• आमुख

    नेपाली कविता साहित्यमा विलोक शर्मा ‘खरेल’ एउटा छुट्टै नाम स्थापित भएको छ । उनको जन्म ४ अक्टोबर, १९८३ मा डुवर्सको मदारिहाट प्रखण्डको उत्तर खयरबारीमा बाबु श्री प्रभात कुमार खरेल र आमा श्रीमती जानकीदेवी खरेलका सुपुत्रका रूपमा जन्मेका हुन् । विलोक शर्माले घरमा सानैदेखि साहित्यिक परिवेश पाएका हुन् । उनका बडाबाबु स्व. जगदीश खरेल डुवर्सको नेपाली साहित्यको प्रारम्भिक अवस्थादेखि नै साहित्य लेखन र सम्पादनमा सक्रिय रूपमा संलग्न थिए । आफ्ना बाबु र काकासमेत साहित्यका अध्येता र रुचि लिने हुन् । घरमा साहित्यिक पत्रिका र किताब पढ्ने परिवेश रहेको छ । शर्माले आफु कलेज पढ्दादेखि नै साहित्यमा रुचि लिएको देखिन्छ । दार्जिलिङ सरकारी कलेजमा वनस्पति विभागमा स्नातकोत्तर अध्ययन गर्दा उनी साहित्यिक गतिविधिमा निकै सक्रिय थिए । त्यहाँको साहित्यिक गोष्ठीमा प्रायः जसो कविता पाठ गरेका हुन्थे । जातीय प्रेम र चिन्तनमा सदा संलग्न, नवीनताको खोजी, साहित्य अध्ययन, कवितालेखन, आफ्नो कर्मक्षेत्रमा तल्लीन, साथीहरूमा सम्पर्क आदि उनका दैनिकी ।

    • नेपाली कविता र डुवर्स

    भारतीय नेपाली कविताले आफ्नै धार, प्रवृत्ति, पद्धति पहिल्याउँदै गरेको छ । जातीय समस्या, अस्तित्व जिउनुपर्दा भोग्नुपर्दाका पीडा, असन्तुष्टि, असमञ्जसता आदिलाई स्वर दिइएको पाइन्छ । नेपाली कविता विधाको विकासमा डुवर्सभूमिको पनि योगदान रहेको छ । टिष्टा नदीदेखि सुनकोश नदीसम्मको यस विस्तृत स्थानलाई नेपाली कविताको इतिहासमा छुट्टै रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ । सन् १९४० मा दिलबहादुर सरदारको लोककाव्यअन्तर्गतको धामीको सवाई देखि नै नेपाली कविताको लेखिँदै आएको देखिन्छ । अहिले आएर यहाँको कविता निकै झ्याँगिएको पाइन्छ । यहाँको आफ्नै इतिहास, सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक परिवेश छ अनि यहाँबाट लेखिने कविताको स्वर भिन्न पाइन्छ । चियाकमान, खेतीपाती र वनबस्तीमा रहेका यस क्षेत्रका कविहरूका कवितामा जनजीवनका सुस्केरा, मर्म पीडा, सामाजिक-राजनैतिक-आर्थिक सङ्कट आदिलाई प्रमुख रूपमा स्वर दिएका छन् । प्रगतिशीलता नै डुवर्सेली कविताहरूको मुख्य स्वर हो । कृष्ण योञ्जन, किताबसिंह राई (अक्षरानुभूति, २०१४) इन्द्रबहादुर गुरुङको बेदुइन (२००८), यात्रा (२०१८), लोकनाथ प्रधान, मणिकुमार थापा, नरेन्द्र खँडका, टीका पराजुली, कमल थुलुङ (भाव विम्ब २०१०), जीवन राना (जीवनका मुक्तक), सिताराम काफ्ले (समयको अवसान, २०१२), अशोक विश्व (जीवन नदी), किशोर मोक्तान, शङ्कर प्रधान, रवीन खवास, पदम भुजेल, गोपालसिह विश्व (युग र मान्छे, २०१३) वेगवसन्त थापा, पाठशालाको पहिलो दिन (बालकवितासङ्ग्रह, २००४), म टिष्टा बगिरहेछु (२००७), निर्मल आग्रह (आधा पहाड, २०१६), अनन्त श्रेष्ठ, गणेश गजमेर (गाउँलाई भनेर, २०१३, समय सम्बोधन, (२०१९), रूपेश विश्व (स्वप्न बीज २०१३), किरण उपाध्याय (डुवर्स तिमी २०१४), राजीव विश्व (कृष्णचुँडा, २०१८), विलोक खरेल (समयाभास, २०१९ आदि रहेका छन् । डुवर्सेली नेपाली कविताको अलगै पहिचान, स्वर, शिल्प र विषयवस्तु हुनाले छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ । यहाँका कविताका स्वरमा आफ्नै किसिमका प्रस्तुति रहेका छन्, आफ्नै समाजशास्त्र, मनोविज्ञान, मानसिकता, प्रवृत्ति, आफ्नै किसिमको भूराजनैतिक प्रभाव पाउन सकिन्छ डुवर्सको नेपाली कवितालेखन, कवितागत प्रवृत्ति र कथ्य स्वरको छुट्टै रूपमा सन्धान गर्नुपर्ने देखिन्छ ।

    • अनुवादक विलोक शर्मा

    भारतीय नेपाली कविता साहित्यमा नेपालीबाट हिन्दीमा अनुवाद गर्ने धेरै छन् तर बङ्गलामा अनुवाद गर्ने थोरै छन् । पश्चिम बङ्गाल राज्यभित्र बसेर पनि कुन मनोविज्ञानले हो बङ्गला अनुवाद कम भएको पाइन्छ । नेपाली र बङ्गला भाषा व्याकरणिक र अर्थगत तहमा धेरै नजिकको पाइन्छ । विलोकले नेपालीबाट बङ्गलामा ५५-६० जना जति भारतीय नेपाली कविहरूका लगभग ६० देखि ६५ वटा जति कविता अनुवाद गरेका छन् भने ४५-५० वटा जति विभिन्न पत्रिकामा प्रकाशित छन् । उनका प्रकाशित बङ्गला पत्रिकाहरू बङ्गलादेशका ‘अर्वाचिन’, ‘धरला’, ‘टाइम्स’, ‘आलोकित’, ‘सकाल’, ‘छाइलिपि’, ‘प्रथम ट्रिब्युन’ आदि र यता भारतका ‘पाण्डुलिपि’, ‘आरसीकथा’, ‘न्यूजपिडिया’, ‘न्युज सुन्दरवन’, ‘बिनिद्र’ पत्रिका आदिमा प्रकाशित भएका छन् । यिनले नेपाली कवितालाई भाव र शिल्पलाई नखज्मजाई जति सक्दो नजिकमा पुगेका छन् । फेसबुकमा भएका एक दुइवटा नमूना हेर्न सकिन्छ । उनको अनुवादक व्यक्तित्वले विस्तारै अन्य व्यक्तित्वभन्दा प्रबल बन्दै गएको छ । उनको अनुवादको उज्यालो पाएर धेरै कविहरू विश्वका बङ्गाली पाठकका आँखामा पुग्न सकेका छन् । नेपाली कवितालाई बङगलामा सबैभन्दा धेरै सङख्यामा अनुवाद गर्ने विलोक शर्मा नै हुन पुगेका छन् । अनुवाद कार्यतर्फ उनको अपार सम्भावना देखिन्छ । आफै एक सचेत, जोसिला कवि र काव्य मर्मज्ञ हुनाले उनको अनुवाद कला निश्चय नै मूलको मर्मलाई जतिसक्दो पालन गर्न सक्षम छन् ।  हाम्रो साहित्म बङ्गला अनुवादको कमीलाई उनले केही मात्रामा पूरा गरिरहेका छन् ।

    ४. समयाभास कवितासङ्ग्रहको रन्को

    डिसेम्बर २०१९ मा प्रकाशित भएको विलोक शर्माको समयाभास कवितासङ्ग्रहले कविता पाठकमा निकै प्रभाव पारेको छ । यसले समीक्षकहरूलाई पनि केही प्रभाव पारेको छ । गत ३ जनवरीमा यसै सङ्ग्रहमाथि केन्द्रित गरेर गोर्खा युवा मञ्च, कार्बी आङलाङले आफ्नो अनलाइन कार्यक्रमको ग्रन्थ गुञ्जन कार्यक्रमको तेस्रो अङ्कका रूपमा चर्चा राखेको थियो । यसमा समीक्षक श्री रूपेश शर्मा र श्री जय क्याक्टस रहेका थिए । यी दुई वरिष्ठ समीक्षकले लगभग एक घण्टा जति बहस गरेका थिए । यस पुस्तकको परिचर्चामा यी दुई समीक्षकहरू समयभासका विभिन्न भाव र शिल्प पक्ष र प्रवृत्तिमाथि केलाउने प्रयास गरेका थिए । यसबारे ‘हिमालय दर्पण’मा पनि लेख प्रकाशित भएको छ ।

    यस कवितासङ्ग्रहका बारेमा उनलाई केही समीक्षकहरूबाट मौखिक वा लिखित प्रतिक्रिया प्रकाशित भएको देखिन्छ । पुस्तकको भूमिकामा जय क्याक्टस, सि. के. श्रेष्ठ र अबीर खालिङले पनि यसको जमेर प्रशंसा गर्दै यसलाई एउटा अब्बल काव्यकृतिका रूपमा स्विकारेका छन् । जय क्याक्टसका अनुसार ‘शर्माका कवितामा स्थानिकसितै वैश्विक सचेत अभिव्यक्ति पाइन्छन् । समयान्तरमा देखिएका परिवर्तन र परावर्तन कविताको मूल स्वर छ । यसमा आञ्चलिक उत्तर आधुनिकताको वैचारिकता लिएका छन् ।‘अबीर खालिङले उनका कविताहरूको स्वर सन्धान गर्ने क्रममा विसङ्गत त्रासद समयाभिव्यक्ति, आस्तितात्विक आग्रह र डुवर्स पीडाका बोलहरू, नागर जीवनशैली र प्रौद्योगिनीप्रसून विम्बको प्रयोग आदि वर्गीकरण गरी यथोचित मूल्याङ्कन गरेका छन् । सि. के. श्रेष्ठका अनुसार शर्माका कवितामा विद्रोही चेतना, नैराश्य र हतोत्साह, आशावाद, दार्जिलिङ डुवर्सको प्रतिविम्बन आदि खुट्याएका छन् ।

    यस कवितासङ्ग्रह अध्ययन गर्दा बेग्लै कविताको आनन्द रसानुभूति र बोधन पाइन्छ । छोटा छोटा कवितामा भावगत सघनता, विषयगत विविधता, शैलीगत आकर्षण, प्रस्तुतिगत वैशिष्ट्य र उद्देश्यगत स्पष्टता पाइन्छ । थोरै शब्दहरूमा भाव-सघनता, संश्लिष्टता अर्थगत गहनता पाइन्छ । कविताभित्र पस्नेले यसभित्र उत्तराधुनिकता, नारीवाद, जातीय उन्मुक्तिका स्वर, सीमान्तका स्वर, शहरीकरणभित्रको विकृति, श्रम शोषणको वास्तविकता, शोषणका नयाँ नयाँ प्रयुक्ति, विज्ञानमूलक विम्ब निर्माण, वैयक्तिक प्रतीक योजना आदिलाई पाउन सक्छन् । भविष्यमा यसमाथि समीक्षाको आलोक अझै पर्ने सम्भावना देखिन्छ ।

    • समयाभासमा युगबोध

    सङ्गहमा एउटा कविताको शीर्षक छ युगबोध जसले यस समयको आभास दिन्छ । समसामयिक नेपाली  कवितामा विलोक शर्माको समयाभासले एउटा स्पष्ट स्थान लिएको छ । विलोक शर्माको समयाभासलाई परम्पराको निर्वाह गरेका छन् कि परम्परालाई नाघेका छन् भन्ने प्रश्न उब्जिन सक्छ । यसले परम्पराभन्दा भिन्न भाव र शैली प्रस्तुत गरिएको पनि पाइन्छ भने नयाँपनको खोजी पनि पाइन्छ । उनका कविताले विश्वग्रामको अवधारणालाई आत्मसात् गरेको देखिन्छ । विश्वव्यापी समस्यालाई कविले ठम्याएका छन् । उनका कवितामा गाउँदेखि लिएर विश्वसम्मको चिन्तन र पर्यवेक्षण गरिएको छ । विश्वव्यापी आतङ्कवाद, मानवमूल्यको ह्रासोन्मुख अवस्था, हतियारको होडबाजी, अशान्ति, युद्धरत अवस्थादेखि लिएर आफ्नो देशको भ्रष्टाचार, सरकारी ढिलासुस्तीपन, कुत्सित मानसिकता, धार्मिक असहिष्णुता आदि लाई कवित्वको स्वर दिएका छन् । यसमा रहेका केही शब्दहरू जस्तै ह्यासट्याग, मु, मेनोपज, आदि शब्दहरूले नै आजको युगजन्य परिदृश्य झल्काउँछ ।

    कविताका निम्ति वर्तमान युग विभिन्न स्थिति डरलाग्दो छ । मानिसको मन-मस्तिष्कदेखि नै विकृतिले ग्रस्त बन्दै गएको छ । अहिलेको युगमा मानिसमा पुँजीवादबाट उब्जेका अर्कै बन्धन, गुलामी, अनैतिक र यसप्रति मानिसको आँखा चिम्ल्याइ, स्वार्थका निम्ति मानिस नैतिक, अनैतिक काम दौडेको देख्छन् । देशमा आतङ्क, धार्मिक उन्माद, उग्र राष्ट्रवाद, अकर्म्यता, भ्रष्टाचारग्रस्तता आदिले जर्जरित छ । मानवता मरेको छ । धार्मिक उन्मादीहरू नै मानवतावादका विरोधी बनेका छन्-

     जेहादी गर्नेहरू

     उजेलोमा भगवान्‌का लास कुल्चन्छन्

     साँझमा धर्मग्रन्थ छुएर

     पाप धुन खोज्छन् ।

    वर्तमान युगमा नारी शोषणका नयाँ नयाँ मार्गहरू आएका छन् । बलात्कार अहिलेको सबैभन्दा ठुलो कलङ्क भएको छ तर जताजतै बढ्दो छ । नारीलाई एकपट्टि समानताको करा छ अर्कापट्टि बलात्कार पनि बढ्दो छ । यसमा रहेका केही कवामा नारी बलात्कारका प्रसङ्ग आएका छन् ।

    • समयाभास प्रगतिवादी चेतनाको आभास

    प्रगतिवादी दृष्टिकोणले समयाभास कतिको प्रभावित छ भन्ने कुरामा हामी छुट्टै रूपमा अध्ययन गर्न सकिने ठाउँ छन् । कवितासङ्ग्रहका प्रायः कवितामा प्रगतिशील स्वरको परोक्ष रूपमा आभास पाउन सकिन्छ । नयाँ चेतना, व्यवस्थाप्रति व्यङ्ग्य र विद्रोहको स्वर उरालेका छन् । डुवर्सको चिया श्रमिकको अवस्थाप्रति असन्तुष्टि, सामाजिक असमानताप्रति विरोध, परिवर्तनाकाङ्क्षी आदि तत्त्व पाइन्छन् । पुँजीवादी यस युगका चिया श्रमिकहरूको अवस्था, सरकार पनि पुँजीपतिहरूकै पक्ष, जातीय उन्मुक्तिका चाहना, डुवर्सका जनजीवनका अवस्था र आकाङ्क्षा आदि प्रगतिशील स्वर स्पष्ट परिलक्षित छन् । उनका केही कवितामा शहरीय साम्यवादको पनि स्वर पनि कता कता देखिन्छन् ।–

    बर्सौँदेखि वाक्‌रुद्ध वीरबहादुर पनि

    बोल्न खोज्दैछन्-

    अतीतको इतिहास

    मनको अँधेरोलाई पनि

    भेद गरेको छ आजको सूर्यले – भन्दै एक उत्पीडन शोषण दोहन नभएको सर्वसाम्य र साझा वृहत् गाउँ बनाउन आतुर छन् । कविले अहिलेको समयमा श्रमशोषण, धनशोषण, मनशोषण नयाँ युक्तिले राष्ट्रमा धनकुवेरहरूको बढदो मात्रालाई देखेर आक्रोश व्यक्त गर्छन्-

    अब पठाउन पर्दैन कालेलाई

    अर्काको ढोका रुङ्न

    धुवैँ धुवाँ भएका शहरहरूमा भोगवस्तु बन्नु पर्दैन छोरीहरूलाई

    धनकुवेरहरूका काला साम्राज्यहरूमा ।

    कविका विचारमा अहिलेको पुँजीवादी युगमा विज्ञापनमुखी बजारवादले उब्जाएका विकृति, विरूपता, अनैतिकता, आडम्बर पनि आदिको सङ्केत गर्दै तिनको निर्मूलनको परोक्ष आह्वान गरेका छन् ।

    • समयाभासमा डुवर्स

    विलोक शर्माको समयाभासमा डुवर्सको प्रतिविम्बन भएको पाइन्छ । डुवर्सका हरिया चियाबारी, त्यहाँभित्रका श्रमिकहरूको पीडा, अभाव, उपेक्षा, हीनताभास, अवहेलना, अन्य भाषीसितको सम्बन्धका उतार चडाउ, स्थापन र विस्थापन प्रतिविम्वित भएको पाइन्छ । डुवर्सको समस्याहरूलाई कतिसम्म सम्बोधन वा प्रतिविम्बन गरिएको छ भन्ने कुरामा डुवर्सकै अध्येताहरूबाट राम्ररी अध्ययन हुनसक्छ । डुवर्स – १, डुव्रस -२ र डुवर्स ३ गरी शृङ्खला कविताहरूमा डुवर्सको चित्राङ्कित पाइन्छ । विलोकका कवितामा पनि प्रत्यक्ष –परोक्ष डुवर्स प्रतिविम्बत भएको छ । डुवर्सको चियाबगान र त्यहाँका चिया श्रमिकहरूको श्रम शोषणको वास्तविकतालाई उनले काव्यात्मक कथ्य बनाएका छन् । घामले भिजेका सपनाहरू कवितामा कविले चिया श्रमिकका अवस्थालाई यसरी दृष्याङ्कित गरेका छन्-

    चियाका प्यालाहरूमा

    आफ्नै पसिना पिउँदै

    तापिरहेछन् धनबहादुरहरू  

    त्यो घामलाई

    त्यसको तापलाई

    त्यसको रापलाई

    कविले डपवर्सलाई शोषण, जातीय आदिवासी नेपालीको जाति सम्प्रीति र एकता, अनुप्रवेशको लाञ्छना, चियाकमानको लकआउट र कहिले नसकिने श्रमिक आन्दोलनहरू, सरकारबाट बेवास्ता आदि विषयहरूका सङ्केत पाइन्छन् । विश्व एकापट्टि विकासको चरमस्थितिमा छ भने अर्कापट्टि हाम्रातिर पहाड डुवर्स भने अविकसित, शोषित, खान लाउनकै डोहोडोहो, आन्दोलनरत उत्पीडित आदिको सन्धान छ ।

    • समयाभासका कविताहरूको अन्य आकर्षण बिन्दुहरू –

    सामान्य पाठकहरूलाई कुन कुन कुरामा आकर्षित गर्न सकेको छ भन्ने कुरामा हामी घोत्लिन सक्छौँ । कविताहरूका भित्र भएको छोटो छरिता प्रस्तुतिले? भावले? अर्थगत चमत्कारले? जातीय समस्याका कुराहरूले? डुवर्सका वास्तविकता दर्शनले ? युगका जल्दाबल्दा समस्याको उठानले?  कविको अध्ययन र कर्मको फाँट विज्ञान हुनाले यसमा विज्ञान तत्त्व पनि पसेका छन् । यसमा रहेका कविता पाठकले रुचाउन उपर्युक्त जम्मै कारण रहेका छन् । कविता छोटा छरिता, खँदिला, अर्थगत गहिराइले युक्त छन् । थोरैमा धेरै भनिएका छन् । यसमा रहेका विविध भाव, विश्वग्रामको चेतना, राष्ट्रिय र अन्ताराष्ट्रिय समाजको दिग्दर्शन, मानवीय चरित्रका पत्रैपत्र आदिलाई काव्यिक भावमा उतारेका छन् । यसमा अर्थगत चमत्कार पनि पाइन्छ । यसमा जातीय र स्थानीय समस्यालाई पनि सम्बोधन गरिएको छ । प्रगीतात्मकता, वर्णन, समानार्थी, विरोधाभाषी, प्रतिशब्द, सङ्केतन आदि कविता लेखनगत तक्निकीले कविताहरू रोचक र आकर्षक बनेका छन् । यसका साथै सङ्ग्रहमा केही प्रतीक र विम्बको प्रयोगले पनि यसलाई विशिष्ट पारेका छन् भन्न सकिन्छ । यसमा प्रतीक र विम्बहरूको कुशल संयोजन र सन्तुलित प्रयोग पाइन्छ ।  प्रायः कवितामा इन्द्रिय, प्राकृतिक आदि विम्बहरू पाइन्छन् । बारुदका गन्ध, रगतपच्छे, क्यानभास, पाप्रा आदिजस्ता विम्बले प्रकृतिजन्य र इन्द्रियजन्य संवेदनालाई समेटेको पाइन्छ । अझै खोज्दै गए धेरै विम्बहरू प्रयुक्त छन् जसले कविताहरूलाई मिठासले भरिदिन्छन् ।

    • अङ्ग्रेजी शब्दको प्रयोग

    सङ्ग्रहका कविता पढ्दा प्रशस्त मात्रामा अङ्ग्रेजी शब्द भेटिन्छन् । यस्ता अङ्गेजी शब्दहरूलाई आमपाठकलाई कविता बोधनमा समस्या त पारेका छन् । यसो गर्नुको मुख्य आधार भावलाई जस्ताको तस्तै सशक्त रूपमा अभिव्यञ्जित गर्न खोज्नु हुनसक्छ । एउटा कुरा के बुझिन्छ भने कतिपय ठाउँमा नेपाली शब्द हुँदा हुँदै अङ्ग्रेजी शब्द देखा परेका छन् । एक प्रकारले आजका कतिपय कविमा अङ्ग्रेजीप्रतिको मोह दर्साउन चाहेका हुन्  कि? हामी पनि विश्वसाहित्यको ए अङ्ग हौँ है भन्ने जनाउन खोजेका हुन् । एकप्रकारले अहिलेका कविहरूको फेसन पनि लाग्दछ । के हाम्रामा भएकै शब्दहरूले अङ्ग्रेजी शब्दझैँ भाव सम्प्रेषण गर्न सक्दैनन्? अवश्य सक्तछन् । यो एकप्रकारको नचाँहिदो प्रयोग पनि लाग्दछ । यद्यपि वर्तमानको विज्ञान र प्रविधिलाई दुरुस्त बुझाउन र सम्प्रेषण दिन यस्ता अङ्ग्रेजी शब्दले मात्र सक्तछन् भन्ने पनि छ । कतिपय अङ्ग्रेजी शब्दको नेपाली शब्द पनि छैनन् । प्युरिटी (शुद्धता), फर्टिलिटि (उर्वरता), र्‍याम्प, फेसियल, आउटडेटेड (बितिसकेको), एटोमिक (आणविक), स्लोगन (नारा), पेन्डलम, पोट्रेट, फारमेसी, मोडल, ग्रेजुएट, फोल्डर, पासवर्ड, स्क्रिन सेभर, किबोर्ड, गेममेकर, क्लिपिङ्स, मिटिम रुम (सभागृह), मि टु, प्यारालाइज्ड, इन्गेज्ड आदि अङ्ग्रेजी शब्द प्रयुक्त छन् । यस्ता केही शब्दलाई नेपालीमा उल्था गर्ने खोजे, कविताको सम्प्रेषण क्षमता र प्रभावान्विति कमजोर हुन सक्छ । यद्यपि कतिपय शब्द नेपालीमा लेखे सम्प्रेषणमा उस्तो फरक पर्दैन ।

    • सङ्ग्रहमा शृङ्खला कविताको प्रयोग-

    यहाँ ‘आजका चित्रहरू’ भन्ने शृङ्खला कविताहरू देखिन्छन् यी शृङखलाका कविताहरूले आजको विकट स्थितिको चित्रण गरेको पाइन्छ । आजको डुवर्स एकदखि तीन सम्मका शृङ्खलाबद्ध छन् । ‘यी चित्रहरू’१ चित्रहरू- २ र चित्रहरू – ३ । त्यसै गरी डुवर्स – १  डुवर्स- २. र डुवर्स- ३, गरी दुइ शीर्षकीय कविता शृङ्खला कविता प्रयोगका रूपमा रहेका छन् । एउटा शीर्षकको एउटा शृङ्खलाले मनको आशय नभएकाले हो कि सामान्य प्रयोगको आतुरीले हो ; यो बुझ्नुपर्छ । यसममा हेर्दा तीनवटैमा विभिन्न सन्दर्भका भिन्नाभिन्नै चित्र अनि डुवर्सको स्थिति पाइन्छ । कविले यी छवटा कवितालाई छवटा नाम दिएका भए पनि फरक पर्दैन थियो तर यसरी प्रयोग गर्नु उनको शिल्पचेतना र नयाँपन हो ।

    • शीर्षक र कविता- भावी अध्येतका निम्ति उनका कविताका फाँटहरू

    सङ्ग्रहका कविताहरूको शीर्षक रखाइ र कविताबिच कतिको तालमेल पाउनु सकिन्छ । यसमा रहेका केही शीर्षकले नै कविताको अर्थ र भावलाई सम्बोधन गरेको पाइन्छ । सङ्ग्रहका कविताभित्रको भावलाई शीर्षकहरूले बोकेका छन् । ‘अक्षर अनि गणतन्त्र’, ‘समयचक्र’, ‘त्यो बुढो रुख’, ‘धुँवाहरूको म्याराथन जुलुस’, ‘आजको (आजको हुनुपर्ने) डुवर्स -१,२.,३’, ‘वैश्विक आगो’, ‘दृश्वालोकन’, ‘राष्ट्रवाद’, ‘घामले भिजेका सपनाहरू’, ‘मि-टु’, ‘अँधेरो चिर्दै’, ‘सम्झनाका भग्नावशेषहरू’, ‘युगवोध’, ‘क्रिप्टोमेरिया अनि दार्जीलिङ’, ‘रात अनि घाउहरू’, ‘आजका चित्रहरू- १-२-३’, ‘देशलाई सोध्नु छ’, ‘समयको मेनोपोज’, ‘यथार्थ’, ‘मृगतृष्णा’, ‘ह्यासट्याग – कविता’, ‘तिमी र म’, ‘फर्किआऊन् ती दिनहरू’, ‘मुखौटो’, ‘समुद्र अनि म’, ‘वास्तविकता’ जस्ता शीर्षकमा रहेका कविता सङ्गृहीत छन् । कवितासङ्ग्रहमा राजनैतिक चेतना आंशिक रूपमा पाइन्छ । ‘समयाभास’ का कविताहरूका शीर्षकबाट नै जातीय चेतना, विश्वचिन्तन, युगीम तस्बिर, आडम्बरीपन, देशको राजनैतिक विकृति, डुवर्स चेतना, असहज स्थिति सङ्केतन र सम्बोधन गर्न सकेको पाइन्छ । जातीय चेतनाका स्वर ठाउँ ठाउँमा परिलक्षित भएको पाइन्छ । विलोक शर्माका कविताहरू अध्ययन गर्दा यसमा राजेन्द्र भण्डारीका कविताहरूको आंशिक रूपमा भए पनि प्रभाव परेको पाउन सकिन्छ । भण्डारीका कवितामा जस्तो राजनैतिक, सामाजिक आदि कुरामा व्यङ्ग्य, समसामयिकता आदि कुरामा प्रभाव परेको आभास हुन्छ । सङ्ग्रहका सबै कविता छोटा छोटा छन् । यहाँलाई यी छोटा कवितामा कतिको अर्थगत गहनता छन् ।

    • मूल्याङ्कन र उपसंहार

    नेपाली कविता क्षेत्रमा अब विलोक शर्माको नाम र स्थान पनि सुरक्षित पाइन्छ । उनका कवितामा नयाँ नयाँ शिल्प, प्रतीक विम्ब, शीर्षकीकरण, स्थानीयदेखि विश्वजनीन चिन्तन, जातीयतादेखि विश्वव्यापी मानवतावादको प्रतिपादन आदिलाई कविताको स्वर दिएका छन् । छोटा छरिता संरचना भएका उनका कवितामा भावसम्प्रेषण क्षमता, थोरैमा धेरै भनिएको, युगसचेत भावविम्ब आदिले गर्दा विलोक शर्माका कविता आम पाठकका निम्ति सम्प्रेषणीय, पठनीय, सङ्ग्रहनीय हुने सिद्ध हुन्छ ।