सायद जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जङ्घार हिँड्न कोसिस गरिरहँदा हामी, कहिल्यै जङ्घार नाघिसकेका चाहिँ हुँदैन रहेछौँ । बरु निरन्तर अनुभूति मात्र सँगालिरहेका हुँदा रहेछौँ । यसरी अनुभूति सँगाल्ने क्रममा अनेकौँ रीतहरूलाई बेहोर्दै पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ हामीलाई । जब हरपल मुटुमा भावनाहरू सजीव भएर पाहाडजस्तै उभिन थाल्दा रहेछन् तब भावनाहरू कल्पनामा मुछिएर कवितामा तरङ्गीत हुँदा रहेछन् । प्रकाशन मञ्जु अनु इन्टरप्राइजेस् मतिगढा, सिलगढीको रहेको छ ।
हरेक व्यक्ति समयको साक्षी हो । यो समय अँधेरी रातजस्तै छ । मानवतामा समयले दिलाएका अनुभूतिहरू मनका तलाउमा तैरिरहँदा चेतनाका सोच र शिल्पका एकएक इँटाको जग उठाएर मानवताको घर बनाउन सकिन्छ भन्ने अभिप्रायले काव्य जगत्मा धैर्यकै आँखाबाट कवि युवराज काफ्लेका २० थान कविताहरूको सङ्कलन भाव तरङ्ग प्रकाशित छ ।
उज्यालामा भएर पनि हामीमा उज्यालो घाम त कहिले पो लाग्ला र ! कि लाटोकोसेराहरू छन् रात खोज्नेहरू । कि उज्यालामा अँध्यारामाजस्तै आँखा देख्दै नदेख्ने अन्धाहरू छन् । तरङ्गले तरङ्ग तर्काउँदो रहेछ । तर्क र तरङ्गको जीवन जगत्मा तर्क पनि तरङ्ग बन्छ र तरङ्ग तर्किन्छ । तरङ्गैतरङ्गमा कवि युवराज काफ्ले पनि मच्चिएका छन् । फगत तर्कलाई अङ्कमाल गर्दै मनलाई परै राखेर शब्दलाई आँखाले सुमसुम्याएका छन् ।
भाव तरङ्ग शीर्षक हेर्दा यस्तो लाग्छ, साँच्चै गद्य कवितामा शब्द, सङ्गीत र अभिप्राय हुन्छ । यसको सम्बन्ध बुद्घिसँग भन्दा पनि हृदयसँग रहन्छ तर युवराजले सङ्ग्रहका अधिकांश कवितामा मनभन्दा पनि दिमाग चलाएका छन् । हृदयभन्दा पनि आँखा चम्काएका छन् । तैपनि एकाग्र मनले भावनाका तरङ्गहरूको अनुमानमात्र गर्न सकिन्छ । यस्तो समयलाई आँखाले हेर्दा कति भावका तरङ्ग अनुमान गरिएला ? के के गरिएला ? तर युवराजले यसैका माध्यमबाट पुस्तकमा समयलाई चिहाउने कोसिस गरेका छन् । पिवी सेलीले भनेझैँ युवराज पनि अनुभवजन्य समकालीन कविताका विधायक नै हुन् । त्यसैले राजनीतिक परिवेशले धमिल्याएको वर्तमान परिस्थितिका परिदृश्यको सङ्केत गरेर समकालीन यथार्थलाई कविले व्यक्त गरेका छन् । भन्छन् –
बाटालाई उधार्दै च्यात्दै
छेउछाउमा रूख रोप्दै
रूख हिँड्नुपर्छ
यी नयाँ बाटो हिँड्नु छ ।
(च्यात्नु छ अँध्यारालाई, पृ.४९)
कवि युवराजले गोर्खाल्यान्डका लागि न उठ्न न त सुत्न नै सकेको पर्वतकी रानीप्रतिको मातृ प्रेम र रतिरागात्मक भावनाको घेरामा उभिएर रचेका कविता पनि यस सङ्ग्रहमा रहेका छन् तर उनी प्रेमिका र मायालुका कुरा गरे पनि उनीहरूसँग उन्मत्त यौनमा फसेका छैनन् न त कैँचीले जस्तो जीवनलाई दुई किनारा नै बनाएका छन् । छ त केवल अनि हुनु पनि पर्छ आफ्नै जीवनको गीतमा सृजनशीलता र लय भर्ने जिम्मेवारीको कलम युवराजसँग ।
प्रजातान्त्रिक मुलुकमा जस्तै कवितामा पनि आफ्नै निजी र वैयक्तिक चरित्रहरूको स्वतन्त्र अभ्यास हुन्छ । स्थानिक बुनोटले युक्त तार्किक संरचना मानिने कवितामा बुनोट तथा बनोट दुवै अपरिहार्य नै हुन्छन् । यिनैको संयोजनबाट कविताले स्वतन्त्र अस्तित्व प्राप्त गर्छ । कविले आफ्नै भूमिकामा आमा, सिपाही, रावण, शुक्राचार्य, नेपोलियन, प्रेमिका आदि चरित्रहरूका माध्यबाट असन्तुष्ट भावमा अँध्यारो पाटाका कथा कविताका माध्मबाट सुनाउँछन् । ती कविताभित्र परिवर्तनको भोक तीव्र छ ।
स्वाभाविक हो, हेरेर शान्त भइ नसक्नुको र सिलाएर टालि नसक्नुको समयले घाउ दिएपछि केही कवितामा एकातिर शान्तिका सुस्केरा र अर्कातिर विद्रोह आउनु । कविले कविता लेख्दा आफ्नो दृष्टि रहेको समय लेख्ने हो । युवराजले वर्तमान समयको संवेदनालाई सूक्ष्म रूपले हेरेका छन् । भाव तरङ्ग वर्तमानलाई हेरिएको सग्लो हेराइ हो ।
कविता कलामा रङ्ग, रोगन, वस्तुको मात्रा प्रयोग होइन, ध्वनि समेत दिएर पूर्व वातावरणको प्रभावलाई देखाउने प्रयत्न गरिएको छ । रोशन वर्गले भनेका छन् कला आँगन, सडक, चोक, गल्ली, बगैँचामा पुग्नुपर्छ । जहाँ पाठकसँग यसको भेटघाट होस् । यसैका लागि साँच्चै ज्याँ फ्रान्सकोस् लियोटार्ड, युवराज काफ्ले पनि भाषामा खेलिरहेका छन् । यथार्थ अबको युगमा सम्भव छैन । मिथ्या नै यथार्थ बन्न पुग्दछ । मानवजीवनले पूर्ण सत्यता पाउन गाह्रो छ । हामी आज मूल्यको विघटनमा उभिएका छौँ । सम्पूर्णता ल्याउन कठिन छ । कला द्वन्द्वात्मक कार्यमा मात्र सीमित रहँदैन । आनन्दको खोजीमा पनि क्रियाशील रहन्छ । लुकाचका शब्दमा कृतिको प्रयोगजनशीलता कृतिमा चित्रित भावको वस्तुपरक सन्दर्भमा अभिप्रेरित रहेको हुनुपर्छ । जुन भाव तरङ्गमा पाउन सकिन्छ ।
कवितामा व्यक्तिका रागात्मक भावहरूलाई सामाजिक रङ्गमा रङ्गाएर व्यक्त गरिएको हुन्छ । त्यसैले कविता वर्गीय हुन्छ भन्ने मार्क्सवादी सौन्दर्यशास्त्रीहरूको अवधारणाप्रति पनि युवराजले सहमति देखाएका छन् । युवराज लेख्छन् –
हामी दास तिमी नोकर
के भो यहाँ पसिना झराई
पिता र पुर्खाका हड्डी घोटाई
नूनको सोझो सिपाही बनी
तिमीले के पायौ ?
(हामी सिपाही, पृ. ५८)
विगतका अनुभूतिहरूलाई वर्तमानको कलमा खुटेर समुन्नत समाजको कल्पना गर्नु युवराजको राम्रो पक्ष हो । समाजमा एकातिर केही जो उर्लँदो नाफाको मोजमा डुबेका छन् । अर्कातिर दिनभरि परिश्रम गर्ने जसको स्थिति अति दयनीय छ । जगत्ले ओढेको परिचित हुनुको बर्की कविताले उघारिदिन्छ भन्ने शेलीको धारणाझैँ त्यही विम्बलाई टिपेर असमानता विरुद्घ युवराज उभिएका छन् । यो उनको कविताको शक्ति हो । अपूर्णता, भ्रामिक यथार्थ, प्रतीक संयोजन जस्ता पक्ष युवराज काफ्लेमा सबल प्राप्ति बनेर देखा परेका छन् ।
स्रष्टाका मानसपटलमा रहेका भावहरूलाई अभिव्यञ्जित गर्ने चित्रात्मक भाषा नै विम्ब हो । युवराजका कविताहरूमा समसामयिक यथार्थबाट अभिप्रेरित भएर सिर्जिएका विम्बहरूको प्रयोग बढी पाइन्छन् । समकालीनता हुनमा परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि सन्दर्भहरूको प्रतिविम्बन हुनुपर्छ । अनि कवितामा यस प्रविधिको प्रयोग गरी पाठकको मस्तिष्कमा एब्स्ट्रयक फोटोग्राफी वा तस्विरको विम्ब निर्माण गरिन्छ । भाव तरङ्गमा यो पनि गरिएको छ ।
युवराजले विभिन्न चिह्न, प्रतीक, साधनको प्रयोगबाट पाठकलाई आकर्षण तुल्याउन अभिव्यक्तिलाई विभिन्न शैलीमा व्यक्त गर्दै आफ्नो कलागत चिन्तनलाई आस्वादपूर्ण शिल्पशैलीमा सजाउने कोसिस गरेको देखिन्छ । अझ कवितामा आफूले भोगेका पीडा, घटना आदिलाई गाथाका रूपमा व्यक्त गर्ने कार्यमा पनि युवराज देखा परेका छन् । अबको कविता पढ्ने मात्र नभई हेर्ने कला पनि हो भन्ने मान्यतालाई यस कृतिमा युवराजले जोड दिएका छन् ।
भाषालाई सङ्कुचन गरी दृश्यको माध्यमबाट ठोस कला सृजना गर्ने प्रविधिको विकास स्विस कवि इमुन गोविगरले गरेका थिए । वर्तमान स्थितिमा अध्यात्म र भौतिकवाद, यथार्थ र परायथार्थ, सङ्घर्ष र पलायन, भाषा–संस्कृतिको मिश्रण, पुँजीवादी सञ्जालमा नयाँ यथार्थलाई प्रतिविम्बन गर्दै प्राचीन शिल्प शैलीमाथि अविश्वासका साथ भाव तरङ्गका टुक्रहरू हेर्दा नयाँ प्रविधिको खोजीमा कवि लागेका पो हुन् कि भन्ने आभास पाठकलाई लाग्न सक्छ ।
लेविसले भनेजस्तै सबै कविताहरूमा विम्ब देखिन्छ । हरेक कविता आफैँमा पनि विम्ब हो । प्रवृत्तिहरू त आउँछन्, जान्छन् । शैलीहरू पनि फेसनझैँ परिवर्तन हुन सक्छन् । थाहै नपाउने गरी तात्विक विषयवस्तु पनि परिवर्तन हुन सक्छ तर रूपक भने कविताको जीवनसिद्घान्त बनेर कविको मुख्य कसी र गौरवका रूपमा रहन्छ । भाव तरङ्गमा हेर्ने हो भने यो कसी युवराजको कसिलो गौरवका रूपमा रहेको पाइन्छ ।
कवितामा लय र अर्थलाई अलग पारेर छुट्याउन सकिन्न । लयले शब्दको अर्थलाई अनूकुल तुल्याउने एवं बढाउने काम गर्नुका साथै पङ्क्तिको यथार्थ अर्थलाई भरथेग गर्ने काम गर्छ । त्यसैले आन्तरिक सङ्गीत चेतना गद्य कवितामा पनि चाहिन्छ । यसमा कवि युवराजले आफ्नै स्वाभाव देखाएका छन् । युवराजको स्वभाव र कविताको स्वभाव उस्तै उस्तै छ । कविताको स्वाभाव मौन विद्रोह हो । यसको अर्थ शब्दहीनता होइन । वाचालता हो । अतः समकालीन समयलाई नेपाली कविताका माध्यमबाट हेरिएको भाव तरङ्ग एउटा परिपक्व दृष्टि चाहिँ हो ।
छोटा कविताहरूले सानो स्पेस लिएका हुन्छन् । यिनीहरूमा विषय वस्तुको छनोट, त्यसको बहस, तर्क, विचारको संयोजन, कला र सौन्दर्यको प्रयोग, पात्र र प्रवृत्तको उठान नियन्त्रित हुन्छन् । त्यसैले पनि यिनीहरूलाई कुनै शैली विशेष र काव्यिक अनुसाशनका आधारमा हेरिनु आवश्यक हुन्छ ।
भावनाको तरङ्ग नाप्ने कुन स्केलले हो ? रातको अन्धकारभित्र छिर्न लालटिनको उज्यालो पनि काफी छ तर जीवनको विराट् अन्धकार भित्र छिर्ने ज्योतिको स्रोत कहाँ छ ? तर पनि शब्दान्त्रका माध्यबाट भावनाको तरङ्ग नाप्न युवराज तम्सिरहेछन् । यो प्रशंसनीय नै छ । तथापि तम्सिनु र आँटा हुनु फरक फरक कुरा हुन् । यतिको समयसँग जीवन साटिसकेका कविले अभिव्यक्तिमा चाहिँ जोखिम उठाउनुपर्ने हो । आफैँ बाटो बनाउँदै हिँड्न मन पराउनुपर्ने हो । आँट हुनुपर्ने हो । साहस हुनुपर्ने हो । दर्बिला पाइलाहरू टेक्नुपर्ने हो तर आँखाभरिको यात्रामा कवि युवराज यसका विपरीत पाइन्छन् । जसरी पछिल्लो समयमा कविताको स्केच खिच्ने गरिएको छ । त्यस दृष्टिले चाहिँ कविताले भने क्षितिज पक्रन सकेको छैनन् ।
नशा नशामा तातो रगत बग्न थाल्छन् (अनि उनी आउँछिन्, पृ. ३७)
उजाड उजाड बारीमा मालीले जन्माउँछ सुन्दर फूल (कराँसोबारी पछिको साँध, पृ. ४१)
प्रत्येक दिनले रातलाई सुपुर्द गर्छ । (नतङ्ग्रई नसुम्प, पृ. ५३)
विभीषण अझ पातकी हो । (रावण शोषित र श्रापित, पृ. ६२)
यी सत्य हुन् तर सत्य सूक्तिमा गएपछि मात्र कविता हुन्छ । युवराजको आख्यानात्मक अनुभवको रन्कोमा विम्बहरू कवितामा कतै कतै भीड लागेर आएका छन् । तिनीहरूले पाठकको गतिलाई तराईका फाँटमा पुगेका नदीजस्तै बनाइदिन्छन् । रोबर्ट फ्रस्टले भने जस्तै कविता जोसुकैका लागि गहन हुनुपर्छ । त्यसलाई सस्तो रूपमा लिइनु हुन्न । कसले कति लेख्यो भन्दा पनि कति मिहिनेत गरेर लेख्यो हेरिनुपर्छ । कविताको विषय, शिल्प, रूप, भाषा, भाव तथा यस्ता सम्पूर्ण औजारहरूले खनेको बाटो भनेको त्यो काव्यिक सरलता हो । तापनि लामो साहित्यिक जीवन पछि युवराजले लेखेका कविताहरू काहीँ काहीँ लेखिनुपर्छ अर्थिनु हुन्न भन्ने लेखनले ताकेको बाटामा हिँडेका छन् । जसले गर्दा कविताको आधार शिविरमा रहेका पाठकका लागि कविता हाँडे ओखर हुन सक्छन् ।
कवितामा थालनी, बीचको प्रवाह, आरोह र अवरोहको अन्तःसम्बन्धमा तादत्म्यता स्थापित गर्न नसके गद्य कविताले एउटा बग्दो नदीलेझैँ आन्तरिक लयात्मक ध्वनिहरूको सङ्गीत उत्पादन गर्न सक्दैन । जसले गर्दा कविताको लय समाउन पाठकलाई हम्मे हम्मे हुन्छ । जुन राम्रो होइन कवितामा । युवराजका कतिपय कवितामा उही भावका शब्दहरू दोहोरिएर आएका पाइन्छन्, एउटै सङ्ग्रहका कविताहरूमा यस्तो पाइनु कृतिको सबल पक्ष पनि होइन । कवितामा शब्दको अर्थमा नौलोपन नआएका एउटै सन्दर्भ र शब्दको पुनरावृत्ति केही कवितामा आएकाले कविताहरूले अर्थ दोषको भार बोक्नुपर्छ । यस कृतिले लिएको ७६ पृष्ठ मध्ये ३८ पृष्ठमा मात्र कविताहरू रहेका छन् । यसो हुनु बजारशास्त्रको दृष्टिले कविताका पाठकलाई भाव तरङ्ग घाटाको सौदाझैँ पनि लाग्न सक्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।