जब विचारहरू विकेन्द्रित हुन्छन्, तब मनहरू छरिन्छन् । छरिनकालागि अब कुनै ठाउँ रहँदैन सायद तब भावना र कल्पनाहरू अक्षरसँग यात्रा गर्दा रहेछन् । सबै व्यक्तिको जिन्दगीको यात्रा सोचे जस्तो सरल रेखामा नै हुन्छ भन्ने हुँदैनरहेछ । उसबेलाको तेह्रथुम जिल्लास्थित साविकको खेलपुर कोयाखोलामा जन्मिएका अक्षर यात्रा (२०७७) का स्रष्टा एवम् द्रष्टा गोपालप्रसाद काफ्ले गौरादह बहुमुखी क्याम्पस (झापा) को पूर्व क्याम्पस प्रमुख समेत हुन् ।
साँच्चै, लुसियस सेनेकाले भने जस्तै– ‘यात्रा र स्थान परिवर्तनले मनमा नयाँ शक्ति प्रदान गर्दछ ।’ एउटा यायावरको जीवन शैली र नवीनताको खोजी गर्ने स्वभाव भएका गोपालप्रसाद काफ्ले अक्षर यात्राबाट जीवन भोगाइका अनुभूतिमा अलिकति कल्पना, अनि थोरै रङग भरेर जीवनलाई स्पर्श गर्न पुगेका छन् ।

दीपक सुवेदी

संस्मरण र नियात्रा निबन्धकै उपविधा अनि आत्मगतता÷ आत्मपरकता यसको पहिलो र अनिवार्य सर्त यसका माध्यमबाट तथ्यहरूलाई संस्मरणात्क वृत्तान्तका साथ प्रस्तुत गर्नु लेखकीय विशेषता हो । यसभित्र स्रष्टा काफ्ले ठिप्तालाको आसपास (पृ. ६२) कहिले बाघसँगको जम्काभेट त कहिले केराघारीमा चक डस्टर (पृ. ७४) त कतै भोकले परिबन्दको विवाह (पृ.८६) मा परेर परशुराम धाम पुग्दा (पृ. १८८) बैँसले र प्यासले रुझेर पुगेका छन् । त्यही भएर पनि अक्षर यात्रा अतितको पनि यात्रा हो । रमरमता इतर निजात्मक रङ्गले रङ्गिएका र परात्मक चिन्तनले भरिएको अक्षर यात्रामा बाल्यकालका कहरहरू (पृ. १०) देखि जीवन मूल्यको खोजी (पृ.२०१) सम्म २३ शीर्षकमा अनुभव र अनुभूति प्रस्तुत गरेकाछन् ।

साहित्यको एक समष्टि गुण जीवनपरकता भएकोले संस्मरण उपविधा लेखककै यथार्थ जीवनसित सम्बद्घ लघु र भावुकतापूर्ण विधा हो । जीवनीमा जीवनको आद्योपान्त चित्रण नभई लेखकको जीवनसित सम्बद्घ कुनै घटना, क्षण वा उसले सुने जानेका कुनै विशिष्ट कुराको यस्तो कलात्मक चित्रण हुन्छ । वस्तुतः संस्मरण प्रायः लेखकको आफ्नै भन्दा लेखकेत्तर व्यक्तित्व र कार्य विशेषतामा जोड दिएर लेखिन्छ । तर अन्य लेखन यस इतर हुने हुन्छ ।
मोन्टेनले झैँ निबन्धलाई सहज र सरल ढङ्गले पाठक समक्ष सम्प्रेषण गर्न प्रयत्नरत काफ्ले आफ्नो तर्क र बौद्धिकता, आदेश र आग्रह कसैमाथि नथोपरिकन संस्मरणहरूमा प्रस्तुत भएका छन् । जति खुल्ला हुन आकासले सक्छ, त्यति नै लेखनमा खुल्ला हुने प्रयत्न गर्ने काफ्लेले सृष्टि रचनाको स्थापित मान्यता, हिन्दु चेतना र चिन्तन पद्धतिलाई स्वीकार गरेर भावनाको तलाउमा संस्मरणहरू प्रस्तुत गरेका छन् । केही पुरातन र केही समसामयिक विषय समेटिएका संस्मरणमा थोरै शब्दमा भावको सघनता होस्, उचित शब्द संयोजनद्वारा प्रस्तुतिकला देखियोस्, प्रेमका स्वरले अक्षरहरूको आलिङ्गन गरून्, शान्तिले शब्द चेतना पाओस् र साहित्य सिर्जनाद्वारा घृणाका कलुषित भावनाहरू हराउन् भन्छन्, संस्मरणभरि काफ्ले ।

वास्तवमा निर्माणको, सिर्जनाको र विकासको कार्यमा सधँै चिन्तनशील रहने स्रष्टा गोपालप्रसाद काफ्ले नवीनता र प्रयोगको चमत्कारले आकर्षित पनि भएका छैनन्् । उनले जीवन र समाजबाट ज्ञान अनि अनुभव बटुली त्यसमा आफ्नो कल्पना र सपना मिसाएर सौन्दर्यकोे सृष्टि गर्नुका साथै भोगाइ र सोचाइहरू अक्षर यात्रामा पस्किएका छन् ।

संस्मरणमा जीवन दृष्टि भेटिन्छ । मनको सुख सन्तोषमा छ । विलास र परिग्रहमा होइन । पहिचानहीन भएर बाँच्नु पर्दा पीडा हुन्छ । जीवनलाई क्रियाशील बनाइरहनुपर्छ । क्रियाशील जीवन भनेको हारसँग लड्न सक्नु हो ।

चुनौतीहरूलाई परास्त गर्नु हो । संस्मरण लेखनको सुख, आत्मिक शान्ति चूडान्त छ । संस्मरणको रचना गर्भ भनेको समयको ध्वनि सुनेर, जीवनको लय बुझेर विचारलाई कलात्मक डिजाइन गर्दै संस्मरण लेख्ने हो । जीवनलाई वैचारिक रूपमा स्केच गर्ने हो । अनुभूतिको तीव्रतालाई व्यवस्थापन गर्दै सिर्जनात्मक रूप दिने हो । जुन कार्य काफ्लेले आफ्ना संस्मरणमा गरेको पाइन्छन् ।

२०१५ सालको आमचुनाव (पृ.२९), २०२२ सालमा लुङथुङ…(पृ.५६), जङ्गबहादुर राणाको समयमा वि.स. १९१०÷१२ मा तिब्बत नेपाल युद्घ (पृ.६५) यसरी काफ्लेका संस्मरण पाठकलाई कहिले लाग्न सक्छ इतिहास पढे जस्तो त कहिले भूगोल । त्यसैले अक्षर यात्रा केही भूगोल, केही इतिहास अनि थोरे तथ्याङ्कपरकका साथै सूचनात्मक तथा विवरणात्मक अनुभवको सङ्कलन पनि हो । साँच्चै, कल्पनाको सहायताले स्रष्टाहरू अविदितको यात्रा गर्छन् । कल्पना नहुनेहरूले जीवनलाई ढुङ्गाजस्तो देख्छन् र प्रकृतिलाई मोहनीरहित । कल्पना हुनेहरू पृथ्वीमा स्वर्गको मिठास अनुभव गर्छन् अनि त्यसरी नै स्रष्टा गोपालप्रसाद काफ्ले पनि ।

लेखकले आफैँ रुँदै र आफैँ हाँस्दै रचेको रचना बढी शक्तिशाली हुने गर्छ । मानव जीवन निर्माण र सिर्जनाका ममतामा सल्सली बगेका अक्षर यात्राका रचनामा सरल स्वभाविक रूपमा भाषाको सन्तुलन पाइन्छ । मानवका सुखदःुखलाई राम्ररी चित्रण गरिएका संस्मरणमा कताकता उपदेशात्मक स्वर र कर्मगति ज्यादा आउन खोजेको देखिन्छ । अक्षर यात्रामा भावनाहरू यात्रारत र यात्राविरतमा मात्र सिमित नभएर भाषा, साहित्य, नीति, वादका आदर्श र तर्कहरूमा पनि केन्द्रित छन् ।

राजनैतिक सीमानाले भाषाको सीमालाई साँच्चै घेर्न सक्दैन रहेछ । कला, साहित्य र संस्कृतिको सीमा राजनीतिको भन्दा अलिक फरक हुँदोरहेछ । राजनीति सीमाको विस्तार सीमित भए पनि कला, साहित्य र सांस्कृतिक सीमाको विस्तार टाढा टाढासम्म हुँदोरहेछ । समयका साक्षी स्रष्टाको यस कार्यमा महत्वपूर्ण भूमिका पनि हुँदोरहेछ । अनि समयले पन्छाएर पर सारेका भोजराज दाहाल, सुरेशबहादुर पौडेल, केशव लोहनी, शर्मानन्द अधिकारी, रोहितकुमार बस्नेत आदिले जीवन र समयलाई समाएर आधार शिविरबाट माथि पुुगेका ती जीवनको साक्षी गोपालप्रसाद काफ्ले जस्ता स्रष्टा त हुँदोरहेछ ।

समयसँग संवाद र जीवनसँगको प्रतिक्रिया स्रष्टा एवम् द्रष्टा गोपालप्रसाद काफ्लेको संस्मरण लेखनको उद्देश्य हो । सिर्जना मूलतः वैयक्तिक प्रतिभाकै उपज हो । एउटै वृक्षको फलको आकारमा भिन्नता हुन्छ । त्यसैगरी मानवाकृति र जीवाकृतिमा अन्तर भएजस्तै सिर्जनामा पनि आफ्नैपन आउनु स्वाभाविक छ ।

वस्तुपरकताको आधिक्य, कल्पनाशक्तिको कम उपयोग, वर्णनात्मकता र विवरणात्मकताको योग अक्षर यात्रामा पाइन्छ । अक्षर यात्राभित्र भएका रचनाहरूले खुला आकाशबाट स्रष्टा र समाजलाई चियाएका छन् तर पनि दृष्टिकोणहरू सतही छैनन् । आकाशबाट हेर्दा धर्तीका सबै कुरा देखिँदैनन् नै । छायाँ र तुवालोले छेक्न सक्छन् ।
अर्नेस्टले भनेजस्तै संस्मरणको लेखाइ, बातचित र व्यवहार गराइका बीचमा सुहाउने हुनुपर्छ । निबन्धका अन्य गुणहरूमध्ये मनोरञ्जनात्मकता, सुपाठ्यता र संक्षिप्तताको साथै आनन्दमयी गुणहरू पनि पर्दछन् । यी गुणहरू अक्षर यात्रामा थोरै नहोलान् तर धेरै चाहिँ पक्कै छन् । जनता माविका ती दिन (पृ. १२७) मा निबन्धकार जति खुलेका छन् त्यति नै क्याम्पसमा पुराण (पृ. १३९) मा खुल्न सकेका छैनन् । कति इच्छा र चाहनाहरू लेखकका परिस्थिति र बाध्यताका कैदी पनि हुँदारहेछन् । अक्षर यात्रामा वर्णविन्यासगत त्रुटी र केही प्राविधिक समस्या नभएका होइनन् । यति हुँदाहुँदै पनि अझ केही संस्मरणहरू लामा भएर पनि ती बोझिला र निन्द्राबाट उठे जस्तै छन् ।

कृति: अक्षर यात्रा (संस्मरण)
लेखक: गोपालप्रसाद काफ्ले
पृष्ठ सङ्ख्या: ६+२१०
मूल्य: २००/–