विषय प्रवेश-

कुन गीत लोकप्रिय हुन्छ, कुन गीत हुँदैन भन्ने कुरा कोहीबेला कुनै संयोगले पनि काम गर्ने गर्छ । यस्तै एउटा गीत अहिले लोकप्रियताको शिखरमा छ । यस गीत विश्वस्तरमा फैलिएको छ । गीतमा गायन, संयोजन, अभिनय, निर्देशन सबै पक्षको सफलतापूर्वक व्यवस्थापन गरिएको छ। गीत लोकप्रिय हुनु र नहुनु गीतको प्रभावकारिता, शाब्दिक कोमलता, साङ्गीतिक सुमधुरता सबै कुराको सम्मिश्रित प्रभाव हुन्छ। यसका साथै श्रोताको व्यक्तिगत रूचि, पारख गर्ने पारखीमा पनि निर्भर गर्दछ। कुनै गीत कसैलाई मन पर्ने कसैलाई नपर्ने पनि हुन सक्दछ यद्यपि कुनै गीत धेरैलाई मन पर्ने, खोजी खोजी सुन्ने, सिडी अल्बम (पहिले हो भने क्यासेट) आदि धेरै बिक्री हुने कुरा आदि देखिन्छन्। अहिले आएर  फेसबुक, टिकटक, युट्युब आदिमा धेरै सुनिएको, सेयर भएको, टिप्पणी गरिनु आदिलाई लोकप्रियताको आधार मान्न सकिन्छ। गीतले नयाँ नयाँ अवतार फेर्दैछ । गीत सुन्नै माध्यमहरू परिवर्तित र रूपान्तरित हुँदैछन्। गायन प्रतिभा हुनेहरूले आफ्नो प्रतिभालाई विभिन्न माध्यमबाट प्रष्फुटन गर्ने अवसर पाइरहेका छन्।

सन्दर्भ- फूलबुट्टे सारी गीत-

आजभन्दा ११ वर्षअघि २०६६ मा एउटा अलबम निकाल्दा मार्मिक लामाले गाएको गीत हो। यसका गीतकार र संगीतकार राजनराज शिवाकोटी हुन। त्यो समयमा यो गीत खासै चलेन। अहिले एघार वर्षपछि आएर गत वर्ष वि.सं २०७६ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि यो गीत एकाएक लोकप्रिय भयो। यसको नारी कण्ठ भने मिलन नेवार (अमात्य) ले गाएकी हुन् । यस गीतलाई विभिन्न version मा गाइएको छ । यतिसम्म कि यसको अंग्रेजी र संस्कृत version पनि रहेछ । पन्जाबी गायक, युगान्डाकी गायिका आदिले पनि गाएका छन् । अझै वरिष्ठ अभिनेता र गायक मदनकृष्ण श्रेष्ठले गाएको र उनको र मिथिला शर्माको अभिनय नैसर्गिक बनेको छ । यसलाई तीन वर्षअघि सबभन्दा पहिले टिकटकमा हालेर अलिकति लोकप्रिय हुन थाल्यो । अहिले यो गीत युट्युबमा करोडको सङ्ख्यामा दर्शक- श्रोताले हेरेका रहेछन् । गीतमा शब्द शब्दमा आकर्षण छ । पल शाह र मलिकाले भिडियो अभिनय गरेका छन् ।  भिडियोको निर्देशन राजेश पुमा राईले अत्यन्त कुशल र सिर्जनात्मक गरेका छन् ।  यस गीतलाई कतिले मन पराए, कतिले मन पराएनन् । यद्यपि समग्रमा यो गीत अत्यन्तै लोकप्रिय भयो । यो गीत लोकप्रिय हुन संयोगको पनि भूमिका रह्यो।

मूल गीत यस्तो छ-

फूलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको

कौशीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो

कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गरिदिउँ कि ?

रेशमी चुल्ठो ओडाइ घुम्टो मायाको रङ् भरिदिउँ कि ?

 

कान्छीके केश फिँजारिएछ, मै कोरीबाटी गरिदिउँ कि ?

रेशमी चुल्ठो ओडाइ घुम्टो मायाको रङ्ग भरिदिउँ कि ?

जाइ फुलिसक्यो जुही फुलिसक्यो चमेली फुल्दैछ,

किन होला कुन्नि यो मेरो मन तिमीतिरै भुल्दै छ ।

कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गरिदिउँ कि ?

रेशमी चुल्ठो ओडाइ घुन्टो मायाको रङ्ग भरिदिउँ कि?

गीतको प्रभावकारिता-

नवीन पौड्याल (दार्जीलिङ)

यस गीतमा शब्द, सांगीतिक र गायन तीनै पक्ष उत्कृष्ट छ । गीतमा सुन्दै जाँदा यो मूल रूपमा रोमान्टिक भावधाराको छ । यसमा एउटा प्रेमीले आफ्नै प्रेयसीको बारेमा मिठा कल्पना गरेको छ । यस गीतमा भएका केही शब्द र शब्दावलीले यसको अर्थगौरवले भरिदिएको छ । फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी, मलमल, कौशी, कान्छीको केश, फिँजारिएछ, कोरी-बाटी, रेशमी चुल्ठो, ओडाइ घुम्टो, मायाको रङ्ग, भरिदिउँ, जाई, जुही, चमेली, किन होला कुन्नी आदि जस्ता शब्द र शब्दावलीले गीतलाई अत्यन्तै अर्थगौरवका साथै श्रुतिमधुर बनेको छ । नारीको सौन्दर्यलाई प्रकृतिका विभिन्न विम्ब र प्रतीकमा सजाइएको छ । नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको छ । गीतमा नारीको सौन्दर्यलाई विभिन्न कोण-प्रतिकोणबाट हेरिएको छ । यसमा कोमल वर्णको प्रयोग, शब्दगत सुष्ठुता, आह्लादकारी अभिव्यक्ति जस्ता गुण पाइन्छ।

अलङ्कार विधान-

यस गीतमा लय सिर्जना गर्नाका लागि केही उपकारणको प्रयोग भएको पाइन्छ। यसमा अनुप्रास, दृष्टान्त, उपमा, उपमेयोपमा, रूपक, प्रतीयोवस्तुमा, काव्यलिङ्ग आदि जस्ता अलङ्कार रहेका छन्। यसमा तुलना, अलङ्कार, आन्तरिक लय, बिम्ब सबै कुराको कुशल संयोजन गरिएको छ। कान्छीको केश फिँजारिएछ मै कोरीबाटी गरिदिउँ कि भन्ने पंक्तिको घरिघरि आवृत्ति गरिएको छ। यही पंक्ति नै गीतको मूल प्राण हो।

आवृत्ति-

गीतमा आवृत्तिले गर्दा आन्तरितक लय सिर्जना गरेको छ। पुरूष स्वरमा रहेको गीतको मूल वाक्य कान्छीको केस फिँजारिएछ मै कोरिबाटी गरिदिउँ कि अनि नारीको स्वरमा रहेको कान्छाको केश फिँझारिइएछ काइँयोले चट्ट मिलाउँदिनु कि भन्ने पंक्तिको आवृतिले गीतलाई सम्प्रेषण गर्न सहयोग पुगेको छ।

बिम्ब निर्माण-

गीतमा मानसिक बिम्ब निर्माणमा निकै सचेतता पाइन्छ। यहाँ दृश्य बिम्ब, घ्राण बिम्ब, स्पर्श बिम्ब, प्राकृतिक बिम्ब आदि फुलबुट्टे सारी, सपक्क पारी, केश फिँजारिनु, रेशमी चुल्ठो, मखमली घुम्टो, आदि बिम्ब हुन्। यहाँ स्पर्श बिम्बका रूपमा कोरीबाटी गरिदिनु, घुम्टो ओडाइदिनु, आदि हुन्।

अर्थगौरव –

गीतको एकाध ठाउँमा अर्थगौरवले धपक्क बलेको पाइन्छ। कान्छीको सौन्दर्य वर्णन गर्ने क्रममा विभिन्न सौन्दर्यका विभिन्न उपकरणको प्रयोगले गर्दा गीत सफल बनेको छ। गीतमा एउटी सुन्दरी षोडसी कान्छीको कल्पना गरिएको छ। कान्छीले फुलबुट्टे साडी लाएकी छ, उसको केश फिँजारिएको छ अनि कौशीमा बसेर हेर्ने गर्छे, उसले रेशमी चुल्ठो बाटेकी छ जसले गर्दा उसले सौन्दर्यमय परिवेशको बनाएकी छ।

स्वरको वैभिन्नयता –

यस गीतलाई मूल रूपमा मार्मिक लामाले गाएका हुन भने यसका विभिन्न भर्सनलाई विभिन्न गायक गायिकाले गाएका छन्। यस गीतका मूल गायक मार्मिक लामा एक रक र पप गीत गाउने हुन्। यद्यपि यसमा यति सुमधुर भएको छ कि सुनिरहुँ जस्तो लाग्छ। नारीको मूल स्वर मिलन नेवारको गायकीमा उत्कृष्ठता देखिन्छ। यो गीत लोकप्रिय हुनका मूलकारण नारी कण्ठको हो। यसमा वाद्यवादनको प्रयोगबाट पनि गीतलाई कर्णमधुरताको उच्चस्थानमा पुर्‌याइएको छ। यसको नारी कण्ठको रूपमा मिलन नेवारको अति मिठास र मधुरताले गर्दा गीत अझ लोकप्रिय बन्न सकेको हो। युगान्डाकी बेयोन्स फेमेसीले उनकै भाषाको उच्चारणसितको गायनमा आफ्नो प्रकारको मिठास उत्पन्न भएको छ। पञ्जाबी गायक लकी सिंधुले पनि अत्यन्त खारिएको उत्कृष्ट स्वरमा गाएका छन्। मदनकृष्ण श्रेष्ठले पनि आफ्नो पाको उमेरमा  पनि उत्कृष्ट गाएका छन्।

वाद्यवादनको आह्लादकारिता –

यस गीतमा बाजाहरूको कुशल संयोजन गरिएको छ। अझ गिटारले गीतको धुनले सुमधुर बनाउन धेरै सहयोग गरेको पाइन्छ। गीतको धेरै भागमा गिटारको धुनले स्रोतालाई आकर्षित गरेको छ। यसका साथै समग्रमा नै गीतले पाठकलाई मन्त्रमुग्ध बनाउन सकेको छ।

प्राकृतिक नियमको वर्णन-

गीतको मूलतत्त्व सौन्दर्य रहेको छ। यसमा प्राकृतिक शारीरिक, मानसिक, भौतिक आदि पक्षबाट सौन्दर्यको वर्णन पाइन्छ। जाइ फुलिसक्यो, जुही फुलिसक्यो चमेली फुल्दैछ भन्ने वाक्यमा प्रकृत्तिका नियमिततालाई झल्काउँछ। फूलहरू छिमलका छिमल फुल्छन्, वैलन्छन्। मानिसको जुनी पनि फुलसरह जन्मँदै, हुर्कँदै र जीवनभोग गरिसकेर मर्दैजान्छन्। यद्यपि यो चक्र निरन्तर चलिरहन्छ।

यसरी हेर्दा राजनराज शिवाकोटीको शब्द र संयोगत संयोजनमा रहेको यो गीत विभिन्न कारणले लोकप्रियताको शिखरपमा पुगेको छ। यसमा शब्द र वर्ण प्रयोग, विम्ब, अलङ्कार, आवृत्ति, सांगीतिक मधुरतता, गायनगत कलाकारिता, वाद्यवादनगत कर्णप्रियता स्वरगत वैभिन्यता, सन्दर्भगत व्यापकता आदिले प्रयुक्त यो गीत नेपाली संगीताकाशमा प्रभावशाली भएर रहेको छ। यही एउटै गीतलाई विबिन्न व्यक्तिले स्वर दिेएर लोरककप्रिय बनाएका छन्। भविष्यसम्म यस गीतले कतिसम्म प्रभाव पार्छ, त्यो भविष्यकै कुरा हो। यद्यपि अहिले भने यो गीत लोकप्रिय छ। यसका निर्माता समूहलाई हार्दिक शुभकामना व्यक्ति गर्दछु।