लेखनकार्यमा लाग्नेहरू के कुरालाई आधार बनाएर लेख्दा हुन् ?
प्रश्न सुन्दा साधारण लाग्छ तर यस प्रश्नका उत्तरहरू भने असाधारण हुने गर्छन् । एक-दुई शब्दहरूमा यस प्रश्नको उत्तर अटाउनै सकिँदैन । लेखकले आफ्ना जीवनकालमा देखेका, भोगेका, भेटेका, कल्पना गरेका व्यक्ति तथा घटनाहरूका बारेमा लेख्ने गर्छन् । उनीहरू आफूले पढेका विषयवस्तुहरूमा व्यक्त विचारहरूलाई समर्थन वा विरोध गर्दै आफ्ना निजी धारणाहरू समेटेर पनि लेख्छन् । अध्ययन अनुसन्धानबाट निस्किएका नयाँ खोज र निष्कर्षहरूलाई पनि लिपिवद्ध गर्न लेख्छन् । कतिले आफ्नो जीवनको उत्तरार्द्धमा पुगेपछि आफूले अझै हेक्का राख्न सकेका व्यक्ति तथा घटनाहरूमाथि पनि लेख्न सक्छन् । स्मृतिमा रहेका व्यक्तिलाई एकान्तमा बसेर सम्झँदा उसँग बिताएका पलपलका यादहरू हिक्क-हिक्क हुनेगरी नै आँखासामु आएर बाडुली सम्झनामा रूपान्तरित हुन्छन् र तिनलाई पुस्तकमा कैद गर्ने प्रेरणा मिल्छ। जीवनमा आइपरेका व्यक्तिगत वा प्राकृतिक, सामाजिक, राजनीतिक घटनाहरू सम्झेर पनि लेख्ने गर्छन् धेरैले । बाडुली (हिक्क हेक्का) त्यस्तै एउटा पुस्तक हो जसमा लेखक पदमसिंह कार्कीले आफ्ना जीवनकालमा भेटेका व्यक्तिहरू, सुनेका घटना तथा पात्रहरू तथा भोगेका विविध घटनाहरूले एकान्तमा बसेका बेला झकझकाउन आउने स्मृतिको रूपमा सङ्कलन गरेका छन्।
यस पुस्तकमा २५ सय वर्षभन्दा अघि जन्मेर त्यो समयमा नै मानिसमा व्याप्त दु:ख देखेर त्यसलाई निर्मूल गर्नहेतु ज्ञानको खोजीमा लागेका शाक्यमूनि गौतम बुद्ध र लुम्बिनीका बारेमा लेखिएको बुद्धत्वको मूल कुरादेखि राणाहरूको राजनीतिक निरङ्कुशता, एकतन्त्रीय शासन र न्यायिक विसङ्गतिका विरुद्ध अघि सरेकी नारी योगमायाले लिएको जलसमाधि उनको गन्तव्य बन्न पुगेको तितो यथार्थलाई पनि सम्झिन पुगेका छन्। विश्वको सर्वोच्च शिखरको नेपाली नाम सगरमाथा हुनुपर्छ भनेर लेख लेख्ने बाबुराम आचार्यदेखि नारायणहिटी राजदरबार हत्याकाण्डमा हत्या गरिएका राजा वीरेन्द्र जसले नेपाललाई विश्वसामु शान्तिक्षेत्र घोषणा गरियोस् भनी प्रस्ताव पेस गरेका थिए, उनलाई पनि सम्झिन पुगेका छन्।
नेपाली साहित्य क्षेत्रमा नाम कहलाएका साहित्यकारहरूदेखि, कला क्षेत्रमा लागेका सर्जकहरू अनि सामान्यभन्दा सामान्य व्यक्तिहरू जसले लेखकको समयलाई आफ्ना कला, विचार तथा अभिव्यक्तिद्वारा उद्वेलित बनाउन सके, तिनीहरूलाई समेत सम्झेर लेखकले आफ्ना गहकिला धारणाहरू व्यक्त गरेका छन्।

दीपक श्रेष्ठ
देशका सपुतहरू जो देश र जनताका हितका निम्ति मृत्युवरण गर्न अघि सरे, नेपाली सेना जसले देश र जनताका रक्षाका खातिर अहोरात्र खटिन कुनै कसर बाँकी राखेको छैन र पारस शाह जसको पन्जाबाट गणतन्त्र मुक्त छ भनेर लेखक ढुक्क हुन सकेका छन्, यी सबै कुराहरू एउटै पुस्तकमा अटाउन सकेका छन् लेखकले । देशको संविधान, कानून, राष्ट्रको चौथो अङ्ग पत्रकारिता, प्रेस स्वतन्त्रता, राजनीति र कुटनीति, सन्धि-सम्झौता लगायत प्रजातन्त्र, गणतन्त्र र संघियता जस्ता जल्दाबल्दा विषयहरूमाथि पनि लेखकले विभिन्न दृष्टिकोणहरू अघि सार्दै यी तमाम तत्त्वहरूले देश र जनतामा पारिरहको सकारात्मक तथा नकारात्मक असरहरूको सम्झना गरेका छन्। उनले सारेका तर्क तथा धारणाहरू पढ्दा पाठकहरू पक्कै पनि सुदूर विगतमा पुगेर देश, काल, परिस्थितिको मुल्याङ्कनमा लाग्ने नै छन्।
यसरी लेखकले आफ्नो जीवनकालका मात्र नभई आफू जन्मनुभन्दा अघिको समयदेखिका व्यक्ति तथा घटनाहरूलाई सम्झँदै ती व्यक्ति तथा घटनाहरूले देश र जनतामाथि पारेका प्रत्यक्षपरोक्ष असरहरू केलाएका छन्। धेरैजसो लेखहरू खोज पत्रकारिताको झल्को दिने खालका भएकाले त्यसमा राखिएका तिथि, मिति तथा तथ्याङ्कहरूले लेखहरूमाथिको विश्वसनीयता कायम गरेको छ ।
पाठकहरूले यो एउटा पुस्तक पढ्दा एउटा लामो कालखण्डमा देश र जनताले भोगेका विभिन्न पाटाहरूको प्रस्ट चित्र देख्न सक्नेछन् । यति विशिष्ट खुराक हुँदाहुँदै, आवरण पृष्ठ सज्जामा समेत वरिष्ठ कलाकार केके कर्माचार्यको कला हुँदाहुँदै पनि पुस्तकमा केही मुद्रा राक्षसको उपस्थिति भने बिझाउने खालका छन् । यस पुस्तकमा रहेका ५३ क्रमाङ्कहरूमा क्रमवद्ध लेखहरू मध्ये २२ औँ र २८ औँ क्रमाङ्कका लेखहरू फरक शीर्षकका भईकन पनि एउटै लेख पर्न जानुमा पक्कै पनि लेखकको समेत कमजोरी हो कि भन्ने छनक पाठकमा पर्न सक्छ । यसर्थ पनि पुस्तकलाई भाषा सम्पादन लगायत पुस्तक सम्पादकको खाँचो टड्कारो देखिन्छ । यी कमजोरीहरूलाई आगामी संस्करणहरूमा सम्झिएरै सुधार्नुपर्ने देखिन्छ।
पुस्तकमा समावेश भएको आदरणीय शताब्दी पुरूष सत्यमोहन जोशीका शुभेक्षाका मन्तव्यमा उनले ब्रटान्ड रसेलका निबन्धहरूको सन्दर्भ जोड्दै सङग्रहित निबन्धहरू लोकप्रिय र अलोकप्रियका दोसाँधमा हुन सक्ने विचार राखेका छन्। धेरैभन्दा धेरै पाठकहरू समक्ष पुग्न सकेमा यस पुस्तकमा रहेका केही लेखहरू पक्कै पनि लोकप्रिय हुनसक्ने छाँटका छन्। केही लेखहरू भने सामान्य टिपोटको झलक दिने खालका छन् । समग्रमा यस पुस्तकमा सङ्ग्रहित लेखहरू लेखकलाई मात्र नभएर पाठकलाई समेत स्मृतिहरूको लहरमा उभ्याएर बाडुली/हिक्क लगाउने स्तरका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

