
धेरैवटा कृतिहरू एकपटक पढेपछि फर्केर हेरिँदैन । त्यो निजी पुस्तकालयको शोभाजस्तो मात्र बनेर लहरमा उभिन्छन् । कति कृतिहरू समय-समयमा पल्टाएर हेर्नुको आनन्द अलग्गै हुन्छ । कति कृतिहरू आवश्यकताले पनि पल्टाइरहनुपर्छ । एक जना सचेत पाठकको हैसियतले ती कृतिहरू पढेपछि त्यसमाथि केही लेख्दिनु धर्म हो जस्तो पनि लाग्छ । यसरी लेखिँदा राम्रा कृतिहरूको सूचना, विमर्श र चर्चा थप सुधी पाठकहरूमा पुग्छ । यसरी एउटा सर्जकको मूल्याङ्कन पनि हुँदै जान्छ । हाम्रो साहित्यमा यसरी कृतिमाथि चर्चा र विमर्श गर्ने संस्कृति अझ राम्ररी हुर्केको छैन । पुस्तक निरूपणसमेत नपाएका कति राम्रा कृतिहरू ओझलमा छन् । समीक्षा र समालोचना जस्तो कुरो त परैको भयो । धेरै सर्जकहरूका कृतिहरू यसरी पाठकीय प्रतिक्रियासमेत नपाउँदा सर्जकहरू निराश र हतास बनेको पाइन्छ । कति राम्रा कृतिलाई यसरी उज्यालामा ल्याउनुको फरक फरक अनुभूति छ मेरो ।
प्रिय पाठकवृन्द! आज यसै क्रममा म छु सन् २०१९ मै प्रकाशित बनी सार्वजनिक गरिएको कृति ‘कालकुण्ठा’ बारे समीक्षात्मक परिचर्चामा । यसका कवि हुन् श्री गोकुल रसाइली । साहित्यिक उर्वरता रहेको भूमि मिरिकले जन्माएको एक कुशल कवि हुन् उनी । फाटाकफुटुक कथा, निबन्ध आदि लेखे पनि उनी कविता सिर्जनमै खिप्ती लाउँछन् । कविताको कार्यक्रममा कविता सुन्न र सुनाउन पुग्छन् । उनले कवितालाई निकै इमान्दारीसित लिएका छन् । कवितासित साँच्चै गम्भीर पनि छन् । कवितालाई सामाजिकताको सापेक्ष हेर्छन् अनि आफूलाई यसैमा उभ्याउन सक्दो प्रयास गर्छन् । यसैले उनी कविताको विषयचयन र शिल्पकारितामा सन्तुलन बनाउन सक्षम छन् । आउनुहोस् कविबारे पहिले अलकति जानौँ :

जय ‘क्याक्टस’ (भारत)
पिता मनबहादुर रसाइली अनि माता रतिनमाया रसाइलीको कोखबाट २० सितम्बर १९६७ मा मिरिकमा जन्मिएका कवि गोकुल रसाइलीको प्राथमिक शिक्षा थर्बु प्राथमिक पाठशाला, मिरिकबाट आरम्भ भएको हो । उनले मिरिक उच्चत्तर माध्यमिक विद्यालयबाट सन् १९८३ मा माध्यमिक उत्तीर्ण गरे । त्यसपछि दार्जीलिङ सरकारी महाविद्यालयबाट १९८७ मा स्नातक उत्तीर्ण गरे । लगत्तै सन् १९९१-९२ मा रामकृष्ण बि.एड. कलेजबाट बि.एड. पनि उत्तीर्ण गरे । हाल सुकना उच्चत्तर माध्यमिक विद्यालयमा अध्यापन गरिरहेका कवि गोकुल रसाइली साहित्यसितै फूलखेतीमा पनि मनग्गे रमाउँछन् । सामाजिक कार्यमा आफूलाई व्यस्त राख्छन् ।
सानैदेखि साहित्यमा अभिरुचि राख्ने कवि गोकुल रसाइलीको पहिलो रचना मिरिक उच्चत्तर माध्यमिक विद्यालयबाट प्रकाशित हुने पत्रिका ‘लङ्कासानी’मा सन् १९८० मा ‘चोइटा’ शीर्षक कविता प्रकाशित भएको थियो । सुरुमा उनी कथाहरू पनि लेख्थे जो केही पत्रपत्रिकामा प्रकाशित छन् । उनका फुटकर कविताहरू हिमालचुली, अब, सुनचरी, हिमालय दर्पण आदि दैनिकतिर पनि प्रकाशित पाइन्छन् । त्यसबाहेक कतिवटा सिर्जनाहरू साहित्यिक पत्रिकाहरू आस्था, अर्को घुम्ती, निष्कर्ष, टाकुरा, साहित्य सुनौँ परिवार, स्पन्दन आदितिर पनि प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘कविता’ मा पनि उनका कविता संलग्न छन् । कृतिका रूपमा भने उनको पहिलो कृति ‘मृदुला’ कवितासङ्ग्रह सन् १९९५ मा प्रकाशित भएको थियो । त्यसपछि दोस्रो कविता कृति ‘यथाक्रम’ कवितासङ्ग्रह सन् २०१२ मा प्रकाशित भएको हो । यहाँ परिचर्चामा उठाइएको कृति हो ‘कालकुण्ठा’ तेस्रो कवितासङ्ग्रह जो सन् २०१९ मा प्रकाशित भएको हो । यसको परिचर्चा उत्तिखेरै लेखिनुपर्ने हो । जे होस् विलम्बैसित भए पनि यस कृतिका काव्यिक उत्खननमा लागिपरेको छु ।
बहुप्रतिभाले सम्पन्न कवि-चित्रकार रवि रोदनको सुन्दर आवरणले सुसज्जित कविता कृति ‘कालकुण्ठा’ ४४ वटा लामाछोटा कविताहरूको सङ्ग्रह हो । यसमा आदरणीय समालोचक जस योञ्जन ‘प्यासी’, अर्जुन प्रधान, डा. चन्द्रकुमार राई अनि प्रा. मेघनाथ छेत्रीले कवि गोकुल रसाइलीका समग्र कविताहरूलाई नै निफन्दै व्यापक विश्लेषणसहितको भूमिकारूपी ‘समीक्षात्मक आलेख’ नै लेखिदिएका छन् । यसमा थप मिरिककै अग्रज स्रष्टा कमला राईले ‘शुभकामना’का हरफ पनि थपिदिएकी छन् । यस हिसाबले भूमिकामै चारवटा मूल्याङ्कनपरक कविता विमर्श समाहित हुनु यो कृतिले बलियो घडेरी पाउनु हो जस्तो लाग्छ । यसैले यो कृति परिचर्चा एउटा सम्पूरक जस्तो मात्र हुनेछ ।
‘कालकुण्ठा’ कृति नामलाई केलाउँदा यसले दुई अर्थीय भाव वहन गरेको पाइन्छ । कोशीय अर्थ अर्थात् अभिधात्मक अर्थमा यसले आजको समयले भोगिरहेको अभाव, अप्राप्ति, अवसाद, विसङ्गति तथा अभिव्यक्तिको असमर्थतामा पिरोलिरहेको मानसिक स्थितिलाई बुझाउँछ भने लाक्षणिक अर्थमा यसले समयसित अघि बढिरहेको सभ्याता, समाज, अनि विश्वग्रामले खपिरहेको राजनीतिक, आर्थिक, सांस्कृतिक परिवेश सापेक्षित मानवीय संवेग र संवेदनको विद्रुत स्थितिलाई दर्साउँछ । आजको परिवेशमा हुर्किरहेको आस्थाको हत्या, मानवीय संवेदनहीनता, अस्थिर मान्यता आदिले सिर्जित सामाजिक सङ्घटना र त्यसका प्रभावहरूमा आजको मान्छेले बाँचिरहेको कुण्ठाग्रस्त क्षणहरूको काव्यिक अभिव्यक्ति नै कृति ‘कालकुण्ठा’को मूल स्वर हो । यसैले कृतिका कवितामा ‘काल’ले आजको समयलाई सम्बोधन गरेको छ भने कुण्ठाले आजको मान्छेले बाँचिरहेको सामाजिक सत्यलाई निर्वाह गरेको छ ।
समाज शास्त्रीय अध्ययनमा के देखाइएको छ भने मान्छे सामाजिक प्राणी हो अनि मान्छेको समाजले मात्र समय अर्थात् काललाई बोध गर्न सक्छ । यसैले कालको गतिसितै समाजको रूपान्तरण हुँदै आएको हो । यसो भनौँ समाज परिवर्तनमा समयले महत्त्वपूर्ण भूमिका खेल्दछ । यसैले ‘समाज र समय’को अन्तःसम्बन्धबारे अध्ययन धेरै पुरानो हो । पौराणिक पूर्वीय या पाश्चात्य दर्शनले यसमाथि जुन अवधारणा निर्माण गरेको थियो त्यसमाथि मार्क्स, कान्ट, दुर्खिम किर्केकार्ड, हस्रेल, आइन्सटाइन हुँदै हाइजेनवर्ग आदिले नयाँ प्रकारको अवधारणा सिर्जना गरे तर जब सर आइजक न्युटनले ‘भौतिक समय’को नयाँ सिद्धान्त प्रतिपादन गरे तबदेखि आधुनिक समाजको कालिक चेतनामा पनि व्यापक परिवर्तन आयो ।
यसबारे थप बुझ्न ब्रिटिस समाजशास्त्री बार्बरा एडमको अध्ययनलाई हेर्न सकिन्छ । उनले सन् १९९० प्रकाशनमा ल्याएको Time and Social Theory मा समय अनि समाजको अन्तःसम्बन्ध केलाउँदै यसो भनेकी छन्- “time is always social time because only human regulate and organise their lives by time. Only they conceptualise time. Only they use, control, allocate, and sell their time. Only they lead an “in time” existence and create their own history and future.” (p. 154) कृति ‘कालकुण्ठा’को यो काल अर्थात् समय पनि यसैले ‘सामाजिक समय’ रूपको छ । किनकि यसका कविताहरूले मानव समाजको एकाङ्क ‘गोर्खा जाति’को सामाजिक यथार्थलाई कालिक बोधनसित प्रस्तुत गरेको छ । कालकुण्ठाका काव्यिक चेतना र अभिव्यक्ति आजको हाम्रो सामाजिक समय हो भनी किटान गर्न सक्छौँ ।
कृतिका कविताहरूमा आजको कालखण्डमा हाम्रो समाजमा व्याप्त प्रतिनिधि ‘कुण्ठा’हरू चिन्न सहजै सकिन्छ । सबैभन्दा स्पष्ट देखिने पहिलो ‘कुण्ठा’ हाम्रो जातीय राजनीति, तथाकथित आन्दोलन अनि विकासको नाममा चलिरहेको भ्रष्टाचार र दुर्नीतिहरूको चलखेल हो । आज स्थानीयदेखि वैश्विक परिप्रेक्ष्यमै हेर्दा पनि राजनीतिले हरेक मान्छे अनि समाजलाई सोझो प्रभाव पारिराखेको छ । हरेक कुरोमा राजनीतिक हस्तक्षेपको नकारात्मक प्रभाव देखिन्छ । मान्छेको सबैभन्दा ठूलो शक्ति पनि अनि कमजोरी पनि राजनीति बनिसकेको छ । सत्ता र विपक्षको चलखेलमा सधैँ साधारण जनता पिसिएको हुन्छ यो नै व्यष्टिदेखि समष्टि हुँदै ‘कालकुण्ठा’ बनिसकेको छ । कृतिको पहिलो कविता ‘झन्डा’ले भन्छ :
सुटुक्कै कुन गल्लीबाट
पसेछ यो झन्डा
कुटनीतिको कम्बल ओढेर
थाहै भएन कसैलाई पनि ।
झन्डाको भुसतिघ्रे फुकुसहरूले
व्यवधानको बारी जोतेर उमारेको
विषको बाली पारदर्शी कराहीमा पकाएर
हाम्रो थाल थालमा पस्किदिएछ
हामी खाँदैछौँ, हामी पिउँदैछौँ
कोढ लागेका हातहरूले समातेर
झन्डाको झोल र भात
‘विनाशकाले विपरीत बुद्धिः’को
पिरामा बसेर रमाई रमाई । (पृ. ३१)
अर्को कविता ‘गिताङ्गे डाँडा’लाई नियालौँ-
तिम्रो फैलावटको व्याप्त आँगनमा उभिएर
कत्तिले त घाम झार्छु भने, जून ल्याउँछु भने
अरू थोक केक्के-केक्के भनेर कस्ता ठूला नेता भए
अनि दार्जीलिङको निधारमा
एउटा कहालीलाग्दो स्थितिको बेग्लै इतिहास लेखेर
संविधानका धाराहरू, उपधाराहरू व्याख्या गर्ने
तथाकथित नेताहरू वेपत्ता भए
तरै पनि तिमी
आदिकालदेखि ठिङ्ग उभिएका छौ
सफलताको एउटै अध्यायमा इतिहास कोर्ने
अर्को ढँटुवारेको प्रतीक्षामा
चिसो ठिही सहेर । (पृ. ९४)
आज राजनीतिको निकृष्टता हाम्रो आँखाअघि छर्लङ्ग छ । सबैतिर यो खत्तम राजनीतिसित उदाएको दुर्नीति र भ्रष्ट शासन-व्यवस्थाले जन्माएको ‘कुण्ठा’ले सबैभन्दा धेर प्रभावित देशका युवाहरूलाई पारेको छ । अवसरहरू समाप्त भइसकेका छन् । योग्यताको कुनै कदर छैन । सर्टिफिकेटको कुनै मूल्य छैन । एकमुठ्ठी राजनीतिक प्रभावमा रहेका अनि सत्तासीन व्यक्तिहरू भाइ-भतिजावादमा व्यस्त छन् । राजनीतिको पर्याय नै भ्रष्टाचार बनिसकेको छ । यस्तोमा युवाहरू राम्रो अवसरको खोजीमा ‘पलायन’ बनिरहेका छन् । यो पलायनको पीडा आज वैश्विक बनिसकेको छ । यसैले पनि जन्माएको हो ‘डायस्पोरा साहित्य’ ।
हाम्रो जातिको राजनीतिक असफलताको इतिवृत्त पनि बताइरहन पर्दैन । हाम्रा युवाहरू पनि आज परदेशतिर पुग्नुपरिरहेको अवस्था छ । कृति ‘कालकुण्ठा’ले यसलाई धेरै महत्त्वका साथ उठाएको छ । जब देशका अर्थात् गाउँका युवाशक्ति नै पलायन भएपछि त्यो ठाउँ वा गाउँले कसरी प्रगति गर्न सक्ला? वैश्विक देखिएको यो समकालीन ‘प्रतिभा पलायन’ अर्थात् ‘Brain drain’ ले निम्नमध्यम वर्गीय समाजलाई सोझै प्रभावित गरेको छ । हाम्रो जस्तो विकाशोन्मुख देशबाट विकशित देशतिर बिदेसिने क्रम ग्रामस्तरमा पनि छ । कृति कालखण्डका कविताहरू ‘एक दिन त आउँछु’, शृङ्खला कविता ‘पलायन छोराहरू -१,२,३’, ‘ऊ लाग्यो परदेश’ र ‘मोर दिदी कहिया घर आवी’ जस्ता कवितामा यसरी सामयिक मुद्दालाई महत्त्वका साथ उठान गरिएको छ-
छोराहरू पलायन भएको हेर्ने
व्यवस्था आँखाहरू
स्वार्थको सिरक ओढेर
सम्पन्नताको पलङमा
कुम्भकर्णको निद्रा सुतेका छन्
जहाँबाट अप्राप्तिको ठिही तापिरहेकाहरूले
न्यानोको अपेक्षा साँच्नै सक्तैनन् । -पलायन छोराहरू-३ पृ. ५४
हाम्रो ‘सामाजिक समयसित गाँसिएर आएको अर्को मुद्दा छ विशाल भारतको छहारीमा छ्यार परेको हाम्रो जातीय अस्मिता, राष्ट्रिय पहिचान अनि संवैधानिक सुरक्षाको प्रश्न । तथाकथित जातीय मुक्तिको आन्दोलनले शताब्दीको कालखण्ड पार गरे पनि हाम्रो आकाङ्क्षा र अभिलाषाले साकार रूप देख्न नपाइरहेको वास्तविकता यथावत् छ । आन्दोलनको चरममा पुगेर, दर्जनौँ जातिप्रेमी अर्थात् माटोप्रेमी सहीद बनेर अनि कैयौँ बैठक र गोष्ठीको निष्कर्षमा पुगेर पनि फेरि लुडोको खेलमा साँपको मुखमा परेजस्तै भई आन्दोलन शून्यमा आइपुग्नुको पछि के कारण छ? कि हाम्रो आन्दोलनको औचित्य नै छैन? कि हाम्रो आन्दोलनको बाटो नै सही छैन? कि हामीमा सम्पूर्ण समर्पणको अभाव छ? कि हाम्रो नेतृत्वमा कमजोरी छ? यी सब विषयमाथि पुनर्मन्थन हुनु जरूरी छ । जातीय कवि अगमसिंह गिरीले लेखेकै पीडा दोहोऱ्याइरहनु कविहरूले? आजका हरेक कविसित भएको प्रश्न हो यो । यसबाट कवि गोकुल रसाइली पनि अछुत छैनन् । कृति ‘कालकुण्ठा’भित्र यो जातीय कुण्ठाको रूपमा प्रस्फुटित छ । कविले एकातिर यस अस्मिताको प्रश्नलाई जीवनकै पर्यायको रूपमा स्वीकार गरेर ‘लड तिमी लड’ जस्ता कविता सिर्जना गरेका छन् भने अर्कोतिर यसरी आक्रोस व्यक्त गर्छन् :-
घर बनाउनुपर्छ भन्नेले
घडेरी नै बेचेर
कता हिँडे होलान् नि?
ती ताँतीहरू
कता गए होलान् नि?
डाँडामाथि उभिएर
घाम समात्नै लागेका छौँ
भन्ने स्वाभिमानीहरू
स्वाभिमान नै बन्धक राखेर ।
………………..
अक्षरहरूका रूखमा झुन्डिएर
आत्महत्या गरेछन्
साले नपुङ्सक युद्ध लड्नेहरू । – सपनाका दृश्यहरू-२, पृ. ८७
यसबाहेक कृतिका अन्य कविताहरू ‘रामसिंह ठकुरी चौक’, ‘मेरो दार्जीलिङका कथाव्यथाहरू’, ‘बदनाम इतिहासको पानाभित्र’, ‘दार्जीलिङ’, ‘अब निर्णायक युद्ध लडौँ’, ‘मङ्गले बराजु-१र२’, ‘चौतारो-१,२,३ मा यो जातीय अस्मिताका प्रश्न र सङ्घर्षलाई केलाइएको छ । भारतीय नेपाली कविताको फरक धारमा देखिने यी कविताहरूले सामाजिक समयका एउटा छुट्टै अध्यायलाई सम्बोधन गरेको छ ।
कवि गोकुल रसाइलीले सञ्ज्ञान उठाएको अर्को हाम्रो सामाजिक कुण्ठाको विषय हो ‘चियाबारीको यथार्थ’ । भारतीय नेपाली साहित्यमा चियाबारी साहित्यको अलग्गै डिस्कोर्स तयार भइसकेको छ । यसमा थप उनी चियाबारीकै उपज हुनाले उनले चियाबारीका समस्या र पीडालाई सहजतासित बोध गर्दै त्यसलाई एकाधिक काव्यिक स्वरूपमा सजाएका छन् । बजार तथा सहरको विपरीत उनले जुन ग्रामीण विम्बलाई कवितामा सजाएका छन् वास्तवमा त्यो चियाबारीकै अर्को प्रक्षेप हो ।
समय र सभ्याताको लामो फड्कोमा पनि चियाबारीमा जुन दुर्दशा र दरिद्रता देखिन्छ त्यो पनि राजनीतिकै कोपभाजन हो भन्न सकिन्छ । राजनीतिप्रेरित व्यवस्था र नियमहरूले आज पनि चियाबारीको जीवनस्तर ६० कै दशकको जस्तो छ । यसैले चियाबारीको जीवनकथा र व्यथा आज पनि औपनिवेशिक कालकै स्थितिको छ । यहाँका दैनिक जीवन सधैँ अभाव र अपुगहरूमा जेलिएको छ । ससाना खुसी र मसिना सपनाहरूमा रमाउन सक्ने चियाबारीले आजको डिजिटल संसार र सोफिस्टिकेटेड जीवनशैलीको कल्पनासमेत गर्न नसक्ने स्थिति छ ।
हामी चियाबारीमा बस्छौँ
जहाँ मल्टीफेसिलिटी व्याप्त
अस्पतालको शिलान्यास कहिल्यै हुँदैन
अत्याधुनिक सपिङ कम्प्लेक्सको
रमाहटमा रमाउन इच्छाको सुइटर
कहिल्यै बुन्दैन चियाबारीले……..हामी चियाबारीमा बस्छौँ-पृ. ३८
कविताहरू ‘झरी परेको बेला’, ‘कुरूप पेन्टिङ गाउँको’ लगायत केही अन्य कवितामा पनि चियाबरी जीवनको सुवास र पीडा दुवै मुछिएर आउँछ ।
यसबाहेक कृतिका कविताहरूमा वैयक्तिक एकान्त, मानसिक विसङ्गत मुहर्त र स्थिति, संस्कार र संस्कृतिप्रतिको मोह, जीवनजगत्को चिन्तन अनि कविताकै अक्षरहरूमाथिको आस्थालाई पनि सुन्दर ढङ्गमा अभिव्यक्ति दिइएको छ । कवि गोकुलको यसैले काव्यिक वैचारिक धरातल धेरै फराकिलो देखिन्छ । यो उनको काव्यिक लगनशीलताको गतिलो प्रमाण पनि हो । कुण्ठालाई कुण्ठाकै स्थितिमा नराख्न अनि यसलाई निराकरण गरी स्वस्थ, सभ्य र सबल समाजको परिकल्पना यस कृतिको सकारात्मक पहल हो । समाजलाई कवितामा अनि कवितालाई यसरी सामाजिक स्वरमा रूपान्तरण गर्ने सबल कविहरूमा उनी पनि एक हुन् ।
कविताको भाषा परिपक्व छ । थोरै मिथक तर बग्रेल्तै विम्ब र प्रतीकहरूले कवितालाई सौन्दर्यमय पारेका छन् । यसैले कविताको शैल्पिक संरचना र विचारको मन्थनमा राम्रो सन्तुलन देखिएको छ । सरल भाषामा प्रभावकारी अनि हृदयस्पर्शी सुन्दर हरफहरू कुँद्ने कवि गोकुलको शिल्पचेतना धेरै परिमार्जित देखिन्छ । सबै कविता उत्कृष्ट छन् भनेर तोक्न नमिले पनि धेरै कवितामा स्वतः आह! र आहा! जन्माउने हरफहरू मनग्गे टिप्न सकिन्छ । माथि टिपिइएका हरफहरू केलाउँदा मात्र पनि यसको पुष्टि भइहाल्छ । कविको यो सिर्जनधर्मितामा हामी आज पनि उत्तिकै निरन्तरता पाइरहेका छौँ । यसैले उनले भारतीय नेपाली कविता फाँटमा आफ्नो दर्विलो उपस्थिति दर्ता गरिसकेका छन् । कविलाई शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










