नेपाली साहित्यमा कवि, गीतकार, निबन्धकार, खोजमूलक लेखक, समीक्षक एवं बालसाहित्यकारका रूपमा परिचित कृष्णप्रसाद पराजुली नेपाली बालसाहित्यका फाँटमा ‘नानीका कवि’ भनेर विशेष चिनिएका छन् । नेपाली भाषा, व्याकरण, लोकसाहित्य एवं गीत, मुक्तक, कविता, जीवनी, कथा तथा बालसाहित्यतर्फ बालकविता, बालगीत, बालगीतिकाव्य र बालकथा विधामा उनका दर्जनौँ कृतिहरू प्रकाशित भइसकेका छन् । ‘राम्रो रचना- मीठो नेपाली’  नामक भाषा–व्याकरणको कृति लेखेर लोकप्रियता हासिल गरेका पराजुलीको भाषा सुरम्य, सुललित र अत्यन्तै रोचक छ । यिनै कुशल भाषाशिल्पी पराजुलीका बालसाहित्यतर्फ ‘रमाइला नानी’ भाग–१, ‘रमाइला नानी’ भाग–२, ‘रमाइला नानी’ भाग– ३, ‘चरी आयो’, ‘सिर्जनाका मुना’ लगायतका बालकवितासङ्ग्रह तथा ‘जूनतारा’ बालगीतिकाव्य र ‘सुनौला तीन कुरा’, ‘चार चङेरी’, ‘लुकामारी’, ‘सुनकेस्रा’, ‘हिमाली डाँफे’, ‘मेरो मुरली’ आदि बालकथासङ्ग्रह प्रकाशित छन् । सङ्ख्यात्मक हिसाबले प्रशस्त र कलात्मक एवं गुणात्मक हिसाबले उच्चकोटिका साहित्य रचना गर्ने कवि पराजुलीले मीठो, सजिलो र रसिलो भाषामा आफ्नो लेखनको परिचय बनाएका छन् । नेपाली बालसाहित्यको उत्थान र समुन्नयनमा कृष्णप्रसाद पराजुलीको उल्लेखनीय योगदान रहेको छ । उनका बालसाहित्यिक रचनामा बालबालिकाहरूलाई चरित्रवान्, साहसी, कर्मठ र अनुशासित बनाउनका लागि प्रेरणा दिइएको पाइन्छ ।

कवि कृष्णप्रसाद पराजुली

यहाँ यिनै बालसाहित्यिक व्यक्तित्व कृष्णप्रसाद पराजुलीका ‘रमाइला नानी’ बालकवितासङ्ग्रहका भाग–१, २ र ३ का एक–एक वटा प्रतिनिधि बालकविताको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

१. देख्नाकी रानी

कवि कृष्णप्रसाद पराजुलीद्वारा रचित ‘रमाइला नानी–१’ मा सङ्कलित ‘देख्नाकी रानी’ बालकविता ६ वर्षदेखि बाह्र वर्षसम्मका उमेरका बालबालिकाहरूका लागि उपयुक्त हुने भाषामा लेखिएको बालकविता हो । नेपाली लोकछन्दमा आधारित यस बालगीतमा ६–६ पङ्क्तिका २ श्लोक रहेका छन् । यसका प्रत्येक हरफमा ५ (३+२) अक्षरको संरचना रहेको देखिन्छ । यस कवितामा दुईजना बालिकाको तुलनात्मक परिचय र स्वभावलाई कविले प्रस्तुत गरेका छन् ।

दुईमध्ये एउटी नानी देख्नाकी रानी छे । उसलाई कसैको मतलब छैन । कसैलाई नहेर्ने कारणले ऊ दृष्टिविहीनजस्तै छे । अन्न भर्ने र पानी ल्याउने जाँगर उसमा छैन तर अर्की सानी नानीचाहिँ ऊजस्ती छैन, ज्ञानी छे । उसमा काम गर्ने राम्रो बानी छ । त्यसैले ऊ मायाकी खानीजस्तै भएकी छे ।

राम्रो काम गरे माया पाइन्छ भन्ने नैतिक सन्देशलाई नाटकीय हिसाबले प्रक्षेपण गरिएको यस कविताले जाँगरिलो बन्नुपर्छ, अल्छी हुनुहुँदैन भन्ने अप्रत्यक्ष सल्लाह दिएको छ । बाह्य चालढाल राम्रो देखिएर मात्र हुँदैन आन्तरिक स्वभाव पनि उत्तिकै राम्रो हुनुपर्छ । काम गर्दैमा सानो भइँदैन, बरु सबैको प्रिय भइन्छ । अरूलाई मान्छे नगन्ने र राम्रो दृष्टिले नहेर्नेचाहिँ आँखा भएर पनि नभएजस्तै हुन्छन् भन्ने भाव यस कविताले बोकेको छ । दुवै श्लोकका पहिलो, दोस्रो, चौथो र छैटौँमा अन्त्यानुप्रास मिलेको यस कविताको संरचना झट्ट हेर्दा गजलको जस्तो देखिन्छ । जस्तैः

अर्की छ सानी

तैपनि ज्ञानी

गर्दछे काम

राम्रो छ बानी

बनेकी छ ऊ

मायाकी खानी ।

२. सवाई-

रमेशचन्द्र घिमिरे

कवि कृष्णप्रसाद पराजुलीद्वारा रचित ‘रमाइला नानी–२’ मा सङ्कलित ‘सवाई’ बालकविता नेपाली लोकछन्दमा आधारित सवाई लोकलयमा रचित बाल लोककविता हो । २ पङ्क्तिको १ श्लोक मानेर हेर्दा यसमा ११ श्लोक र २२ हरफको संरचना रहेको देखिन्छ । नेपाली ग्रामीण लोकजीवनमा प्रचलित लोकाख्यानको पुनःकथन गराइएको यस कवितामा दुई छोरी र बाबुबिचको पारिवारिक सेरोफेरोलाई मुख्य विषयवस्तु बनाइएको छ । कविले यस कवितामा भाइबहिनीका दाजु बनेर उनीहरूलाई घामपानी माग्नेको सवाई सुनाएका छन् । कथा यस्तो छ-

एक जना बूढाका दुइटी छोरी थिए । बूढाले विवाहयोग्य उमेर भएपछि दुवै छोरीको बिहे गराइदिन्छन् । जेठीको बिहे फूलमा पानी हाल्ने मालीसँग र कान्छीको चाहिँ भाँडा बनाउने कुमालेसँग हुन्छ । आफ्ना छोरीहरूलाई भेट्न बूढा दुवैकहाँ जान्छन् । पहिले जेठीकहाँ गएर बूढाले उसको मर्का बुझ्छन् । पानी नपरेर आफूलाई समस्या परेको बताउँदै जेठी छोरीले पानी पार्ने पूजा गर्न बाबुसँग अनुरोध गर्छे । बूढा त्यसपछि कान्छी छोरीकहाँ पुगेर उसको पनि समस्या बुझ्न खोज्छन् । कान्छी छोरीले घाम नलागेर भाँडा सुक्न नपाएको दुःख पोख्तै बाबुसँग घाम लाग्ने पूजा गर्नका लागि बिन्ती बिसाउँछे । एउटाको समस्या पूरा गर्न खोज्दा अर्कोलाई असर पर्ने कुराले बूढा द्विविधामा पर्छन् र दिक्क हुँदै बाटाभरि यस्तो गीत गुनगुनाउँछन्-

जेठी छोरी माग्छे पानी, कान्छी माग्छे घाम

म एकलो बूढो हरे ! कतातिर जाम !

नेपाली लोक–उखान र लोककथालाई यस बालकवितामा पुनर्जीवन दिइएको छ भने हरेक मान्छेसँग आफ्नै किसिमका समस्याहरू विद्यमान रहेका हुन्छन् भन्ने कुराको पुष्टि पनि यसले गरेको छ । पूजा गर्दैमा घाम लाग्ने या पानी पर्ने प्रसङ्गले सामाजिक अन्धविश्वासको चित्र पनि यसमा झल्किएको पाइन्छ । अन्त्यानुप्रासको छटाले गर्दा यस कविताले लयात्मक संयोजन प्राप्त गरेको छ भने कवितासँगै कथाको समेत रसास्वादन हुने कारणले यो अझ श्रुतिमाधुर्य हुन पुगेको छ ।

३. चमचम खुकुरी

कवि कृष्णप्रसाद पराजुलीद्वारा रचित ‘रमाइला नानी–३’ मा सङ्कलित ‘चमचम खुकुरी’ कविता देशभक्तिमूलक बालकविता हो । यस कवितामा क्षणिक स्वार्थबाट माथि उठेर राष्ट्रका लागि अमूल्य योगदान गर्ने बहादुर नेपालीको अदम्य साहस र वीरताको महिमागान गाइएको छ । नेपाली लोकलयमा आधारित सवाई छन्दका ५ श्लोक र २० हरफमा संरचित यस कविताको भावार्थ यसप्रकार रहेको छ-

खुकुरीलाई चमचम पार्दै छमछम नाच्ने नेपाली वीरहरूको आँट निकै प्रशंसायोग्य थियो । विशाल नेपालमाथि अङ्ग्रेज शक्तिहरू कुदृष्टि राख्तै थिए । देशको अस्तित्व र गौरवलाई बचाउन नेपालीले बहादुरीका साथ हात–हातमा खुकुरी लिएर उनीहरूसँग लड्न कस्सिए । भोकनिद्रा नभनी रात–दिन लड्न कस्सिने नेपाली वीर सैनिकहरू देखेर वैरीको सातोपुत्लो गयो । नेपाली योद्धाहरूको नेतृत्व गर्ने सेनापतिलाई हात्ती दिने, मान बढाउने जस्ता प्रलोभनका पत्रलाई सेनापतिले थुकेर गर्जिए । ती सेनापति (अमरसिंह) ले आफू बाघको डमरु भएको र सिनो खाने कुकुर नभएको गर्वयुक्त एवं दर्बिलो भनाइ राख्तै देशको अस्तित्व मेटिने गरी पाएको प्रलोभनमा लिप्त भएर नेपालीले शिर नझुकाउने बरु देशले मागेको खण्डमा रगत चढाउने राष्ट्रप्रेमी अभिव्यक्ति प्रस्तुत गरेको सन्दर्भ यसमा व्यक्त भएको छ ।

नेपाली वीरताको परिचय दिइएको यस कवितामा त्यतिखेरका नेपालीमा भएको स्वाभिमान, आत्मसम्मान, राष्ट्रप्रेम र जोसिलो उत्साहको कदर गरिएको छ । अन्त्यानुप्रास तथा आन्तरिक अनुप्रासको समेत योजना रहेको यस कविताले सेनापतिको नाम उल्लेख नगरे पनि अमरसिंहको स्वभाव र उद्गारको परिचय यसरी दिएको छ-

सिनु खाने कुकुर हैन काखी च्यापी

बाघको यो डमरु हिँड्छ शिर थापी ।

निष्कर्ष-

कृष्णप्रसाद पराजुली बालजगत्लाई रमाइलो खुराक प्रदान गर्ने खालको भाव र विषयवस्तुको चयन गर्ने कुशल शिल्पी हुन् । बाल–अनुभूतिलाई सरल भाषा, रोचक ढङ्ग एवं गेयात्मक शैलीमा प्रस्तुत गरी बाल–मनोविज्ञान बुझ्नु र उनीहरूको मानसिकता खोतल्नु यिनको वैशिष्ट्य हो । ‘रमाइलो नानी’का तीनवटै भागमा यिनले बालबालिकालाई मनोरञ्जक खुराक प्रदान गर्ने तथा नैतिक सल्लाह दिने खालका कविताहरू लेखेका छन् । बालबालिकालाई आदर्शवान् तथा चरित्रवान् बन्न प्रेरित गर्नुका साथै राष्ट्रिय महत्त्व र प्राकृतिक सौन्दर्यको तस्बिर उतार्न पनि पराजुली खप्पिस देखिन्छन् । उनको ‘रमाइला नानी’ बालकवितासङ्ग्रहका विभिन्न भागबाट सङ्कलित बालकविताहरूमध्ये ‘देख्नाकी रानी’ मा राम्रो कामको सिको गर्ने प्रेरणा प्रदान गरिएको छ भने लोकाख्यानको पुनःसिर्जना गरिएको ‘सवाई’ कवितामा पारिवारिक दायित्वको महत्त्वबोध गराइएको छ र ‘चमचम खुकुरी’ मा नेपाली स्वाभिमान, आत्मगौरव र राष्ट्रभक्तिको मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

क्याम्पस प्रमुख

ईशानेश्वर क्याम्पस, भोर्लेटार लमजुङ