जेनजी उमेर समूहकी नियात्राकार आस्था भट्टराईद्वारा लिखित “फूलबारीको जुके गणतन्त्र” पढेपछि लाग्यो, यो नियात्रा केवल एक साधारण नियात्रा मात्र होइन । जीवन, राजनीति, प्रकृति, समाज र मानवीय प्रवृत्तिको बहु–तहमा उभिएको साहित्यिक दस्तावेज हो । यात्रा भोगाइका माध्यमबाट लेखकले राष्ट्र, समाज र व्यक्तिगत आत्माको रूपान्तरणलाई रोचक शैलीमा प्रस्तुत गरेकी छिन् ।
‘जुका’ : सत्ता र शोषणको दार्शनिक रूपक
यात्राका क्रममा भेटिएको जुका लेखकका लागि केवल जीव–विज्ञानको विषय होइन, राजनीतिक प्रवृत्ति र अर्थतन्त्रको अदृश्य जालझेलको यथार्थ चित्र हो । जसरी जुकाले यात्रुहरूको रगत चुस्छ, त्यसरी नै भ्रष्ट नेतृत्वले निमुखा जनताको श्रम, पसिना र भविष्य चुसिरहेको कटु यथार्थलाई लेखकले रूपकमार्फत शक्तिशाली रूपमा उभ्याएकी छन् ।
यो रूपक आधुनिक नेपाली राजनीतिक चेतनाप्रति लेखकले व्यक्त गरेको वितृष्णाको ज्वलन्त उदाहरण हो ।
यात्रा–अनुभूति : स्मृति, समय र चेतनाको नदी–बहाव
विश्वविद्यालयीय ‘सोध भ्रमण’ का क्षणहरू नदी जस्तै बग्दै नियात्रामा पुनर्जन्म हुन्छन् । समय–चेतना–अनुभूति मिलेर बनेको यो बगैँचा लेखकको मनोभूमिको साहित्यिक मानचित्र हो । अंग्रेजी माध्यमबाट स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेकी युवा नियात्राकारको नेपाली भाषामाथिको पकड असाधारण छ । उनको भाषिक निपुणता हामी अघिल्लो पुस्तालाई समेत छक्क पार्ने किसिमको छ ।
यात्राका पात्रहरू: सुरक्षा रेग्मी, लक्ष्मी भट्टराई, सुष्मा खड्का, आस्था भट्टराई, जितेन्द्र सर, गाइड बाबुराम विश्वकर्मा र बीचमा प्रवेश गर्ने ममतामयी माता भवानीले यात्रालाई जीवनको सामूहिक दिग्दर्शन बनाइदिन्छन् ।
पात्रहरूको उपस्थिति मात्र होइन, लेखकले ती पात्रलाई बुझ्ने दृष्टि र तिनको मानवीय संवेदनासमेत उजागर गरेर हामीसँग आत्मीय सम्बन्धमा जोडिदिन्छिन् । पढ्दापढ्दै ती पात्रसँग हार्दिक नाता स्थापित भएको अनुभूति हुन जान्छ ।
प्रकृति : चेतनाको क्यानभास
लेखक प्रकृतिलाई केवल दृश्यगत सौन्दर्यको रूपमा होइन, अस्तित्वको आरसि जस्तै हेर्छिन् ।
उनी भन्छिन्, “कलाकारको चित्रकारीजस्तो, चुनिचुनी कुचीले रङ भरेजस्तो !”
यो वर्णन केवल एक दृश्यचित्र होइन, मानिसको भित्री संसार बाहिरी प्रकृतिमा प्रतिविम्बित हुने अद्वैत दर्शनको साक्ष्य हो ।
पोखरा, फेवा, धौलागिरी, अन्नपूर्ण, विन्ध्यवासिनी उनका लागि भौगोलिक नाम होइनन्, यी त आत्माका मूर्त रूप हुन् ।
इतिहास र समकालीनता बीचको दार्शनिक टकराव
८६ वर्षअघि बनाइएको सुन्दरीजल हाईड्रो स्टेसन नेपालको ऊर्जा इतिहासमा एउटा गहिरो आशा रोपेर उभिएको संरचना हो ।
यहाँ लेखकले उठाएको प्रश्न गम्भीर र दार्शनिक छ:
- निरङ्कुशहरूले बनाउन सकेका प्रगतिशील संरचना , प्रजातान्त्रिक भनाउँदाहरूले किन बनाउन सकेनन् ?
- शासक बदलिँदा विकास किन बदलिँदैन ?
यो प्रश्न केवल राजनीतिक होइन, समाजलाई सचेत तुल्याउन प्रकट गरिएको गहिरो यक्ष प्रश्न हो । वास्तवमा यो जेनजी पुस्ताले परिवर्तनका खातिर प्रकट गरेको खबरदारी हो ।
नारीवाद : संवेदनाको धार र प्रश्नको धारिलोपन
“महिला शिक्षित भए भने सिङ्गो परिवार शिक्षित हुन्छ ।” यस कथनमा लेखकको स्त्री–चेतना, उनैको अनुभव र समाजका संरचनाभित्र विद्यमान विभेदप्रतिको असन्तुष्टि स्पष्ट उभिन्छ ।
पुरुष यात्रुहरू: पुष्कर शाहदेखि युवराज नयाँघरे स्वतन्त्र छन् तर महिलाहरू हिंसा, बलात्कार, असुरक्षा र भयका छायाले घेरिएका छन् ।
लेखक प्रश्न गर्छिन्, “यो भिन्नता किन ?” सुरक्षाको धार कुन धारा हो जुन कहिले नारीको भागमा बग्दैन ?”
यो प्रश्न मात्र महिलाको सवाल होइन, राज्य व्यवस्थाप्रति नैतिक मूल्यको खोज हो ।
सामाजिक–राजनीतिक चेतना : जागरणको स्पन्दन
लेखक कृषिप्रधान राष्ट्रमा कृषि अनुसन्धान केन्द्रको महत्त्व एक मात्र वाक्यमा भन्छिन्,
“यो केन्द्रले देशलाई उठाउने आधारस्तम्भ बोकेको रहेछ ।”
यो वाक्य केवल प्रशंसा होइन, नेपालको आर्थिक संरचना, सम्भावना र भविष्यप्रति व्यक्त गरिएको जागरण हो ।
समग्र मूल्याङ्कन : पर्यावरण, नारीवाद र राजनीतिक चेतनाको त्रिवेणी
लेखक एकसाथ, पर्यावरण–प्रेमी, नारीवादी र राजनीतिक रूपमा सचेत नागरिक भएर उदाएकी छन् ।
यात्रा भोगाइ मात्र होइन, चेतनाको थरिथरि तहहरू: यथार्थ, निराशा, प्रश्न, आशा, विद्रोह, संवेदना सबै यहाँ समाहित छन् ।
अन्तिममा समीक्षक प्रतीक ढकालका शब्द उधारो लिएर,
“एक मुठी सलाईको काँटी जस्तै ज्यान भएकी लेखक गुराँसजस्तै फुल्छिन् कि सलाईको काँटीले सपनै जलाइदिन्छ सम्बृद्ध नेपाल अनि सुखी नेपालीको ?”
यो प्रश्नको जवाफ भविष्यले देला नदेला ? तर आजको लेखनी हेर्दा गुराँस फुल्ने सम्भावना धेरै छ ।
उपसंहार
“फूलबारीको जुके गणतन्त्र” यात्रा होइन, यो त विचारको यात्रा, चेतनाको आरोहण, विद्रोहको प्रभावपूर्ण स्वर र उज्यालोको आशा हो ।
युवा पुस्ताले नेपाली भाषाप्रति गहिरो पकड राखेर लेखेको यस नियात्राले नेपाली यात्रासाहित्यमा नवीन विचार र शैलीसहितको दरिलो इँटा थपिदिएको छ। यस कृतिकी सर्जक आस्था भट्टराईलाई बधाईका साथ निरन्तरताका लागि शुभकामना अर्पन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 










