प्रखर समालोचक तथा कवि नेत्र एटमका कविता छिटफुट रूपमा फेसबुकमा पढ्ने अवसर पाएकी हुँ । त्यही बेलादेखि नै उहाँका कविता पारम्परिक कविताभन्दा भिन्न प्रकृतिका लाग्थे । अहिले समग्र कविताहरू एउटै कृति `प्रिय मौनता´भित्र पढ्ने अवसर पाएँ । यस कृतिभित्रका कविताहरूलाई प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोधन, स्मृतिको क्याराभान र उपासनाको आलोक गरी पाँच भागमा वर्गीकरण गरिएको छ । यस कवितासङ्ग्रहमा जीवन जगत्का विविध पक्ष प्रेम, प्रकृति, समाज, राजनीति, जीवनदर्शनजस्ता विविध विषय आए तापनि सबैको केन्द्रमा प्रेममय आलोक नै प्रभावकारी बनेर अभिव्यक्त भएको छ । मौनता बाह्य रूपमा गड्गडाउने आवाजभन्दा अन्तरको शक्तिशाली तर स्वरविहीन आवाज हो । प्रस्तुत कवितासङ्ग्रह त्यही शक्तिशाली आवाजको उपासना हो ।
प्रणयको प्यासन
प्रणयको प्यासन खण्डभित्रका कविताहरूमा प्रेमिल भावहरू लहराएका छन् । नारी पात्रलाई विम्ब बनाएर सम्बोधन गरी लेखिएका यी कविताले प्रारम्भिक चरणमा पाठकमा प्रेमिल भाव उद्वेलित गराउँछन् तापनि पढ्दै जाँदा यिनले अन्य धेरै अर्थ वहन गरेको अनुभूति हुन्छ । यी कवितामा प्रेमी-प्रेमिकाको प्रेममात्र नभएर प्रकृतिप्रतिको प्रेम, समाजप्रतिको प्रेम तथा जीवनप्रतिकै प्रेम पनि पाउन सकिन्छ । यी कवितामा आफ्नो बौद्धिक स्तरअनुसार पाठकले फरक-फरक अर्थ भेट्न सक्छ र प्रत्येक पटकका पठनका अर्थ भिन्न हुन सक्छन् । नारी प्रेमको प्रतीक हो, प्रेम ऊर्जाको स्रोत हो र त्यो ऊर्जा जीवनको आधार हो । यही जीवनप्राप्तिका ऊर्जा यी कविताहरूमा पाइन्छ । प्रणयको प्यासनभित्रका कवितामा सम्बोध्य पात्र `तिमी´ प्रेमीका लागि स्नेही प्रेमिका, प्रकृतिप्रेमीका लागि विशाल प्रकृति तथा जीवनप्रेमीका लागि सुन्दर जीवन हो । मानिसले जीवनमा भोगेका उज्याला पक्षमा त प्रेममय भाव जागृत हुनु स्वाभाविक नै हो तर अँध्यारा पक्षलाई पनि प्रेममय भावमा अन्तर्घुलन गर्दै उज्यालो पक्षको आह्वान गर्नु प्रणयको प्यासनभित्रका कविताको वैशिष्ट्य हो । तिनैमध्येको ‘अनि…’ कविताको सानो अंशबाट यसलाई पुष्टि गर्न सकिन्छ :
एक झप्की निद्राको कोलाहलबाट
बिम्झिने छ
मौनताको मिर्मिरे बिहान
अनि छिमल्न थाल्ने छ अन्धकारका हाँगाहरू !
प्रिय सपना !
त्यसैबाट त सिर्जना हुन्छ नि
हामीले युगौँदेखि हृदयमा जोगाइराखेको
सगोल जिन्दगीको सुन्दर सङ्कथन !
यस कविताको सम्बोध्य पात्रका रूपमा ‘प्रिय सपना’ नारी पात्रलाई विम्बका रूपमा प्रयोग गरिएको छ । यहाँ प्रयोग भएको `सपना´ उज्यालोको प्रतीक हो । उज्यालो पक्षले नै जीवनमा सिर्जनाको ढोका खोल्छ । यहाँ कविको चाहना विगतको अचेतनको निद्राबाट बिउँझिएर चेतनाले सिर्जिएको जिन्दगीसँग सहयात्रा गर्ने रहेको छ ।
प्रमुदित प्रकृति

हेमा सुवेदी
`प्रिय मौनता´भित्र रहेको प्रमुदित प्रकृति खण्डमा चौधओटा कविताहरू रहेका छन् । प्रकृति र मानिसका बिच रहेको अन्योन्याश्रित सम्बन्धलाई आजको मानिसले भुल्दै गएको र प्रकृति एवम् पर्यावरणको विनाश गरेर मानिस व्यवसायमुखी बन्दै भौतिकतामा रमाएको समसामयिक विषयलाई यस खण्डका कविताले विमर्शमा ल्याएका छन् । यस खण्डभित्रको `……मान्छे’ मानिसले प्रकृतिमाथि गरेको दोहन र शोषणलाई प्रस्तुत गर्न सफल कविता हो । मानिसका महत्त्वाकाङ्क्षी जीवनशैलीले प्रकृतिलाई उपहास गर्दै आँसुको एसिड छ्यापेर कुरूप बनाइरहँदा पनि प्रकृति आफ्नो नैतिकता र कर्तव्यबाट कत्ति पनि विमुख नभई भविष्यको सुन्दर चित्र कोर्न मस्त रहेको छ । यी कविताहरूमा एकातिर विराट् प्रकृतिको अनुपम सौन्दर्यको अनुभूतिका साथ प्रकृतिप्रतिको अगाध प्रेम अभिव्यञ्जित भएको छ भने अर्कातिर प्राकृतिक विम्ब प्रयोग गर्दै त्यसलाई मानवीकरण गरेर समाजमा विद्यमान लैङ्गिक उत्पीडनको आलोचना र नारी सुन्दरताको पक्षपोषण गरिएको पनि पाइन्छ । प्रकृति र नारी जीवनलाई दाँजेर विश्लेषण गर्ने हो भने यस खण्डमा रहेको ‘उन्यु’ कवितामा दुवैको पीडा समान रहेको छ । वनस्पति जगत्मा उन्यु सीमान्तीकृत वनस्पति हो । सजिसजाउ बगैँचामा फुलेको फूलको तुलनामा ऊ अपहेलित, लाञ्छित र सौन्दर्यविहीन देखिन्छ । त्यसैगरी नेपाली समाजमा महिलाहरूको अवस्था पनि उन्युभन्दा खासै फरक छैन । पितृसत्तात्मक समाजबाट सीमान्तमा पुर्याइएका महिलाहरूको जीवन पनि उन्युको जस्तै अपहेलित, शोषित, लाञ्छित र सौन्दर्यहीन बनेको छ तर सुन्दर बगैँचामा ढकमकाएर फुल्ने फूलभन्दा खण्डहरमा उम्रिएको उन्युमा फरक क्षमता, पहिचान र सम्भावनाका ढोकाहरू रहेको वैचारिकी कविले प्रस्तुत गर्नुभएको छ । उन्युप्रतिको कविको अथाह प्रेम र सम्मान कवितामा यसरी प्रकट हुन्छ :
पातमै बिउ उमार्ने तिम्रो कला
जराबाटै पुष्पित हुने तिम्रो सामर्थ्य
धर्तीतिर निहुरिएको तिम्रो समर्पण
र ओसमा फैलिएको स्वाभिमान
यी सबैलाई सिङ्गो जीवनजत्तिकै
प्रेम गर्छु म
तिम्रा झर्दै गरेका पातहरूलाई
तिम्रा पलाउँदै गरेका निगुराहरूलाई
तिम्रा जर्जर हुँदै गरेका जराहरूलाई
सम्पूर्णत: पृथक् तिमीलाई ….
समाजमा उन्युरूपी नारीहरू प्रत्येक समय र स्थानमा आफूभित्र रहेको क्षमता र सौन्दर्यलाई बन्द गरी बसेका छन् । तिनै नारीहरूका लागि अँध्यारोको पर्दा च्यातेर उज्यालो पक्षको ढोका खोल्ने ऊर्जाको स्रोत हो यो कविता । नारी कमजोर हुन्छन्, पुरुषसरह काम गर्न सक्तैनन् भन्ने पितृसत्तात्मक सोचप्रतिको प्रतीकात्मक दृष्टिले झटारो पनि हो यो कविता । समग्रमा भन्दा प्राकृतिक विम्ब उन्युको प्रयोग गर्दै समाजमा पाखा पारिएका नारी वर्गमा रहेका सम्भावना, पृथक् क्षमताको पहिचानको खोजी तथा जीवनप्रतिकै ऊर्जाको स्रोतका रूपमा प्रकृतिप्रति समर्पित यी कविताहरू रहेका छन् ।
अभीप्साको उद्बोधन
`प्रिय मौनता´भित्रको अभीप्साको उद्बोधन खण्डभित्र नौ ओटा कविताहरू समेटिएका छन् । यी कविताहरूमा समाजमा विद्यमान राजनीतिक, जातीय र लैङ्गिक मुद्दाहरूले प्रश्रय पाएका छन् । पुँजीवादको विकाससँगै आफ्नो स्वार्थ सिद्धिमा लिप्त मानवले मानवलाई नै अनेक कुटिल जाल रचेर दास बनाउने र हिंसा गर्ने प्रवृत्ति बढ्दो छ । फ्रान्सेली दार्शनिक मिसेल फुकोका अनुसार शक्ति अफिस, स्कुल वा पारिवारिक एकाइभित्र पनि रहेको हुन्छ । त्यही शक्ति प्रदर्शनका निम्ति आफू खोक्रो हुँदाहुँदै पनि अहंको खोल ओढेर भ्रमको खेती गर्दै हिंड्ने मानिसहरू सामाजिक संरचनाका संस्थाहरू परिवार, अफिसदेखि विद्यालय तथा उच्च शिक्षाको तह विश्वविद्यालयसम्म जहीँतहीँ रहेको कुरालाई यस खण्डमा रहेको `मिथ्या मान्छे´ कविताले यसरी प्रस्तुत गरेको छ :
बारुद सकिएका सलाईका काँटीजस्ता
यी खोक्रा मान्छेहरू
आफू वरिपरि पुराना अहंका खोल बनाउँछन्
र प्युपाजस्ता निस्तेज इन्द्रियहरूमा
षड्यन्त्रको कुरूप धार लगाउँछन्
विवेकलाई बन्दकी राखेर
रित्तोपनको वाचाल भ्रम फैलाउन
कुटिल बुख्याँचाहरू खडा गरेर चिन्तनका खेतभरि
सत्ताका विकृत डम्मीहरू उत्पादन गर्छन् ।
सलाईको काँटीमा बारुद सकिएजस्ता ज्ञानहीन र प्युपाजस्ता कमजोर र निस्तेज मानिसहरू शक्ति प्रदर्शन गरिरहेको समसामयिक सामन्तवादी संस्कृतिलाई यस कवितांशले उद्घाटन गरेको छ । फुकोले जहाँ शक्तिको अभ्यास देखा पर्छ, त्यहाँ नै त्यसको प्रतिरोधको सम्भावना पनि साथसाथै मौलाउँछ भनेझैँ यस कवितामा पनि मिथ्या मान्छेहरूलाई अहंको खोक्रो खोल ओढेर भ्रमको खेती गर्नुभन्दा चिन्तनको चौतारीमा सिर्जनाका निम्ति प्रतिस्पर्धामा उत्रन आह्वान गरिएको छ । यसैगरी यस खण्डभित्रका कवितामा वर्तमान नेपाली राजनीतिक यथार्थको वास्तविक चित्र पनि उतारिएको पाइन्छ । पछिल्लो समयमा नेपाली राजनीतिमा जनआन्दोलनपश्चात् राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना त भयो तर जनताले लोकतन्त्रको अनुभूति गर्न पाएनन् । बहुसङ्ख्यक जनताको साथ र समर्थन पाएका वामपन्थीहरू सत्तामा पुगे पनि आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भएर जनताको भावना तथा आस्थामा कुठाराघात गरेको प्रसङ्गलाई देब्रे चप्पलको फित्ता कविताले यसरी अभिव्यञ्यित गरेको छ :
च्वाट्ट च्वाट्ट छोएर पैताला
बज्दैन कतै शकुनको तीखो धुन
यात्राको गन्तव्य ताकेर लम्किरहेको
आउँदैन गतिशील आवाज
प्रस्तुत कवितांशमा कविद्वारा नेपाली राजनीतिमा देखा परेको असङ्गति र कमजोरीलाई चुँडिएको देब्रे चप्पलको फितासँग तुलना गर्दै वामपन्थीहरू आफ्नो गन्तव्यलाई बिर्सिएर सैद्धान्तिक धरातलबाट नै उछिट्टिएको र जनताका आशाहरूलाई भत्काएर आफैँ कमजोर बन्दै गएको कुरालाई अभिव्यक्त गरिएको छ ।
समाजमा व्याप्त जातीय र लैङ्गिक विभेदजस्ता सामाजिक विसङ्गतिलाई पनि यस खण्डका कविताले आफ्नो विषय बनाएका छन् । भारतको केरलास्थित चेरथलकी दलित महिलाले आफ्नो लाज छोप्न स्तन ढाक्दा कर तिर्नुपर्ने तत्कालीन व्यवस्थाविरुद्ध गरेको विद्रोहलाई नङ्गेली ब्लुज कविताले अभिव्यक्त गरेको छ, जहाँ नङ्गेली आफू दलित जातिकी महिला भएकै कारण आफ्नो स्तन ढाक्दा लागाइएको करस्वरूप पैसा नतिरी आफ्नो स्तन नै काटेर सुम्पिँदा अत्यधिक रक्तस्रावका कारण मृत्युवरण गर्नुपरेको ऐतिहासिक यथार्थ प्रस्तुत छ । यस कवितामा अलिखित इतिहासको गर्भभित्र लुकेको नङ्गेलीको विषयलाई लिएर प्रत्येक भूगोल र समयमा जरा गाडेर बसेको जातीय र लैङ्गिक हिंसाको प्रतिरोधमा उत्रन यसरी आह्वान गरिएको छ :
जुटाऊ हिम्मत नङ्गेली
जुधाऊ आँखा
उठाऊ हँसिया
र काट सत्ताको टालोमा जमेको जातको नृशंस शिश्न
च्वाट्ट!
जसरी काट्छ्यौ नि बारीको रुखो उखु
अनि
तिर, रगत चुहिँदै गरेको आलो मासुको कर
तत्कालीन समयमा सामाजिक रूपले किनारीकृत अवस्थामा दलित महिलाप्रति गरिएको हिंसात्मक व्यवहार वर्तमान समयमा पनि उस्तै अवस्थामा रहेको छ । नेपाली समाजमा पितृसत्ता, प्रभुत्व तथा सत्ता र शक्तिको आडमा महिलामाथि जघन्य हिंसाहरू हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा नङ्गेलीजस्ता धेरै महिलाहरूले भ्रूणहत्या गरी पाठेघरबाट रगत चुहाउँदै, जीवनभर शोषण र दमनलाई छातीभित्र लुकाएर आँसु बगाउँदै र ती पीडा र दमनलाई सहन नसकेर जीवन नै समाप्त गरेर अघोषित कर तिरिरहेका छन् । नेपाली समाजका तिनै सम्पूर्ण नङ्गेलीहरूका निम्ति यो कविता शक्तिको स्रोत बनेको छ । अभीप्साको उद्बोधनभित्रको कविता `अन्धकार´ मा कोरोना कहरमा हामीले भोगेका नमीठा वास्तविकतालाई प्रस्तुत गरिएको छ । जर्मनेली कवि योहाङ गोथेको काव्यनाटकको पात्र फाउस्टलाई विम्ब बनाएर लेखिएको यस कवितामा कोरोना कहर कालमा मेफिस्टोफिलिजजस्ता व्यक्तिको पछि लागेर नेतृत्वकर्ताले लकडाउनको समयमा जनताको संवेदनालाई बुझ्न नसकेको, जनताको आँसुमा लकडाउन हुन नसकेको, जनताहरू डर र त्रासबाट मुक्त हुन नसकेको साथै समाजमा झनै अराजकता बढ्दै गएको कुरालाई यसरी अभिव्यक्त गरिएको छ :
प्रिय फाउस्ट
देख्दादेख्दै
अराजकताको क्यारीमा कसरी फस्टाइरहेछ
तिम्रो अहम्को थाँक्रोमा सिरान लगाएर उभिएको
अलमस्त कहरको यो क्यामेलिया !
यहाँ राज्यको नेतृत्व गर्ने पक्ष नै कोरोना कहरको समयमा व्यक्तिगत स्वार्थमा रहेर आर्थिक तथा सत्ताको लोभमा परेर अराजक बन्दै गरेको र कोरोना नियन्त्रण गर्नुको सट्टा फैलाएर जनतालाई घरभित्रै बस्न बाध्य बनाएको यथार्थलाई प्रस्तुत गरिएको छ । यी कविताहरूमा कविले समाजका विद्यमान राजनीतिक, जातीय, लैङ्गिक असङ्गतिहरूलाई विषय बनाएर त्यस्ता प्रवृत्तिप्रति प्रतिरोधी चेतनाको स्वर दिनुका साथै प्रत्येक कवितालाई प्रेममय आलोकमा अन्तर्घुलन गर्दै आशाको दियो पनि बालेको पाइन्छ । `सम्भावनाको सन्झ्याल´ कवितामा अत्याचारी र विभेदमूलक रोमन सत्ताका विरुद्ध शौर्यपूर्ण युद्ध गरेका ग्ल्याडिएटर दासहरूका नेता तथा योद्धा स्पार्टाकस इतिहासको जङ्गलबाट हुरी लिएर आई विभेदरूपी कसिङ्गरलाई उडाएर लगेको सपना देखिएको छ । त्यही हुरीले पीडाको प्रतिशोधमा मौन रहेको विचारलाई उठाएर र सुषुप्त रहेको आत्मविश्वासलाई जगाउँदै सम्भावनाको ढोका खोल्न जागरुक हुनुपर्ने विचार यसरी अभिव्यक्त गरिएको छ :
प्रिय शौर्य
हल्लाइराख मलाई
अझै बिथोलिराख मलाई
स्थिर हुन नपाओस् यो चिन्तनको पोखरी
उत्ताल छाल बनेर
भत्काउनु छ मलाई त
ऐँजेरुझैँ उम्रेका विभेदका जडवत् तटबन्धहरू
र देखाउनु छ मलाई त
अङ्कुराउन बाँकी कति – कति सम्भावनाका सन्झ्यालहरू
यहाँ स्पार्टाकसलाई सम्बोधन गर्दै सामाजिक जीवनमा भएका नकारात्मक कुराहरूको अन्त्य गरी, समाजमा ऐँजेरुझैँ उम्रेका विभेदहरू भत्काउँदै सकारात्मक किरणहरू छरेर सम्भावनाका अङ्कुरहरू उमार्ने अठोट गरिएको छ ।
स्मृतिको क्याराभान
`प्रिय मौनता´ कवितासङ्ग्रहको स्मृतिको क्याराभान खण्डभित्र मानवीय जीवनका विविध पक्षका स्मृतिहरू सँगालिएका सातओटा कविताहरू रहेका छन् । समयको अन्तरालबाट आफ्ना निकट मान्छे तथा घटनालाई सम्झिनुको आनन्द यी कवितामा रहेको छ । आफूलाई जन्म दिने आमासँगका जन्म र बाल्यकालका स्मृतिहरू सुखद पल बनेर `दृश्य र दृष्टि´ कवितामा यसरी अभिव्यक्त गरिएको छ :
आमा !
त्यो `म´ नै थिएँ र ?
होलान् बाल्यकालकै यी मुट्ठी र मुटु
अहिलेसम्म पनि
कतै परिवर्तन गरेको छैन मैले त्यो दृढता
र त
पहिलोपटक आँखा खोलेको बेलाको जस्तै
सुन्दर लाग्छ अहिलेको हरेक क्षण
अनि उत्तिकै कौतुकमय लाग्छ यो संसार पनि…..
प्रस्तुत कवितांशमा कविद्वारा वर्तमानमा टेकेर आफू जन्मदाको समयको स्मृतिको पाना पाना पल्टाउने काम भएको छ । आफू जन्मदा जुन दृढता र अठोटले मुट्ठी कसिएको थियो वर्तमानमा पनि त्यो दृढतामा कुनै परिवर्तन नआएको र सर्वप्रथम आँखा खोल्दा यो संसारलाई हेर्ने जुन कुतूहल थियो, त्यो कुतूहल हरक्षण जस्ताको तस्तै रहेको कुरा अभिव्यक्त गरिएको छ । त्यसैगरी यस खण्डका कवितामा अतीतप्रतिको प्रेम र अनुभवहरू प्रकट हुनुका साथै कसैको प्रभावबाट मुक्त हुँदै आफ्नै परिश्रमले आफ्नो पहिचान बनाउने आकाङ्क्षा पनि उद्घाटित भएको छ ।
हरेक मान्छे आफ्नै भिन्न परिचय आफैँ बनाउन चाहन्छ तर उसको शरीरका कोषकोषमा पितापुर्खाका आनुवंशिक गुणहरू परिचयका रूपमा आएकै हुन्छन् । यसमा रहेको प्रभावको चिन्ता कवितामा पिताबाट भिन्न हुन चाहने तर उनको विशिष्टता अनुहारमा रहने विडम्बनालाई यसरी प्रकट गरिएको छ –
जब हेरेँ मैले एनामा
उठेर एकाबिहानै
छाँगाबाट खसेझैँ भएँ म…
किनकि
थिइनँ म प्रतिविम्बमा कतै पनि
पुनर्जीवित थिए विपरीत गहिराइमा
त्यहाँ त
केवल तिम्रै प्रतिरूप
यसमा जीवन अतीतको पुनरावृत्तिकै आधार हो भन्ने पुष्टि भएको छ । समयको सानो आलीमा हिँड्दाहिँड्दै बढिरहने स्मृति पनि बाँच्ने एउटा मिठो बहाना पनि हो भन्ने यसले देखाएको छ ।
उपासनाको आलोक
प्रिय मौनता भित्रको अन्तिम खण्ड उपासनाको आलोकभित्र बाह्र ओटा कविताहरू समेटिएका छन् । बौद्ध दर्शनबाट प्रभावित यी कविताले प्रेम र बुद्धत्वजस्ता गहन विषयलाई समेत उठान गरेका छन् । आफूभित्र सुषुप्त अवस्थामा रहेको बुद्धत्वलाई पहिचान गरी त्यसलाई बाह्य प्रकटीकरणका लागि साधना गर्नुपर्ने विचार यस खण्डका कवितामा अभिव्यक्त गरेको पाइन्छ । प्रत्येक मानिसमा आफूभित्र एउटा ज्ञानको संसार रहेको हुन्छ र आफूभित्र रहेको अन्धकारको पर्दालाई च्यातेर त्यही ज्ञानका आँखाले आफैँलाई नियाल्दा त्यो संसार देख्न सकिन्छ जहाँ अथाह शक्ति, सम्भावना र जीवनमा सकारात्मक ऊर्जा भर्ने प्रेममय आलोक रहेको छ । यी कविता त्यही संसार चियाउने आँखीझ्याल हुन् । यसरी आफूभित्र रहेको निष्क्रिय लार्भालाई पुतलीमा परिणत गरेर सक्रिय रूपमा उडान भर्न सके पराधीनताबाट मुक्त भई स्वतन्त्र जीवन बाँच्न सकिने कुरा `स्वतन्त्रता´ कवितामा यसरी प्रस्तुत गरिएको छ :
कसैको
साँघुरो ढोकाबाट पस्नकै निम्ति
खुम्च्याउन्नँ
आफ्ना
अनन्त आकाशमा कावा खाने
असारे पखेटा
झुकाउन्नँ
सिलिङ्मा ठोकिएला भनेर
हरेक दु:खमा निरन्तर सङ्घर्ष गरिरहने
मन्दिरको गजुरजस्तो शिर
प्रस्तुत कवितांशमा ढोका, असारे बादलजस्ता पखेटा, मन्दिरको गजुरजस्ता विम्ब प्रयोग गरी कवितालाई विम्बात्मक बनाइएको छ, जसले कविभित्रको आत्मविश्वासलाई सतिसालझैँ दरो रूपमा खडा गरेको छ । आफ्नो स्वत्व, क्षमता र पहिचानलाई नै भुलेर साँघुरो सोचाइ भएका मानिसहरूसँगको पानीको फोकाजस्तो क्षणभङ्गुर सम्बन्धमा अल्झिन आफ्ना कर्मशील असारे पखेटा खुम्चन नदिने र आफ्नै कर्म तथा सङ्घर्षले सगरमाथा छुन सङ्घर्ष गरिरहेको शिरलाई झुक्न नदिने विचार उक्त कवितांशले अभिव्यञ्जित गरेको छ । ज्ञान लिने बाहनामा मानिस चारैतिर भौँतारिएको छ । आफूभित्रको चिन्तनको उर्वर भूमि र समयलाई चिन्न नसकेर त्यो भूमि बाँझो पारिरहेको छ र अमूल्य समय बर्बाद गरिरहेको छ । आफैँलाई चिन्न सक्नु नै सबैभन्दा ठुलो ज्ञान हो भन्ने कुराको बोध गरी आफ्नै अन्तर्हृदयसँग संवाद गर्दै चेतनाको दीपसँग बलेर त्यही उज्यालोको मार्गबाट आत्मासँग साक्षात्कार गरी निर्वाण प्राप्तिका लागि शान्ति र ज्ञानको शरणमा पुग्ने तीव्र अभिलाषा अन्तर्संवाद कवितामा यसरी प्रकट गरिएको छ :
आफैँभित्रको दीपसँग बलेर
त्यही आलोकको बाटो भएर
शान्तिको शरणमा जान्छु
उज्यालोको आँगनमा जान्छु
बुद्धम शरणम् गच्छामि !
हामी जसलाई अधिक माया, प्रेम गर्छौँ, त्यसप्रति हाम्रो आसक्ति पनि बढ्छ, जसका कारण हामी ऊसँगको विछोडको कल्पना पनि गर्न सक्तैनौँ । मानिसले सबैभन्दा बढी आफ्नै जीवनसँग प्रेम गरेको हुन्छ । जन्म र मृत्यु स्वाभाविक प्रक्रिया हुन् भन्ने जीवन दर्शन जान्दाजान्दै पनि मानिस जिन्दगीको यात्रामा समयले कोल्टो फेरेर जिन्दगी अस्ताउन लाग्दा यसप्रतिको मोह झन्झन् चुलिँदै गएको कुरा `आसक्ति´ कवितामा यसरी प्रस्तुत गरिएको छ :
केही छिनमा छुट्टिनु नै छ भने तिमीसित
प्रिय सुप्रिता
झन् झन् किन यति धेरै आकर्षण
फेरि पनि
यही अपुरो जिन्दगीप्रति
यसमा जीवनप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने क्रममा नारी पात्र `सुप्रिता´लाई विम्बका रूपमा प्रयोग गरिएको छ । सुपृता मानव जीवनको विम्ब हो । जीवनको अन्तिम क्षणमा पुग्दाको समयमा जीवनको क्षणभङ्गुरता जान्दाजान्दै पनि यसप्रति झनै आकर्षण बढेको जीवनवादी विचार यहाँ प्रस्तुत गरिएको छ ।
समग्रमा भन्दा शिखा बुक्सले प्रकाशन गरेको, डा. पुष्प दमाइले विशेष भूमिका लेखेको र ब्लर्बमा सुजिता भण्डारीको गहन समीक्षा रहेको `प्रिय मौनता´ कवितासङ्ग्रहले नीरवभित्रै पनि समाजका विविध पक्षमा रहेका विकृति विसङ्गतिविरुद्ध शक्तिशाली आवाज लिएर आएको छ । यहाँ रहेका सबै कवितामा प्रमुख रूपमा प्रेमले प्रश्रय पाएको छ । मानवीय जीवनका विविध पक्ष प्रेम, प्रकृति, समाज, राजनीति आदिलाई विषय बनाई लेखिएका यी कवितामा सामाजिक, लैङ्गिक, वर्गीय तथा राजनीतिक समस्याहरूलाई उद्घाटन गर्दै ती समस्याहरू विरुद्ध प्रतिरोध पनि गरिएको छ ।
यी कवितामा मानवीय मूल्य स्थापनार्थ समाजका विकृति र विसङ्गतिप्रति वर्षाको खहरेजस्तो आवेग मात्र नभई शालीन विद्रोह पनि गरिएको छ । यहाँ रहेका प्रत्येक कविताले समाजका असङ्गत पक्षमात्र उठान नगरी सम्भावना तथा आशाको दीप बाल्ने काम पनि गरेका छन् । कवितामा जीवन र जगत्का अनुभूतिलाई प्रकट गर्न विम्ब, प्रतीक, मिथक जस्ता सुन्दर उपकरणको प्रयोग गरी सौन्दर्य प्रदान गर्दा कविता अधिक बौद्धिक भने बनेका छन् । सामान्य पाठकका निम्ति प्रस्तुत कृति स्तर बढाउने अवसर हो भने बौद्धिक पाठकका निम्ति चाहिँ सैन्दर्यकै उपासना गर्ने सुन्दर मञ्च । `प्रिय मौनता´ कवितासङ्ग्रहका कविता मौनतामै पनि वाचाल छन् तर सबैका लागि पठनीय रहनुका साथै साहित्यिक अनुसन्धानमा लागेका अनुसन्धाताहरूका लागि समेत विभिन्न आयामबाट अध्ययनीय रहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

