मोहन कोइरालाले आधुनिक गद्य–कवितामा नयाँ प्रयोग गरी कवितामा आफ्नै विम्ब–शैली बोकेर क्लिष्ट शब्दशैलीलाई आफ्नो पहिचानजस्तो बनाई प्रख्यात प्रयोगवादी कविका रुपमा आफूलाई चिनाउन सफल छन् । महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, भूपि शेरचनपछि गद्य कवितामा आफ्नो पहिचान देखाउन यिनले आफ्नो खालको काव्यिक सङ्घर्ष गरेको देखिन्छ । कविता सिद्धान्तमा बाँधिएर लेखिंदैन, कविले कविता पो लेख्ने हो भनी कविता र कविको उच्चताबारे आफ्नै परिभाषा बनाएर साहित्यिक क्षेत्रमा देखा परेका यिनी सर्वसाधारणका लागि नबुझ्ने कविका रुपमा प्रख्यात रहेको कोही–कोही समालोचकहरू उल्लेख गर्छन् । कवितामा विम्ब प्रयोग हुनुपर्ने, आधुनिक सन्दर्भभित्र रुमलिन सिक्नुपर्ने, शब्द संयोजन गर्न जान्नुपर्ने भन्ने दृष्टि–चेत बोकेर कविता लेख्न शुरु गरेका मोहन कोइराला निरन्तर कविता लेखनमा सक्रिय भएर गएको देखिन्छ । यसै सन्दर्भमा २०४४ सालतिर नै ‘साहित्यकार परिचय र अभिव्यक्ति’ ग्रन्थमा यिनले यसरी आफ्नो कविताप्रतिको मोह पोखेका छन्– ‘केही सेवाभावले, प्रेरणा मनमा लागेर कविता क्षेत्रमा लागेको हुँ ।’

डकारप्रसाद कोइरालाको नाममा मित्रप्रिया र ईश्वरीप्रसाद कोइरालाका छोरा भई वि.सं. १९८३ मङ्सिर ११ गते डिल्लीबजार, काठमाडौंमा जन्मेका साहित्यकार मोहन कोइराला आधुनिक कविता क्षेत्रका प्रसिद्ध व्यक्तित्व हुन् । प्रयोगवादी धाराका शीर्षस्थ कवि कोइरालाले आधुनिक नेपाली काव्यधारामा नितान्त नौलो शैली प्रयोग गरेर कविका रुपमा सुविख्यात बनेका हुन् । गद्य कविताका शिखर तथा चर्चित कवि मोहन कोइरालाले कवितामा नै अधिकांश समयक्रम र जीवनका क्षणहरू दिएको देखिन्छ । यिनले कथा, समालोचना विधामा पनि उत्कृष्ट ढङ्गले कलम चलाए तापनि कवितामा यिनले पुर्याएको योगदान उल्लेखयोग्य छन् । ‘परिदृश्यमा गङ्गा प्रवेशमा’ लेखमा यिनले कविताकै सन्दर्भमा यस्तो लेखेका छन्– ‘छोटा–छोटा कविता लेख्नेले यो लामो कविता लेखेर के गर्न खोजेको हो भनेको पनि नसुनिएको होइन । त्यसमा म के भन्छु भने छोटो लेख्नुस् वा लामो लेख्नुस्, लेखकको आफ्नो खूबी हो । तर लामो लेख्नु मेरो रहर हो । जब छोटा कविताले आफ्नो लेखनको वेग मर्दैन त अनि लामो लेख्छ । धेरै भावना सानो कवितामा अट्दैन अनि लामो लेख्नुपर्छ । म अमूर्त गद्य कविताकार हुँ ।’
औपचारिक शिक्षा केही प्राप्त नगरीकन स्वाध्यायनले नै आफूलाई सक्रिय बनाएका मोहन कोइराला थोरै बोल्छन् तर धेरै लेख्छन् । यिनले शिक्षणसेवामार्फत अध्यापन गरे, सरकारी नोकरीमा सेवा गरे । पछिल्लो कालखण्डमा यिनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसम्म बनेर आफूलाई चिनाए । यिनका प्रकाशित कविताका पुस्तकहरूमा लेक (२०५५), पलङनम्बर २१ (२०२८), मोहन कोइरालाका कविता (२०३०), सुनका शिखरहरू (२०३१), सारङ्गी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम छ (२०३५), नदी किनारका माझी (२०३८), ऋतु निमन्त्रणा र गरलपान (२०४०), नीलो मह (२०४१), एउटा पपलरको पात (२०४७) छन् । समीक्षात्मक कृति ‘कविताबारे केही चर्चा’ पुस्तकमा काव्यको गहनताबारे गहन विचारहरू उल्लेख गरेका छन् । वि.सं. २००७ मा नै ‘शारदा’मा ‘जाँदाजाँदै उनीहरूले बुझिसके’ कविता छपाएर आफूलाई कविका रुपमा चिनाएका यिनी २०६३ फागुन १० गते अवसान भएको देखिन्छ ।

दुरुहता र क्लिष्ट लेख्छन् मोहन कोइराला भनेर टिप्पणी गर्नेहरूलाई जवाफको क्रममा यिनी लेख्ने गर्छन्– ‘म पनि भन्छु कुनै कविको कविता क्लिष्ट, दुरुह, दुर्बोध्य नहोस् । सङ्लो पानीजस्तो होस् तर हुन्छ र ⁄ आजसम्म भएन । दुरुहता र सरलता दुवै–दुवै एक–अर्काबाट फरक छैनन् ।’ उनी कविताकै सन्दर्भमा अगाडि लेख्छन्– ‘कविताले जहिले पनि भाषा, काल र स्थिति बोकेको हुन्छ । त्यो बोक्ने कविता स्थायी कविता हो, होइन । त्यसैले यसमा म के भन्न रुचाउँछु भने कविताले आधुनिक रचना, आधुनिक विचार बोकेको हुनुपर्छ, नभए आधुनिक हुँदैन । विचार आधुनिकता हो ।’ सम्पादन–कलामा पनि आफ्नो पहिचान देखाउन सफल यिनले ‘आजका नेपाली कविता’, ‘काव्य विचार गोष्ठी’, ‘कविता’, ‘प्रतीक’, ‘फणीन्द्र नेपालका कविता’ र ‘धरणीधर स्मृति ग्रन्थ’ आदिको पनि सम्पादन गरेका छन् । साझा पुरस्कार र मदन पुरस्कारसमेत पाइसकेका कवि कोइराला साहित्यिक क्षेत्रमा देखा परेका समर्पित साहित्यकार हुन् । टी.एस. इलियटका कविताबाट विशेष प्रभावित यिनी अस्पष्टजस्तो देखिंदो भाषा–शैलीमा कविता घोलेर लामा–लामा कविता लेख्छन् र छपाउँछन् ।

सांकेतिक भाषामा कविता लेख्न पाउँदा दङ्ग पर्ने यिनी कविले जीवनका धेरैजसो क्षणहरूमा कविताका रङ्गहरू आफूमा छर्केर कविका रुपमा प्रतिस्थापन गर्न पाउँदा दङ्ग छन् । प्रतीकात्मक र विम्बात्मक शब्दशैलीमा यिनी कविता लेख्छन् । कवितामा विम्बको प्रयोग गर्दागर्दै आफ्नो कवितालाई क्लिष्ट बनाउने यिनका लामा कविताहरू फर्सीका जराजस्तै दुरुह र दुर्बोध्य छन् भनेर पनि समालोचकहरू लेख्ने गर्छन् । समकालीन चेतनाका एउटा काव्यात्मक धार र गति हुन् मोहन कोइराला ।
स्वच्छन्दतावादी कविका रुपमा पनि ख्याति कमाएका कवि मोहन कोइरालाका केही कविता पङ्क्तिहरू यहाँ प्रस्तुत गरिएका छन्–

म तेरो सौन्दर्य–शाहज्यादीको पहिलो गायक पन्छी हुँ
म तेरो ताजमहलको पहिलो जगको मरमर हुँ
म सौन्दर्यको राजमहल, ए नरम रेशमकी काँचुली,
म त्यो कुञ्चलाई नजिकैबाट हेर्न चाहन्छु
म प्रकृतिको अञ्चललाई निकै तान्न चाहन्छु
म तेरो यौवनलाई दिन दुई दिन माग्न चाहन्छु ।

यौन भावनाका कारणले हो वा प्रेम मायाभित्र राखेर यौन बुझ्ने गर्दाले हो, मोहन कोइरालाका केही कवितामा प्रेमका उत्सर्गहरूमा यौन स्फुरण प्रत्यक्ष⁄अप्रत्यक्ष देखिंदा छन् । जस्तै–

हिपटाइट, फ्रक कसले लाउने स्टेजमा निस्कँदा
मलाई अलि नशा लागेको छ हगि
मलाई चाहिँ नशा लाग्दछ ।
हुन पनि तिम्रो अनुहारमा त्यस्तै के पोखिदिएको छ
जति हेर्दिनँ भन्दछु उति नशा भएर आउँछ ।

साढे पाँच दशकसम्म नथाकीकन यिनले कविता लेखे । कविताकै चर्चा र व्याख्यामा रमाए । कविता गोष्ठी, संगोष्ठी, कविताकै सम्पादनमा रमाएर जीवन गुजारे । अर्थात् यिनी कवितामा चलखेल गर्दै कविता नै लेखेर गएका कविताकै कवि हुन् । जे–जस्तो ढङ्गले यिनको टिप्पणी भए तापनि यिनी कवितामा एउटा तरङ्ग दिन सफल गतिशील सफल आधुनिक कवि हुन् । देवकोटा, रिमाल, शेरचनका क्रान्तिकारी र सरल शैलीमा देखिंदा कविताहरू यिनका नभए तापनि यिनका कविताहरू बौद्धिक ढङ्गका प्रयोगवादी कविताका रुपमा देखिंदा छन् । यिनै कवि कवितामा भन्ने गर्छन्– ‘मलाई हिँड्ने हिम्मत देऊ । म फर्सीको मुन्टा हुँ ।’

कवि मोहन कोइरालासँग त्यति नजिक रहेर सङ्गत गर्न पाइएन । मैले दुई–चारपल्ट मात्र जम्काभेट गर्न पाएको सम्झना छ । उपकुलपति छँदा एकपल्ट भेटेको र साधारण कुराकानी भएको सम्झना छ । दुई–चार ठाउँमा साहित्यिक यात्रा गर्दा सँगसँगै पुगेको याद छ । सबभन्दा सम्झिन लायकको घटना भनेको जनमतको वार्षिकोत्सवमा मोहन दाइ मुख्य अतिथि भई आउँदाको क्षण हो । उनले उक्त कार्यक्रममा जनमतको सराहना गर्दै भनेको याद छ– ‘जनमतको साहित्यिक अभियानबाट म धेरै प्रभावित भएँ ।’ यसै गरी मलाई पनि भन्न मन लाग्यो– ‘मोहन कोइराला लामा कविताका अग्ला कवि हुन् ।’