देश संघीयताको कार्यान्वयनमा छ । सरकार र प्रशासन विकेन्द्रित शासन प्रणालीमा प्रवेश गरेको छ । प्रयोग नयाँ र अनुभवका अभावमा केही जटिलताहरू नभएका होइनन्, तर यसलाई छिचोल्ने प्रयासहरू भइरहेका छन् । सामाजिक–आर्थिक पक्षसँगसँगै शिक्षा र साहित्यका विविध पाटाहरू पनि स्थानीय स्तरमा प्रयोगमूलक ढङ्गले अगाडि बढिरहेकै छन् । क्षेत्रीय स्तरका साहित्यिक गतिविधिहरू पनि फस्टाउँदो मात्रामा रहेको देखिन्छ । यिनै कार्यहरूको सेरोफेरोमा स्थानीय रूपमा साहित्यिक गतिविधिको एउटा नमुना कार्य सम्पन्न भएको छ । गत साता दोलखा जिल्लामा जन्मेर साहित्यिक सिर्जनामा होमिएका करिब दुई दर्जन सर्जकहरूका कृतिमाथिको समीक्षा पुस्तक सार्वजनिक भएको छ ।
‘दोलखाली सर्जक पुस्तक समीक्षा’ नामक कृतिमा २३ जना स्रष्टाका कृतिमाथि एक/एक समीक्षा समेटेर पुस्तक प्रकाशित गरिएको हो । कतिपय केन्द्रीयस्तरसम्म नआइपुगेका र मोफसललाई नै सर्वोपरि मानेर बसेका सर्जकदेखि लिएर राजधानी तथा प्रवासमा रहेर आफ्नो सबल साहित्यिक उपस्थितिले व्यापक रूपमा मूलधारलाई नै नेतृत्व गर्नेसम्मका सर्जकहरूका बारेमा गरिएको एक सकारात्मक साहित्यिक प्रयास मान्न सकिन्छ । प्रकाशनका रूपमा पहिलो प्रयास भएकाले सबै कुरा समेटिएर आउने अपेक्षा पक्कै गर्न सकिन्न । यसमा समयको अभाव, सम्पर्कको निरन्तरता, समीक्षकको अनुकूलता, सङ्कलनमा समन्वयात्मक भूमिकाका अभियन्ताहरूको व्यस्तताका समस्याले बन्न पुग्ने प्रतिकूलता आदि कारणले कहिलेकाहीँ अप्ठ्यारो पर्ने गर्दछ । यी र यस्तै कारणहरूले पनि सम्पादक तथा सङ्कलकहरूले सम्पूर्णता दिन नसकेको अनुमान गर्न सकिन्छ ।
अवश्य एउटा सकारात्मक कार्यको थालनी भएको छ । यसरी जिल्लाभरिका सर्जकलाई समेटेर प्रकाशित यो पुस्तक सायद नेपालमा नै पहिलो अभियान हो कि भन्ने सम्पादकको अनुमान छ । साहित्य सिर्जना गर्नु आफैँमा कठिन कार्य हो । त्यसमाथि गुणदोष केलाएर समीक्षा गर्ने काम पक्कै कठिन हो । किनकि कठिन कार्यमाथिको सिंहावलोकन गर्नुपर्ने कार्य हो । जे होस्, एउटा असल कार्यको सुरुवात हुनु र यस प्रकाशनले स्थानीय लेखक तथा समीक्षकलाई पनि राम्रो मार्गनिर्देशन गर्ने भएकाले कार्य मननीय छ ।

चन्द्र खड्का
साहित्यलाई प्रायः समाजको ऐना भन्ने गरिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने प्रस्तुत पुस्तकले दोलखा जिल्लामा जन्मेर साहित्यिक सिर्जनामा लागिरहेका सर्जकलाई चिन्ने एउटा अवसर हो भने अर्कोतर्फ त्यहाँको समाजलाई कसरी चित्रित गरिएको छ भनी बुझ्ने अवसर पनि हो । राजधानीबाट करिब १०० किमीको दूरीमा रहेको दोलखा ऐतिहासिक रूपले जति महत्त्वपूर्ण रहेको छ, साहित्यका दृष्टिले पनि त्यत्तिकै सघन बन्दै गइरहेको छ । नेपाली साहित्यको आधुनिक कालपछि वास्तविक लेखन तथा प्रकाशन सुरु भएको दोलखा, राजधानीसँग जोडिएको लगभग पाँच दशक मात्रै भएको छ । तसर्थ यातायात र प्रकाशनका अभावमा प्रतिभाहरू प्रस्फुटित हुन नपाएको अनुमान लगाउन सकिन्छ ।
अमरबहादुर कार्कीको ‘आर्तपुकार’ (२०१२) दोलखाली साहित्यिक इतिहासमा पहिलो पुस्तक मानिएको छ । यद्यपि विशुद्ध साहित्यिक कृति भने यो होइन बरु धार्मिक विषयलाई साहित्यिक लेपन दिइएको पहिलो प्रयास मात्रै हो भन्न सकिन्छ । यसपछि बिस्तारै साहित्यिक माहोल बन्दै प्रकाशनको विशेष थालनी हेर्ने हो भने २०२० सालको उत्तरार्धतिर पुग्नुपर्ने हुन जान्छ । आँखा (२०२६) दसैँका अवसरमा मेघराज कोइरालाको प्रधान सम्पादकत्वमा प्रकाशित त्यस जिल्लाको पहिलो साहित्यिक पत्रिका हो । खोजबाट प्राप्त तथ्यका आधारमा २०२६ सालकै फागुनमा जिरीबाट प्रकाशित ‘झुल्का’ साहित्यकार तीर्थराज अधिकारीको प्रधान सम्पादकत्वमा प्रकाशित गरिएको जानकारी स्थानीय साहित्यका जानकार टेक जिरेलबाट प्राप्त भएको छ । मदन पुस्तकालयमा ७३० नम्बरमा दर्ता रहेको उक्त पत्रिका साहित्य अनुरागीहरूले पढ्न चाहेमा सजिलै सकिने त्यस पत्रिकामा राजधानी तथा प्रवासी र त्यतिबेलाका स्थापित लेखकहरूका उत्कृष्ट लेखहरू सङ्कलन गरिएका अधिकांश रचनाहरू कण्ठस्थ सुनाउन सक्ने व्यक्ति पनि उनै टेक जिरेल हुन् ।
‘दोलखाली सर्जक पुस्तक समीक्षा’मा नाटककार मनबहादुर मुखिया, प्रा.डा. सुधा त्रिपाठी, अमरकुमार प्रधान, मोहन चापागाईँ लगायतका पहिलो पुस्ताका दोलखाली लेखकदेखि दोस्रा पुस्ताका विष्णु सुवेदी, भोजराज न्यौपाने, जीत कार्की, शङ्करलाल श्रेष्ठ, चिरञ्जीवी मास्केलगायतका समेटिएका छन् । पछिल्लो समयमा सक्रिय रूपमा कलम चलाउने रमेश दहाल, डम्बर चौलागाईं, डा. प्रदीप मैनाली, भुवन चौघरे, जीवन लामा, नवीन जिरेल, एम.बी. खड्का, मनोज न्यौपाने, सुशीला शर्मा, सौरभ कार्की, सुब्बा श्रेष्ठलगायत सर्जकका कृतिमाथि समीक्षा गरिएको छ । यसबाहेक नाट्य भूषण मदनदास श्रेष्ठ, हेडसर यज्ञराज ढुंगेल र विश्व साइकल यात्री पुष्कर शाहका पुस्तकमाथि पनि समीक्षा समेटिएको छ ।
पुस्तकको सबल पक्ष भनेको यसमा समावेश गरिएका सर्जकका साथै स्थापित समीक्षकहरूको लेखन पनि हो । गजलकार जीत कार्कीका गजलमाथि समीक्षक भीम थापाले विधागत सिद्धान्तका कसीमा राम्रोसँग चिरफार गरेका छन् । गजल लेख्न र गजलका बारेमा यसका तत्त्वगत ज्ञान लिन चाहनेका लागि यो लेख उपयुक्त सन्दर्भसामग्री बन्न सक्छ । अर्का समीक्षक ईश्वरचन्द्र ज्ञवालीले सशस्त्र क्रान्तिपछिको शान्तिप्रक्रियामा युद्धकालीन अनुभवलाई योद्धाहरूले कसरी साहित्यिक सिर्जनामा उतारेका छन् भन्ने तथ्यलाई सुब्बा श्रेष्ठको ‘रगतले पोखिएका पानाहरू’ कृतिमाथि विश्लेषणात्मक लेखन गरेका छन् । दामोदर पुडासैनी, डा. राजेन्द्र खनाल, टेक जिरेल, ईश्वरमणि अधिकारी र बिर्खक्रान्ति लगायतका पठनीय समीक्षा सामग्रीहरूमा विधागत तथ्य र कृतिमाथिका टिप्पणीले लेखकका विशेषता र सीमाका बारेमा पाठकलाई तथ्यपरक जानकारी दिन सफल छन् ।
निष्कर्षमा भन्नुपर्दा, यो एक साहित्यिक अभियान र प्रयोग हो । स्थानीय रूपमा हरेक सबल र सफल बन्दै जानु त्यस स्थानको साहित्यको मात्र नभई देशका लागि पनि सुन्दर पक्ष हो । ‘मोफसल’ र केन्द्र वा मूलधार भन्दै आइएको साहित्यिक माहोलमा यसले पक्कै सकारात्मक सन्देश दिनसक्नेछ । हरेक जिल्लाले स्थानीय रूपमा साहित्यिक कार्यमा उत्साह र उत्प्रेरणा जगाउने कार्य गरेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा फरक माहोल बन्दै जाने कुरालाई नकार्न सकिन्न ।
प्रस्तुत पुस्तकको सीमा भन्नु नै धेरै दोलखाली सर्जकलाई समेट्न नसक्नु र समीक्षालाई अनुभवी वा विधागत ज्ञान भएका समीक्षकले मात्र नभई लहडमा लेखिएका केही समीक्षा समेटिनु हो भन्न सकिन्छ । बिरलै मिल्ने डी.लिट्.उपाधियुक्त लेखक हरिभक्त नेउपाने, लघुकथाकार तथा कवि श्रीबाबु कार्की ‘उदास’, साहित्यकार डा. टीकाराम पोखरेललगायत दर्जनौँ सर्जक जो मूलधार भनिएको साहित्यवृत्तले चिन्दछ, तिनीहरू नसमेटिनु यस प्रकाशनको कमजोरी हो । तर यो पहिलो प्रयास पनि भएकाले अर्को संस्करण वा प्रकाशनमा अधिकाधिक सर्जक समेटिएर निरन्तर प्रकाशित होओस् रर त्रुटिहरू निराकरण होऊन् शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

