साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

कथा सुनाउँदै युराेप घुमाउने कृतिः “युराेप यात्राका सम्झनाहरू”

आउनोस्, एकछिन युरोपबारे रमाइलो कथा सुनौं ।

सुरु हुन्छ अष्ट्रियाको इन्स्ब्रक सहरबाट ।

हिमाल गोर्खाको मनकामनाभन्दा अलिकति मात्र फरक छ । यहाँ पहाडको टुप्पामा मन्दिर छ, त्यो पहाडको टुप्पामा हिउँको थुप्रो । फेदीमा यहाँ त्रिशुली नदी छ, त्यहाँ इन रिभर छ । नेपालको गोरखामा पृथ्वी नारायण शाह जन्मिए, इन्स्ब्रकमा सङ्गीतका बादशाह मोजार्ट जन्मिए । सङ्गीतको तीर्थधाम । रक्सी, बियरको ओहोलो पोहोलो । केबुलकार चढ्दै गर्दा बिचतिरबाट यहाँ गाउँले बस्ती, भीरपाखा देखिन्छ, त्यहाँ सुन्दर रिसोर्टहरू । हाम्रो मनकामनानजिक कुरिनटारमा झ्याप्सीघारी छ, उनेरको इन्स्ब्रकनजिक लहलह अङ्गुर र जैतुनका बोटबिरुवाहरू छन् । अलिअलि मात्रै फरक छ । उनेर जाँगरिला; हामी अल्छे । यति हो फरक । नत्र उस्तै छ ।

अब स्वीट्जरल्याण्ड हेरौं ।

भू–बनावटको कुरा नगरौं । ‘नेपालको फोटोकपीलाई स्वीट्जरल्याण्ड भन्दछन्’ भन्दा फरक पर्दैन । तर त्यहाँको नियम कानुन र यहाँको नियम कानुनचाहिँ औंसी र पुर्णेजस्तो छ । यहाँ बैङ्कहरूको भरोसा गर्नै गाह्रो, त्यहाँ नेपालका मैहुँ भन्नेले सम्म पैसा राख्न त्यहाँ पुर्याउँछन् । यहाँ सगरमाथा चढ्न मान्छेले भरिया जानुपर्छ, त्यहाँ रेल अखेटा चढ्दै पर्यटक बोकेर जङफ्राउ हिमाल हेर्न पुर्याउँछ । रोलेक्स्, रिसोटजस्ता लोकप्रिय घडी बनाउँछन् र विश्व बजारमा बेच्दछन् । तर हाम्रो पनि यार्सागुम्बा, अलैंची, रुद्राक्षजस्ता बहुमूल्य चीजहरू त प्रकृतिबाटै पाएका छौं, प्रशोधन गरेर बेच्न नचाहेको मात्रै हो, सरकारले ।

प्रगति राई

बरु, जङफ्राउ हिमालसम्म रेल पुग्नुपूर्वको सानो कथा सुनाउँछु । ‘मि. एडोल्फ गुयर जिलर’ले सन् १८९३ मा पहिलोचोटि कागजमा पेन्सिलले कोरेर त्यहाँसम्म रेल पुर्याउने परिकल्पना गरेका थिए । त्यसको मास्टर प्लान भएपछि त्यहाँको सङ्घीय सदनले २१ डिसेम्बर १८९४ मा स्वीकृति दियो र २७ जुलाई १८९६ बाट निर्माण कार्य सुरु भयो । लगभग १५० इटालियन श्रमिकहरूबाट काम सुरु गरियो । परियोजनाको एक खण्ड श्रमिकहरूले हाते औजारले नै सम्पन्न गरेका थिए । अब कडा चट्टानको भाग आयो । विष्फोटक पदार्थहरूको प्रयोग गर्नेबेला आयो । तर दुर्भाग्यवश यहीबेला परिकल्पनाकारकै निमोनियाद्वारा निधन भयो । उनको निधनपछि पनि काम निरन्तर गर्न त खोजियो, तर सन् १९०५ मा मजदुर हड्तालले तीव्र रुप लियो । अब ४.५० फ्रेङ्कमा कसैले काम नगर्ने भए । कम्पनीले पैसा तिर्न नसक्ने भएपछि परियोज नै बन्द भयो । अरु कम्पनीहरू पनि बन्द भए । बेरोजगारी ह्वात्तै बढ्यो । दुई वर्षपछि मजदुर सङ्घसँग पुनः सम्झौता भएर फेरि मे ११ तारिकबाट पुनः कार्य सुचारुमा आयो । लगभग १६ मिलियन स्वीस फ्रेङ्क, नेपाली रुपियाँ करिब १ खर्ब, ३२ अर्बजति लागतमा निर्माण सम्पन्न भएको थियो । आज सगरमाथाभन्दा दोब्बर लोकप्रियता कमाइरहेको जङ्फ्राउको शक्ति यसरी बढेको हो ।

स्कटल्याण्डको लेखक डाँडा ।

नेपाल, चितवनको कवि डाँडाभन्दा अलिक फरक । समयको कुनै कालखण्डमा कुनै लेखकलाई समर्पित गरेर सो अग्लो डाँडालाई लेखक डाँडाे भनी नामाकरण गरियो । त्यो डाँडामा पुगेपछि स्कटल्याण्ड मजाले हेर्न सकिन्छ । सायद लेखकले पनि त्यहीँबाट आफ्नो अनेकौं सिर्जनाहरू जन्माएर बिते होलान् । उनको मृत्युपर्यन्त पनि त्यो ठाउँको नाम लेखक डाँडा नै रहन गयो । तर आज सयौं पर्यटकको गन्तव्यविन्दु भएर बसेको छ त्यो ठाउँ । स्कटल्याण्ड जानेहरू प्रायले त्यो ठाउँमा पाइला राखेकै हुन्छन् । यो एक लेखकको नाममा गरिएको समर्पण सम्झौं ।

इटलीको ढल्के टावर ।

यो टावर जिरोबाट १५ फिट ढल्केर बसेको छ । इस्वी ११७८ तिर यो टावरको निर्माण सकिन लाग्दा जग भाँसिएर एकातिर ढल्ने तयारीमा रह्यो । तर नेपालमा जस्तो निर्माण कम्पनीलाई सत्तोसराप गरी समय खेर नफालेर झन् विशिष्ट इन्जिनियरहरूको प्रविधिले यसलाई सोही अवस्थामा अगाडि २०० वर्षसम्म रहनसक्ने बनाए । यही ढल्के अवस्था नै यसको अद्भुत विशेषता रहन गयो । बाह्रौं सताब्दीदेखि आजतक उतिकै मान्छेका मन जित्न सफल भएको छ । हजारौं मानिसको ध्यान आफूतिर तान्न सफल भएको छ । देशलाई आर्थिक टेवा दिएर मजवुद बनाएको छ ।

जर्मनको कुरा । म्युनिख सहर ।

पहिलो विश्वयुद्धमा हिटलर सेना भएर गोरखालीसँग लडेको देश । आजपर्यन्त युरोपमध्येको सम्पन्न र शक्तिशाली राष्ट्रमा गनिन्छ । युरोपमा सर्वाधिक गनिएको फूटबल क्लव एफ. सी. बायनको देश । बिएम डब्ल्यू , मर्सिडिज, फरारीजस्ता शौखिन कारहरूको उत्पादक कम्पनी भएको सहर । बिएम डब्ल्यू कार उत्पादन कम्पनी त झन् म्युनिख सहरमै छ ।

तर टाइसुट लगाएको मान्छेको भित्री लुगामा चाहिँ जुम्राको गुँड भएजस्तो म्युनिखमा मगन्तेहरूको बाक्लो चाप छ । पकेटमारको उस्तै बिगबिगी । पथ–प्रदर्शक पनि उस्तै लावारिस । ग्रुपको मान्छे हराएको वास्तै नगर्ने । होटलमा बसेर यता आउनु र उता जानु भनी अह्राउने । कोही चोकमा गीत गाएर रमित देखाउँदै पैसा माग्ने, कोही भने पछाडिबाट पर्स थुत्ने । गाली गर्दा उल्टै चोरले पर्यटकलाई थर्काउने । अपाङ्गहरूलाई बोकेर सडक चोकमा ल्याइजाने, दयाको भिख मगाउने अनि सपाङ्गले मोज गर्ने । अपाङ्ग नागरिक सवलाङ्गहरूको कमाइखाने भाँडो । कोही जादुवाला, कोही भूतवाला अनेक रुपधारी मगन्तेहरूको बजार हो म्युनिख । यति बाक्लो बजारमा सार्वजनिक शौचालय नराखिएको । शौचालयकै लागि होटल छिर्नै पर्ने । केही किन्नै पर्ने ।

जर्मन साहित्यमा लोरेली नाम गरेकी एक यस्तो सुन्दरी स्त्री मिथकले स्थान पायो कि, अन्ततः सो मिथअनुसार स्त्रीको मूर्ति नै तयार भयो । मिथ अनुसारको कथा– ‘चट्टानी कालो पहाडको फेदीमा एउटी सुन्दरी परीको विचरण हुने गर्दथ्यो । आफ्नो प्रेमी आउने प्रतिक्षामा वर्षौं बिताइन्; प्रेमी आएन । अन्ततः उनी त्यही नदीको कलकल बग्ने पानीको आवाजसँगै त्यही पहाडमा विलय भइन् ।’ यसै मिथ अनुसार किंवदन्ती बन्यो, ‘तिनै परीको आत्माले समातेर त्यो ठाउँमा धेरै पानीजहाजहरू दुर्घटना हुन्छन् । ती सुन्दरीको मूर्ति स्थापना गरेपछि दुर्घटना हुन छाड्यो ।’ तर खासमा त्यो पहाडको फेदीमा नदीको साँगुरो आयतनमा पानीको बहाव तेजवान् रह्यो । चट्टानमा बहाव ठोक्किएर परावर्तन हुँदा त्यहाँ भुमरी पर्न गई, जहाजले नियन्त्रण गुमाउँथ्यो । अब, सुन्दरी स्त्री देख्दा खालि राजमार्गमा त ड्राइवरले नियन्त्रण गुमाउँछ भने, भुमरीमा दुर्घटना हुनु कुन नौलो कुरा भयो ?

यसै मिथलाई लिएर १८०१ तिर जर्मन कथाकार ब्रेन्टानोले कथा लेखे । सङ्गीतकारले ‘लोरेली’ नाम दिएर लोरेली सङ्गीत तयार गरे । हेन्रिच हेन जर्मन कविले १८२४ मा कविताको पुस्तकै तयार गरे । अमेरिकी कवि साल्भिया प्लाथले पनि लोरेलीबारे कविता लेखिन् । तिनै लोरेली स्त्रीको नाङ्गो काँचको मूर्ति सेन्टगोरस्थित पहाडमा अवस्थित छ । जसलाई हेर्न हजारौंको भिड लाग्ने गर्दछ ।

अँ, यो पंक्तिकारले कोठामा बसीबसी यतिका गफ दिन सकेको चाहिँ कसरी भने, कवि तथा नियात्राकार मदन राई ‘लामाखुले’को नियात्रा कृति ‘युरोप यात्राका सम्झनाहरू’ नामक पुस्तक हातमा छ । ‘मदन राई’ भन्नासाथ पाठकलाई युट्युबमा भाइरल मदन राईको अनुहार मष्तिस्कमा आउला । यसो भयो भने गलत हुनेछ । ती भाइरल मदन राई रतन्छाली हुन् भने यी नियात्राकार मदन राई लामाखुले हुन् । तर दुवैकाे प्रदेश भने एउटै हाे, प्रदेश नं. १ ।

लामाखुले मदनले युरोपको मात्र होइन, युकेको पनि विभिन्न ठाउँको भ्रमण गरी सविस्तार वर्णन पुस्तकमा उतारेका छन् । युरोपका दशवटा अनि युकेको तेत्तीसवटा गरी त्रिचालीसवटा यात्राबारे पुस्तकमा पढ्न पाइन्छ ।

यही किताबबाट युकेको भ्रमणबारे कुनै दुई अनुच्छेद यहाँ राख्दछु–

स्रष्टासँग लाभेन्डर फार्ममा ।

युके निवासी नेपाली साहित्यका धुरन्धर हस्तीहरू देवेन्द्र खेरेस, मिजास तेम्बे, गणेश राईसँग लामाखुले मदन एक दिन सबैभन्दा ठूलो लाभेन्डर फार्म मेफिल्ड पुग्छन् । वैजनी रङमा फुल्ने भुइँझार प्रकृतिको यो फूलको फार्म एक किसान परिवारबाट सञ्चालित रहेछ । जुनबाट सेप्टेम्बरसम्म फुल्ने सिजनमा हजारौं पर्यटक पुग्दारहेछन् । छेवैमा रेष्टुरन्ट, मार्ट सञ्चालित रहेछ । यसबाट सुगन्धित तेल उत्पादन गरिदोरहेछ । फार्ममा माहुरीको उस्तै बथान । फार्मको छेउछाउ माहुरीपालन पनि होला सायद । फूल पनि बिक्दो रहेछ, एक गुच्छाको ४ पाउण्डमा । पर्यटकको घुइँचो । फूल बेच्यो पैसै, पर्यटकलाई इन्ट्री गरायो पैसै, खानाखाजा बेच्यो पैसै, सयौँ कार पार्किङबाट आउनै पैसै । पार्किङ स्थलहरूको नाम पनि आँप, सुन्तला, नास्पाती । ‘तिमी कहाँ छौ ? म सुन्तलमा छु । अनि तिमी चाहिँ ? म नास्पातीमा ।’ सँगै गएका साथीसाथीको फोनमा वार्तालाप । अग्लो बोर्डमा फलको चित्र हेरेर साथी भए ठाउँ पत्ता लगाउन कति सजिलो ।

लण्डनमा साकेला ।

नेपालीहरूले लण्डनमा किरात राई यायोक्खा, बेलायतको स्वामित्वमा १० एकर जमिन खरिद गरेर साकेला थान बनाएका रहेछन् । किरात राईहरूको महान् चाड उभौँली उधौलीमा भव्य साकेला मनाइँदो रहेछ । त्यही उधौलीको छेको पारेर स्रष्टा लामाखुले पनि सहभागी भएका रहेछन् ।

लामाखुले मदन सन् २०१८ मा काठमाडौंको ज्ञानेस्वर स्थित जर्मन दुतावासले युरोपियन युनियनआवद्ध देशहरूमा निर्वाध घुम्न पाउने सेन्जेन भिसा लगाइवरी युके पुगेछन् । यो यात्रालाई उनले आफूमा मात्र सीमित नराखी पुस्तकको रुपमा बजारमा ल्याएका छन् । विश्वको आधाभाग भूगोलबारे लेखिएको यो पुस्तक साँच्चै नै आम पाठकका लागि निक्कै फलदायी बन्नेछ ।

तर, यात्राको वर्णन गर्दा ब्युँझेदेखि ननिदाएसम्मका कुरालाई सबै समेट्नुभन्दा रोचक कुराहरू मात्र समेटेर पुस्तकको आकार पकेट बुक बनाएको भए झनै सजिलो र छरितो हुने थियो । लेखाइको प्रकृति हेर्दा यो किताब स्रष्टाले दैनिकी लेखेको रहेछ भन्ने बुझिन्छ । यसैले पनि यसको शैली यात्रासंस्मरण अनुसार छैन । संस्मरण भन्नेबित्तिकै बितेको समयलाई सम्झने कुरा रहन्छ । यसमा धेरै अनुच्छेदहरू वर्तमानकालमै राखिएको छ । मिति राख्दा पनि अगाडि सन्, इस्वी आदि नराखी सिधै अङ्क राखिएको छ २०१८ । अनुमानले यो अङ्ग्रजी संवत् भनी बुझ्नुपर्दछ । लेखाइको क्रममा धेरै हिज्जे त्रुटिहरू छन् । कही एकै नामलाई फरक लेखाइ छ । जस्तैः ‘लेभेण्डर, लाभेण्डर ।’ वाक्य गठन कतै अलि असहज लाग्ने खाल्को छ । जस्तैः ‘घुम्ने ठाउँ धेरै थियो, यसको बाबजुद समय थिएन ।’ असम्भव कुरालाई सम्भव बनाउन सकियो भने बल्ल ‘बाबजुद’ शब्दले ठाउँ पाउँदछ । ‘अन्धालाई आँखा भेटेजस्तो’ स्रष्टाले प्रयोग गरेको यो वाक्यले दृष्टिविहीन व्यक्तिलाई चोट पर्न जान्छ । लेख्ने क्रममा सानातिना त्रुटिहरू त हुन जान्छ नै तर किताबको रुपमा ल्याउनुपूर्व केही सिद्धहस्त व्यक्तिलाई एकचोटि सरर देखाउँदा पुस्तकमा झनै निखारपना आउँछ । पढ्न मज्जा आउँछ ।

बाँकी कुरा, स्रष्टा मदन लामाखुलेको शैली एकदम मिठो छ । उनी कुनै पनि कुराको वर्णन गर्दा चलनचल्तीको उदारहण दिएर व्याख्या गर्दछन् । ‘बेह्रेर राखेको मान्द्रो फिजाएको जस्तो भू–बनोट’ ‘स्वीट्जरल्याण्डको जङ्फ्राउ हिमाल र नेपालको मनकामना मन्दिर उस्तै रहेको’ आदि उदारहणले गर्दा पाठकलाई नौलो ठाउँबारे पढ्दा पनि फोटो हेरेजत्तिकै छर्लङ्ग भाव बुझाउँछ । उनको लेखाइमा सेन्स अफ ह्युमर प्रचुर मात्रामा पाइन्छ । ‘गोराहरू हल्ला गर्दैन भन्छन् तर दारुपानी लगाएपछि सबै उस्तै रहेछ । डाइनिङ हलमा भाकाबिनाको हल्लीखल्ली थियो ।’ ‘पेय पदार्थ नरम, कडामध्ये मैले कडा नै रोजें । यसमानेमा म आफूलाई सर्वभोगी, जे पायो त्यही खाने रोगी नै ठान्दछु ।’ आदि जस्ता वाक्यहरूले पठनमा रसिलो स्वाद थपेको छ ।

यो नियात्रासङ्ग्रह पढ्दा साँच्चै नै पाठकलाई जाँगरिलो महसुस गराउँछ । आफ्नो बाँकी उमेर कोठाभित्रबाट तुरन्तै निकालेर खाली जमिनमा पसिना फुलाउन थालिहालूँ झैँ बनाउँछ । स्रष्टाले कही एक हरफ लेखेका छन्, ‘विदेशमा देखेको कुरा नेपालमा गर्न चाहेर पनि मेरो आयुले भ्याउँदैन ।’ यो हरफ पढ्दा मुटुमा चसक्क सोला पर्छ । साँच्चै नै स्रष्टा लामाखुले आफ्नो उमेरको एकहत्तरौं वर्षमा यात्रारत रहेछन् । उनीभन्दा कम उमेरका मान्छेहरू ‘काम छैन’ भन्दै ओछ्यानमा लडिराख्नेहरूलाई अवश्य नै यो वाक्यले अनुहारमा झापट हान्छ ।

यो कृतिमाथि जय छाङ्छाको पाँच पृष्ठ लामो भूमिका रहेको छ । यतिमालो भूमिका झट्ट हेर्दा दिक्क लागे तापनि यात्रा/नियात्रा लेखनबारेको इतिहास पढ्न पाइन्छ । पढ्दै जाँदा ‘कति छोटो लेखेको ?’ झैँ पो लाग्छ । यसको मतलब इतिहासको कुरालाई पनि सटिक पारामा लेखेका छन् । सरण राईको शुभकामना रहेको छ ।

कृतिः युरोप यात्राका सम्झनाहरू (यात्रा संस्मरण)
लेखकः मदन राई ‘लामाखुले’
प्रकाशकः ओरिएन्टल प्रकाशन, काठमाडौं
मूल्यः रु. ३५०/–

प्रतिक्रिया
Loading...