपल्ट बिहान सोधखोज गर्दै जोगवनी पुगेर रेल चढेँ किनभने नेपालका धेरै खोलामा पुल बनेकै थिएन । भोलिपल्ट जोगवनीबाट चढेको रेलले सहर्षा पूर्णिया लगेर उताऱ्यो त्यहाँबाट सीतामढि जाने रेल,चढेँ , फेरि रक्सौलको अर्को रेल समातेर दुई दिनमा वीरगञ्ज पुगेर बास बसेँ । भोलिपल्ट वीरगञ्जबाट एउटा गाडीमा बसेर हेटौँडा हुँदै सिमभन्ज्याङ हुँदै थानकोट पुगेर हाम्रो गाडी रोकियो । थानकोटमा ओर्लिएर काठमाडौँ हेर्नेको लर्को लागेको थियो । सिंहदरबार आगो लागेको तीन दिन भै’सकेको रहेछ तर आगो निभेको थिएन । धुवाँको मुस्लो आकाशमा मडारिएको देखेर मान्छे चिच्याइरहेका थिए । प्रधानमन्त्री कृतिनिधि विष्टको नाम उनीहरूले बारम्बार लिइरहेका थिए । यसरी काठमाडौँको झिलिमिली संसारमा आफूलाई पुऱ्याएर मैले अन्ततः किर्तिपुर क्याम्पसमा बि.एड. भर्ना भएरै छोडेँ । त्यस दिन मेरो जीवनको आधा भोक मेटिएको थियो ।” (पृ. १४०)
“काठमाडौँ आएर स्याङ्जा निवासी जयप्रसाद पौडेलसँग केही समय रुम पार्टनर भएर बसेँ । उनको अत्यधिक मद्यपान गर्ने बानी थियो । उनीसँगको खराब सङ्गतले मैले पनि एकपटक चाखेको थाहा छ तर मैले जीवनमा फेरि कहिल्यै त्यो बाटो फर्केर पनि हेरिनँ । उनी नेता थिए । निकै ठूला ठूला र चखिला कुरा गर्न उनी खप्पिस थिए । सायद उनका कुरा सुन्दा सुन्दै पो म पग्लिएको थिएँ कि ।” (पृ. १४३)
यसरी अनेकौँ दुख र सङ्घर्ष गर्दै आफ्नो अध्ययन अध्यापन पूरा गर्ने लेखक गोविन्दराज भट्टराईलाई म साहित्यिक बगैँचाको एक सुन्दर फूल भन्न मन पराउँछु । जन्मदेखि मृत्युपर्यन्त चाहिने फूल मन्दिरदेखि घाटसम्म राख्न सकिने त्यो फूलको सुवासले धर्ती शोभायमान भएजस्तै वहाँको नाम पनि संसारमा चम्किरहोस् । हार्दिक शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।