आज हामी साहित्यको सुगन्धमा डुबिरहेको क्षणका साक्षी छौँ । नेपालको आधुनिक साहित्यिक प्रवाहमा ‘छवि वैरागी’ एक सर्वप्रतिभाशाली सर्जकका रूपमा स्थापित हुनुहुन्छ । उहाँ कवि, कथाकार, आख्यानकार, रेडियो सञ्चारकर्मी, समाजप्रेरक तथा दर्जनौँ साहित्यिक संस्थाका अगुवा पनि हुनुहुन्छ । साहित्यलाई जन–जनसम्म पुर्याउने उहाँको अभ्यास साँच्चिकै सजीव र अनुकरणीय छ । ओशो सन्यास–साधनाको दीक्षा ग्रहण गरेका यस्ता सर्जकका थुप्रै कृतिहरू प्रकाशित छन् भने किनारीकृत माइली (चप्पु खण्डकाव्य) चर्चाका केन्द्रबिन्दु बनेका छन् । ‘विविशारा’ उहाँको दर्जन कृतिमध्येको दोस्रो उपन्यास हो । नेपाली आख्यानको जगमा यसको प्रकाशनले नयाँ उचाइ चुमिसकेको छ । अझ भनौँ पाठकको मन छोइरहेको छ । नेपाली साहित्य बजारमा पुस्तक बिक्री हुनुभन्दा पनि पुस्तकले के शिक्षा दिन्छ र नयाँ आयाम दिन सकेको छ छैन भन्ने कुरा महत्त्वपूर्ण हो जस्तो लाग्छ । यस विषयमा, यो साल अहिलेसम्म छापिएका आख्यान पुस्तकहरूमा विविशारा उत्कृष्ट हो भन्ने मलाई लागेको छ ।
विविशाराभित्र सामाजिक पीडा, संवेदना र यथार्थको कलात्मक सङ्गम छ । वैरागीले यस उपन्यासमा केवल कथा निर्माण मात्र गरेका छैनन् बरु समाजका भुइँमान्छे र अनाथहरूको मौन वेदनालाई कलात्मक र मार्मिक शैलीको माला उनेका छन् । च्यातिएका जीवनकथालाई एकै सूत्रमा बाँधेर प्रस्तुत गरिएको यो कृति, समाजका विसर्जित पीडाहरूको आत्मस्वरजस्तै लाग्छ ।
जीवनका आँसु, शून्यता, संघर्ष र भूकम्पपछिका घाउहरू यी सबै कुरा कथामा सजीव भएर बोल्छन् । मानवीय मूल्य र नैतिकताको चिरा, मातृत्व र बन्धुत्वको कोमलता, एक्लोपनाको त्रास प्रस्तुत गर्दै लेखकले उपन्यासभरि तीव्र स्पन्दन सिर्जना गर्नुभएको छ । वैरागीको लेखन उचाइ, गहिराइ र बिस्तारले नवीन तहतिर पाठकलाई निरन्तर तानिरहन्छ ।
यो आख्यान प्रेम, बालमनोविज्ञान, सामाजिक विभेदको त्रिकोण, दार्शनिक चिन्तन र सामाजिक यथार्थको सुरिलो सङ्गम हो । अन्तरजातीय विवाहका कारण विखण्डित परिवार, श्रम र अभावले थिचिएका बालकहरूको विवशता श्रमशोषण, यौन शोषण र सामाजिक विभेदका अन्धकार, यी सबै पीडाहरू उपन्यासभरि मर्मस्पर्शी रूपमा उभिन्छन् । भुइँमान्छेका संघर्षहरू, अनाथहरूको मौन रुवाइ र जीवनसँगको कठोर जुधाइले पाठकको अन्तरतहसम्म पुगेर स्पर्श गर्छन् ।
उपन्यासको मूल प्रतिज्ञा: प्रेम अझै मरेको छैन
उपन्यासले दिएको यो मुख्य सन्देश सरल तर गहन छ । प्रेम, विश्वास र मानवीय सहानुभूति अझै जीवित छन् । विश्वासको डोरी मजबुत रहे जीवनका अँध्यारा सुरुङभित्र पनि उज्यालो संसार जन्मिन सक्छ । यही मूल चिन्तन विविशाराको हृदय हो ।
अनाथ हुनु केवल मानवको अवस्था मात्र होइन कहिलेकाहीँ सम्बन्ध, भावना र सपनाहरू पनि अनाथ बन्छन् । वैरागीले त्यस्ता छरपस्ट सत्यलाई कलात्मक उचाइमा उठाएर नेपाली साहित्यलाई महत्वपूर्ण कृति अर्पण गर्नुभएको छ ।
घिमिरेको साहित्यदर्शनः प्रकृति, मनोविज्ञान र अस्तित्वको संवेदनशील संवाद उहाँको कलमले प्रकृति, नियति, सम्बन्ध र अस्तित्वका गहन रहस्यहरूको खोजी गर्छ । उहाँ लेख्नुहुन्छ– बाआमा, प्रकृति र परमात्माबीचको दूरी नै छैन किनकि यी नै शाश्वत हुन् । मानव प्रकृतिको अंश हो, प्रकृति नै जीवनको आधार हो । सपनाहरू अवचेतन मनका अस्थायी आकार हुन् । कहिले देवत्व, कहिले वेदना, कहिले चेतनाको झल्को, यही नै जीवन हो ।
विविशारा समाजको मौन आत्मा बोल्ने आख्यान उपन्यासमा अनेक पात्र छन् । तिनै पात्रले हाम्रो गाउँ, समाज र वास्तविकता बोल्दछन् । गाउँ शहरका विभेद, जातीय असमानता, गरिबी, बालश्रम, दाइजो प्रथा, युवाहरूको मनोद्वन्द्व, यौनजन्य हिंसा आदि सबै उपन्यासमा निर्भीक तर कलात्मक ढङ्गमा उद्घाटित छन् । उपन्यासले पाठकसामु दुईवटा गहिरा प्रश्न राख्दछ ।
१. के हामी सामाजिक न्यायका मार्गमा छौँ ?
२. के हामी समानतालाई हृदयसम्म स्वीकार गर्न सक्षम छौँ ?
यस अर्थमा, विविशारा केवल कृति मात्र होइन, सामाजिक चेतनाको दर्पण हो ।
यस उपन्यासमा भाषाशैली, पृष्ठभूमि, सरलता ,कारुणिकता आत्मस्पर्शी छ । पात्रहरू वास्तविक जीवनका जीवित छायाजस्तै लाग्दछन् । पात्रहरूसँग प्रत्यक्ष भेटेजस्तै लाग्छ । गाउँ, पहाड, शहर र तराईका रंग–रूपले उपन्यासलाई सांस्कृतिक सम्पदाको पहिरन दिन्छ । काठमाडौं शहर केवल पृष्ठभूमि होइन, एक जिउँदो पात्र झैँ प्रस्तुत हुन्छ । गल्ली, मन्दिर, ठेला, होटल, सडक बालबालिका र मजदुरहरूको संसारले एउटा यथार्थ चित्र कोर्दछ ।
अन्त्यमा उपन्यासमा समेटिएका ३६ कथाहरू जीवनका विविध रंग, पीडा र आशाका धड्कनहरू हुन् । अन्तरजातीय प्रेमजोडीको संघर्ष, भदौरे पहिरोले घरपरिवार चुँडिएको विपद जस्ता सन्दर्भले दुःख, आकांक्षा र मानवीय आत्मशक्तिको कथा सुनाउँछन् । रेडियो, जुनकिरी, बर्खेझरी, श्रम र सपनाका प्रतीकहरू कृतिभरि वातावरणसहित जिउँदै उठ्छन् ।
आशा, प्रेम, पीडा र यथार्थको महादर्पण बनेका छन् । यथार्थका केही कठोर तहहरू अझ अग्लोे रूपमा उभिन सक्छन् तथापि वैरागीले समाजका गहिरा घाउहरूलाई सत्य, कला र संवेदनाको अद्भुत संयोजन गरेर सिर्जित गरेका छन् । यसकारण, विविशारा केवल उपन्यास होइन, समाजको मौन आवाज हो । पीडित र अनाथहरूको उचाइ हो । युवाहरूमा जन्मिरहेको निराशालाई ध्वस्त पार्ने बलियो आशा हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 




