भौतिक विज्ञान विषयमा लामो समयदेखि अध्यापनमा क्रियाशील एक व्यक्ति छन् । उनी नेपाली साहित्यलाई अति माया गर्ने द्रष्टा हुन् । कुनै समयमा त्रिविको केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत थिए । यसै मेलोमा कविवर दैवज्ञराज न्यौपानेसँग उनको प्रतियोगी कविका रूपमा भेट भयो । विषयगत विभागका फरक भवनहरू कहिलेकाहीँ पर्खाल नबनेका होइनन् । मनले चाहेपछि त्यो पनि केही होइन रहेछ । विस्तारै साहित्य अनुरागीका रूपमा कविवरसँग निकटता र साहित्यिक भलाकुसारी बढ्न थाल्यो । यसले छिट्टै मूर्तरूप पनि पायो । त्रिवि अन्तरविभाग कविता प्रतियोगिता (२०५६) मा उनी प्रथम नै भए । हुन त यो उनको पहिलो अवसर थिएन साहित्यिक प्रतियोगितामा जितको । यसको एक दशकअघि २०४६ तिरै सेती अञ्चलस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हात पारेका थिए । लगत्तै अर्को साल क्षेत्रियस्तरको फेरि अर्को निबन्ध विधाकै प्रतियोगिता भयो । सुदूर पश्चिमाञ्चलस्तरीय निबन्ध प्रतियोगितामा पुनः पहिलो पुरस्कार हात लाग्यो । यी र यस्ता प्रतियोगिताहरूमा विजेता भएको सूची बनाउने हो भने लामै हुनेछ । बरु पुस्तकाकार कृतिको कुरा गरौँ । उनको पहिलो प्रकाशित कृति ‘देश बुद्ध खोजिरहेछ’ (२०६२) हो ।

‘देश बुद्ध खोजिरहेछ’ पुस्तकको सन्दर्भ

चन्द्र खड्का

कवि भवानीप्रसाद अधिकारी विगत दुई दशकभन्दा बढी समयदेखि भौतिकशास्त्र विषय विभिन्न निजी कलेजमा अध्यापन गराउँदै आइरहेका छन् । उनको यस पाटोतर्फ यहाँ खासै चर्चा गरिने छैन । हुन त उनीसँग यस पङ्तिकारको भेट पनि अध्यापनकै क्रममा भएको हो । तीनकुनेस्थित एक कलेजमा अध्यापनार्थ आएका बेला यी व्यक्तिसँग भेट भएको हो । कुनै प्रसङ्गमा कलेजनिरैको कवि दैवज्ञको घर यही हो नि भनी इङ्गित गर्दै कुराकानी सुरु गर्दा चासो लिएर आफ्नो साहित्यिक अभिरुचि प्रकट गरे । तब आत्मीयपन बढिहाल्यो मात्रै यत्ति कारणले गर्दा । कुराकानीका सन्दर्भमा आफ्नो पुस्तक दिने कुरा गरिरहँदा उक्त पुस्तक कुनै बेला श्रीओम श्रेष्ठ ‘रोदन’ दाइले मलाई पढ्न दिएको सम्झना आयो । मैले उनलाई त्यही जानकारी दिएँ । कवि अधिकारी त्यतिबेला साठीको दशकमा सशक्त कविता रचना गर्दा रहेछन् । मैले दोहोर्याएर पढेँ, ‘देश बुद्ध खोजिरहेछ’ कृति । मन पर्यो, मन छोयो ।

त्यति राम्रो साहित्यिक पुस्तक नेपाली साहित्य भण्डारलाई दिने व्यक्तिले निरन्तरता नदिएकामा गुनासो गरेँ । उनले सक्दो लेख्ने कोसिस गर्ने प्रतिबद्धता जनाए । नभन्दै छिटफुट रूपमा लेख्दै थिए कोरोना कारण घरमा बन्दी झैँ बसिरहँदा कलमले तीव्रता पायो । ‘देश बुद्ध खोजिरहेछ’ पुस्तकका लेखकको साहित्यिक लेखनमा पुनः आगमन भएको छ । ‘देश बुद्ध खोजिरहेछ’ दोस्रो पृष्ठदेखि २५ पृष्ठसम्म ४७ थान गजल र २६–६० पृष्ठमा ३१ थान मुक्त लयका कविताका साथमा पहिलो पृष्ठमा शुभकामना शीर्षकको स्वच्छन्द भावको एक कविता रहेको छ । पुस्तकमा ‘सम्मतिका केही शब्द’ भनी दैवज्ञराज न्यौपानेका आशीर्वचनस्वरूप गुरुभेटीका रूपमा पूर्वसमीक्षा राखिएको छ ।

कवि दैवज्ञराजकै प्रेरणा र प्रभावका आलोकमा पुस्तकले आकार पाएकाले पनि बढी प्राथमिकता पाएको देखिन्छ । कवि न्यौपानेका दृष्टिकोणमा ‘सङ्ग्रहभित्रका धेरै कविताहरू मायाप्रीतिका रहेका, देशभक्ति राष्ट्रराग र राष्ट्रियताप्रति सजग, सृजनात्मक अभिव्यक्ति र सौन्दर्यात्मक अनुभूति दिने मानवतावादी मूल्य भएका सहज, सरल र परिष्कारयुक्त भएकाले यस्तो बाटो रुचाउने कविको म हार्दिक प्रशंसा गर्दछु ।’ प्रस्तुत सङ्ग्रहको पहिलो रचना गीत रहेको छ जुन सार्वकालिक लाग्छः

सफलताका पाइलाहरू
सधैँ अघि बढून्
सधैँ सधैँ प्रगतिले
सगरमाथा चढून् ।१।
वसन्तको आगमन होस्
सधैँ शान्ति छाओस्
नेपाल यो सङ्कटबाट
मुक्त हुन पाओस् ।२।

सङ्ग्रहभित्रकै गजलको एक सेरः

पिरतीको भोक जस्तो अरू कुनै भोक छैन
संसारमा मायाभन्दा ठुलो अरू थोक छैन ।

यस्तै धेरै कविताहरू उद्धृत गर्न सकिने खालका छन् । खासमा यस लेखमा उनको भर्खरै प्रकाशित पुस्तक ‘स्मृतिमा बुबा’को चर्चाको उद्देश्य रहेकाले यत्ति मात्रै । प्रस्तुत पुस्तकमा माध्यमले तत्कालीन सेरा–१, हाल कमलबजार–७, फल्टाने, अछाम जिल्लामा जन्मेका तिनै भवानीप्रसाद अधिकारी उर्फ भवानी उपेक्षित भएका छन् ।

‘स्मृतिमा बुबा’ को सामान्य चर्चा

कवि भवानी अधिकारी सुदूर पश्चिमबाट उच्च शिक्षा अध्ययनार्थ राजधानी छिरेर सङ्घर्षमा लामो समय बिताइरहेका व्यक्ति हुन् । कुनै समय उनकै भौतिकशास्त्र विषयका एक निजी कलेजका प्राचार्यले उनको हुर्मत लिने प्रयास गरेपछि स्वाभिमानी स्वभावका उनले निकै चित्त दुखाएको यस पङ्तिकार राम्रोसँग परिचित छ । आफूलाई नेपालको आइन्सटाइन ठान्ने र चिकित्सा प्रवेश परीक्षाका तयारीको संस्थाको शिक्षक भएकामा गर्व गर्ने निजका कारण अधिकारीको धैर्यको बाँध फुट्न लागेको थियो । ती व्यक्ति नेपाली विषयलाई विषय नै होइन भन्ने तर भाषणमा प्रायः अगमसिंह गिरीको कविता वाचन नगरी सन्तुष्ट नहुने विरोधाभाष चरित्रका थिए । ‘तिमी त यहाँ नचिनिने भएछौ’ शीर्षकको कविताका हरफहरू कण्ठस्थ सुनाउने ती स्वनामधन्य भौतिकशास्त्रीको नेपाली भाषाप्रतिको बौद्धिकता देखेर यस पङ्तिकारलाई अति पीडा हुन्छ । साँच्ची प्राध्यापकहरू भाषाबिना कसरी पढाउँछन् होला !

असान्दर्भिक प्रतीत हुने भाषाका दरिद्रका कुरा एकछिन छाडौँ । कवि अधिकारीको ‘स्मृतिमा बुबा’ मूलतः व्यक्तिगत उदात्त भावको अनुकरणीय पारिवारिक अनुभूतिपरक कविता कृति हो । आफ्ना पिताश्रीको ९५ वर्षको उमेरमा निधन भएपछि सुरुमा पितृशोकमा मर्माहत भए तर कालान्तरमा उनका अन्तर्मनमा पिताप्रतिको श्रद्धाभावले प्रभावित पारिरह्यो । फरक विषयको प्राध्यापन र साहित्य अनुरागी भइरहनुका नाताले उनी तरङ्गित भावहरूलाई शब्दमा उतार्न अनुकूल परिवेशको खोजीमा थिए । कोभिड–१९ का सन्दर्भमा धेरैलाई नकारात्मक प्रभाव पारे तापनि नेपाली साहित्यमा भर्चुअल रूपमा धेरै गतिविधि भए । यसले साहित्यका सबैजसो विधामा सकारात्मक प्रभाव नै पारेको देखिन्छ । फलस्वरूप घरमै निरन्तर रहनुको सहज साहित्यिक उत्पादन अधिकारीको प्रस्तुत कृति बन्न पुगेको छ । उनी न नेपाली विषयका प्राध्यापक न सैद्धान्तिक ज्ञानका विज्ञ तर सिद्धान्तको अध्ययनभन्दा पनि साहित्यका निबन्ध र कविता विधामा निरन्तर कलम चलाइरहने व्यक्ति हुन् । समय समयमा आयोजना भइरहने विभिन्न प्रतियोगितामा विजयीसमेत हुनुले उनको अभ्यन्तरमा लुप्त प्रतिभालाई चलायमान बनाइदिएको अनुभूत हुन्छ ।

माण्डव्ये ऋषिका सन्तानहरू भट्टारक ब्राह्मण पुर्खाका सन्तति रहेका कवि अधिकारीले पितृशोकलाई काव्यमा रूपान्तरण गरेका हुन् । राष्ट्रकवि माधव घिमिरेले आफ्नी पत्नी गौरीका शोकमा ‘गौरी’ काव्य जन्माएजस्तै कवि अधिकारीले पिताको वार्षिकी तिथिमा आफ्ना तिनै गुमाएका अभिभावकप्रति समर्पण गरी ‘स्मृतिमा बुबा’ कृति यही मंसिरमा सार्वजनिक गरेका छन् । झट्ट हेर्दा पुस्तक काव्य कृति नभएर स्मृति पुस्तक मात्रै भएजस्तो लागे पनि पृष्ठ ६–५९ का चौधवटा कविताका उपशीर्षकहरू दिइएर स्वच्छन्द काव्यधाराका रूपमा प्रस्तुत गरेका छन् ।

प्रस्तुत पुस्तक दुई कारणले महत्त्वपूर्ण हुनसक्ने छ । पहिलो, पारिवारिक वा अधिकारी थरका मानिसहरूको पुख्र्यौली थातथलोका विस्तृत अध्ययनका लागि हुनसक्छ । दोस्रो, साहित्यको कविता फाँटमा स्वच्छन्द भावको प्रस्तुति गर्न चाहने तर छन्दज्ञान नहुनेहरूका लागि लेखनमा उत्प्रेरित गरी प्रयोगशीलतातर्फ उन्मुख गराउने भूमिकामा सहायकसिद्ध हुनसक्छ ।

टुङ्ग्याउनी

पिता पुर्खाप्रतिको आस्थाभाव र जन्मभूमि अछामप्रतिको प्रेमभाव नै कविताका हरफहरूमा मूल रूपमा देख्न सकिन्छ । आफन्तको वियोगमा रोएर बिताउने तर व्यक्तिगत रूपमा खासै केही गर्न नचाहने वा नसक्नेहरू कमजोर हुन् । यही पृष्ठभूमिमा शोकलाई साहित्यमा उतार्ने चाहना, सहरको बसाइ, जागिरे व्यस्तता, पारिवारिक जिम्मेवारी सबैलाई मनमस्तिष्कमा लिएर पनि आर्थिक वा मानसिक भार नसम्झी साहित्यलाई केही दिन खोज्नु भावी पुस्ताका लागि आफैँमा प्रेरणादायी प्रभाव हुनसक्छ । टुङ्ग्याउनीमा ‘स्मृतिमा बुबा’ पुस्तकको पुछारमा समाविष्ट ‘अछाम प्यारो धरा’ शीर्षकबाट एक श्लोकः

कर्णाली नदी छ बग्छ नागवेली पूर्वी सिमाना बनी
उता पश्चिमको सेता झरनाको सङ्गम हो सेती पनि
द्यौराली वन छन् जडीबुटीहरू ती लेकका शिरमा
पुख्र्यौली धरती दृश्य सुन्दर ती माडूँ र मन्दिरमा ।५।