मनमस्तिष्कमा उठेका अनेकौँ भावना र विचारहरूलाई अभिव्यक्त गर्न एउटा ठूलो साधना, कला, सीप र सार्मथ्य चाहिन्छ । शब्द, शिल्प, भाषा र भावसँग राम्रोसँग नखेली एउटा सुन्दर कृति सिर्जना हुनु असम्भव प्रायः नै हुन्छ । त्यसमा पनि महिलाले भोगेका पीडा, वेदना, र आर्तनादलाई अभिव्यक्त गर्न कला, सीप, साधना मात्र होइन एउटा ठूलो साहस पनि चाहिन्छ । वर्षौवर्षदेखि चेतनाको विन्दु शून्य बनाएर बाँचेका आधा आकाश ओगटेका नारीहरूको जब चेतनाको फिलिङ्गो बल्न थाल्छ तब पुरातनवादी शस्त्रास्त्रधारीहरू अनेकौँ अवरोध र लाञ्छनाका सिर्कना लिएर लखेटन आइपुग्छन् । तर जब एउटा कलम त्यो सिर्कनाको परवाह नगरी अविरल नदीझैँ बग्छ तब ‘फिलिङ्गो’ जस्तो कृति जन्मन्छ ।
धेरै अघि यसरी नै यस्तै कथा बोकेर उपन्यासकार पदमावती सिंह समानान्तर आकाश लिएर आउनुभयो त्योबेला पनि यो कलम चुप लागेर बस्नै सकेन । पठन अनुभूतिका भावहरू समालोचनामार्फत् पोखिएको थियो । आज फेरि एक दशकपछि यसरी कलम जुरमुराएको छ । फिलिङ्गोको भरभराउँदो रापले मन मस्तिष्कलाई नयाँ ऊर्जा दिएको छ । पढ्दा फिलिङ्गोको शब्द शब्दले रौँ रौँ काँप्छ । नसा नसा तरङ्गित हुन्छ ।
‘फिलिङ्गो’ उपन्यास आत्मसम्मानमा बाँच्ने महिलाहरूको लागि लेखिएको सुन्दर कृति हो । पितृसत्तात्मक चेतले चलेको हाम्रो समाजमा फरक चेतनाको तह जागृत भएको छ । वर्षाैँवर्षदेखि यही सत्तामा थिचिएर किचिएर बसेका हामी महिलाहरू एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि उही व्यथाले हुरुक्कै हुने गरी मर्माहत भएका छौँ । मात्र तरिका, ठाउँ, परिवेश र मात्रा फरक छन् । सोचाइ उस्तै छ, पीडा उस्तै छ, मात्र भोगाइका संयन्त्रहरू फरकफरक हुँदै गएका छन् । पूँजीवादले निलेको यो समयमा विदेशिनु पर्ने बाध्यता धेरै नेपालीको छ । नविदेशिने घर खोज्न मुस्किल छ । कैयौँ पीडाको भारी बोकेर विदेशिएको हाम्रो छाती उता गएर नि घण्टा बजाउनु पर्ने बाध्यताले पिल्सिरहेका हुन्छौँ । घण्टा बजाउँदा बजाउँदै हाम्रा भावना, इच्छा, चाहाना र संवेदनाहरूलाई निर्जीव कुनै अनकन्टार ठाउँमा थन्काउन बाध्य हुन्छौँ । यसमा पनि सिमोन दि वुभरको दोस्रो दर्जाका नागरिक जस्तै हामी महिलाहरू अनेकौँ पीडामा घोलिएर अर्कै रसायनमा परिवर्तन भएको हामीे आफैँले थाहा पाएका हुँदैनौँ । यसमा पनि वासनाजन्य हिंसा र यौनजन्य हिंसाको सिकार भएको हामी आफैँले महसुससम्म गर्न सकेका हुँदैनौँ ।
प्रवासमा महिलाहरूले खेप्नुपर्ने यस्तै पीडालाई सरल, सहज र मीठो भाषाशैलीमा प्रभा बरालले ‘फिलिङ्गो’मार्फत् समाजलाई देखाएकी छन् । विदेशमा बसेर आएपछि हाम्रो सामाजिक संस्कारमा फलानोले कति धनसम्पत्ति ल्यायो ? के के किन्यो ? भन्ने सोचाइको सुइरोलाई भुत्ते पार्दै उपन्यासकारले आफ्नो जापान बसाइमा आफैँले साक्षात्कार गरे झैँ लाग्ने यस्तो सुन्दर र अमूल्य आख्यान कृति समाजलाई दिएकी छन् । यो साहित्यकाशका लागि ठूलो उपलब्धी हो । ठूलो गौरवको कुरा हो । यसमा आख्यान मात्र हैन जापानसम्बन्धी अनेक तथ्यहरू पनि छन् । जापानको सभ्यता, संस्कार र चालचलनको मिहीन ढङ्गले व्याख्या गरिएको छ । पढ्दा कतै अल्छी नलाग्ने गरी भाषाशैली सलल बगेको छ । भाषाशिल्पमा मिठास छ । विद्रोहका झिल्काहरू यसरी आएका छन् कि ती आक्रोशपूर्ण नभई शान्त तलाउमा ढुङ्गाले हानेर आएको तरङ्ग झैँ छन् । कतै विध्वंस नगरी शान्तरूपले चलेको आँधीजस्तै छ । उपन्यास पढुन्जेल यो पक्ष निकै सशक्त लाग्छ । यस उपन्यासकी प्रमुख पात्र सीमान्तीजस्ता पात्र आज पनि विदेशमा आत्मसम्मान गुमाएर प्रत्येक पल मर्दै बौरिँदै गरेका होलान् । तर सीमान्ती चुप लागेर सहेर बसेकी छैन । उसले आपनो श्रीमान्को अनुशासनहीन कार्यको विरोध गरेकी छ ।
सुरुमा श्रीमान्को डिपेन्डेन्ट भिसामा जापान पुगेकी सीमान्ती दश घन्टा काम गरेर श्रीमान्भन्दा झन्डै दोब्बर पैसा कमाउन थाल्छिन् । सुरुमा श्रीमान् र श्रीमती बीच सौहाद्रपूर्ण र आत्मीय सम्बन्ध भए पनि जब आफ्नो कमाइमा श्रीमान्ले मात्र एकोहोरो नियन्त्रण गर्न थालेपछि सीमान्तीको मनमा असन्तुष्टिका भावहरू उम्रन थाल्दछ । कति दुःख खपेर कमाएको सम्पत्ति घरका मान्छेलाई मात्र पठाउने तर आफ्ना माइतकालाई चाहिँ केही दिन नचाहने श्रीमान् निर्भयको व्यवहारबाट सीमान्ती रुष्ट हुन पुग्छिन् । आफ्नो सबै भावना, चाहना र विचारहरूमा श्रीमान्ले एकलौटी शासन गर्दै जाँदा सीमान्तीमा असन्तुष्टि भावहरूका ज्वारभाटाहरु सघन हुँदै जान्छन् । तर पनि सीमान्तीले ठूलो विरोध गर्न सकेकी छैनन् । आत्मसम्मान गुमाएर भए पनि बाँच्न बाध्य थिइन् । जब निभर्यको पे्रमिकाको रुपमा मिसावाको प्रवेश हुन्छ अनि सीमान्तीको जीवनमा तनावको समय सुरु हुन्छ । सन्तान जन्माउने, श्रीमान्सँगै बस्ने, सुखी परिवार भएर बाँच्ने सीमान्तीको सपना, सपनामा मात्र सीमित हुन पुग्छ । पे्रमिकाकै कारण श्रीमान्को जागिर फुस्कन्छ यसमा पनि उनले श्रीमान्लाई माफी नै दिएकी हुन्छिन् तर जब श्रीमान् उही प्रेमिकासँग रेस्टुरेन्ट खोल्न पुग्छ तब सीमान्तीले यो कुरा पटक्कै सहदिनन् । सायद कोही पनि आत्मसम्मान भएकी नारीले यो कुरा सहन्नन् । यति भएर पनि निर्भय जब सीमान्तीलाई उनको आत्मसम्मानको पर्वाह नै नगरी बारम्बार आफ्नो निर्णय मान्न र आफ्नो अधीनमा बस्नलाई भनिरहन्छ तब सीमान्ती यो कुरा सहन सक्दिनन् । ऊ बरु निर्भयविना नै बाँच्ने अठोट गर्छिन्, उदाहरणको लागि एउटा वाक्यः–
म बोलेर हैन, व्यवहारले बागी बन्छु । मनभित्र बलिरहेको स्वाभिमानको फिलिङ्गोबाट अस्तित्वको भुङ्ग्रो निकाल्छु र ताप्छु त्यही तातो । म सहेर बस्दिनँ निर्भयको हेपाहा व्यवहार । म जिउन सक्छु आफ्नै स्वावलम्बी पाखुरीमा । म हिँडन सक्छु आफ्नै निर्णयको कुसुमपथमा । (पृष्ठ२२६)
पितृसत्तात्मक हाम्रो समाजमा एउटा पुरुषले महिलालाई कतिसम्म शोषण गर्न सक्छ भन्ने कुरा यहाँ देखाइएको छ । परदेशमा मैले जे गरे नि हुन्छ उसले के गर्न सक्छे भनेर एउटी महिलालाई अबला र निरुपाय ठान्ने पुरुषग्रन्थीलाई सीमान्तीको ठोस निर्णय र आदर्श जीवनले नयाँ चुनौती दिएको छ । सीमान्ती नेपाल फर्केर अनेकौँ सड्घर्ष गरेर आपनो जीवनलाई सार्थक पार्न सक्षम हुन्छिन् । भरोसा नेपाल खोलेर महिलाको उद्वारमा लाग्छिन् । आफ्नो परिचय आफैँ बनाइ जीवन सुगन्धमय बनाएकी छन् । उनले मौन विरोधको गहकिलो पाइला चालेकी छन् । कतै नअल्झी कतै नबल्झी उनले आफ्नो जीवनको गोरेटो सफल बनाएकी छन् ।
कति बिडम्वनापूर्ण छ, नारीको जीवन । परदेशमा जागिर नखाई घरमा एक्लै धुम्धुम्ती बस्दा नि निस्सासिएर मरिएला जस्तो हुने । जागिर खान गई स्वावलम्वी बन्दा पनि अँगालोमा बेरिएको लोग्नेको हात कुन बेला छुट्ला थाहा नै नहुने । कति कष्टपूर्ण हुन्छ जीवन जब पलपल आफ्नो स्वतन्त्रता लोग्नेको इच्छामा बन्धक बनाएर बाँच्नु पर्छ ! यो समाज छ जहाँ पु्रुषलाई जे गर्न, जसरी गर्न, जस्तो गर्न नि छुट छ । जुन स्वतन्त्रता समाजले उसलाई बोनसको रूपमा दिएको छ । संस्कार, व्यवहार, आचरण, अनुशासनजस्ता कुरा त सबै महिलाको काँधमा थोपरिदिएको छ । त्यसैले त महिलाहरू सधैँ आफू सक्षम हुँदा पनि आफूलाई विश्वास गर्न सकीरहेका छैनन् । तिनै विषयमा टेकेर महिलालाई आत्मविश्वासी बनाउन यो उपन्यास सफल भएको छ । सीमान्तीको आदर्शपूर्ण जीवनले महिलालाई प्रेरणादायी मार्ग देखाएको छ । चेतनाको आवाज बोल्न सफल सीमान्तीका हरेक पाइलाहरु उत्साहपूर्ण लाग्छन् । त्यसैले त प्रत्येक पाठकको हृदयमा सीमान्ती जीवन्त भएर बाँच्न सफल भएकी छन् । सीमान्तीको आत्मसम्मानलाई कोटि कोटि सलाम गर्न मन लाग्छ पाठकलाई ।
प्रत्येक चोटिला र मीठा वाक्य अनि दार्शनिक विचारका भावले पाठक रुझेको रुझै हुन्छ । हाम्रो चेतना, स्वाभिमान र आत्मसम्मानलाई उपन्यासकारले कसरी घचघचाएकी छन् भन्ने कुरा प्रत्येक वाक्यवाक्यमा पढ्न पाइन्छ । ठाउँठाउँमा राष्ट्रियता दुखेर पाठकलाई च्वास्सच्वास्स घोचिरहन्छ । जापानजस्तो विकसित देशको भौतिक विकासको वर्णनले हामीले अहिलेसम्म किन असल नेता पाएनौ भनेर घोत्लिन बाध्य बनाउँछ । ठाउँठाउँमा राष्ट्रियता जुरमुराएको देखेर देशप्रतिको मायाले मन त्यसै काकाकुलले पानी नपाएर तडपे झैँ तडपिरहन्छ ।
आख्यानसँगसँगै विदेशको रहनसहन, व्यवहारहरू सबै पढ्न पाइन्छ यस कृतिमा । जापानमा बोलिने शब्दहरू ठाउँठाउँमा जस्ताको तस्तै प्रयोग गरिएको छ । जसले गर्दा लेखनमा थप मिठास भरिएको छ । जापानमा पुरुषको तलब पनि महिलाको खातामा जाने प्रचलनले त्यो देशमा महिलाहरूलाई कति सम्मान गरिन्छ भन्ने कुरा यहाँ देखाइएको छ । यति हुँदाहुँदै पनि त्यहाँका महिलाहरू आफू पुरुषबाट पीडित भएको महसुस गरिरहेका हुन्छन् । नेपालमा महिलाहरू पुरुषमाथि पूर्ण निर्भर रहनु परेकोले कति शोषित हुन्छन् भन्ने कुरा यहाँ महिलामाथि हुने हिँसाले देखाइरहेको छ ।
यहाँ महिला मात्र होइन पुरुषहरु पनि शोषित छन् । पुँजीवादी संस्कारले पुरुषहरु कसरी शक्तिको अगाडि निमुखा र लाचार बन्छन् भन्ने कुरा पनि देखाइएको छ । शक्ति भनेको पैसा नै रहेछ । त्यही पैसाको लागि सुशीलजस्ता युवाहरू यौनशोषणमा परेको यौन विकृतिको कथा पनि यहाँ पढ्न पाइन्छ । तेत्तीसवटा उपशीर्षकमा विभाजित यो उपन्यासमा प्रमुख र गौण गरी सोह्र जना पात्र आएका छन् र ती अधिकांश महिला पात्र छन् । उपन्यासमा पुरुष पात्रको कम प्रयोग हुनुले पाठकहरुमा थप जिज्ञासा पनि प्रकट हुन्छ, किन लेखकले महिला पात्रलाई बढी प्राथमिकता दिइन् ? के उनी महिला भएकैले यसो भएको हो ?
उपन्यासका प्रमुख पात्र भने सीमान्ती, निर्भय र मिसावा हुन् । अन्य सशक्त भूमिकामा आउने पात्रहरू हुन् सुजु दिदी, अजिला म्याम, मोरिता, वातानावे, सुशील आदि । कथाका प्लटहरू र घटनाहरू सबै स्वभाविक र यथार्थ जस्ता लाग्छन् । भाषा सलल बगेको छ यो नै यो कृतिको सबल पक्ष हो ।
पूरै कथालाई आख्यानको यति ठूलो ठेलीमा, मीठो भाषा शैलीमा लेख्नका लागि ठूलो सीप, साधना, ध्यान र अध्ययन चाहिन्छ । यसरी लेखेर नि सफल हुन ठूलो तपस्या चाहिन्छ । जुन तपस्या पाठकको कसीमा फिलिङ्गोले सफल पारेको अनुभव गर्न सकिन्छ । स्वदेश होस् वा विदेश सबैतिरका पाठकहरुले पढ्नैपर्ने कृति बनेको छ यो कृति ।
उपन्यासकारको कलम यसरी नै अविरल रुपमा बगिरहोस् । निख्खर र परिपक्व लेखनले अझै उचाइ लिओस् । नेपाली साहित्यमा महिला लेखनको पाटो अझै समृद्ध बनोस् । धेरै धेरै शुभकामना लेखकलाई ।
पुस्तकको नामः फिलिङ्गो
विधाः उपन्यास
लेखकः प्रभा बराल
प्रकाशकः अक्षर क्रिएसन्स
पृष्ठसङ्ख्याः ३०८
मूल्यः रु.५५०
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।