साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

बिसौनी वल्तिर भेटिँदा

बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी

उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी

पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि

नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी।

                                                                अनुष्टुप्, मुक्तक

राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको प्राङ्गणमा झुल्किए । अभिवादन आदान–प्रदान पश्चात् आफ्नो परिचय बताउँदै बिसौनी वल्तिर नियात्रा सङ्ग्रह हातमा थमाइदिए । बिसौनी वल्तिर नियात्रा सङ्ग्रहका नियात्राकार भेषराज रिजाल र प्रकाशक राधा बास्तोला रिजाल थिए उनीहरू । म कृतकृत्य भएँ । नियात्राकार र मेरो जन्मस्थान एउटै जिल्ला रहेछ पर्वत जिल्ला । नियात्राकारको हालको ठेगाना भने कावासोती–२, नवलपुर रहेछ । यता पनि छिमेकी नै रहेछौँ ।

केहीक्षण पश्चात् उनीहरू लागे आफ्नो बाटो । म पनि नियात्रा पल्टाउन थालेँ । निम्न लिखित साहित्यिक कृतिहरू प्रकाशन गरिसक्नुभएका साहित्यकारसितको परिचयले म हर्षविभोर भएँ । उखान पनि त छ ‘बाख्रा बाख्रासँग भेडा भेडासँग’ । एउटा साहित्यको विद्यार्थीलाई अर्को साहित्यकार भेट्दा रमाइलो र गर्व पनि लाग्दो रहेछ।

(१) बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह), २०५७

(२) देश सधैँ रुने छैन (कविता सङ्ग्रह), २०५९

(३) मेरा पाइलाहरू (नियात्रा सङ्ग्रह), २०६८

(४) छरिएका पाइला कोरिएका डोब (नियात्रा सङ्ग्रह), २०६९

(५) अनमोल पुरस्कारहरू (कविता सङ्ग्रह), २०७२

(६) बिसौनी वल्तिर (नियात्रा सङ्ग्रह), २०७७

कृष्णादेवी शर्मा श्रेष्ठ

कृतिकार भेषराज रिजाल वि.सं. २०४७ सालदेखि २०५२ सालसम्म शिक्षक पेशामा आवद्ध रहेका र २०५३ सालदेखि हालसम्म निजामती सेवामा कार्यरत रहेछन् । राप्ती परिषद् दाङमा आजीवन सदस्य रहेका नियात्राकार रिजाल नवप्रतिभा पुरस्कारवाट २०६१ मा पुरस्कृत भएका छन् भने २०७६ सालमा लक्ष्मीप्रसाद देवकोटा एवं नन्दकला स्मृति सम्मानबाट पनि सम्मानित भएका छन् । पहिलो संस्करण वि.सं. २०७७ वैशाखमा प्रकाशित भएको ‘बिसौनी वल्तिर’ नियात्रा सङ्ग्रहको प्रकाशक रहेकी छन् राधा बाँस्तोला रिजाल । एक हजार प्रति प्रकाशित यो नियात्रा सङ्ग्रहमा जम्मा १७६ पेज रहेका छन् । सोपान प्रेस प्रा.लि., डिल्लीबजार, काठमाडौँमा मुद्रण गरिएको यो कृतिको आवरण चित्र रमेश पौडेलले कोरेका हुन् भने आवरण अवधारणा प्रज्ञा रिजालको हो । यात्राका कठिन कुइनेटामा साथ दिने सहयात्रीहरूलाई समर्पण गरिएको छ । वरिष्ठ निबन्धकार तथा नियात्राका विज्ञ युवराज नयाँघरेले शुभकामना लेखेका छन् भने हार्दिक कृतज्ञता शीर्षकमा नियात्राकारले आफ्ना कुराहरू राखेका छन् ।

कुनै पनि कृति अध्ययनपश्चात् मौखिक या लिखित प्रतिक्रिया प्रस्तुत गर्ने बानीले प्रेरित भएर हुन सक्छ, यो नियात्रा अध्ययन गरेपछि पनि यसबारे दुईचार शब्द कोर्न मन लागेको हो । अब यो सङ्ग्रहभित्रका २६ वटा नियात्राहरूबारे छोटकरीमा प्रकाश पार्दै आफ्ना धारणा पस्कने जमर्को गर्दैछु ।

(१) सगरमाथा छोएको क्षण– सगरमाथाको देशले चिनिने नेपालको छोरो भएको कारण नियात्राकार यहाँ पुगेको क्षण गर्व गर्छन्। त्यहाँबाट अवलोकन गर्दा सम्पूर्ण भूभागको मूल्याङ्कन र साटेका खुसीका क्षणहरू स्मरण गर्दै लेखिएको नियात्रा पढ्दा साँच्चै पाठकलाई आफैँ सगरमाथा पुगेको गर्व हुन्छ । नियात्राकारका यी अभिव्यक्तिले साँच्चै पाठकलाई त्यहाँ पुग्ने चाहनाले सताउँदो हो । जस्तै– सगरमाथासँग छ त केवल सुन्दरता, स्वाभिमान र सर्वोच्चता । सगरमाथाको सामुन्ने पर्दा कठयाङ्ग्रिएर धुलिसात् हुँदो हो कुरूपता, स्वार्थ र कुटिलता पनि।

(२) टिम्बुरबोटेको बाटो– उत्तरी भूभागमा गरिएको रमाइलो यात्राको वर्णनले भरिएको यो नियात्रामा २०३१ सालको टिम्बुरबोटे हत्याकाण्डको नालीबेलीको वर्णन रहेको छ । यो नियात्रा अति नै ज्ञानवर्धक नियात्रा पनि हो ।

(३) शुक्लाफाँटामा एक बिहान– यो तेस्रो नियात्रा हो । नेपालको पश्चिममा रहेको वन्यजन्तु आरक्ष केन्द्रको यात्रामा जाँदै गर्दा बाटामा भेटिएका प्राकृतिक वस्तुहरूसित रमाउँदै नियात्राकारले गरेको यो यात्रा वर्णनले पाठकलाई मन्त्रमुग्ध बनाउँछ । बाह्रसिङ्गे, मृग, मयूरलगायत अनेकथरिका जीवजन्तुहरूको स्वतन्त्र अस्तित्व र क्रिया देखेर मन्त्रमुग्ध नहुने को होला र ?

(४) छोरीसँग चिडियाखाना– चिडियाखाना र आसपासको अवलोकनले लेखकको मनलाई पिरोलेको कुरा यसरी व्यक्त गर्छन्– “मान्छेको धनमग्न सोच र परपीडामा रमिते हुने प्रवृत्तिले घोचिरह्यो ।” प्रकृति र प्रकृतिमा रमाइरहेको प्राणीहरूको जीवनचर्‍या देखेर पाइने असीम आनन्दको वर्णन पनि पाइन्छ यो नियात्रामा ।

(५)    भूकम्प ओच्छिएको भूगोल– वि.सं. २०७२ सालमा गएको भूकम्पले दोलखा जिल्लामा पुर्‍याएको दुःखद क्षतिबारे दुःख प्रकट गरिएको छ यसमा ।

(६)    राप्तीको रुवाइ– जीवनलाई सारोपित गरेर वर्णन गरिएको यो नियात्रा प्रकृति वर्णनको एक उदाहरण बनेको छ।

(७)    अन्नपूर्णको आँगन– हिमाली भेकमा पाइने चराचुरुङ्गी, जडीबुटी, हिमशृङ्खला, भोटे र भोटेनीहरूका जोडीको लोभ लाग्ने जीवनचर्याले यात्रीलाई मन्त्रमुग्ध बनाएको वर्णनले पाठकहरूको मनमा लोभ लाग्ने बनेको छ यो नियात्रा ।

(८)    खप्तड टेक्दाको दिन– पश्चिमी पहाडको अनुपम प्रकृतिले सिङ्गारिएको आकर्षक वर्णन छ यो नियात्रामा । त्यहाँ पुग्दाका आफ्नो जस्तै अनुभूति पाएँ यस नियात्रामा पनि । जीवन, प्रकृति, स्वर्ग, आकाश, पृथ्वी र देवताको सङ्गम हो खप्तड ।

(९)    प्रकृतिको फुलबारी– वास्तवमा खप्तडको क्षेत्रफल धेरै छ। खप्तडकै प्रकृति वर्णनले सजाइएको छ यो नियात्रा पनि ।

(१०)   खप्तडी क्षितिजमा गरिबीको छाया– खप्तडको चारदिने यात्रामध्ये अन्तिम दिनको यात्राको वर्णन हो यो । खप्तडमा २२ वटा ठुला पाटन भएको कुरा वर्णन गर्दै बझाङ, बाजुरा, डोटी र बैतडी जस्ता गरिबीले थिचिएका इलाका समेतको वर्णनले अझ धेरै महत्त्व बोकेको नियात्रा बन्न पुगेको छ यो ।

(११)   चक्रपथको गोलचक्कर– वि.सं. २०७४ सालमा काठमाडौँको चक्रपथ भ्रमणमा आधारित यो नियात्रामा हाम्रो राजधानीको वर्णन छ । फोहोर, चिन्ता, दुःख–कष्ट अनि सँग–सँगै विकासका अन्य अवरोधहरू देखेर धिक्कार मान्दै गोलचक्रपथको चक्कर मारेको कुरालाई भेषराजले नियात्रामा बदलेका छन् ।

(१२)   डुबेको मधेशका गढेका दर्दहरू– नेपालको दक्षिणी भाग जसलाई मधेश पनि भन्छौँ हामी । नढाँटी भन्नुपर्दा हाम्रो देशको दक्षिणी भूभागमा गरिबीको राज बढी नै देखा पर्छ । सबै मधेश होइन कुनै कुनै इलाका र गाउँले क्षेत्रहरू यस्ता छन् । यिनै गरिबीका छाया देखेर नियात्राकार यसरी द्रविभूत हुन्छन्─ “निम्नवर्गीय मधेशी समुदायको उत्थान गर्ने पूर्वाधारको जग थाप्न सुझाउँछु । परिस्थितिको राम्रो प्रवाह हेर्न नसक्दा धमिलिँदो रहेछ नजर, चिसिँदो रहेछ मन ।”

(१३)   मनमा छरिएको उज्यालो– विशेष हर्ष र उमङ्गले भरिएको यो नियात्रा सङ्ग्रहको तेह्रौँ नियात्रा पनि हो । आफ्नो जीवन साथीसित वाइरोडको बाटोमा धुलो उडाउँदै, चुरे र महाभारत पर्वतका भन्जयाङहरू पार गर्दै गरिएको यात्रा वर्णनले पाठकहरूलाई समेत मनोरञ्जन दिने पक्का छ ।

(१४)   नारायणीको तीरैतीर– आफ्नी जीवन सङ्गिनीसँग नवलपुरको लोकाहा खोला हुँदै नारायणीको धोसरघाटसम्म पुगेर आफ्ना सम्पूर्ण पितृहरूलाई तर्पण दिई हात्तीमा चढेर घर फर्केको रोचक यात्राको नियात्रा पठनीय छ ।

(१५)   लेकाली धरोहर फलामेडाँडा– वि.सं. २०७५ सालमा बद्री बुढाथोकी र कृष्णदेव भट्टको साथमा पर्वत जिल्लाको लुङ्दीखोला हुँदै बाग्लुङ पुगेर जलजला गाउँपालिकास्थित लेकाली सभ्यताको धरोहर फलामेडाँडा पुगेको रोचक यात्रा समेटिएको पन्ध्रौँ नियात्रा हो यो । पहाडी प्रकृतिको सुन्दर वर्णनले पाठकलाई मनमुग्ध बनाउँछ यो नियात्राले ।

(१६)   बिसौनी वल्तिर– यो सग्रहको सोह्रौँ नियात्रा हो । यो विशेष नियात्रा पनि हो, कारण यो सङ्ग्रहको शीर्षक पनि यही हो। नागीगाउँ, बाँसखर्क, डाँडाकटेरी, बनबढे पुग्ने बाटोको अवलोकन र परिचय गराउँदै पहाडी संस्कार र सभ्यता केलाउँदै गरिएको यो यात्रा वर्णन अति नै लोभलाग्दो छ । वास्तवमा जीवन एक यात्रा हो भन्ने कुराको बोध पनि हो यो नियात्रा।

(१७)   सौराहा सयर– आफ्नो परिवारसँग सौराहा घुम्दाको यादले भरिएको अति नै मनोरञ्जनकारी नियात्रा हो यो । वास्तवमा सौराहा एउटा प्रख्यात वन्यजन्तु निरीक्षणस्थल भएकोले यहाँ देखिएका अनौठा र दुर्लभ वन्यजन्तुहरूको अवलोकनले प्रफुल्ल भएको मनलाई नियात्राकारले सुन्दर ढङ्गले पस्केका छन् । अर्को कुरा, त्यो अन्तराष्ट्रिय मानिने वन्यजन्तु निरीक्षणस्थलको पेरिफेरीमा भएका होटल व्यवसायीहरूको अव्यवस्थित र दयनीय पेशा देखेर नियात्राकारले आफ्नो मन सानु पारेको कुरा पनि यहाँ पढ्न पाइन्छ।

(१८)   देवचुली– १,९३६ मिटर उचालिएको नवलपुर जिल्लाको अग्लो शिखर चुम्दाको रमाइलो वर्णनले भरिएको ज्यादै मनोविनोदकारी नियात्रा हो यो । यहाँबाट अवलोकन गर्दा देखिने प्राकृतिक सम्पदाको वर्णनले निकै रोचक बनेको छ लेखकका दुई आमा–छोरा समेतको यो यात्रा।

(१९)   गाईघाटे सम्झना – वि.सं. २०७५ साल मङ्सिरमास प्लेन चढेर सुरु गरिएको गाईघाटे यात्रामा समेटिएका अनुभव र भावनाहरूलाई मूर्तरुप दिइएको छ यो नियात्रामा । गाउँले परिवेश, वनजङ्गल र प्रकृतिको आकर्षक वर्णित छ यसमा ।

(२०)   टीकापुरतिर– अति नै आकर्षक शैलीमा प्रस्तुत गरिएको यो बीसौँ नियात्रा हो । यसमा टीकापुरस्थित आकर्षकस्थलहरू र धनगढीबाट टीकापुर पुग्दा बाटाको प्राकृतिक र कृतिम सौन्दर्यबारे अतुलनीय वर्णन गरेर पाठकलाई लोभ्याइएको छ । यसमा महेन्द्र आरोग्य गृह, खड्ग बहादुर स्मृति रङ्गशाला, नुक्लिपुर बनाना रेस्टुरेन्ट, टीकापुर पार्क र घोडाघोडी तालजस्ता दर्शनीय स्थलहरूको बारेमा प्रकाश पारिएको छ ।

(२१)   हावाहुरीको हुण्डरी– विनासकारी प्रकृतिको उद्धण्डताबारे वर्णन गरिएको यो नियात्रा बर्दिवासबाट सुरु भएको छ । वास्तवमा प्रकृति नै त ईश्वरको रूप हो, विनास गर्ने र संरक्षण गर्ने दुवै शक्ति प्रकृतिमा छ भन्ने कुरा यो नियात्राले पूर्ण ज्ञान गराउँछ । हावाहुरीको डुण्डरी देखेर नियात्राकार यसरी पोखिएका छन् गरीबहरूको पक्षमा– “कसैको टाउकोमा बोराको पोको। कसैको टाउकोमा छ टोपी माथि चस्मा। गरिबी गरीबहरूको जन्मजात कर्तुत ठान्छन् चस्माहरू।”

(२२)   तालिएको सम्झना वेगिएको मन– यो नियात्रा, यो सङ्ग्रहको बाइसौँ नियात्रा हो । “माझीदाई पोखरा फेवातालको, लाममाया साँच्चैको नलाम भो ख्यालख्यालैको” भन्ने फेवातालसित सम्बन्धित गीत गुन्गुनाउँदै फेवातालमा डुङ्गा सयर गरेको मनोरम यात्राको वर्णन छ यसमा ।

(२३) बुटवल–पोखरा– बुटवल पोखराको यात्राको क्रममा पहाडी बाटामा देखापरेका अनुपम प्राकृतिक छटाहरूको जीवन्त वर्णन छ यो नियात्रामा । यो यात्राबाट प्रभावित भएर यस्तो अभिव्यक्ति दिएका छन् नियात्राकार– “सोच्छु, माटाको बास्ना नआउने मुटु र ढुङ्गामा के फरक छ ” बाटाको प्रकृतिसित घोलिँदै गरेको यो यात्रा जीवन्त छ ।

(२४) कोशी किनारको एकझोक्का हावा– २०७६ सालको असारमास गरिएको कोशीटापु वन्यजन्तु आरक्ष (पूर्वाञ्चल) क्षेत्रको भ्रमणको रहरलाग्दो वर्णनले सजिएको यो चौबिसौँ नियात्रा पनि अति नै पठनीय रहेको छ । सुरक्षापोस्ट सहित व्यवस्थित मचानहरू लामवद्ध थिए भन्दै छावा, रतुवा र अर्ना देख्दाको रमाइलो वर्णन छ यो नियात्रामा पनि।

(२५)   सिमकोटे उचाइ– कर्णाली अञ्चलको हुम्ला जिल्लामा पर्ने सिमकोट नेपालको एउटा दुर्गम स्थल । त्यहाँको जनजीवन–रहन सहन र प्राकृतिक छटाबाट मुग्ध हुँदै लेखिएको यो नियात्रा पाठकलाई परिकारयुक्त भोजन मिलेको अनुभव हुन्छ । भाषा–संस्कृति, हावापानी र वन जङ्गललगायतको वर्णन गरिनुले पनि यो नियात्रा गुणकारी बनेको छ, पाठकका लागि।

(२६)   भेरीको किनारै किनार– यो नियात्रा यो सङ्ग्रहको अन्तिम नियात्रा हो । भेरी नदीको पेरिफेरी, प्राकृतिक सम्पदा, भेरी अञ्चलको जनजीवन सम्पूर्ण वर्णनले सजिएको यो नियात्राले भेरीको दुःखलाई बिर्साउने कार्य पनि गरेको छ ।

लामा–छोटा गरी जम्मा २६ ओटा यी नियात्राहरूमा आलङ्कारिक भाषा प्रयोग गरिएकोले ज्यादै पठनीय छन् । पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मका दर्शनीय प्राकृतिक, ऐतिहासिक, पौराणिक र धार्मिक स्थलहरूको साथै शैक्षिक स्थलहरूको पनि वर्णन गरिएकाले नियात्राहरू एक से एक ज्ञानवर्धक छ न्। व्यवहारिक जीवनमा ढालेर वर्णन गरिएका यी नियात्राहरूले ती स्थल, जिल्ला, अञ्चल, हिमशृङ्खला, नदी, ताल–तलैया र ती स्थलका जनजीवनको अवलोकनमा तुरुन्तै प्रस्थान गर्ने प्रेरणा उजागर गराउँछन् । कतै परिवारजनका साथमा र कतै कार्यालयका साथीहरूको टिम मिलेर गरेका यी यात्राहरू एक से एक मनोरञ्जनदायी समेत रहेका छन् । छोटो यात्रालाई पनि आलङ्कारिक र व्यवहारिक भाषा प्रयोग गरेर नियात्रा तयार गर्ने नियात्राकार भेषराजले प्रत्येक नियात्रामा १,२ वटा ती स्थलका आफूसहितका फोटाहरू राखेका भए अझै सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने मेरो धारणा रहेको छ । गाढा निलो र सेतो, हरियो धुप छायामा रङ्गिएको अगाडिपट्टिको कभरले पनि यो कृतिमा सुन्दरता थपेको छ । त्यस्तै रातो–निलो धुप छाया र सेतो रङ्गमा रङ्गिएको पछाडिपट्टिको कभरमा नियात्राकारका प्रकाशित भएका कृतिहरूको नामावली रहेको छ । नियात्राकारको सुन्दर तस्बिर सजाइएको पछाडिपट्टिको पृष्ठले कृतिलाई अझै सुन्दर बनाउने कार्य गरेको छ ।

अन्त्यमा नियात्राकार भेषराज रिजालमा शुभकामनाका ४ हरफ कवितासहित यो समीक्षात्मक लेखमा बिट मार्न चाहन्छु–

                सारा नेपालको यात्रा, नियात्रा कति सुन्दर

                कतै प्रकृतिको चित्र, कतै छन् झुपडी घर।

                कतै खोला र नाला छन्, कतै हिमाल शृङ्खला

                कतै वर्णनमा बारी, कतै छन् खेतका खला।

                चुरे पहाडका दृश्य, हिमाली भेग मन्दिर

                कतै तालतलैया छन्, वन्यजन्तु कतैतिर।

                राष्ट्र–राष्ट्रियता बोकी, उठेका सब भावना

                नथाकोस् लेखनी कैल्यै, छ मेरो शुभकामना।

 

प्रतिक्रिया
Loading...