एकपटक छामेर अक्षरहरु ‘क’को भौतिक शरीरलाई केही दिन अरु किताबहरुको भिडमा छोडिदिएँ । अनि आँखा बन्द गरेर यसको ध्वनि सुन्न खोजेँ ।
होइन, मलाई त कविताको ध्वनि पनि सुन्न आउँदैन भन्ने लाग्यो । कविताको ध्वनि सुन्न भवानीप्रसाद मिश्रको ‘सन्नाटा’ जस्तो सन्नाटा आवश्यक हुन्छ ।
केही दिनपछि किताबको भिडबाट ‘क’लाई प्रेमले टिपेर पुनः यसका अक्षरहरु सुन्न थालेँ । एक हातमा कलम लिएर तयार भएँ सुनेको ध्वनिलाई तत्कालै अक्षरमा बदल्छु भनेर ।
अनेक ध्वनिहरु एकसाथ ‘याद’ बनेर आए । पहिले नै ‘क’का सर्जकको आवाजमा सुनेको ‘सडकको आवाज’ अरु ध्वनिलाई पछारेर अघि आउन खोज्यो । सडकको आवाजमाथि हावी भयो ‘पसिनाको जुलुस’ । ‘कात्रो’ले एकपल्ट पुनः ‘प्रिय मृत्यु’ प्रति आभारी बनायो । ‘भ्रम’को ‘टेको’ले ‘विचारको जगमा उभिएर’ आफ्नै मथिङ्गल हल्लाउन खोज्दै थिएँ । एक्कासी भुकम्प आयो ‘मुर्कट्टाहरुको देश’मा र ‘क’ हराएर छायो सन्नाटा ।
मलाई बल्ल थाहा भयो कविताको ध्वनिलाई अक्षरमा बदल्न खोज्नु आफैँमा सन्नाटासम्मको यात्रा हो । कविताको ध्वनि त महसुस गर्ने मात्र हो । त्यसकारण पूर्वदुष्प्रयास स्थगित गरेर फर्की फर्की लुटपुटिन चाहेका केही कवितांशहरुका लागि कविलाई धन्यवाद ज्ञापन गरौँ भन्ने निर्णय गरेँ ।
………………..
वर्गहरुमाथिको चिन्तन-मनन, वर्गहरुमाथिको बुद्धिविलास, वर्गहरुमाथिको राजनीति माक्र्सको अभ्युदयपछि निरन्तर जारी छ । यस्तो लाग्छ चिन्तन मनन, बुद्धिविलास र राजनीति जस्ता व्यवसाय चलाइराख्न व्यवसायीहरुले वर्गहरुको निरन्तरता चाहिराख्छन् । वर्गहरु निर्माण हुन सुरु भएको, वर्गको समाजशास्त्र घोषणा भएको र शास्त्रमा आधारित राजनीति सुरु भएको करिब ३ शताब्दीपछि पनि वर्गीय सीमारेखा झन् मोटो, झन् मोटो हुँदै गइरहेछन् । कवि असीम सागरले ती मोटा सीमा रेखालाई पनि ‘म्याग्नीफाइङ ग्लास’ले हेरेर पत्ता लगाएछन्, वर्ग त सात किसिमका हुँदा रहेछन् ।
पहिलो वर्ग
जसले कहिल्यै माखा देखेको छैन
दोस्रो वर्ग
भातमा माखा बस्यो भन्दै फ्याँक्छ
तेस्रो वर्ग
माखा धपाउँदै खान्छ
चौथो वर्ग
परैबाट घुटकघुटुक थुक निल्दै हेर्छ
पाँचौ वर्ग
फोहोरको थुप्रोमा कुकुरको गाँस खोस्छ
छैटौँ वर्ग
जसको गाँस कुकुरले खोस्छ
सातौँ वर्ग
जसको अन्तिम श्वास पर्खिँदै
रुखको टुप्पोबाट हेरिबस्छ गिद्ध
(वर्गचित्र)
यी वर्गहरुबीचको सीमारेखा पखाल्नको लागि कविको उन्नत कल्पना भन्छ, ‘निधारबाट झर्दै गरेको पसिनाको गोलो थोपालाई सबैले पृथ्वी देखून् ।’
‘माखा’लाई सीमारेखा बनाएर कविले ‘माखा धपाउँदै खाने’भन्दा मुनि उल्लेखित वर्गलाई पक्कै अन्याय गर्न खोजेका होइनन् होला । बरु यो व्यङ्ग्यसम्म बुझेँ मैले ।
असीम सागरको पक्षधरता स्पष्टरुपमा आम मानिसहरुप्रति छ । आम मानिसमा पनि ती जो सडकमा जिन्दगी धकेल्दै गर्दा माथि ‘सातौँ तलाको झ्यालबाट’ झर्ने थुक थाप्लोमा सहन बाध्य छन् । उनको पक्षधरता धनमायाका प्रति छ ।
धनमाया
पसिनाले देश लेख्छिन्
ढाकरमा देश बोक्छिन्
त्यसैले
उनी हिँडेको उनको पैतलाको डोब पनि
हेर्नुस् त
ठ्याक्कै देश जस्तो छ ।
–पसिनाको जुलुस
असीमले आफ्नो पक्षधरता स्पष्ट गर्दा उनले अर्को पक्षलाई अन्याय गरेका छैनन् । गाली गरेका छैनन् । महलका कुरा गर्दा उनले महल भत्काउनुपर्ने कुरा गरेका छैनन् । जुन पछिल्ला केही ‘भुइँमान्छे’ पक्षधर कविका कवितामा प्रायः देखिन्छ । बरु उनले आफूजस्तै मानिसहरुलाई आफूजस्तै नठान्नेहरुलाई उनीहरुको औकात भने याद दिलाएका छन् । भन्छन्, ‘कात्रोको पनि कुनै ब्राण्ड हुन्छ र ?’ उनले सडकमा जिन्दगी धकेल्नेहरुलाई पनि उनीहरुका कमजोरी याद दिलाएका छन् । पूर्ण समयचेतका साथ ।
घरबेटीलाई महँगो भाडा बुझाएर
धनी बनाउने म धनबहादुर मगर
पाँच सय रुपैयाँमा आफ्नो अमूल्य भोट बेचेर
कच्ची पुलको धराप थाप्ने म कुलबहादुर नेपाली
साउदी र कतारबाट रेमिट्यान्स हावा पठाएर
टाई र सुटहरुकै बेलुन भर्ने म मनबहादुर थामी
मालिकहरुको प्राडो गुड्ने व्यस्त यो सडकमा
ठेला घचेटेर चक्काजाम गर्ने म असिम सागर
–सर्वोच्चलाई आदेश
‘क’ मा सङ्ग्रहित कवितामा वर्तमान समयको बास्ना आउँछ । अझ कविको आफ्नै दैनिकीको बास्ना आउँछ । जुन उनका पाठकमाझ सार्वजनिक छ । उनले आफ्नो धरातल र त्यसबाट देखिने सत्य इमान्दारिताका साथ लेखेका छन् ।
राजनीतियुक्त कविताको सनसनी चल्ने वर्तमान कवितावृत्तको यथार्थ बुझेका कवि सागर त्यसको मोहमा परेका छैनन् । तर, राजनीतिले आम मानिसमाथि पारेको प्रभाव र त्यसका बाछिटालाई उनले राजनीतिको पूर्ण बुझाईको आलोक सृजित प्रहार गर्न पनि बिर्सेका छैनन् ।
कसैले चुँ गर्यो कि
आत्तिएर केही निरङ्कुश थुतुनाहरु
कोकोहोला गर्छन् र चोर औँला देखाएर भन्छन्–
यो देशद्रोही हो
यसलाई देश निकाला गर
यो देखेनन् कि उनीहरुले
बाँकी औँलाहरु आफैँतिर फर्किएका छन् ।
–जहाँ मान्छे मर्मत गरिन्छ
…….
मुर्कट्टाहरुले देश खाँदाखाँदा
यति दुब्लो र पातलो बनाइसके
यी हेर त अब
मसिना धर्साहरुमा मात्र बाँकी छ देश ।
–मुर्कट्टाहरुको देश
प्रकृतिका कतिपय नियमहरु नभइदिएको भए यो संसार कति सुन्दर हुँदो हो । एकले अर्कोलाई खाँदै बाँच्ने श्रृङ्खलाबाटै जीव संसार धानिएको छ भनेर विज्ञानले ठप्पा लगाइदिएको छ । यसलाई नस्वीकारेर साध्य पनि छैन । ‘द प्रोफेट’मा जिब्रान मान्छेले मांसाहारी खाना खाने कि नखाने ? सम्बन्धमा भन्छन्, ‘आज तिमीले कसैलाई खान्छौ, भोलि तिमीलाई कसैले खान्छ ।’ प्रोफेटको यो भनाइबाट प्रभावित भएर तीन वर्षदेखि मांसाहार नगरेको मैले पुनः मांसाहार गर्न सुरु गरेको थेँ । कवि असीम सागरलाई यो नियम पटक्कै मन पर्दैन । यसो हुनको कारण सायद मान्छेले आफ्नै प्रजातीलाई पनि अर्कै जातको प्राणी ठान्ने र खाइदिने गरेको तितोसत्य नै हो भनेर भनिरहन नपर्ला । आफ्नै प्रजातिको सिकार गर्ने थोरै जातिमा मान्छे पनि पर्छ । त्यसैकारण उनी यो नियमबाट मुक्ति चाहन्छन् । मान्छेका कारण ‘खाद्य श्रृङ्खला’को नियमविरुद्ध असीमको यो विचार प्रायः कविहरुको विचार पनि हो । धेरै कवितामा कविहरुले यस नियमप्रति विमत्ति जनाइसकेका छन् । ‘ठूलो माछाले सानो माछा’ खाएको देखेर महाकविका ‘बत्तिसदन्ते बङ्गारा’ कड्कडाउँथे रे । असीम सागरले बङ्गारा कड्कडाउने गरेको त लेखेनन् । तर, यो नियमबाट मुक्तिको उपाय बताएअनुसार उनलाई यो नियम मन पर्दैन भन्ने बुझेको मैले ।
जुन दिनदेखि म झुसिल्किरा भएँ
त्यही दिनदेखि मेरो सिकार कम भएको छ
लाग्छ कुरुप हुनु पनि
जीवनको एक पक्ष सुन्दर हुनु रहेछ ।
–चक्र
प्रकृतिको यो अन्यायपूर्ण नियमविरुद्ध उनको ढल्काइ ‘अनुहारमा राजधानी’मा पनि झल्किन्छ ।
जब जङ्गलमा झम्टिन्छ बाघले सिकार
समात्छ गरुडले सर्प
चुस्छ जुकाले रगत
मलाई
मेरो राजधानी याद आउँछ ।
–अनुहारमा राजधानी
आखिर यस्तै बिडम्वनामा प्रश्न उठाउनु पनि कविको धर्म हो । साथमा, झुसिल्किरा बनेर झुसिल्किरै रहन नचाहने कविको भनाईले उनको प्रगतिशील चाहना प्रतीत भयो । उनले भने, ‘अँध्यारोमा बस्नेहरुसँग नै उज्यालोको भोक हुन्छ ।’ अन्तमा पुतली बनेर फूलबारीमा रमाउँदै फूलहरुलाई रुवाएर बिदा हुने उनको चाहनाले आँखा भरिए ।
………………..
सायद कवि सागरले भूकम्पले बनाएका भग्नावशेषहरु खोस्रिएर धेरै कविता निकाले । उनले ‘क’ हराएको पनि त्यहीबेला थाहा पाएका थिए । कविले भूकम्पले भत्केका घरमा लगाइएको टेकोको कुरा गर्दा देशमा लाग्दै आएका टेकाहरु आँखामा आए ।
चारैतिर लगाएर टेको
बडो मुस्किलले उभिएको छ घर
लाग्छ टेको पनि यही प्रतीक्षामा छ
कहिले यो घर ढल्छ
र आँगन मेरो हुन्छ
–टेको
पौराणिक शास्त्रहरुले पानीलाई देवता भन्छन् । देवतामा शक्ति नहुने त कुरै भएन । कतिपय पौराणिक कथामा पानीले धर्म स्थापनार्थ रौद्र रुप देखाएको वर्णन पाइन्छ । शास्त्रहरुले नै भन्छन्, मानव शरीर बन्न पन्चतत्त्वमध्येको एक जल पनि चाहिन्छ । पानी भनेपछि मलाई प्यास याद आउँछ, यसको निष्कलङ्कता याद आउँछ, सुन्दरता याद आउँछ । कवि असीम सागरले पानीको रौद्र रुप याद दिलाइदिए र विशालता पनि ।
ऊ जहाँ उभिन्छ
निष्कपट, निष्पाप, निष्कलङ्क
छर्लङ्ग ऐना भएर उभिन्छ
सूर्य, चन्द्र र ताराहरु च्याप्प समातेर
स्वयम् आकाश भएर उभिन्छ ।
पानी त हो
चलायो भने उसको ऐनालाई
जो कसैको अनुहार कच्याककुचुक पार्छ
भत्काउँछ
बिगार्छ ।
–पानी
उनले ‘फूलहरुको विज्ञप्ति’, ‘माटोको उचाई’, ‘संवाद खोला र किनारको’, ‘एक थोपा आकाश’ लगायतका कवितामा पनि प्रकृतिको विशालता र चमत्कारितालाई बडो मिठासपूर्ण तरिकाले उनेका छन् । त्यस्ता कविता पढ्दा उनका कवितामा जेन कविताको जस्तो स्वाद मिल्छ र मिल्छ गहिरो शान्ति ।
बाबु अञ्जुलीमा मात्र होइन आकाश
ऊ त्यो शीतको थोपालाई हेर त
शान्त बस्न पायो भने शीतको थोपा
त्यही थोपामा ओर्लेर
हरेक बिहान सेल्फी खिच्छ आकाश
र सुन्दर देखिन्छ शीतको थोपा ।
–एक थोपा आकाश
……………
जे रोप्यो त्यही फल्छ माटोमा
जे बनायो त्यही बन्छ माटो
माटोलाई
न अस्तित्व हराउने चिन्ता छ
न विलय हुनुको खतरा छ
–माटोको उचाई
कविले कवितासङ्ग्रह प्रकाशनमा ल्याओस् तर आमालाई नसम्झियोस्, त्यस्तो विरलै हुने घटनाबाट कवि असीम सागर पनि जोगिएका छन् । उनले आमामाथि लेखेको कविता पनि जेन कविताकै स्वाद बोकेर अग्लो भेटेँ मैले ।
माङ
म तिम्रो यौवन घोटेर बनेको चन्दन हुँ
म तिम्रो आँखा पग्लेर अग्लिएको हिमाल हुँ
म सानो हुँदा
मलाई पीपल बनेर छाया दियौ
अब म ठूलो भएको छु
आकाश बनेर ढाक्न चाहन्छु ।
–माङ
विषय विविधतापूर्ण कवितासङ्ग्रह ‘क’ कविता शास्त्रको आलोकमा असीम सागरको कविता शक्ति नाप्ने एक उपयुक्त साधन हो भन्ने मलाई लाग्यो । म अनुमान गर्छु कवि सागर यतिबेला आफ्नो कविता यात्राको एक सुन्दर बस्नेपडामा बसेर शान्तिपूर्ण सास फेरिरहेका छन् । किनकि उनले ‘क’मा निदा फाजलीले भनेजस्तै आफूभित्रका बढीभन्दा बढी मान्छेहरुलाई अभिव्यक्त हुने अवसर दिएका छन् । उनीभित्रको दार्शनिक पनि तेजसहित प्रकट भएको छ ।
भयो अब शान्तिको कुरा नगरौँ
यहाँ हावा पनि बिस्तारै हिँड्न बिर्सेको छ ।
–अपहरित शान्ति
……………
प्रिय मृत्यु !
तिमी छौ र त
म बाँचेको अनुभूति भइरहेछ मलाई
–प्रिय मृत्यु
……..
जब प्रेम मर्छ
मान्छे कि हिटलर बन्छ
कि बुद्ध ।
–जब प्रेम मर्छ
असीम सागरले आफूभित्रको रागी प्रेमीलाई त्यति अभिव्यक्ति भने दिएनन् । बूढो भइसकेँ भन्ने लागेर हो कि कुन्नि ? त्यसो हो भने म असीम दाइलाई भन्न चाहन्छु, दाइ जब तपाईं कालो टोपी लगाएर मन्चमा कविता वाचन गर्न उभिनुहुन्छ म आफूलाई तपाईंभन्दा बूढो पाउँछु । त्यसकारण तपाई बूढो भैसक्नु भएको छैन है । कि परिस्थितिले थपिदिएको जीवनको अन्यायपूर्ण भारी बोक्दै गर्दा प्रेम गर्नै पाउनुभएन दाइ ? खास के हो ? किन यसरी पश्चाताप गर्दै हुनुहुन्छ ?
आधा बनाएर हामीले धुरीखाँबो
न पुल बन्यो, न कुनै भर्याङ
बरु बनाएको भए दुःखलाई आधाआधा
धेरै हलुङ्गो हुने थियो जीवनको भारी ।
–पश्चाताप
कवि असीम सागरको ‘क’ कवितासङ्ग्रह र यसको ताकतमाथि कविता शास्त्रका ज्ञाताहरुले पक्कै दृष्टि पुर्याउनुहुनेछ भन्ने मेरो विश्वास छ । उहाँहरुले नै भन्न सक्नुहोला कति शक्ति बोकेर उभिएका छन् कवि असीम सागर ‘क’ माथि । म त एक कविताको सामान्य पाठक हुँ, प्रेमी हुँ । मैले कवितालाई पढ्न सक्छु र सकिने जति प्रेम गर्न सक्छु । मैले कवितामा दोष त देख्न सक्छु तर त्यसलाई नजरअन्दाज गरिदिन सक्छु । मैले ‘क’मा देखिएका केही दोषहरुलाई पनि नजर अन्दाज गरिदिएँ, जस्तो कि सबैजसो कवितामा प्रायः सुन्दै आएका बिम्ब र प्रतीकहरू नै छन् । कथ्यमा पनि कविताका सबै विज्ञ पाठकहरु चमत्कृत रुपले नयाँ स्वाद नभेट्न सक्लान् । कतिपय छोटा कविताहरु अरु कवितासामु अलि कम सुन्दर देखिएका हुन कि ? यी र यस्ता साना कमजोरीहरु मेरो आँखामा परे । त्यसभन्दा भित्र म पस्न सकिनँ । मलाई कवि असीम सागरको कविता शील्प र मिठासले उनका कविताको प्रेमी उनलाई पहिलोपल्ट पढ्दादेखि नै बनाएको हो । उनका कविताको ‘फस्र्ट साइट लभर’ भएको नाताले म त भन्छु सबै उनका कविताका प्रेमी बनून् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।