नयाँ पाठकहरूलाई अग्रज साहित्यकारहरूले दिने गरेको सल्लाह अक्सर यस्तो हुन्छ–
–पाउलो कोहेलो पढेर समय खेर नफाल्नू
–मार्खेज पढ्ने आँट नगर्नू ।
मेरो पठन अनुभवमा यो सल्लाहमा केही सच्चाइ देख्छु । कोयलोका लगभग सबैजसो कृति पढ्दा र मार्खेज पढ्ने दुस्साहस गर्दा मेरो पनि त्यस्तै अनुभव रह्यो । कुनै पनि लेखकका सबै कृतिहरूको बराबर मुल्य (भ्यालु) कहाँ हुन्छ र ? जस्तो पाउलो कोयलोको ‘अलकेमिस्ट’ बाहेक अरू कृतिहरूको ख्याति उति पाइँदैन । त्यस्तै ‘वन हन्ड्रेड यिअर्स अव सलिच्युड’ अर्थात् सय वर्षको एकान्तवास ग्याब्रियल गार्सिया मार्खेजको मास्टर पिस कृति हो ।
राहुल साङ्कृत्यानको चर्चित पुस्तक ‘वोल्गा से गङ्गा’को भूमिका लेखिएको ‘पुस्तक मन पर्नु र मन नपर्नु भनेको आफ्नो रुचिको मात्र कुरो होइन योग्यता पनि हो ।’ भन्ने उद्धरण मनमा लागिरहन्छ । मार्खेजलाई नोबेल पुरस्कार प्राप्त गर्न सफल बनाएको ‘वन हन्ड्रेड यिअर्स अव सलिच्युड’ उपन्यास मैले चार वर्ष पहिले उनको निधन हुनुभन्दा ठिक एक वर्षअघि किनेको थिएँ । ५० पेजभन्दा अगाडि बढ्नै सकिन । चार वर्षसम्म यत्तिकै थाति रहेको थियो । २० औं शताब्दीकै सबैभन्दा महत्त्वपूर्ण साहित्य भनेर साहित्यिक वृत्तमा निकै चर्चित । पत्रिकाका साहित्यिक परिशिष्टाङ्कहरूमा समीक्षा पढेको । साहित्यकार र चर्चित व्यक्तिहरूले एकपटक पढ्नै पर्ने कृति भनेर सिफारिस गरेको धेरै ठाउँमा पढेको थिएँ । लकडाउनको समयको घरवास/एकान्तवासको फुर्सदमा ‘सलिच्युड’ शब्दले पुनः पठन सुचारु गर्न अभिप्रेरित गऱ्यो र सुरु गरे पहिलो पानाबाट फेरि ।
विद्यालय तहदेखि नै अङ्ग्रेजी माध्यममा पढेको हुँदा उपन्यास पढ्न र बुझ्न के गाह्रो होला र भन्ने लागेको थियो । साहित्यको आधारभूत तत्त्वहरूको ज्ञान नहुने हो भने विश्वस्तरका साहित्यको मर्म बुझ्न सकिँदैन । साहित्यिक चेतको कमीले बुझ्न नसकेको भनेर स्वीकार गर्न मन मानिरहेको थिएन । त्यसैले यसलाई जसरी पनि छिचोल्नुपर्छ भन्नेमा दृढ थिएँ । ‘वन हन्ड्रेड यिअर्स अव सलिच्युड’को चुनौती सामना गर्न मैले अरू पढ्नुपर्छ, धेरै पढ्नुपर्छ भन्ने लाग्यो । यसबीचमा प्रायः सबै जसो नोबेल पुरस्कार प्राप्त लेखकका कृतिहरू, बुकर पुरस्कारमा सूचीकृत साहित्यका पुस्तकहरू, अरुन्धति रोय, मुराकामी, झुम्पा लहिरी, भि एस नायपुल, पङ्कज मिश्रा, अर्वेल, पामुक, मिलान कुन्देरा लगायत बुटवलमा उपलब्ध हुने विश्व साहित्यका क्लासिक किताबहरूदेखि वर्तमानका बेस्ट सेलर कृतिहरू पढ्ने बानी बसालेँ ।
हुन त म व्यवस्थापन सङ्कायको विदयार्थी हो । मैले अध्ययन गरकेो सेन्ट जेभियर्स कलेज काठमाडौँको पुस्तकालयमा हरेक खालका पुस्तकहरू उपलब्ध छन् । मार्खेजको ‘लव इन द टाइम अव कलेरा’ १२ वर्षअघि स्नातकोत्तर तहको विदयार्थी हुँदा त्यहीँ पढेको थिएँ । यो उपन्यास सहजै बुझेको थिएँ । फर्मिना र फ्लोरेन्टिनो नाम गरेका दुई वृद्ध जोडीको एक अद्भुत अनि असामान्य प्रेम कथा बुझ्न खासै समस्या भएन ।
मार्खेजको लेखनशैली, वाक्यगठन, विम्ब र प्रतीकको प्रयोग चामत्कारिक छ । जस्तै लुगा सुकाइरहेकी आइमाई अचानक आकाशमा गायब हुने । अजिब लाग्ने पात्रहरू सबै उस्तै उस्तै लाग्दछन् । सबै पात्रको नाम उस्तै लाग्छ । को बाउ, को छोरा पत्ता पाउन मुस्किल हुन्छ –सबै ‘आरकेडियो’ सबै ‘औरेलियानो’ ।
अचम्म लाग्दो घटनाको वर्णन छ । ल्याटिन अमेरिकाको सानो काल्पनिक सहर माकोन्डोको कथा हो ‘वन हन्ड्रेड यिअर्स अव सलिच्युड’ । लाग्छ मार्खेज त्यहीं गाउँको कथा लेख्दैछन् एकदमै सुरुदेखि, जहाँबाट सभ्यता सुरु हुन्छ । काल्पनिक सहरको माध्यमबाट मार्खेजले कोलम्बियाको इतिहास लेखेका छन् उपन्यास मार्फत । लेखनमा अद्भुत कल्पनाशीलता (म्याजिकल रियालिज्म) छ । यही कल्पनाशीलताको प्रयोगद्धारा दुनियाँबाट बिल्कुल अलग तर ऐतिहासिक आधार भएको माकोन्डो सहरको कथा बुनेका छन् मार्खेजले । सहर परिवारहरू, मजदुरहरू र प्रेमीहरूले भरिभराउ छ । सहरको इतिहास जादुमयी छ ।
माकोन्डोमा महिनौँसम्म कोही पनि निदाउन सक्दैनन् । अनिद्राको महामारी फैलिएर कसैले पनि केही नसम्झिने हालतमा पुगेका हुन्छन् । चार वर्षसम्म लगातार वर्षा भैरहन्छ र अन्त्यमा गोराहरूले सहरको अन्वेषण गर्छन् । एक कम्पनीले सहरलाई बनाना रिपब्लिकमा बदल्छ । त्यसपछि त्यहाँ खतरनाक दङ्गा हुन्छ । सयौँले ज्यान गुमाउँछन् । एकजना बाँच्न सफल व्यक्तिले सहरको कथा भन्छ तर उसको कथालाई कसैले विश्वास गर्दैन ।
सन् १९६७ मा प्रकाशित यो कृति ४४ वटा फरक फरक भाषामा छापिएको छ । चार करोड पचास लाख प्रति बिक्री भएको अत्युत्तम (क्लासिक) साहित्य हो ‘वन हन्ड्रेड यिअर्स अव सलिच्युड’ । समय, नियति, हास्यरस र जादु मुख्य विषयवस्तु (थिम) हुन् । जादुमयी यथार्थको निकट मानिएको यो उपन्यासमा चुम्बकीय मिथकहरू छन् । बुयन्डिया परिवारका सात पुस्ताको कथा छ ।
बाइबलमा वर्णन गरिएजस्तै उपन्यासमा बुयन्डियाहरूले सम्भावित सुखको भ्रममा एकान्तपन र अपरिहार्य दुःखान्तलाई मूर्तरूपमा प्रस्तुत गर्छन् । धेरैजसो आधारभूत कथानकहरू बाइबलमा वर्णन भएका कथाहरूसँग मिल्दोजुल्दो पाइन्छ । उर्सुला र जोस आर्केडियोले आदम र इभको प्रतिनिधित्व गर्छन् । कथामा आउने जिप्सिहरूले विरोधाभाषपुर्ण र असम्बन्धित घटना र पात्रहरूको बीचको सङ्क्रमण बुझाउँछन् ।
कर्णाली ब्लुजका लेखक बुद्धिसागर भन्छन्– लेखकको जीवनशैली, उसको जमिन र उसको संस्कृति थाहा नपाई पुस्तक बुझिँदैन । मार्खेज मुलत स्पेनिस भाषामा लेख्ने लेखक हुन् । कथाबस्तुलाई चामत्कारिक रूपमा बेजोड र मर्मभेदी बनाउने सिद्धहस्त लेखक हुन मार्खेज । मार्खेजकी हजुरआमा दिवङ्गत पूर्वज, भूत र प्रेतात्माका कथाहरू आफ्नै आँखाले देखेजसरी सुनाउँथिन रे । मानौँ ती सबै करेसामा नाचिरहेका छन् । यस्तो जादुमयी शैलीबाट प्रभावित मार्खेजले यो उपन्यास लेखेका हुन् र यही शैलीले उनलाई अमर बनायो । मार्खेजका आख्यानलाई आख्यानको रूपमा पढेर बुझिँदैन । उनका आख्यानहरू बुझ्न कविता मानेर पढ्नुपर्दछ ।
पढ्दै जाँदा उस्तै लागेका पात्रहरू फरक लाग्छन् । ‘कन्फ्युजिङ्ग’ लागेका पात्र तथा घटनाहरू रमाइलो लाग्छ । उपन्यासमा सिर्जित म्याकोन्डो गाउँ कुनै दूर–दराजको आदिवासी बस्तीजस्तो लाग्छ र त्यसमा बसोवास गर्ने बुयनडिया परिवार कुनै एउटा प्राचीन सभ्यताको पहिलो पुर्खाजस्तो लाग्छ ।
(नोस्टाल्जिया) पुरानो सम्झना र (एम्नेसिया) स्मृति लोप बुयन्डिया वंशका दुई रोगहरू हुन् । एउटाले पीडितहरूलाई इतिहाससँग बाँध्छ भने अर्कोले तिनिहरूलाई वर्तमानमा फसाएर राख्छ । स्मृति र विस्मृति प्रधान विषयको रूपमा बारम्बार दाहोरिएर आउँछन् । उपन्यासका आधाभन्दा धेरै पात्रहरूले असाध्यै धेरै स्मृतिहरूको बोझले थिचिएको पाइन्छ भने अरू आधा पात्रहरू विस्मृतिबाट ग्रसित देखिन्छन् । एकान्तवास अर्थात् सलिच्युड प्रवल विषय (थिम)को रूपमा पाइन्छ किताबमा । सहरको एकान्तपनले ल्याटिन अमेरिकाको इतिहासको औपनिवेशिक कालको प्रतिनिधित्व गर्छ । बाँकी विश्वबाट अलग्गै रहेका बुयनडियाहरू स्वर्थी र एकान्तप्रिय हुन्छन् ।
एउटा रोचक प्रसङ्ग
मार्खेज, साहित्य मात्रै पढ्ने पवित्र विचार छोडिसकेको छु भन्थे तर हात परेका सबै अखबार र म्यगेजिन पढ्थे । एक दिन श्रीमतीले मार्खेजलाई अनौठो खबर सुनाइन् । कहाँ पढेको भनेर सोध्दा उनले ब्युटीपार्लरमा भेटेको पत्रिकामा पढेको भनिन् । त्यसपछि उनले हाम्रो नेपालमा पढिने ‘नारी’ टाइपका पत्रिकासमेत पढ्न थाले ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।