वास्तविक नाम राधेश्याम ढकाल भए तापनि ढकाल राधेश्याम नामले कलम चलाउने अनि साहित्य र समाजसेवामा रमाउने एक व्यक्ति हुन् । ‘सन्त्रास’ उनको एकमात्र प्रकाशित लेखनी हो । लामो समयअघिदेखि स्वच्छन्द रूपमा कलम चलाउने यी मनुवाको सोच र भौतिक उचाइ उस्तै लाग्छ । उच्च लाग्छ र उच्च नै छ पनि । उनी लामो समयको अनुसन्धान र नियमित चासोका कारण लेखक बन्न पुगेका हुन् । यिनै लेखकको ‘सन्त्रास’ उपन्यासको सेरोफेरोमा केही सान्दर्भिक तथ्यहरू प्रस्तुत गर्न चाहेको छु ।
ढकाल राधेश्याम
‘सन्त्रास’ उपन्यासअघि यस पङ्तिकारले धेरैओटा लेखोटहरू हेरेको र पढेको छ । उनी २०६० को दशकको पूर्वार्धतिर उनी चलचित्र विषयमा स्नातक अध्ययनरत रहँदा नेपाली विषयको शिक्षकका रूपमा भेट्दा प्रायः सिर्जनात्मक लेखनीमा चासो दिएर जिज्ञासा राखिरहने व्यक्ति हुन् । एकपटक उनले कलम शीर्षकमा एक लामो लेख दिए । निबन्धात्मक शैलीमा लेखिएको उक्त लेखको प्रवाह अचम्मको थि
यो । गाब्रियल गार्सिया मार्केज चेतन प्रवाह शैलीको अनुयायी लाग्ने यी राधेश्याम बाहिरी रूपमा हेर्दा जति सरल तर गम्भिर लाग्छन् त्यति नै लेखनी र व्यवहारमा पनि भएको अनुभूत हुन्छ । उनै राधेश्यामको प्रस्तुत उपन्यासलाई सरसर्ती हेर्दा नेपाली साहित्यलाई के दिन खोजेको छ त ?
‘सन्त्रास’भित्रको त्रासदी
त्रासदी शब्दको बारम्बार प्रयोग गरिहेको छु । यसको खास कारण यो उपन्यास पढिरहँदा सरुभक्तको सोही शीर्षकको उपन्यास दिमागभरि नाचिरहन्छ । यद्यपि यी दुई कृतिबिच कुनै समानता छैन । न विषयवस्तुको न लेखनशैलीको नै तर शीर्षकका शब्दले दिने भावको समानता भने पक्कै छ । उपन्यासको कथावस्तु झिनो कथानकभित्र रुमल्लिएको छ तर दिन खोजेको सन्देशसम्म पुर्याउन प्रयोग गरिएको आख्यानको धागो वा डोरी कहीँ टुटेको छैन । रमेश र रुकुको भेट एउटा हरियो चौरमा प्रेमिल रूपमा प्रस्तुत गरी सुरु भएको छ । रुकुको तिघ्रामा मुन्टो राखेर चौरमा सुतिरहेको रमेशसँगको कुराकानीमा अकस्मात् रुकु किन विचलित भई असहज र अकल्पनीय व्यवहार गरी भन्ने कुराले पाठकलाई कुतूहतल बनाउँछ ।

चन्द्र खड्का
रमेशसँगै फर्किएर बिच बाटामा नै उत्रेकी रुकुको डाक्टरसँगको भेट र त्यसपछिका सामान्य तर अस्वभाविक व्यवहारले पनि पाठकलाई उपन्यासले तानिरहन्छ । नियमित कक्षा आउने रुकु होस्टेलबाट नआउनुको कारण थाहा नभएको रमेशको चाहना बढ्दै जान्छ । यसको समाधान केटीहरूको छात्रावास हुनुका कारण रमेशले आफ्नी बहिनीको सहयोगमा रुकुसँग भेट्छ । पाठकमा निरन्तर रमेश कस्तो पात्र होला ? र रुकुका पटकपटकका अस्वाभाविक व्यवहारको कारण थाहा पाएपछि के साथ दिइरहला र ! भन्ने कुराले ध्यान तानिरहन्छ । अन्ततः रुकुले हिंस्रक घटनाबाट परिवार गुमाएकी र त्यसैबाट विचलित भएकी तथ्य थाहा भएपछि रमेशका परिवारले सहजरूपमा बुहारीका रूपमा स्विकार गरी मनोचिकित्सकको परामर्शमा संयमित व्यवहारले रुकुको जीवनलाई नयाँ मोड दिन्छन् ।
नयाँ जीवन पाएकी रुकुले रमेशसँग मिली ‘सन्त्रास’मा बाँचेका मानिसहरूको उद्धारमा लाग्दा अनेकौँ हन्डर खाएको र आर्थिक क्षति बेहोरेका पाइन्छ । पटकपटक त्रास निवारण संस्थाको कार्यालय तोडफोड हुँदा र २०७२ सालको भूकम्पले पारेको अर्को त्रासदीपूर्ण अवस्थामा विचलित नभई उनीहरूको समूहले प्रभावित स्थानहरूमा गरेको मानवीय उद्धारको कार्य सह्रानीय देखिन्छ ।
‘सन्त्रास’को ह्रास
प्रस्तुत उपन्यास नेपाली साहित्यमा कुनै स्थापित स्रष्टाको पुस्तक होइन– ‘सन्त्रास’ । तर उपन्यासकार ढकाल राधेश्यामले विषयवस्तुलाई वास्तविक रूप दिन वा पाठकलाई पठनमा तानिरहन भाषाको सुन्दर प्रस्तुति र सहज कथाको बगाइलाई निर्बाध बग्न दिएका छन् । यति हुँदाहुँदै पनि लेखकले पुस्तकको पछिल्लो खण्डमा भूकम्पको कुरालाई अनावश्यक जोडजाड गरेको अनुभूत हुन्छ । सरल र सहज रेखामा बगिरहेको रुकु र रमेशको कथालाई त्यसरी नै बग्न दिएको भए उत्तम हुन्थ्यो कि ! अर्थात् रुकुको मनोदशाकेन्द्रित मात्र भइदिएको भए पाठकले अझ बढी रुचाउन सक्ने देखिन्छ । यही एक कमजोरीका कारण पुस्तक अलि भद्दा प्रतीत हुन्छ तर प्रस्तुतिले त्यसलाई प्रकटीकरण हुन नदिने उल्लेख्य प्रयास उपन्यासकार ढकालले गरेका छन् ।
टुङ्ग्याउनी
‘‘सन्त्रास’’ उपन्यासले त्रय (माओवादी द्वन्द्व, भूकम्प र मनोवैज्ञानिक त्रास) विषयवस्तुको समुच्च प्रस्तुति दिन सफल छ । प्रकाशनपछि पाठकको उत्साहपूर्ण प्रतिक्रिया आएको बताए तापनि सामाजिक सञ्जालको दुनियाँमा आवश्यक जाँगर नचलाउनु र स्थापित स्रष्टा नहुनुका कारण पत्रपत्रिकाले आवश्यक मात्रामा कृतिमाथि चर्चा नगरिदिनुले ओझेलमा परेको स्पष्ट अनुभूत हुन्छ । काठमाडौँको नयाँबानेश्वरमा घर भएका ढकाल साहित्यिक वृत्त र चौतारीहरूमा मोफसलका लेखकहरूझैँ प्रतीत हुन्छन् । पुस्तकलाई कलर्स इन्टरनेसनल पब्लिकेसन प्रा.लि. काठमाडौँले प्रकाशित गरेको छ ।
भयमुक्त जीवनको साथमा जिउने प्रेरणा दिने प्रयासमा लेखक लागेकाले यस कार्यप्रति पङ्तिकारको सलाम । अझै परिष्कृत र उत्कृष्ट विविध विधाका साहित्य लेखनीमा निरन्तर कलम चलिरहोस् अनेकौँ अनेक शुभकामना पनि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

