साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भूमिका : जादुगरीजस्ता आविष्कार अनि हाम्रा कृत्रिम सफलता

विश्व सिर्जना र समालोचनाको परिवर्तित आयामलाई नेपाली कविताद्वारा बुझ्ने बुझाउने सफल प्रयासमा देवेन सापकोटा

 

     अघिल्ला दशकमा उत्तरपूर्वी भारतका पाँच यात्रा गरेछु । तिनैमध्ये एकमा श्री मुक्ति बरालसितको लामो यात्रामा देवेन सापकोटालाई भेटेको सम्झिन्छु । उनी पशुस्वास्थ्य विज्ञानमा निष्णात, शिक्षाको व्यवस्थापन र अध्ययनमा समर्पित व्यक्ति रहेछन् । त्यस अतिरिक्त साहित्यमा पनि समर्पित ।

आफू पर्यावरणीय विश्वस्थितिबारे  सचेत भई त्यसै क्षेत्रका नेपाली कविताको सिर्जनामा पनि समर्पित भएको कुरा गरेका थिए । नभन्दै गतवर्ष ५-६ जुनका दिन बेलायत केन्द्रबाट आयोजित वातावरण दिवस मनाउने क्रममा उनको रचना श्रवण गर्ने अवसर मिल्यो । सो सिर्जना बेलायतको अमूल्य प्रकाशनको स्वच्छन्द सुसेली-२ मा प्रकाशित छ । यसमा पर्यावरण सिक्रीको महत्त्वलाई बुझाउन ८२ थान कविता समावेश गरिएका छन् । धन्य छ एक नवीनतम चेतना आन्दोलनका अभियन्ता विजय हितानलाई ।

त्यसो त एकअर्कालाई जोड्ने प्रकृतिमा भएजस्तै खालको हामी साहित्यकारबीच पनि एक सम्बन्ध-सिक्री हुन्छ । हाम्रो पनि आफ्नै वैचारिक पारिस्थितिकी हुन्छ । त्यही खोपीमा हामी रमाउँछौँ । गत वर्षको सो कार्यक्रममा वातावरणीय साहित्य सन्दर्भलाई विस्तारित गर्ने उद्देश्यले आसामका पाँच कविलाई त्यसमा जोड्ने निर्णय भयो । त्यसको संयोजनको जिम्मा साहित्यकार ज्ञानबहादुर छेत्रीलाई थियो । ज्ञानबहादुरजी उता विजय हितानसँग धेरै अघिदेखि जोडिनुभयो । विजय हितानसँग धेरै अघिदेखि जोडिएको थिएँ म । अर्थात् मेरो नेपालमा ‘वातावरण र सिर्जनाको विषयमा एक सैद्धान्तिक अवधारणा’ प्रकाशित भएपछि मसित जोडिएका स्रष्टा विजय हितान ।

मेरो आह्वानबाट अभिप्रेरित विजय हितानले सन् २०११ देखि पर्यावरण चिन्ता र चेतनालिएर सिर्जना गर्न थालेका हुन् । यतिखेर उनी नेपाली साहित्यमा एक अब्बल दर्जाका परिवृत्तीय साहित्यका अथक अभियन्ताका रूपमा चिनिएका छन् । उनी आफू मात्र अघि लागेका होइनन्, नेपाली समाजको ध्यान त्यता फर्काउन साहित्य सिर्जना र एक उत्तरआधुनिक अभियानमा लागेका छन् । त्यसो त मैले उत्तरआधुनिक ऐना (वि.सं.२०६२) देखि साहित्यले यसै गरी नयाँ दिशा लिन थालेको कुरा जनाएको थिएँ ।

दोस्रो ग्रन्थ १४ वर्षअघिको उत्तरआधुनिक विमर्श (वि.सं. २०६४) मा एउटा नवीन खण्डै थपियो- इको साहित्य/परिवृत्तीय सिर्जना र मूल्याङ्कन । विस्तारै यो नेपाली समालोचना जगत् यसको उपस्थितिबारे सचेत हुन लाग्यो; र आज त यस विषयमा विद्यावारिधि भइसके । सो विषयक प्रथम शोधको निर्देशक बन्ने अवसर मलाई प्राप्त भयो । केही ग्रन्थाकारमा आएका प्रकाशन पनि तर पूर्वोत्तर भारतको भनौँ भारतीय नेपाली समालोचना अन्तर्गत यस विषयमा लेखिएका पचास जति लेख उपलब्ध छन् । कृतिको सङ्ख्या पनि एक दर्जन पुगेको छ । ‘परिश्रान्त पृथिवी’ चाहिँ सिर्जनात्मक क्षेत्रको भारतीय नेपाली साहित्यको प्रथम सङ्कलन हो । एकचालीस कविताले बनेको यस ग्रन्थमा परिवृत्तीय चेतनाका विषयवस्तु अत्यन्तै व्यापक र विविध रूपले प्रस्तुत छन् ।

पृथ्वीमातालाई कुरूपतातिर धकेल्ने प्रथम शक्ति विज्ञान र प्रविधि हो, हामीलाई चाहिएको सजिलो छोटो बाटो जसमा उभिएर लोभ्याउने कुरा छन् – जादूगरीजस्ता आविष्कार अनि हाम्रा कृत्रिम सफलता । हाम्रा सबै कर्म मिलेर पृथ्वीलाई उनका अस्तित्व निर्माता पञ्चमहाभूतलाई सहज वश्य बनायौँ; आज त्यस कर्मकै दुःपरिणाम भोग्दै छौँ । देवेन सापकोटाले ती प्रत्येक तत्त्वको हजारौँ वर्षको जीवन-चक्र उल्टापल्टी गर्ने हाम्रा स्वार्थी कर्मलाई सुन्दर कविताद्वारा बुझाएका छन् ।

अरूजस्ता होइन रहेछन् देवेन । स्वयं विज्ञान र प्रविधिको परिवर्तनकारी जगत्‌को उनी अन्तस्तहका अध्येता रहेछन् । त्यही क्षेत्र नै उनको विज्ञताको र साधनाको क्षेत्र रहेछ । उनी पशुविज्ञानका क्षेत्रका अध्येता/अनुसन्धाता भएकाले ती कविताका विषयवस्तुभित्र उनी अनुभव र चेतनाले बोल्दैछन् त्यसमा थपिएको शक्ति केवल कविको भावनात्मक पक्ष हो ।

त्यसो त अन्धो छ विज्ञान, यो रोकिने छैन । त्यसो त अन्धो छ मानवको स्वार्थीवृत्ति त्यो पनि घट्ने छैन । ध्वंसतिर प्रवृत्त छन् ती; भरे के होला भन्ने चिन्ता छैन । स्वर्गलोक छोडेर तल ओर्लेको मान्छे फेरि त्यहाँ फर्किन चाहन्छ तर त्यो सम्भव छैन । अङ्ग्रेजी कवि विलियम ब्लेकले ‘निर्दोषिता’ र ‘अनुभूति’ दुई पक्षका कवितामा बताएझैँ एकपल्ट अनुभव गाँसिएको मान्छे निर्दोषितामा फर्किन सक्तैन ।

तथापि हामीले गल्ती गरेछौँ भन्ने बोध हुनु वा गराउनु पनि ठुलो कुरा हो । ठुलो उपलब्धी हो । देवेनको प्रधान लक्ष नै ‘पृथ्वीवाद’ हो । त्यसभित्र सृष्टिभित्रका सारा तत्त्व आउँछन् पहिलो कवितामा त्यो छ । ‘सेभ दि अर्थ’ भन्ने ता विश्वकै एक अभियान छ; प्रत्येक सूक्ष्मातिसूक्ष्म तत्त्वमाथि, तिनीहरूमाथि परेको दुष्प्रभाव र तिनले उत्पन्न गरेको दुःपरिणाममाथि हामी सचेत हुनु नै आजको प्रथम कर्तव्य हो । पृथ्वीले वहन गरेका असह्य कष्टको बोध गर्दै सङ्ग्रह यसरी सुरु गर्छन्-

फोहोरको भारी बोकी हिँडेको धेरै भो उसले

      च्यातिन लागेछन् आङका वस्त्रहरू पनि

      अझै कति बोक्नु छ उसले यो भारी?

      कति टाढासम्म?

      कति नाङ्गिनु छ होला भविष्यमा?

                              (पृथिवीवाद)

धेरै ठाउँमा ‘कुवा’ जस्ता पात्र-पात्राको निर्माण गरेका छन् कविले; धेरै ठाउँमा कथानक पनि बुनेका छन् र कवितालाई वर्णनात्मक बनाएका छन् । धेरै ठाउँमा जीवन पशुपक्षी, आदिको मानविकीकरण सजीवता रूख वा वृक्ष, माटो, बतासआदिको मानविकीकरणद्वारा सजीवता र सचेतता प्रदान गरेका छन् । यो राम्रो कल्पनात्मक कला हो । त्यसकै परिणामस्वरूप ‘फाटेको छाता’ र ‘प्वाल परेको ओजन तह’ को तुलना गरेका छन्, यसरी सामान्य दृष्टान्तबाट विशेष दुर्घटनाको स्वरूप बुझाएका छन् । एउटा कवितामा आसामको दिहिङ पाटकाई नामक निकुञ्ज बोल्दछ –

तर ए साथी

      हिजोआज टाढिन लागेका छन् प्रिय प्राणीहरू मैबाट । 

      कता कता सुन्दैछु

      चिरिन्छ अरे मेरो छाती

      निकाल्न काला कोइला मुटु फुटाई ।

      डराउँदै छु म

      निर्वस्त्र पार्ने होलान् मानवले मलाई  

      च्याती हरियाली मजेत्रो ।

      एक्स्क्याभेटरका निर्मोही नङ्ग्राले

      चिथोर्ने होलान् मेरो छाला

      बगाउन कमेरे माटो

      रक्ताम्मे रातो पार्न पहाडी खोला ।

      श्वासरुद्ध हुन्छु होला म

      आवतजावत गर्ने गाडीका धुवाँले ।

      च्याप्टिन्छु होला म

      बुलडोजर र ट्रकका थिचाइले ।

                        (म दिहिङ-पाटकाई बोल्दैछु)

देवेनले अति सूक्ष्मतापूर्वक धर्तीलाई क्षतविक्षत पार्ने एक एक ससाना कृत्यलाई टिपेर कवितामा प्रस्तुत गरेका छन्- प्लास्टिकले ल्याए-खन्याएका विघ्न र विनाशका सङ्केतहरू, अतिवृष्टि, अनावृष्टि र समग्रमा मौसम-चक्र परिवर्तनले ल्याएका अनपेक्षित परिणाम, तीमध्ये हिमपात एक विनाशक तत्त्व प्रमाणित भएको छ । मानवनिर्मित यन्त्रले धर्तीको प्राण हरण गर्ने कविता छन् । एक पहाडको पीडा प्रस्तुत गर्दै कस्तो भयावह दृश्य वा स्थिति प्रस्तुत गर्दछन् यस्ता विम्बले :

छियाछिया पारेको रहेछ

      चिथोरी छाती

      पाखण्डी क्रेनका निर्मोही नङ्ग्राले

      रक्ताम्मे रातो माटोको भल बगाएर ।

      व्यर्थ प्रयास चलाउँछन्

      अलकत्रे सडकबाट आएका

      उडन्ते सेता पोलिथिनहरूले ब्यान्डेज लगाउन

      आला घाउमाथि उसका ।

                        (पहाडको पीडा)

कतै चित्रगुप्तले मानवको रूप लिन्छन्, कहीँ परित्यक्त कुवा संवाद गर्छ, कहीँ निर्जन गाउँ बोल्दछ, कहीँ गाउँहरू निर्जन हुँदै गरेका सहरले मान्छे खिचेर सारालाई श्रमविमुख बनाएका दृश्यचित्र छन् । परित्यक्त एक ग्रामीण कुवाले आफूलाई छोडी टाढा जाने युवकलाई वेदना सुनाउँछ :

खुसी छु म यसरी नै आफ्नै पुरानो गाउँमा

      आखिर सुख त अनुभव गर्ने कुरो पो हो ।

      विकास खोज्दै सहर लागेका थियौ तिमी 

      ल्याउन सक्यौ त प्रगतिको उज्यालो यो गाउँमा?

      कत्तिको खुसी उमार्न सकेका छौ सहरमा बसी

      टाढिएर आफ्नो प्यारो गाउँबाट?

                        (एक परित्यक्त कुवा)

कुनै अतीत स्मृतिका कविता छन्, कुनै कल्पित भविष्यका; जस्तै सन् २०५० को पृथ्वी । कवि गाउँका निर्मलताबाट दूर भई सहरतिर धकेलिएको जीवनदेखि वाक्क भएर त्यो अतीतको सरलता र सहजता सम्झिन्छन् बरु गाउँको निर्मलतासँगको दु:ख नै प्यारो थियो । आज सहरमा अर्कै अनुभवले छोपेको छ ।

कहाँ पाइँदो रहेछ र माधुर्य

      टिनको छानो ओढेको घरभित्र बसेजस्तो

      वर्षाले कुट्दाको शाब्दिक मिठास

      हुरीले स्वाँ स्वाँ सुसेलेको सङ्गीत

      आकाशको गड्याङ् गुडुङ् गर्जन

      बिजुलीको झिमिक झिमिक चम्कन

      यो कङ्क्रिटको घरभित्र बस्दा?

                        (कङ्क्रिटको कारागारभित्र म)

आज उन्नत समाज छ, सहरको बास छ, तर आफूलाई जन्माएर हुर्काउने त्यो सरल गाउँको विनाश छ । सोही कवितामा कवि यस्तो अनुभव सँगाल्छन् जुन अनुभव हामी धेरैको जीवनमा सत्य प्रमाणित भएको छ :

गाउँले मुटु बोकी सहरवासी भइयो

      टिनको छानो साटी कङ्क्रिटको बनाइयो

      कहिलेकाहीँ झस्किन्छ यो मन

      चालै नपाई कतै गल्ती पो गरियो कि?

                        (कङ्क्रिटको कारागारभित्र म)

सृष्टिका चराचर तत्त्व प्राणी, वनस्पति वा स्थूल पदार्थ बिनाकारण आएका छैनन् । जोन मिल्टनले भनेका छन्- जो पर्वतझैँ वा वृक्षझैँ उभिएर प्रतीक्षा गर्दछन् तिनले पनि ईश्वरको सेवा गर्दछन् तर मानिस मौन वृक्ष ढाल्छ, स्थिर पर्वत छेडेर भत्काउँछ, स्वच्छ जलराशिमा प्रदूषण उत्पन्न गर्छ, अन्य जीवको हत्या गर्छ । यो सृष्टि केवल मानवको लागि मात्र हो र? माहुरी सृष्टिको अर्थ छ, कमिलाको छ, गिद्धको छ, सृष्टिको प्रत्येक अणु र परमाणुको छ, वृक्षको छ । प्रत्येक वस्तुको महत्त्वमाथि प्रकाश पार्दै लेखिएका हुन् यी कविता । अनेक वैज्ञानिक तथ्यका कुरालाई बुझाएका छन् कविले, जस्तै :

सूर्यको रश्मिलाई अँठ्याई पत्रकोषबीच

      तयार पार्छौ हामी अक्सिजन र खाद्यान्न

      सारा विश्वका प्राणीवर्गका लागि फोटो सिन्थेसिसमार्फत ।

      (म एउटैले प्रतिमौसम दशजना मानिसलाई

      एक वर्षको खुराक दिन्छु अक्सिजनको)

                              (रूख)

यस कवितामा उनले एक यथार्थ बोलेका छन्- ‘विकासे अभिगमनको घोडा चढेर मात्तिएको छ मानिस’; हुन पनि यथार्थ नै यही हो ।

नाति र बाजेका संवाद कति कवितामा आउँछन्, अबोध बाजेलाई वैज्ञानिक यथार्थ सम्झाउन नाति सामर्थ्यवान् छ तर यसो गर्दा कति कवितामा सहज संवेद्यता अलिक छायाँमा पर्दछ किन कि त्यहाँ संवादात्मक शैलीले स्थान पाउँछ । एक ठाउँमा बारीमा गड्यौला निख्रेपछि गड्यौलाको महत्त्व र आवश्यकता बोध हुन्छ ।

कवितामा कीट पतङ्गदेखि बिराला, गिद्ध, वन्य पशु-पक्षी, पुतली चिडियाखानाका सबै सबै पात्र छन्, विषय छन् । वास्तवमा सबै मिलेर जीवनचक्र निर्मित छ । यस्तै एक कवितामा ‘बिचरा बुढो नदी’ एक पात्र छ परित्यक्त गाउँको कुवाझैँ । यसमा पनि संवादात्मक शैलीमै बाढी र भू-कटाउको कुरा उठाइएको छ ।

मलाई प्रवासी चराप्रतिको दृष्टिकोण कति मन पऱ्यो । यतातिर पनि साइबेरिया देखिका चरा आउने र जाने गर्छन् । ब्रह्मपुत्र बेँसीमा त्यस्तै ती चरामा भएको अन्तर्दृष्टि र सहज प्रवृत्ति कत्रो विचित्रको कति तीक्ष्ण छ । तारा नक्षत्रको पथ पछ्याउँदै हजारौँ माइल यात्रा गर्छन् बाटो नबिर्सी । तर वातावरण धूमिल भै तिनको बाटो छेक्यो भने त्यो जीवनचक्र के हुन्छ?

कस्तो अचम्म!

      सात सागर तेह्र नदी तरेर आउन

      अनि फेरि फर्केर उही टुङ्गोमा पुग्न

      भूगोलको असीम ज्ञान हुनुपर्छ यिनीहरूमा

      यही ऋतुमै आउन समयबोधी पनि हुनुपर्छ यिनीहरू

      गुगल जडान हुनुपर्छ यिनको मस्तिष्कमा ।

      यत्रो ज्ञान पुस्तैपुस्तालाई सार्न

      कस्तो भाषा प्रयोग गरे होलान् यिनीहरूले?

      तर

      छेवैको सहर पुग्न पनि जिपिएसको सहारा लिन्छौँ हामी ।

      त्यसो भए मानिस कसरी भए चराभन्दा श्रेष्ठ?

                        (फुच्चे मानिस)

त्यसैगरी कल्पित लोकमा युद्ध र प्रतिष्पर्धा छ । दूषित धुवाँ फैलाउने र रोक्ने कुरा । थप कल्पित मनोवादमा बेलायतमा गत वर्ष जुन ५ मा आयोजित वातावरणीय साहित्य सम्मेलनको प्रतिध्वनि सुनिन्छ जसले त्यसलाई पराजित गर्छ :

   त्यतिकैमा

      बिबिसले समाचार ल्याउँछ..

      ‘बेलायतको पाँचौ विश्व वातावरण साहित्य सम्मेलनले

      जैविक विविधता संरक्षण गर्ने निर्णय लिएको कुरा

      वैकल्पिक र नवीकरणीय ऊर्जा प्रयोगमा ल्याउने चर्चा

      अनि औद्योगिक र सवारीसाधनको धुवाँ घटाउने कुरा ।

                        (अभिघात धुवाँ प्रतियोगिता)

सानो कुरा छ टिस्यू पेपर प्रयोगको तर यसले हानिको अस्त्र शृङ्खला बोकेको हुन्छ – हाम्रा अतीतका अभ्यास सरल र हानिरहित थिए । बाढीको प्रकोप पनि मानवकै अकर्मका परिणाम हुन् । ‘गाउँले मन’ कवितामा स्रष्टाको मन नोस्टाल्जिक भएर गाउँको अतीतमा विचरण गर्दछ; ती दिनमा प्रकृति निर्भय रूपले विचरण गर्थिन्, आज ती उच्छेदनमा परेकी छिन् । त्यसैले वन्य पशुप्राणीले पनि जुलुस निकाल्छन्, विद्रोह गर्छन् ।

देवेनले केही कवितामा पूर्व स्रष्टा वा शोधकर्तालाई पनि स्मरण गरेका छन् अनि कविता समर्पित पनि गरेका छन् । त्यस्तै एक कविता छ सरिता तिवारीको  ‘पुतली’ को प्रतिकृति । कत्रो विडम्बना छ, कविको मनमा एक जुनकिरीसम्म आउँछ । तिनको विनाशले अथवा पुतली, मौरीको विनाशले, मच्छर वा यस्तै कीटपतङ्गको विनाशले, केको विनाश हुन्छ र भन्ने लाग्ला तर कविताले प्रत्येक हाम्रा विनाशक कर्मको दुःपरिणामलाई वैज्ञानिक रीतले प्रस्ट्याउँछन् जस्तो कि जुनकिरीको विनाश भएपछि त्यसबारे पढ्न बुझ्न बुझाउन विकिपिडिया वा गुगल चाहर्नुपर्ने वर्तमान यथार्थ आइसकेको छ :

हजुरबुबा हजुरबुबा फायरफ्लाई,

      तपाईको जुनकिरी यही हो?’

      झल्याँस्स भएछु म

      अनि लम्केछु उसैतिर ।

      मोबाइलमा चित्र देखाउँदै

      हर्षोल्लासमा चिच्च्याउँछ ऊ..

      ‘यी, यता ।’

      ‘विकिपिडियामा लेखेको छ –

      वनजङ्गल मासेर,

      कीटाणुनाशक छरेर

      मासिएका रे यिनीहरू ।

      त्यसैले

      म ठलो भएपछि

      संरक्षण गर्नेछु वनजङ्गल

      धेरै माया गरी पाल्ने छु

      ल्याइदिनुहोस् न मलाई तपाईको जुनकिरी ।’

                  (जुनकिरीदेखि फायरफ्लाइसम्म)

अर्को एक राम्रो वैज्ञानिक दृष्टिले व्याख्या गरेर तथ्य बुझाउने कविताको अंश पनि हेरौँ ‘सोचमा समुद्र’ :

सुरुप्प चुसिलिन्छ वायुमण्डलको एकतिहाइ कार्बन

      समुद्री जलले

      अनि घोल्छ आफ्नै शरीरमा

      सृष्टि गर्न अम्लीय कार्बनिक एसिड ।

      बिचरा चुनबोक्रे प्राणीहरू!

      तड्पिन लाग्छन् ऐयाआत्थु गर्दै

      आफ्नो खोल अम्लमा पग्लँदा

      आगाको रापले मैनबत्ती पग्लेसरि ।

      छटपटिन्छन् शङ्ख कोरल गङ्गटा कछुवा आदि खोलधारी जीवहरू

      भत्भती पोल्दो हो अन्य प्राणीलाई पनि ।

                              (सोचमग्न समुद्र)

विषयवस्तु र पात्रहरू अत्यन्त सामान्य छन् तर तिनको व्यापकता छ । आदिम ग्राम्य जीवन एकातिर छ; अर्कातिर छ साइबेरीय चेतना, रोबोटिक्स र सेन्सरहरू । एक युगपछि ब्युँझँदा देखिने चित्रको परिकल्पना छ कवितामा । जीवश्रेष्ठ जाति मानिसका अनेक रूप छन्, ‘फोहोर बटुल्ने केटोलाई सलाम’ कवितामा देखिन्छ पृथ्वी बचाउनेहरू कति निन्दित र परित्यक्त जीवन भोग्दैछन् । समाज अन्धो छ, स्वार्थी छ । यत्रो समाजलाई देवेन सापकोटाले आँखा देखाउने वैज्ञानिक प्रयत्न गरेका छन् । प्रत्येक कविता पर्यावरणीय चेतनामा समर्पित छ । प्रत्येक कविता पर्यावरण विषयक जीवका खोपीदेखि आहारा सिक्री, प्राणी वनस्पतिको अन्तर्सम्बन्ध, प्राणी वनस्पति र जलवायुको आकाश र ग्रह-नक्षत्रको अन्तःसम्बन्ध एकएक वैज्ञानिक कविताले झिल्कामा बुझाउन खोजेका छन् ।

सबै कविता भाषा शैली र तिनको विन्यासमा परिपूर्ण छैनन्, केही सपाट र साधा पनि छन् । तिनले देवेनको सामर्थ्य चिनाउँछन् । भारतीय नेपाली साहित्यमा यसप्रकारले पर्यावरणमा समर्पित साहित्यिक कृति आएको थाहा छैन । त्यसकारण कति कविता तत्कालै नेपाली पाठयक्रममा राख्न सुहाउने पनि छन् । यसको लागि म सिफारिस गर्दछु । कारण यी वैज्ञानिक आधारले प्रमाण-पुष्ट कुरा छन् । देवेनको कथासङ्ग्रह ‘मनोराग’ पढ्ने अवसर नजुटे पनि उनका कविता पढ्ने मौका मिलेकाले मेरो मन अति प्रसन्न छ । किनभने एक्काइसौँ शताब्दी नलाग्दैदेखि चिन्तनका, लेखनका तदनुसार समीक्षा समालोचनाका पनि विश्व धार बदलिएका छन्; पूर्ण परिवर्तित छन्, संरचनावादी ढाँचा र सोच त्यागेर विकल्पले युक्त उत्तरआधुनिक पद्धतिमा जगत्‌ले प्रवेश गरेको छ । पर्यावरणीय सिर्जना र समालोचना साहित्यको त्यस्तै एक नवीनतम उत्तरआधुनिक धार हो । यो नोबेल पुरस्कारसम्म पुगेको छ । उत्तरपूर्वी भारतको नेपाली साहित्यमा विश्वचेतनाका नवीनतम धारलाई पहिलोपल्ट चिनाउन प्रयत्नमा समर्पित व्यक्ति हुन् श्रीज्ञानबहादुर छेत्री । उनको सद्यप्रकाशित ‘उत्तराआधुनिक सिर्जना र समालोचनाका आधारहरू’ (२०२०) एक दृष्टान्त हो भने एक दर्जनजति शक्तिशाली नव-तरङ्गमध्ये एक सर्वाधिक महत्त्वको कुरा हो- पर्यावरणीय साहित्य । त्यसको अग्रपङ्क्तिका एउटा ऐतिहासिक महत्त्वको कृति जन्माउने व्यक्ति हुन् देवेन सापकोटा । यो नवीनतम विधालाई सिर्जनामा समावेश गरेर परिचित गराउने श्रेय देवेन सापकोटालाई छ ।

विज्ञानभित्र यसरी साहित्य रचिन्छ साहित्य नव सिद्धान्तसँग जोडिन्छ, जोड्नुपर्छ, साहित्य जीवनसँग जोडिन्छ, जोड्नुपर्छ; साहित्य पृथ्वी, ग्रह-नक्षत्रको स्वास्थ्यसँग जोडिन्छ, जोड्नुपर्छ । नजोडेरै हामी ग्रह-नक्षत्र बिरामी पार्दैछौँ आफ्नै काल निम्त्याउछौँ । तीमध्ये एउटा काल हो हालको कोरोना ।

कला कमबेसी भए पनि विषयवस्तुमा यी कविताले ल्याएको विविधता प्रशंसनीय छ । विषयज्ञान नभएको व्यक्तिले यति सक्तैन, जान्दैन । मलाई देवेनको सूक्ष्म चेतना विजय हितानको प्रकाशोन्मुख कथासङ्ग्रह ‘ब्लू-प्लानेट’ भित्रका १८ वटा कथाको विविधता जस्तै लाग्यो । देवेनको कलम त्यसैगरी निरन्तर चलिरहोस् । यो एक आयाम परिवर्तनतर्फको महान् यात्रा हो ।

 

प्रतिक्रिया
Loading...