साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

‘राँको’भित्रका राप नियाल्दा

असम, विश्वनाथ जिल्लाअन्तर्गत गमिरिगाउँ निवासी रामप्रसाद दाहाल असम- उत्तरपूर्वाञ्चलकै गजल विधाको एउटा चर्चित नाम हो । उनको सन् २०१८ मा प्रकाशित ‘राँको’ गजलसङ्ग्रह पढेपछि मनमा उब्जिएका भावहरू पोख्न खोज्दैछु । यस सङ्ग्रहमा ७२ वटा गजलहरू छन् । यस गजलसङ्ग्रहअघि नै उनले तिनवटा पुस्तक प्रकाशित गरिसकेका थिए । लच्किएका अनुभव (कविता सङ्ग्रह, २००१), मृत्युको पर्खाइमा (उपन्यास, २०११), उद्भव ( गजल सङ्ग्रह, २०१८) । ‘राँको’ नियाल्नेअघि असमेली नेपाली साहित्यमा गजलको इतिहास कोट्याउन चाहन्छु । असमेली नेपाली साहित्यमा गजलको इतिहास त्यति लामो छैन । साठीको दशकमा कवि हरिभक्त कटुवालले कतिपय गजलगन्धी भाव सिर्जनाका रूपमा प्रकाश गरे तापनि गजलका निर्दिष्ट सैद्धान्तिक नियम अथवा ढाँचाहरू नहुनाले ती रचनाहरूलाई गजल भन्न सकिँदैन । सत्तरी र असीको दशकतिर के. बी. नेपालीका निकैवटा गजल उनकै सम्पादित पत्रिका ‘बिन्दु’मा प्रकाशित भएका हुन् । असीको दशकमा आएर मात्रै असममा गजलले पुस्तकाकारमा निस्कने अवसर पायो ।
सन् १९७४-७५ मा बडपथारका धर्मोगत शर्मा ‘तुफान’ले ‘विद्रोही आवाजहरू ‘ शीर्षक गजलसङ्ग्रह प्रकाशित गरेर असमको पहिलो गजलकार हुने गौरव अर्जन गर्दछन् । तुफानका गजलहरूमा प्रेम-विरहभन्दा आक्रोश, विद्रोह, देशप्रेम, शोषण, अत्याचारको विरुद्ध प्रतिवाद, स्वाभिमान, अमानवीयता, विपक्ष प्रतिवादी र विप्लवका स्वरहरू बढी पाइन्छन् । त्यसपछि उनलाई अनुसरण गर्ने भनौँ अथवा गजल विधामा आकृष्ट हुँदै गजल सिर्जनामा प्रवेश गर्नेमा गोविन्द शाण्डिल्य र भविलाल लामिछानेको नाम आउँछ । यहाँहरू पछि नै यस विधालाई दह्रो गरी समात्ने गजलकार नै हुन् रामप्रसाद दाहाल। असममा गजलीय वातावरण मजबुत पार्ने नयाँ पुराना गजलकारहरूमा ऊर्जा भर्ने उद्देश्यले असमको विश्वनाथ चारालीस्थित साहित्यिक संस्था ‘ अनुपम चिन्तन मञ्च ‘ले सन् २०१९ मा रामप्रसाद दाहाल, कृष्णनील कार्की, अर्जुन निरौलाको सम्पादनामा ३१ जना गजलकारहरूको संयुक्त सङ्कलन ‘ गजल यात्रा’ प्रकाशित गरेर गजल विधालाई भरसक मलजल दिँदै थुप्रै गजलकारहरूलाई यस विधातिर ल्याउन सफल भएको कुरा गजलका कृति प्रकाशित हुनु सहितै सोसियल साइट र विभिन्न पत्र-पत्रिकाहरूमा प्रशस्तै लेखिएका गजलहरूबाट थाहा हुन्छ ।
कृष्णनील कार्की (विश्वनाथ, असम)

भारतीय साहित्य प्रतिष्ठान, तेजपुर, शोणितपुर, असमबाट प्रकाशित दाहालको ‘राँको’ सङ्ग्रहका भूमिकाकार वरिष्ठ कवि मोहन सुवेदी दाहालका गजल प्रेममा परेको उनकै भूमिका लेखबाट थाहा पाइन्छ -‘ असमेली नेपाली साहित्यमा गजल लेखनको परम्परा त्यति लामो छैन, औँलामा गनिन सकिने रचनाकारहरूमात्र गजलको गरिमामय संसारमा साधनारत भइरहेका पाइन्छन् । वर्तमान समयमा गहकिला गजलहरू लेखेर पाठक समाजमा चर्चित बनिसकेका गजलकार रामप्रसाद दाहालको यो कृति ‘ राँको’ ले निश्चितरूपमा यस विधामा ठुलो थप पुर्‍याएको छ । उनका गजलका शब्दहरूले च्वास्स घोच्ने गर्दछन्, केही चिन्ता गर्नुपर्ने बाध्यतामा पुर्‍याउँछ औ भावनाका लहरहरूले मन- मस्तिष्कलाई आन्दोलित पारेको हुन्छ । ‘ प्रसिद्ध गजलकार गोविन्द शाण्डिल्य पनि दाहालका गजलदेखि प्रभावित भएर नेपालीमा मात्रै होइन हिन्दीमा पनि गजल लेख्न आग्रह गरेको  कुरा उनकै शुभकामनारूपी सन्देशमा यसरी लेख्छन् -‘ ….. समग्रमा भन्नुपर्दा प्राय: गजलहरू सुक्ष्म मानवीय सम्वेदनाले ओतप्रोत छन् । रदिफ, काफियादेखि लिएर गजलका धेरै अनिवार्य तत्वहरू प्रति सचेतन दाहालले नेपाली अतिरिक्त हिन्दी भाषामा पनि गजल लेख्न प्रारम्भ गरेको थाहा हुँदै छ । हिन्दी गजल साधनाले ख्याति अर्जन गर्न सक्नु हामी सबैका लागि निकै गौरवयोग्य पक्ष हुनेछ निश्चय आशावादी बनौँ। ‘ गजल लेखनमा मात्रै केन्द्रित नरहेर असमका युवा पिँढीलाई गजल लेख्नुमा उत्साह र सिकाउने काममा पनि सदैव तत्पर दाहालका बारे कवि, कथाकार, उपन्यासकार डा. इन्दुप्रभा देवी यसै सङ्ग्रहमा शुभकामनारूपी सन्देशमा यसरी लेख्छिन् – ‘ असममा गजलको यात्रालाई निरन्तरता दिँदै आउने एकजना युवा गजलकार हुन् रामप्रसाद दाहाल। संवेदनशील र सम्प्रेषणीय उनका गजलहरूमा जीवनका विशिष्ट पक्षका विशेष अभिव्यक्तिहरू छन्, सरल मानवीय अनुभूतिहरू छन् ।’

यसरी नै मणिपुरकी कवयित्री वसन्ती पौडेल र शोणितपुर मिसामारीका रञ्जित छेत्रीले पनि शुभकामनाका हरफहरू कोर्दै दाहालका गजल मिठासले भरिएका कुरा स्विकारेका छन् । रामप्रसाद दाहालले ‘असम नेपाली साहित्य सभा’को अगुवाइमा अनुष्ठित गजलको कार्यशाला र फेसबुकले गजल लेखनमा सघाउ पुर्‍याएको कुरा स्विकार्दै ‘मेरो केही भन्नु नै पर्नेहुँदा’ मा यसरी लेखेका छन् – ‘ वर्तमान समयमा असममा पनि केही गजलकार जन्मिएका छन् अथवा गजलको न्यूनतम महफिल तयारी हुँदै छ, त्यो असम नेपाली साहित्य सभाको परिश्रमले गराएको प्रशिक्षणको नतिजा हो । फेसबुकले कसैको जीवनमा नकारात्मक प्रभाव पारेको छ होला तर मेरो जीवनमा ठुलो सकारात्मक प्रभाव पार्‍यो, पहिला त मलाई धेरै भन्दा धेरै साहित्यिक तथा गजलकार मित्र दियो अनि गजल सिर्जना गर्न सम्पूर्ण सहारा दियो ।’
सङ्ग्रहभित्रका गजलहरूमा सामयिक चिन्तन छ । वर्तमान समयको प्रतिविम्ब छ । मातृवन्दना, पितृवन्दना, देशभक्ति,
जातीय अस्मिताबोध, मानवीय मुक्तिको जयगीत, मानिसबिचको अन्तर्कलह,  विद्रोह, हुङ्कार, स्वाभिमान  आदि आकर्षणीय शैलीले गजल प्रस्तुत गरिएको पाइन्छ ।
दाहालका गजलहरूमा जीवनको भोगाइ छ । छेउछाउको परिवेश, नौलो स्वादको समाहार छ । कविले भोगेको जीवन छ ।
‘घामको तीव्र तापमा पनि छहारी देख्छ कविले
योद्धाझैँ काँडा या कोइला पनि चेप्न चाहन्छ ।
कविले पुस्तक किन्ने क्रान्ति जन्माउन सक्तैन
आफ्नो स्वीकृति सिर्फ बधाईले भेट्न चाहन्छ ।’
(गजल- तीन, पृष्ठ- १९)
‘ आँखा नझिम्काई म नजर लाउँदै छु कसैलाई
कोही मेरा आँखा छलेर भाग्न दाउ खोज्दै छ ।
हेर न सम्मान र कुर्सी खोज्दैछ बेमानी नेता
गरीब कवि बजारमा कविताको भाउ खोज्दैछ। ‘
(गजल- बार, पृष्ठ- २८)
‘मौन रह्यो, कविता लेख्यो समाजका लागि
तर लेखेर आफ्नो पेट पनि पालेन कविले ।
सधैँ भावुक भयो, पिर खप्यो, भोकै बस्यो
धरोधर्म आफ्नो इज्जत फालेन कविले । ‘
(गजल- पचास, पृष्ठ- ६६)
दाहालका गजलहरू जति पढ्यो त्यति नै पढिरहन मनलाग्ने छन् । मनछुने गजलहरूले भरपुर गजलीय आनन्द दिएको छ । गजलमा प्रेम-प्रीतिको भरमार छ ।
‘एउटा गजल लेख्न खोज्दैछु तिम्रो नाउँमा
रसिला शब्दमा आँखा चोब्दैछु तिम्रो नाउँमा ।’
(गजल -दस, पृष्ठ – २६)
‘तिमीले बिर्स्यौ होला तर मैले भुलेको छैन
तिमी छाडी यो मन अरू कतै डुलेको छैन । ‘
(गजल- चालीस, पृष्ठ – ५६)
‘मृदु ओठमा लाली चडेपछि मलाई बिर्स्यौ
तिम्रो रूपमा शृङ्गार बढेपछि मलाई बिर्स्यौ।
(गजल – एक्काईस, पृष्ठ – ३७)
‘ तिमी हाँसिराख तिम्रो हाँस्ने मजबुरी छ
मेरो त मुटुभरि पीडा टाँस्ने मजबुरी छ । ‘
(गजल- छैंसठ्ठी, पृष्ठ- ८२)
दाहालका गजलमा गरीबको व्यथा छ । गरीबको कथा छ । गरीबले पाउने हक-अधिकार छ ।
‘हातमा धन नहुँदा मनै मरिदिन्छ गरीबको
दैवले पनि घाटा मात्रै गरिदिन्छ गरीबको ।’
(गजल – आठ, पृष्ठ- २४)
‘धनीले बूढी आमालाई एक्लै छोडेको छ
गरीब छोराले आमासँग दुख बाँडेको देखें । ‘
( गजल- नौ, पृष्ठ- २५)
‘निमुखा गरीब एकमुट्ठी माम नभेटेर हैरान छन्
पदप्रेमीहरू निम्तोपत्रमा नाम नभेटेर हैरान छन् । ‘
(गजल – छब्बीस, पृष्ठ- ४२)
‘ गरीब भन्छ छाक टार्न कतैबाट नुन पैँचो ल्याऊँ कि
धनी भन्छ लाज ढाक्न कतैबाट सुन पैँचो ल्याऊँ कि। ‘
(गजल- छत्तीस, पृष्ठ – ५२)
‘धर्मको नाउँमा करोडौँ खर्च गरिन्छ हाम्रोतिर
गरओबले भोकाएर गला रेट्दा खटपटिएँ म । ‘
(गजल- सत्तरी, पृष्ठ – ८६)
दाहालले  सामाजिक विसङ्गति, नेताहरूको रजगज  र सरकारलाई जोडदार तरिकाले प्रहार गर्दै यसरी गजलमा प्रस्तुत गरेका छन्-
‘ हेर यो समाज हजार गुटमा फाटेको देखेँ
असत्य बोल्दिनँ भन्नेले सोझै ढाँटेको देखेँ । ‘
(गजल – नौ, पृष्ठ – २५)
‘ हाम्रा नेता सदनमा कुर्सी तानातान गर्दै छन्
यता जनता सडकमा ढुङ्गा हानाहान गर्दै छन्। ‘
(गजल – एघार, पृष्ठ – २७)
‘ मौका पर्नु भने यो धर्ती पनि बेच्छन् होला दलालले
पैसा लुट्न मुर्दाको गला पनि रेट्छन् होला दलालले । ‘
( गजल – तेर, पृष्ठ – २९)
‘सरकार, यो बताऊ कि तिम्रो पारा के छ?
यो देशको प्रगति गर्ने छुट्टै चारा के छ? ‘
(गजल – चौध, पृष्ठ – ३०)
‘ सबैको भरमा नपर यहाँ दु:शासन धेरै छन्
बेमानी चौरमा नचर यहाँ दु:शासन धेरै छन् । ‘
( गजल – बाइस, पृष्ठ – ३८)
‘जस्ले आफ्नो घर जलायो ऊ समाज बनाउन हिँड्दै छ
मलाई लाग्छ ऊ समाजमा कचिङ्गल खनाउन हिँड्दै छ । ‘
(गजल – चौँतीस, पृष्ठ – ५०)
‘ बोल्दैनन् सरकारी कामदार नोट नदिउन्जेल
नेता बकिरहन्छ जनताले भोट नदिउन्जेल। ‘
(गजल – त्रिसठ्ठी, पृष्ठ – ७९)
पितृ र मातृप्रेममा समर्पित दाहालका गजलहरूले मन चस्स छुने गर्छ । अनूभूतिक तीव्रता र भावपक्ष सवल भएर होला मन-मस्तिष्कलाई आन्दोलित पार्न सफल भएका छन् दाहालका गजलहरू……
‘जब यो मुटु चिरा पर्छ त्यतिबेला तिम्रो याद आउँछ आमा
यो मेरो हृदय कहाँ मान्छ हरघडी तिम्रैतिर धाउँछ आमा । ‘
(गजल – सत्ताइस, पृष्ठ- ४३)
आमासँग छोरो झर्केको देख्दा रुँदैछन् भगवान्
बूढो आँखामा आँसु दर्केको देख्दा रुँदैछन् भगवान् । ‘
( गजल- एकतीस,  पृष्ठ- ४७)
गजलकार रामप्रसाद दाहालको ‘राँको’ गजलयात्राको दोस्रो फसल हो । पहिलो गजलसङ्ग्रह ‘उद्भव’का भन्दा धेरै खारिएका गजलहरू ‘राँको’मा छन् । अझ अहिले सोसियल साइटमा धेरै राम्रा गजलहरू उनीबाट लेखिएको दृष्टिगोचर हुन्छ । उनीमा धेरै परिपक्वता आइसकेको छ । कुनै पनि विधा होस् त्यसलाई निखारेर लैजान स्रष्टाका लागि त्यति सजिलो छैन । धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । थुप्रै हन्डरहरू खप्नुपर्ने हुन्छ । अनि मात्रै सफलता हातलाग्छ । सफलताको शिखरमा पुग्न सकिन्छ । राम प्रसाद दाहालले पनि धेरै चुनौतीहरूको सामना गर्दै निरन्तर गजलको राँको बालेर गजल लेखनमा मात्रै सीमित नरहेर गजलीय  वातावरण निर्माणमा लागिपरेका छन् । नवीन शिल्पचेतना र परिवर्तित मूल्यबोधलाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ गहकिला, भावपूर्ण, हृदयस्पर्शी गजल दाहालबाट सिर्जना होस् भन्ने  आशा गर्दछु ।
प्रतिक्रिया
Loading...