१. विषय परिचय
‘हरिशरण रामको पुनरागमन’ इस्मालीद्वारा लिखित र समसामयिक प्रगतिवादी नेपाली कथा (२०७४) मा सङ्कलित प्रगतिवादी कथा हो । यस कथामा लेखकले महोत्तरी जिल्लाको एक दुर्गम गाउँका चमार जाति उच्च जातका वर्गबाट कसरी शोषित भएका छन् भन्ने कुराको चित्रण गरेका छन् । यहाँ मोचीहरू शोषकबाट शासित छन् र उनीहरूमा प्रतिरोधको चेतनाको विकास भए पनि आवाजविहीन रहेको स्थितिको वर्णन गरिएको छ । जातको आधारमा निम्न भएकै कारण शक्तिको केन्द्रमा पुग्न नसकेकाले ती दलित जातिका मानिस सधैँ उपेक्षित जीवन बाँच्न बाध्य भएको देखाइएको छ । यहाँ मूलतः चमार जातका वर्गलाई सबाल्टर्न वर्गका रूपमा प्रस्तुत गरी उनीहरू उच्च जातका वर्गबाट कसरी प्रताडित छन् भन्ने विषयलाई व्यक्त गरिएको छ ।
सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययनको एक नवीन सैद्धान्तिक अवधारणा हो । यस शब्दले सदियौँदेखि प्रभुत्वशाली वर्गबाट शासित, इतिहासबाट सीमान्त, शक्तिको केन्द्रदेखि टाढा रहेका र आवाजविहीन समूहलाई बुझाउँछ । यस्ता समूह राज्यको मूलधारमा आउन सकेका हुँदैनन् र स्थानीय स्तरमा पनि उच्च वर्गबाट उपेक्षित, तिरस्कृत भएका हुन्छन् । यिनै वर्ग, जाति, समुदाय धर्म, लिङ्ग, संस्कृति आदिको अध्ययन नै सबाल्टर्न अध्ययन हो । साहित्यमा समाजको चित्रण गरिन्छ । समाजमा हुने सबाल्टर्न संस्कृति साहित्यमा पनि मूल विषय बनेर देखा पर्न थालेको छ । त्यसैले वर्तमान समयमा सबाल्टर्न अध्ययनलाई कृति विश्लेषणको छुट्टै सिद्धान्त वा अवधारणाको रूपमा विकास गरिएको छ । इस्मालीको ‘हरिशरण रामको पुनरागमन’ पनि यस्तै जातीय आधारमा पछाडि पारिएका, किनारामा पुऱ्याइएका मानिसका विषयमा आधारित कथा हो ।
प्रस्तुत अध्ययनमा ‘हरिशरण रामको पुनरागमन’ कथालाई सांस्कृतिक अध्ययनको एउटा पद्धति सबाल्टर्नका आधारमा अध्ययन गरी कथामा सबाल्टर्न वर्गको पहिचान जातीय, भौगोलिक र धार्मिक आधारमा खोजिएको छ । यसमा जातीय रूपमा निम्न वर्ग, भौगोलिक रूपमा दुर्गम गाउँ, धार्मिक आधारमा मुसलमान समूह सबाल्टर्न समूहअन्तर्गत रहेको र उनीहरूमा प्रतिरोधमा चाहना भए पनि बोल्न नसकेको वा आवाजविहीन भएको हुँदा यी सबाल्टर्न पात्र हुन् भन्ने निष्कर्ष निकालिएको छ ।
२. सैद्धान्तिक पर्याधार
सबाल्टर्न शब्दले कुनै राज्य, समाज, सत्ता आदि सामाजिक संरचना र शक्तिकेन्द्रबाट शासित, सीमान्तमा पारिएका वर्ग, जाति लिङ्ग वा समुदाय विशेषलाई बुझाउँछ अर्थात् यसको अर्थ निर्धा, निमुखा, हेपिएका, दबिएका, पाखा पारिएका उत्पीडित समूह भन्ने हुन्छ । सबाल्टर्न शब्दको प्रयोग पहिलोपटक इटालीका नवमार्क्सवादी चिन्तक आन्तोनियो ग्राम्चीले गरेका हुन् । उनले किसान र श्रमिक वर्गलाई सबाल्टर्न वर्गअन्तर्गत राखेका छन् । ग्राम्चीले सबाल्टर्न वर्ग समूह सधैँ अझ भनौँ, जागेजस्तो वा विद्रोही देखिएको बेलामा समेत सम्भ्रान्त शक्तिशाली वर्गका अगाडि अधीनस्थ हुन्छ र यस्तो पराधीनताको उपाय महान्, आमूल परिवर्तनकारी क्रान्ति र सबाल्टर्नको दीर्घकालीन विजय भनेका छन् (श्रेष्ठ, २०६८, पृ. २१) । उनले सबाल्टर्नको अध्ययन गर्ने क्रममा प्रभुत्वलाई केन्द्रमा राखेका छन् । उनले शासक वर्गको प्रभुत्वबाट नै शासित वर्ग अधीनस्थ भएका हुन् भन्दै उनीहरूलाई आफू शोषित छु भन्ने अनुभूति नगराई प्रभुत्व वर्गले आफ्नो वर्चस्व कायम गर्ने संस्कृति सिर्जना गरेको हुन्छ भन्ने विचार प्रस्तुत गरेका छन् ।
सबाल्टर्न अध्ययनको पृष्ठभूमि हेर्दा यो सन् १९८० को दशकमा दक्षिण एसियाबाट सुरु गरिएको र पश्चिमी मुलुकमा स्विकारिँदै आएको चिन्तनपद्धति हो । सबाल्टर्न अध्ययन भारतीय इतिहास लेखनसँग सम्बद्ध छ । यसबारे रञ्जित गुहाले पश्चिमाहरूले लेखेको इतिहास उपनिवेशवादी मानसिकताबाट ग्रस्त भएको भन्दै तल्लो समुदायलाई इतिहासमा समेट्नुपर्ने धारणा स्वरूप उनकै नेतृत्वमा सबाल्टर्न अध्ययन समूहको स्थापना गरे । उनको यो समूहको मान्यता ग्राम्चीसँग नजिक छ । गुहाले अभिजात शब्द शाषक समूह, विदेशी र आदिवासीलाई सङ्केत गर्न प्रयोग गरिएको हो भन्दै प्रभुत्वशाली समूहमा सम्पूर्ण गैरभारतीय, औपनिवेशिक राज्यका ब्रिटिस अधिकारीहरू, विदेशी उद्योगपति, व्यापारी, लगानीकर्ता र घरमालिकहरू समावेश हुने धारणा प्रस्तुत गरेका छन् । उनले वर्चस्व प्रशासनिक र स्थानीय तहमा हुने कुरा उल्लेख गरेका छन् (गुहा, सन् १९८८, पृ. ४४) । रञ्जित गुहाले भारतीयहरू ब्रिटिसबाट अधीनस्थ भएको सन्दर्भमा सबाल्टर्नको व्याख्या गरेको देखिन्छ । अहिले यो शब्द इतिहासमा मात्र केन्द्रित नभएर साहित्य, कला, समाजशास्त्रजस्ता विविध क्षेत्रमा विस्तार भएको छ । यसै सन्दर्भमा गुहाले सबाल्टर्न अध्ययनका पानाहरूमा सबाल्टर्न शब्दले सामान्यतया वर्ग, लिङ्ग, जाति, उमेर, कार्यगत दर्जालगायत अन्य हरेक हिसाबले विभेद गरिएका, शोषण र उत्पीडनका सिकार भएका विशेषतः दक्षिण एसियाली समाजका व्यक्ति वा समुदायलाई जनाउँछ भन्दै ग्रामीण किसानको साथै सम्पन्न किसान, जमिन्दार, मध्यम, उच्च वर्गका सम्पन्न किसानलाई पनि सबाल्टर्नकै रूपमा लिँदै यिनीहरूले शासककै पृष्ठपोषकका रूपमा काम गर्ने बताएका छन् । त्यस्तै उनले दुईचर सम्बन्धमा सबाल्टर्नलाई बुझ्न केवल एक पक्ष नहेरी प्रभुत्वलाई पनि हेर्नुपर्ने दृष्टिकोण राखेका छन् । सूक्ष्म समूह पनि विद्रोही हुन्छन् र ती शक्तिको गतिविधिमा पर्न सक्छन् त्यसैले ती वर्गका विचारलाई प्रभुत्वशाली वर्गले स्वीकार गरेका हुन्छन् तर दक्षिण एसियाली अध्ययनमा उच्च वर्गकै वर्चस्व रहेको देखिन्छ भन्ने गुहाको अभिव्यक्ति देखिन्छ (सन् १९८८, पृ. ३५) । उनले आफ्नो भनाइमा उदीयमान वर्गलाई विशेष स्थान दिएका छन् । समाजशास्त्र र इतिहासशास्त्रमा बलियो स्थान बनाएको सबाल्टर्न अध्ययनलाई गुहाको नेतृत्वमा स्थापित सबाल्टर्न अध्ययन समूह र ग्राम्चीका सबाल्टर्नसम्बन्धी मान्यता सर्वप्रथम गायत्री चक्रवर्ती स्पिभाकले साहित्यसँग जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलिन् । सन् १९८५ देखि स्पिभाक र बर्नर्ड कोनले सबाल्टर्न अध्ययनलाई सांस्कृतिक अध्ययनको दृष्टिकोणबाट भाषा र साहित्य पठनलाई शक्तिसँग जोडेर विश्लेषणात्मक अध्ययन गरेपछि यसले भाषिक र साहित्यिक पक्षलाई स्वीकार गरेको देखिन्छ ।

उषा आचार्य
साहित्यमा प्रयोग हुने विषयमा पनि सबाल्टर्नको स्थिति चित्रण गरिएको पाइन्छ । ती कृतिभित्रका पात्रमध्ये केही प्रभुत्वशाली हुन्छन् भने केही सबाल्टर्न । बोल्न नसक्ने वा आवाजविहीन, शक्तिकेन्द्रबाट टाढा रहेका पात्रलाई यस चिन्तनले अध्ययनको केन्द्र बनाएको छ । गायत्री स्पिभाकले सबाल्टर्न बोल्न नसक्नेमात्र हुन्छन् र त्यसमा महिला मात्र हुन्छन् भनी नारीवादी सिद्धान्तसँग जोडेकी छन् । गुहा, सइदले सबाल्टर्न आफैँ बोल्न सक्छन् भनेका छन् तर स्पिभाकले उनीहरू आवाजविहीन हुने हुँदा बोल्न सक्तैनन् । बोल्न नसक्ने नै सबाल्टर्न हुन् भनेकी छन् । अरूले पनि उनीहरूका बारेमा बोल्नु हुँदैन भन्ने विचार स्पिभाकको रहेको छ । कृति विश्लेषणका क्रममा ग्राम्चीले उत्पीडित तर वर्गीय रूपबाट सचेत र सङ्गठित नभएकाहरूका लागि सबाल्टर्न पदावलीको प्रयोग गरी हेजेमोनी पदावलीमार्फत सबाल्टर्नहरूको मुक्तिको कुरा उठाएका छन् (बराल, २०७३, पृ. १९१) । अर्थात् यिनले कुनै पनि कृति प्रभुत्वको कोणबाट सबाल्टर्नको अध्ययन गनुपर्ने बताएका छन् । त्यस्तै फुकाले ग्राम्चीको प्रभुत्वको आधारमा टेकेर प्रतिनिधित्व र शक्तिसम्बन्धको व्याख्या गरेका छन् भने सइदले प्रतिनिधित्वको सिद्धान्त मार्क्सको आविष्कार हो भन्दै त्यसको विरोधस्वरूप किसानहरू आफैँ आफ्ना कुरा राख्न सक्तछन् । अरू कसैले उनीहरूको प्रतिनिधित्व गर्नु पर्दैन , यो सवाल अर्थहीन छ भनेका छन् (चापागाईँ, २०७३, पृ. २८३) । नेपालको सन्दर्भमा भने मोहनराज शर्माले सबाल्टर्नका लागि श्रेष्ठ नभएको सामान्य मानिसलाई बुझाउने अर्थमा अवरजन शब्दको प्रयोग गरेका छन् । उनले कृति विश्लेषणको क्रममा कृतिमा अवरजन पात्रको उपस्थिति, तिनीहरूको सूची, चारित्रिक अभिलक्षण, भूमिका, आवाज, लेखक, सत्ताबाट प्रभावित भए नभएको, प्रतिनिधित्व, सम्भाव्यता, समावेश, भाषाजस्ता पक्षबाट अध्ययन गर्नुपर्ने उल्लेख गरेका छन् (शर्मा, २०७०, पृ. ३२२) । यसरी सबाल्टर्न अध्ययनले कृतिभित्र वर्णित सीमान्त समूहको पहिचान, उनीहरूको प्रतिनिधित्वको स्थिति, प्रभुत्व, सबाल्टर्नको आवाज जस्ता पक्षलाई कृतिविश्लेणको आधार बनाउँछ ।
प्रस्तुत लेखमा हरिशरणको पुनरागम कथाको विषय र प्रकृतिअनुसार ग्राम्चीले प्रस्तुत गरेको प्रभुत्व, फुकाले प्रस्ताव गरेको प्रतिनिधित्व र शक्तिसम्बन्ध, स्पिभाक आदि चिन्तकको सबाल्टर्नको आवाजलाई कृतिमा हेर्नुपर्छ भन्ने पक्षलाई केन्द्रमा राखेर यिनै आवधारणा वा चिन्तनलाई कथा विश्लेषणको आधार बनाइएको छ ।
३. सबाल्टर्नका आधारमा हरिशरण रामको पुनरागमन कथाको विश्लेषण
३.१ आख्यान सन्दर्भ
‘हरिशरण रामको पुनरागमन’ कथा जनकपुर अञ्चल, महोत्तरी जिल्लाको एक दुर्गम गाउँको परिवेशमा लेखिएको छ । हरिशरण मोची यस कथाको प्रमुख निम्न जातको पात्र हो (जसले मोची थर लेख्दा तिरस्कृत हुनुपरेकाले राम थरमा परिणत गरेको छ) । जसलाई मिश्राजी, दुर्योधन जस्ता उच्च जात र वर्गका मानिसले शोषण र तिरस्कार गरेका छन् । तत्कालीन समयको तद्गाउँमा चमार, मुसहर, खबते, मुसलमान आदि जात र धर्मका मानिसलाई तल्लो दर्जामा राखी उनीहरूलाई अवसरबाट वञ्चित गरिएको सन्दर्भमा उदार दिलका मास्टरसाहेबले हरिशरणलाई विद्यालय भर्ना गर्ने वातावरण बनाए । दुर्योधनलगायत गाउँका उच्च जातका वर्गको विरोधका बाबजुद पनि हरिशरणले विद्यालयको पढाइ सक्यो र सहरबाट आइ.ए.को पढाइ पूरा गरी आफूले पढेकै विद्यालको प्रधानाध्यापकको नियुक्ति लिएर गाउँ फर्कियो । यो कुरा मिश्राजी, दुर्योधनका साथै गाउँका केही मानिसलाई मन परेन भने तल्ला जातका मानिसमा खुसीको सीमा रहेन । ऊ हेडमास्टर बनेपछि चमार, मुसहर, खबचे आदि तल्लो जातका लागि प्रेरणा र हौसला मिल्यो भने उच्च जातका मानिसले उसलाई सार्की जातको हेडमास्टर भनी तिरस्कार गर्न थाले । तिरस्कार र हेलाकै बिचमा उसले विद्यालयमा हेडमास्टरको भूमिका निर्वाह गर्ने क्रममा दुर्योधन र मिश्रको षड्यन्त्रमा उसलाई सोही जिल्लाको अझै दुर्गम गाउँमा सरुवा गरियो । सरुवा भएर गएको गाउँमा उसले इमान्दार भएर काम गरी जिल्लाकै नमुना स्कुल बनाउन सफल भयो । यो देखेपछि भोइल गाउँका युवाहरूमा जागृत भएको चेतनास्वरूप उसलाई पुनः सोही गाउँको प्रधानाध्यापक बनाइएको छ भनी कथाको अन्त्य गरिएको छ ।
हरिशरणरामको पुनरागमन कथामा हरिशरणलाई विशेषतः जातीय दृष्टिले निम्न, भौगोलिक दृष्टिले दुर्गम, प्रतिनिधित्वका दृष्टिले निम्न, श्रमिक, आवाजविहीन, शोसित वा सीमान्तीय पात्रको रूपमा, मिश्रा र दुर्योधनलाई सामन्ती संस्कारका शोषकका रूपमा अनि मास्टर, जिल्ला शिक्षा अधिकारी र नयाँ पुस्ताका युवाहरूलाई परिवर्तनकामी विचारधाराका पात्रको रूपमा चित्रण गरिएको छ ।
३.२ जातीय आधारमा सबाल्टर्न
समाजमा रहेका तल्लो जातका मानिस नै जातीय आधारमा सबाल्टर्न हुन् । उनीहरू उच्च जातका मानिसको औपनिवेशिक मानसिकताबाट सधैँ पीडित हुन्छन् । आफू निम्न जातको हुनुमा पश्चात्ताप गर्ने र आफ्नो वास्तविक नाम गोप्य राख्न खोज्ने प्रवृत्ति उनीहरूमा देखिन्छ । जातका आधारमा निम्न भएका कारण शिक्षा, स्वास्थ्य, रोजगारको अवसर नपाएका दलित वर्ग नै सबाल्टर्न वर्ग हुन् । यसको सजीव चित्र ‘हरिशरण रामको पुनरागमन’ कथामा देख्न सकिन्छ । यस कथामा हरिशरण निम्न जातको र मिश्र, दुर्योधन उच्च जातका प्रतिनिधि पात्र छन् । यहाँ हरिशरण मोचे जातीय दृष्टिले सबाल्टर्न पात्र हो । कथामा उसको केन्द्रीय भूमिका रहेको छ । आफू तल्लो जातको हुनुमा उसमा हीनताबोध छ जसका कारण उसले आफ्नो थर मोचे परिवर्तन गरी राम राखी हरिशरण मोचेबाट हरिशरण राममा परिणत भएको छ । दलित भएकै कारण उसले स्कुलमा सहज रूपमा पढ्न पाएको छैन र त्यहाँ उसले उच्च जातका शिक्षक, समकालीन साथीबाट तिरस्कार सहन बाध्य छ । हरिशरणमात्र होइन गाउँका निम्न वर्गका सबै बालबालिका शिक्षाबाट वञ्चित रहेको कुरा कथामा ‘‘गाउँमा प्राथमिक स्कुल त थियो तर ऊ र उनीहरूका परिवारजनहरू टोलकाहरू कोही पनि स्कुल जाँदैनथे । गाउँलेहरूका लागि उनीहरूको टोल नै अछुतो थियो, उनीहरू अस्पृश्य थिए । पानी नचल्ने, छोइछिटो लाग्ने शूद्रहरू’’ (पृ. ८१) । भन्ने उदाहरणमार्फत प्रस्तुत गरिएको छ ।
माथिको उदाहरण हेर्दा गाउँमा विद्यालय हुँदाहुँदै ऊ अर्थात् हरिशरण र अन्य कोही विद्यालय जान नपाउने, उनीहरूलाई पानी नचल्ने जात भनी अवसरबाट वञ्चित गरिएको स्पष्ट हुन्छ । गाउँमा प्राथमिक विद्यालय भए पनि दलित जातका बालबालिका स्कुल जान नसकेको, उनीहरूको टोल नै अछुतो भएको र पानी पनि नचल्ने अवस्थाको चित्रण माथिको उदाहरणमा गरिएको छ । यस आधारमा हरिशरण यस कथामा ती सबै अस्पृश्य वर्गका प्रतिनिधि पात्रका रूपमा चित्रित छ ।
हरिशरण रामलाई मास्टरको उदार हृदयका कारण विद्यालयमा पढ्ने अवसर त मिल्छ, तर उसले त्यहाँ पनि शिक्षक र साथीहरूबाट तिरस्कार पाउँछ । उच्च जातका शिक्षकहरू ‘‘तेरो छोराले पनि पढ्यो भने गाउँको सिनो कल्ले सोहोर्छ’’ (पृ. ८२) भन्दै उपेक्षा गर्दछन् । यस उदाहरणमा तल्लो जातका मानिसलाई तल्लो स्तरको कामका लागि प्रयोग गरिने र उनीहरू शिक्षित भए गाउँको तल्लो तहको काम कसले गर्छ भन्ने मानसिकता प्रकट भएको देखिन्छ । दलित वर्गका मानिसलाई शिक्षामा मात्र नभएर पानी पिउनका लागि पनि सहज नभएको देखिन्छ । गाउँमा मिश्र र ठाकुर दुईजनाका घरमा मात्रै इनार भएकाले र इनार नछोइए पनि पानी छोइने हुँदा पानी लिनका निम्ति घण्टौँसम्म प्रतीक्षा गनुपर्ने स्थितिको चित्रण कथामा गरिएको छ । यस्ता तिरस्कार, उपेक्षा र अभावका बिचमा हरिशरण आइ.एड. सम्मको शिक्षा लिई आफैँले अध्ययन गरेको विद्यालयमा प्रधानाध्यापकको नियुक्ति लिएर आउँछ । यो खबरले गाउँका निम्न जातका वर्गमा खुसी छाउँछ भने उच्च जातका विशेषतः मिश्र र दुर्योधनमा काँडासरि बिझाउँछ । उनीहरूमा हरिशरण सार्की अर्थात् तल्लो जात सधैँ तल्लो जातकै हुन्छ कहिल्यै माथि उठ्न नसक्ने हुन्छ भन्ने सोचाइ छ जुन कथामा यसरी व्यक्त गरिएको छ –
“अँ अँ सबै कुकुर काशी गए गु केले खाला ? झाजी अब खेहरू चमारको छोरालाई प्रणाम गर्नुस् । अब जिल्ला शिक्षाका मानिसहरू आए भने कसकाँ रात बस्लान् ? हैन, त्यो चमारले के पढाउला ?….बेगार बुद्धिजीवीहरू हुँदाहुँदै एउटा अदना सार्की गाउँको हेडमास्टर भयो, …. गाउँका मुखिया अर्थात् गा.वि.स. अध्यक्ष महिन्दर मिश्राजीले मलाई अत्तोपत्तो छैन, तँचाहिँ गाउँमा हेडमास्टर भइस् हँ ! म गाउँको अध्यक्ष, स्कुलको अध्यक्ष तर मलाई सोध्दै नसोधी तँ हेडमास्टर भइस् ? यो हुन सक्तैन (पृ. ८५) ।”
माथिको उदाहरणमा दलित वर्ग सधैँ तल रहनुपर्ने मानसिकता देखिन्छ । उच्च जातका खेहरू तल्लो जातका चमारलाई सम्मान दिँदा आफ्नो स्तर गुमेको अनुभूति गर्ने, उच्च तहका मानिस गाउँमा प्रवेश गरेर कहाँ बस्लान् भन्ने प्रश्नमार्फत हरिशरणलाई अपमान गरेको देखिन्छ । चमार जातिको ज्ञान र योग्यता कम हुन्छ, उनीहरू शैक्षिक कार्य गर्न सक्तैनन् भन्ने अविश्वासको मनस्थिति यहाँ व्यक्त भएको छ । गाउँमा अन्य बुद्धिजीवी हुँदाहुँदै दलित व्यक्ति प्राधानाध्यापक भएको, गा.वि.स.का अध्यक्षले आफूलाई थाहा नदिएकोमा उसको योग्यता स्वीकार गर्न नसकिने भाव यस उदाहरणमा अभिव्यक्त भएको छ ।
पञ्चभलाद्मी, विद्यालयका शिक्षक, तत्कालीन प्राचार्य आदिको सल्लाहबमोजिम बल्ल तल्ल हरिशरणलाई प्रधानाध्यापकको भूमिका दिइए पनि विद्यालयका अन्य शिक्षक र उच्च वर्गका विद्यार्थीका साथै विद्यालयको पियनले समेत उसलाई तिरस्कार गर्दछ । निवर्तमान प्रधानाध्यापक दुर्योधन सार्कीलाई नि नमस्कार गर्ने धत् भन्दै उपहास गर्दछ । उसकै षड्यन्त्रमा शिक्षक विद्यार्थीलाई उचाल्ने र तल्ला जातका विद्यार्थी पढ्न आउन थालेपछि उच्च जातका विद्यार्थी स्कुल आउनै छोड्ने स्थिति सिर्जना हुन्छ जसका कारण हरिशरणलाई भोइलभन्दा दुर्गम गाउँमा सरुवा दिइन्छ ।
प्रस्तुत कथाको मुख्य भूमिकामा रहेका हरिशरण चमार जातको भएकै कारण विद्यालयमा शिक्षा लिन असहज हुनु, शिक्षा लिँदा खुट्टा तान्नु, जागिर खाएपनि जातीय आधारमा नै उसलाई दुर्गम गाउँमा पठाइनु, ऊ केही नबोली सरुवा हुनुले हरिशरण कथामा जातीय आधारमा सबाल्टर्न वर्गको प्रतिनिधि पात्रको रूपमा चित्रित छ ।
३.३ धर्मको आधारमा सबाल्टर्न
जुन धर्म शक्तिशाली हुन्छ, धर्मावलम्बीको बाहुल्यता रहन्छ, त्यही धर्म प्रभुत्वशाली हुन्छ । त्यस्तै जुन धर्म मान्ने मानिस कम छन्, शक्तिको केन्द्रबाट टाढा छन्, त्यो धर्मका मानिस सबाल्टर्न वर्गमा पर्दछन् । उनीहरूलाई प्रभुत्वशाली धर्मले सधैँ शोषण गरिरहेको हुन्छ जसको ज्वलन्त उदाहण हरिशरण रामको पुनरागमन कथामा देख्न सकिन्छ । प्रस्तुत कथामा धार्मिक सबाल्टर्नका रूपमा मुसलमान वर्ग रहेका छन् । मुसलमान धर्मावलम्बीहरूको बसोबास रहेको ठाउँलाई मुसलमान बस्ती भनी नामाकरण गरिएको छ । उनीहरूको समूह सङ्ख्या न्यून रहेकाले कथामा उनीहरूलाई पनि दलित वा पानी नचल्ने वर्गकै रूपमा राखिएको छ । मुसलमानका छोराछोरी पनि विद्यालय शिक्षाबाट वञ्चित रहेको र हिन्दू धर्म मान्ने उच्च वर्गबाट किनारीकृत रहेको कुरा कथामा यसरी व्यक्त गरिएको छ –
“त्यसताका विद्यार्थीहरूले यो गाग्राको पानी विरलै पाउँथे, पानी खान पऱ्यो भने सकुल (स्कुल) का छिमेकीहरूका घरमा जानुपर्दथ्यो । छिमेकमा दुई घर मात्र हिन्दू थिए, त्यस टोललाई स्कुलटोल वा मुसलमानटोल भनिन्थ्यो, त्यसैले विद्यार्थीहरूमा त्यो पनि अप्ठ्यारै थियो, हिन्दूका घरमा सधैँ मान्छे भएको मौका नपर्न सक्थ्यो । स्कुल मुसलमान टोलमा भए पनि मुसलमान बच्चाहरू स्कुलमा विद्यार्थी थिएनन्, न त टोलमा मदरसा नै थियो (पृ.८४) ।”
माथिको साक्ष्यका आधारमा भगोल गाउँको एउटा टोलमा बसोबास गर्दै आएका मुसलमान वर्ग धार्मिक आधारमा सबाल्टर्न बन्न पुगेको छ । मुसलमानले छोएको पानी पनि नचल्ने, मुसलमान टोलमै रहेको स्कुलमा उनीहरूकै बालबच्चा पढ्न नपाउनु र मुसलमानका लागि मदरसासम्म नहुनुले उनीहरू धार्मिक रूपमा अधीनस्थ छन् भन्न सकिन्छ ।
प्रस्तुत कथामा धार्मिक सबार्ल्टनका रूपमा मुसलमान वर्गलाई लिई न्यून सहभागी मात्र गराइएको छ । हरिशरण विद्यालयमा प्रधानाध्यापक बनेर आएपछि उनीहरू पनि विद्यालयसम्म त जान्छन् तर हिन्दू धर्मका उच्च जातका बालबालिकाले विद्यालय छोड्दछन् । यस कथामा लेखकले पनि मुसलमान वर्गलाई खासै महत्त्व दिएको देखिँदैन । लेखकले उनीहरूलाई सो गाउँका दलित वर्गकै समकक्षमा चित्रण गरेका छन् ।
३.४ भूगोलका आधारमा सबाल्टर्न
सुगमका सापेक्षमा दुर्गम क्षेत्र वा भूगोल सबाल्टर्नका रूपमा रहन्छ । सुगम क्षेत्रका मानिसले दुर्गम क्षेत्रका मानिस र सो भूमिप्रति उपेक्षाको भावना राख्ने, विकसित देशले अविकसित देशप्रति कटाक्ष गर्ने प्रवृत्ति भौगोलिक सबाल्टर्नमा देख्न सकिन्छ । एक देशले अर्को देश र सुगम ठाउँले दुर्गम ठाउँलाई हेर्ने दृष्टिकोण हरिशरण रामको पुनरागमन कथामा पाइन्छ । महोत्तरी जिल्लाको भगोल गाउँ सबाल्टर्न क्षेत्रअन्तर्गत परेको छ । यहाँ विकास निर्माणका कार्य गरिएको छैन । भौगोलिक आधारका कारण नै त्यहाँको विद्यालय जीर्ण बनेको भाव हरिशरणमार्फत व्यक्त भएको छ । भगोल गाउँ सहरी क्षेत्रबाट त किनारीकृत छदै छ छिमेकी मुलुकबाटसमेत उपेक्षित भएको कुरा समाख्याताले यसरी व्यक्त गरेका छन् –
“गाउँ थियो मधेशको तर दुर्गम । सदरमुकामसम्म गाउँको सिधा सम्पर्क थिएन । आफ्नै जिल्लाको सदरमुकाम पुग्न पनि छिमेकी मुलुकको धर्तीमा टेक्नुपर्थ्यो मात्रै हैन बसै चढ्नुपर्थ्यो । छिमेकी देशको होटलमा चाय खानुपर्थ्यो । चिया खाँदाखाँदै बहादुरको ताना पनि सुन्नुपर्थ्यो । पटेल शैलीको महावाणी त अनिवार्य हुन्थ्यो । भन्थे त्यो नि कुनै देश हो र हाम्रै प्रान्त हो (पृ. ८१) ।”
प्रस्तुत साक्ष्यअनुसार मधेश भए पनि भगोल गाउँ विकसित हुन सकेको छैन । सदरमुकामसँग सम्पर्क नभएका कारण जनजीवन निकै कठिन बनेको मात्र होइन छिमेकी अर्थात् भारतीय नागरिकबाट ताना सुन्न परेको भाव व्यक्त गरिएको छ । भूगोललाई छुट्टै देश नमानी भारतकै अधीनस्थ मान्ने बहादुरको भनाइबाट भौगोलिक सबाल्टर्न स्पष्ट देखिन्छ । यसका साथै हरिशरणलाई भगोल गाउँको स्कुलबाट हटाएर त्यो भन्दा पनि दुर्गम र उपेक्षित पहाडे गाउँमा सरुवा गराएको सन्दर्भले भगोल गाउँ र पहाडे गाउँले भौगोलिक सबाल्टर्नको प्रतिनिधित्व गरेको देखिन्छ ।
३.५ शक्तिसम्बन्ध
मानिसहरू सदियौँदेखि शक्तिशाली र कमजोर गरी दुई पक्षमा विभाजित छन् । जो शक्तिको केन्द्रमा रहन्छ ऊ शक्तिशाली हुन्छ र उसले शक्तिविहीनलाई शोषण गरिरहन्छ । यसरी एकले शोषण गर्ने र अर्को शोषित हुने स्थितिका कारण उनीहरूको सम्बन्ध पनि तनावयुक्त हुन्छ । शक्तिशाली वर्गले सबाल्टर्न वर्ग सधैँ किनारा लागोस् भन्ने चाहन्छ भने शक्तिविहीन केही मानिस आवाज उठाउन नसकी मौन रहन्छन् भने कोही विद्रोह गर्छन् । यसकारण पनि उनीहरूको शक्तिसम्बन्ध सुदृढ बन्न सक्तैन । प्रस्तुत ‘हरिशरण रामको पुनरागमन’ कथामा यस्तै अभिव्यक्ति पाइन्छ । यहाँ स्पष्ट रूपमा उच्च र निम्न जातका दुई वर्ग रहेका छन् । कथाको प्रारम्भमा उच्च जातका मानिस शक्तिकेन्द्रको नजिक छन् भने निम्न जातका मानिसहरू शक्तिकेन्द्रबाट पाखा पारिएको स्थिति देखाइएको छ । ब्राह्मण, क्षेत्री, वैश्यहरूका लागि मात्र स्कुल उपलब्ध हुनु र चमार, मुसलमान आदि निम्न जातका लागि विद्यालयबाट वञ्चित गरिनु यसको उदाहरण हो । मास्टरको सहायताबाट शिक्षा लिन सकेको हरिशरणपछि सोही विद्यालयमा प्रधानाध्यापकको नियुक्ति पाउँदा शिक्षा अधिकारीप्रति कृतज्ञ बन्छ तर शिक्षा अधिकारीले आफ्नै योग्यताले यो पद हासिल गरेको बताएको बाट यहाँ निम्न जातको वर्गप्रति उच्च जातको वर्ग पनि उदार देखिन्छ ।
त्यस्तै यता हरिशरण प्राचार्यको रूपमा गाउँमा आउँदा उच्च जातका मिश्र, दुर्योधन आदिको तिरस्कारमा उच्च वर्गको सामन्तवादी विचारधारा व्यक्त भएको छ र निम्न जातको हरिशरण अधीनस्थ बनेको छ । एकातिर उसमा आफू हेडमास्टर भएकोमा र अरूले भन्दा धेरै पढेकोमा गर्व थियो जसका कारण आजसम्मको जिन्दगी यिनैका गोडाको तलुवामुनि बितेको छ तर अब यिनको तलुवाको चापमा चलिन्न भन्ने आँटबाट उसमा सत्वबोध भएको देखिन्छ भर्ने अर्कातिर त्यस्तो हैन हजुर म त हजुरहरूकै सेवक हुँ भन्ने भनाइले अधीनस्थ भएको छ । दुर्योधनको षड्यन्त्रबाट हरिशरणलाई दुर्गम गाउँमा सरुवा गरिनु र सरुवा हुनुपर्दा हरिशरण केही नबोल्नुबाट ऊ अधीनस्थ पात्र नै हो भन्ने स्पष्ट हुन्छ । भोइल गाउँमा जनचेतनाको विकास भएसँगै नयाँ पुस्ताका युवाहरूले हरिशरणलाई पुनः सोही स्कुलमा ल्याएकाले परिवर्तन र जागरणको स्थिति देखा परेको छ ।
प्रभुत्व वर्ग वा उच्च जातका वर्ग र अधीनस्थ वा निम्न जातका वर्गका बिच असमान शक्तिसम्बन्ध रहनुका साथै प्रभुत्व–प्रभुत्व वर्गबिच पनि असन्तुलित शक्तिसम्बन्ध देखिन्छ । यस कथामा मिश्र र दुर्योधन उच्च जातका भएका कारण पूर्ण सामन्ती विचार भएका पात्रका रूपमा देखिएका छन् भने मास्टर, शिक्षा अधिकारी, झा उच्च जातका भए पनि उदार छन् । यसरी उच्च जातभित्रका एकै वर्गमा पनि समान सम्बन्ध देखिँदैन ।
प्रस्तुत कथाको सुरुवाती र विकासको क्रममा उच्च जातका वर्ग र निम्न जातका वर्गबिचको शक्तिसम्बन्ध असन्तुलित देखिए पनि कथाको अन्त्यतिर नयाँ पुस्तामा आएको जाँगर र गाउँको विकास गर्नुपर्ने चेतनाका कारण निम्न जातका वर्ग पनि शक्तिको नजिक पुगेको देखिन्छ । यसरी हेर्दा प्रारम्भमा असन्तुलित भएको शक्तिसम्बन्ध पछि केही हदसम्म भए पनि सन्तुलनको अवस्थामा पुगेको देखिन्छ ।
३.६ प्रभुत्वशाली संस्कृति
पुँजीवादी, सामन्तवादी विचारधाराबाट प्रभुत्वशाली संस्कृतिको जन्म हुन्छ । प्रभुत्वशाली संस्कृतिले तल्लो वर्गका मानिसको प्रगति चाहँदैन । उसले सो वर्ग यथास्थितिमा रहोस् भन्ने चाहन्छ । प्रस्तुत कथामा मिश्र र दुर्योधन प्रभुत्वशाली वर्गका रूपमा चित्रित छन् । मिश्र भोइल गाउँको अध्यक्ष हो । उसमा सामन्तवादी विचारधारा विकसित भएको छ । गाउँमा कसैले केही काम गर्नुपऱ्यो भने वा कुनै पनि निर्णय गर्नुपरेमा उसको अनुमति लिनुपर्ने धारणा राख्दछ । उसलाई नसोधी हरिशरणलाई विद्यालयको प्रधानाध्यापक नियुक्त गरिएकोमा आपत्ति जनाउँछ र दुर्योधनको कुरा सुनेर उसलाई दुर्गम गाउँमा सरुवासमेत गराउन पछि पर्दैन ।
त्यस्तै दुर्योधन यस कथाको अर्को सामन्ती विचारधाराबाट प्रेरित पात्र हो । उसले तल्लो जातको हरिशरणलाई विद्यालयमा भर्ना गर्न पनि अनकनाएको छ भने पछि सोही विद्यालयको प्राचार्य बनेर आएको हरिशरणलाई निकै तिरस्कार गर्न पुग्दछ । मिश्र, जिल्ला शिक्षा अधिकारी, जिल्लाका नेताकोमा दौडधुप गरेर, मिश्रको कान फुकेर होस् या विद्यार्थीलाई हरिशरणविरुद्ध उचालेर हरतरहले हरिशरणको सरुवा गराई आफू प्रधानाध्यापककै रूपमा रहन्छ ।
मिश्र दुर्योधनमा रहेको सामन्तवादी संस्कृतिको प्रभाव अधीनस्थ वर्गमा पनि परेको छ । हरिशरणको परिवारका साथै चमार र मुसलमान सबै वर्ग अधीनस्थ वर्गअन्तर्गत रहेका छन् । उनीहरूमा हामी सबाल्टर्न वर्ग हौँ, हामी यतिकै ठिक छौँ भन्ने भावना विकास भएको देखिन्छ । प्रभुत्व संस्कृतिको प्रभावलाई कथामा खेहरूको माध्यमबाट यसरी देखाइएको छ –
“हजुर, कुरो त राम्रो हो तर चमारको छोराले पढेर के गर्छ ? काम त उही ढोल डङ्गर हो (पृ. ८२) ।”
प्रस्तुत साक्ष्यका आधारमा चमार जातिको खेहरू आफू जातीय रूपमा निम्न भएकाले काम पनि पुर्खाले जे गरे त्यही गर्ने न हो । अन्य ठाउँमा अवसर पाइँदैन भने पढेर के गर्नु भन्ने विचार व्यक्त भएको छ । उसलाई मास्टरले जर्जबुल, लेभी, जगजीवन राम आदिको उदाहरण दिई स्कुल त भर्ना गर्न लगाउँछ तर खेहरूमा प्रभुत्वको विद्रोह गर्नुपर्छ वा उनीहरूले शोषण गरिरहेका छन् भन्ने चेतना भने आउँदैन । यसमा खेहरू प्रभुत्वको सामन्तवादी संस्कृतिलाई आत्मसात् गरेको देखिन्छ ।
हरिशरण राममा प्रभुत्वशाली संस्कृतिको ठूलो प्रभाव देखिन्छ । ऊ विभिन्न बाधा र व्यवधानका बिच पढेर प्रधानाध्यापकको नियुक्ति लिन्छ तर यसमा आफ्नो योग्यताभन्दा पनि शिक्षा अधिकारीको गुन सम्झिएको कुरालाई कथामा ‘‘उसले नियुक्ति पत्र बुझ्यो र एक छिनसम्म हात जोड्या जोड्यै गरेर शिक्षा अधिकारीसमक्ष कृतज्ञता जाहेर गऱ्यो । हजुर …. हजुरको गुन म कहिल्यै बिर्सने छुइन । हजुरको भलो होस् । सधैँ उन्नति र फुले फलेको सुन्न पाइयोस् हजुरले म अनाथको ठुलो कल्याण गरिदिनुभयो’’ (पृ. ८०) भन्ने उदाहरणमार्फत व्यक्त गरिएको छ । उपर्युक्त साक्ष्य हेर्दा हरिशरणले प्रधानाध्यापकको नियुक्ति हुनुमा शिक्षा अधिकारीको दया रहेको भन्ने सोची उनकै शरणमा नतमस्तक बन्न पुगेको बाट उसमा आफ्नो योग्यतामाथि विश्वास भन्दा पनि प्रभुत्व वा सत्तामा रहेका व्यक्तिको देन रहेको बुझाइ छ भन्ने देखिन्छ । उसको यो सोचाइ पनि प्रभुत्वशाली संस्कृतिकै प्रभावस्वरूप आएको हो । त्यस्तै हरिशरण आइ.एड. पढिसकेर विद्यालयको प्रधानाध्यापक भइसक्दा पनि आफू तिनै मिश्रका अधीनमा रहेको स्विकार्छ । उसमा विद्रोही चेतनाको आँकुरा त पलाएको छ तर बोल्न सक्तैन । मनमनै म उनीहरूको तलुवामा काम गर्दिन भन्छ तर व्यवहारमा म हजुरकै सेवक हुँ भनी नतमस्तक बन्छ । यसरी हरिशरण पढेलेखेको भए पनि र मिश्रको सामन्तवादी संस्कार ठिक छैन भन्ने जान्दाजान्दै पनि त्यही संस्कृतिको आत्मसात् गरेको देखिन्छ ।
३.७ सबाल्टर्नको आवाज
सीमान्त वर्ग आफू किनारीकृत भएको थाहा पाएर पनि बोल्न नसक्ने र उसको न्यायका लागि दोस्रो व्यक्ति वा समूह बोलिदिनुपर्ने हुन्छ । आवाजविहीन नै सबाल्टर्न भएकाले उनीहरू बोल्न नसक्नु स्वाभाविक पनि हो । प्रस्तुत कथामा हरिशरण प्रमुख सबाल्टर्न पात्र हो । ऊ जातीय रूपमा चमार वा दलित जातको प्रतिनिधि पात्र हो । उसले सम्पूर्ण पानी नचल्ने जात (जात दलित र मुसलमान) को प्रतिनिधित्व गरेको छ । उसमा प्रभुत्वशाली वर्गले गरेको सामन्तवादी प्रवृत्ति मन नपरी, त्यो संस्कृतिको विरोध गर्न चाहेको छ तर पनि बोल्न नसकेकाले ऊ सबाल्टर्न वर्गअन्तर्गत रहेको छ ।
विद्यालयको शिक्षाबाट वञ्चित भएका निम्न जातका मानिस आफ्ना बालबालिकालाई पढाउन चाहेर पनि प्रभुत्व वर्गको विरोध गर्न नसकी चुपचाप रहेका छन् । हरिशरण रामलाई विद्यालयमा शिक्षक र साथीहरूले तिरस्कार गर्दा पनि नबोली बस्छ । त्यस्तै छिमेकी देशको बहादुरले आफ्नो गाउँलाई तिरस्कार गर्दा आवेशमा आउन खोज्छ तर सहमति र विमति केही पनि जनाउँदैन । हरिशरण प्रधानाध्यापक बनेर गाउँ आएपछि आफूमाथि भएको उपेक्षाको चाहेर पनि विरोध गर्न सक्तैन र प्रभुत्व वर्गले जालझेल गरी दुर्गम गाउँमा सरुवा गराउँदासमेत केही नबोली जान्छ ।
कथामा सबाल्टर्न वर्ग आवाजविहीन छन् । उनीहरूलाई शक्तिकेन्द्रसम्म पुऱ्याउनका लागि अन्य पात्रको मूल भूमिका रहेको छ । यसमा मास्टर, शिक्षा अधिकारी र नयाँ पुस्ताका युवाहरू सबाल्टर्नको आवाज बनेर आएका छन् । मास्टरले मिश्र र दुर्योधनका नाइँनास्तीका बाबजुद पनि हरिशरणलाई विद्यालयमा भर्ना गराएको छ । त्यस्तै शिक्षा अधिकारीले हरिशरण देशको सक्षम, सबल, कर्मठ नागरिक भएको, आफ्नो योग्यताअनुसारको जागिर पाएको, यो जागिर पाउनु उसको अधिकारको कुरा रहेको बताएको छ । गाउँका उच्च जातका केही मानिस हरिशरणरामकै पक्षमा उभिएका छन् । भोइल गाउँमा चेतनाको विकास हुँदै जाँदा र गाउँको विकास गर्नुपर्छ भन्ने धारणा सिर्जना हुँदा नयाँ पुस्ताका जमातले पुरानो सामाजिक संरचनाविरुद्ध आवाज उठाउन थाल्छन् । नि.मा.वि. स्कुललाई मा.वि. बनाउनतिर अग्रसर हुन्छन् । दुर्योधनको योग्यता नपुग्ने हुँदा उसले अल्ट्याङ्टल्ट्याङ् गरे पनि ती युवाहरूले हरिशरण रामलाई पुनः सोही स्कुलमा प्रधानाध्यापकको भूमिकामा उभ्याउँछन् ।
यस कथामा सबाल्टर्न वर्गमा चेतना केही मात्रामा सञ्चार भए पनि बाह्य रूपमा बोल्न सकेको देखिँदैन । उनीहरूको आवाज गैरसबाल्टर्न वर्गले नै बोलिदिएका छन् । यसरी ‘हरिशरण रामको पुनरागमन’ कथामा समाजमा चेतनाको विकास भइरहेको तर सबाल्टर्न वर्ग पूर्ण रूपमा प्रभुत्वशाली संस्कारबाट माथि उठी विद्रोह गर्न नसकेको अवस्थाको चित्रण गरिएको छ ।
४. निष्कर्ष
इस्मालीको ‘हरिशरण रामको पुनरागमन’ कथामा जातीय सबाल्टर्नलाई चित्रण गरिएको छ । भोइल गाउँमा रहेका दलित जातका मानिसलाई उच्च जातका प्रभुत्वशाली वर्गले अगाडि बढ्न नदिने, दमन गर्ने प्रवृत्तिलाई कथामा हरिशरण रामलाई सबाल्टर्न वर्गको र मिश्र र दुर्योधनलाई प्रभुत्वशाली सामन्ती वर्गको प्रतिनिधि पात्रमार्फत चित्रण गरिएको छ । यहाँ दलित वर्गले विद्यालयमा पढ्न नपाएको, पानी लगायत अन्य सुविधाबाट वञ्चित हुनुपरेको यथार्थलाई प्रस्तुत गरिएको छ । यस्तो दमनको विरोध गर्न चाहेर पनि बोल्न नसकेका मोचे जाति र मुसलमान वर्ग सबाल्टर्न वर्गअन्तर्गत रहेका छन् । त्यस्तै उक्त भगोल गाउँलाई छिमेकी मुलुकका मानिसले महत्त्व दिई त्यसको अस्तित्व स्वीकार गरेका छैनन् जसका कारण सिङ्गो भगोल गाउँ नै भौगोलिक रूपमा सबाल्टर्नको स्थितिमा पुगेको देखिन्छ । यसरी जातीय र भौगोलिक रूपमा विभेद हुँदा पनि सबाल्टर्न वर्गले विद्रोह गर्न सकेका छैनन् ।
उच्च जातका मास्टर र जिल्ला शिक्षा अधिकारी र नयाँ पुस्ताका केही युवाहरू सबाल्टर्न वर्गको पक्षमा उभिएको देखिन्छ । उनीहरू नै सबाल्टर्नको आवाज बनेर कथामा प्रस्तुत भएका छन् । प्रस्तुत कथामा प्रभुत्वशाली जातले तल्लो जातलाई प्रगति गर्न नदिने, तल्लो जातले पनि विरोध गर्न नसक्ने स्थितिले गर्दा यी दुईबिच असमान शक्तिसम्बन्ध रहेको र प्रभुत्वशाली वर्गकै हातमा शक्ति रहेको देखिन्छ । कथाको प्रारम्भिक चरणमा राज्यको शक्ति उच्च जातमा रहेको देखिए पनि अन्त्यमा जनतामा आएको जागरणका कारण निम्न जातका मानिस पनि शक्तिको केन्द्रमा पुगेको देखिन्छ । प्रस्तुत कथामा जातीय आधारमा सबाल्टर्न भएका मानिसको मुक्तिका लागि उच्च जातका मानिस नै आवाज बनेर आएको र बिस्तारै परम्परागत शक्तिकेन्द्र भत्किएर नयाँ शक्तिकेन्द्र बन्न लागेको स्थितिलाई कथामा चित्रण गरिएको छ । यसरी प्रस्तुत कथामा हरिशरण रामका माध्यमबाट सबाल्टर्न वर्गको पहिचानको स्थिति, प्रतिनिधित्वको अवस्था र आफ्नो आवाज आफैँ बोल्न नसक्ने त्यसका लागि अरू कसैले बोलिदिनुपर्ने स्थितिको चित्रण गरिएको छ । यसमा असमान शक्तिसम्बन्ध र शक्तिको केन्द्रमा देखिएको प्रगतिशीलता प्रस्तुत भएको छ ।
सन्दर्भसामग्री सूची
गुहा, रञ्जित (सन् १९८८), ‘अन सम अस्पेक्ट अफ दि हिस्टोरियोग्राफी अफ कोलोनाइल इन्डिया’ सेलेक्टेड सबाल्टर्न स्टडिज, (सम्पा. रञ्जित गुहा र गायत्री चक्रवर्ती स्पिभाक), न्यूयोर्क -अक्सफर्ड युनिभर्सिटी ।
गुहा, रञ्जित (सन् १९८८), ‘प्रिफेस’ सेलेक्टेड सबाल्टर्न स्टडिज, (सम्पा. रञ्जित गुहा र गायत्री चक्रवर्ती स्पिभाक), न्यूयोर्क – अक्सफर्ड युनिभर्सिटी ।
चापागार्इँ, निनु (२०७३), पूर्ववाद र सइदेली विचार, ललितपुर – साझा प्रकाशन ।
बराल, ऋषिराज (२०७३), मार्क्सवाद र सबाल्टर्न अध्ययन , ललितपुर – साझा प्रकाशन ।
शर्मा, बिन्दु (२०७४), समसामयिक प्रगतिवादी नेपाली कथा (सम्पा.), काठमाडौँ – नेपाल
प्रज्ञा प्रतिष्ठान ।
शर्मा, मोहनराज (२०७०), ‘अवरजन अध्ययन र साहित्य’ भृकुटी, भाग १९, असार ।
श्रेष्ठ, तारालाल (२०६८), शक्ति, स्रष्टा र सबाल्टर्न, काठमाडौँ – ओरिएन्टल पब्लिकेसन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

