कवि नमिता दवाडीज्यूद्वारा लिखित पहिलो कवितासङ्ग्रह “जीवन नदीको किनारै किनार” मेरो हातमा परेको करिब ८ दिन भयो । म बिदामा स्वदेश गएको (परदेश फर्कन लागेको समयमा) उक्त कवितासङ्ग्रह प्रिय मन आँचलकुमार शर्मा र दीक्षा भण्डारीज्यूहरूमार्फत जमलस्थित नाचघरमा सारथि साहित्य परिवारको कार्यक्रममा प्राप्त गरेको हुँ ।
कवितासङ्ग्रहले चौतर्फी चर्चा बटुलिरहेको अवस्थामा हतारमा २/४ थान कविता नेपाल यातायातबाट चक्रपथसम्म यात्रा गर्दा यात्राकै क्रममा पढेँ, उसो त कवि नमिता दवाडीज्यूका कविताहरू सामाजिक सञ्जाल र अनलाइन समाचारका माध्यमबाट पढिरहेकै पनि हो तर केही न्यून पढिएका कविता र धेरै नूतन कविताहरू समावेश गरिएको उक्त कवितासङ्ग्रहलाई बिदाको दिन पारेर पढिसकेँ।
कवितासङ्ग्रह पढ्दै गर्दादेखि पढिसक्दासम्म एउटा प्रश्नले मनमा जरो गाडेर बसेको थियो/छ। विषयसूचीहरूमा कविताको शीर्षकसँगै पृष्ठ नं. किन नलेखिएको होला ? ‘आमा नबेच’ कविता पृष्ठ नं १४६-१४८ मा छ भनेर कसरी
थाह पाउने होला ?
कविता सरसर्ती पढ्नु र पढेर मनन गर्नु वा ग्रहण गर्नुमा फरक पक्कै पनि हुन्छ नै, पढ्दै गएँ केही कविताहरूले मन तरङ्गीत गरायो भने केही कविताहरूले मष्तिष्क तरङ्गीत बनायो।
“पहाडै पहाडले घेरिएको
खोला नदीले बेरिएको
साँच्चै रमाइलो छ मेरो गाँउ
मेरो गर्व म जन्मिएको ठाउँ।”
‘विद्यालय जीवनमा ११ वर्षको उमेर लेखिएको माथिको कविता नै जीवनको पहिलो कविता र कविता यात्राको पहिलो पाइला हो’ भनेर उक्त सङ्ग्रहमा प्रस्ट लेखिएको पाइन्छ।
बुबाले मीठो र स्पष्ट आवाजमा भाका हालेर वाचन गर्ने कविताहरू, श्लोकहरू र कोकिल कण्ठ आवाजमा आमाले वाचन गर्नुहुने गीति कविताहरूले पनि साहित्य लेखन वा भनौँ कविता लेखनमा उत्प्रेरित गरेकै हो भन्ने प्रस्ट बुझ्न सकिन्छ ।
एक छोरा एक छोरी र पतिसहित प्रवासस्थित न्युजिल्यान्डलाई कर्मभूमि बनाउँदै आउनुभएको कवि दवाडी नेपाली भाषा,नेपाली संस्कृति र नेपाली साहित्यलाई उत्तिकै माया गर्नुहुन्छ।
७६ वटा कविताहरूको फूललाई जगत् र जीवनको दर्बिलो धागोले उनेर तयार गरिएको एक सुन्दर मालाको

श्री भवानी नेपाल (युएई)
स्वरूप हो “जीवन नदीको किनारै किनार।”
स्वास्नीबाट शुभारम्भ गरी प्रेमदिवसमा समापन गरिएको यस सङ्ग्रहमा ‘अलबिदा! साथी’ ले जति भावुक बनाउँछ । कविताहरू पढ्दै जाँदा ‘हाँसो दिवस’ले उक्त भावुकतालाई केही हदसम्म कम गरेको महसुस मैले यसरी गरेँ,
“अजिब मान्छे म!
अजिबकै हाँसो हाँसेछु
ओठ कानसम्म पुगेनन्
आवाज के कस्तो निस्कियो थाहा भएन
यति थाहा पाएँ
जात्रा नसकिदैँ
दाँतहरूको अविच्छिन्न हमलामा
ओठहरू खसेछन्
रगतका धारा र मासुका चोक्टा बनेर।
हा….हा….हा….।
‘आऊ ! भोग गरेर जाऊ ।’ ‘वीर्य’ र ‘बिक्रीमा म’ जस्ता कविताहरूले उच्च स्थान ओगट्नुको साथै साहित्यको गरिमा बढेको छ भन्न मलाई कुनै अप्ठ्यारो लागेन।
“भोकले छचल्किएको मेरो पेटमाथि
सरक्क चढेर बलात्कार गरेको हो
अभावले मेरो।”
‘आऊ! भोग गरेर जाऊ।’ कविताको यो अंशले भाव मात्र बोकेको वा पोखेको छैन एउटा सिङ्गो जीवन बोलेको छ गरिबीको जीवन, निम्नआयको जीवन, आँसुको भेलमा पौडिने पौडीबाजहरूको जीवन बोलेको छ।
कविताहरू पढ्दै जाँदा हरेक कविताहरूमा तपाईँ हामी पात्र बनौँ र थाहा लाग्नेछ कवि नमिता दवाडीज्यूको कविताहरूको मर्म र धर्म।
त्यसो त प्रकृति लेखियो, प्रेम लेखियो,आमा लेखियो, बा लेखियो, दु:ख लेखियो,सुख लेखियो, नारी वेदना लेखियो,पुरुष अतिवाद लेखियो तर ‘देश’ किन लेखिएन? भन्ने प्रश्न मानसपटलमा आउन सक्छ तर, कविता “बिक्रीमा म” पृष्ठ नं ८९ मा पुग्नुभयो र पढ्नुभयो भने सिङ्गो देश पाउनुहुनेछ।
“नछलोस् दक्षिणी भूत प्रेतले सोचेर हालेको
खुकुरीको सिरानीसँगै
मैले ओडेको लिपुलेकको कम्मल
अँगालेको कालापानी र
सुतेको लिम्पियाधुरासम्मको
मोल-मोलाई भएपछि
यो सुकुम्बासी ज्यान बिक्रीमा छ!”
केही स-साना थाहा नहुने कमजोरीहरू हुन्छन् नै,कमजोरी हुन्छन् र त सुधार्ने मौका पाइन्छ।
विषयसूचीमा शीर्षक “बिक्रीमा म” दिइएको कविता पृष्ठ नं ८९ मा भने शीर्षक “बिक्रीमा” मात्र रहेको पाएँ।
“बर्सातको पानीमा भिजेर पनि ओभानो तिमी” विषयसूचीमा रहेपनि पृष्ठ नं ६९ मा “भिजेर पनि ओभानो तिमी” शीर्षक पाइयो। “प्रिय धुन्धुकारी” र “धुन्धुकारी” कविताको शीर्षकले खासै फरक नपरेपनि यसो नहुँदो हो त थप सौन्दर्य हुने मैले अनुमान लगाएको छु ।
थप उत्सुकताका साथ पुस्तकका पत्रहरू पल्टाउँदै जान्छु पढ्दै जान्छु, पल्टाउँदै जान्छु पढ्दै जान्छु र टक्क अडिन्छु पृष्ठ नं ७३ मा रहेको कविता “लेखेर के हुन्छ ?” र सोच्छु ‘अँ साँच्चै ! लेखेर के हुन्छ ???’
कौतुहलताका साथ पढ्न सुरु गर्छु, श्वास रोकिएझैँ लाग्छ र यहाँ अड्किन्छु;
“स्वीकार छ यो उजुरीनामा
हायल-कायल छु मेरा कमजोरीहरूमा
र पनि,के गरुँ?
मुटुमै लिएर हिँडेको मेरो देश
आमाको फाटेको मन
बाका चिरिएका कुर्कुच्चा
प्रियसीको घर्केदो यौवन
दुख्छ गहिरोसँग मेरो छातीमा
बिन्ती कविता!
मलाई लेख्न देऊ
मेरो दुखेको देश
मेरा दुखेका स्मृतिहरू।”
कविताहरूलाई एकैछिन विश्राम गरेँ र हत्केलामा भूगोलको नक्सालाई राखेर ओल्टाइपल्टाइ गरेझैँ “जीवन नदीको किनारै किनार” पुस्तकको आवरणलाई ओल्टाइपल्टाइ गरेँ ।
कारण, मैले पुस्तकको कति रुपैयाँ दिऊँ? भन्ने प्रश्नमा आँचलकुमार शर्माज्यूको मौनता र शिर दायाँबायाँ हल्लाउनुले प्रमाणित भयो ‘मैले यो पुस्तक उपहार पाएँ’ तर पनि मनमा कता कता लाग्यो हामीले सिर्जना गरिएका रचनाहरूको मूल्य र मूल्याङ्कन त पक्कै हुनुपर्छ ।
साबिकको पुस्तक पठन समयभन्दा आजको समय अलिक आँखा दुखेको महसुस भयो र कारण खोज्दै जाँदा अन्य पुस्तकहरूको तुलनामा यस पुस्तकमा अक्षरहरू स-साना भएको प्रमाण फेला पारेँ र मनमनै भनेँ “म यो उमेरको मान्छेलाई पढ्न गाह्रो छ भने वृद्ध बाआमाहरूले कसरी पढ्न सक्नुहोला?” केही पृष्ठ थप गरेर पुस्तकको लम्बाइलाई थोरै बढाएर प्रकाशित गरेको भए सुनमा सुगन्ध हुने थियो कि, भन्दै एक कप चिसो पानी घटघट पिएँ र पुनः पुस्तकका पत्रहरू पल्टाउन थालेँ।
कवि दवाडीज्यूको कविताहरू पढिरहँदा जो कोही पाठकले आफ्नो अतीतको स्मृतिको पाना पल्टिएको अनुभूत गर्नुहुनेछ । कविता पढ्ने क्रममा नै विगत वा वर्तमानको प्रेमिल पलमा आफूलाई पाउनुहुनेछ । कवि गोरखाबाट प्रतिनिधित्व गर्नुहुन्छ तर लामो समयदेखि प्रवासमा रहे पनि कवितामा छिटपुट कहीँकतै १ प्रतिशत प्रवासको गन्ध आए पनि ९९ प्रतिशत मातृभूमिको सुगन्ध आउनेछ।
सबै कविताहरू उत्तिकै शक्तिशाली र प्रभावशाली भहेको पाएँ।
उसो त ‘म’ न कुनै समालोचक नै हुँ न त समीक्षक नै ।
मनमा लागेका कुराहरू र सङ्ग्रह पढ्दै गर्दा गरेको अनुभवहरूलाई आधार बनाएर लेख्न खोजेको एउटा अपुष्ट लेख लेख्न खोज्ने लेखक मात्र हुँ।
“जीवन नदीको किनारै किनार” हातमा छ र पढ्न छुटाउनु भएको छ भने पढ्नै पर्ने कविता हो “वीर्य।” (पृष्ठ नं ५२-५३)
वीर्यको अर्थ वीरता हुन्छ तिम्रो समाजमा
तिमी बिउ जमाउन सक्छौ, सृष्टि थमाउन सक्छौ
र पुरुष मानिएका छौ।
हे वीर्यवान्, तिमी दाता मानिन्छौ
खुसी-खुसी शिरमै ठाउँ दिएको छ समाजले
योसँगै चुनौती पनि छ
तिम्रो वीरता टिक्नुपर्छ कम्तीमा एक युग
खस्नु हुँदैन तिम्रा वीर्यहरूले अनाम सडक
गल्ली र सहरहरूमा, गलत समयमा
धान्न सक्नुपर्छ तिमीले
असङ्ख्य वीर्य तिमीभित्र
नत्र हाँस्छ दुनियाँ
तिम्रो पुरूषत्वको लहरे खोकीमा।
थाहा छ, वीर्यपातका लागि तिमी
मात्तिनुपर्छ, तात्तिनुपर्छ, जोसिनुपर्छ
ब्रह्माण्डकै बलियो तिमी बन्नुपर्छ
यसमा कुनै गुन्जाइस छैन मेरो
एउटै जिकिर छ।
समागमको उत्कर्षमा गहिरो श्वासमा
अत्यन्त आवेगमा जप्नू
ॐ नम: शिवाय
ॐ शान्ति, शान्ति, शान्ति !!!
मलाई जन्मिनु छ बुद्ध बनेर, शिव बनेर
शान्ति र सिर्जनाको सहअस्तित्व बोकेर
यति गर्न सक्दैनौ भने
अपिल गर्छु म वीर्य!
चिबुकमै मोक्ष चाहन्छु
देख्नु छैन मलाई तिम्रो अनुहार!
टेक्नु छैन यो कालो माटाको देशमा!!!
अन्त्यमा, कवितासङ्ग्रह अब्बल छ, सबै कविताहरू उत्कृष्ट छन्। विम्ब प्रतीकको मीठो समायोजन गरिएको छ कविताहरूमा, कवि नमिता दवाडीज्यूको कविताहरूलाई मेरो यति सानो समीक्षाजस्तो लेखमा मात्र पढेर बुझिँदैन । विविध विषयवस्तुलाई समेटेर लेखिएको यस कवितासङ्ग्रह “जीवन नदीको किनारै किनार” को बारेमा धेरै समीक्षा लेख्नुपर्ने हुन्छ र पक्कै लेखिनेछन् । मुकुन्द प्रयासज्यूको आवरण कलाले जो कोहीलाई पनि लोभ्याउँछ । साहित्यपोस्ट समूह धन्यवादको पात्र हुनुहुन्छ नै।
मैले लेखेको यो समीक्षाजस्तो लेखले कवितासङ्ग्रहका बारे कत्तिको न्याय अन्याय गऱ्यो भन्ने निर्णयको जिम्मा स्वयं कवि नमिता दवाडीज्यू लगायत तपाईँ तमाम साहित्यिक मनमुटुहरूलाई हस्तान्तरण गर्दै “जीवन नदीको किनारै किनार”ले काव्यिक गगन चुमोस्, क्षितिज चुमोस्, सबैको मन मस्तिष्कमा बस्न सफल होस् शुभकामना छ!!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

