मान्छेहरू नाम पढिँरहेछन्, नामै जपिरहेछन् । मचाहिँ नाम हाेइन अक्षर पढ्न चाहन्छु । अक्षरै जप्न चाहान्छु ।
म साहित्य चिन्दा लेखक चिन्दिनथेँ । नचिन्ने मात्रै हाेइन, चिन्न सक्छु भन्ने कल्पना नै गर्न सक्दिनथेँ । यदि मन परेका लेखक भेट्ने रहर मेरो कल्पनामा भएको भए म डायमन शमशेरलाई भेट्थेँ, सायद । उनकाे मृत्यु भएपछि पाे थाहा पाँए, उनी त जीवितै थिए । यही काठमाडौंकाे खाल्डाेमा बस्थे । थाहा लागेपछि अफसाेच लाग्यो, तर पनि अन्तिम बिदाईमा जाने आँट गरिनँ । र फेरि पछुतो मानिरहेकाे छु ।
वीपी काेइरालाका साहित्य र स्वभावका विषयमा बुवाले धेरै कुरा सुनाउनुहुन्थ्यो । प्रधानमन्त्री हुँदा आधा तलब मात्र लिने गरेको , कार्यकर्तालाई कालाे चिया पनि खुवाउन नसकेर खुवाउनै बन्द गरेको, सर्वश्व हरण भएपछि भाेगेकाे चरम आर्थिक समस्या जसका कारण घाउको अपरेसन गर्दा लठ्याउने सुई किन्न नसकेर दाह्रा किटेकाे, अनेक अनेक । म यसै यसै वीपीप्रति आकर्षित भएथेँ ।
अक्षरबाट प्रप्त भएको श्रद्धा साक्षात्कारपछि सिसाकाे गिलास टुटे जसरी कति टुटेका छन् । यसैले पनि नभेटीकनै गएकामा पारिजात , डायमन शमशेर र वीपी काेइरालाप्रति अझै नतमस्तक छु जस्ताे लाग्छ । सानु शर्मा पनि तिनै साहित्यकारहरूमध्ये एक हुन् जसलाई मैले अक्षरका माध्यमबाट चिनेँ । उनीसँग भेट्ने चाहाना र कल्पना छ कि छैन ममा ? आफैँमा अनुत्तरित छु ।
आफैँलाई थाहा नभएका आफ्ना स्वभाव कति छन् ? विराेधाभाषपूर्ण ! आफैँ अनभिज्ञ हुन्छौं आफैँसँग, तर अरुकाे विषयमा निर्धक्क आफ्ना धारणा बनाइरहन्छाैँ । साेच्दा पनि एक तमासाकाे हुन्छ मन ।
शर्माकृत एकादेश कथासङ्ग्रह पढेको थिएँ । त्यसपछि फेसबुकमा लेखेका कथा पढ्दापढ्दै उनी यति परिचित लाग्छ कि, मेरै वरिपरि घुमिरहे जस्तो, आफूलाई भन्दा बढ्ता चिने जस्ताे । साेच्न थालेको छु, फेसबुके प्रेम पनि यसरी नै बस्दाे हाेला है ?
उत्सर्गकाे कभर देख्नेबित्तिकै पढ्न हतारिएथेँ । पुस्तक हातमा परेपछि धेरैबेर सुम्सुम्याएँ । कामकाजी बाबुआमाकी एक्ली छाेरीकाे मनाेविज्ञान । एक्लै हाेस्टल , डेरा अनि सिङ्गो घरमा बिताएका पल । शर्मा ससाना घटनालाई यसरी बुनेकी छिन् कि छाेरी आर्याकाे मायाले उसलाई गर्लम्मै अँगालेर आफ्नै आँचलले छाेप्न मन लाग्छ ।
एक अबोध केटीकाे मनाेविज्ञान मात्रै हाेइन बाबुआमाले आफ्ना सन्तानका लागि देखेका अनेकाैं सपना पनि छन् उत्कर्समा । मायाका, प्रेमका , ममताका , झगडाका र टुटेका अनगिन्ती सपनाले मनमस्तिष्क हल्लाउँछ । र, साेच्न बाध्य बनाउँछ, बाबुआमालाई लत्याउदा के हुन्छ ? छाेराछाेरीमाथि अनावश्यक शंका गर्दाकाे नतिजा के आउँछ ?
एक निष्ठ प्रेममा बाँधिएकी आर्या र प्रेमिकालाई लुगाजस्तै मान्ने गाैरवमार्फत् समाजकाे एउटा जटिल दृश्य देखाइएकाे छ । आफ्नाे प्रेमलाई जाेगाउन ज्यान दिन तयार आर्या र चाहेको चिज प्राप्त गर्न मर्न तयार हुने गाैरवबीचकाे अन्तर शिक्षाबर्धक लाग्छ ।
दुई परिवारमार्फत् बाबुआमासँगै बसेका बच्चा र एक्लै हुर्किएका बच्चाकाे मनाेदशा एकसाथ देखाइएकाे छ पुस्तकमा । यो कसरी सम्भव भयो हाेला ? मनमा काैतुहलता पनि थपिदिन्छ । बच्चा जन्मनु र जन्माउनु प्राकृतिक कुरा भएकोले हामी सामान्य मान्छाैँ । तर तिनको उचित लालनपालन हुन नसक्दा कस्तो हुन्छ ? बच्चाकाे मनाेभाव बुझेर व्यवहार गर्न नसक्दाकाे परिणाम आर्या र गाैरवकाे परिवारमार्फत् देखाउन शर्मा सफल भएकी छिन् ।
शर्माकाे अघिल्लो पुस्तक मदन पुरस्कारको छनाैटमा परेको थियो । तर पनि लेखककाे शालीनता र प्रचारविमुख स्वभावले मलाई उनीप्रति अझ धेरै चासो गराएको थियो । लेखन एउटा कर्म हाे, आफ्ना लेखाइले कसैलाई केही दिन सक्यो भने आफ्नो पुरस्कार नै त्यहीँ भएको मान्ने लेखकका कुराले म पनि पानी पानी भएको छु । साथै शर्माले सरल भाषामा पनि गम्भीर विषयकाे उठान गर्न सकिने ज्ञान दिएर अभिभावक मात्रै हाेइन, जटिल शब्द राखेर लेख्दा मात्रै राम्रो लेखन हुन्छ भन्ने बुज्रुक साेचमाथि तातोपानी खन्याइदिएकी छिन् ।
यो पुस्तक सबै अभिभावक र केटाकेटीले पढून् भन्ने मेरो पनि चाहाना छ । किनकि, अझै पनि हामी बच्चामाथि आफ्ना कुरा लादिरहेका छाैँ । राम्रो शिक्षादीक्षा त दिँदै छाैँ तर त्यसलाई व्यवहारमा लागू गर्ने कुरामा बेवास्था गरिरहेका छाैँ । हामी साेच्दैनाैँ कि राम्रो शिक्षा लिएको मेरो सन्तानको विचार कस्तो छ ? ऊ के चाहन्छ ? अझ भनाैँ हामी बच्चासँग घर व्यवहारका कुरा छलफल नै गर्दैनौं । उनीहरूलाई मात्रै यसम्यान बनाउन चाहन्छाैँ । आफूले जे भन्यो लुरुलुरु मान्नेखालको । एउटै छतमुनि बसेर हामी आआफ्नै किसमले आफैँसँग तर्क वितर्क गरिरहेछाैँ । कसरी बुझ्ने कसको मनमा के खेलिरहेको छ भन्ने कुरा ? तर पनि हामी सबै कामना गरिरहेछाैँ, आफ्नो कुरा सबैले बुझिदिऊन् । हामीलाई नै राम्ररी थाहा छैन, हामी के खाेजिरहेका छाैँ भन्ने । फेरि अपेक्षाचाहिँ राखिरहन्छाैँ अरुबाट ।
तर लेखकले आदित्य नामक यस्तो चरित्र निर्माण गरिन् जाे अरूसँग अगाध प्रेम गर्ने सँगसँगै दशाैं वर्ष बिताएकी केटीलाई माया गर्छ । ऊ मात्रै हाेइन, उसको परिवारले पनि माया गर्छ । यस्तो स्वार्थी जमाना, बाबुआमा पनि आफ्नो छाेराछाेरीलाई जातभात र सम्पन्नताका आधारमा आफूले भनेकोसँग विवाह गराउन हरसम्भव प्रयास गर्छन् । उपन्यास वा कथा आफैँमा कल्पनाकाे जलपले सिँगारिएकाे हुन्छ । यति धेरै उदार चरित्र यथार्थमा के हुन्छ र ? पढ्दै गर्दा पाठककाे मनमा उब्जने प्रश्न हाे याे ।
भाषा र शब्द सरल र सरस आँखामा नबिजाउने छन् । सलल बगेको राज मार्ग जस्तो । पुस्तक समाउँदा माेटाे लागे पनि पढ्दै जाँदा छाेटाे लाग्छ । लेखककाे कलम निरन्तर चलिरहाेस् । झुलिरहाेस्, अक्षरकाे खेती शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।