आज मलाई आफैंप्रति अलिकति सन्देह छ, अर्थात् आफैंप्रति विश्वास केही डगे जस्तो अनुभूति हुँदैछ । त्यसको जवाफदेही विश्वलाई हाहाकार गराउने उही महाव्याधि हुनुपर्ने छ । उसैले गर्दा ठ्याक्कै एकवर्ष भएछ कलम कापीसँग मेरो भेट नभएको । यद्यपि सामान्य दैनिकी जस्तो केही त लेखिरहन्थेँ । पुस्तक समीक्षा तथा अन्य लेख रचना भने पटक्कै गरेको होइन । यसरी रोकिनु कोरोनाको भयले थिएन । तथापि कारक चाहिँ उही थियो । मेरो पठन कर्म भने निरन्तर चल्दै रह्यो । हो त्यसैबखत गोविन्द सरबाट सुनेको थिएँ, केदार संकेतको अफगानी रणमैदान प्रकाशित हुँदैछ रे ।
लेख्नु चाहिँ मेरो लागि विरानो भइसकेछ । यस्तो स्थितिमा लेखिएको प्रस्तुत आलेख मेरो लागि त्यसैले इतिहास बन्ने छ ।
ती दिनहरूमा पठनभन्दा लेखनमा रमाउने मेरो बानी आज ठीक विपरीत भएछ । सल्ट्याउन अर्थात् पुरानो स्वभावलाई निरन्तरता दिने चेष्टामा केदार संकेतको उही अफगानी रणमैदानमा मेरो पहिलो दृष्टि परेको हुँदा, मलाई यो बडो विशेष लागिरहेको छ ।
अफगानी रणमैदान यो एउटा युद्ध साहित्य हो । विगत तीन दशकदेखि युद्धरत ध्वंसात्मक भूमिको भयानक कथा । एउटा नेपाली नागरिकले पराई देशको द्वन्द्व आतङ्क भोगेर आफ्नो भाषामा व्यक्त गरिएको हृदयस्पर्शी वाङ्मय । अफगानिस्तानको काबुलमा कार्यरत लेखक (योद्धा) स्वयं नै कृतिका द्रष्टा र प्रमुख पात्र– दुवै रहेका छन् । उनकै केन्द्रीयतामा विषयवस्तुहरू वर्णनात्मक, विश्लेषणात्मक र विवरणात्मक तरिकाले आएका छन् । त्यस्तै आत्मानुभूतिको प्रकटीकरण सार्थक लाग्छ । धार्मिक र जातीय विषयलाई प्रमुख मुद्दा बनाएर द्वन्द्वको बीज रोपिएको त्यसभूमिमा आतङ्ककारी सेना (तालिवानी) र सुरक्षार्थ खटिएका अन्तरराष्ट्रिय सुरक्षाकर्मीबीच कतिबेला के हुन्छ कुनै चिश्चित छैन । त्यही अनिश्चितताका बीच भएका युद्ध, आतङ्क र त्यसले पारेको प्रभावले नै कृतिको विषय भयाकुल बनेको छ । मृत्युलाई अघिपछि लगाउँदै यो सब भोगेका लेखकले कृतिमा आफूलाई निरपेक्ष दर्शक बनाएका छन् ।
भनिन्छ, इतिहास जहिले पनि जित्नेको लेखिन्छ रे ! त्यस्तै यो पनि एउटा जित्नेको कथा हो । परन्तु हार र जीतसँग लेखक जोडिएका छैनन् । रणसङ्ग्रामबाट बाँचेर तटस्थ युद्ध वर्णन, युद्धले पारेको प्रभाव र भोक्ताको अमूल्य अनुभूति अनि बेला बेलामा आउने लेखकीय धारणाले नै यस कृतिलाई मूर्त रूप दिएको छ ।
बेलायती सैन्य सेवाबाट निवृत्त केदार संकेत एउटा कुशल कमाण्डर हुन् । यहाँ उनको भनौं या सेनाको मनोभावना विचित्र लाग्छ । लण्डन अन्तर्वार्तामा योग्य ठहरिएर उनी अफगानिस्तान जाने भए । त्यो कुरालाई घरपरिवारले नमान्दा नमान्दै युद्धरत भूमिमा जान उनी मन्जुर छन्, मृत्युको पनि ख्याल नराखी । फेरि त्यो मन्जुर केवल परिवारकै लागि थियो ।
एउटा भिन्दै अनुभूति गराउने अफगानी रणमैदान यो कुनै थिम विशेषमा आधरित छैन । त्यस उद्देश्यले लेखिएको पनि होइन । यो कुनै एक समयको दृश्य हुँदा यसका पात्र र घटना एकापसमा मिलाप नभएको जस्तो लाग्छ । फेरि मिलाप नै जस्तो पनि हुन्छ । स्रष्टाले एउटा कालखण्डमा भोगेका भोगाइसँगै त्यसैसित टाँसिएर आएको परिवेश, पात्र र घटना फेरि क्रमिक नै हुँदा यो एउटा जीवनीमूलक आख्यान र दैनिकीको संयोजन भन्न पनि सकिन्छ । यसमा पात्रको निरन्तरता छैन ती आउने जाने भइरहन्छन् । परन्तु प्रमुख पात्र केन्द्रमा हुँदा सन्दर्भहरू शृङ्खलाबद्ध रहेका छन् । प्रस्तुत उपन्यास बेग्लै किसिमको लाग्छ ।
युद्धको भयानक स्थिति मात्रै यो कृति होइन । यसबाट धेरै कुराको गोप्यता खुल्ने छ । ठूला शक्तिशाली राष्ट्रले साना कमजोेर मुलुकलाई कसरी हेर्ने गर्छन् ? आफ्नो स्वार्थको लागि सहयोगको नाममा कसरी लाभ उठाउने गर्छन्, त्यो पनि थाहा हुन्छ । अनेक किसिमका युद्ध जन्माएर हातहतियारको व्यापार कसरी गरिन्छ ? तालिवानी तथा अलकाइदा जस्ता आतङ्ककारी संगठन कुन हेतुले जन्मिए ? त्यो पनि प्रस्ट छ । आखिर युद्धहरू छुद्र स्वार्थका लागि हुँदा रहेछन् । मानव सभ्यता नै डगमगाउने यस्ता युद्धहरू, जहाँ मानवता र स्वतन्त्रताको अपहरण हुन थाल्छ । अहिलेको विश्व राजनीतिले शान्ति, सुरक्षा र सुनिश्चिततामा ध्यान दिनुभन्दा पनि अकिञ्चन लाभमा उन्मुख हुँदा अफगानी रणमैदान सिर्जिने गरेका छन् । समग्रमा युद्ध, आतङ्क, भय र त्रास राजनीतिकै अर्को छवि मान्न सकिने तथ्य बोध हुन्छ । यी सबैसबै कुरा यहाँ लेखकले निर्भीकता साथ भन्न सकेका छन् ।
कृतिमा कहीँ कतै पनि अविश्वासिलो कुराको आभास हुँदैन । ‘बेनाम प्रेम’ को कथा चाहिँ केही काल्पनिक लाग्छ । कथाको मध्य भागमा आएर जोडिएको युवा युवतीको रोमान्स । भयानक विषय प्रस्तुति माझ यसले अलिकति भने पनि बेग्लै अनुभूति गर्न लगाएको छ । भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराईले भन्नु भएको छ “यो ‘बेनाम प्रेमको कथा’ शीर्षक उपाख्यान मूल कृतिको मध्य भागमा उदाउँछ र अन्त्यमा गएर फेरि जोडिन्छ, टुङ्गिन्छ अनि रहस्य खुल्छ । केदारले यिनलाई जोडजाड गरी अलग्गै एउटा लघु उपन्यास प्रकाशमा ल्याउन सके कति लोकप्रिय हुन्थ्यो होला ? मेरो यो सल्लाह छ ।
एक पुरुप पात्र कर्म क्षेत्र (युद्ध भूमि) बाटै प्रेमिकालाई भेट्न इजरायल जान्छ । एअरपोर्टमा त्यहाँका कर्मचारीले उसलाई प्रवेश दिँदैनन् । त्यहीँबाट ऊ पुनरागमन हुन्छ । प्रेमिकासँग भेट हुँदैन । यस्ता प्रसङ्ग चाहिँ लेखकीय मस्तिष्कका उर्बर विषय लाग्छन् ।
परन्तु प्रविधिबाट जोडिएको हाइटेक प्रेम र रासलीला भने सत्यकै आडमा रहेका छन् । काल्पनिक भएर पनि ती यथार्थकै प्रतिरूप हुन् । प्रेम कथामा आउने त्यो दृश्य अलिक उत्ताउलो लाग्छ । त्यस किसिमले उदाङ्गो नबनाएको भए हुन्थ्यो नि भन्ने हुन्छ । त्यस लीलामय प्रस्तुतिले कृतिलाई केही सस्त्याउन खोज्छ । बरु अलिअलि देखाउन खोज्दा नखोज्दै छोपिदिएको भए, पाठक आफैं कल्पना गरेर त्यस्तो दृश्य हेर्ने तृष्णाले अन्त्यसम्म खोजिरहन्थे । त्यस्तो कुतुहलता यहाँ जाग्नै पाएन ।
उता यौनकाण्ड ती पनि सत्य नै हुन् । काबुल स्थित अल्भाराडो क्याम्पमा नर नारीबीच प्रेम र यौनका जे जस्ता घटना घटे ती एकदम यथार्थ लाग्छन्, बनाबटी होइनन् । किनकि त्यो परिवेशमा यस्ता कुरा उल्लेख गर्न कल्पनाको जरुरत पर्दैन ।
त्यस दिन तालिवानी र सुरक्षार्थ खटिएका लडाकु बीचको बीस घण्टे युद्ध अहो ! कस्तो डरलाग्दो । त्यहाँ स्वयं आफू नै योद्धा भएर लडिरहेको भान हुन्छ, ज्यादै कहाली लाग्दो । सम्पूर्ण शरीर नै चिसो भएर आउँछ । लेखकीय प्रस्तुतिशिल्प निपुण छ छैन यही भयानक अनुभूतिबाट पाठकलाई बोध हुन जान्छ ।
“काबुल गर्जियो । नजिकै रहेका पाखा गर्जिए । आकाश गर्जियो । काबुलमा जहाज अवतरण ठप्प भयो । यो ठाउँबाहेक काबुल सहर शान्त र चकमन्न थियो । पारिको गाउँ झन् शान्त थियो । यसबेला कोही पनि घरबाहिर निस्केका थिएनन् ।” (पृ–१२१) । ”
अफगानी रणमैदान पढ्दा सामान्य पाठकलाई पनि यो उद्बोध हुन्छ कि लेखकले आफ्ना निजी अवधारणाको लागि प्रस्तुत कृति रचेका होइनन् ।
उपन्यास पढिसक्दा त्यस्तो भयाक्रान्त भूमिमा जीवन र मृत्युकोअनिश्चिततामा, पेशाप्रति जिम्मेवार हुँदै लेखकले यति उत्कृष्ट साहित्य कसरी लख्न सके हुन् ? मनमा एउटा प्रश्न उठ्छ । यस्तो कठोर विषयलाई पनि कलाले कसरी जीवन्त बनाउन सक्दो रहेछ ।
कर्मले केदार संकेत हातहतियारसँग खेल्ने मानिस भए पनि उनको हृदय बडो कलात्मक र लालित्यपूर्ण हुँदा नै यस्तो कृति सिर्जिन सम्भव भएको छ । पाठकलाई लोभ्याइ राख्ने शक्ति पनि यसमा प्रशस्त रहेको छ ।
यहाँ आख्यानका लागि अलिक दह्रिलो पोयो नभएकोमा स्वयं लेखकले यसरी स्पष्टीकरण दिएका छन्, “युद्धमैदानमा होमिएका पात्रहरू स्थिर हुन सम्भव थिएन । त्यसैले यस कथाले डो¥याएका पात्रहरू चञ्चल छन्, विचलित छन्, आआफ्ना काम गर्छन् र ओझेलमा पर्छन् अथवा काम हुँदा देखापर्छन् । अनावश्यक पात्र चयन गर्नु अपेक्षित नभए पनि आकाशमा बादलका टुक्राहरूले राज गर्दा देखिने घाम जस्तै झुलुक्क झुल्केर हराइदिन्छन् कथाका पात्रहरू । त्यसैले यहाँ कुनै एउटा मात्र पात्रलाई माया दिएर कथाको अन्त्यसम्म थामेर राख्न सकिएको छैन, … ।”
यस भनाइमा एउटा पाठकीय मर्यादामा रहेर लेखकलाई केही भन्न मन लाग्यो, त्यो के भने कृतिप्रति आग्रह अनुग्रह, मत विमत केही नराखी तपाईंले केवल समयलाई ध्यान दिएर त्यस परिवेश र परिस्थितिको न्याय गर्नु भएको छ । जुन कुरा तपाईंले नभनेरै पनि पाठकले बुझ्ने छन् । यो समयको प्रतिकपि हुँदा जे छ ठीक छ । त्यसमा पाठकले फलानो पात्रलाई निरन्तरता दिन सकेन भन्नु कृतिलाई सही किसिमले हेर्न सकेन भन्ने हुन्छ । पाठकले जसरी हेरोस् त्यसमा चिन्ता छैन । किनकि यो एउटा इतिहास हो, कलाले छोपिएको । भनौं न अफगानी रणमैदान इतिहासको एउटा साक्षी बन्न पुगेको छ । युद्ध साहित्यको उच्चतम ग्रन्थ ।
भूमिकामा वरिष्ट साहित्यकार रोचक घिमिरे भन्नुहुन्छः “विश्वका ठूला ठूला त्यसमा पनि सुरक्षा चुनौती थप जटिल मानिने यस्ता अन्तरराष्ट्रिय प्रोजेक्टहरूमा सम्बद्ध हुँदा विभिन्न देशका अपरिचित मानिसहरूसँगको सङ्गत, व्यवहार र सहकार्यमा कस्ता कस्ता घटनासँग कुस्ती खेल्नुपर्छ भन्ने कुराको दिग्दर्शन पनि यस पुस्तकको उल्लेख्य पक्ष हो ।”
एउटा योद्धाको जीवन रणभूमिमा कति बेला के हुन्छ थाहा छैन । मरिन्छ कि बाँचिन्छ त्यसको कुनै निधो छैन । त्यसबखत उसले भविष्यलाई आँखा वरिपरि यसरी देख्न थाल्छ दूरद्रष्टा भएर, “ म मात्रै होइन सबैले आफ्नो अन्तिम दिन भएको सम्झ्यौँ । दिमागमा सानो छोरो याद आयो– सानै छ, के गरी बाँच्ला । त्यसलाई अर्को झड्केलो बाउले जे गर्न पनि सक्छ । श्रीमतीले विवाह नगरी एक्लै जीवन काट्न गाह्रो छ, बेलायतको ठाउँमा र मेरा आधा पेन्सनले कति नै धान्ला र ? छोरीहरू त आफैँ पनि कमाएर खान सक्ने भएका छन् । मेरो सानो छोराका लागि एकचोटि मलाई बाँच्ने अवसर देऊ … (पृ–२६२) । ”
एकातिर आतङ्कारी समूह अर्कातिर सुरक्षार्थ खटिएका दलबीच नित्य भइरहने युद्ध र द्वन्द्वले अफगानी आकाश कहिल्यै उघ्रिन सकेको छैन । यहाँ लेखक तथा सैन्यदलको विरोधाभासपूर्ण मनस्थिति निकै मार्मिक लाग्छ । एउटा मनले युद्ध कहिल्यै नहोस्, यसले मर्ने बाँच्नेको कुनै ठेगान हुँदैन भन्छ । अर्को मनले फेरि युद्धकै तयारी गरिरहेको छ ।
अशान्त निसासिएको जीवन । ढुक्कको सास फेर्न नपाएका, छिनछिनमा आतङ्कारीको आक्रमणबाट दपेटिएका अफगानी नागरिकको अज्ञात परिस्थितिले यस्तो एउटा गहिरो संवेदना जगाउँछ, द्रवीभूत बनाउँछ, “ कावुल सहर भने सडकका दायाँबायाँ रोपिएका रुखहरूका कारण केही हदसम्म हरियो नै देखिन्छ । यद्यपि यहाँका रुख र फूलमा दिनहुँ या हप्तैपिच्छे पड्किने बम र बारुदको धूवाँ र गन्ध घोलिएका हुन्छन् । निर्दोष जनताको रगत र आत्मा भड्किरहेको भए तापनि ती आत्माहरूयिनै फूलहरूमा रूपान्तरित भएर फुले झैँ र मौलाए झैँ लाग्छन् (पृ–६३) ।”
कृतिको प्रमुख आवाज युद्ध, द्वन्द्व, भय, त्रास हुँदाहुँदै पनि जीवन तथा आशावादी अवधारणा सकारात्मक लाग्छ । दुर्दान्त अवस्थामा भविष्य खोजिरहेका पात्रहरू मृत्युलाई भुलेर जीवनरसमा हराउन चाहन्छन् । त्यो कठोर आचार संहितामा पनि यौनकाण्ड त्यसैले घटिरहेका छन् ।
भिन्दा भिन्दै जाति, संस्कार, चालचलन भएका मानिसहरूको एउटा समूह अल्भाराडो क्याम्प, जहाँ समाज मनस्थिति र व्यक्ति मनस्थिति जस्ता अमूर्त विषयलाई पनि दृश्यात्मक बनाउन सक्नु अत्यन्तै सबल पक्ष रहेको छ । यसमा एक किसिमले व्यक्ति मनोविज्ञानको सूक्ष्म चित्रण गरिएको जस्तो पनि लाग्छ । गोराहरूको हैकमवादी सोच पनि छर्लङ्गै भएको छ । नेपालीहरूको वीरता र साहसको कथा पनि हो यो । जसकासामू अहंकारी गोराहरू पनि नतमस्तक भएका छन् । निष्पक्ष भएर आफ्नो जातिको अवगुणलाई पनि जस्ताको तस्तै भन्न सक्ने केदार संकेत न्यायिक वक्ता जस्तै लाग्छन् । पात्रका गुण दोषलाई कुनै पक्ष नलिई स्वतन्त्र अभिव्यक्तिले लेखकीय स्पष्टवादी चेतना टड्कारो देखिन्छ । उनले आफ्नो जातीय पक्षमा व्यर्थ गुणगान अहँ रुचाएका छैनन् ।
अफगानी रणमैदानमा लेखक स्वयं लडाँइमा छन् । दार्शनिक मुडमा उनी फेरि अर्को लडाइँको कुरा यसरी गर्छन, “ मान्छेको मन अनेक कुरा खेल्ने एउटा प्रयोगशाला नै हो । त्यहाँ राम्रा नराम्रा, हिंसा, रीस, नताव, बेखुशी र ईष्र्या सबैथोकले लडाइँ खेलिरहेका हुन्छन् (पृ–६८) ।”
संक्षिप्त र परिष्कृत भाषा, विम्ब र प्रतिक अनि बेला बेला आउने पात्रका उपनामले कृति अरू बढी सुवासित भएको छ । उनले एक ठाउँमा कान नसुन्ने पात्रलाई स्क्रीनटच नाम दिएका छन्, त्यस्तै अरू पनि आइरहन्छन् । समय अनुसारका विम्ब र प्रतिकले अझ गहिरो भाव छोडेका छन् । ती सुहाउँदिला लाग्छन् ।
भूमिकामा प्रा.डा.कुमारप्रसाद कोइरालाले भनेका छन्ः यसमा अफगानिस्तानको अल्भाराडो सैनिक क्याम्पमा कार्यरत अनेक देशका सैनिकको चरित्र, उनीहरूको मनोविज्ञान, उनीहरूका स्वभाव र प्रवृत्ति, उनीहरूमा देखिने मानवीय आदर्श र कमीकमजोरीको पनि उत्तिकै महत्त्वका साथ चित्रण गरिएको छ । जतिबेला पनि शत्रुको आक्रमण कुरेर बसेका र त्यस्ता आक्रमणको सामना गरिरहेका सैनिकमा हुने मृत्युबोध, भय, शौर्य, साहस, पारिवारिक मायामोह, मनोरञ्जन, धार्मिक सहिष्णुता, असहिष्णुता, कट्टरता र उदारताका साथै कठोर सैनिक अनुशासनले कुँजिएको सैनिक मनले कहिलेकाहीँ उड्न पाउँदा त्यसले गर्ने चकचक र उपद्रो, सुरा र सुन्दरीप्रतिको आकर्षण र विकर्षण, पश्चात्ताप, विद्रोह आदि पनि राम्ररी व्यक्त भएका छन्, त्यसैले यो कृति युद्धभूमिमा कार्यरत सैनिकको असली अनुहार देखाउने ऐनाजस्तै भएको छ ।
सुरक्षाकर्मीकै केन्द्रीयतामा कृति रचिएको हुँदा यहाँ सेनाको मनोभावना अत्यन्तै सहज र स्वाभाविक लाग्छ । लेखक स्वयं नै एक सेना हुँदा शायद त्यो उनकै मनोविज्ञान थियो । भनेका छन्, “फौजीले गर्ने कुरै लडाइँ, रक्सी र धेरै युवतीसँगको सहवास न हो (पृ–१३७) ।”
आत्माघाती पत्र १ र २ मा पनि सेनाकै कुण्ठित मनोदशा रहेको छ । विकृत मनका कुरा । युद्ध सङ्ग्रामको प्रस्तुति त यो हुँदै हो । त्यस्तै मधुशालामा मदहोस पनि उति नै गम्भीर लाग्छ, दृश्यात्मक प्रस्तुतिले । यो काठमाडौँको परिवेशमा आएको छ ।
बाह्य र आन्तरिक (मनोजगत्) पर्यावरणको सन्तुलित मिलाप नै अफगानी रणमैदान हो । त्यति मात्रै होइन यो उच्च प्रविधिको लडाइँ हो, युद्ध कौशल र युद्ध रणनीतिको सफल कृति हो । परदेशको युद्ध, आतङ्क, भय त्रासलाई नेपाली भाषा साहित्यमा रूपान्तरित यस कृतिको आफ्नै विशिष्ट स्थान रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।