साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

टेकेर गुराँसमाथि : अन्तर्मुखी लेखकको शक्तिशाली आवाज

हतुवागढी, एउटा ऐतिहासिक भूगोलको नाम हो । नेपालको भौगोलिक एकीकरण अघि स्वशासित राज्य रहेको यो ठाउँ भौगोलिक सुन्दरता र साँस्कृतिक विविधताको द्योतक हो । तत्कालिन किराँत राज्यको महत्त्वपुर्ण गढी र दरबारहरूसँगै तिनको विभिन्न मान्यताहरू पनि मौखिक रूपमा अद्यापि जीवितै छन् । तर ती चिजहरूको लेख्य परम्परामा भने हतुवागढी निकै सुस्त रह्यो । भोजपुर जिल्ला पञ्चायतका प्रथम सभापति भुइँदल राई (किराँत थाम्पुक ल्हिम) लेख्य सृजनाको ईतिहासमा सबैभन्दा अगाडि आउने नाम हो । उहाँले आफ्नो जीवनकालमा विभिन्न विधाका करिव सयवटा पुस्तक प्रकाशन गर्नुभयो । उहाँपछि लेख्य सृजनामा उल्लेखनिय नामहरू हतुवागढीबाट अगाडि देखिएनन् लामो समयसम्म । सायद अवसरको कमी, सम्पर्क समन्वयको अभाव वा लय मिलाइदिनेहरू नभएर । तर सृजनशिलता हराएको वा नभएको भने होइन ।

पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको व्यापक पहुँचपछि भने हतुवागढीबाट एकपछि अर्को सृजनाकर्मीहरूको आगमनको क्रम जारी छ । यो अत्यन्तै सुखद खबर हो । अझ अहिलेको लोकप्रिय सृजनाको विधा कवितामा निकै ऊर्जावान् र सशक्त लेखन देखिन्छ हतुवागढीको । हतुवागढीमा यति विघ्न र सशक्त कविताहरू के कसरी आउँदैछन् भन्ने सवालमा जस लिनेहरूको कमी छैन । तर खास जस कसले लिने ? अहिलेका नयाँ पिँढीहरूले यसका लेखाजोखा गर्दै होलान्, नभए पनि भविष्यले मुल्याङ्कन गर्ने नै छ ।

प्रकाश दिप्साली राई

हिजो गौण रहेका सर्जकहरूको एकपछि अर्को आगमन हुनुले पक्कै हतुवागढीको साहित्याकाश हालसम्मकै उच्च लयमा रहेको मान्नुपर्दछ । भविष्यले यो लयलाई हतुवागढीको साहित्यलाई स्वर्णिम युगको रूपमा व्याख्या गर्नेमा दुई मतै छैन । एउटा पालिकामा ३/४ वटा साहित्यिक संस्था सक्रिय हुनु मामुली कुरो हैन । केही मुलधारे कार्यक्रम बाहेकका कार्यक्रमहरू समय सापेक्ष तथा विभिन्न नौलो आयामहरूका कारण त्यहाँका कार्यक्रमहरू बहुत लोकप्रिय हुने गर्छन् । पछिल्लो समय प्रायः वर्षैपिच्छे केही न केही गरिरहन्छ हतुवागढी र हतुवागढीमा केही गरौँ भन्ने पवित्र सिर्जनशील मनहरू त्यहाँका साहित्यिक धरोहर विश्वजित चाम्लिङ राई, मेघराज राई, रुद्र राई, कृपालसिं राई लगायत सिर्जना सँगसँगै गतिविधितिर लागि परेका छन् भने सिर्जना मार्फत हतुवागढीको चिनारीलाई थप उचाइमा पुर्‍याउन चन्द्रतारा, अरूण आकाश, अल्पभाषी निरु, राज हाङ्खिम, नमुना राई ‘क’, नमुना राई ‘ख’, प्रगति राई, अर्जुन राई ‘अपहेलित’, रूपेश कार्की, किसान राई, दीपा मङ्ग्राती अहोरात्र सिर्जनालाई खिपिरहेका छन् । उता परदेशतिरबाट हतुवाली जेठा, दिलीप बान्तावा, म्यामराज मेमोरी, बलराम राईहरू पनि कम्मर कसेर सिर्जना कर्ममा लागेका छन् र हतुवागढीमै रहेर सिर्जना कर्ममा समर्पित झन्डै छुटेको अर्को नाम हो कवि पूर्णसन्ध्या समाधि ।

पूर्णसन्ध्या समाधि बडो अनौठो स्वभावका मान्छे । उनलाई लोकप्रियताको पटक्कै लोभ छैन । लेखनमा साधना गरिरहने साधक हुन् । मैले चाहेर नि कहिले धित मरुन्जेल दोहोरो गफ हुन सकेन । उनको कविताकृति ‘टेकेर गुराँसमथि’ जब बजारमा आयो तबदेखि नै मैले उनकँ पिछा गर्न थालेको हुँ । गत सालको फागुन २८ गते पात्लेपानी कला/साहित्य प्रतिष्ठान भोजपुरले उनको कविताकृतिमाथि चर्चाको कार्यक्रम राख्यो । जुन कृतिमाथि कवि तथा आख्यानकार राजन मुकारुङले बोले । त्यो बेलुकी किताबमाथि गफ गर्नु थियो भन्दै राजन मुकारुङले कम खोजेका हैनन्  पूर्णजीलाई । तर पूर्णजी दिउँसै हिडिसक्नु भा’रैछ । गत पुस–माघमा हसनपुरमा सम्पन्न ‘हसनपुर साहित्य महोत्सव–२०७७’ मा नि त्यस्तै भयो । हाम्रो अपेक्षाचाहिँ उनी अघिल्लै दिन आउनेछन् र भलाकुसारी हुनेछन् । उनको सेसन भोलिपल्ट थियो, सोही दिन नै आए । उनको सेसन सकियो । त्यहाँ पनि पात्लेपानीमा जस्तै त्यो भिडमा उसैगरी पूर्णजी खोई उनको कवितामाथि केही गफ गर्नु थियो भन्दै मुकुन्द प्रयास बेलुकी उनको खोजीमा निस्किए । पूर्णजी दिउँसै चम्पट । हुन पनि उनको पुस्तक अरूकै सिफारिसमा मेरो हात परेको हो ।

हसनपुर साहित्य महोत्सव सकेर घर फर्केर उनको कविताकृतिमा एकसरो नजर डुलाएँ र भर्खर लेखेँ । त्यो पनि एकदमै डराउँदै । किन लेखेको ? भनेको खण्डमा मैले के भन्ने ? र फेरि मैले लेख्छु भनेर उनको बक मागेको पनि हैन । तर उनको कविताहरूले छोएपछि केही नलेखी बस्न मन लागेन ।

“आखिर हामी धुलो हुन्छौँ

कसिङ्गर हुन्छौँ

त्यही कुचो हौँ हामी

कुचो भन्दा बढ्ता केही होइनौँ

कसिङ्गर बढार्दा बढार्दै कसिङ्गर बन्ने

मात्र कुचो हौँ हामी ।”

यो “कुचो” शीर्षकको कविताले कसको मन नछोला र? यो कविता कुनै दर्शनभन्दा कम छैन । खास नेपाली जनजीवनले भोगेको एउटा भोगाइ हो यो कविता । हामी निम्छरो तथा गरिखाने वर्गहरू साहु महाजनलाई खुशी राख्दा राख्दै आफू चाहिँ सधैँ अभावमा पिसिनुपर्ने तीतो यथार्थ बढो काव्यिक ढङ्गबाट प्रस्तुत गरेका छन्, खुशी र सन्तुष्टि पार्ने बहानामा आफू चाहिँ कष्टकर भुमरीमा रुमलिनु पर्ने शाश्वत छ । यो कविता अन्य दृष्टिकोणले पनि उत्तिकै बलवान् छ । यसर्थ पनि समाधिजीले कुराकानीमा भने जस्तै उनी कवि नै हुन् र कविता नै लेख्छन् । उनको कविता पढिरहँदा लाग्छ किन यत्रो समय यी कविलाई देख्न या सुन्न पाइएन ? उनका कुनै कुनै कविताहरू यथार्थलाई जुरुक्कै बोकेझैँ लाग्छ ।

“हत्केलाको एउटा विन्दुमा पूरै ब्रम्हाण्ड अटाउँछु भन्छ

समयलाई कसेर पाता गोर्खे लौरी लगाउँछु भन्छ

सृष्टिलाई झुन्ड्याएर फाँसीमा

युगको मृत्युको रहस्य संसारलाई बताउँछु भन्छ

धरतीलाई गाड्ने चिहान धरतीमै खनाउँछु भन्छ ।

यसको मतलब मान्छे

एकदिन मान्छेलाई पनि डाइनोसर बनाउँछु भन्छ ।”

“डाइनोसर” शीर्षकको यो कविताले वर्तमान समयका मानिसलाई सादा कागजैभरि छताछुल्ल बनाएका छन् । हामी एक्काइसौँ शताब्दीका मान्छे भन्दै सभ्य बन्ने नाममा झनै कुण्ठित बनेर साँगुरो सोच बनाउँदै सारा ब्रम्हाण्ड आफ्नो अधीनमा राख्ने दुस्साहस गरिरहेका छौँ । जसलाई समान्य तर कलात्मक ढङ्गले शब्दमा उनेका छन् । कविता कस्तो हुने भन्ने बारेमा अहिले छलफल र वहस बेला–बेला रन्किने गर्छ । कविता कला कि विचार ?, कविता सरल भाषामा लेखेर सबैलाई बुझाउने कि जटिल भाषाहरूको प्रयोग गर्दै आफूलाई प्राज्ञिक कहलाउने ? यो वहस पेचिलो बन्दै गर्दा पछिल्लो समयका कविताहरू सरलीकृत हुँदै आम सर्वसाधारण पाठकसम्म चैँ  पुगेकै हो । पूर्णजीको कविता पनि सर्वसाधारण तथा आम पाठकमाझ पुग्ने कविताहरू हुन् भन्दा फरक पर्दैन । कृतिको नामको कविता उस्तै अब्बल छ । निक्कै लामो यो कवितामा कविले यो देशको विकृतिलाई छताछुल्ल पारेका छन् ।

“नजन्मदै बलात्कृत मेरो अस्मिता– जन्मको काख

मृत्यु बोकेर म जन्मिएको पूर्णिमाको रात

बिर्सूँ म कसरी

टेकेर गुराँसमाथि ’

मेरो हृदय फुलेको समयको डाली

मेरो स्पन्दन खुलेको चाँदनीको लाली

मृत्युले सास फेर्न भुलेको एकछिनको पाली

बिर्सूँ म कसरी  !”

‘टेकेर गुराँसमाथि’ शीर्षकको यो शीर्ष कवितामा कविले नजानिदो तरिकाले विद्रोह बोलेका छन् । सरल शब्दहरूको फुलबुट्टाले भरिएको गम्भीर कविता हो यो । यो कविताको गहिराइमा पुग्न हम्मेसी जो कोहीले आँट गर्दैन । अर्को “टाउकाहरू” शीर्षकको कविता पनि चोटिलो छ । यो कविताले टाउकाहरूको भीडमा आफ्नो औचित्य नरहेको अथवा विविध टाउकाहरूले स्वयंको टाउको (अस्तित्व)चाहिँ अपहरित भएको तीतो यथार्थ बडो शब्दशिल्पका साथ व्यक्त गरेका छन् ।

“आफू आफैँ ठोक्किइरहने

अनायासै झोक्किइरहने

कतै चिचिला पलाएका

कतै पाकेर आफैँलाई गलाएका

केही भरी

केही आधा

केही खालि

टाउकाहरूको भीडमा

म एउटा आफ्नै टाउको खोजिरहेछु

जो अपहरित छ ।”

यी र यस्ता “वाह् ….कविता” भन्ने खालका प्रशस्तै कविताहरू छन् । जो वर्णन गरी साध्य छैन । उनको कविताहरू पढ्दै गर्दा हतुवागढीमा यति सुन्दर कविको कल्पना कसले गरेको थियो होला र ?

यति सुन्दर कविताहरूका धनी पूर्णजीलाई आम पाठकसामु पुर्‍याउन महत्वपूर्ण काम गर्ने हतुवाली साहित्यकार दिलीप बान्तावा धन्यवादका पात्र हुन् । यदि दिलीपजीले उनको यो कवितासङ्ग्रह प्रकाशन गर्ने हिम्मत नगरेका भए आज पनि पूर्णजीका कविताहरू उनकै कुनै कोठामा मक्किन के बेर ? “पुर्णजीका कथाहरूको मोटो पाण्डुलिपि एस्एल्सीपछि क्याम्पस पढ्न धनकुटा जाँदा नै हामीले पढेका थियौँ। त्यस्ता थुप्रै कथाका पाण्डुलिपिहरू, कविताका पाण्डुलिपिहरू वर्षौँसम्म दराजमा थन्किएर धमिरा चारो भएछन् । यस्ता सृजनाहरूकै पछि मात्रै लागेर जिन्दगी नचल्ने ! जिन्दगीलाई चलायमान बनाउन आफ्ना सृजनाहरूलाई असरल्लै छोडेर हातमुख जोर्ने ध्याउन्नमा लागिरहनुभयो । मलाई भने उहाँका सृजनाहरूको माया र लोभ दुवै लाग्यो र सकेको कोसिस गरेको हुँ ।” आफ्नो क्लासमेटको कृति प्रकाशन गरिदिने दिलीप पुर्णजीको बारे भन्छन्।

आफ्ना स्थानीय सर्जकप्रतिको प्रेम देखाउँदै पूर्णजीको पुस्तकमाथि कार्यक्रमहरूको आयोजना गरिदिने पात्लेपानी कला साहित्य प्रतिष्ठान र हसनपुर कला/साहित्य प्रतिष्ठान हतुवागढी पनि कविका निम्ति टर्निङ्गङ पोइन्ट हुनुपर्छ । सायद यो कुरा मैले भन्दा नि पूर्णजीले महसुस गरेको हुनुपर्छ । अरूले त्यो हिम्मत कहाँ गर्न सक्यो र ? आ–आफ्नो गन्थन मन्थन मिलाउँदै ठिक्क छ । पूर्णजीका अन्य कविताहरू अस्तित्व, पापीको फूल, सिउँडीको फूल, बलात्कारको कविता, बन्दुकको आत्महत्या लगायतका कविताहरू पठनीय छन् ।

यो सङ्ग्रहका केही कविताहरू अति नै लामा हुनुचाहिँ यसको सीमा हो । भन्नेहरूले मुद्दाहरूमा उनका कविताहरू मौन छन् भन्लान् । तर कविताले समसामयिक मुद्दा बोक्नै पर्छ भन्ने अपरिहार्यता हुँदैन सायद । कविता कविको मुक्त हृदयको आवाज हो र पूर्णजी आफ्नो हृदयको आवाज आँखा चिम्म गरेर हावाको प्रत्येक अणु अणुमा छोडिरहेका छन् भन्ने प्रतीत हुन्छ । सङ्ग्रहको प्राविधिक पक्ष केही फितलो छ । कविताको लेवलमा प्राविधिक पक्षमा केही  चुकेको देखिन्छ । पछिल्लोपल्ट पुस्तकको प्राविधिक पक्षलाई निकै महत्त्वका साथ हेर्ने गरिन्छ । कविताकृतिमा कुनै स्मारिका या संयुक्त सङ्ग्रहको झल्को दिने केही शुभकामनाहरू छन् । जसले गुदी अब्बल भएर पनि बोक्राले अलि पट्यार लाग्दो छ । कविले कसैलाई खुशी पार्न हो भने कविले अरूलाई भूमिका दिएर हैन आफ्नो कवित्व पस्केर खुशी राख्ने हो । फेरि यदि त्यही ध्येयले हो भने समाधिजीको पुस्तकप्रति खै कसले के गर्‍यो र ? बरु उनले नसोचेको संस्थाहरूले उत्सव, महोत्सवहरूमा आफ्नो स्थानीय लेखकप्रति गर्व गर्दै उनको कविताकृतिमाथि चर्चा गराउँदै कविको रूपमा स्थापित गराउन हरदम लागिपरेका छन् । उनका लामा कविताले पाठकलाई पट्यार लाग्न सक्छ । स्वयं कवि पनि कुनै कुनै कवितामा अल्मिलिएको हो कि भन्ने लाग्छ । लामो कवितामा यो समस्या रहन्छ नै । यो समय हाइकुले प्रभाव जमाउदै गरेको समय हो । यसको मतलब कविता छोटै मात्र हुनुपर्छ भन्न खोजिएको हैन तर चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने चाहिँ जरुर हो । यसमा हामी कविहरू सचेत हुनै पर्छ ।

सामान्य सीमाहरू स्वभाविक हुन् । यही लेखको पनि सीमा होला यो देख्ने त आम पाठक हो । यहाँभित्रका केही बाहेकका कविताहरू साँच्चै मन छुने छन् । उनको कवितामा हामी र हाम्रो जनजीवन पाउँछौँ । कवि हुनुको एउटा मज्जा नै यही हो । अन्त्यमा पूर्णजीको अरू अब्बल कविताहरू पढ्न पाऊँ । टेकेर गुराँसमाथि कविताकृति मजस्तै अरू पाठकको मन जित्न सफल होस्, हार्दिक शुभकामना।

प्रतिक्रिया
Loading...