नेपाली साहित्यको कविता विधाका अनवरत साधक राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं.१९७६–२०७७) बालकविताका क्षेत्रमा समेत उत्तिकै सफल, सशक्त र दरा स्तम्भ हुन् । आधुनिक नेपाली साहित्यको परिष्कारवादी भावधारा र स्वच्छन्दतावादी शैलीशिल्पका अविच्छिन्न सर्जक कवि घिमिरे बालकविता विधातर्फ प्रखर र ओजस्वी व्यक्तित्वका रूपमा देखा पर्दछन् । नेपाली बालकविताका क्षेत्रमा उनको योगदान अतुलनीय, उल्लेखनीय र सराहनीय छ । जीवनको उत्तरार्धमा आइपुग्दासमेत बाल्यजीवनलाई सम्झने र बालमनोविज्ञानलाई बुझ्ने सामर्थ्य बोकेका घिमिरे बालबालिकाको मन जित्न निकै सक्षम देखिन्छन् । उनका बालकवितामा शाब्दिक क्लिष्टता, शैलीगत विचित्रता, भावगत दुर्बोध्यता र भाषिक दुरुहताको अभाव छ । कवि घिमिरेको बालकाव्यकारिताका अध्येता मोहनप्रसाद घिमिरेका अनुसार बालकहरूका भावनालाई च्याप्प पक्रेर बाल्यजिब्रोबाट तोतेबोली निकाल्न सक्ने घिमिरे आफैँ बालक बन्न सफल छन् ।
वि.सं. २००५ मा गाउँसहर लमजुङको आधार स्कुलमा प्रधानाध्यापक भए ताका नै उनले बालकविता र बालगीतको रचना गर्न थालेका हुन् । बालसाहित्यतर्फ उनका ‘घामपानी’, ‘बालालहरी’ र ‘सुनपङ्खी चरी’ लगायतका बालकवितासङ्ग्रहहरू प्रकाशित छन् । ‘घामपानी’ बालकवितासङ्ग्रहबाट बालसाहित्यिक यात्राको थालनी गरेका घिमिरे ‘बालालहरी’सम्म आइपुग्दा पनि उत्तिकै सशक्त र बेजोड देखिन्छन् भने ‘सुनपङ्खी चरी’मा पनि त्यो प्रवृत्ति अझ जुर्मुराएको पाइन्छ । साहित्यकार एवं समीक्षक प्रमोद प्रधानका अनुसार बालबालिकाह

राष्ट्रकवि माधवप्रसाद घिमिरे
रूको रुचि, उनीहरूको दैनन्दिनी र मनोविज्ञान, बालभाषाको प्रयोग र मनोरञ्जनलाई सूक्ष्म अध्ययन गरी लेखिएका कवि घिमिरेका बालकविताहरू नेपाली बालसाहित्यकै महत्त्वपूर्ण प्राप्ति हुन् । कवि माधव घिमिरेले ‘बालालहरी’ कवितासङ्ग्रहको भूमिकामा बालबालिकाहरूले गाउने गीतमा उनीहरूको अङ्ग–प्रत्यङ्ग चल्नुपर्छ र सारा हृदय नै ढल्नुपर्छ भनेर आफ्नो अनुभव बताएका छन् । बालजिज्ञासा, बालचञ्चलता, बालअभिरुचि र बालसुलभ सरलतालाई आधार बनाई बालगीत र बालकविताको रचना गर्ने यिनै कवि माधवप्रसाद घिमिरेको ‘घामपानी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत ‘ढिकी र जाँताको सवाई’, ‘बस बस, माहुरी’ र ‘नदी’ गरी तीन बालकविताको यहाँ विवेचना गर्ने प्रयास गरिएको छ ।
१. ढिकी र जाँताको सवाई–

रमेशचन्द्र घिमिरे
‘ढिकी र जाँताको सवाई’ बालकविता ‘घामपानी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत रोचक र सन्देशमूलक बालकविता हो । दुई पाउको एक श्लोक मानेर हेर्दा यसमा १३ श्लोक र २६ पङक्ति रहेका छन् । सवाई लोकछन्दमा रचित यस बालकवितामा नेपाली लोकजीवनको छाप र प्रभाव रहेको भेटिन्छ । ढिकी र जाँतोजस्ता परम्परागत घरायसी यन्त्रको मानवीकरण गर्दै कविले सुललित र बालसुलभ भाषाशैलीको प्रयोग यसमा गरेका छन् । झिनो आख्यान बोकेको यस कवितामा ढिकी र जाँतोको आपसी झगडा र अहंलाई कविले रोचक ढङ्गमा प्रस्तुत गरेका छन् । कविताको भावार्थ यस्तो छ-
दैनिक व्यवहारमा प्रयोगमा आउने मानवीय साधन ढिकी र जाँतोको प्रायः झगडा भइरहन्छ । पिसानीका लागि प्रचलनमा ल्याइने जाँतो र कुटानीका लागि प्रचलनमा ल्याइने ढिकी क्रमशः पिँढी र ढिकरीमा बसी निहुँ खोज्ने गर्छन् । एक बिहान जाँतोले ढिकीलाई दुई पाथी धान खाएर एक पाथी लुकाउँछेस् भन्ने अभियोग लगायो भने ढिकीले जाँतोलाई पनि एक माना खाई दुई माना हग्छस् भन्ने आरोप लगायो । जाँतो र ढिकीको झगडा (कलह) छिन्न फलामे मेसिन (कल) आएपछि जाँतोलाई कमिलाले बोकेर हिमालमा लग्यो अनि ढिकीचाहिँ वाग्लेको घरमा पल्टिरह्यो ।
अरूको अधीनमा रहनेले आपसमा मिलजुल गरेर बस्नुपर्दछ, झगडा गर्नुहुँदैन भन्ने नैतिक सन्देश यस कविताले दिएको छ । यान्त्रिकीकृत हुँदै गएको सहरी सभ्यतालाई बिर्सेर कवि यस बालकवितामार्फत गाउँघरतिर फर्केका छन् । प्राकृतिक साधनकै उपयोग गरेर काठबाट बनाइने ढिकी र ढुङ्गाबाट बनाइने जाँतोको परिचय पाउन यस कविताले बालपाठकलाई निकै सघाएको छ । ढिकीले उफ्रने र जाँतोले घुम्ने काम गर्दो रहेछ भन्ने जानकारी पनि कलिला बालपाठकले यस कवितामार्फत प्राप्त गर्न सक्दछन् । समीक्षक बासुदेव शर्मा लुइँटेलका अनुसार यसमा कविले हाँसोको मिठासका साथै व्यङ्ग्यको तीतो पनि पोखेका छन् । विवेच्य कवितामा ढिकी र जाँतोको संवादमा हाँसो मिसिएको छ भने अल्छी र खन्चुवा दासहरू एकापसमा दोषारोपण गरेर भुल्दा घरेलु उद्योगहरू लोप हुन पुगेको व्यङ्ग्य पनि घोलिएको छ । जाँतो र ढिकीको परिचय लेखकीय भाषामा नभई कविले पात्रको संवादबाट प्रस्तुत गरेका छन् । यस कवितामा जाँताले एकातिर ढिकीलाई नराम्ररी गाली गरेको छ भने अर्कातिर उसको परिचय पनि दिएको छ, ढिकीले पनि त्यसै गरेको छ । जस्तै –
ओखलको मुख तेरो भरिँदैन खाएर
दिनभरि पल्टिराख्छेस् उपरखुट्टी लाएर
××× ××× ××× ×××
भुँडी तेरो घ्याम्पा जत्रो मुख तेरो खुँडे
पाहुनाझैँ पिँढीमा बस्छस् बडो भुँडे
ढिकीलाई स्त्रीलिङ्गी र जाँतोलाई पुलिङ्गी क्रियापदको प्रयोग गरेर लेखिएको यस बालकवितामा कविले नेपाली ठेट शब्द तथा झर्रो शब्दको स्वाभाविक प्रयोग गरेका छन् । ढिकी र जाँताको स्थान आधुनिक मेसिनले आगटेपछि ढिकी बेकम्मा भई त्यसै पल्टेको छ भने जाँतो पनि कमिलाको घरजस्तो भएको छ र दुर्गम गाउँतिर उकालो लागेको छ भन्ने रहस्य कविताको अन्तिम पङ्क्तिमा खुल्न आएको छ । ‘भाइ फुटे गँवार लुटे’ भनेझैँ झगडाको फाइदा उठाएर आधुनिक मेसिनले नेपाली समाजमा प्रवेश पाएको र यस्ता घरेलु उद्योगका साधनहरू क्रमशः विस्थापित हुँदै गएको सन्दर्भ यसमा गाँसिएको छ । कमिलाले जाँतो बोकेर हिमालमा लगेको अतिशय कल्पनाको अस्वाभाविक प्रसङ्ग जोड्नुचाहिँ यस कविताको दुर्बल पक्ष हो । जे भए पनि यो बालकविता पढेर बालपाठकले काल्पनिक आनन्दको अनुभूतचाहिँ गर्न सक्छन् ।
२. बस बस, माहुरी-
‘बस बस, माहुरी’ बालकवितामा प्राकृतिक कीटपतङ्गमध्येको मानवेतर मौरीलाई विषयवस्तु बनाई त्यसैसँगको एकालाप प्रस्तुत गरिएको छ । पहिलो र दोस्रोका ६ वटा र तेस्रोका ७ वटा पङ्क्तिपुञ्जसहित तीनवटा अनुच्छेदमा संरचित यस बालकवितामा १९ पङ्क्ति रहेका छन् । केटाकेटीले गाउन रुचाउने लोकभाषामा कविले यस कविताको रचना गरेका छन् । कविताको भावार्थ यसप्रकार रहेको छः
उड्दै–उड्दै आएर आफ्नो घरमा रोकिएका मौरीलाई बालक बनेका कविले निमन्त्रणा दिँदै बुधबार जाउली भन्ने मायालु अनुरोध गरेका छन् । काँक्री बियाजस्तो कोठामा बस्न, सुनजस्तै पहेँलो पटुकी लगाउन र बिर्तास्वरूप तोरीबारी र फूलबारी लिन पाउनेछौ अनि रानीलाई अगाडि लगाएर चर्न पनि जानेछौ । कान्लामा प्याउली फुल्ने र वनमा न्याउली गाउने समयमा फूलको कचौरीमा मह खानेछौ । वनमा तिम्रो चर्को आवाज सुनिनेछ, तिम्रै सौन्दर्यमात्र पोखिनेछ र तिम्रै मात्र एकछत्र राज हुनेछ । तिमीले पुतली र अप्सराको पनि वास्ता गर्ने छैनौ । हाम्रो घरको घारमा महको रास लगाएर तीन महिनाको परिश्रमले वर्ष दिनसम्म मह खानेछौ र हामीलाई पनि खुवाउनेछौ । हामीलाई मह खुवाएको धर्मले छोराछोरी पाएर तिनीहरूलाई नाच्न लगाउनेछौ भने आफूचाहिँ गीत गाउनेछौ पछि उडेर स्वर्ग जानेछौ ।
पुण्य गरे स्वर्ग गइन्छ भन्ने भाव अभिव्यञ्जित भएको यस कवितामा मौरीको परिश्रम, एकता र उदारताको महिमागान गाइएको छ । मौरीको गुणात्मक गुनगान गरिएको यस बालकवितामा मौरीले गर्ने कामको प्रशंसासमेत कविले गरेका छन् । सुरुदेखि अन्तिमसम्म तुकबन्दीको समान योजना रहेको विवेच्य कवितामा कविले उपमा अलङ्कारको प्रयोग यसरी गरेका छन् –
काँक्री बियाँ जस्ता कोठा तिमी पाउली
सुनजस्तो पहेँलो पटुकी तिमी लाउली
३. नदी-
‘नदी’ बालकविता शास्त्रीय वर्णमात्रिक छन्दअन्तर्गतको उपजाति छन्दका ४ श्लोक र १६ पङ्क्तिमा संरचित रहेको देखिन्छ । प्राकृतिक विषयवस्तुमा रचिएको यस बालकवितामा हिमालबाट यात्रा सुरु गरेर पहाड छिचोल्दै तराईतिर झरेको र समुद्रलाई भेट्ने लक्ष्य बनाएर अनवरत बगिरहेको नदीको महत्त्वलाई प्रकाश पार्न खोजिएको छ । कविताको भावार्थ यस्तो छ-
पर्वतबाट झरेकी सानी नदी सुसाउँदै, कराउँदै अनि हाहा र हुहु गर्दै खोला र नालारूपी हजारौँ सँगिनीहरूसँग मिलेर वनको पुछारमा निस्किन्छिन् । वनका रुखबिरुवाको आकृति नदीमा प्रतिविम्बित भएपछि घामछायाको एउटा रमाइलो बगैँचा देखा पर्दछ र त्यसैमा उनी लट्टा फिँजाउँदै ढुङ्गा खिइएर बनेका र पानीको बेगले गर्दा छिरलिएर रहेका मसिना गिटी (गट्टा) सँग खेल्छिन् । नदीसँग पाखा र पहरालाई लछार्ने तथा ढुङ्गा र मुढालाई पछार्ने सामथ्र्य छ । बाढी आएको समयमाा पैह्रो खसाल्दै पर्वतराजलाई समेत नदीले थर्काएकी र चुनौती दिएकी हुन्छिन् । नदीको काम रिसाउने, गर्जने र थर्काउने मात्र होइन खेत, टारी र पाखालाई सिञ्चित गराउनु पनि हो । नदीले आफ्नो पानीले पहाडका पाखामा अझ हरियाली थपेकी हुन्छिन् । रोकिन नजान्ने र छेकिन नमान्ने नदीको यात्रा अनन्त छ । समुद्रलाई भेट्नु उनको उद्देश्य हो ।
अन्त्यानुप्रासको अनुशासनमा बाँधिएको यस कवितामा अनुकरणात्मक तथा ठेट नेपाली शब्दको प्रयोग गरिएको छ । बालबालिकाले नै सजिलैसँग गाउन मिल्ने उपजाति छन्दमा रचित यस कवितामा दुरुहताको अभाव छ । नदीलाई स्त्रीका रूपमा लिँदै प्रकृतिको मानवीकरण गरिएको यस कवितामा नदीले मानिसको हितका लागि उपयोगी कार्य गरेको सन्दर्भसमेत जोडिएको छ । ठेट नेपाली शब्द (‘लछार्नु’ र ‘पछार्नु’) को प्रयोग कविले यसरी गरेका छन्-
रिसाइ पाखा पहरा लछार्छिन्
ढुङ्गा र मूढा तटमा पछार्छिन् ।
निष्कर्षः
नेपाली साहित्यमा कवि, गीतकार, खण्डकाव्यकार तथा बालसाहित्यकारका रूपमा परिचित कवि माधवप्रसाद घिमिरे नेपाली कविताको स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल शिल्पी हुन् । माथि उल्लिखित कविताहरूमा एकातिर लोकगीत, लोकविश्वास र लोकजीवनप्रतिको अगाध आस्था खनिएको छ भने अर्कातिर हार्दिकता, प्रकृतिप्रेम, सौन्दर्यानुभूति र काल्पनिकताको अभिव्यजना पनि भएको छ । प्राञ्जल भाषा र कलात्मक शैलीका कारण माथिका सबै कविताहरू उच्च रहेका छन् । यी कविताहरूमा कविले सामाजिक व्यवहार र प्रकृतिचित्रणलाई मुख्य विषयवस्तु बनाएका छन् । ‘ढिकी र जाँताको सवाई’ बालकवितामा कविले सामाजिक व्यवहारमा प्रयुक्त ढिकी र जाँतालाई मुख्य विषयवस्तु बनाउँदै तिनीहरूको कलहलाई मानवीकरण गरेका छन् र मित्रताको सन्देश दिएका छन् । ‘बस बस, माहुरी’ बालकवितामा प्राकृतिक कीटपतङ्गलाई विषयवस्तु बनाई माहुरीमा हुने मेहनत, एकता र उदार भावनाको कदर गरेका छन् । ‘नदी’ कवितामा प्रकृतिको अमूल्य उपहारका रूपमा रहेको नदीले मानवहितका लागि दिने देनको महत्त्व झल्काएका छन् ।
क्याम्पस प्रमुख
ईशानेश्वर क्याम्पस, भोर्लेटार लमजुङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

