प्रारम्भ

सन् १९९६/१९९७ देखि हङ्कङमा नेपाली साहित्य लेखिन थालेको समयावधि हेर्दा छोटो समयमै सन् २००५ मा टापुमार्फत देश सुब्बाद्वारा भयवाद, दीपा एवाई राईको अर्धवृत्त       (२०६६) कवितासङ्ग्रहमार्फत समुच्च विचार र सन् २०१० सेप्टेम्बर १२ मा रेखा कविता देखिएका छन् । जीवन र जगद् हेर्ने दृष्टिकोण, भावना प्रस्तुत गर्ने संरचना नै रेखा कविताको पहिचान हो । रेखा कवितामा दृश्य, अदृश्य, भावना, समय र क्षितिजको प्रस्तुति हुन्छ ।

यसको प्रारम्भ ११ जना कविहरू देश सुब्बा (हङ्कङ), टङ्क सम्बाहाम्फे (हङ्कङ), विमल राई (हङ्कङ), डि.बि. पालुङ्वा (हङ्कङ), मनोज बोगटी (भारत), अतीत मुखिया (नेपाल), लोक सिङ्घक (नेपाल), हिमाल सुब्बा (नेपाल), केदार सङ्केत (बेलायत), टङ्क वनेम (बेलायत) र खेरेस देवेन्द्र (बेलायत) ले गरेका थिए । असमका बुद्घि सुवेदीको रेखा कवितासङ्ग्रह एउटा समयको किनारमा (२०२०) पछि कवि हिमाल सुब्बा ‘गुराँस’ले सिर्जनाका फूल (२०७७) कविता सङ्ग्रहभित्र केही रेखा कविता लिएर आएका छन् ।

रेखा कविता लेखन देश सुब्बाको ‘सीमा समाधिस्थ गर्दछु’ शीर्षकको कविताबाट प्रारम्भ भएको थियो । रेखा कविता सापेक्षवाद– चौडाइ, उचाइ र समयको कविता हो । यसमा खास गरी समय बग्छ । यो जीवन र जगद् हेर्ने दृष्टिकोण र भावना प्रस्तुत गर्ने संरचना र लेखाइको पहिचान हो ।

दीपक सुवेदी

विज्ञान रेखामा अडिएको छ । विज्ञान आफैँमा ठूलो दर्शन हो । ज्यामितीय शास्त्रभन्दा धेरै अगाडिदेखि रेखाको प्रयोग हुन थालेको हो । रेखाको आधारबाट नै विज्ञान, ज्योतिषशास्त्र आदि धेरै आविष्कार भए । ब्राउनको चलायमान विन्दुजस्तै चलायमान विन्दुबाट शङ्कराचार्यको ब्रह्माण्ड जत्तिकै फैलिएको छ । निर्माण, आविष्कार, कला, सङ्गीतमा जति अङ्कहरूको स्थान छ, त्यत्तिकै रेखाको छ । लियोनार्दो दा भिन्ची, पिकासोको चित्र कलाको आधार रेखा नै थियो ।

सिर्जनाका फूलभित्रका केही कविता यही रेखाको संरचनामा रहेका देखिन्छन् । मलाई प्राप्त पाण्डुलिपि नै छपाइका क्रममा प्रेसमा गएका र पुस्तकमा रहेका हुन् यदि भने यसैका आधारमा कविका केही कवितालाई यसरी हेर्न सकिन्छ ।

रेखा मान्यताका आधारमा सिर्जनाका फूलहरू

समानताः-  सबैलाई समान हेर्ने दृष्टिकोण । मान्छे सबै समान हुन् । अतिवादी सोचहरू हानिकारक छन् । सबैले सबैको सम्मान गर्नुपर्छ । यसैमा सह–अस्तित्व र समन्वय आउँछन् । दुईओटा अतिवादी रेखाहरू भए मध्यम रेखा, मध्यस्ता कर्ता । अतिवादी रेखाहरूको कारणले संसार युद्ध, शङ्का, ईर्ष्या, षडयन्त्र, जालझेल हुने गरेका छन् । यसले संसार, जीवनलाई अशान्त राख्छ । यो शान्ति पनि हो । हिमाल लेख्छनः-

मैले

फूलमाथि

पनि रेखा देखेँ,

काँडामाथि

पनि रेखा देखेँ,

फूल, काँडा

पात र हाँगाहरू

सबै रेखामा रहेछन् ।

(१४२/ रेखाको जगमा)

विश्व अहिले सबैको साझा गाउँजस्तो बनेको छ । मान्छेहरू एक देशबाट अर्को देशमा ओहरदोहर गरिरहेका छन् । जहाँ गएर बसे पनि मान्छे केही गरिरहेका हुन्छन्, लेखिरहेका हुन्छन्, बोलिरहेका हुन्छन् । स्वदेशभित्र पनि विभिन्न क्षेत्र हुन्छ र अन्ताराष्ट्रमा पनि । जीवनका आ–आफ्नै भोगाइ हुन्छन् । ती सबैलाई समेट्ने यो एउटा ठूलो मैदान हो । कुनै क्षेत्रमा बसेर, क्षेत्रको बारेमा सोचेर, भोगेर लेखिने सडकको अनुभूति जस्तै पनि हो यो ।

सडक जस्तै छन्

जीवनका रेखाहरू

माथिबाट

तल झर्ने सडक

तलबाट

माथि जाने सडक

सडक नै सडक

त्यहीँ सडकमाथि

समयसँगै हुइँकिने

सवारी साधनहरू

सडक किनारमा

ठडिएका महलहरू

झुपडी घरहरू

……………..

(१२१/ म, सडक र रेखा)

सामयिकता – समय जहिले पनि सामयिकता हुँदै बहन्छ । यसमा जीवन, जगत्को परिवर्तन, घटना, परिघटना आवश्यकता, चिन्तन, आविष्कार, विरोध, परिस्थिति अनुकूल, प्रतिकूल सबै हुन्छ । यस परिस्थितिमा समयको माग अनुसार, सोच, चिन्तन, व्यवहार सबै रेखामा कोर्न सकिन्छ ।

जसरी

पृथ्वी चेप्टो छ भनी रेखा कोरियो,

त्यसपछि

पृथ्वी गोलो छ भनी रेखा कोरियो ।

चार्ल्स डार्बिनले–

‘बिगल’ जहाजयात्राबाट

आफ्नो नोटबुकमा

वस्तुत्वको रेखा कोरे ।

ग्यालिलियो ग्यालिलिले

दूरदर्शक यन्त्रद्वारा

चन्द्रमा र अन्य ग्रहको रेखा खिचे ।

(१३५ / जीवन–जगत्मा रेखा)

सहनशीलता – सहनशीलता आफैँमा ठूलो शक्ति हो । सहन सकिएन भने प्रतिवाद जन्मिन्छ । विरोध जन्मिन्छ । युद्ध हुन्छ । तर सहनशीलताका सीमा हुन्छ । सीमा भन्नाले देश, समाज, वर्ग, जातिको उन्नति र प्रगतिसम्म । अन्याय, अत्याचार, दमन, शोषणको कति सीमासम्म सहने ? हिमाल भन्छन्–

सडक कुल्चिएर

हिँडिरहेको छु

एकपछि अर्को

पाइला जस्तै छन्

जीवनको रेखाहरू

(१२१/ म, सडक र रेखा)

अलङ्कारिता – कविताको सौन्दर्य हो अलङ्कारिता । यो विम्ब, मिथक, पात्र, समय र देश अनुसार लेखन सुन्दर बनाउने प्रविधि हो । रेखामा विभिन्न जाति, संस्कृतिको विम्ब, मिथक आदि प्रयोग गरिने छ । अनि जीवजन्तु, वनस्पति आदि पनि यसमा उपयोग गरिने छ ।

सेक्मारी फुङ्

बाटामाथि

कान्लामा फुलेका छन् ।

खै !

उसको दूरसम्म

चल्ने सुवास

बाटामा पुग्न पूर्व हावा बतासमा

त्यसै विलीन हुन्छ ।

डिलमुनी

मिक्चिरी फुङ

ढकमक्क फर्किएर

खिसिक्क हाँसेको छ ।

 (११७–११८/ मिक्चिरी फुङ्ले कोरेका रेखाहरू)

रेखीय प्रस्तुती – आफ्ना, विचार, उद्देश्य र लक्ष्य व्याख्या गर्न अनि प्राप्त गर्न विभिन्न ढाँचाको प्रस्तुती हुनेछ । चित्र, चिन्ह, रेखा र नक्सा लगायतका विभिन्न माध्यमहरू प्रयोग गर्न सकिने छ, जसले गर्दा आफ्नो लेखनलाई प्रभावकारी बनाउन सकियोस् । जस्तै –

जीवन

गोरेटोमा

कतै  

आशा

निराशा

आशाभित्र

जीवनको

रेखा

+

भएजस्तै

सधैँ कोर्नुछ ।

कतै +

नै

जीवन

रहेछ ।

(१२७ / जीवनभित्रको रेखा)

यसरी हिमालले विभिन्न चिह्न, प्रतीक आदिको प्रयोगबाट पाठकलाई आकर्षण तुल्याउन अभिव्यक्तिलाई विभिन्न शैलीमा व्यक्त गर्दै आफ्नो कलागत चिन्तनलाई आस्वादपूर्ण शिल्पशैलीमा सजाउने कोसिस गरेको देखिन्छ । अझ कवितामा आफूले भोगेका पीडा, घटना आदिलाई गाथाको रूपमा व्यक्त गर्ने कार्यमा पनि हिमालले गर्न खोजेका छन् । अबको कविता पढ्ने मात्र नभई हेर्ने कला पनि हो भन्ने मान्यतालाई यस कृतिमा हिमालले जोड दिएका छन् ।

भाषालाई सङ्कुचन गरी दृश्यको माध्यमबाट ठोस कला सृजना गर्ने प्रविधिको विकास स्विस कवि इमुन् गोविगरले गरेका थिए । वर्तमान स्थितिमा अध्यात्म र भौतिकवाद, यथार्थ र परायथार्थ, सङ्घर्ष र पलायन, भाषा–संस्कृतिको मिश्रण, पुँजीवादी सन्जालमा नयाँ यथार्थलाई प्रतिविम्बन गर्दै प्राचीन शिल्प शैलीमाथि अविश्वासका साथ सिर्जनाका फूलहरू हेर्दा नयाँ प्रविधिको खोजीमा कवि लागेका पो हुन् की भन्ने आभास चाहिँ पाठकलाई लाग्नसक्छ ।

लेविसले भनेजस्तै सबै कविताहरूमा विम्ब देखिन्छ । हरेक कविता आफैँमा पनि विम्ब हो । प्रवृत्तिहरू त आउँछन्, जान्छन् । शैलीहरू पनि फेसनझैँ परिवर्तन हुनसक्छन् । थाहै नपाउने गरी तात्त्विक विषयवस्तु पनि परिवर्तन हुनसक्छ । तर रूपक भने कविताको जीवनसिद्घान्त बनेर कविको मुख्य कसी र गौरवका रूपमा रहन्छ । त्यसैले फूलका कोपिलामा बास्ना खोज्नु चाहिँ उपयुक्त पनि नहोला कि !

कवितामा लय र अर्थलाई अलग पारेर छुट्टयाउन सकिन्न । लयले शब्दको अर्थलाई अनुकूल तुल्याउने एवं बढाउने काम गर्नुका साथै पङ्क्तिको यथार्थ अर्थलाई भरथेग गर्ने काम गर्छ । त्यसैले आन्तरिक सङ्गीत चेतना गद्य कवितामा पनि चाहिन्छ । यसमा कवि हिमालले आफ्नै स्वाभाव देखाएकाछन् । हिमालको स्वभाव र कविताको स्वभाव उस्तै उस्तै छ । कविताको स्वाभाव मौन विद्रोह हो । यसको अर्थ शब्दहीनता होइन । वाचालता हो ।

कवितामा थालनी, बीचको प्रवाह, आरोह र अवरोहको अन्तर सम्बन्धमा तादत्म्यता स्थापित गर्न नसके गद्य कविताले एउटा बग्दो नदीले झैँ आन्तरिक लयात्मक ध्वनीहरूको सङ्गीत उत्पादन गर्न सक्दैन । जसले गर्दा कविताको लय समाउन पाठकलाई हम्मे हम्मे हुन्छ । जुन राम्रो होइन कवितामा । हिमालका कतिपय कवितामा उही भावका शब्दहरू दोहोरिएर आएका पाइन्छन्, एउटै सङ्ग्रहका कविताहरूमा यस्तो पाइनु कृतिको सबल पक्ष पनि होइन । कवितामा शब्दको अर्थमा नौलोपन नआएका एउटै सन्दर्भ र शब्दको पुनरावृत्ति केही कवितामा आएकाले कविताहरूले अर्थ दोषको भार बोक्नुपर्छ । यसो हुनु बजारशास्त्रको दृष्टिले कविताका पाठकलाई हिमालको यो कवितासङ्ग्रह घाटाको सौदा नलागोस् । हिमाललाई लेखन निरन्तरताको शुभकामना ।