साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

भौज्याहा: सामाजिक सुधारको क्रान्तिचेत

ऐतिहासिक पृष्ठभूमिमा आधारित ‘महारानी’ उपन्यासका लागि २०७६ सालको मदन पुरस्कार बिजेता चन्द्रप्रकाश बानियाँको नवीनतम कृति हो ‘भौज्याहा’ ।

ऐतिहासिक पृष्ठभूमिमा आधारित ‘महारानी’ उपन्यासका लागि २०७६ सालको मदन पुरस्कार बिजेता चन्द्रप्रकाश बानियाँको नवीनतम कृति हो ‘भौज्याहा’ । यो निबन्धसङ्ग्रह हो । यसमा विभिन्न समय र परिस्थितिमा लेखिएका विविध विषयका चालीस वटा निबन्ध सङ्गृहीत छन् ।

सङ्ग्रहको शीर्षकनिबन्ध ‘भौज्याहा’ ले पाठकलाई आकर्षित गर्छ । धेरै नसुनिएको शब्द हुँदा यसले पाठकको मनमा कौतुहलता जगाउँछ । पर्वतको खस समाजमा प्रचलित एउटा परम्परालाई समेटिएको ‘भौज्याहा’ निबन्धबाट पुस्तकको नामाकरण गरिएको छ । भौज्याहाको अर्थ भाउजुपट्टिका सन्तान भनिएको छ पुस्तकमा ।

‘भौज्याहा’ भित्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक र केही स्थानिक विषयसँगसँगै सामाजिक विधि–व्यवहारका विषयमा लेखिएका निबन्धहरू सङ्गृहीत छन् । निबन्धहरूमा समाज र समाजभित्र प्रचलित धर्म, संस्कृति र रीतिरिवाज र केही रुढीवादी परम्परा र अन्धविश्वासहरूको सविस्तार र सप्रसङ्ग व्याख्या गरिएका छन् । समाजमा व्याप्त अन्धविश्वास र अन्धपरम्पराप्रति लेखकीय असहमति र विमति प्रस्टरूपमा आएका छन् । चलनचल्तीमा रहेका कतिपय रीतिरिवाजप्रति पनि लेखकले आफ्नो असन्तुष्टि र विमति प्रकट गरेका छन् । आलोचना र टिप्पणी गरेका छन् । सुधारको आवश्यकता पनि औंल्याएका छन् । प्रचलित कतिपय सामाजिक परम्परा र रीतिरिवाजप्रतिको असहमति र विमति नै यस पुस्तकमा लेखकीय विशेषताको रूपमा देखिएको छ । लेखकले कारणसहित आफ्नो असन्तुष्टि र विमति प्रकट गरेकाले पाठक पनि त्यसमा सहमत हुनेमा सन्देह छैन ।

रत्न प्रजापति

हरेक निबन्धहरूमा लेखकको निजात्मकता भेटिन्छ । यति हुँदाहुँदै पनि सार्वजनिक चासो, चिन्ता र सरोकार पनि व्यक्त भएको पाइन्छ । त्यसैले निबन्धले समेटेका विषयवस्तु सार्वजनिक विषयवस्तु नै हुन् भन्न सकिन्छ । सामाजिक संस्कार र रीतिरिवाजहरू कहिलेदेखि, किन र कसरी सुरुवात भयो भन्ने विषयमा खोजपूर्ण र तर्कपूर्ण प्रस्तुतिले निबन्धहरू ओजपूर्ण बनेका छन् । हरेक धार्मिक, सांस्कृतिक पर्वलाई खस समाजको दृष्टिकोणबाट हेर्ने र आलोचना, टिप्पणी गर्दै तार्किक विश्लेषण गरिएको पाइन्छ । विषयवस्तुको यथेष्ट जानकारीले पाठकहरू प्रशस्त लाभान्वित हुनेमा ढुक्क हुन सकिन्छ ।
निबन्धहरू सामाजिक सुधारको क्रान्तिचेतले ओतप्रोत छन् । यथास्थितिमा सुधार हुनुपर्छ भन्ने माग हरेक निबन्धमा गरिएको पाइन्छ । कसैको स्वार्थपूर्तिका लागि लादिएका परम्परा र रीतिरिवाजमा समयानुकूल परिवर्तन र सुधार हुनुपर्छ भन्ने माग र समर्थन उनले गरेका छन् । आफ्नै भोगाई र अनुभवलाई सप्रसङ्ग र तर्कपूर्ण विश्लेषण गरेर पाठकीय अभिरुचिलाई समेत सम्बोधन गर्ने प्रयास गरेका छन् । निबन्धहरूको पठनबाट पाठकले आफूले देख्दै, सुन्दै, गर्दै र भोग्दै आएको धर्म, संस्कृति, रीतिरिवाज र विश्वास–अन्धविश्वासका बारेमा थप नयाँ जानकारी प्राप्त गर्नेछन् र आफू त्यस विषयमा थप प्रस्ट भएको अनुभूति गर्नेछन् ।

सङ्ग्रहको पहिलो निबन्ध हो ‘खसेटो’ । ब्राह्मणहरूका अगाडि आफू खस अर्थात् क्षेत्री अर्थात् सानो जातको हुनुको मनोवैज्ञानिक प्रभाव एउटा बालमस्तिष्कमा परेको घटना–विवरण यो निबन्धमा समेटिएको छ । खस हुनुको लघुताभास र हीनताबोध पनि व्यक्त भएको छ यस निबन्धमा । अनि जात–वर्गप्रतिको विद्रोह पनि छ । राजनीतिक चेत बोकेर क्षेत्री समाजले गर्दै आएको विद्रोह र विरोधका गतिविधिहरूको चर्चा पनि छ । अनि खस एउटा जाति नै हो, समुदाय होइन भन्ने जिकिर पनि छ ।

नवप्रकाशित कृति भाैज्याहा

दोस्रो निबन्ध हो ‘नरकयात्रा’ । यस निबन्धमा धर्म र धर्मशास्त्रका नाउँमा मानिसले अन्धविश्वासलाई निरन्तरता दिँदै आएको यथार्थलाई प्रस्तुत गर्दै आफू त्यो अन्धविश्वासको मार्गमा हिँड्न नचाहेको मनसाय प्रकट गरेका छन् लेखकले । परलोकको कथालाई कल्पना मात्र हो भनेका छन् ।

सङ्ग्रहमा परेको तेस्रो निबन्ध हो ‘भौज्याहा’ । यो पुस्तकको शीर्षकनिबन्ध पनि हो । सम्भवतः यो लेखकलाई मन परेको निबन्ध पनि हो । त्यसैले यही निबन्धबाट पुस्तकको नामाकरण गरेका छन् । पर्वततिरको खस समाजमा दाजुको देहावसानपछि भाउजु विवाह गर्ने चलन छ । यसरी भाउजु विवाह गरी उनै भाउजूबाट जन्मिएका सन्तानलाई भौज्याहा भन्ने गरिएको चलनबारे यो निबन्धमा चर्चा गरिएको छ । आजकल भने खास गरेर, चौबीसी राज्य पर्वतको सेरोफेरोमा अराजक, उपद्र्याहा, नियम–कानुविपरीत आचरण गर्ने, समाज भँडुवा, उद्दण्ड आदि अर्थ लाग्नेखालका व्यवहारमा लिप्त रहने व्यक्तिलाई भौज्याहा भन्ने चलन रहेको तथ्य पनि यस निबन्धमा उल्लेख गरिएको छ । मानिसको असामाजिक व्यवहारलाई अभिव्यक्त गर्ने ‘भौज्याहा’ विशुद्ध खसमूलको शब्द भएको दाबी लेखकले गरेका छन् । जुन बेलासम्म देवर–भाउजूबीचको विवाह सनातन थियो त्यस्तो विवाहले सामाजिक मान्यता पाए पनि त्यसलाई प्राकृतिक मानिदैनथ्यो । कानुनले छुट दिएको समयमा पनि समाजमा त्यसलाई उति सार्हो रुचाइदैनथ्यो । भाउजूविवाहलाई अप्राकृतिक र असामाजिक मानिने हुनाले मानिसको अराजक प्रवृत्तिले भौज्याहाको उपमा पाएको तर्क लेखकले गरेका छन्, जुन स्वाभाविक लाग्दछ । मुलुकी ऐन २०२० ले हाडनाता सम्बन्धको अपराधको रूपमा देवर–भाउजुको विवाहलाई परिभाषित नगर्दासम्म त्यस्तो विवाहलाई समाजले सहजरूपमा स्वीकाथ्र्यो । यद्यपि ऐनले अपराध माने पनि कुनै कुनै दलित समुदायमा आजसम्म पनि विधवा भाउजू विवाह गर्ने चलनको अवशेष बाँकी रहेको लेखकको दाबी छ ।

मृत्युसंस्कारलाई छोट्याउनुपर्ने बहस चलिरहेकै अवस्थामा लेखक बानियाँले ‘मृत्युसंस्कार मन्थन’ नामक पुस्तक लेखिसकेका छन् । यस सङ्ग्रहमा पनि सोही विषयलाई छोएर लेखिएको निबन्ध परेको छ ‘अन्त्येष्टि’ । यस निबन्धमा लेखकले विद्यमान अन्त्यष्टि परम्परामा समयानुकूल परिवर्तन र सुधार हुनुपर्ने आग्रह गरेका छन् । ताप्लेजुङका भट्टराई परिवार, उदयपुरका पोखरेल परिवार, ललितपुरका खड्का र कार्की परिवारले किरियाको परम्परामा सुधार गरी तीन, पाँच वा सात दिनमा किरिया सकेको उदाहरण दिँदै यस्तो सुधारको आवश्यकता रहेको औंल्याएका छन् । २१औं शताब्दीमा किरिया वा श्राद्ध परम्परा असान्दर्भिक र अवैज्ञानिकसमेत रहेको भन्दै यसमा सुधारको आग्रह गरेका हुन् । यद्यपि आफ्नो संस्कृति, संस्कार र परम्पराको निरन्तरता कायम राखी पहिचानको जगेर्ना गर्न पनि आवश्यक छ । बरखी बार्ने र तेह्र दिने किरियाका सम्बन्धमा लेखकले प्रस्तुत गरेको तर्क युक्तिसङ्गत लाग्छ ।

लेखकले तेह्र दिन लामो किरियाको परम्परा किन बसाले भन्ने सन्दर्भमा दुईवटा कारण हुनसक्ने अनुमान गरेका छन् । यातायात र सञ्चारको विकास नभइसकेको जमानामा कामविशेषले घरबाट कतै टाढा पुगेको बेलामा घरमा मरण पर्यो भने खबर गर्न र छोरा, भाइ वा आफन्तलाई घर आइपुग्न पर्याप्त समय मिलोस् भनेर तेह्र दिने किरियाको चलन बसालेको हुनसक्ने उनको पहिलो तर्क छ । दोस्रो कारणको रूपमा उनले स्वास्थ्य र रोगव्याधीको त्रासलाई मानेका छन् । कुनै घरमा सङ्क्रामक रोगबाट कसैको मृत्यु भयो भने मृतकसँग लसपस हुनेहरूमा पनि रोगको सङ्क्रमण हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै घरपरिवारका मानिस मृतकसँग लसपस भएको लुगा खोलेर नाङ्गै दुई हप्ता आइसोलेसनमा बस्ने परम्परा बसालिएको हुनसक्ने लेखकको तर्क छ । किरियाका विधिहरू त समय कटाउन र पुरेतको जीविकाका लागि सिर्जना गरिएका हुन् । ती विधि–परम्पराहरूमा कुनै सत्यता र उपयोगिता छैन भन्ने तर्क लेखकले गरेका छन् ।

‘छुवाछुत’ निबन्धमा छुवाछुत प्रथाविरद्ध तीव्र असन्तुष्टि र असहमति प्रकट गरेका छन् लेखकले । समाजलाई विखण्डन र मानवताको घोर अपमान गरेकोमा चिन्ता र आक्रोश पनि व्यक्त गरेका छन् । यसैगरी ‘भुजा ज्युनार’ निबन्धमा दरबार ढले पनि दरबारिया संस्कृति नमासिएको, सामन्ती संस्कार र संस्कृति नबदलिएको, राजसंस्था इतिहासको गर्भमा भासिए पनि सयौं छोटेदरबार ठडिएको र बडेराजा मासिए पनि समाजमा सयकडौं भुरेराजाहरू जन्मिएकोप्रति तीव्र असन्तुष्टि, निराशा र आक्रोश व्यक्त गरिएको छ । परम्परागत नम्र र शिष्ट आदरार्थी शब्दलाई राजसी र सामन्ती आदरार्थी शब्दले विस्थापित गरेकोमा चिन्ता पनि व्यक्त गरिएको छ ।

‘खस राष्ट्रवाद’ निबन्धमा जातीय श्रेष्ठताको दम्भ र देश निर्माणमा अग्रणी भूमिकाको मिथ्या अहम्बाट खस राष्ट्रवादको निर्माणको जग बसालिएको जिकिर लेखकले गरेका छन् । राष्ट्रवाद नामको गायत्री जपले नेपालीहरूलाई दुई कित्तामा उभ्याएको र नेपाली मनहरूलाई फेरि कहिल्यै नजोडिनेगरी फुटालिदिने होकि भन्ने भय र चिन्ता यस निबन्धमा व्यक्त भएको छ ।

‘हिन्दू नेपाली’ शीर्षकको निबन्धलाई यस सङ्ग्रहको एउटा उत्कृष्ट र सान्दर्भिक निबन्ध मान्न सकिन्छ । यस निबन्धमा नेपाली कसरी हिन्दू भए भन्ने गम्भीर प्रश्न उठाइएको छ । अमेरिकामा बस्ने अमेरिकी, पाकिस्तानमा बस्ने पाकिस्तानी भएजस्तै नेपालमा बस्ने नेपाली हुनुपर्नेमा कसरी हिन्दू भए भन्ने जिज्ञासालाई मेट्ने प्रयास लेखकले गरेका छन् । विद्वान् डा. केशवमान शाक्यले टिभी अन्तर्वार्तामा भनेका छन्, ‘हिन्दू बन्नु भनेकै भारतको दास बन्नु हो ।’ यस निबन्धमा पनि लेखकले यस्तै आशय व्यक्त गरेका छन् । ‘कमसेकम राज्यको हैसियत आर्जन गरेयता नेपाल भूमि कहिल्यै भारतशासित रहेको छैन । त्यसैले मधेशी, थारु, खस र मङ्गोल जातिको साझा फूलबारीको रूपमा रहेको यो भू–खण्ड हिन्दूस्तान होइन । मुलुक हिन्दूस्तान नभएपछि त्यसका नागरिकलाई हिन्दू भन्न पनि मिल्दैन ।’ (पृष्ठ ९७)

हिन्दू कुनै धर्म होइन भन्ने पनि लेखकको जिकिर रहेको छ । ‘संसारमा हिन्दू नामको कुनै धर्मको अस्तित्व छैन । हिन्दू धर्मग्रन्थको रूपमा परिचित वेद, पुराण, ब्राह्मण, उपनिषद् आदि सबै वैदिक धर्मग्रन्थहरू हुन् । ती किताबहरूमा हिन्दू नामको शब्दको अस्तित्वसम्म पनि फेला पर्दैन । हिन्दू धर्मको नाममा एउटासम्म पनि पुस्तक लेखिएको छैन । अस्तित्वमा हुँदै नभएको धर्मको सती जानुभन्दा मूर्खतापूर्ण व्यवहार अरू के हुनसक्छ ?’ (पृष्ठ ९८) यसरी धेरै कोणबाट नेपाली नेपाली नै हुन् हिन्दू होइनन् भन्ने पुष्टि गर्ने प्रयास लेखकले गरेका छन् । जुनसुकै धर्म–संस्कृति मान्ने भए पनि नेपालमा बस्ने जातजाति, भाषाभाषी र धर्म–सम्प्रदायीहरू सबै नेपाली नै हुन् भन्ने उनको जिकिर सही र स्वीकार्य लाग्दछ । नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ भन्ने अभियानलाई मूर्खतापूर्ण कार्य भन्दै त्यसका अभियन्ताप्रति पनि लेखकले कटाक्ष गरेका छन् ।

लेखकको चिन्तनपक्ष निकै सबल देखिएको छ । जीवन र मृत्युको चिन्तनमा लेखकको चिन्तनपक्ष गहन देखिएको छ । समाज चिन्तन, धार्मिक चिन्तन, सांस्कृतिक चिन्तन, राजनीतिक चिन्तन, भाषिक चिन्तन, जीवन र मृत्यु चिन्तन आदि सबै विषयमा उनको चिन्तन क्षमता मुखरित भएको पाइन्छ । यस्तो चिन्तनमा उनको अध्ययनशीलता र ज्ञानको आयतन निकै फराकिलो रहेको प्रतीत हुन्छ । उनको अनुभवको विस्तृति विशाल छ । त्यसलाई उनको गम्भीर अनुभूतिले सिँगारिदिँदा उनको लेखन निकै दर्बिलो र गर्विलो बनेको छ । उनको विषयगत ज्ञानको दायरा पनि निकै फराकिलो रहेको अनुभूति हुन्छ । कतिपय निबन्धहरूमा उनले चुनौतीलाई स्वीकारेका छन् भने कतिपय निबन्धमा उनी आफैँले चुनौती पनि दिएका छन् । ‘द्यौसी भैलो’ निबन्धमा बलिराजाको प्रसङ्ग हिन्दू धर्मग्रन्थहरूका बलिराजाको होइन । द्यौसी भैलो विशुद्ध खस परम्परा रहेको हुनाले त्यसमा नाम लिइने बलिराजा भनेका वैदिक बलिराजा होइनन् । त्यो नाम त इशाको चौधौं शताब्दीमा जुम्लामा स्थापित खस राजा बलिराजाको हो र द्यौसी भैलो खस समाजमा खस राजा बलिराजाले चलाएको विशुद्ध खस परम्परा हो भनेर लेखेका छन् ।

धेरैवटा निबन्धमा खस जातिको देनलाई महत्त्वका साथ प्रस्तुत गरिएको र धेरै ठाउँमा धेरै कुरामा खस जातिको योगदानलाई स्थापित गर्ने प्रयास गरिएकाले खस जातिप्रति लेखक अलि बढी पूर्वाग्रही भएको हो कि भन्ने भान पाठकलाई पर्नसक्छ । यद्यपि धेरैवटा विषयमा लेखिएका निबन्धहरूमा लेखकका निजी विचार, तर्क, सहमति र असहमतिसहित् धेरै सूचना र जानकारीहरू पनि आएका छन् । लेखकले पाठकको मनकै कुरा लेखेका छन् । पाठकको मनमा उत्सुकता र प्रश्न जगाएर बसेका कतिपय विषयलाई लेखकले विचार, तर्क र प्रमाणसहित् चर्चा गरेर पाठकको जिज्ञासा मेट्ने प्रयास गरेका छन् ।

लेखनशैली निकै परिष्कृत छ, लेखनमा परिपक्वता छ । लेखकको बौद्धिकता र विचारपक्षको कलात्मक सौन्दर्यले हरेक निबन्ध सुन्दर ढङ्गले सजिएका छन् । यही सौन्दर्यले पठनलाई निकै सुरुचिपूर्ण बनाएको छ । पाठकले हरेक निबन्ध पढेपछि आनन्द र सुन्तुष्टिको अनुभव गर्नेछन् । खोट लाउने ठाउँ सकेसम्म बाँकी राखेका छैनन् लेखकले । निबन्धकारको तार्किक सक्षमताले पाठकको जिज्ञासा र उत्सुकतालाई समाधान गर्ने सामथ्र्य राखेको पाइन्छ । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय छ ।

पुस्तक : भौज्याहा
विधा : निबन्ध
लेखक : चन्द्रप्रकाश बानियाँ
प्रकाशक : शिखा बुक्स
संस्करण : पहिलो, २०७७
पृष्ठ : २४५
मूल्य : रु ३७५/–

प्रतिक्रिया
Loading...