कुनै समय एयर फ्रान्सका जागिरे, मिराबेल होटलका सञ्चालक, नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष, नेपाल फ्रान्स द्विपक्षीय लगानी तथा व्यापारका प्रमुख प्रवर्द्धक अनि नेपालको एकमात्र सरकारी वायुसेवा कम्पनीको सञ्चालक सदस्य पनि हुन् श्याममोहन श्रेष्ठ । उनै श्याममोहन श्रेष्ठले सन् १९७० को दशकमै २२ वर्षको युवावयमा गरेको काठमाडौँदेखि पेरिससम्मको बस र रेलयात्रा र उनको आत्मकथा समेटिएको पुस्तक हो ‘काठमाडौँ–पेरिस–काठमाडौँ बस र रेल यात्रा – साहस र आँटले डोऱ्याएको जिन्दगी’ । यसलाई एउटा नेपाली केटाको साहसिक यात्रा भन्न मन पराएका छन् लेखक श्याममोहन श्रेष्ठले ।
साँच्चै भन्ने हो भने यो पुस्तक एउटा नेपाली केटाको साहसिक यात्राको दस्तावेज नै हो । गरीब मुलुकमा जन्मेको एउटा युवाको सात समुद्रपारिसम्मको यात्रा, त्यो पनि बस र रेलबाट । यसलाई साहस र आँटको एउटा दरिलो प्रमाणकै रूपमा लिन सकिन्छ । लर्तरो मान्छेले यति ठूलो आँट गर्न सक्तैन किनभने यसमा आर्थिक र सामाजिक कुरा पनि जोडिएको हुन्छ । यति लामो यात्राका लागि आँट र साहसले मात्रै पुग्दैन, आर्थिक विषय पनि प्रत्यक्ष जोडिएर आउँछ । यति लामो यात्रा एक्लै गर्न खोज्नुमा साहस र आँटमात्रै होइन, चुनौतीलाई आत्मसात् गर्ने सामर्थ्य पनि भएको मान्नुपर्छ । चुनौतीलाई स्वीकार गरेर नै उनमा यस्तो साहस र आँट जागेको हुनुपर्छ ।
यो पुस्तक लेखक श्याममोहन श्रेष्ठको यात्रावृत्तान्तमात्रै होइन उनको आत्मकथा पनि हो । किनभने यसमा काठमाडौँदेखि पेरिस र पेरिसदेखि काठमाडौँसम्मको यात्रावर्णनमात्रै होइन, उनले आफ्नो जिन्दगीको उहापोह र पारिवारिक घटना–विवरण, व्यावसायिक यात्रा र फ्रान्ससँगको अटुट सम्बन्धका महत्त्वपूर्ण पाटाहरूलाई पनि उत्तिकै महत्त्वका साथ प्रस्तुत गरेका छन् । उनले आफ्नो जन्मस्थल काठमाडौँ तथा मकवानपुरको भीमफेदीमा आफू हुर्कँदा र पढ्दादेखिका तीता–मीठा अनुभवदेखि हालसम्मका सुखद र दुःखद सबै घटनाक्रमलाई यथासम्भव सविस्तार वर्णन गरेका छन् । इमानदारीका साथ प्रस्तुत गरेका छन् । लुकाउन सकिने कुरालाई पनि नलुकाई खुलस्त प्रस्तुत गरेका छन् । यसकारण उनको यो लेखनीलाई इमानदार लेखनी भन्न सकिन्छ ।
कुनै पनि लेखकले आफ्नो जिन्दगीका उज्याला र अँध्यारा अनि सकारात्मक र नकारात्मक सबै पक्षलाई नलुकाई र नढाँटी लेख्नसक्नु इमानदारीताको नमूना नै हो । यो पुस्तक आत्मश्लाघाको प्रभाव र दवावबाट मुक्त छ । पुस्तकमा आत्मप्रशंसाको पुलिन्दामात्रै छैन कमजोरी र आलोचनाका पक्ष पनि उत्तिकै खुलस्तरूपमा आएका छन् । त्यसकारण यो पुस्तक श्याममोहन श्रेष्ठको आत्मकथा हो, आत्मश्लाघा पटक्कै होइन । समकालीन नेपाली गैरआख्यानको क्षेत्रमा आत्मकथाको नाउँमा सकारात्मक कुरामात्रै प्रस्तुत गर्ने अथवा आत्मप्रशंसामात्रै गर्ने परम्परा नै बसेको छ । अवकाशप्राप्त जीवनमा आत्मप्रशंसाका लागि पुस्तक लेख्ने अथवा लेखाउने र आत्मश्लाघामा रमाउने परम्परा बसेको वर्तमान समयमा लेखक श्याममोहन श्रेष्ठले यो परम्परालाई तोडेका छन् र आत्मश्लाघाबाट मुक्त रहेका छन् । आत्मश्लाघामुक्त र लेखनमा इमानदारिता यो पुस्तकको मुख्य विशेषता हो ।
यो पुस्तक सात खण्डमा विभाजित छ । सात खण्डमा विभिन्न शीर्षकहरूमा लेखकको जन्म र हुर्काइदेखि काठमाडौँ–पेरिस–काठमाडौँ बस र रेल यात्रा हुँदै व्यावसायिक दौडधुप र अविस्मरणीय घटनाहरूसम्म समेटिएका छन् । पुस्तकको पहिलो खण्डमा उनले आफ्नो जन्म, हुर्काइ, बाल्यकाल र पारिवारिक पृष्ठभूमि र प्रारम्भिक शिक्षा अनि क्यासिनो नेपालमा जागिरे हुँदाका सन्दर्भहरू सविस्तार उल्लेख गरेका छन् । २०२२ सालको ग्रीष्म ऋतुमा न्युरोड घुम्न आएका फ्रेन्च युवासँगको भेट र उनीहरूसँगको सङ्गतले उनमा फ्रान्स र फ्रेन्च भाषाप्रति उनको मोह बढ्दै जान्छ । फ्रान्सप्रति चासो राख्दै मनमा फ्रान्स जाने अठोट बोकेर फ्रेन्च भाषा पनि सिक्न थाल्छन् । दरबार स्कुलमा रहेको नेसनल कलेजबाट आइए उत्तीर्ण गरी सन् १९६७ मा पाटन क्याम्पसमा बिए पढ्दापढ्दै क्यासिनो नेपालमा काम गर्न पुग्छन् । क्यासिनो नेपालमा राम्रो काम गर्दागर्दै पनि केही भुटानी सहकर्मीसँग मतभेद सुरु भपछि अन्ततः सन् १९७० मार्च १५ मा क्यासिनो नेपालको जागिर छोडेर फ्रान्स यात्राको तयारीमा जुट्छन् ।
दोस्रो खण्डमामा उनको ‘साहसिक यात्रा – काठमाडौँ–पेरिस–काठमाडौँ’ को वर्णन छ । उनको पेरिस यात्रा सन् १९७० मार्च २३ को दिनबाट सुरु हुन्छ । यसो त पुस्तकका शीर्षकमा बस र रेल यात्रा भनिए पनि उनको यात्रा हवाइजहाजबाट सुरु भएको छ । काठमाडौँबाट भारतको पटनासम्मको हवाइजहाज यात्रापछि मात्रै उनको बस र रेल यात्रा सुरु हुन्छ । पटनाबाट दिल्ली, दिल्ली हुँदै अफगानिस्तान, अफगानिस्तानको काबुलबाट कन्डहर, हेरात हुँदै इरान, इरानको राजधानी तेहरानसम्म रेल यात्रा गर्छन् । त्यसपछि तेहरानबाट बसयात्रा गर्दै टर्कीको इस्तानबुल पुग्छन् र पुनः इस्तानबुलबाट रेल यात्रा गर्दै बेलग्रेड पुग्छन् । बेलग्रेडबाट इटालीको मिलान र मिलानबाट रेलयात्रा गर्दै फ्रान्सको मार्सेली पुग्छन् र पेरिसलगायत त्यहाँका विभिन्न सहर घुम्छन् । फ्रान्समा केही समय बिताएर फर्कने क्रममा चाहिँ स्थलमार्ग हुँदै नेपाल घुम्न हिँडेका केही अमेरिकी युवाको साथ लागेर इटाली, ग्रिस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुग्छन् । यसरी सन् १९७० को मार्च २३ बाट सुरु भएको उनको काठमाडौँ–पेरिस–काठमाडौँ यात्रा सन् १९७० को अक्टोबर अन्त्य अर्थात् ७ महिना ७ दिनमा काठमाडौँ आइपुगेर टुङ्गिन्छ ।
यति लामो यात्राको निकै रोचक वर्णन गरिएको छ पुस्तकमा । जसले पाठकलाई तानिरहने क्षमता राख्तछ । यात्रावर्णनका क्रममा लेखक जहाँजहाँ पुगेका छन्, त्यहाँको भूगोल, संस्कृति र जीवनशैलीको धेरै–थोरै परिचयात्मक वर्णन पनि गर्न बिर्सेका छैनन् । यद्यपि उनको लेखनमा आफू पुगेको ठाउँको भूगोल, इतिहास, संस्कृति र सम्पदाको जानकारीभन्दा यात्राको निजी वर्णनमै बढी केन्द्रित भएको पाइन्छ ।
यात्राका क्रममा उनलाई सहयोग र सद्भावको कमी रहेको महसुस हुन्न । यस अर्थमा लेखक भाग्यमानी लाग्छन् । यात्रामा यस्तो माया, सद्भाव र सहयोग पाउने भाग्य सबैलाई जुर्दैन । यात्राका क्रममा उनले पर्याप्त माया, सद्भाव र सहयोग पाएका छन् । डानियल, मिसेल, मारिया, युगोस्लाभियाकी एक महिला, माइकल, जाँ फ्रेडरिक मार्टिनेज, ब्रिगिट, म्याटोकलगायत नेपाली लक्ष्मीबहादुर मानन्धरसम्मको माया, सद्भाव र सहयोग उनले यात्राका क्रममा पाउन सकेका छन् । यसो हुँदा उनको यात्रा कल्पना गरेजस्तो कठिन हुन पुगेको छैन । बरु उनको यात्रा रोमाञ्चक र अविस्मरणीय बन्न पुगेको छ । यात्राका क्रममा विभिन्न महिला पात्रहरू पनि उनीसित जोडिन आइपुगेका छन् । क्याथी र जुरिचकी सोफियासँगको पल उनका लागि यादगार रहेको छ ।
तेहरान पुगेपछि अचानक लेखकलाई बिसन्चो महसुस हुन्छ । ज्वरो र जिउ दुख्ने क्रम नरोकिएपछि लेखकले यात्रा स्थगित गरी नेपाल फर्किनेसम्म सोच्छन् तर लेखक यति टाढा पुगिसकेका हुन्छन् कि उनी तत्काल नेपाल फर्किन पनि सक्तैनन् । तेहरान–दिल्ली हुँदै हवाइजहाजबाट नेपाल फर्किने सोचे पनि १६२ डलर हवाइजहाज भाडा लाग्ने थाहा पाएपछि फर्किने सोचलाई त्यागिदिन्छन् र यात्रालाई निरन्तरता दिन्छन् ।
यात्राकै क्रममा फ्रान्सको साथी मिसेलको घरमा बसिरहन अप्ठयारो महसुस भएपछि अमेरिका जान साथीलाई चिठ्ठी लेख्छन्, तर जबाफ आउँदैन । फ्रान्सकै एक जना परिचित व्यक्ति, क्यासिनो नेपालमा काम गर्दा चिनेको म्यानेजेरलाई पनि चिठ्ठी लेख्छन्, तर उनले पनि सहयोग गर्न असमर्थता जनाउँछन् । त्यसपछि उनी लगाइराखेको साइको घडी नै बेच्न बाध्य हुन्छन् २०० फ्र्याङ्कमा । यात्राको क्रममा आइपर्ने समस्याको एउटा उदाहरण हो यो । पछि म्याटोकले सहयोग गरेपछि उनी अलि ढुक्क हुन्छन् । (पृष्ठ ९५)
पेरिसमा बस्ताबस्तै लेखकले एउटा जीवनको अर्को साधारण तर महत्त्वपूर्ण पाठ सिक्छन् । त्यो हो, खरबखत मान्छेलाई चिने पनि, नचिने पनि नमस्ते भनी आदर गर्ने, सानोतिनो कुरा भए पनि धन्यवाद र माफ पाऊँ भनी उद्गार व्यक्त गर्ने । (पृष्ठ १०२) यो संस्कार हाम्रा लागि पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण लाग्दछ । यसैगरी एउटी फ्रेन्च साथीले लेखकसँग नजिक भएर आफूप्रति चाख देओस् भन्ने अपेक्षा गरेकी हुन्छिन् तर लेखक आफ्नै समस्याको धुनमा हुँदा उनीप्रति कुनै चाख दिन सक्तैनन् अनि ती साथीले भावावेशमा आएर ‘तिमी गे हौ ?’ भनेर गाली गर्छिन् । (पृष्ठ ११६)यौन आकर्षणको यो सन्दर्भले लेखकको यात्रालाई त रोमाञ्चक बनाएकै छ; पाठकलाई समेत रोमाञ्चित बनाउँछ । यसअघि एक जर्मन बूढाले १० डलर सहयोग गरेजस्तो गरेर लेखकसँग यौनशोषण गर्न खोजेको (पृष्ठ ३९) सन्दर्भले लेखकमात्रै होइन पाठकलाई झस्काउँछ । इस्तानबुलमा लेखकलाई सहयोग गर्ने महिलाले आफ्नी छोरी इमिलको बिहे लेखकसँग गरिदिन चाहेको सन्दर्भ पनि रोचक छ । (पृष्ठ ६१)
दोस्रो खण्डको अन्त्यमा आइपुग्दा लेखकको स्वमूल्याङ्कनमा आफ्नै सोचाइको निर्णयबाट अनिश्चितताको भुमरीमा झ्वाम्म हामफाल्न गएकाले अनेकानेक हन्डरहरूको सामना गर्नुपरेको तर सकारात्मक पक्षमा हेर्दा आफूले गरेको निर्णयबाट प्राप्त गरेका अनेक अनुभवका उपलब्धि पनि महत्त्वपूर्ण नै रहेको बुझिन्छ । वास्तवमै यात्राले सुखद र दुःखद दुवै कुराको अनुभव र अनुभूति दिन्छ । यी अनुभव र अनुभूति नै जीवनलाई आनन्ददायी बनाउने आधार हुन् । लेखकले पनि यस्तै अनुभव र अनुभूति सँगालेका छन् काठमाडौँ–पेरिस–काठमाडौँ बस र रेल यात्राबाट ।
तेस्रो खण्डमा एयर फ्रान्ससँगको आबद्धताका विषयमा सविस्तार लेखेका छन् । यस क्रममा धुइँधुइँती काम खोज्नुपरेको र काम खोज्दै दिल्लीसम्म पुगेको घटना विवरण छन् । दिल्लीस्थित एयर फ्रान्सको अफिसमा कार्यरत जाँ क्लाउड रुयरको सुझावअनुसार काठमाडौँस्थित एयर फ्रान्सको अफिसका मिस्टर रिफेलको सहयोगमा त्यहाँ काम पाउन सफल हुन्छन् । पछि तलबी जागिर छाडेर जनरल सेल्स एजेन्ट (जिएसए) को अफिस आफैँ चलाउँछन् । त्यसपछि उनलाई आवश्यकतानुसार विदेश घुम्ने स्वतन्त्रता र पर्याप्त अवसर पनि मिल्छ । उनका लागि काठमाडौँ–पेरिस–काठमाडौँ पानीपँधेरोजस्तै हुन थाल्छ । यस खण्डमा उनको लेखन अलिकति विशृङ्खल/विसङ्गत बन्न पुगेको भान हुन्छ । घटनाहरू अगाडि–पछाडि परेका छन् ।
चौथो खण्डमा उनको विवाह, प्रेम र परिवारका बारेमा सविस्तार वर्णन गरिएको छ । विशेषगरी अमेरिकी नागरिक क्याथीसँगको भेट, उनीसँगको प्रेमसम्बन्ध र सन् १९७६ मार्च ८ मा विवाह गरेको सन्दर्भ यस खण्डमा छन् । क्याथीलाई नेपाली भाषा सिकाउने गुरु खगेन्द्र सङ्ग्रौलालाई पनि सम्झेका छन् यहाँ । यही खण्डमा अमेरिकनसँग उभिँदा हीनताबोध गर्ने उनको बानीले बिस्तारै उनीहरूसँग अँध्यारो वातावरणको विकास हुँदै गएको सन्दर्भ पनि छन् । जसका कारण उनी अमेरिकी समाजबाट टाढिँदै जान्छन् । फ्रेन्च उद्योग र व्यापारिक आगन्तुकहरूसँगको व्यस्तताले श्रीमती क्याथीसँग पनि उनको बाक्लो र पुरानो घुलमिल पातलिँदै जान्छ । सम्बन्धमै चिसोपन आउँछ । अन्ततः उनीहरूले कानुनीरूपमै छुट्टिने सहमति गर्छन् तर छुट्टिने कानुनी प्रक्रिया पूरा नहुँदै उनीहरूबिच फेरि नियमित सम्पर्क, प्रेम र आत्मीयता अविच्छिन्नरूपमा जोडिन थाल्दछ । अन्ततः उनीहरू फेरि एक हुन्छन् ।
यस खण्डमा उनको दोस्रो प्रेमसम्बन्धको बारेमा पनि वर्णन गरिएको छ । शेरमाथान सिन्धुपाल्चोकको गुम्बाका मूल लामा काल्साङ लामा र कार्चुङ्मा लामाकी कान्छी छोरी दिकी लामासँगको सम्बन्धका बारेमा यहाँ उल्लेख गरिएको छ । यद्यपि दोस्रो प्रेमसम्बन्धका बारेमा त्यति विस्तारमा लेखिएको छैन । दोस्रो प्रेमसम्बन्धकै कारण पहिलो श्रीमती क्याथीले बिचबाटामै चड्कन हानेको प्रसङ्ग खुलेर लेखिएको छ । साथै अन्तःसांस्कृतिक भिन्नताले के–कस्ता असहज परिस्थिति सिर्जना हुन्छन् भनेर विभिन्न घटनासहित वर्णन गरिएको छ । यसै खण्डमा समेटिएको आफूले ठूलो इच्छा, दुःख र मिहिनेतले बनाएको मिराभाल घर बेच्नुपर्दाको प्रसङ्ग निकै मार्मिक लाग्दछ ।
पाँचौँ खण्डमा व्यावसायिक दौडधुपका बारेमा वर्णन गरिएको छ । जसमा मिराबेल रिसोर्ट होटल निर्माण गर्न उनले गरेको दुःख र मिहिनेतको सविस्तार वर्णन छ । यद्यपि माओवादी युद्ध चर्किएपछि पर्यटन व्यवसाय ओरालो लागेसँगै उनको होटल व्यवसाय पनि खस्किन थाल्दछ । अन्ततः बैङ्कको ऋण तिर्ने तनावले गर्दा उनी होटल बेच्ने निर्णयमा पुग्छन् । होटल बेच्ने सिलसिलामा ग्राहकको खोजी र आवश्यक प्रक्रियाका लागि उनी भियतनामसम्म पुग्छन्, तर होटल बेच्न असफल हुन्छन् । अन्तमा धुलिखेलकै साहू रामप्रसाद श्रेष्ठ र भोला थापासमेतको समूहलाई होटल बेच्न सफल हुन्छन् ।
यसै खण्डमा उनको अन्य प्रयासहरू र तिनले मारेका फड्काहरूका बारेमा पनि सविस्तार वर्णन गरिएको छ । उनको धानकोट–भीमफेदी–हेटौडा केबलकार निर्माण गर्ने प्रयास असफल भएका दुःखद प्रसङ्गदेखि चन्द्रागिरी केबलकारमा उनले पाएको धोकाका प्रसङ्ग पनि यहाँ छन् ।
छैटौँ खण्डमा फ्रान्ससँगका अटुट सम्बन्धका बारेमा सविस्तार वर्णन गरिएको छ । नेपालका विभिन्न विशिष्ट व्यक्तित्वहरूसँग फ्रान्समा बिताएका महत्त्वपूर्ण क्षणहरूको सम्झना गरिएको छ । यसैगरी नेपाल–फ्रान्स उद्योग वाणिज्य प्रवर्द्धनका लागि गरिएका प्रयत्नहरूको पनि सविस्तार वर्णन गरिएको छ । नेपाल–फ्रान्स उद्योग वाणिज्य प्रवर्द्धन तथा दुई देशबिचको दौत्य सम्बन्ध विस्तारमा पुऱ्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै फ्रान्स सरकारले उनलाई सन् २०१८ मा फ्रान्सकै सर्वोच्च तहको विभूषणले विभूषित गरेको प्रसङ्ग पनि यसै खण्डमा छ ।
सातौँ अर्थात् अन्तिम खण्डमा ‘विविध उत्कर्षहरू’ शीर्षकमा उनको यात्राको बौलठ्ठीपनदेखि नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँगको विदेशयात्रा, चोरी र साङ्घातिक हमलाका घटना, जीवनका अविस्मरणीय क्षणहरू, साथीभाइसँगका हाँसोलाग्दा घटना, अझै सिक्न नसकेका पाठहरूलगायतका प्रसङ्गहरूलाई सुरुचिपूर्ण ढङ्गले वर्णन गरिएको छ ।
यो पुस्तक पढिसकेपछि पाठक एउटा कुरामा सोचमग्न हुन सक्छन् । त्यो हो काठमाडौँ–पेरिस–काठमाडौँ बस र रेल यात्रा गरेको पचास वर्षपछि यात्राको सविस्तार वर्णन कसरी गर्नसके ? मिति, समय, स्थान, व्यक्ति र घटनाहरू दुरुस्तै कसरी सम्झन सके ? डायरीमै लेखिराखेको भए पनि यति धेरै वर्षसम्म सुरक्षित राख्न सक्नुमा लेखकको व्यवस्थापनकुशलता झल्किन्छ । यति सम्झनाकै भरमा लेखिएको भए लखेकको सम्झनाशक्ति अद्भूत लाग्दछ । यस्तो शक्ति थोरै व्यक्तिमा हुन्छ । लेखक थोरैमध्येका एक हुन पुगेका छन् । यात्रावर्णनले पाठकलाई समेत यात्रामै सहभागी भएको अनुभूति गराउन सक्नु लेखकको खुबीको रूपमा रहेको छ । सान्दर्भिक तस्बिरहरूलाई पर्याप्तमात्रामा यथास्थानमा समावेश गरिएकाले लेखकको जीवनको विभिन्न कालखण्डलाई ती तस्बिरहरूबाट देख्न र बुझ्न सकिन्छ ।
यो पुस्तक एउटा साहसी र आँटिलो नेपाली केटाको साहसिक यात्राको रोचक वृतान्त हो । अनि लक्ष्यप्रति समर्पित एउटा मिहिनेती, आत्मविश्वासी र धैर्यवान् व्यवसायीको आत्मकथा पनि हो । वास्तवमै साहस, आँट र आत्मविश्वासले डोऱ्याएको एउटा जिन्दगीको रोचक कथाको सङ्ग्रह हो यो पुस्तक । साहस र आँट सँगसँगै आत्मविश्वास पनि भए असम्भव केही छैन । चाहेको पूरा गर्न वा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश र प्रेरणा यो पुस्तकले दिन्छ । लेखकको अनुभवले भन्छ, ‘एउटा व्यक्तिले आफ्नो जुनसुकै लक्ष्यका लागि सर्वप्रथम प्रण र साहस बटुल्नुपर्ने रहेछ । त्यसपछि निडर भई अघि बढ्नुपर्ने रहेछ । जाँदाजाँदै, हिँड्दाहिँड्दै अनुशासन, सभ्यता र धैर्यलाई निरन्तर साथमा राख्नुपर्ने रहेछ ।’ आखिर जीवनमा सफल व्यक्ति बन्नका लागि आवश्यक गुण यी नै त हुन् । श्याममोहन श्रेष्ठको यो यात्रावृत्तान्त र आत्मकथाबाट नयाँ पुस्ताले यथेष्ट प्रेरणा पाउन सक्नेछन् । कुशल सम्पादनको अभावमा देखिएका केही कमजोरीलाई बिर्सेर भन्नुपर्दा यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।