साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

समीक्षाः किशोर-विज्ञान उपन्यासका रूपमा ‘मालती’

सन् १९११मा प्रकाशित मालती विज्ञान कथामा आधारित किशोर साहित्य हो । कथाको मूल केन्द्र मालती  भएकीले उपन्यासको शीर्षक पनि उसैको नाममा राखिएको छ । रत्नमणि र ऋचा जस्ता सम्पन्न परिवारकी एकमात्र सन्तान मालती सबैका आँखाका तारा थिई ।

विषय प्रवेश

मुक्ति उपाध्याय बरालले नेपाली साहित्यका बहुविधामा कलम चलाएका छन् । उपन्यास, नाटक, निबन्ध,लेख, संस्मरण, हास्य-व्यङ्ग्य, अनुवाद, संवाद लेखनका साथै उनी नाटक निर्देशन, अभिनेता, गीतकार र सङ्गीतकारका रूपमा पनि परिचित छन् । सन् २०११मा नेपाली साहित्य प्रचार समिति, दुर्गागढी, सिलगढीबाट प्रकाशित उनको मालती उपन्यासले साहित्य अकादमीद्वारा  प्रदान गरिने ‘बालसाहित्य अकादमी पुरस्कार २०१५’ प्राप्त  गरेको  हो । यस उपन्यासका केही अन्य प्रकाशन र अनुवादहरू पनि पाइन्छन् । २०११ मा नै अभिजमान स्मृति ट्र्स्ट( कुबेत ) बाट  मालती उपन्यास प्रकाशित भएको हो , त्यसपछि   सन् २०१९ मा ’मालती रोबोट’ शीर्षकमा बुक आर्ट  नेपालबाट अनि  २०१९ मा नै साङ्ग्रिला बुक्स नेपालबाट पनि प्रकाशित भयो । यो कृति विभिन्न भाषामा अनुवाद पनि भएको छ । नगेन्द्र शर्माले यस कृतिलाई मालती रोबोट ( बुक आर्ट नेपाल) शीर्षकमा अङ्ग्रेजीमा अनुवाद गरेका छन् अनि  सन् २०१९ मा चम्पा उपाध्यायले असमीया भाषामा मालती आर रोबट (लयार्स बुक स्टल गुवाहाटी )  शीर्षकमा अनुवाद गरेकी छन् । असमका कमल गुरागाईँले बोडो भाषामा गरेको मालती को अनुवाद प्रकाशोन्मुख छ ।

विषय विस्तार

मुक्ति उपाध्याय बरालद्वारा लेखिएको मालती (सन्२०११)  उपन्यासमा प्रारम्भदेखि अन्त्यसम्म मालती र विवेकको सक्रिय भूमिका रहेको छ । कथावाचकले  उनीहरूका  जीवनमा घटेका घटनाहरू आफू सर्वदर्शी भएर अभिव्यक्त गरेकाले यस उपन्यासमा तृतीय पुरुष वाह्य अन्तर्गत सर्वदर्शी  दृष्टिविन्दु पद्धति पाइन्छ ।  मालती उपन्यासको कथानक मालती र विवेकको केन्द्रीयमा आधारित भए तापनि रत्नमणि ऋचा, डा.हिरोसी कोबायासी आदि कथानकसगै आएका छन् । प्रस्तुत उपन्यासको विषयवस्तु,  उद्देश्य ,यसको प्रस्तुतीकरण, काल्पनिकता, पात्रहरूमा पाइने जिज्ञासु स्वभाव,  यसमा उल्लेख गरिएका वैज्ञानिक आविष्कारका प्रसङ्गहरू, विभिन्न प्रकारका रोबोटबारे जानकारी, विज्ञान विषयक सङ्गोष्ठीको चर्चा, जानकारीमूलक र उपदेशात्मकता आदिका आधारमा यसलाई किशोर विज्ञान उपन्यास भन्नु उचित ठहर्छ । यस लेखमा मालती उपन्यासलाई मूलत:  किशोर विज्ञान उपन्यासका रूपमा ठहर गर्दै यसका अन्य विशेषताहरूमाथि पनि चर्चा गरिएको छ ।

उपन्यासको कथासार

डा. राजकुमारी दाहाल (सिलगढी महाविद्यालय)

सन् १९११मा प्रकाशित मालती विज्ञान कथामा आधारित किशोर साहित्य हो । कथाको मूल केन्द्र मालती  भएकीले उपन्यासको शीर्षक पनि उसैको नाममा राखिएको छ । रत्नमणि र ऋचा जस्ता सम्पन्न परिवारकी एकमात्र सन्तान मालती सबैका आँखाका तारा थिई । तेह्र बर्ष पुगेकी मालतीलाई पढ्न पट्टकै मन पर्दैन, उफ्रनु, कुदनु अनि जङ्गलका पशु, पक्षीहरूसित खेल्न पाए दिन बितेको पत्तो हुदैनथ्यो । एकदिन यसरी नै खेल्ने क्रममा मालती जङ्गलमा गणेश मूर्ति भएको  एकदमै पुरानो गुफामा पुग्छे, त्यहाँ उसको भेट साधुको रूपमा रहेका वैज्ञानिक विवेकसित हुन्छ ।

विवेकको आफ्नै कथा छ – सानैदेखि होनहार विद्यार्थी रहेको विवेकका मातापिता दुईजना शिक्षक थिए बाह्र कक्षामा पढ्दै गर्दा उनकी आमाको मृत्यु हुन्छ, यस घटनाले उनका बुबाको मनमा ठुलो चोट पर्छ अनि स्वास्थ बिग्रन थाल्छ तर त्यस्तो प्रतिकूल परिस्थितिमा पनि विवेकले डाक्टरी पास गर्छ । तेस्रो वर्षमा अध्यनरत रहँदा उनले एउटा स्वचालित रोबट बनाएर राष्ट्रिय विज्ञान मेलामा प्रदर्शन गरेका हुनाले राष्ट्रिय पुरस्कार प्राप्त गर्नाका साथै  जापानको टोकियो साइन्स युनिभर्सिटीका प्रोफेसर हिरोसी कोवायासीसँग विभिन्न देशबाट आएका बीसजना विद्यार्थीहरूसँग नयाँ नयाँ आविस्कारबारे जान्ने, विभिन्न विषयका विशेषज्ञहरूसित भेट गर्ने अनि रोबट बनाउने तालिम लिने मौका पाए । त्यहाँ उनीहरूले एउटा ‘साया’ नामक मानव रोबट बनाए जसले केही घरेलु कामका साथै ‘हेलो’, ‘हाय’, ‘गुड मर्निङ’ जस्ता शब्दहरू पनि बोल्न सकथ्यो । भविष्यमा मानिसले जस्तै सोच्न सक्ने ह्युमन रोबट बनाउन सक्ने सम्भावनाहरूबारे पनि धेरै जानकारी पाए । डाक्टरी पढ्दा विवेकको रुचि न्युरो सर्जरी विषयमा थियो, जापान यात्राले उनको रुचिलाई अझ टेवा दियो अनि ह्युमन रोबोट बनाउने काममा दिनरात मेहनत गर्न थाले फलस्वरूप उनले मानव मस्तिष्कयुक्त रोबोट बनाउने सूत्र आविष्कार गरे । यसलाई कार्यरूप दिनलाई विवेकले सरकारसमक्ष प्रयोगशालाका निम्ति आर्थिक सहयोग उपलब्ध गराउन निवेदन गरे तर उनको निवेदनमाथि कुनै विचार भएन । जापान, अमेरिका जस्ता देशका कम्पनीहरूले विवेकलाई उनीहरूको देशमा गएर रोबोट निर्माण गरेमा सम्पूर्ण खर्च बेहोर्ने आश्वासन दिएका थिए तर उनी विश्वको पहिलो ह्युमन रोबोट निर्माण गर्ने श्रेय आफ्नो देशलाई दिन चाहन्थे ।

आफ्नो महत् सोचलाई कार्यरूप दिनलाई विवेकले एउटा प्लान तयार पारे । पिताको मृत्युपछि उनले आफ्नो घर,जग्गा सबै बेचेर रुपियाँ  ब्याङ्कमा राखे अनि आफू साधुको भेष धारण गरेर विभिन्न ठाउँ घुम्दै उपयुक्त स्थानको खोजीमा लागे अनि त्यसभित्र अति प्राचीन गणेश मन्दिर भएको ठाउँ पत्ता लगाए, गणेशको ढुङ्गाको ठुलो मूर्ति पछाडि  साँघुरो सुरुङ भएर अघि बढदा एउटा कोठाजस्तै झार-पात, कीरा –फटेङ्ग्राले भरिएको ठाउँ पाए जो उनलाई प्रयोगशाला बनाउनका निम्ति उपयुक्त लाग्यो । उनले त्यस ठाउँको सफाई गरे , मन्दिरमा पूजा अर्चना गर्न थाले, बेला बखत भक्तहरू पनि आउन थाले । लगभग वर्षदिन लगाएर उनले गणेशको मूर्ति पछाडिको गुप्त कोठामा प्रयोगशाला तयार पारे ।  सुरुमा उनले रिमोटले चल्ने मसिन रोबट बनाए जसले खोलाबाट पानी ल्याउने, चिया बनाउने जस्ता ससाना कामहरू गर्न सक्थ्यो ।

विवेकको सपना थियो मानव मस्तिष्कयुक्त रोबट बनाउने तर यसका निम्ति पाँच/छ करोड रुपियाँको आवश्यकता थियो । विवेकको कथा सुनेर मालतीले रुपियाँको बन्दोबस्त आफूले गरिदिने र यसको सट्टामा उसले भनेको कुनै एउटा काम गरिदिने वचन लिन्छे । मालतीका पिता  रत्णमणि पेसाले व्यापारी थिए,मालती र विवेकका कुरा सुनेर उनी खेलौना र श्रमिक रोबट बनाउने कारखाना खोल्न सहमत भए । यसै सिलसिलामा रत्णमणि र विवेक जापान, अमेरिका, इङ्गल्याण्ड,जर्मनी जस्ता उन्नत देशमा गएर रोबट बनाउने कारखानाहरूको निरीक्षण गरे अनि नयाँ नयाँ कौशल र प्रविधिबारे जानकारी हासिल गरेर देश फर्के । सहरबाहिर भएको सय बिघा बाँझो अनुर्वर जग्गा किनेर वर्ष दिनमा सबैको सहयोग, परिश्रम र लगनले कारखाना बनाउन रत्नमणि र विवेक सफल भए । ऋचा,मालती,रत्णमणि र विवेक चारजनाका नामका पहिलो वर्ण लिएर फेक्टरीको नाम ‘ऋमारवि रोबो फेक्टरी’ राखियो । देशका उद्योग मन्त्री,जपानका डा. हिरोसी लगायत धेरै गण्य-मान्य व्यक्तिहरू निम्ताएर पूजा-पाठ, यज्ञ-हवन आदि गरेर भव्यरूपमा फेक्टरीको उदघाटन गरियो । कारखानामा चाहिने कलपुर्जा आआफ्नै देशबाट अनि रोबटका अङ्गहरू बनाउने स्वचालित यन्त्रहरू विदेशबाट आयात गरेर खेलौना रोबट र श्रमिक रोबट बनाउने काम सुरु भयो ।

बर्सौँअघि देखेको विवेकको सपना साकार भयो । यस सपनालाई साकार बनाउनमा मालतीको हात थियो । मालतीले विवेकबाट वचन लिएकी थिई उसको कुनै काम गरिदिनुपर्छ भनेर अनि त्यही कुरोलाई आधार बनाएर आफूजस्तै रोबोट बनाइदिन आग्रह गर्छे । विवेकले मानव मस्तिष्कयुक्त रोबोट बनाउने सूत्र पहिल्यै आविष्कार गरिसकेका थिए । केही महिना लगाएर विवेकले मालतीको रूप-रङ, बोली-चाली, बानी-व्यवाहार भएको  मालतीरोबो बनाउन सफल भए । अब मालतीको सट्टामा मालतीरोबोले स्कुल जाने, पढने, होमवर्क गर्ने आदि काम गर्न थाल्यो अनि मालती निश्चिन्त भएर पशु- पक्षीहरूसँग खेल्न थाल्छे । यो कुरो विवेक, मालती र मालतीरोबो तीनजनाको माझमा मात्र रहेको हुन्छ । विवेकको संसर्गमा मालतीले धेरै असल कुराहरू सिक्छे, ज्ञानका कुरा सुन्छे । बिस्तारै मालतीको सोचमा  परिवर्तन आउँछ, उसमा आत्मविश्वास जाग्छ, पढाइमा मन लगाउँछे अनि एकदिन ‘मालतीरोबो अब मलाई चाहिँदैन ‘ आफ्नो काम आफैँ गर्नसक्छु’ भनेर विवेकलाई भन्छे अनि मालतीरोबोलाई आफ्नो अविष्कारको रूपमा प्रदर्शन गर्ने सल्लाह पनि दिन्छे । जसरी मानिसको क्लोन बनाउन कानूनले प्रतिबन्ध लगाएको छ त्यसरी नै कुनै जीवित मानिसको रोबोट बनाउनु पनि अपराध हो । यसैले विवेकले एकदिनका निम्ति मालतीरोबोलाई प्रदर्शन गर्ने निर्णय लिन्छ ।

निर्धारित दिन र समयमा देश विदेशका आमन्त्रित वैज्ञानिक,शिक्षाविद्, मन्त्री ,गण्यमान्य अतिथिहरू भेला हुन्छन्; मालतीले उद्घोषिकाको भार सम्हाल्छे, र  अतिथिहरूलाई स्वागत जनाउँदै आसनमा बसाउँछे । सबैजना विवेकको आविष्कार हेर्न आतुर बनेका हुन्छन् , डा. हिरोसी कोबायासीले मञ्चमा राखिएको रङ्गीन पर्दा खोल्छन् त्यहाँ “विश्वको पहिलो मानव मस्तिष्कयुक्त रोबोट मालतीरोबोको विधिवत उद्घाटन र प्रदर्शन डाक्टर हिरोसी कोबायासीको बाहुलीबाट सम्पन्न भयो” लेखिएको हुन्छ; सबैजना असमञ्जस स्थितिमा पर्छन् , तब नाटकीय ढङ्गमा उद्घोषिका मालतीले भन्छे ‘विवेकज्यूले आविष्कार गरेको मानव मस्तिष्कयुक्त रोबोट म नै हुँ, म मालतीरोबो हुँ । त्यसै समय मालती सङ्गिनी हात्तीमा चढेर आइपुग्छे । एउटै रूप ,पहिरन र बोली भएका मालती र मालतीरोबोलाई देखेर सबैजना मूर्तिवत् बन्छन् । आफ्नो देशमा पहिलो मानव मस्तिष्कयुक्त रोबोट आविष्कार भएकोमा सबैले गर्वबोध गरे अनि विवेकलाई बधाई दिए ।  मानिसको क्लोन बनाउन जस्तै कुनै जीवित मानिसको रोबोट बनाउनु पनि कानूननी अपराध हो भन्ने कुरो सबैलाई बुझाएर कार्यक्रमको अन्तमा विवेकले वैज्ञानिक अनि पत्रकारहरूको उपस्थितिमा मालतीरोबोलाई निष्क्रिय पारेर साधरण  रोबोटमा परिणत गर्ने निर्णय लिन्छन् ।

किशोर साहित्यको रूपमा

मानवजीवनलाई उमेरका आधारमा सामान्यत: तीन भागमा बाँडेर हेर्न सकिन्छ बाल्यावस्था, युवावस्था र प्रौढावस्था । बाल्यावस्थालाई पनि तीनवटा तहमा राख्न सकिन्छ – १देखि ५ वर्षसम्मका लाई शिशु, ६ देखि १० वर्षसम्मकालाई बाल/ बालिका अनि ११ वर्षदेखि १५ वर्षसम्मकालाई किशोर वर्गमा राख्न सकिन्छ । किशोर अवस्था शारीरिक र मानसिक रूपमा निर्माण अवस्थाका साथै सङ्कटकालीन अवस्था पनि हो । यस समयमा प्राकृतिकरूपमा शारीरिक र मानसिक भावनात्मक परिवर्तन हुन्छ । किशोरावस्थाको सोचले नै उसको जीवनको दिशा र गति तय गर्दछ । उनीहरू जिज्ञासु हुन्छन्, तर्कहीन कुरालाई महत्त्व दिँदैनन्, कुनै पनि कुरोलाई सहजै स्वीकार गर्दैनन् । कुनै पनि चुनौतिलाई सहज रूपमा स्वीकार गर्ने सोच रहेको हुन्छ । उनीहरूमा परख गर्ने क्षमता हुन्छ, यसैले उनीहरूको साहित्य सकारात्मक सोच भएको हुनुपर्छ, उनीहरूको अभिरुचिलाई शान्त पार्न सक्ने, जानकारीमूलक, रोचक र ज्ञानवर्धक साहित्य दिन सकेमा उनीहरूको बौद्धिक र मानसिक विकासको सुदृढ आधारशीला तयार  बन्छ, सृजनशीलताको अभिवृद्धि हुन्छ ।

‘मालती’ उपन्यासमा सुरुदेखि अन्तसम्मै कौतुहल तत्त्व पाइन्छ । आजका किशोरमा पाइने कुनै पनि चुनैतिलाई स्वीकार गर्ने मनोवृत्ति र आत्मविश्वास  उपन्यासका मुख्य पात्रहरू मालती र विवेक दुवैमा पाइन्छ । किशोर मस्तिष्कमा नकारात्मक प्रभाव पार्ने कुनै पनि घटना वा प्रसङ्ग उपन्यासमा कतै पाइँदैन । सबै घटनाहरू रोचक र शिक्षाप्रद छन् । उपन्यासमा पाठकलाई कतै पनि सोझै उपदेश दिइएको छैन तर पात्रहरूका क्रियाकलापबाट देशप्रेम, प्रकृतिप्रेम, आपद्- विपद् पर्दा  नअत्तालिएर आफ्नो तत्काल बुद्धिको प्रयोग गर्नुपर्ने; विद्यार्थीका निम्ति पुस्तकीय ज्ञानका साथै व्यावहारिक ज्ञान पनि अति आवश्यक हुन्छ; परिश्रम र लगनले मानिस सबै विषयमा योग्य बन्न सक्छ जस्ता सन्देशहरू  पाइन्छन् । यसबाहेक वैज्ञानिक विवेकले आफूले अथक प्रयास र मेहनतले आविष्कार गरेको ‘मान मस्तिष्क  भएको रोबोट बनाउने सूत्र  विदेशी कम्पनीलाई बेचेनन् , न त आफैँ विदेश गएर ती कम्पनीसँग काम गर्न राजी भए । उनी यस महत्त्वपूर्ण आविष्कारको श्रेय आफ्नो देशको नाममा राख्न चाहान्थे । यहाँ उपन्यासकारले   प्रतिभा पलायन (Brain Drain) हुन दिएका छैनन् ।  किशोर पाठकका निम्ति यो एउटा महत्त्वपूर्ण सन्देश हो । यसरी उपन्यासले दिएको मानसिक बौद्धिक खुराक किशोर पाठकमा चिरस्थायी र दूरगामी बन्नसकेको छ ।

विज्ञान कथाको रूपमा

विज्ञान कथामा विज्ञान र प्रौद्योगिकीका सम्भावित कुराहरूलाई कल्पनाका आधारमा कथात्मक प्रस्तुति दिइएको हुन्छ । मेरी शेलीको ‘द फ्रन्केनस्टआईन’(सन्१८१८)लाई पहिलो विज्ञान कथा मानिन्छ । विज्ञान कथाको बिजरूप पूर्वीय साहित्यका वेद, उपनिषद्, पुराण, रामायण,  महाभारतका कथाहरू अनि लोककथा, अरबी-फारसी स्रोतबाट आएका कथाहरूमा पाउन सकिन्छ । माध्यमिककालीन ऐयारी तिलस्मी कथाहरूमा पनि विज्ञान कथाका केही बिज पाउन सकिन्छ । विज्ञान कथाका निम्ति साइन्स फिक्सन र साइन्स फेन्टासी जस्ता शब्द पनि चलेका छन् । ‘साइन्स फेन्टासी’मा तथ्य र तर्क भन्दा टाडा रहेर अनियन्त्रित कल्पना गरिन्छ जसलाई हामी स्वैरकल्पना पनि भन्न सक्छौ । विज्ञान आख्यान वा साइन्स फिक्सनले  विश्वमा भएका ज्ञानबाटै अनुमानमूलक वैकल्पिक संसारलाई विषयवस्तु बनाउँछ । यसमा विषयको व्यपकता र विविधता, कल्पनाको रोचकताका साथै खगोलशास्त्र भौतिक विज्ञान, रसायन विज्ञान, अन्तरीक्ष यात्रा जस्ता विषयहरूमा आधरित कथाहरूको समावेश गरिएका हुन्छन् । विज्ञान आख्यान लेखकको कल्पनामा आधारित भएता पनि यसले भविष्यको वैकल्पिक सम्भावनातर्फ सङ्केत गर्छ । यस्ता सम्भावनाहरू सबै प्रमाणित भने हुदैनन्  ।

‘मालती’ विज्ञान विषयमा आधारित उपन्यास भएकोले यसमा प्रसस्त विज्ञानका प्रसङ्गहरू आएका छन् । जापान, अमेरिका आदि देशहरूमा भएका वैज्ञानिक आविष्कारसम्बन्धी जानकारीहरू पाइन्छन् । विज्ञान विषयमा आधारित कथा/ उपन्यासहरू सुरुमा लेखकको कल्पनाजस्तो मात्र लागे पनि भविष्यमा ती यथार्थमा परिणत हुने सम्भावना रहेको हुन्छ । यस उपन्यासको विषयवस्तु  र यसको प्रस्तुतीकरण, विवेक, मालती लगायत अन्य पात्रहरूमा पाइने जिज्ञासु स्वभाव,  यसमा उल्लेख गरिएका वैज्ञानिक आविष्कारका प्रसङ्गहरू, देश-विदेशका रोबोट कारखानाबारे जानकारी,  श्रमिक रोबोट, गुडिया रोबोट , मानवीय रोबोट जस्ता विभिन्न प्रकारका रोबोटबारे जानकारी, विज्ञान विषयक सङ्गोष्ठीको चर्चा, जानकारीमूलक र उपदेशात्मकता आदिका आधारमा यसलाई किशोर विज्ञान उपन्यास मान्न सकिन्छ । वैज्ञानिक विवेकले मानव मस्तिष्कयुक्त मालतीरोबो बनाउनु आर्टिफिसिअल इन्टेलाजेन्सी (Artificial Intelligence) को विषय हो । यसबाहेक उपन्यासका पात्रहरू सोसलमिडियाद्वारा परस्पर विचार आदन-प्रदान गर्छन् । आज विश्वलाई साइबर कल्चरले निलिसकेको छ । यसका पनि राम्रा / नराम्रा दुवै पक्षहरू छन् तर यस उपन्यासमा साइबर कल्चरमा जस्तै मानवीय संवेदना तत्त्वको विनाश भएको छैन । उपन्यासका सबै पात्रहरूमा मानवीय संवेदना पूर्ण रूपमा पाइन्छ । बाल- बालिका र किशोरहरूका निम्ति लेखिएका साहित्यिक कृतिमा लेखकले मानवीय संवेदनालाई विशेष ध्यानमा राखेको हुनुपर्छ ।

परिवेश सचेतनता

वातावरण संरक्षण, परिवेश र प्रकृतिको रक्षा वन्य प्राणीहरूको सुरक्षा अथवा मानवेतर जगत्प्रतिको चिन्ता आदि वर्तमान विश्वलेखनमा देखा परेका  विषयहरू हुन् । मालती उपन्यासका पात्रहरू परिवेशको संरक्षणप्रति सचेत छन् । यस उपन्यासमा  विभिन्न प्रसङ्गहरूद्वारा परिवेश र प्रकृतिलाई कसरी बँचाएर राख्न सकिन्छ त्यसबारे लेखकले प्रसस्त जानकारी दिएका छन् । उपन्यासका पात्रहरूले कल कारखाना बनाउँदा उब्जनी हुने जग्गामा नबनाएर अनुर्वर जमिन प्रयोग गरेको , वनमा आगो लाउन नहुने कुरा गरेको आदि प्रसङ्गबाट पनि उनीहरू परिवेश सचेत छन् भन्ने बुझिन्छ । वनका पशु-पक्षी, कीरा- फट्याङ्गरा आदिद्वारा नै प्रकृतिको वस्तुतन्त्र सन्तुलित रहेको हुन्छ । वन्य प्राणीको रक्षा गर्नु, तिनीहरूको संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । लेखकले रिठे (हरिणको पाठा), जुठे(खरायो), मयुरी,मैना (चराहरू),सङ्गिनी (हात्ती),गजानन( हात्तीको बच्चा) आदिलाई पनि कथाका पात्र बनाएका छन् यसबाट बाल-बालिका वा पाठकका मनमा यी चरा-चुरुङ्गी, जीव-जन्तुहरूप्रति दया मायाको भाव जाग्छ ।

रोचक शिक्षण पद्धति

उपन्यासकार स्वयं शिक्षण पेसासित लामो समयसम्म जोडिएका हुनाले उनलाई बाल-बालिकाहरूको मनोभाव, मानसिक स्थिति आदिको राम्रो ज्ञान रहेको छ । नाच र खेलद्वारा कक्षाका पाठहरू पढनु, गणित जस्तो कठिन र नीरस मानिएको विषयलाई गाउँखाने कथा बनाएर रोचक ढङ्गमा प्रश्न बनाउनु र उत्तर खोज्नु जस्ता कार्यबाट मालती र उसका साथीहरू लाभान्वित बनेका छन् । यसबाहेक विवेकले मालतीलाई विभिन्न ऐतिहासिक र भौगोलिक महत्त्व रहेका स्थलहरूमा भ्रमण गराएर ऊभित्रको जिज्ञासालाई सकारात्मक दिशातर्फ लगेका छन् । विद्यार्थीहरूलाई पुस्तकीय ज्ञानका साथै व्यवाहारिक ज्ञानको पनि उत्तिकै जरुरत पर्दछ । उपन्यासमा पाइने गणितका प्रसङ्गहरूले विद्यार्थीहरूमा सृजनशीलताप्रति रुचि जगाउने, विज्ञानका कठिन विषयहरू पनि सरल भाषा र छोटा छरिता वाक्यहरूका माध्यमबाटै प्रस्तुत गरेकाले उपन्यास प्रभावकारी बनेको छ ।

भाषाशैली

यस उपन्यासमा वर्णात्मक र संवादात्मक भाषाशैलीको माध्यमबाट कथानकको  विकास  गरिएको छ । विषयचयन  र भाषिक स्तरमा सामञ्जस्य पाइन्छ । उपन्यासमा पात्रहरूले बोलेका संवादहरूको भाषा पात्र अनुकूल रहेको छ । उपन्यासको विषयवस्तुसँग सम्बन्धित अनेकौँ अङ्ग्रेजी भाषाका शब्दहरू पनि प्रयोग भएका छन् जो स्वाभाविक लाग्दछन् ।  यसबाहेक लेखकको वर्णन- विश्लेषणको भाषा सरल र सरसका साथै उपदेशात्मक पनि छ । उनले जीवन –जगत्सम्बन्धी एकाध गहकिला कुराहरू पाठकलाई बताएका छन् । यसैले उपन्यासको भाषा प्रभावकारी बन्न सकेको छ । जस्तै –

* मेरो देशले मलाई के दियो भन्नुभन्दा पनि मैले मेरो देशलाई के दिन सकेँ भन्ने सोच हामीले राख्न सक्नु महत्त्वपूर्ण कुरा हो । (पृ. २८)

* प्रकृतिलाई माया गर्नेहरूको सुरक्षा पनि प्रकृतिले नै गर्छ । (पृ ४५)

* माया र प्रेमले सारा संसारलाई आफ्नो बनाउन सकिन्छ । माया र प्रेम नै हामी समस्त प्राणीलाई भगवान्ले दिएको ठूलो वरदान हो । (पृ४५)

* समयभन्दा अघि अनि आफ्नो प्राप्यभन्दा धेर पाइँदैन । (पृ. ५१)

*कोसिस गर्नु ठुलो कुरा हो । भूल हुनु ठुलो कुरा होइन । अनि भूल हुन्छ भनेर कोसिस गर्दै गरिएन भने कुनै पनि काम गर्न सकिँदैन । (पृ ८८)

* प्रत्येक मान्छेले आफ्नो सामर्थ्यअनुसार कुनै न कुनै काम गरेर खानुपर्छ । कुनै पनि काम सानो हुदैन । (पृ. ९२)

* मान्छे मरेर जान्छ तर मान्छेले पाएको ज्ञान पछिसम्मका लागि जोगाएर राख्ने एउटा ठुलो साधन किताब हो । (पृ.१२८) इत्यादि । उपन्यासमा प्रयोग गरिएका यस्ता ज्ञानवर्धक लहरहरूले किशोर मानसमा सकारात्मक ऊर्जा उत्पन्न गराउँछ ।

वर्तमान  समयमा  विज्ञान, प्रकृति र मानव समाज एकार्कामा गाँसिएका छन् । विज्ञान  विशिष्ट र व्यवस्थित ज्ञान हो । विज्ञान  र  प्रविधिको कारणले  नै  मानवसमाज समृद्धिको शिखरमा उभिएको छ । विज्ञान विषय विश्वव्यापी रुचिको विषय रहे तापनि नेपाली साहित्यमा विज्ञानसाहित्य अन्य भाषा साहित्यका तुलनामा धेरै कम लेखिएका छन् । नेपालबाट शङ्कर लामिछाने, विजयमल्ल, तुलसीराम कुँवर, कविताराम श्रेष्ठ, रमेश विकल, सरूभक्त, विजय चालिसे, इन्दिरा प्रसाईँ आदिले केही राम्रा राम्रा विज्ञान आख्यान नेपाली साहित्यलाई दिएका छन् अनि विज्ञानसाहित्यको विकासक्रम, प्रवृत्ति एवं सैद्धान्तिक पक्षबारे एकाध पुस्तकहरूमा चर्चा गरेको पाइन्छ ।  भारतीय नेपाली साहित्यमा मुक्ति उपाध्याय बरालले हिमाली (सन् २००६), मालती (सन् २०११ ), कान्छी (सन् २०१९ ) जस्ता विज्ञान उपन्यास दिएर उल्लेखनीय कार्य गरेका छन् । भारतका अन्य भाषा साहित्यको तुलनामा नेपाली साहित्यमा विज्ञानसाहित्य  धेरै कम लेखिएका छन् । शिशु साहित्य, बाल साहित्य , किशोर साहित्य बेग्ला बेग्लै हुन् । किशोर साहित्यको स्पष्ट  सीमाङ्कन हुन आवश्यक छ । पठनको क्षेत्रमा पाठकको रुचि सर्वोपरि हुन्छ ,यसैले किशोर मानसिकतालाई बुझेर उनीहरूमा रुचि जागृत गर्न सक्ने उपयोगी साहित्य लेखिएमा पठन संस्कृतिको विकास हुनेछ । यद्यपि भारतीय नेपाली साहित्यमा किशोर साहित्य लेखन उपेक्षित नै रहेको देखिन्छ ।

सन्दर्भ सामग्री –

 १. मालती ; मुक्ति उपाध्याय बराल; नेपाली साहित्य प्रचार समिति, दुर्गागढी, सन् २०११,सिलगढी ।

२. नरहरि आचार्य परिशिलन, सम्पा फणीन्द्र नेपाल साझा प्रकाशन ,वि.सं. २०५५, काठमाडौँ ।

३. भृकुटी;  विश्वविज्ञान आख्यान : एक समीक्षा- ईशान गौतम प्र.सम्पा.  मोदनाथ प्रश्रित; भृकुटी एकाडेमिक पब्लिकेसन,पूर्णाङ्क ९,वि. सं  २०६७, काठमाडौं ।

४. समकालीन साहित्य ; प्र. सम्पा. भाउपन्थी; विज्ञानकथा साहित्य र नेपालको स्थिति- विजय चालिसे; नेपाल प्रज्ञाप्रतिष्ठान,अङ्क २, पूर्णाङ्क-६४, वि.सं. २०६८; काठमाडौँ ।

प्रतिक्रिया
Loading...