मलाई अहिलेसम्मका साँझहरूमध्ये सबैभन्दा प्रिय साँझहरू ती छन्, जुन साँझमा म बुवाको छातीमा टाउको राखेर उहाँका छातीका रौँ मुसार्दै आकाश हेर्न पाउथेँ । बार्दलीसामुन्ने रहेको पर्सिखातबाट आउने पर्सोको बास्ना र बुवाको काखबाट आइरहने पसिनाको बास्नाबीच जून र टिलपिल टिलपिल गर्ने ताराहरू हेर्न पाउने ती साँझहरूलाई मेरो अजम्बरी सम्झना छ । बुवा बम्बईमा रहेका बेला पनि उहाँलाई सम्झिँदै एक्लै बार्दलीमा पल्टेर आकाश हेर्न छोड्थिनँ । मलाई बच्चा (जुनसुकै प्राणीको होस्), ताल र रातिको आकाश गरी तीन चिज प्रकृतिले बनाएका सबैभन्दा सुन्दर दृष्य लाग्छन् ।

बिस्तारै मस्तिष्कमा केही प्रश्नहरू पनि जन्मिन थाले । ती प्रश्नका उत्तर पनि थप कल्पनामा डुबाउने गरी बाजे, बज्यै, बुवा, आमा, किताब र शिक्षकहरूले दिए । अहिले झन् जटिल जिज्ञासाहरू छन् । जिज्ञासा मन्साउन त्यति ठूलो कसरत नगरे पनि थाहा पाएका र भेटेका किताब एवं इन्टरनेट सामग्रीहरू देखेपछि मलाई पढिहाल्न/हेरिहाल्न मन लाग्छ ।

कक्षा नौ मा विनोद सरले ‘ब्ल्याक होल’बारे सुनाउँदा मलाई विद्यालय जीवनमा पहिलोपल्ट नयाँ कुरा सुन्न पाएको आभास भएको थियो । उहाँले त्यहीबेला नाम लिनुभएको थियो ‘स्टेफेन हकिङ’को । एसएलसीको परीक्षा दिइसकेपछि एकदिन मैले टीकापुर पुस्तकालयमा ‘फ्रि’ मा किताब पढ्न पाइन्छ भन्ने सुनेँ र छिरेँ । त्यहाँ छिर्नेबित्तिकै मैले खोजेको मान्छे हकिङ नै थिए । खोजेपछि उनको ‘अ ब्रिफ हिस्टोरी अफ टाइम’ फेला पर्‍यो । भाषा र विषय दुवै मेरो क्षमताभन्दा बाहिर । केही लाभ भएन । त्यहीँ मैले स्टेफेन र उनकी छोरी लुसीले लेखेको ‘जर्जस् सेक्रेट कि टु द युनिभर्स’को नेपाली अनुवाद ‘जर्जको ब्रह्माण्ड यात्रा’ पढ्न पाएँ । पहिलोपल्ट पढ्दा आधाआधी बुझेँजस्तो लाग्यो । उपन्यासको परिवेश र एउटा कोठामै बसेर सौर्यमण्डलको यात्रा गरेको कथाले अलमलमा पारे पनि अन्तरिक्षको यात्रावर्णनले पहिलोपल्ट किताब पढ्नुको असली आनन्द प्रदान गर्‍यो । त्यसपछि यो किताब किनेरै मैले अहिलेसम्म पूरापूर ४ पटक र पन्ना छानेर एक दर्जनपटक पढेँ हुँला । पछिल्लोपल्ट, शशीराम कार्कीकृत ‘मनको उडान’ उपन्यास हातमा परेपछि फेरि एकपल्ट पल्टाएँ ।

विपि अस्तु

 

आकाशका बारेमा जति पढ्यो, जति जान्यो त्यति नै नयाँ प्रश्नले घेर्छन् । आकाशले प्रश्नको सट्टाका उत्तरजस्तो प्रश्न नै परावर्तन गर्छ । आकाशले मान्छेको मस्तिष्कमा परावर्तन गरेको एउटा भीमकाय प्रश्न हो, पृथ्वीभन्दा अर्को आकाशीय डल्लोमा पनि जीवन होला कि ? यो प्रश्नको उत्तर खोज्ने क्रममा साना–साना देखि भयङ्कर उत्तररूपी प्रश्नहरूको आदानप्रदान चलिरहेको छ आकाश र वैज्ञानिकहरूबीच ।

आजभन्दा चार सय वर्षअघि ग्यालिलियोले आकाशको आँखामा आँखा मिलाएर प्रश्न सोध्ने यन्त्र निर्माण गरे टेलिस्कोप । त्यसपछि मान्छे उत्साहित भएर आकाशसँग झन् झन् ठूला प्रश्न सोध्दै आएको छ र आकाशले उसैगरी ठूलाभन्दा ठूला प्रश्नहरू नै मान्छेलाई उपहारमा दिइरहेछ ।

महाकविले भनेका थिए, ‘उदेश्य के लिनु, उडी छुनु चन्द्र एक’ । कविताको यो पङ्क्ति अब विम्बका रूपमा जीवित त रहला तर वास्तविकतामा कविको त्यो चुनौती हामीले पूरा गर्न नसकेपनि कसैले त्यसभन्दा लाखौँ गुणामाथिको लक्ष्य तय गरिसकेको छ । हाम्रो दुवैतर्फका छिमेकी देशहरू पनि पृथ्वीभन्दा बाहिर जीवनको खोजी गर्ने क्रमका मङ्गल ग्रह पुगिसकेका छन् ।

ग्यालिलियोको तीन सयवर्षपछि मान्छेले अन्तरिक्षसँग प्रश्न सोध्ने हुटहुटीले भौतिक रूपमै भेट गर्न मिल्ने यन्त्र रकेटको आविष्कार गर्‍यो र उडेर आकाश छोयो । त्यसरी अन्तरिक्ष छुने पहिलो पृथ्वीवासी अमेरिकीहरू थिए । अमेरिका मानव इतिहासमा आकाशसँग सिधा-सिधा सबैभन्दा बढी प्रश्न सोध्ने देश हो । पृथ्वीबाहिर जीवन पहिले कसले खोज्ने भन्ने विषयमा शक्तिराष्ट्रहरूबीच तीव्र प्रतिस्पर्धा छ । त्यसमा अमेरिका नै अघि छ । नेपाली जो कति आकाशसँग मनमनै प्रश्न सोधेर बिदा भइगए, कति अहिले पनि प्रश्न सोधिरहेका छौँ । हामी अहिले पनि आकाशसँग मनमनै प्रश्न सोध्नुबाहेक उठेर उसतर्फ हात पनि बढाउन सकिरहेका छैनौँ । देशको मूल नीति नेताहरूको कुर्सी व्यवस्थापन नै गर्न नसक्नेगरी पुड्किएको छ । उसले जमिनमा समेत राम्ररी हेर्न जानेको छैन, आकाशतिर कहिले हेर्ला ।

यहीबेला कार्कीले नेपालीले नै सबैभन्दा पहिले पृथ्वीबाहिर मानवजीवन सम्भव रहेको डल्लो फेला पारेको कल्पनामा आधारित उपन्यास ‘मनको उडान’ लिएर पाठकमाझ आएका छन् । उपन्यासले अहिलेको विज्ञानले कल्पना नगरेको र अहिलेसम्म प्रतिपादित सिद्धान्तका आधारमा अति दुर्गम दूरी टाढा रहेको डल्लामा नेपाली वैज्ञानिकले मानव जीवन सम्भव हुने वातावरण फेला पारेको कथा भन्छ । बाँकेमा रहेर साहित्य सृजना गर्ने शशीराम कार्कीले लेखेको यो उपन्यासको कथाले कल्पनामै यस्तो आधार खडा गर्छ जसलाई मनन गरेपछि बाँकी उडान पनि पत्यारलाग्दो भइदिन्छ । कार्की अवकाशप्राप्त विज्ञान शिक्षक हुन् ।

अन्तरिक्ष कति विशाल छ ? यो अहिलेसम्म अनुमान कै विषय छ । वैज्ञानिकहरूले देख्न सकिने ब्राह्माण्डको मात्रै व्यास अनुमान गरेका छन् । उनीहरूले अहिलेसम्म पाँच दर्जन तारामण्डल पत्ता लगाएका छन् । अहिलेको विज्ञानको सीमाले पृथ्वीबाहिर ब्रम्हाण्डको कुनै पनि कुनामा जीवनको अस्तित्व वा जीवन सम्भव हुने वातावरण फेला पारिसकेको छैन । वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिर करिब ४ हजारवटा ग्रहहरू पत्ता लगाएका छन् । तीमध्ये जीवनका लागि पृथ्वीभन्दा पनि योग्य र सम्भावना भएका करिब दुई दर्जन ग्रहहरू भएको आँकलन गरिएको छ । एस्ट्रोबायोलोजीको एक अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरूले ती ग्रहहरू पृथ्वीभन्दा पनि केही पुरानो, अझै बढी पानी भएको, तापक्रम केही बढी रहेको र आकारमा पनि केही ठूला रहेको उल्लेख गरेका छन् । ती सबै पक्षहरूको आधारमा भन्दा सम्भवतः ती ग्रहहरूमध्ये केही ग्रहहरू पृथ्वीबाहिर जीवनको खोजी गर्नका लागि उत्तम स्थान हुन सक्छन् ।

सौर्यमण्डलबाहिरका ग्रहका बारेमा पत्ता लागेका तथ्यहरू पृथ्वीमा बसेर गरिएको वैज्ञानिक जोडघटाउबाट निस्केका हुन् । अहिलेसम्म मान्छेले सौर्यमण्डलभन्दा बाहिर भौतिक रूपमा कुनै यन्त्र वा यान पठाउन सकेको छैन । सौर्यमण्डलभन्दा बाहिर अन्तस्तारकीय यात्रा गर्ने कुरा अहिलेसम्म मानिसको लागि कल्पनाको विषय छ । आइन्स्टाइन भन्छन्, ‘कल्पना ज्ञानभन्दा शक्तिशाली हुन्छ ।’ त्यही कल्पनाको शक्तिले मान्छेले अन्तस्तारकीय यात्रा गर्ने दिन पनि धेरै टाढा मान्दैन । अन्तस्तारकीय यात्राको कल्पनामा आधारित थुप्रै विज्ञान कथा र विज्ञान चलचित्रहरू निर्माण भएका छन् । त्यस्तै काल्पनिक कथामा आधारित उपन्यास हो ‘मनको उडान’ ।

अन्तस्तारकीय यात्राका लागि सबभन्दा ठूलो चुनौती भनेको पृथ्वीदेखि ताराहरूसम्मको दूरी हो । सूर्यबाट सबभन्दा नजिक रहेको तारा ‘प्रोक्सिमा सेन्टाउरी’ हो । अहिलेसम्मको वैज्ञानिक खोजका आधारमा प्रोक्सिमा सेन्टाउरीसम्म पुग्न करिब एक लाख वर्ष लाग्न सक्छ । किनकि ताराहरूबीचको दूरी पार गर्न अत्यन्त तीव्र गतिको यान आवश्यक छ । अहिलेसम्म नासाको ‘पार्कर सोलार प्रोब’ले अधिकतम १५० किलोमिटर प्रतिसेकेण्ड दूरी पार गरेको रेकर्ड छ । ‘मनको उडान’मा वर्णित बलभद्र यानले भने प्रक्षेपणको समयमा १५.२ किलोमिटर प्रतिसेकेण्ड र सौर्यमण्डल छाड्दा दुई लाख किलोमिटर प्रतिसेकेण्ड दूरी पार गरेको उल्लेख छ । जुन सौर्यप्रकाशको गति ३ लाख किलोमिटर प्रतिसेकेण्डको दुई तिहाई हो । यति तीव्र गति प्राप्त हुने सूत्र अहिलेसम्म विज्ञानले पाइसकेको छैन । उपन्यासकारले दिएको प्लुटोनियम २३८ अक्साइडको सूत्र कति वैज्ञानिक छ त्यो वैज्ञानिकहरूले नै भन्न सक्लान् ।

अबको पाँच शताब्दीपछि सन् २५३५ मा बलभद्र यानको यात्रा सुरु भएको कथा मनको उडानले भन्छ । यस उपन्यासले विज्ञान कथामा बिरलै पढ्न पाइने नेपाली परिवेशलाई चाखलाग्दो गरी प्रस्तुत गरेको छ । उपन्यासले नेपाली पारिवारिक संरचना र सामाजिक मनोविज्ञानलाई पनि प्रस्तुत गरेको छ ।

अहिलेसम्म अन्तरिक्ष अनुसन्धानमा कुनै उल्लेख्य काम गर्न नसकेको र चारैतिर चरम निराशा भोगिरहेको नेपाल अबको पाँच शताब्दीपछि पृथ्वीका सबै देशलाई पछि पारेर अन्तरिक्षमा एक नम्बर देश भएको कल्पना अहिलेको धरातलमा उभिएर हेर्दा असम्भव भन्दा पनि पर हो । त्यो कल्पनातीत सफलतामा विश्वास दिलाउन उपन्यासकारले देशको राजनीति सुधार्ने प्रयास गरेका छन् । उनले उपन्यासमा अहिले हामीले भोगिरहेजस्तै राजनीतिक दुरवस्थाको चित्रण गरेका छन् । त्यो दुरवस्थाबाट मुक्त गराउन उपन्यासकारले एक नायक खडा गरेका छन्, वल्लभमणि । वल्लझमणिले क्रान्तिकारी यो जना लागु गराएर देशलाई संसारकै शक्तिशाली देश बन्ने बाटो खोलिदिन्छन् । उनकै सपनामा आधारित अन्तरिक्ष यो जनामा नेपाल होमिन्छ र त्यसमा पनि विश्वका सबै देशलाई नेपालले पछि पार्छ । अन्तमा तय गरिन्छ सौर्यमण्डलबाहिर जीवन खोज्ने अभियान । उक्त अभियान ‘प्रोक्सिमा सेन्टाउरी’ लक्षित यो जना हुन्छ । त्यो यो जनाका लागि तयार हुन्छ बलभद्र यान ।

बलभद्र यानमा यात्रा गर्ने यात्रीहरू अशोक र अम्बिका दम्पती हुन्छन् । त्यो दम्पतीको प्रेम र दाम्पत्य कथामा पनि उपन्यासकारले प्रशस्त पन्ना खर्चिएका छन् । जैविक नभए पनि साख्खै भावनात्मक दाजुबहिनीको उपन्यासमा बिहे गराइएको छ । अन्तरिक्ष यात्रामा पनि उनीहरूले आफ्ना बाल्यकाल, यौवन र वैज्ञानिक जीवनका सम्झनाहरू गरिरहन्छन् । अन्तरिक्ष यात्राको सबभन्दा ठूलो घुम्ती त्यहाँ छ, जतिबेला अशोक र अम्बिकाले पत्ता लगाउँछन् कि अहिलेसम्म आशा गरिएको प्रोक्सिमा सेन्टाउरी तारामण्डलमा मानव जीवन सम्भव हुने वातावरण भएको कुनै ग्रह छैन । १४ वर्षमा यात्रा पूरा गरी फर्किनुपर्ने उनीहरूको लक्ष्य हुन्छ तर उनीहरूको यात्राले कुनै उपलब्धि हासिल नगर्ने, यात्राका लागि गरिएको लगानी खेर जाने बोध भएपछि दम्पतीबीचमा विवाद हुन्छ अब के गर्ने ? भन्ने विषयमा । अशोकले रित्तो हात फर्किनुभन्दा अर्को तारामण्डल ‘ओमेगा एन्’ तिर गएर जीवन सम्भव हुने ग्रहको खोजी गर्ने प्रस्ताव राख्छन् तर अम्बिकाले त्यसो गर्नु आफूहरूको जीवनका लागि खतरनाक हुने भन्दै रोक्न खोज्छिन् । अन्तमा अशोकले अम्बिकालाई सहमत गराउन सफल हुन्छन् । त्यसपछि उनीहरूको यात्रा निर्धारित लक्ष्यबाट अनिश्चित लक्ष्यतर्फ केन्द्रित हुन्छ । त्यो अन्यौलपूर्ण र अनिश्चित यात्राले पाठकलाई अन्त्यसम्म तान्ने आकर्षण बल सृजना गर्छ ।

पृथ्वीसँग अनभिज्ञ उक्त यात्राको अन्त्य सुखद हुन्छ । उनीहरू ११.४ प्रकाशवर्ष टाढा रहेको विवश्वान तारामण्डलमा रहेको पुषण सौर्यमण्डलमा पुग्छन् । जुन पुषण मण्डल ठ्याक्कै सौर्यमण्डलजस्तै हुन्छ । त्यही पुषण मण्डलका ११ ग्रहमध्ये एउटा ग्रहमा उनीहरूले जीवन भेट्टाउँछन् । जुन ग्रहको नाम उनीहरूले छोरीको नामबाट राख्छन् ‘बिनु ४’ ।

उनीहरूको यात्राको सबैभन्दा जटिल मोड त्यतिबेला आउँछ जब अम्बिकाले अनिश्चित गर्भधारण गर्छिन् । गर्भ रहन गएपछि अम्बिकाले गर्भपतन नगराउने बरु छोरा जन्मे अर्कोपटक छोरी, छोरी जन्मे अर्कोपटक छोरा जन्माउने इच्छा व्यक्त गर्छिन् । अम्बिकाले उक्त नयाँ ग्रहमा आफ्ना छोराछोरीमार्फत मानव वंश विस्तार गर्ने अभिलाषासहित अहिलेसम्म मान्दै आएको धर्म, कानून र परम्पराका विरुद्ध धारणा राख्दै भन्छिन्, ‘अहिले संसारमा भएका मानिसहरू एउटै जोडीका सन्तान होइनन् र ?’

अम्बिकाले अपेक्षाविपरीत जुम्ल्याहा छोरी जन्माउँछिन् । बलभद्र यानको क्षमता दुई जनाको मात्रै हुन्छ । पृथ्वीमा उनीहरूमध्ये एक जना मात्रै फर्किनुपर्ने बाध्यता सृजना हुन्छ । को पृथ्वीमा फर्किने? भन्ने निर्णयको सकस हुन्छ । अशोक र अम्बिकाबीच पृथ्वीमा फर्केर उनीहरूको उद्धारका लागि अर्को यान लिएर आउने विषयमा म म को विवाद हुन्छ । अन्तमा बावु छोरीलाई ‘बिनु ४’ मै छोडेर अम्बिका पृथ्वी लक्षित अनिश्चित र जोखिमपूर्ण यात्रामा निस्कन्छिन् । उपन्यासले उनी पृथ्वीमा पुगे नपुगेको रहस्य खोल्दैन ।

उपन्यासमा उपन्यासकारले राजनीति सुध्रिने हो भने अबको पाँच शताब्दीपछि नेपाल संसारलाई हरक्षेत्रमा नेतृत्व गर्न सक्षम हुन्छ भन्ने कुरामा पाठकलाई विश्वस्त पार्न प्रयास गरेका छन् । आजभन्दा पाँच शताब्दीपछिको नेपालको चित्र देखाउन उनले निर्माण गरेको परिवेश पनि तारिफयोग्य छ । अनेक यन्त्रहरूले घेरिएको जीवनको कल्पनाबीच पनि उनले मानवीय संवेदनालाई जीवित राखेका छन् । यसैगरी विज्ञान कथाका लागि वैज्ञानिक तथ्यहरूको समान्जस्यतामा पनि उनको मिहिनेत झल्किन्छ । अहिले जीवन खोजी भइरहेको मङ्गल ग्रहलाई उपन्यासमा तारकीय यात्राका त्रममा आराम गर्न उपयोग गर्न सकिने ग्रहका रूपमा मात्रै सीमित गरिएको छ । त्यहाँ पृथ्वीको जस्तो जीवन सम्भव नहुने भविष्यवाणी गरिएको छ ।

पूरै कल्पनाको प्वाँख हालेर उडिएको उपन्यास नेपालमा सङ्घीय प्रणाली लागु हुनभन्दा पहिले रचना गरिएको उल्लेख गर्दै उपन्यासकारले दावी गरेका छन्, ‘मैले नेपालमा सात प्रदेशहरूको बयान गरेको थिएँ, पछि देशमा सातै प्रदेशहरूको व्यवस्था हुनुका साथै प्रदेशहरूका नाम पनि सुदूरपश्चिमबाहेक मैले राखेकै नाम ठ्याक्कै उही हुन पुगेका छन् । .. यस्तै शिशु ग्रहहरूको बयान गर्दा सिरस नामको सबभन्दा ठूलो शिशु ग्रहमा पानीको बाफ रहेको लेखेको थिएँ, पछि सन् २०२० मार्चमा नासाले पनि त्यसमा पानी रहेको पुष्टि गरेको छ ।’

यी संयोगहरू संयोग मात्रै पनि हुन सक्छन् तर उपन्यासले टेकेको वैज्ञानिक धरातलले विषयलाई हलुका बन्न दिएको छैन भन्ने मलाई लाग्यो । ती तथ्यको आधिकारिकता र कथाको सही वजन तौलन अन्तरिक्ष विज्ञानका ज्ञाताहरूले उपन्यासमा दृष्टि पुर्‍याई  निसाफ गरिदिऊन् भन्ने अपेक्षा छ ।

‘मनको उडान’ मा उपन्यासकार भ्याएसम्म फैलन खोजेका छन् । पारिवारिक, सामाजिक र राजनीतिक परिवेशका साथै उनी भौतिक विकासको डिजाइनरका रूपमा समेत प्रस्तुत हुन खाजेका छन् । उनले प्रविधिको चरम विकास भइसकेको समयको कल्पना गर्दै सहमानवसम्मलाई उपन्यासमा पात्र बनाएका छन् तर विज्ञानको त्यति चरम विकास भइसक्दा त्यसले पर्यावरणमा पार्ने प्रभावप्रति भने मौन छन् ।

नेपाली साहित्यमा विज्ञानसम्बन्धी आख्यानको अभाव छ । त्यसमाथि आधुनिक अन्तरिक्ष र ब्रह्माण्ड विज्ञानमा आधारित आख्यान कृतिहरू त दुर्लभ नै छन् । अधिकांश विज्ञानसम्बन्धी कृतिहरू बालसाहित्य छन् । साहित्यकार विजय चालिसेका अनुसार विज्ञान कथामा कलम चलाउने प्रथम नेपाली साहित्यकार शङ्कर लामिछाने हुन् । उनले टेस्टट्युव शिशुको विषयवस्तुलाई लिएर ‘माया नं ६५३’ लेखे । मस्तिष्क प्रत्यारोपणलाई विषयवस्तु बनाएर उनले अर्को कथा ‘ऊ कसको हो?’ लेखे । चालिसेका अनुसार नेपाली कथा साहित्यको विकासक्रम हेर्दा मैनाली–वीपी, गोठाले–मल्ल–भीक्षु–विष्ट–विकल पछिको तेस्रो पुस्ताका कविताराम र सरूभक्त विज्ञानकथाको क्षेत्रमा सर्वाधिक समर्पित प्रतिभा हुन् र बाल साहित्यलाई छाड्ने हो भने विज्ञान कथा र उपन्यासका सिङ्गो कृति नै प्रकाशित गर्ने सम्भवतः यिनै दुई जना साहित्यकार देखा पर्छन् । कवितारामका ‘अश्वत्थामा उवाच’, ‘गिनीपिग’, ‘२०३५’ र ‘र्फ्याङ्केस्टाइन’ आदि कथाका साथै ‘स्वभावीगठन’ शीर्षक उपन्यास प्रकाशित देखिन्छन् भने सरूभक्तका ‘एक अभियानको आत्मकथा’ विज्ञान उपन्यास र ‘छोरी’ ब्रह्माण्ड विज्ञान कथा र ‘विज्ञान कथा’ कृति प्रकाशित छन् । चालिसेकृत ‘मङ्गल ग्रहमा विज्ञान’ बालविज्ञान उपन्यास पनि प्रकाशित छ । यीबाहेक विज्ञान कथामा आधारित उल्लेख्य आख्यानहरू नेपाली साहित्यमा आइसकेका छैनन् । त्यसमा पनि ब्रह्माण्ड यात्रा र अन्तस्तारकीय यात्रा कथामा आधारित सम्भवतः नेपाली साहित्यको पहिलो उपन्यास हो ‘मनको उडान’ ।

साहित्यिक मूल्यमा यो उपन्यास कति सोझो उभियो भन्ने कुरा साहित्यका समालोचकहरूकै जिम्मामा । एक विज्ञान कथा प्रेमी र विज्ञानमा रुचि राख्ने पाठकका लागि यो एक सङ्ग्रहणीय र पठनीय कृति हो भनेर भने भन्न सकिन्छ तर साहित्यको सामान्य पाठकको आँखाबाट हेर्दा पनि उपन्यासमा केही हुनै नहुने र केही नभइदिएको अपेक्षा गर्न सकिने त्रुटिहरू फेला पर्छन् ।

सबैभन्दा पहिले यो कृतिप्रति प्रकाशनगृहले वा भाषा सम्पादकले हेलचक्र्याइँ गरेका हुन् कि ? भनेर प्रश्न गर्न सकिने ठाउँहरू छन् । उपन्यासको पहिलो अक्षरमै अशुद्धि छ । उपन्यासभरि अशुद्ध शब्दहरूको भरमार छ । भाषा सम्पादकमा आदरणीय पुरु लम्साल दाइको नाम छ । दाइ तपाईँको नामजस्तो यसमा काम देखिएन कि भन्ने यो भाइको शुभेच्छालाई अन्यथा नलिनु होला ल । यसका साथै लेखक स्वयंले पनि कृतिलाई छपाउन हतार गरेजस्तो महसुस मलाई भयो । यदि लेखक स्वयंले प्रकाशनमा पठाउनुपूर्व पुनर्लेखन गरेको भए वा आफ्ना विश्वासिला साथीहरूको सुझाव लिएको भए कथाले योभन्दा मीठो र आकर्षक लेपन पाउँथ्यो होला । कतिपय ठाउँमा अति वर्णन र अनावश्यक शब्दविन्यासले पाठकहरूलाई पट्यार लगाइदिन्छ । प्रस्तुतिमा पनि छरितोपन ल्याउन लेखक स्यवंले ध्यान दिएनन् भन्ने महसुस भइराख्छ । प्रकाशन गृहले पनि एकपल्ट ठोस सुझावसहितको पुनरवलोकन गर्न लगाएको भए धेरै कमजोरीहरू सुध्रिएर आउने थियो होला । प्रकाशन गृहले अलि कमै महत्त्व दिएको हो कि भन्ने महसुस पुस्तकको आवरण हेरेरै हुन्छ । विज्ञान कथा त्यसमा पनि अन्तस्तारकीय यात्राको उपन्यासको आवरणमा विषयवस्तुको कुनै झल्को नै पाइँदैन । अत्यन्त हल्का र कतै खिचिएको फोटोलाई हतारहतार आवरणमा राखिएको महसुस हुन्छ । सायद आवरण निर्माणकर्ताले उपन्यास पढ्नुभएन, नपढेपनि कम्तीमा कथाको सारसमेत जान्न खोज्नु भएन । ‘मनको उडान’ नाम मात्र हेरेर हत्तपत्त आवरण हाल्नुभयो कि भनेर शङ्का गर्न पाइन्छ होला नि है ? हुन त उपन्यासको नाम मै पनि एकपल्ट राम्ररी घोत्लिएको भए यसभन्दा राम्रो नाम जुर्थ्यो कि ? पढिसकेर आवरण हेर्दा नाम मे भि कुछ रख्ना आवश्यक होता है भन्ने महसुस भयो । प्रकाशनमा जानुअघि लेखकले सके अरूको सुझावबाट नभए आफैँ सामान्य समीक्षक बनेर छाँटकाँटमा समय दिन सकेको भए क्या गजब हुन्थ्यो ।

यसका साथै कथा बुनोटमा अस्वाभाविकता र पात्रको चरित्र चित्रणमा विरोधाभाष पनि पाठकलाई महसुस हुन सक्छ । शिक्षक र वैज्ञानिक भइसकेको पात्रले कुनै–कुनै बेला अत्यन्त साधारण विषयको पनि ज्ञान नराखेको प्रसङ्गले त्यति मजा दिँदैन । पाठकलाई कथावस्तु बुझाउने क्रममा पात्रलाई उनले अस्वाभाविक रूपमा अज्ञानी बनाएको भान हुन्छ । शासक अलि बढी निरङ्कुश हुनुपर्ने र राम्रो कामका लागि स्वतन्त्रतालाई गौण मान्ने विचारले उपन्यासकार निर्देशित भएको महसुस वल्लभमणिले यौनकर्मी महिला र दुर्व्यसनी पुरुषहरूको जबरजस्ती बिहे गराएको प्रसङ्गले बुझिन्छ । मलाई चाहिँ त्यो चित्त बुझेन ।

उपन्यासमा ढिलो गरी आएका मोडहरूलाई लेखकले अझ बढी स्वाभाविक र सनसनीपूर्ण बनाउन सक्थे होलान् । त्यसै पनि अन्तरिक्ष यात्रा सनसनीपूर्ण यात्रा हो । त्यसको प्रस्तुतिमा सुधार गर्न सकिने धेरै ठाउँ छन् । निर्धारित लक्ष्यबाट अर्को लक्ष्यतर्फ लाग्दा र जीवन भएको नयाँ ग्रह फेला पार्दा झल्किनुपर्ने मानवीय संवेदना त्यति झल्किएन कि ?

उचित निसाफ विज्ञानशास्त्र ज्ञाता र साहित्यशास्त्र ज्ञाताबाट आशा गर्दछु । समग्रमा अन्तरिक्षमा रुचि राख्ने पाठकहरूका लागि यो उपन्यास रोचक हुन्छ भन्ने मेरो विश्वास छ । कमी कमजोरी त सुधार्न पनि सकिएला नि ?