साङ्ग्रिला प्रकाशनले हालसालै निकालेको किताब अफगानी रणमैदान युद्ध साहित्यको एउटा उत्कृष्ट पुस्तक हो । ब्रिटिश सेनामा सेवा गरेर अवकाश प्राप्त केदार बेलायतको ह्याम्पसायर, फार्नबोरोमा बसोबास गरिरहेका उनले आफ्नो दुई दशक लामो युद्धभूमिको कथालाई पाठकसामु यस कृति मार्फत पस्केका छन् । चलन चल्तीका लेखन भन्दा केही फरक कुरालाई चित्रात्मक रूपमा अनुभूति गर्न पाइन्छ अफगानी रणमैदानमा । लाहुरे बन्ने सपना बोकेका ती तमाम युवाहरूलाई विशेष यो किताबले विदेशी भूमिको अत्यासलाग्दो रूप, त्यस भूमिमा बगेका रगत र पसिनाको कथालाई  प्रस्ट पारेको छ ।

पाँचवटा भागमा बाँडिएको यो पूरै किताबमा लेखकले आफू त्यहाँ रहँदाका क्षणहरू र साथमा रमाइला किस्साहरू पनि मिसाउँदै आफ्ना भोगाइहरूलाई उतारेर बर्बर युद्धको विरोध गरेका छन् । सेवानिवृत्त भइसकेका उनलाई सन् २००६ को लन्डन अन्तर्वार्ताले योग्य छानेर नै उनी अफगानिस्तान जाने मौका पाएका हुन् । धेरैअघि पनि सैन्य सेवा गरेको भूमिमा उनी पुनः गएर काममा लागेका हुन् ।

सन् १९७८ मा सोभियत सङ्घद्वारा गरिएको हमलाबाट नै अफगानिस्तानमा गृहयुद्धको सुरुवात भएको हो । सोभियत सङ्घको यो अत्याचारलाई दबाउन पाकिस्तानले तालिवान नामक सङ्गठनको निर्माण गरेर अफगानिस्तानमा सोभियत सेनासँग लड्न पठायो । अमेरिकादेखि ल्याएका आधुनिक हतियारको अगाडि सोभियतको केही जोड लागेन र अफगानिस्तानमा सोभियत सेनाको ठूलो हार भयो ।

२००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको हमलाको बदला लिन ओसामा बिन लादेन र उसको सङ्गठन अलकायदाको समाप्तिका लागि अफगानिस्तानमा फेरि भयङ्कर विनाशकारी लडाइँ सुरु भयो । २००१ को नोभेम्बर २५ देखि लगातार ६ दिनसम्म भएको यो युद्धमा सयौँको सङ्ख्यामा तालिवानी लडाकु र नर्दन एयरलाइन्सका सिपाइहरूको मृत्यु भयो । फेरि टोराबोरामा पनि ओसामा लुकेको सङ्कामा हमला गरेर, टाकुरघारमा पनि युद्ध मच्चाएको अमेरिकाले अलकायदा प्रमुख ओसामा बिन लादेनको इन्काउन्टर भएपछि आफ्नो अमेरिकी सेना अफगानिस्तानबाट २०१४ सम्ममा हटाउने ओबामाको घोषणा भए पनि अझै फाटफुट आतङ्क सकिएको छैन भनेर सङ्केत लेख्छन् । यसरी अफगानिस्तानको युद्धको इतिहास नै यो किताबमा पाइन्छ ।

गृहयुद्धको डढेलाले खरानी बनाएको अफगानिस्तानमा तालिवान अलकायदा गुटहरूले युद्ध मच्चाइरहे । अफगानिस्तानका चरमपन्थी गुटहरू तालिवान अलकायदा र यिनीहरूको सहायक सङ्गठन नाटोका सेनासँग सन् २००१ देखि युद्ध चलिरहेको थियो । बुसले युद्धको घोषणा गरेकाले नै अफगानिस्तानका तालिवान र पाकिस्तानबाट आउने घुसपैठसँग अमेरिकी सेनाले युद्ध गर्नुपर्‍यो । त्यस युद्धमा हजारौँको सङ्ख्यामा अमेरिकी सेना अलकायदामाथि आक्रमण गर्न पठाइयो । अलकायदा ११ सेप्टेम्बर २०११ देखि पहिलाको भन्दा अझै धेरै खतरनाक रूपमा प्रस्तुत हुन गए । ट्वीनटावरको आक्रमणपछि संसारभरिका आतङ्ककारीहरू ओसामा बिन लादेनका  आन्दोलनमा सरिक भए । त्यसपछि सेक्युरिटीका लागि धेरैभन्दा धेरै सङ्ख्यामा इराक र अफगानिस्तानमा सेनाहरू खटाउन थालियो ।

लेखक एक ठाउँमा तालिमका विरक्तलाग्दा दिन यसरी सम्झिन्छन्- “युनिटी तालिम केन्द्रमा बितेका उनका सात दिन नीरस थिए , त्यहाँ रमाइलो गर्ने केही साधन थिएन । काबुल सहर नजिकै भएपनि तालिम केन्द्र एक अनकन्टार ठाउँमा थियो । उनी काठमाडौँमा आएका बेला एकदिन आफ्ना भाइभतिजासँग मिलेर मधुशालामा गरेको मस्ती सम्झँदै भन्छन् खानु , पिउनु रमाउनु पनि जिन्दगी को एउटा पाटो हो, त्यो मज्जा सबैले लिन कहाँ जान्दछन् र ? कहिले काँही बेस्सरी मात्तिनुमा पनि अलिकति जीवन भेटिँदो रहेछ । मलाई त्यो ट्रेनिङभरि काठमाडौँको याद आइरह्यो ।”

शशी भट्टराई श्रेष्ठ

उनी धेरै पहिलेको एउटा युद्ध कथा यसरी लेख्छन्, “एकाबिहानै गोली पड्केको आवाजले अत्तालिएँ । रातिको मौका छोपेर तालिवानहरूले हाम्रो क्याम्प उडाउने प्रयासमा थिए । म हत्तपत्त आफ्नो आपतकालीन सामान राखिएको कालो झोला बोकेर  हात हतियारसहित कोठाबाहिर निस्केँ । गोलीका आवाजहरू पटट पटट अविच्छिन्न रूपमा चलिरहेको थियो । गेटसम्म आएर सुसाइड भेस्ट पड्काएर भित्र पस्ने र यहाँ भएका पाँच सय विदेशीहरूलाई सखाप पार्ने उनीहरूको योजना थियो । नौ घन्टाको दोहोरो क्रस फायरमा तालिवानीहरू सँगको भिडन्तमा अन्ततः हाम्रो जित भयो ।”

यसरी लेखकले युद्ध भूमिमा आँखै अगाडि कैयौँका शरीरहरू ढलेका, तालिवानहरूले उनीहरूका मृत साथीहरूको टाउको काटेर लगेका ती डरलाग्दा दृश्यहरूलाई अक्षरमा उतारेका केदारको यो पुस्तक पढिसकेपछि  मेरा धेरै रातका सपनाहरूसँग म  तर्सिरहेँ ।  मारिएका ती मानवहरूको क्षत विक्षत अङ्गहरू मेरा आँखामा आएर बसिरहे । धेरै दिनसम्म म लेखक सम्झेर डराइरहेँ । मरुभूमिको बाटो थाहा नहुने त्यो भूभागमा एकदिन बाटो हराएर निषेधित क्षेत्रमा छिरेका लेखकका टोली मर्नु र मार्नु अगाडि दोभासेले गरेको वार्ता प्रयास सफल भई बाँच्न सफल भएको कथा पढ्दा मन सिरिङ्ग हुन्छ । आफ्ना अगाडि रकेट खस्दा, कमान्डरको जिम्मेवारी निभाउँदै त्यो डरलाग्दो युद्धमा आफैँ होमिँदा, बम बारुदका मुस्लाले आकाश ढाक्दा उनलाई कस्तो भयो होला ? उनी कति विचलित भए होलान्? साँच्चै भन्नुपर्दा नराम्रा दृश्यहरू मान्छेले भुल्न चाहन्छ, मेटाउन चाहन्छ तर साहसी सङ्केतले सबैका सामु त्यो आततायी हमलाको कथा उदाङ्गो पारेर देखाउन सफल भएका छन् ।

‘द गुर्खाज’ नामले प्रख्यात नेपालीहरू निडर , लगनशील र इमान्दार हुन्छन् भनेर उनीहरूको ग्रुपमा अरू देशका कमान्डरहरू कुरा गरेको-सुनेर लेखक नेपाल र नेपाली सम्झेर खुसी हुन्छन् । आफ्नो मूल थलो रामेछाप जिल्ला भएका केदार आफ्नो जन्मथलोको प्रशंसा बारम्बार गरिरहन्छन् । आफ्नो मुस्कान रामेछापमै छुटेको भन्दै बेला-बेलामा उनी साथीहरूमाझ कुरा गर्दै आफ्नो घर सम्झिन्छन् । लेखक दुबई पुगेका बेला अचानक उनी आफ्नो गाउँ सम्झेर भावुक हुन्छन् र भन्छन्, “यो बुर्ज खलिफाको टावरभन्दा मलाई मेरै दुर्गम रामेछाप धेरै सुन्दर लाग्छ ।”

बेनाम प्रेमको नाममा आफ्नो साथीको प्रेम प्रसङ्ग सम्झँदै केदार सङ्केत लेख्छन्- “बिहे गरेर छोरा छोरी भैसकेको पुरुष र एउटी बिहे भएकै महिलाबिचको सम्बन्ध जुन सम्बन्ध हाम्रो नेपाली समाजमा स्वीकार्य नभए पनि एक आपसमा उनीहरूको कहिल्यै भेटघाट नभईकन  फेसबुकको माध्यमबाट माया बसेपछि उनीहरू समय मिलाएर भिडियो च्याट गर्छन् , दुःख सुखका कुरा साटासाट गर्छन् । प्रेमिका इजरायलमा एकजना धनाढ्यको घरमा काम गर्ने नेपाली केटी हुन् भने प्रेमी अफगानिस्तानमा काम गर्ने एक बहादुर गोर्खाली हुन् । उनी प्रेममा पागल भएर इजरायल पुग्छन् मायालुलाई भेट्न ।  इजरायल एअरपोर्ट पुगेपछि  अफगानिस्तान जाने आउने गरेको, इजरायलमा युद्ध चलेको कारण देखाउँदै  बाहिर निक्लन नमिल्ने भएपछि एयरपोर्टबाहिर पर्खेर बसेकी मायालु र भित्र उनी भिडियो कल गर्दै रुन्छन् । दिमागमा सधैँ राम्रोमात्र सोच बोकेर हिँडे पनि कहिलेकाहीँ सुन्दर नारी देख्दा पुरुषहरू यसरी चुक्छन् मेरो साथी पनि प्रेममा केही समय पागल बन्यो ।

आफू बेलायत भएको बेलामा वरिष्ठ राजनीतिज्ञ विश्लेषक खगेन्द्र सङ्ग्रौलासँगको भेटघाटमा सोमरस खाँदै गरेको रमाइला कुरा, लेखक आफूले नेपाल जाँदा केही दिन होटलमा बिताएका कुरा, उनी जाँडमा जोडेर सम्झिन्छन् । नेपालको जुनसुकै कुनामा बसे पनि मलाई आफ्नै घरमा बसेजस्तो लाग्छ, आनन्द आउँछ भन्दै उनी एउटा कवितामा नेपाल सम्झन्छन् ।

तिम्रो त्यो ‘ हाई ‘ ! भन्ने एक शब्दमा

मेरा यति धेरै सम्झना

नोस्टाल्जिक भएर आउँछन् कि!

जो सम्झनाका बलेँसीमा टाँग्छु

र सुकाउँछु घुनसरी बिस्कुन ।

कल्पनामा तिम्रा छेउ आइपुगेर

तिमीलाई मुसार्छु

एलम ! साँच्चै तिमी

एउटा सिङ्गो पृथ्वी हौ ।

अन्त्यमा लेखक भन्छन्, जुन देशमा लडाइँ हुन्छ, विदेशीको घुसपैठ हुन्छ, त्यहाँको जनजीवनमा कहिल्यै सुख, शान्ति र अमनचयन हुँदैन । काबुल यथावत नै छ । उही बम, बारुद, बन्दुक, किडन्याप र करप्सनले ग्रस्त छ । अफगानिस्तान र सिरियालाई मात्र होइन विश्वलाई नै शान्ति चाहिएको छ तर आजसम्म भएको कुनै पनि लडाइँले शान्ति स्थापित गर्न भने सकेको छैन ।