नेपाली कविताको क्षेत्रमा छन्दोबद्ध कवितालेखनमा बढी रुचि राख्ने कवि दैवज्ञराज न्यौपाने (२००४–२०६८) बालसाहित्यका क्षेत्रमा समेत उत्तिकै सक्रिय, सशक्त र उल्लेख्य स्रष्टा हुन् । पूर्ववर्ती साहित्कार लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र माधव घिमिरेबाट प्रेरणा र प्रभाव ग्रहण गरेका कवि न्यौपाने नेपाली कविताको नव–स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीशिल्पका कवि हुन् । उनका कवितामा सरल शब्दको प्रयोगका साथै लोकछन्द तथा शास्त्रीय छन्दअन्तर्गतका विविध छन्दको यथोचित प्रयोग भएको पाइन्छ । बालसाहित्यतर्फ उनका हुने बिरुवाको चिल्लो पात (बालव्यक्तित्व सङ्कलन) तथा ‘गाउँखाने कविता, ‘बाल संसार’, ‘तोते बोली’, ‘सबै हाम्रा साथी’, ‘घामले ढोका खोल्यो’ लगायतका बालकवितासङ्ग्रह प्रकाशित छन् । उनले प्रशस्त पौराणिक बालकथा पनि लेखेका छन् । उनी ‘बालक’ तथा ‘मुना’ पत्रिकामा पनि सम्पादक र सल्लाहकारको भूमिकामा रहेर आबद्ध भएको पाइन्छ । बालकविता लेखनको पाटोलाई हेर्दा उनी हरेक विषयलाई बालरुचिअनुकूल बनाई प्रस्तुत गर्न खप्पिस छन् ।

कवि दैवज्ञराज न्यौपाने

उनका बालकवितामा भावगत र विषयगत वैविध्य भेटिन्छ । प्राकृतिक सौन्दर्यको जीवन्त चित्रण गर्दै र कलात्मक रङ्ग भर्दै कविताको अन्तमा बालबालिकालाई नैतिक सन्देशको सम्प्रेषण गर्ने न्यौपानेका बालकवितामा कोरा उपदेशात्मकता, खोक्रा नारा र अनावश्यक भावुकता रहेको पाइँदैन । उनका बालकविता पढेर बालबालिकाले प्रकृतिसँग खेल्न, रम्न र प्रकृतिका बारेमा धेरै कुरा थाहा पाउन सक्छन् । उनी आफ्ना बालकवितामार्फत बालबालिकालाई समयको महत्त्वबोध गराउँछन्, चरीले जस्तै मीठो बोल्ने सल्लाह दिन्छन् र मौरी अनि कमिलाझैँ ऐक्यबद्ध र जाँगरिलो हुन प्रेरित गर्दछन् । पौराणिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, देशभक्तिजस्ता विषयवस्तुलाई प्रमुखता दिई कविता सिर्जना गर्न सक्ने क्षमता भएका कवि न्यौपानेले पशुपक्षीको आनीबानी, परिचय र महत्त्वलाई पनि आफ्ना बालकवितामा स्थान दिएका छन् । बालकविताका स्रष्टा भएका नाताले बालबालिकालाई नै लक्षित समूह बनाई बालस्वभाव, बालमनोविज्ञान, बालबालिकाको दायित्व तथा बालकको खेलप्रतिको अभिरुचिलाई समेत यिनले ध्यानमा राखेका छन् । कतिपय बालकवितामा कवि न्यौपाने कल्पनाशक्तिमा चुर्लुम्म डुबेका पनि छन् ।

राष्ट्रिय चाडबाड, राष्ट्रिय संस्कृति, राष्ट्रिय सौन्दर्य, राष्ट्रिय गौरव तथा राष्ट्रिय व्यक्तित्वलाई समेत महत्त्व दिँदै तत्–तत् विषयमा कविता रचेर कवि न्यौपाने एकातिर आफू राष्ट्रप्रेमी सर्जकका रूपमा स्थापित भएका छन् भने अर्कातिर बालपाठकलाई पनि राष्ट्रप्रति बफादार हुन केटाकेटीका बोलीमा अनुरोध गर्न पुगेका छन् । भाग्यको भरमा नअल्मलिई पौरखलाई आत्मसात् गर्नुपर्ने सल्लाह दिँदै कवितामा कर्मशीलताको आह्वान गर्ने कवि न्यौपानेले आफ्ना बालकवितालाई पठनीय बनाउन लोकाख्यानलाई पनि समातेका छन् । विद्याकी देवी सरस्वतीको आराधना गरी श्रद्धाभाव जगाउने निहुँमा फकाई–फकाई पढ्न प्रेरित गराउने न्यौपाने बालबालिकाको मनोविज्ञान बुझ्न र बालमस्तिष्क खोतल्न पनि उत्तिकै सक्षम रहेका छन् । छन्दप्रयोगका दृष्टिले शास्त्रीय र लोकछन्द दुवैमा यिनले बालकविताको रचना गरे पनि लोकछन्दमा नै यिनको कलम बढी चलेको छ । यहाँ यिनै कवि न्यौपानेका विभिन्न सङ्ग्रहमा रहेका राष्ट्र रच्ने बालो, दिदी हाम्री सती र मुटुभरि माया गरी तीनवटा बालकविताको विश्लेषणको प्रयास गरिएको छ ।

रमेशचन्द्र घिमिरे

१. राष्ट्र रच्ने बालो–

‘तोते बोली’ बालकवितासङ्ग्रहमा सङ्गृहीत राष्ट्र रच्ने बालो बालकविता १४ अक्षरे सवाई लोकछन्दमा रचित ऐतिहासिक सन्दर्भ गाँसिएको लयात्मक बालकविता हो । ८ श्लोक र १६ पङ्क्तिको संरचनामा रहेको यस कवितामा राष्ट्रिय एकताका प्रतीक, दूरदर्शी राजनेता एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनको विशेष कालखण्डको उल्लेख गर्दै त्यसको भावी परिणामको सन्दर्भलाई चर्चा गरिएको छ । जनश्रुतिमा आधारित कथानकलाई सत्याभास दिने प्रयास गरिएको यस कविताको भावार्थ यस्तो छ-

गोरखनाथले आफ्ने गुफा वरिपरि खेल्ने एउटा बालकसँग दही खाने इच्छा व्यक्त गरेकाले आमासँग उसले दही मागेर गोरखनाथलाई दिएको हुन्छ । आफूले खाएको जुठो दही बालकलाई खुवाउन लाग्दा उसले घिनाएर दही पोख्छ र आफ्नै गोडामा त्यो जुठो दही पर्छ । गोरखनाथले हाँस्दै तिमीले जुठो दही खाएको भए मुखले आँट्नासाथ देशलाई छिटै कब्जा गर्न सक्थ्यौ तर गोडामा परेकाले ती–ती ठाउँ कब्जा गर्न आफैँले टेक्दै जानुपर्ने हुन्छ र पछि ती ठाउँमा विजय प्राप्त गरिसकेपछि तिमी देशको राजा हुनेछौ र अरू सबै तिमीसामु झुक्नेछन् भन्ने भविष्यवाणी गरिदिन्छन् ।

गोरखनाथको सम्पर्कमा आएका तिनै बालो (बालक) नै पृथ्वीनारायण शाह हुन् जसले अनेकौँ टुक्रामा विभक्त र खण्डित नेपाललाई विशाल राष्ट्रका रूपमा एक पार्ने काम गरेर नेपालको अस्मितालाई अझ दिगो पारे । ऐतिहासिक सन्दर्भलाई जोड्दै राष्ट्रोत्थानको पुनित कार्यमा होमिने साहसी योद्धा एवं तत्कालीन राजा पृथ्वीनारायण शाहप्रतिको श्रद्धाभाव झल्किएको र अन्त्यानुप्रासको सफल योजना रहेको यस कवितामा पृथ्वीनारायणको वीरताको परिचय कविले यसरी दिएका छन्-

साना–साना राज्य जोडी ठूलो पार्न थाले
नेपाल यो दिगो पारे आफ्नै वीरताले ।

२. दिदी हाम्री सती–

‘तोते बोली’ बालकवितासङ्ग्रहमै सङ्गृहीत ‘दिदी हाम्री सती’ बालकविता पनि १४ अक्षरे सबाई लोकछन्दमा रचित पौराणिक सन्दर्भ जोडिएको लयात्मक बालकविता हो । ७ श्लोक र १४ पङ्क्तिको संरचनामा रहेको यस कवितामा मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र नेपालकै राष्ट्रिय विभूतिमध्येकै सीताको सन्दर्भ आए पनि रामलाई भन्दा सीतालाई नै महत्त्व दिई शीर्षकको चयन गरिएको छ । कवितामा रामायणमा आधारित पौराणिक आख्यानको मिठास पाइन्छ । कविताको भावार्थ यस्तो छ-

सीता हाम्रै देश नेपालमा जन्मेकी र खेलेकी पूज्य नारी हुन्; नेपालकै छोरी हुन् । हाम्रा भिना (राम) केही काला छन् भने दिदी (सीता) चाहिँ गोरी छन् । सीता जनककी छोरी हुन्; यिनैसँग रामको बिहे हुन्छ । सीतासँग विवाह गरिसकेपछि राम राज्य छोडेर जङ्गलतर्फ लाग्छन् । सीतालाई रावणले हरेर लैजान्छ, रामले सीतालाई पत्ता लगाउने प्रयास गर्छन् । यस कवितामा रामलाई विश्वको रचना गर्न सक्ने ईश्वर र रावणलाई विश्व नै हाँक्न सक्ने बलशाली व्यक्तिको संज्ञा दिइएको छ । सानो गल्तीका कारण रामद्वारा रावण मारिन्छ; सीतालाई लिएर राम फर्कन्छन् ।

जसले गल्ती गर्छ उसले गल्तीको नराम्रो परिणाम भोग्नुपर्छ भन्ने सन्देश यस कविताले दिएको छ । चतुःश्लोकी रामायणमा झैँ रामायणको सम्पूर्ण कथालाई एउटै छोटो कवितामा समावेश गरेर कविले यस कवितामा बिन्दुमा सिन्धु अटाउने सफल प्रयास गरेका छन् । भारतीय मूलका नागरिकहरू तुलनात्मक रूपमा गोरा हुन्छन् भन्ने आञ्चलिक विशेषता यसमा पहिलो श्लोकमै झल्किएको छ । बालजिब्राले उहजै उच्चारण गर्न सक्ने सरल लयमा रचित यो कविता मिल्दो अन्त्यानुप्रासीय छटा एवं गति, यति र लयमा अनुशासनको कारणले उत्कृष्ट बनेको छ । कविले रामायणमा आधारित प्रचलित कथाको प्रयोग गरेर कवितामा अझ रोचकता थपेका छन् । सीताको पतिव्रता धर्म र रामको वीरताको महिमागान कविले यसरी गाएका छन्-

रामविना जित्न सक्ने कसको थियो गति
भिना हाम्रा वीर थिए दिदी हाम्री सती ।

३. मुटुभरि माया–

वाणी प्रकाशन, विराट्नगरबाट प्रकाशित ‘बाल संसार’ बालकवितासङ्ग्रहमा सङ्गृहीत ‘मुटुभरि माया’ बालकविता कवि न्यौपानेद्वारा रचित १४ अक्षरे सवाई लोकछन्दमा आधारित लोकलयात्मक गीतिकविता हो । जम्मा ५ श्लोक र १० पङ्क्तिको संरचनामा रहेको विवेच्य कवितामा कविले राष्ट्रप्रेमलाई विषयवस्तु बनाएका छन् । राष्ट्रप्रतिको अगाध आस्था, आत्मीयता र ममता सल्बलाएको यस कवितामा राष्ट्रिय एवं प्राकृतिक सौन्दर्यको जीवन्त चित्रण गरिएको छ भने सिर्जनामुखी हुन प्रेरित गराउने भाव पनि अटाएको छ ।

राष्ट्रप्रतिको प्रेमरूपी छायालाई कविले पहरामा पोखिआएका छन् र मुटुभरिको मायाको याचनासमेत गरेका छन् । ढुङ्गो छुँदा मूर्ति बन्ने र माटो छुँदा बाली देख्ने सपनामा रम्दै पौरखले खारिएका हातहरू रित्ता नहोऊन् भन्ने चाहना कविको छ । आफ्नो देशलाई हृदयको नदीझैँ ठान्ने कवि आफू राष्ट्रको अनुचर भएको विचार पोख्दछन् र आफूभरि देश अटाएको छ भन्ने भावनाको अभिव्यक्ति दिन्छन् । आफू जन्मिएको देश र हुर्किएको ठाउँको प्राकृतिक सौन्दर्यमा रम्दै कविले नेपाली भू–प्रकृतिको जीवन्त तस्बिरसमेत यसमा उतारेका छन् । आफ्नो मनलाई मैदान र शिरलाई चुलीसँग दाँज्दै आफ्नो देश छोडेर टाढा नजाने सङ्कल्प पनि यसमा कविले गरेका छन् ।

राष्ट्रलाई माया गर्ने तथा कर्मशील एवं पौरखी हुने सन्देश दिइएको यस कवितामा स्वच्छन्दतावादी कवि बनेर न्यौपाने कल्पनाशक्तिमा डुबेका छन्; प्राकृतिक सौन्दर्यमा झुमेका छन् र हार्दिकतामा रमाएका छन् । तुकबन्दीको सफल योजना रहेको यस कवितामा कविले बालसुलभ भाषाको प्रयोग गरेका छन् । श्रमप्रतिको श्रद्धा, कर्मप्रतिको विश्वास र सिर्जनाप्रतिको चासोलाई कविले यसरी व्यक्त गरेका छन्-

ढुङ्गो छोई मूर्ति बनोस् माटो छोई बाली
पौरखले खारिएका हात नहून् खाली ।

निष्कर्ष–

शास्त्रीय छन्द र लोकलयात्मक गीतिकविता सिर्जना गरी नेपाली साहित्यको भण्डारलाई समृद्ध पार्ने कवि दैवज्ञराज न्यौपाने बालसाहित्यका क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लागिपर्ने स्रष्टा हुन् । राष्ट्रप्रेम, प्राकृतिक सौन्दर्य, बालस्वभाव आदिलाई विषयवस्तु बनाई बालसुलभ कोमल भावना र ललित भाषा एवं सरल र सरस शब्दको प्रयोग गर्नु यिनको वैशिष्ट्य हो । न्यौपाने आफ्ना कवितामा कतै प्राकृतिक सौन्दर्यका उन्मुक्त गायक भएर रमाएका देखिन्छन् भने कतै राष्ट्रप्रति सद्भाव, सदाशयता र ममता खन्याउने राष्ट्रवादी सर्जक भएर देखा परेका हुन्छन् । आफू बालकझैँ स्वतन्त्र र गतिशील हुन नपाए पनि बालकको रमाइलो संसारमा भुल्ने एवं फूल फुलेको, इन्द्रेनी खुलेको र जून हाँसेको हेर्न फुर्सद निकाल्ने कवि न्यौपाने आफ्ना बालकवितामार्फत बालकका अभिभावक नभई उनीहरूका साथीजस्तै भएको प्रतीत हुन्छ । स्वच्छन्दतावादी भावधाराका निकट रहेका कारणले हार्दिकता, कल्पनाशीलता, प्रकृतिप्रेम, लोकोन्मुखता आदिजस्ता प्रवृत्तिहरू उनका बालकवितामा समेत घुसेका हुन्छन् । विवेचनाका लागि प्रस्तुत गरिएका उपरुल्लिखित कविताहरूमध्ये ‘राष्ट्र रच्ने बालो’ मा कविले दूरदर्शी राजनेता पृथ्वीनारायण शाहको महिमागान गाउँदै विगततिर फर्केका छन् भने ‘दिदी हाम्री सती’ मा रामायणसँग सम्बद्ध पौराणिक आख्यानको पुनःसिर्जनामा लागेका छन् भने ‘मुटुभरि माया’ मा नेपालको प्राकृतिक रमणीयताको यथार्थ तस्बिर उतार्दै सिर्जनामुखी र कर्मशील हुनका लागि उत्प्रेरित गरेका छन् ।